Tuesday, May 12, 2026
Home Blog Page 861

सगरमाथाको फेदमा अपाङ्गता रोकथाम शिविर

0

सल्लेरी (सोलुखुम्बु): विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा नौ दिनदेखि जारी अपाङ्गता रोकथाम तथा पुनःस्थापना घुम्ती शिविर आइतबार सकिएको छ । कोशी प्रदेश सरकार, खुम्बु पासाङ ल्हामु गाउँपालिका र करुणा फाउन्डेसनको साझेदारीमा उक्त शिविर सञ्चालन गरिएको हो ।

राष्ट्रिय अपाङ्ग महासङ्घको प्राविधिक सहयोगमा खुम्बु पासाङल्हामु गाउँपालिका–१ बाट चैत १७ गते सुरु गरिएको घुम्ती शिविर वडा नं ४ मा पुगेर समापन गरिएको गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार सबै वडामा भएको उक्त घुम्ती शिविरबाट एक सय १३ जनाले स्वास्थ्य परीक्षण, अपाङ्गता परिचयपत्र तथा आवश्यकता पहिचान सेवा लिएका थिए ।

पूर्ण अपाङ्गता (क वर्ग), अति अशक्त अपाङ्गता (ख वर्ग), मध्यम अपाङ्गता (ग वर्ग) र सामान्य अपाङ्गता (घ वर्ग) गरी ९८ जनाले परिचयपत्र प्राप्त तथा नवीकरण गरेका गाउँपालिका उपाध्यक्ष तथा अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिका संयोजक टासील्हामु शेर्पाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मुस्ताङ भित्रिने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परीक्षण

0

म्याग्दी: मुस्ताङ भित्रिने आन्तरिक तथा बह्या पर्यटकको स्वास्थ्य परीक्षण थालिएको छ । गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराले जिल्ला प्रहरी कार्यालय मुस्ताङसँग समन्वय गरेर घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित पर्यटक प्रहरी चोक पोष्ट परिसरमा आइतबार शिविर स्थापना गरेर स्वास्थ्य परीक्षण गर्न थालेको हो । प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार तीर्थयात्रा, भ्रमण, पदयात्रा र अवलोकनका लागि मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर शिविर सञ्चालन गरिएको हो।

“चैते दशैँको सोह्र श्राद्ध तिथि पारेर कागबेनीमा पिण्डदान र मुक्तिनाथ दर्शनका लागि तीर्थयात्रीका साथै अनुकूल मौसमसँगै विद्यालय र विभिन्न सङ्घसंस्थाबाट मुस्ताङ घुम्न आउनेको चाप बढेको छ,” उहाँले भन्नुभयो, “लेक लाग्ने (अक्सिजन कमी हुने), बिरामी हुने, ढल्ने जस्ता समस्या सृजना भई मानवीय क्षति हुन सक्ने भएकाले स्वास्थ्य परीक्षण गर्न थालिएको हो ।” जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को हालसम्ममा दुई नेपाली र ६ विदेशी नागरिकको मुस्ताङमा लेक लागेर मृत्यु भएको छ ।

पछिल्लो तीन वर्षमा लेक लागेर २८ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अधिकांश समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाइमा रहेको मुक्तिनाथ दर्शनका लागि आएका तीर्थयात्री हुन् । एक हप्तासम्म सञ्चालन हुने शिविरमा अशक्त, ज्येष्ठ नागरिक र दीर्घरोगीको स्वास्थ्य परीक्षण गरी परामर्श तथा प्राथमिक उपचारको व्यवस्था मिलाइएको छ । प्रदेश प्रहरी अस्पताल गण्डकीका स्वास्थ्य अधिकृत डा मृदुषा श्रेष्ठको नेतृत्वमा तीन स्वास्थ्यकर्मी खटिएको सो शिविर सञ्चालन गर्न मुस्ताङ अस्पतालले प्राविधिक सहयोग गरेको छ ।

