Tuesday, May 12, 2026
Home Blog Page 860

सभामुख र शीर्ष नेताहरुबीचको छलफल सुरु

0

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरुको छलफल शुरु भएको छ ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरुबीच छलफल जारी रहेको छ ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा निरन्तर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगि प्रकरणमा संलग्नता बारे संसदीय छानबिन समिति गठनको माग राख्दै चैत २७ देखि संसद नै अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुखले छलफल अगाडी बढाएका हुन् ।

छलफलमा सभामुखसहित प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलगायत नेता सहभागी छन् ।

कोशी सरकारबाट बाहिरियो माओवादी

0

काठमाडाैं। कोशी प्रदेश सरकारबाट नेकपा (माओावदी केन्द्र) बाहिरिएको छ साथै केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।

माओवादी संसदीय दलको सोमबार बसेको बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो। कोशी सरकारमा माओवादीबाट गणेश उप्रेती वनमन्त्री, राजेन्द्र कार्की सामाजिक विकासमन्त्री र नारायण बुर्जामगर खानेपानी मन्त्री थिए ।

केन्द्रीय सहमति अनुसार कोसी प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले पाउने छ। सोही अनुसार एमालेले सरकार छाड्न माओवादी र एकीकृत समाजवादीलाई दबाब दिँदै आएको छ।

कोशीमा माओवादी केन्द्रका १३ सांसद रहेका छन्। ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४६ सांसद आवश्यक पर्दछ। कोशीमा एमालेका ४०, कांग्रेसका २९, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद रहेका छन्।

एमालेले संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेशसभामा बहुमत पुर्‍याउने सांसदको नेतृत्वमा गठन भएको सरकारको विकल्पमा सोही धारा अनुसार बहुमत पुर्‍याउने अर्का सांसदले दाबी गर्न पाउने जिकिर गर्दै आएको छ।

यता मुख्यमन्त्री केदार कार्कीले भने धारा १६८ को उपधारा ५ को सरकार अन्तिम भएकाले त्यो सरकार अल्पमतमा परेको अवस्थामा संविधानको धारा १६८को उपधारा ७ अनुसार प्रदेशसभा विघटन भई मध्यावधि निर्वाचन हुने दाबी गर्दै आएका छन्।

 

 

नेपाली क्रिकेट टीमको नयाँ जर्सी सार्वजनिक

0

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकपमा प्रयोग हुने राष्ट्रिय टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टंकलाल घिसिङले संयुक्त रूपमा नेपालको नयाँ जर्सी सार्वजनिक गरेका हुन्। क्यानले विश्वकपमा केल्मीले निर्माण गरेको नयाँ जर्सी प्रयोग गर्ने छ।

कार्यक्रममा खेलकुदमन्त्री श्रेष्ठले खेल क्षेत्रको विकासका लागि सरकारले पछिल्लो समय निरन्तर काम गरिरहेको बताए। खेलकुदमा निजी क्षेत्रलाई पनि आवद्धता गर्न छलफल सुरु भइसकेको उनले बताए। मन्त्री श्रेष्ठले सबै जिम्मेवार र इमान्दारीपूर्वक अघि बढे यसमा निकै सुधार गर्न सकिने धारणा राखे। त्यस्तै राखेप सदस्यसचिव घिसिङले विश्वकपका लागि तयारी गर्न बजेटको कुनै कमी हुन नदिने बताए।

टी–२० विश्वकप आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ। नेपाली टोलीले सन् २०१४ पछि दोस्रोपटक विश्वकपमा सहभागिता जनाउन लागेको हो। विश्वकपमा नेपालसहित २० टोलीले सहभागिता जनाउँदै छन्। नेपाल रहेको समूह डीमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन्। शीर्ष दुईमा रहने हरेक समूहका दुई दुई टोली सुपर ८ मा पुग्नेछन्।

 

नेपाल आँखा अस्पतालको ५०औँ वार्षिकोत्सवमा दुई चिकित्सक पुरस्कृत

0

काठमाडौँ: त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले ५० औँ वार्षिकोत्सवका अवसरमा दुई जना चिकित्सकलाई पुरस्कृत गरेको छ । अस्पतालले धेरै शल्यक्रिया गर्ने र बहिरङ्ग सेवामा रही अधिक बिरामीको स्वास्थ्य परीक्षण गर्ने दुई जना विशेषज्ञ चिकित्सकलाई पुरस्कृत गरेको हो ।

अस्पतालको ५०औँ वार्षिकोत्सवका अवसरमा करिब एक हजार नौ सय २९ बिरामीको सफल शल्यक्रिया गर्ने डा किरण शाक्य र बहिरङ्ग सेवामार्फत करिब १६ हजार बिरामीको स्वास्थ्य परीक्षण गर्ने डा इन्दुप्रसाद ढुङ्गेललाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

