Saturday, May 9, 2026
Home Blog Page 84

युगकवि सिद्धिचरण श्रेष्ठ अन्तरमहादेशीय वक्तृत्व प्रतियोगिता घोषणा

0

काठमाडौं । युगकवि सिद्धिचरण प्रतिष्ठानले विश्वभर रहेका नेपाली मूलका बालबालिकालाई लक्षित गर्दै अन्तरमहादेशीय वक्तृत्व कला प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। हालसम्म नेपालभित्र विभिन्न साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको प्रतिष्ठानले अब कार्यक्रमलाई विश्वव्यापी बनाउने तयारी गरेको हो।

नयाँ पुस्तालाई नेपाली भाषा, साहित्य र संस्कृतिसँग जोड्ने उद्देश्यले १८ वर्षसम्मका बालबालिकालाई प्रतियोगितामा सहभागी गराइनेछ। विशेषगरी विदेशमा हुर्कँदै गरेका नेपाली मूलका बालबालिकामा मातृभाषाप्रति आत्मीयता र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको प्रतिष्ठानले जनाएको छ।

युगकवि सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यका परिवर्तनकारी हस्ताक्षर हुन्। कविता, कथा, निबन्ध र यात्रा संस्मरणजस्ता विविध विधामा उहाँले उल्लेखनीय योगदान दिनुभएको थियो। जहानियाँ राणा शासनविरुद्ध उहाँका लेखनीले निर्भीक आवाज उठाएको थियो। उहाँ एक कुशल संगठकसमेत हुनुहुन्थ्यो। उहाँकै प्रेरणामा गंगालाल, धर्मभक्त, दशरथ चन्दशुक्रराज शास्त्रीजस्ता वीरहरूले परिवर्तनका लागि बलिदान दिएका थिए।

राणा शासकहरूले चेतनालाई दबाउन खोजे पनि साहित्यिक चेतनालाई कैद गर्न नसकिने तथ्य सिद्धिचरण श्रेष्ठले जेल जीवनमै प्रमाणित गर्नुभयो। कारावासमा रहँदा पनि उहाँले सिर्जना कार्यलाई निरन्तरता दिनुभएको थियो। उहाँका कृतिहरूले नेपाली समाजलाई जागरण र परिवर्तनतर्फ उन्मुख गराएका छन्।

प्रतिष्ठानका अनुसार प्रतियोगिता पहिलो चरणमा अमेरिका, क्यानडा र अष्ट्रेलिया महादेशमा आयोजना हुनेछ। त्यसपछि दोस्रो चरणमा अन्य महादेशहरूमा विस्तार गरिनेछ। अमेरिका र क्यानडामा रहेका अभिभावकलाई आफ्ना नानीबाबुलाई प्रतियोगितामा सहभागी गराउन प्रतिष्ठानले आह्वान गरेको छ।

यस प्रतियोगिताको संयोजन प्रतिष्ठानका डायस्पोराका लागि काव्यदूत सुरेन उप्रेतीले गर्ने जनाइएको छ। प्रतिष्ठानले यस कार्यक्रममार्फत नयाँ पुस्तालाई आफ्ना अग्रज साहित्यकारहरूको योगदानसँग परिचित गराउँदै नेपाली पहिचानलाई विश्वभर सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।

सुरेन उप्रेती क्यानडा

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १४५.८७ रुपैयाँमा बिक्री

0

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा कायम गरिएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८४ पैसा रहेको छ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ २७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६९ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११५ रुपैयाँ २४ पैसा कायम गरिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा तोकिएको छ भने चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १८ पैसा र बिक्रीदर २१ रुपैयाँ २७ पैसा रहेको छ। साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८९ पैसा तथा कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४० रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ।

त्यसैगरी, थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४ रुपैयाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा तोकिएको छ।

साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा कायम गरिएको छ भने स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६ रुपैयाँ १२ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९५ पैसा र बिक्रीदर २३ रुपैयाँ ०४ पैसा रहेको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

खामेनीको मृत्यु दाबी: ट्रम्पको घोषणा, तर इरानबाट औपचारिक पुष्टि छैन

0

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी तेहरानमा भएको आक्रमणमा मारिएको दाबी गरेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममार्फत जानकारी सार्वजनिक गर्दै अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको आक्रमणमा खामेनीको मृत्यु भएको उल्लेख गरेका हुन्। उनले उक्त घटनालाई “न्याय” भएको भन्दै इरानका नागरिक, अमेरिकी जनता तथा विश्वका धेरै देशका मानिसका लागि महत्त्वपूर्ण क्षण भएको दाबी गरेका छन्।