समुद्री सतहदेखि दुई हजार पाँच सय मिटरभन्दा माथिको उचाइमा अक्सिजनको कमीले स्याँ स्याँ हुने, टाउको दुख्ने, वाकवाकी हुने, रिङ्गटा लाग्ने, आँखा धमिलो हुने, निद्रा नलाग्ने, खान मन नलाग्ने, फोक्सो सुन्निने, स्मरण शक्ति हराउँदै जाने र सास फेर्न गाह्रो हुन्छ । प्रहरीले म्याग्दीको सिमानामा रहेको घाँसामा पनि पर्यटक र तीर्थयात्रीलाई अक्सिजनको कमीका कारण हुने स्वास्थ्य समस्याका बारेमा सचेतनामूलक कार्यक्रम गरेको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले प्रहरीको स्वास्थ्य शिविर र सचेतनामूलक कार्यक्रमले अक्सिजनको कमीका कारण मानवीय क्षति न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।

मुस्ताङमा आइतबार एक हजार दुई सय सात सवारीसाधनमा ११ हजार एक सय ९२ नेपाली र तीन सय ४७ बाह्य पर्यटक भित्रिएको प्रहरीको तथ्याङ्क छ । शनिबार चार सय ३७ सवारीसाधनमा तीन हजार पाँच सय २७ नेपाली र चार सय ५६ विदेशी पर्यटक भित्रिएका थिए ।

उप निर्वाचन: इलाममा मतदाता उत्साहित

0

इलाम : इलाम क्षेत्र नं २ मा उपनिर्वाचनको मिति नजिकिदैं गर्दा मतदाताको उत्साह पनि बढ्दै गएको छ।

गत भदौ २५ गते यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधनभएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा २० उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।

“सात महिनादेखि हामीले चियाको मूल्य, दुग्ध उत्पादनको बजार, मेची राजमार्गको अस्तव्यस्त अवस्थालगायत समस्या सङ्घीय संसदमा उठाउने जनप्रतिनिधि पाउन सकेका छैनौँ”, एक मतदाता बताउँछन्। त्यस्तै “हाम्रा समस्याको उठान गर्ने प्रतिनिधिको खोजीमा हामी उतहाइत छौं” मतादाताहरूको यस्तो भनाइ छ।

यस्तै सन्दकपुर गाउँपालिका–३ का विशाल ढकालले उपनिर्वाचनपछि सात महिनादेखि सङ्कलन गरेर राखेका गुनासा नयाँ नेतृत्वलाई सुनाएर समाधान माग्ने बताउनुभयो । “अहिले घरघरमा आएर सबै उम्मेदवार भोट माग्दै हुनुहुन्छ ।

हामी सबैलाई मत दिन्छौँ भनिरहेका छौँ । तर योग्य उम्मेदवारलाई इलामवासीले चुन्छन्,” उहाँले भन्नुभयो, “हाम्रा गुनासा र समस्याका चाङ छन् । समाधान गर्न निर्वाचित प्रतिनिधिलाई दबाब दिन्छौँ ।” फाकफोकथुम गाउँपालिका–४ का रघुनाथ भण्डारीले सडक, स्वास्थ्य, शिक्षा र कृषिमा परिवर्तन ल्याउन सक्ने उम्मेदवार छनोट गर्ने सोचमा रहेकोे बताउनुभयो । “सडकको मर्मत छैन, कृषिमा अनुदान छैन, राम्रो अस्पताल र गुणस्तरीय शिक्षा पाउन सकेका छैनौँ । अब निर्वाचित हुने प्रतिनिधिले हाम्रा यी माग सम्बोधन गर्नुपर्छ ।” सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी) का साझा उम्मेदवार सुहाङ नेम्बाङ, नेपाली कांंंग्रेसका डम्बर खड्का र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मिलन लिम्बू चुनावी मैदानमा हुनुहुन्छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेकपा (एकीकृत समाजवादी) का जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, पहिचानवादीका डकेन्द्रसिंह थेगिम, नेपाल मजदुर किसान पार्टीका श्याम दर्जी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका गणेशबहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम शाह, नेसनल रिपब्लिक नेपालका धनराज राना मगर, मङ्गोल नेसनल अर्गनाइजेसनका मणिबहादुर लिम्बू र नेपाली जनता दलका रेशमबहादुर सुनुवार पनि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

यसैगरी, स्वतन्त्र उम्मेद्वारहरु क्रमशः डाकप्रसाद गौतम, दीपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्याल पनि चुनावी भिडन्तमा सामेल हुनुहुन्छ । उपनिर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । इलाम–२ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेका छन् । यी केन्द्रमा आठ सय ९४ कर्मचारी परिचालन हुनेछन् । निर्वाचन आयोगका अनुसार यही चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ ।