विसं २०३० चैत २६ गते स्थापित अस्पतालले हालसम्म ३४ लाख ३८ हजार पाँच सय ७२ जनाको आँखा परीक्षण र एक लाख ३७ हजार एक सय ७४ जनाको आँखाको शल्यक्रिया गरेको वार्षिकोत्सव कार्यक्रममा अस्पतालका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

गत वर्ष सन् २०२३ मा एक लाख ५४ हजार चार सय ८० बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै करिब ११ हजारको शल्यक्रिया सेवा उपलब्ध गराएको थियो । उक्त अस्पतालले सो अवधिमा एक सय वर्षमाथिका १५ जनालाई आँखा उपचार सेवा पुर्याइएको अध्यक्ष डा पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार सेवा लिनेमध्ये दुई जनाको शल्यक्रिया गरिएको थियो ।

उपचारमा आउने समग्रमध्ये ५२ प्रतिशत महिला छन् भने मोतियाबिन्दुका उपचार गर्न आउनमा महिलाको सङ्ख्या ५५ प्रतिशत छ । साथै अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये २० देखि २९ वर्ष उमेर समूहको सङ्ख्या तुलनात्मकरुपमा धेरै रहेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार हाल अस्पतालबाट दैनिक चार सयदेखि सात सयसम्म बिरामीले सेवा लिइरहेका छन् ।

अस्पतालले आगामी चार वर्षभित्रमा वार्षिकरुपमा दुई लाख ५० हजार बिरामीलाई उपचार सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । यहाँ सेवा लिन आउनेमध्ये ९० प्रतिशत बिरामीलाई एकघण्टाभित्र उपचार सेवा उपलब्ध गराउँदै आइएको अध्यक्ष पोलरेलले बताउनुभयो ।

उक्त अस्पतालमा उपचार गर्न आउनेमध्ये सबैभन्दा धेरै काठमाडौँका ६२ प्रतिशत छन् भने अरु क्रमशः ललितपुर, धादिङ, नुवाकोट, रामेछाप, मकवानपुर, दोलखासहित छिमेकी मुलुक भारतसम्मका छन् । अरु महिनाको तुलनामा वार्षिकरुपमा साउनमा उपचार गर्न आउने विद्यार्थीको सङ्ख्या अधिक छ । अस्पतालले गत वर्ष मुलुकका विभिन्न स्थानमा १३ वटा निःशुल्क शल्यक्रिया शिविर सञ्चालित गरी बिरामीलाई सेवा पु¥याएको थियो ।

नेपाल आँखा अस्पताले काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालय र वृद्धाश्रममा पनि उपचार सेवा पु¥याउन महानगरसँग सहयकार्यका लागि प्रयास गरिरहेको छ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रामप्रसाद पोखरेल संस्थापक रहनुभएको अस्पतालले आँखाका बिरामी मात्र नभई विश्व स्वास्थ्य सङ्गठनले अघि सारेको स्वास्थ्यसम्बन्धी दीगो लक्ष्यप्राप्तिमा समेत योगदान दिँदै आएको छ । अस्पताले वार्षिकोत्सवका अवसरमा २५ वर्षसम्म निरन्तर सेवा दिनुहुने पर्शुराम हुमागाईं र दानबहादुर महतोलाई दीर्घसेवा पुरस्कार र प्रमाणपत्र प्रदान गरेको छ ।

कार्यक्रममा अस्पताल सञ्चालक समितिका सचिव युद्धध्वज सापकोटाले नेपालको स्वास्थ्य सेवाभित्र आँखा अस्पतालमार्फत दीगो लक्ष्य प्राप्तिका लागि भइरहेको प्रयासबारे जानकारी गराउनुभयो ।

अस्पतालले मासिकरुपमा समग्र बिरामीको स्वास्थ्य परीक्षण, शल्यक्रिया र बहिरङ्ग सेवाका सम्बन्धमा गहन छलफल र मूल्याङ्कन गरी सेवालाई गुणस्तरीय, सहज र सरल बनाउने अभ्यास गरिरहेको पनि उहाँले बताउनुभयो । नेपालमा आँखा स्वास्थ्यका क्षेत्रमा विशेषज्ञ सेवा प्रदान गर्ने नेपाल आँखा अस्पताल पहिलो हो ।

अस्पतालमा कर्निया, मोतियबिन्दु, जलबिन्दु, रेटिना, अकुलोप्लाष्टि एवं बाल आँखा सेवासमेत उपलब्ध छन् । आधुनिक प्रविधि र उच्च गुणस्तरका औजार र उपकरणबाट अस्पतालले बिरामीलाई सेवा उपलब्ध गराइरहेको छ ।