यसअघि अन्तर्राष्ट्रिय समाचार संस्था Reuters तथा केही इजरायली सञ्चारमाध्यमहरूले पनि ८६ वर्षीय खामेनी मारिएको दाबी गरेका थिए। अमेरिकी टेलिभिजन च्यानल Fox Newsले समेत इजरायली एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै खामेनीको मृत्यु भएको जनाएको छ।

संयुक्त आक्रमणपछि Tehranस्थित खामेनीको निवास पूर्ण रूपमा ध्वस्त भएको स्याटेलाइट तस्बिरमा देखिएको बताइएको छ। यद्यपि, उक्त दाबीबारे इरान सरकार वा कुनै स्वतन्त्र स्रोतबाट आधिकारिक पुष्टि भने हालसम्म सार्वजनिक भएको छैन।

यस घटनाले मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्था थप जटिल बन्न सक्ने आकलन गरिएको छ।

मध्यपूर्व तनावबीच बालेन शाहको अपिल — नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह

0

काठमाडौं । बालेन शाहले मध्यपूर्व एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई वर्तमान असामान्य परिस्थितिलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै शाहले त्यहाँ रहेका नेपालीहरूलाई सुरक्षित रहन र सम्बन्धित देशका आधिकारिक निकाय तथा नेपाली राजदूतावासले जारी गर्ने सूचनाको पूर्ण पालना गर्न अनुरोध गरेका हुन्।

उनले विशेषगरी घरभित्र सुरक्षित रहन, स्थानीय सुरक्षा निकायका निर्देशन कडाइका साथ पालना गर्न र अत्यावश्यक अवस्था बाहेक अनावश्यक यात्रा नगर्न सुझाव दिएका छन्। साथै, नजिकको सुरक्षित आश्रयस्थलको जानकारी राख्न र कुनै आपत्कालीन अवस्था उत्पन्न भएमा तुरुन्तै नेपाली राजदूतावाससँग सम्पर्कमा रहन पनि आग्रह गरेका छन्।

“आधिकारिक सूचना, समाचार तथा राजदूतावाससँग नियमित सम्पर्कमा रहनुहोस्। सुरक्षित रहनुहोस्, सजग रहनुहोस्,” शाहले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।

मध्यपूर्वका केही क्षेत्रमा विकसित भइरहेका तनावपूर्ण परिस्थितिका कारण त्यहाँ कार्यरत तथा बसोबास गरिरहेका नेपाली नागरिकको सुरक्षाप्रति चासो बढिरहेका बेला शाहको यो अपिल सार्वजनिक भएको हो। नेपाल सरकार तथा कूटनीतिक नियोगहरूले समेत आवश्यक परे सहयोग र समन्वयका लागि तयारी अवस्थामा रहेको जनाइएको छ।

मध्यपूर्व तनावप्रति रास्वपाको चिन्ता, नेपालीको सुरक्षामा सरकारलाई उच्च सतर्कता अपनाउन आग्रह

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मध्यपूर्व क्षेत्रमा चर्किँदै गएको सैन्य तनाव, विशेषगरी इरान केन्द्रित विकसित अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

शनिबार जारी विज्ञप्तिमार्फत रास्वपाले इरान र इजरायलसहित युएई, कतार र बहराइनमा कार्यरत नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्न नेपाल सरकारलाई आग्रह गरेको हो। पछिल्ला घटनाक्रमका कारण ती मुलुकहरूमा सुरक्षा अवस्था थप संवेदनशील बन्न सक्ने जोखिम रहेको भन्दै लाखौं नेपाली कामदारको जीवन, रोजगारी र सुरक्षाप्रति गम्भीर चासो व्यक्त गरिएको छ।

विज्ञप्तिमा उल्लेख गरिएको छ कि मध्यपूर्वमा विकसित भइरहेका परिस्थितिले नेपाली नागरिकलाई प्रत्यक्ष असर पार्न सक्ने सम्भावना रहेकाले सरकारले समयमै कूटनीतिक पहल, समन्वय र आवश्यक पूर्वतयारी गर्नुपर्छ। आकस्मिक अवस्था सिर्जना भएमा उद्धार, सम्पर्क र सहजीकरणका लागि स्पष्ट कार्ययोजना तयार राख्न पनि पार्टीले सुझाव दिएको छ।