चैत २८ देखि वैशाख १२ गतेसम्म प्रचारको अवधि तोकिएको छ । उप निर्वाचन आगामी वैशाख १५ गते हुँदैछ ।

भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

0

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुख इञ्जिनियर सरोज भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार भट्टराईले घुसवापत भक्त्तपुरको जग्गा खरिद गर्नका लागि निर्माण व्यवसायीसँग रु ८० लाख घुस मागेको र सो रकम जग्गा बिक्रेताको खातामा जम्मा गर्न लगाएको पाइएको छ । आयोगले प्रमुख इञ्जिनियर सरोजले आमा जनकनन्दनी भट्टराईको नाममा जग्गा खरिद गरेको आरोप लगाएको छ ।

आयोगले छोरा सरोज र आमा जनकनन्दनी भट्टराई दुवैलाई आरोप लगाउँदै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । आरोपी दुवैलाई बिगो बमोजिम कारवाहीको माग गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

 

स्रोत र साधनको अधिकतम उपयोग हुने अवस्था सिर्जना गर्छौँ : मन्त्री बस्नेत

0

पाटन (ललितपुर): ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग हुने अवस्था सिर्जना गरिने बताउनुभएको छ ।

जलस्रोत तथा सिँचाइ विभागद्वारा ‘समृद्ध नेपालको आधार, कृषियोग्य जमिनमा पूर्ण सिँचाइको विस्तार’ भन्ने नारासहित आज यहाँ मनाइएको सिँचाइ दिवस एवं ७१औँ वार्षिकोत्सव कार्यक्रममा मन्त्री बस्नेतले परिस्थिति, सोच र सन्दर्भलाई परिवर्तन गर्दै समय सापेक्ष र परिस्थिति अनुकूल कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

“हामी पूर्वाधार विकास, सामाजिक न्याय र आर्थिक विकासको कुरा गरिरहेका छौँ । यसलाई योजना कार्यान्वयनमा कसरी प्रतिविम्बित गरिरहेका छाैँ भन्ने कुरा विचारणीय छ । अहिले आवश्यकता सामाजिक न्याय र आर्थिक विकासलाई समानुपातिक रुपमा अघि लैजानु हो । बजेट, जनशक्ति र कार्यक्रममा तालमेल नहुँदा उपलब्धि हासिल हुन सकेको छैन”, मन्त्री बस्नेतले भन्नुभयो ।

सिँचाइ क्षेत्रमा पनि पर्याप्त बजेट नपुगेको भन्दै कतिपय अवस्थामा छुट््याइएको बजेट सही ठाउँमा उपयोग हुन नसक्दा समस्या उत्पन्न भइरहेको मन्त्री बस्नेतले बताउनुभयो । कार्यक्रम एक ठाउँमा र बजेटको लक्ष्य अर्को ठाउँमा हुँदा उपलब्धि हासिल गर्न चुनौती थपिएको उहाँको भनाइ छ ।

विकासको गतिशील प्रक्रियालाई ग्रहण गर्दै जाने क्षमता चाहिने भन्दै मन्त्री बस्नेतले नीति, योजना, कार्यक्रम तय गर्दा एकीकृत विकासको सोचबाट अगाडि बढ्नुपर्ने बताउनुभयो । अन्तरसम्बन्ध भएका सबै कानुन निर्माण गरी परिणाम निस्कने गरी परियोजना सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

हरेक क्षेत्रका लागि एकआपसमा बाँझिने फरक–फरक कानुन बनाउनुभन्दा समय र समन्वयका आधारमा एउटै कानुन बनाउनु ठीक हुने भन्दै मन्त्री बस्नेतले सिँचाइ क्षेत्रको बृहत् विकासका लागि जलस्रोत तथा सिँचाइ गुरुयोजना तयार पारेर सोही अनुसार लक्ष्य हासिल गर्नुपर्ने बताउनुभयो ।