 

३८ वर्षमा एक सय नौ गैँडा स्थानान्तरण, विभिन्न देशलाई २६ उपहार

0

काठमाडौँ: चितवन राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ एकसिङ्गे गैँडाको बासस्थानका लागि उर्वर क्षेत्रका रुपमा रहेको छ । कूल ९५२.६३ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस निकुञ्जमा हाल छ सय ९४ वटा गैँडा छन् ।

गैँडाको सङ्ख्या बढाउनका लागि तयार गर्ने उद्देश्यले सन् १९८६ देखि २०२३ सम्म चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोसीटप्पु वन्यजन्तु आरक्षमा गरी एक सय दुई वटा गैँडा स्थानान्तरण गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

थप सात गैँडाको यही चैतमा चितवन निकुञ्ज भित्रै आन्तरिक स्थानान्तरण एवं कोसीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको विभागका सूचना अधिकारी एवं वरिष्ठ इकोलोजिष्ट श्यामकुमार शाहले जानकारी दिनुभयो । उहाँका अनुसार सोही अवधिमा विभिन्न देशलाई २६ गैँडा उपहारस्वरुप प्रदान गरिएको छ ।

नेपालले पहिलो पटक सन् १९८५ मा भारतको दुदुवा नेशनल पार्कलाई चार गैँडा उपहारस्वरुप प्रदान गरेको विभागले जनाएको छ । त्यसपछि सन् २०१८ सम्म संयुक्त राज्य अमेरिका, जर्मनी, सिङ्गापुर, बङ्गलादेश, संयुक्त अधिराज्य, जापान, अष्ट्रिया र चीनलाई विभिन्न मितिमा २२ गैँडा उपहारस्वरुप प्रदान गरिसकेको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

आन्तरिक स्थानान्तरणको सम्भाव्यता अध्ययनअनुसार चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको घनत्व बढी भई यसको वृद्धि दरमा ह्रास आएको पाइएपछि पछिल्लो समय गैँडाको आन्तरिक एवं कोसीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको निकुञ्ज कार्यालयले जनाएको छ ।

उक्त अध्ययनका आधारमा वन तथा वातावरण मन्त्रालय (सचिवस्तर) को गत माघ २४ गतेको निर्णयानुसार निकुञ्जको पश्चिम क्षेत्रबाट पूर्वी क्षेत्रमा छ वटा गैँडा स्थानान्तरण कार्य सम्पन्न भएको छ । स्थानान्तरण कार्य यही चैत २ गतेदेखि प्रारम्भ गरिएको थियो । यस स्थानान्तरणबाट गैँडाको सङ्ख्या वृद्धि दर बढ्नुका साथै उपलब्ध बासस्थानको उच्चतम् प्रयोगमा आउने अपेक्षा राखिएको विभागका इकोलोजिष्ट शाहले बताउनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सम्भाव्यता अध्ययनपश्चात् कोसीटप्पु वन्यजन्तु आरक्षमा ‘राइनो सेञ्चुरी’को विकास गर्ने लक्ष्य लिएको छ । उक्त लक्ष्यअनुसार मन्त्रालय (मन्त्रीस्तर) को गत असोज ८ गतेको निर्णयानुसार चितवन राष्ट्रिय निकुञ्जबाट कोसीटप्पुमा दुई पोथी गैँडा (पुष्पा र अञ्जली)लाई गत असोज १० गते विश्वपर्यटन दिवसका अवसरमा स्थानान्तरण गरिएको थियो ।

हालैमात्र थप एक भाले गैँडा कोसीटप्पु आरक्षमा स्थानान्तरण गरिए पनि चोट लागेर घाउ भएपछि केही दिनमै उपचारका लागि पुनःचितवनमा फिर्ता ल्याइएको छ । चितवनको कसरामा रहेको उक्त गैँडा उपचारपछि पुनःकोसीटप्पुमा लगिने विभागका सूचना अधिकारी एवं वरिष्ठ इकोलोजिष्ट शाहले जानकारी दिनुभयो ।

कोसीटप्पु आरक्षमा ‘राइनो सेञ्चुरी’को विकास क्रमसँगै गैँडाको प्रजनन भई दीगो संरक्षण एवं व्यवस्थापन हुने अपेक्षा गरिएको उहाँको भनाइ छ । सो क्षेत्रमा ‘राइनो सेञ्चुरी’का लागि आवश्यक पूर्वाधार बनाउँदै जाने र आगामी वर्षमा थप संरचना बनाउने उहाँले बताउनुभयो ।

