Monday, May 11, 2026
Home Blog Page 803

ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ

0

काठमाडौँ: ख्वप तिलगङ्गा आँखा अस्पतालले नयाँ भवनबाट आँखा सम्बन्धि विशिष्ट सेवा उपलब्ध गराउने भएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान, ख्वप तिलगङ्गा आँखा अस्पतालले आजबाट आफ्नो नयाँ भवनबाट सेवा शुभारम्भ गरेको हो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, प्रतिष्ठानका बोर्ड सदस्य तथा कार्यकारी निर्देशक डा सन्दुक रुइत, प्रमुख कार्यकारी अधिकृत डा रीता गुरुङका साथमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले नयाँ भवनको शुभारम्भ गर्नुभएको हो ।

करिब एक दशकदेखि नै भक्तपुर नगरपालिकासँगको सहकार्यमा सञ्चालनमा रहँदै आएको केन्द्र अहिले नयाँ भवनसँगै थप सुविधा सम्पन्न र अस्पतालको रुपमा स्तरोन्नति भएको छ । सो अवसरमा कार्यकारी निर्देशक डा. रुइतले भक्तपुरका हरेक नागरिकको पहँुचमा यस आँखा अस्पताल रहेको र कलाकृतिका कौशल शिलपकारहरको आँखा स्वास्थ्यमा आफू र संस्था प्रतिबद्ध रहेको बताउनुभयो ।

 

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

0

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबार बिहान बस्ने भएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्न लागेको जानकारी दिनुभयो । संसदीय दल कार्यसमितिको बैठक बिहान ८ः३० बजे र संसदीय दलको बैठक बिहान ९ बजे बस्न लागेको कांग्रेसले जनाएको छ । उक्त बैठक सङ्घीय संसद् भवन नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बस्ने प्रमुख सचेतक लेखकले बताउनुभयो ।

वरिष्ठ पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान

0

काठमाडौँ: निजी क्षेत्रबाट सञ्चालित व्यावसायिक पत्रकारिता प्रशिक्षण संस्था ‘मिडिया प्वाइन्ट’ले वरिष्ठ आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान–२०८१’ प्रदान गरेको छ । मिडिया प्वाइन्टको २८औँ वार्षिकोत्सवका अवसरमा टक्सार मासिक पत्रिकाका प्रधान सम्पादक रहेका बुढाथोकीलाई रु १५ हजार पाँच सय ५५ राशिसहित सो सम्मान प्रदान गरिएको हो ।

मिडिया प्वाइन्टका संस्थापक एवम् राष्ट्रिय समाचार समिति (रासस)का पूर्वमहाप्रबन्धक, अर्का संस्थापक अर्जुन बिष्ट वरिष्ठ पत्रकार बुढाथोकीको निवास कपनमै पुगेर आज सो सम्मान प्रदान गर्नुभयो ।मिडिया प्वाइन्टको पहिलो समूहका प्रशिक्षार्थी एवम् वरिष्ठ पत्रकार बलराम प्यासीको संयोजनमा भएको सम्मान प्रदान कार्यक्रममा पहिलो समूहका पत्रकारहरु इशुजङ्ग कार्की, किशोर बस्नेत, शिवभक्त सैँजु पनि सहभागिता रहेको थियो ।

राष्ट्रिय पत्रकारिता पुरस्कारलगायत स्वदेशी तथा विदेशी विभिन्न पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसकेका वरिष्ठ पत्रकार बुढाथोकीले नेपाल समाचारपत्र दैनिक, राजधानी दैनिकलगायत पत्रिकाहरुमा झन्डै तीन दशक पत्रकारिता गरिसकेका छन् । २०६५ साल असोज १० गते मोटरसाइकल दुर्घटनामा घाइते भएदेखि उनी ह्विलचियरमै बसेर अहिले पनि सक्रिय पत्रकारिता गर्दै आएका छन् । २०५३ जेठ गतेदेखि पत्रकारिता कक्षा सुरुआत गरेको मिडिया प्वाइन्टले सो दिनलाई वार्षिकोत्सवका रुपमा मनाउँदै आएको छ ।

यसअघि लगातार पाँच वर्षसम्म क्रियाशील पत्रकारलाई रु पाँच हजार पाँच सय ५५ राशिको मिडिया प्वाइन्ट पत्रकारिता पुरस्कार दिने गरिएता पनि विगत केही वर्षको अन्तरालपछि पहिलोपटक वरिष्ठ पत्रकार बुढाथोकीलाई सो सम्मान गरिएको हो ।

अन्तर्रांष्ट्रिय हाफ म्याराथनमा राजन र सुमित्राले स्वर्णपदक जिते

0

काठमाडौँ: अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि पुरुषतर्फ राजन रोकाया र महिलातर्फ सुमित्रा चौधरीले जितेका छन् । दुवै विधाका विजेताले जनही रु ५० हजार प्राप्त गरे ।

राजनले २१ दशमलव एक किलोमिटर दौड एक घण्टा १६ मिनेट सात सेकेन्डमा पूरा गरे भने खिमबहादुर खत्रीले एक घण्टा १७ मिनेट २४सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थानमा रहे । साथै धर्म महर्जनले एक घण्टा १९ मिनेट ५८ सेकेन्ड खर्चदै तेस्रो भए ।