लोकसेवा आयोगका सदस्य माधव बेलवासेले खाद्य सुरक्षा अत्यन्तै गम्भीर विषय भएको भन्दै यसका लागि सिँचाइको भूमिका धेरै महत्वपूर्ण हुने बताउनुभयो । “हाम्रा धेरै जमिन बाँझो अवस्थामा छन् । आयोजना उद्घाटन गरेर बस्न सक्ने अवस्था छैन । सिँचाइमा लागतको व्यवस्थापनका लागि समयमै योजना सम्पन्न गनुृपर्ने हुन्छ । ठूला आयोजनालाई प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ”, उहाँले भन्नुभयो ।

आयोजना कार्यान्वयन गर्दा विभागले समयमै सम्पन्न गर्नका लागि प्रत्यक्ष निगरानी गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराउँदै बेलवासेले प्रशासन र प्रविधिक धारका जनशक्तिलाई फरक ढङ्गले परिचालन गरी आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि ध्यान दिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा कुसेन्द्रबहादुर महतले कृषि सरकारको सबैभन्दा महत्वपूर्ण क्षेत्र रहेको भन्दै यसका लागि सिँचाइका व्यवस्थापन आवश्यक हुने बताउनुभयो । उहाँले साधन र स्रोतको सीमितताका बाबजुद पनि १६औँ पञ्चवर्षीय योजनामा नेपालको जलस्रोत र सिँचाइसम्बन्धी योजनालाई महत्वका साथ समेटिनुपर्ने बताउनुभयो ।

महतले अहिले निर्दिष्ट गरिएको साधन र स्रोतलाई शतप्रतिशत खर्च हुने वातावरण बनाउनु चुनौती रहेको धारणा राख्नुभयो । उहाँले उत्पादकत्व वृद्धि गर्न किसानलाई तत्कालै लाभ हासिल गर्न सक्ने नवप्रवर्तनीय सोचको विकास गरिनुपर्नेमा जोड दिनुभयो ।

“नीतिगत समस्या छन् भने सम्बन्धित निकायले जानकारी दिनुपर्छ । योजना आयोगले समस्या समाधानका लागि सहज बनाउने नीति लिएको छ”, महतले भन्नुभयो, “नागरिकले आशा गरेका आयोजना सफल बनाउन हामी छलफल गरौँ र आपसी समन्वयका आधारमा सम्पन्न गरौँ ।”

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले उत्पादकत्व वृद्धिका लागि उपलब्ध जलस्रोतको भरपुर उपयोग गर्दै लक्ष्य हासिल गर्नुपर्ने बताउनुभयो । उहाँले पूर्वाधार विकासलाई पहिलो प्राथमिकता राखेर सेवा दिँदै कृषि उत्पादन बनाउन प्रभावकारी ढङ्गले लाग्नुपर्ने बताउनुभयो ।

विद्युत ऊर्जाको उपयोग गर्दै सिँचाइ क्षमतालाई वृद्धि गरेर उत्पादन बढाउन सबै क्रियाशील हुनुपर्नेमा सचिव तिवारीले जोड दिनुभयो । ऊर्जा उपयोगका लागि अनुदान दिने नीति बनाउँदै राष्ट्रिय उत्पादन बढाउन र रोजगारी सिर्जना गर्न लाग्नुपर्ने उहाँको भनाइ छ ।

जल तथा ऊर्जा आयोगका सचिव केशवप्रसाद शर्माले खेतीयोग्य जमिनको संरक्षणका लागि राष्ट्रिय बहस सञ्चालन गर्नुपर्ने भन्दै किसानका मागमा आधारित सिँचाइ योजनालाई जोड दिनुपर्ने बताउनुभयो । सिँचाइ क्षेत्रमा भएका विज्ञहरुको क्षमता र विज्ञतालाई प्रयोग गरेर उत्पादन र रोजगारीसँग जोड्नुपर्नेमा उहाँले जोड दिनुभयो । सिँचाइ विश्वव्यापी सरोकारको विषय हो भन्नुहुँदै आयोगका सचिव शर्माले यसलाई खाद्य सुरक्षासँग जोडेर क्षेत्र पराकिलो बनाउनुपर्ने बताउनुभयो ।

मन्त्रालयका सरिता दवाडीले सिँचाइ नीतिलाई कार्यान्वयन गर्न ऐन नै बनाएर जानुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले तराईका क्षेत्रमा भूमिगत सिँचाइ आयोजना गर्न सके भरपर्दो हुने भन्दै सिँचाइलाई खाद्य सुरक्षासँग जोडेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । मन्त्रालयअन्तर्गत रहेको सिँचाइ विभागले आवश्यक कानुनी पुनःसंरचना, कार्यालय कार्यक्षेत्र तथा संरचना परिवर्तन गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