रास्वपाले नेपाली नागरिकको सुरक्षा राज्यको सर्वोपरि दायित्व भएको स्मरण गराउँदै कुनै पनि आपतकालीन परिस्थितिसँग जुध्न सरकार पूर्ण रूपमा तयार रहनुपर्नेमा जोड दिएको छ। साथै, आवश्यक परेमा सरकारलाई सबै प्रकारको सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको पनि जनाएको छ।

अरुण नदीको बेलीब्रिज भाँचिँदा ट्रक खस्यो, नुम–सेदुवा सडक अवरुद्ध

0
AI Generated image

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–५ (नुम) र वडा नं. २ (सेदुवा) जोड्ने अरुण नदीमाथि निर्माण गरिएको बेलीब्रिज भाँचिएको छ। आज बिहान करिब ९ बजे सिमेन्ट बोकेको लोवेट ट्रक तार्ने क्रममा पुल गाडीसहित भाँचिएको हो।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार ठूला सवारीसाधन पार गर्ने क्रममा पुल धान्न नसकी भाँचिएको हो। पुल भाँचिँदा प्रदेश–०३–००१ क २९२० नम्बरको ट्रक अरुण नदीमा खसेको छ।

दुर्घटनामा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ का ४० वर्षीय चालक अर्जुन श्रेष्ठ गम्भीर घाइते भएका छन्। उनलाई प्राथमिक स्वास्थ्य केन्द्र नुममा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

उक्त ट्रक निर्माणाधीन कासुवा हाइड्रोपावर आयोजनाका लागि सामग्री बोकेर जाँदै थियो। पुल भाँचिएसँगै नुम–सेदुवा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने आवतजावत ठप्प बनेको छ।

यस मार्ग हुँदै मकालु बेसक्याम्प आवतजावत गरिने भएकाले पुल भत्किँदा स्थानीय बासिन्दा, पर्यटक तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा प्रत्यक्ष असर परेको छ। पुल मर्मत तथा वैकल्पिक व्यवस्था मिलाउन सम्बन्धित निकाय र कासुवा हाइड्रोपावरसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

इरानमाथि अमेरिका–इजरायलको संयुक्त अपरेशन सुरु, वार्ता विफल

0

तेहरान । इरानमाथि भइरहेको पछिल्लो सैन्य आक्रमण United StatesIsraelको संयुक्त अपरेशन रहेको एक अमेरिकी अधिकारीले Al Jazeeraलाई बताएका छन्। केही समयदेखि द्वन्द्व टार्न अनेकौँ चरणमा वार्ता हुँदै आए पनि पछिल्लो संवाद दुई दिनअघि मात्र सम्पन्न भएको थियो।

अमेरिका–इरानबीचको अप्रत्यक्ष वार्तामा मुख्य सहजकर्ताको भूमिका निर्वाह गरिरहेका ओमानका विदेशमन्त्रीले हालै वासिङ्टन पुगेर अमेरिकी उपराष्ट्रपति JD Vanceसँग भेटवार्ता गर्दै तनाव रोक्ने अन्तिम प्रयास गरेका थिए। तर त्यसपछि इजरायली मोर्चाबाट सैन्य कारबाही औपचारिक रूपमा सुरु भएको पुष्टि भएको छ।

इजरायली सुरक्षा स्रोतका अनुसार पछिल्लो २४ घण्टामा अमेरिका र इजरायलले कूटनीतिक समाधानको सम्भावना सकिएको निष्कर्ष निकालेका थिए। इजरायलले आफ्नो आकाशमार्ग बन्द गरेको छ भने सेनाले संकटकाल घोषणा गर्दै नागरिकहरूलाई सुरक्षित स्थान नजिकै रहन आग्रह गरेको जनाएको छ।

यसबीच, Georgetown Universityका प्राध्यापक तथा इरानी मामिला विज्ञ मेहरान कामराभाले इजरायलले अमेरिका–इरान वार्ता असफल पार्ने उद्देश्य पहिले नै देखाएको टिप्पणी गरेका छन्। उनका अनुसार विगतमा जस्तै यसपटक पनि कूटनीतिक संवादलाई पटरीबाट उतार्न सैन्य कदम चालिएको देखिन्छ।