<strong>विश्वमा एकसिङ्गे गैँडाको सङ्ख्या चार हजार</strong>

भारतीय महाद्वीपको उत्तरी क्षेत्रअन्तर्गत बह्मपुत्र, इन्दुस र गङ्गा नदीको बहाव क्षेत्रमा विचरण गर्ने एकसिङ्गे गैँडा हाल नेपालको तराई भूपरिधि क्षेत्र तथा भारतको संरक्षित क्षेत्रमा सीमित हुन पुगेका छन् । विश्वमा करिब चार हजारको सङ्ख्यामा रहेका एकसिङ्गे गैँडा नेपालमा सन् २०२२ को राष्ट्रिय गैँडा गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४, बर्दिया राष्ट्रिय निकुञ्ज ३८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा तीन गरी सात सय ५२ वटा रहेका विभागले जनाएको छ ।

यो प्रजाति आयुसिएनको संवेदनशील वर्गमा, साइटिसको अनुसूची १ मा र नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ (संरक्षित वन्यजन्तु) मा पर्दछ । गैँडाको खागका लागि हुने चोरी, सिकार, बासस्थानको विनाश एवं ह्रास र जलवायु परिवर्तनको प्रभाव यसको संरक्षणका लागि मुख्य चुनौती देखिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०७९÷८० मा मात्र विभिन्न कारणले २६ गैँडाको मृत्यु भएको थियो । सोमध्ये प्राकृतिक कारणले २२, चोरी, सिकार र करेन्ट लागेर दुई÷दुई गैँडाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

चालु आवको यही चैत २१ गतेसम्म १९ वटा गैँडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले राससलाई जानकारी दिनुभयो । तीमध्ये प्राकृतिक (उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट) कारणबाट १५, चोरी, सिकारबाट तीन र अन्य कारणबाट एक गैँडाको मृत्यु भएको थियो ।

विश्वसम्पदा सूचीमा सूचीकृत यस निकुञ्जमा एकसिङ्गे गैँडाका साथै पाटेबाघ, गौरीगाई, जङ्गली हात्ती तथा घडियाल गोहीलगायत दुर्लभ वन्यजन्तु पाइन्छन् । जैविक विविधताको धनी यो निकुञ्ज चितवन, पर्सा, मकवानपुर र नवलपरासी (बर्दघाट सुस्तापूर्व) गरी चार जिल्लामा फैलिएको छ । दुर्लभ एकसिङ्गे गैँडा तथा पाटेबाघको मुख्य बासस्थानका रुपमा रहेको यो नेपालको पहिलो निकुञ्ज हो । यस निकुञ्जको स्थापना विसं २०३० असोज ४ गते भएको थियो ।

नुन पाउन पनि नागरिकता अनिवार्य ?

0

सिमकोट (हुम्ला): यो संसारमा पैसा भए के पाइँदैन ? सबथोक किन्न पाइन्छ तर नुन किन्न नागरिकता अनिवार्य भन्ने सुन्दा अचम्म लाग्न सक्छ। हो, हाम्रै नेपालमा नुन किन्न नागरिकता अनिवार्य छ।

हुम्लाको सिमकोट, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकले नागरिकता पेस गरी १० किलो नुन पाउँदै आएका छन् । सिमकोटस्थित साल्ट ट्रेडिङ कर्पाेरेशन शाखा कार्यालयले, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकलाई १० किलोका दरले नुन वितरण गर्दै आएको हो ।

उनीहरुलाई नागरिकताको आधारमा प्रतिव्यक्ति १० किलो नुन वितरण गर्दै आइएको साल्ट ट्रेडिङ कर्पाेरेशन शाखा कार्यालयका प्रमुख राजबहादुर लामाले बताउनुभयो । उहाँका अनुसार एक जनाबाट रु ९० लिने गरिएको छ । “यसरी प्रतिकिलो रु नौ पर्दछ । एक बोरामा पचास प्याकेट नुन हुन्छ । त्यसको मूल्य रु चार सय ५० मा बिक्री हुँदै आएको छ”, उहाँले भन्नुभयो ।

प्रमुख लामाका अनुसार प्रत्येक साताको आइतबार शाखा कार्यालयको वितरण केन्द्रमा नागरिकता पेस गरेपछि नुन वितरण गरिन्छ । सदरमुकाम सिमकोटमा तीन पालिकासहित जिल्लाभरका नागरिक बसोबास गर्दै आएकाले वार्षिक कोटाले अपुग हुने देखिएपछि नागरिकताको आधारमा १० किलो वितरण गर्न थालिएको उहाँको भनाइ छ ।