विसं २००९ मा नहर विभागको रुपमा स्थापित विभागद्वारा आयोजित सिँचाइ दिवस एवं ७१औँ वार्षिकोत्सवको अवसरमा रानीजमारा कुलरिया सिँचाइ आयोजना टीकापुर कैलाली, सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना सिन्धुली र बृहत् दाङ उपत्यका सिँचाइ आयोजना दाङलाई उत्कृष्ट सिँचाइ आयोजनाका रुपमा सम्मान गरिएको छ । कार्यक्रममा यसवर्ष अवकाश प्राप्त कर्मचारीलाई समेत सम्मान गरिएको छ ।

अब श्रम स्वीकृति एक घण्टाभित्रै

0

काठमाडौँ: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्न सफल भएको बताउनुभएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले कार्यालय समयभित्र आवश्यक काजगपत्र तथा विवरण अनलाइन प्रविधिमार्फत दर्ता (अपलोड) गरेको एक घण्टाभित्र आफ्नै मोबाइल फोनमा श्रम स्वीकृति प्राप्त गर्न सकिने बताउनुभयो । वैदेशिक रोजगार कार्यालय ताहाचलले अनलाइनमार्फत दिइँदै आएको श्रम स्वीकृतिको सेवालाई छिटोछरितो बनाउँदै एक घण्टाभित्र उपलब्ध गराउन सम्भव भएको उहाँको भनाइ छ ।

“कोही पनि श्रमिकले आफ्नो सम्पूर्ण कागजपत्र अनलाइन प्रविधिमार्फत विवरण दर्ता गराएको एक घण्टाभित्र श्रम स्वीकृति आफ्नै मोबाइलमा प्राप्त गर्न सक्नुहुनेछ”, मन्त्री अर्यालले भन्नुभयो, “कर्मचारीको लगनशीलता, इमान्दारिता र सम्पर्णको सहयोगले यो कार्य गर्न सम्भव भएको हो ।”

श्रम स्वीकृति लिने काममा अहिले धेरै लामो समय लाग्ने अवस्था नभएको भन्दै मन्त्री अर्यालले कागजात नपुगेको अवस्थामा, दोहोरोपना वा कर्मचारीलाई शङ्कास्पद लागेको अवस्थामाबाहेक काम सहज रुपमा नै भइरहेको जानकारी दिनुभयो । “काम नभएर रोकिएकाको पनि नियमित कामलाई अवरोध नहुने गरी हुनेछ”, उहाँले भन्नुभयो ।

मन्त्री अर्यालले कम्प्युटरको ‘सफ्टवयर’ मा सुधार गर्दै सहज र प्रभावकारी व्यवस्थापनको काम गरिएको बताउनुभयो । उहाँले कार्यालय समय बिहान १० देखि साँझ ५ बजेसम्म रहेको भन्दै सो अवधीमा श्रम स्वीकृति लिन सकिने जानकारी दिनुभयो । “कार्यालय समयमा सबै काम हुन्छ । जसले पहिलो बुझाउनुहुन्छ उहाँले सुरुमा पाउनुहुन्छ”, उहाँले भन्नुभयो ।

पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति

0

काठमाडौँ: मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ । ‘डा ओम फाउण्डेशन’ द्वारा आज जारी विज्ञप्तिमा वर्ष २०८० को चर्चित पुस्तकमध्ये एक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम लेखकले स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणमा खर्च गर्ने क्रममा शैक्षिक सत्र २०८१ मा छात्रवृत्ति प्रदान गरिने भएको छ ।

पुस्तक बजारमा आएको छ महिनाको अवधिभित्र २० हजार प्रतिभन्दा बढी बिक्री भइसकेको फाउण्डेशनले जनाएको छ । गत असोज ६ गतेदेखि बजार उपलब्ध पुस्तक विमोचनपूर्व नै प्रिबुकिङ भएको थियो भने स्वदेश तथा विदेशबाट दिनहुँ माग भइरहेको बताइएको छ । पुस्तक देशभरिकै अधिकांश पुस्तक पसलहरु र भाटभटेनी सुपरमार्केटका देशभरिकै स्टोरमा उपलब्ध रहेको छ भने समीक्षा पब्लिकेसन्स्लगायत विभिन्न अनलाइन प्लेटफर्म र वितरकमार्फत पाठकसमक्ष पु¥याइँदै आएको छ ।