कामराभाले अमेरिकी राष्ट्रपति Donald Trumpमाथि इजरायलप्रति दिइएको निरन्तर समर्थनका कारण दबाब सिर्जना भएको विश्लेषण गरे। उनका अनुसार क्षेत्रीय तनाव अब थप जटिल चरणमा प्रवेश गरेको छ।

मोदीलाई सम्बोधन गरिएको भनिएको पत्र नक्कली: रास्वपाको स्पष्टिकरण

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको संयुक्त हस्ताक्षर रहेको भन्दै सार्वजनिक गरिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित भएको जनाएको छ।

शुक्रबार राति जारी विज्ञप्तिमा पार्टीले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरी लेखिएको भनिएको पत्रप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

‘सार्वजनिक गरिएको उक्त पत्र पूर्णतः नक्कली, किर्ते र कपोलकल्पित रहेको हामी स्पष्ट पार्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘दुई जिम्मेवार व्यक्तिको नाम जोडेर परराष्ट्र सम्बन्धजस्तो संवेदनशील विषयमा अनर्गल र आधारहीन भ्रम फैलाउनु अत्यन्तै निन्दनीय कार्य हो।’

पार्टीले उक्त पत्रप्रति विश्वास नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ। साथै निर्वाचनको मुखमा यस्ता फेक न्यूज र भ्रामक प्रचारप्रसारबाट सचेत रहन अपिलसमेत गरेको छ।

बाराहापोखरीका उपाध्यक्ष भुवल राई श्रम संस्कृति पार्टीमा प्रवेश

0

काठमाडौं । खोटाङको बाराहापोखरी गाउँपालिकाका उपाध्यक्ष भुवल राई श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। २०७९ सालको स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनबाट तत्कालीन नेकपा (एकीकृत समाजवादी)को तर्फबाट निर्वाचित राई शुक्रबार बाराहापोखरीमा आयोजित कार्यक्रममा नयाँ पार्टीमा आबद्ध भएका हुन्।

श्रम संस्कृति पार्टी खोटाङका अध्यक्ष प्रताप राईका अनुसार राई नेकपा एसका प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी सचिवालय सदस्यसमेत रहेका थिए। पछिल्लो समय उनी नेपाल कम्युनिष्ट पार्टीसँग आबद्ध रहेका जनाइएको छ।

राईको प्रवेशसँगै जिल्लाको राजनीतिक समीकरणमा केही फेरबदल हुने आकलन गरिएको छ।

मधेसका चार जिल्लामा गगन थापाको चुनावी दौड, उपसभापति शर्माको तीन जिल्ला भ्रमण

0

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले शनिबार मधेस प्रदेशका चार जिल्लामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। सचिवालयका अनुसार थापाले सर्लाहीको लालबन्दी, रौतहट, बारा हुँदै पर्साको वीरगञ्जमा आयोजित सभामा सम्बोधन गर्नेछन्। यस क्रममा उनी विभिन्न स्थानमा रोड शोमा पनि सहभागी हुनेछन्।

सभापति थापाले आइतबार (फागुन १७) काठमाडौँ उपत्यकामा हुने चुनावी कार्यक्रममा पनि सम्बोधन गर्नेछन्। यसअघि उनले फागुन ६ गते जनकपुरधाममा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेका थिए भने फागुन ७ गते काठमाडौँस्थित राष्ट्रिय सभागृहमा प्रतिज्ञापत्रमाथि उठेका प्रश्नको जवाफ दिएका थिए।

गत बिहीबार थापाले सुर्खेत र बाँकेका सभालाई सम्बोधन गरेका थिए भने शुक्रबार रुपन्देही, कपिलवस्तु, बाग्लुङ र कास्कीमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए। बुटवलको सभामा उपसभापति पुष्पा भुसाल सहभागी थिइन् भने पोखराको कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्मा उपस्थित थिए।

यसैबीच, उपसभापति विश्वप्रकाश शर्मा शनिबार तीन जिल्लाको भ्रमणमा रहनेछन्। पोखराबाट कार्यक्रम सुरु गरेका उनले गुल्मीको छत्रदेव, डोल्पाको जुफाल तथा अछामको साँफेबगर र कमलबजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन्। साँझ उनी काठमाडौँ फर्कने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।