लामाका अनुसार आर्थिक वर्ष २०८०/८१ का लागि जिल्लामा एक हजार पाँच सय क्विन्टल नुन आइपुगेको छ । जिल्लामा आइपुगेको नुन सम्बन्धित पालिकाका जनप्रतिनिधिको जिम्मा दिएर वितरण गरिने उहाँले बताउनुभयो । झण्डै १८ दिन बसेर दक्षिण भेगमा रहेका पालिकाका नागरिकलाई नुन वितरण गरिएको भन्दै चङ्खेली गाउँपालिकामा तीन सय ८७, सर्केगाडमा चार सय ८५, अदानचुलीमा चार सय ८५ र ताँजकोटमा चार सय क्विन्टल नुन वितरण जानकारी दिनुभयो ।

जिल्लामा पछिल्लो समय ढिके नुनको प्रयोग हट्दै गएको लामाले बताउनुभयो । चङ्खेली–५ को नेप्का र उत्तरी नाम्खा–६ को लिमिमा मात्रै ढिके नुनको प्रयोग हुँदै आएको उहाँले जानकारी दिनुभयो । जिल्लाका अन्य स्थानीय तहमा रहेका वडामा ढिके नुनको प्रयोगमा कमी हुँदै गएको साल्ट ट्रेडिङ कर्पाेरेशन शाखा कार्यालयले जनाएको छ ।

सडक पहुँचले नागरिकको जीवनशैली फेरिँदै

0

ढोरपाटन (बागलुङ): करिब एक दशकअघिसम्म बागलुङका धेरै बस्तीमा मोटरेबल सडकको पहुँच नै थिएन । केही बजारी क्षेत्रमा कच्ची सडकको पहुँच पुगे पनि ग्रामीण क्षेत्रमा यातायतको सुविधा पुग्न सकेको थिएन ।

सङ्घीयता कार्यान्वयनपछि स्थापना भएको स्थानीय तहले पहिलो प्राथमिकतामा सडकमार्गलाई राखेपछि यतिबेला यहाँका १० वटै पालिकाका बस्तीमा सडकको पहुँच पुगेको छ । दुरदराजका बस्तीसम्म सडक पु¥याएपछि अहिले केही विकट बस्तीमा बाहेक अधिकांश स्थानमा गाडी गुड्न थालेका छन् । घरै अगाडिबाट गाडी गुड्न थालेपछि यहाँका पाका मानिसहरु दङ्ग छन् ।

जिल्लाको सबैभन्दा विकट मानिने निसीखोला, तमानखोला, ढोरपाटन, ताराखोला लगायतका क्षेत्रमा कच्ची मात्रै होइन पक्की सडक पनि धमाधम निर्माण भइरहेका छन् । जसले स्थानीयको जीवनस्तरनै बदलिन थालेको छ । ढोरपाटन नगरपालिका–६ पुरानो गाउँमा चालु आर्थिक वर्षमा पहिलो पटक मोटरबाटो पुग्यो । यसभन्दा अगाडि बजारबाट सामान ढुवानी गर्न घोडा खच्चडकै भरपर्नु पर्ने स्थानीयको बाध्यता हट्यो ।

निकै विकट मानिने पुरानो गाउँमा ढोरपाटन नगरपालिकाले यसवर्ष करिब २० लाखको लागतमा सडक निर्माण गरेको हो । करिब एक घण्टाको दुरीमा रहेका गाडीखोला र मोराङ गाउँमा वर्षौँ पहिले सडक पुगे पनि पुरानो गाउँमा पुग्न सकेको थियो ।

गाउँमा सडक पुगेपछि हिजोआज दैनिक गाडी गुड्न थालेका छन् । गाउँमा सडक पुग्नुभन्दा पहिले यहाँका हजारौँ नागरिकले बजारबाट सामान ढुवानी गर्दा साह्रै समस्या खेप्ने गरेको भन्दै गाउँमा कोही बिरामी पर्दा बोकेरै अस्पताल पु¥याउनुपर्ने बाध्यता थियो ।

मोटरबाटोले स्थानीयवासीको वर्षौंदेखिको समस्या समाधान गरेको स्थानीय कुलबहादुर बढा मगरले बताउनुभयो । गाउँमा अधिकांश स्थानीय कृषि र पशुपालनमा आवद्ध रहेको हुँदा अब यहाँ उत्पादन भएका वस्तु बजारसम्म पु¥याउन र बजारबाट सामान ल्याउन सहज हुने बुढा मगरको भनाइ छ । अब दोकानबाट सामान ल्याउन मान्छेले बोक्नु नपर्ने उहाँ बताउनुहुन्छ । यसभन्दा अगाडि छिमेकी गाउँमा सडक आएको सुनाउँदै यसवर्ष बल्ल सरकारले यस क्षेत्रका नागरिकको समस्या बुझेर सडक पु¥याइदिएको बुढा मगरको भनाइ छ ।