पाठकहरूद्वारा अत्यधिक रुचाएको पुस्तकहरूको सूचीमा यस वर्ष मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ पर्न सफल भएको छ । पाठक प्रतिक्रिया र समीक्षकहरूको प्रशंसासँगै छोटो समयमा पुस्तकको उच्च बिक्रीले जीवन्त सम्बन्ध पुस्तक पाठकको रुचीमा पर्न सफल भएको हो । पाठकको उत्साहजनक सहभागिता र माग बढिरहेको फाउन्डेसनले छिट्टै पुनः संस्करण ल्याउने तयारी गरेको छ । ५३ वटा खण्डलाई २३१ पृष्ठमा समेटिएको ‘जीवन्त सम्बन्ध’ पुस्तक कुल २४० पृष्ठको रहेको छ ।
यस पुस्तकले विशेषगरी बुबा–आमा र सन्तानबीचको सम्बन्धलाई मिहीन ढङ्गबाट केलाइएको छ । लेखकले आफ्नो जीवन भोगाइ, अनुभव र ज्ञानलाई रचनात्मक तरिकाले पुस्तकमा समाविष्ट गरेको हुँदा सबैलाई आफ्नै कथाव्यथा जस्तो लाग्ने भएकालाई पुस्तकले पाठकको मन जित्न सफल भएको समीक्षकहरूको भनाइ छ ।

त्यस्तै बदलिँदो नेपाली समाजमा खड्किदै गएको सम्बन्धको महत्वलाई पुस्तकमा सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । सामाजिक रूपान्तरणका निम्ति बलियो आधार बन्ने ‘जीवन्त सम्बन्ध’ पुस्तकका हरेक खण्डले मानिसलाई आफ्नो दायित्वबारे बुझाउन मद्दत गर्नेछ । विशेषगरी लेखकले ‘म’ पात्रमार्फत बुवासँगको सम्बन्धलाई प्रतिनिधिमूलक घटनाका रूपमा दर्शाउँदै नेपाली समाजको विम्ब प्रस्तुत गर्नुभएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढ्दै

0

वीरगञ्ज (पर्सा): पर्सा राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । रैथाने हात्तीको प्रमुख बासस्थान मानिएको निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो ।

पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले निकुञ्जलाई २०७४ सालमा देशको १२औँ संरक्षित क्षेत्रका रूपमा घोषणा गरेको थियो । पर्सासहित बारा र मकवानपुर गरी तीन जिल्लासँग जोडिएको निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकका लागि खुला गरिएको छ ।

प्राकृतिक सौन्दर्यसँगै वन्यजन्तुको जैविक विविधताले धनी निकुञ्जमा आन्तरिकसँगै छिमेकी मुलुक भारतका पर्यटक आउने क्रम बढेको निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले बताउनुभयो । “विगतभन्दा अहिले निकुञ्जमा आन्तरिक तथा भारतका पर्यटक आउने क्रम बढेको छ”, उहाँले भन्नुभयो, “बाह्यभन्दा आन्तरिक पर्यटक धेरै आउने गरेका छन् ।”

चालु आर्थिक वर्षको आठ महिनामा छ सय १३ जना पर्यटक आएका छन् । निकुञ्ज घुम्न आउने पर्यटकमा सार्क मुलुकका १४ र गैरसार्क राष्ट्रका एकजना विदेशी पर्यटक छन् । अघिल्लो आवको आठ महिनामा एक सय ४० पर्यटकले मात्र निकुञ्जमा भ्रमण गरेका थिए । आव २०७९÷८० मा पर्सा राष्ट्रिय निकुञ्जमा ७२ जना भारतसहित सार्क मुलुक र ३२ जना अन्य देशका पर्यटक गरी एक हजार ६५ जना पर्यटकले भ्रमण गरेका थिए ।

निकुञ्जभित्र माया मन्दिर, दुग्धेश्वर महादेव मन्दिरजस्ता धार्मिकस्थल छन् भने कामिनी दह, हलखोरिया दह र लौकी दहजस्ता प्राकृतिक तथा मनोरम दह पर्यटकको प्रमुख आकर्षणको केन्द्र बनेका छन् । निकुञ्जभित्र पानीको सहज उपलब्धतासँगै पाटेबाघसहितका जन्तुको सङ्ख्या पनि वृद्धि भएको छ ।

निकुञ्जले गरेको सन् २०२२ को बाघ गणनाअनुसार पाटेबाघको सङ्ख्या ४१ पुगेको छ । निकुञ्जले प्राकृतिक रूपमा कृत्रिम पोखरी निर्माण गरेपछि वन्यजन्तुको सङ्ख्या बढेको हो । कुल छ सय २७ दशमलव ३९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जभित्र पाटेबाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, जङ्गली कुकुर, नीलगाई र गौरीगाईजस्ता ३७ प्रजातिका स्तनधारी जनावर, चार सय ९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतली पाइन्छन् ।

निकुञ्जको भ्रमणमा आउने पाहुनाका स्वागतमा निकुञ्जको मध्यवर्ती क्षेत्रको ‘बफर जोन’मा सुनाखरी मध्यवर्ती सामुदायिक घरबास सञ्चालन गरिएको छ ।स्थानीय संस्कृतिअनुसार सुनाखरी सामुदायिक घरबासले विविध परिकार पस्केर पाहुनालाई आकर्षित गर्दै आएको छ ।

 

पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने निर्देशिकाको प्रभावकारी कार्यान्वयन नभएको गुनासो

0

बेलबारी (मोरङ): सरकारले विद्यालयतहको शिक्षामा कम्तीमा तीन वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने निर्देशिका जारी गरेको भए पनि हरेक वर्ष नयाँ शैक्षिकसत्र सुरु हुने समयमा पुस्तक फेर्ने होडबाजी निजी विद्यालयहरूमा चल्ने गरेको छ । सरकारी निर्णयको अवज्ञा भएको तथा सम्बद्ध निकायले पनि त्यसलाई कार्यान्वयन नगरेको अभिभावकहरूले गरेका छन् ।

नयाँ शैक्षिकसत्र सुरु हुन लागेको सन्दर्भमा पाठ्यपुस्तक परिवर्तनको प्रमुख कारण निजी प्रकाशन र विद्यालयबीच कमिसनको चक्कर रहेको बृहत् राष्ट्रिय शिक्षा अभियान नेपालका संयोजक अभिषेक घिमिरे बताउनुहुन्छ । प्रकाशकसँग झण्डै पचास प्रतिशतसम्म कमिशन लिएर विद्यालयले बर्सेनि पाठ्यपुस्तक फेरेर अभिभावकलाई मारमा पार्ने गरिएको छ”, संयोजक घिमिरे बताउनुहुन्छ ।

“पाठ्यपुस्तकको व्यापारका लागि प्रधानध्यापकलाई लोभ्याउने विकृति देशभरि देखिएको छ, शैक्षिक क्षेत्रका लागि यो लाजमर्दो विषय हो ”, उहाँले भन्नुभयो । अन्ततः यो सबै खर्चको भार बर्सेनि नयाँ पाठ्यपुस्तक किन्ने अभिभावकले व्यहोर्नुपरेको छ”, संयोजक घिमिरे बताउनुहुन्छ ।

निजी विद्यालय अभिभावकबाट शुल्क उठाएर चल्ने भएकाले शुल्कमा समयानुकूल परिमार्जन हुँदै जानु स्वाभाविक नै देखिन्छ । कतिपय विद्यालयले थोरै शुल्क लिएर पनि गुणस्तरीय शिक्षा दिइरहेका छन् । शिक्षकलाई तलब दिन हम्मेहम्मे परेका विद्यालय पनि छन् तर तिनले गुणस्तरीय अध्यापनमा कुनै सम्झौता गरेका नगरेका संयोजक घिमिरे बताउनुहुन्छ ।