उहाँले भन्नुभयो, “यो गाउँमा धेरै पहिलेनै सडक आउनुपर्ने हो तर विकटताका कारण अहिलेसम्म जोडिन सकेको थिएन, गाउँलेहरुले धेरै पटक सरकारलाई आग्रह गरेका थिए, यसपाली बल्ल आयो, धेरै खुसी लागेको छ, हामी वन जङ्गलमा घाँस दाउरा गर्ने, पशु पाल्ने र खेती किसानी गर्नेलाई बजार जाँदाआउँदा गाडीको सुविधा हुने भयो, पहिला सबै सामान बोकेर ल्याउँथ्यौँ, बजारमा पुग्न तीन÷चार घण्टा लाग्थ्यो अब त छिट्टै पुग्न सकिने भयो ।”

ताराखोला गाउँपालिका–५ मदमडाँडामा सडक पुगेको तीन वर्ष भयो । सडक पुगेपछि अहिले स्थानीयवासीले घरमै दैनिक उपभोग्य सामग्री किनमेल गर्न पाएका छन् । जिल्लाको विकट गाउँ मानिने मदमडाँडामा लामो समयपछि सडक पुग्दा स्थानीयको दैनिकीनै बदलिएको छ । म्याग्दीको सिमानासँग जोडिएको यो ठाउँ पर्यटकीय हिसाबले निकै महत्वपूर्ण छ । स्थानीय सरकार आउनुपूर्व मदमडाँडासँगै ताराखोला गाउँपालिकाले धेरै गाउँमा सडक पुगेका थिएनन् ।

गाउँपालिकाले अहिले गाउँसँगै अधिकांश बस्तीमा समेत सडक पु¥याएको छ । बस्तीमै सडक पुगेपछि स्थानीयवासी खुसी भएका छन् । गाउँमा सडक आएपछि गाउँलेहरुले जीवनशैलीनै बदलिएको स्थानीयवासी प्रेमबहादुर घर्तीले बताउनुभयो । बजारभन्दा गाउँ निकै टाढा हुँदा यहाँका सयौँ नागरिकले घण्टौँ लगाएर नून, तेल जोहो गर्नुपरेको घर्तीले स्मरण गर्दै अहिले घर–घरमा दोकान खुलेको उहाँ बताउनुहुन्छ । ताराखोला गाउँपालिका आलु र भाँगो उत्पादनमा उर्वर मानिन्छ।गाउँ बस्ती सडक सञ्जालले जोडिएपछि यहाँ उत्पादन भएका कृषि उपज वस्तु बजारीकरणमा सहज भएको उहाँको भनाइ छ ।

सडकको पहुँच नहुँदा किसानले उत्पादन गरेका आलु, सिमी र भाँगो बजारमा बिक्री गर्न सकिएको थिएन ।तर अलिहे सहज भएको घर्तीको भनाइ
छ । “यो गाउँभन्दा तल फेँदी छ, त्यहाँ त १० वर्ष अगाडि सडक आएको थियो, यहाँबाट फेँदी पुगेर सामान ल्याउने गथ्यौँ, त्यसभन्दा पहिला त बागलुङ बजार हटिया बजार जानुपथ्र्यो, त्यहाँ जान एक दिन लाग्ने गथ्र्यो, अहिले त सामान घरमै आउँछ, गाडी पनि गाउँमै आउँछन्, उतिबेला त महिनौँका लागि सामान बजार गएको बेला एकै पटक ल्याउनुपथ्र्यो, अहिले त्यो समस्या छैन” उहाँले भन्नुभयो ।

सडकले गाउँ मात्रै जोडेको छैन, यसले त गाउँलेलाई आम्दानीसँग जोडेको उहाँको बुझाइ छ । “ताराखोलामा धेरैजसो किसानको बसोबास छ, उनीहरुले धेरै थरीका खाद्यन्न उत्पादन गर्दै आएका छन्, अहिले पहिलेको जस्तो बिक्री नहोला भन्ने चिन्ता हुँदैन”, उहाँले भन्नुभयो ।

पछिल्लो समय बागलुङको १० वटा पालिकाका ८५ वटै वडा र बस्तीसम्म सडकको पहुँच पुगेको छ । कतै अहिलेसम्म नयाँ ट्र्याक खुलाउने चरणमा छन् भने कतै स्तरोन्नति हुन थालेको छ ।