“गत वर्षमात्र निजी विद्यालयको शुल्क र पाठ्यपुस्तक परिवर्तन भएको छ, एकपटक लागू गरिएका पाठ्यपुस्तक कम्तीमा दुई वर्ष र शुल्क तीन वर्ष परिवर्तन गर्न पाइँदैन भनिएको छ त्यसैले यस वर्ष कुनै पनि निजी विद्यालयमा पाठ्यपुस्तक र शुल्क बढाउन मिल्दैन,” अभिभावक सङ्घ कोशी प्रदेश संयोजक देवी पन्थीले भन्नुभयो । कक्षा १० को अधिकतम मासिक शुल्क रु दुई हजार आठ सय र कक्षा ११ र १२ को अधिकतम मासिक शुल्क रु तीन हजार नौ सय निर्धारण गरिएको छ । सोभन्दा बढी लिएको पाइएमा उक्त विद्यालयलाई स्थानीय पालिकामा उजुर गरेर कारबाहीको माग हुने संयोजक पन्थी बताउनुहुन्छ ।

शिक्षित युवालाई रोजगारी दिइरहेका निजी विद्यालयलाई हेर्ने दृष्टिकोण बदल्न नसकिएको गुनासो गर्दै निजी विद्यालयका लगानीकर्तालाई शैक्षिक माफियासमेत भन्ने गरिएको बताउँदै सबै विद्यालयलाई एउटै डालोका हाल्नु अज्ञानताको पराकाष्ठा भएको राष्ट्रिय निजी तथा आवासीय विद्यालय सङ्गठनका अध्यक्ष नारायणप्रसाद ढकाल बताउनुहुन्छ । मोरङमा पुस्तकको छनोट गरी र स्तरीय पुस्तक लिने र सरकारले पाठ्यक्रम परिवर्तन गरेपछि मात्र सरकारी निर्णयअनुरुप हुने अध्यक्ष ढकाल बताउनुहुन्छ ।

पछिल्लो समय कतिपय निजी विद्यालयले गुणस्तरभन्दा विद्यार्थीको सङ्ख्यामा जोड दिनाले त्यस्ता विद्यालयमा स्थानीय पालिकाले थप अनुगमन बढाउनुपर्ने जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ मोरङका प्रमुख टङ्कप्रसाद गौतम बताउनुहुन्छ । एउटा शिक्षकले सामुदायिक विद्यालयमा बढीमा एकपटकमा ५५ विद्यार्थी र निजीमा बढीमा ३० जनामात्र विद्यार्थीलाई पढाउने व्यवस्था रहेको प्रमुख गौतमले बताउनुभयो ।

“सामुदायिक तथा संस्थागत विद्यालयले विद्यार्थी भर्ना अभियान र समग्र शैक्षिक गतिविधिलाई स्वस्थ प्रतिस्पर्धाका लागि स्वच्छ शैक्षिक प्रतिस्पर्धाको वातावरण निर्माण गर्न तथा त्यसो भएनभएको निक्र्योल गर्न निरन्तर अनुगमन गर्दै आएका छौँ”, लेटाङ नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख कृष्णराज राई बताउनुहुन्छ । संस्थागत विद्यालयले कानुनको परिधिमा रहेर गरेका असल कामको प्रशंसा गर्दै हरेक शैक्षिकसत्रमा पोशाक र पाठ्यपुस्तक परिवर्तन गर्ने प्रवृत्ति नरहेको लेटाङमा नभएको उहाँ बताउनुहुन्छ ।

निर्धारित मापदण्ड उल्लङ्घन गरेको पाइएमा कारबाहीको दायरामा ल्याउन नगरपालिका प्रतिबद्ध रहेको दोहो¥याउँदै शाखा प्रमुख अनुगमन र शिक्षक सहायतालाई गुणात्मक बनाउन कर्मचारी, विषयविज्ञ शिक्षक परिचालन गरिएको बताउनुहुन्छ। विद्यालयहरूको निरन्तर अनुगमन भइरहेको उहाँको दाबी छ ।

एमाले बाराको अध्यक्षमा पाण्डेय निर्वाचित

0

बारा: नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित हुनुभएको छ । उहाँले तीन सय ७७ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत महम्द रफिक मियाँले बताउनुभयो । उहाँका प्रतिद्वन्द्वी टिना सुवेदीले तीन सय ४३ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजगाईँ, सहसचिवमा जवाहिर अन्सारी, महिला सहसचिवमा भावना आचार्य निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत मियाँले जानकारी दिनुभयो ।