विकट पालिकामध्ये तमानखोला गाउँपालिका पनि एक हो । तमानखोला गाउँपालिकाले ६ वटै वडाको बस्ती–बस्तीसम्म सडक पु¥याएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । उहाँले अघिल्लो कार्यकालदेखि नै सबै बस्तीमा सडक पु¥याउनका लागि ठूलो लगानी गर्दै आएको बताउनुभयो । अहिले सडक नपुगेको बस्तीनै नभएको अध्यक्ष बुढा मगर बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “एकदेखि अर्को गाउँ पुग्न अग्ला–अग्ला पहाड छिचोल्नुपर्छ, खोलानाला पार गर्नुपर्छ । नागरिकको सहजताका लागि सडकको पहुँच हुनुपर्छ भन्ने हिसाबले लगानी गरिएको हो । अहिले सडकले नजोडिएको गाउँ छैन ।” उहाँका अनुसार बर्खामा यातायात सञ्चालन गर्न असहज भए पनि हिउँदमा कुनै समस्या छैन । सडकको पहुँचले नागरिकको दैनिकीसमेत बदलिएको छ ।”

शैक्षिक सत्र सुरु हुनुअघि अभिभावकसँग छलफल गर्दै सामुदायिक विद्यालय

0
बलेवा (बागलुङ): वार्षिक परीक्षा सकिएपछि सामुदायिक विद्यालयमा पठनपाठन बन्द छ । अन्तिम नतिजा प्रकाशन नहुने बेलासम्म विद्यार्थी घरमा छन्, शिक्षकहरु परीक्षाफल तयार गर्दैछन् ।
वैशाख १ गतेबाट सुरु हुने नयाँ शैक्षिक सत्रका लागि संस्थागत विद्यालय सामाजिक सञ्जालदेखि सञ्चारमाध्याममा विज्ञापन गरेर जोडतोडका साथ विद्यार्थी भित्र्याउने ध्याउन्नमा छन् । नयाँ शैक्षिक कार्यक्रम ल्याउन संस्थागत विद्यालय परामर्श र छलफलमा व्यस्त छन् । कतिपय सामुदायिक विद्यालयले भर्ना अभियान अन्तर्गत घरदैलो कार्यक्रम गरे पनि अधिकांश भने सुनसान छन् ।
सामुदायिक विद्यालयमा हुने शैक्षिक क्रियाकलापका विषयमा अभिभावकको घट्दो विश्वासलाई बढाउन केही विद्यालयले अभिभावकसँगै मिलेर शैक्षिक कार्यक्रम तयार पार्छन् । तिनै एकाध विद्यालयमध्येको एक विद्यालय हो, रेश नुन्थला मावि । जसले हरेक वर्षको शैक्षिक सत्र सुरु हुनुपूर्व शिक्षक, विद्यार्थी, अभिभावक र समाजसेवीसँग छलफल गरेर शैक्षिक कार्यक्रम तयार गर्छ ।
काठेखोला गाउँपालिका–७ रेशमा रहेको रेश नुन्थला मावि आगामी शैक्षिक सत्रका लागि शैक्षिक कार्यक्रम बनाउन व्यस्त छ । वार्षिक परीक्षा सकिएपछि अर्को शैक्षिक सत्र सुरु नहुने बेलासम्म विद्यालयले विभिन्न छलफल र अन्तरक्रिया गर्दै आएको छ ।
शिक्षक कर्मचारीसँग छलफल सकेर उत्तरपुस्तिका जाँचको जिम्मेवारी दिएको विद्यालयले व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घसँग छलफल सकेको छ । “विद्यालयसँग जोडिएका सबै पक्ष नयाँ शैक्षिक सत्रमा कसरी अघि बढ्ने भनेर योजना बनाउने अधिकार राख्ने पक्ष हुन”, विद्यालयका प्रअ ओमबहादुर थापाले भन्नुभयो, “एक्लै हिँडेर काहीँ पुगिदैन्, सबैको साथ हुँदा गन्तव्य सजिलो हुन्छ ।”
निर्धारित पाठ्यक्रम पूरा गर्नु मात्रै विद्यालयको कर्तव्य नभएको बुझाइ छ थापाको । त्यसैले विद्यालयले शैक्षिक कार्यक्रम बनाउँदा व्यवहारिक पक्षलाई ध्यान दिएको उहाँको भनाइ छ । शैक्षिक कार्यक्रम तयार गर्नुपूर्वको छलफलमा सहभागी अभिभावकले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन आग्रह गरेका छन् । पाठ्यक्रमको पढाइले मात्रै जीवनयापन गर्ने सीप विद्यार्थीले नसिक्ने भएकाले व्यवहार सिकाइलाई जोड्न उनीहरुले आग्रह गरे ।
विद्यालयले अभिभावकसँग गरेको छलफलमा समाजसेवी हीराबहादुर कुँवरले दैनिक जीवनका क्रियाकलाप सिक्नेगरी विद्यालयका गतिविधि सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । भौतिक पूर्वाधारदेखि शैक्षिक कार्यक्रम तयार गर्दा विद्यालयले सबैलाई सहभागी गराउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद थापाले बताउनुभयो । सबैसँग छलफल गरेर तयार गरेका कार्यक्रम कार्यान्वयन गर्न सजिलो हुने गरेको उहाँले अनुभव सुनाउनुभयो ।
विद्यालयको यो प्रयासले शैक्षिक गतिविधि र विद्यार्थीको सिकाइमा सहयोग गर्ने शिक्षकहरु बताउहुन्छ । विद्यालयले अभिभावक र शुभचिन्तककै सहयोगमा प्रविधिमैत्री पठनपाठन समेत सुरु गरेको छ । घरदैलो गर्ने, टोल टोलमा पुग्ने, अभिभावक र विद्यार्थी भेट्ने तथा सरोकारवालासँग छलफल र अन्तरक्रिया गर्ने अभियान विद्यालयले सुरु गरेको छ ।

मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण

0

टीकापुर(कैलाली): कैलालीको जानकी गाउँपालिका–२ मा मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीको वसन्ते तथा हिउँदे मकैखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषियन्त्र वितरण गरिएको हो ।

किसानलाई मकै लगाउने मेसिन, गोड्ने मेसिन, दाना छोडाउने मेसिनलगायत रु आठ लाख बराबरका सामग्री वितरण गरिएको कृषि ज्ञान केन्द्र कैलालीका बाली विकास अधिकृत रामनारायण चौधरीले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्र कैलालीको अनुदान सहयोगमा अन्नपूर्ण कृषक समूह कालिकापुरमा २९ हेक्टर जमिनमा मकैखेती गरिएको छ । मकैखेतीमा कृषि ज्ञान केन्द्रले ५० प्रतिशत अनुदान प्रदान गरेको छ । किसानलाई मकैखेती विस्तारसँगै बजारीकरणमा सहयोग पुगोस् भनेर कृषि सामग्री वितरण गरिएको बाली विकास अधिकृत चौधरीले बताउनुभयो । “किसानलाई कृषिमा थप आकर्षित गर्न र हौसला प्रदान गर्न सहयोग गरिएको हो,” उहाँले भन्नुभयो, “सामग्री सहयोगले खेती गर्न र बजारीकरणमा सहयोग पुग्नेछ ।”

कालिकापुरमा एक सय १९ किसानले अहिले व्यावसायिक मकैखेती गर्दैआएका छन् । मकै उत्पादन गर्न राम्रो क्षेत्र रहेको र बजारीकरणमा समस्या नभएकाले धेरै किसानले मकैखेती गरेका अन्नपूर्ण कृषक समूहका अध्यक्ष पदमबहादुर विष्टले बताउनुभयो । “समूहमार्फत खेती गर्दा सहज भएको छ । समूहमार्फत किसानले कृषियन्त्र प्राप्त गरेका छन्,” उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा यस वर्ष किसानले मकैखेती गर्ने जमिन बढाएका छन् ।”

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता

0

लिस्बन: पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ भने अर्का नेपाली युवा बेपत्ता भएका छन् ।
शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो ।

तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनका अनुसार सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भने भएका छन् । बेपत्तामध्ये धनबहादुरको शव आइतबार उद्धार टोलीले समुद्रमा भेट्टाएको थियो । टेकबहादुर हालसम्म बेपत्ता छन् । धनबहादुर र टेकबहादुरसहित अन्य दुई नेपाली पनि सामुद्रिक जीव खोज्न गएका थिए । बेपत्ता टेकबहादुरको झोला र बाल्टी मात्रै भेटिएको योञ्जनले बताउनुभयो । धनबहादुरको शव परीक्षणका लागि मोन्तिजोस्थित बरेइरो अस्पतालको शवगृहमा राखिएको छ । दुवै जना समुद्रमा बेपत्ता भएपछि उद्धारका लागि तत्काल प्रहरीलाई खबर गरिएको मोन्तिजो नेपाली समाज पोर्चुगलका सचिव प्रबल भट्टराईले जानकारी दिनुभयो ।

उद्धार टोलीले शनिबारदेखि नै विभिन्न माध्यममार्फत बेपत्ताको खोजी गरिरहेको छ । धनबहादुर वैदेशिक रोजागारीको सिलसिलामा फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए । यस्तै चार महिनाअघि क्रोसिया आएका टेकबहादुर १८ दिन अघि मात्रै पोर्चुगल आएका थिए । दुवैजना नाताले काकाभतिज पर्छन् । दुवैजना मोन्तिजो बस्दै आएका थिए ।