महिलातर्फ सुमित्राले एक घण्टा ३४ मिनेट २६ सेकेन्डमा दौड पूरा गरिन् । उनी पछि पुष्पा भण्डारीले एक घण्टा ४२ मिनेट ५४ सेकेन्डमा दौड पूरा गरेर दोस्रो भइन् । मञ्जु सुनार दुई घण्टा ३ मिनेट ८ सेकेन्डको समयमा तेस्रो भइन् ।

त्यसैगरी पुरुष १० किलोमिटर दौडमा ३२ मिनेट ३३.१ सेकेन्डको समयसहित राजेन्द्र तामाङ पहिलो भए ।यस्तै सुरज कार्की ३३ मिनेट ३९.२ सेकेन्डमा दोस्रो र रेम बुढामगर ३४ मिनेट ५३.१ सेकेन्डमा तेस्रो भए ।

महिलातर्फ १० किलोमिटर दौडमा फुलमति राना ३८ मिनेट २८.०५ सेकेन्डमा पहिलो, आशा रावत ३९ मिनेट ४.४० सेकेन्डमा दोस्रो तथा सगुन राई ५० मिनेट २० सेकेन्डमा तेस्रो भए ।

यस्तै पुरुष पाँच किलोमिटर दौडमा नागेश्वर अहिर १८ मिनेट ३३.७५ सेकेन्डमा पहिलो, मिङ्मा शेर्पा १८ मिनेट ४२.४० सेकेन्डमा दोस्रो तथा हस्त सुनार १९ मिनेट १५.४० सेकेन्डमा तेस्रो स्थानमा रहे । महिलाको पाँच किलोमिटर दौडमा सीमा चौधरी २२ मिनेट ४८.७० सेकेन्डमा पहिलो भइन् । उनीपछि २३ मिनेट ५०.९ सेकेन्डमा श्रेबी मजर्हन दोस्रो तथा २६ मिनेट ३९.८७ सेकेन्डमा पूर्णिमा श्रेष्ठ तेस्रो भए ।

छात्रतर्फ एक किलोमिटर दौडमा सञ्जय नेफाली, सन्तोषविक्रम विष्ट र खगेन्द्र शर्मा त्रमशः शीर्ष तीन स्थानमा रहे । छात्रातर्फ रजिना दुलाल, मनु खड्गी र कृटिका हाउँमिखा पहिलोदेखि तेस्रो स्थानमा रहे ।

दौड हिरो लिगको आयोजनामा भएको हो र यसलाई एनआरएस स्पोर्टस पाउन्डेसनले प्राविधिक सहयोग गरेको थियो । पाटन दरवार स्क्वारमा आयोजित उक्त दौड प्रतियोगितामा एक हजारभन्दा बढी धावक धाविकाको सहभागिता रहेको थियो ।

त्यसमा विभिन्न १५ देशका धावक धाविक सहभागी थिए । कृष्ण मन्दिरबाट सुरु भएको दौड पाटनका विभिन्न स्थान भएर त्यहीं आएर टुंगेको थियो । ललितपुर उप–महानगरपालिकाका प्रुख चिरीबाबु महर्जनले दौडका शुभारम्भ गर्नुभएको थियो ।

उक्त प्रतियोगिताको विजेता खेलाडीलाई मेयर महर्जनसँगै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र पदक तथा पुरस्कार वितरण गर्नुभएको थियो ।

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान

0

काठमाडौँ: उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला अन्त्य गरेर सहमतिकासाथ अघि बढ्न आह्वान गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आफ्ना भनाइ राख्नेक्रममा उहाँले सदनलाई मर्यादित रुपमा अगाडि बढाउन सबै दलहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो । “सदनलाई मर्यादित रुपमा अगाडि बढाऔँ । सदनमा झडपको अवस्था सिर्जना हुनु राम्रो होइन, देशलाई आशा र भरोसा जगाउन सबै जिम्मेवार बनौँ।हूलहुज्जत र बल मिचाइले सदन चन्दैन”, उहाँले भन्नुभयो ।

सहकारी संस्थाहरुको रकम अपचलन भएको विषयमा संसदीय छानबिन समिति गठन गर्दा व्यक्तिविशेषलाई केन्द्रित नगरी समग्र समस्या हल गर्नेगरी गरिनुपर्ने उहाँको भनाइ छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री लामिछानेलाई विभिन्न सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लगाउँदै आएकामा लामिछानेले भने त्यसको प्रतिवाद गर्नुभयो । “सहकारीका विषयमा अदालतमा मुद्दा छैन, कसैको बयानले मलाई पोलेको छैन”, उहाँले भन्नुभयो, “कुनै पनि ज्ञापनपत्रमा मेरो बारेमा उल्लेख गरेको छैन । मेराबारे सहकारीका सम्बन्धमा धेरै समाचार आए । हल्ला र मिडिया ट्रायलका भरमा समिति बनाउँदै जाने हो भने हामीले कस्तो संसदीय अभ्यास बनाउँदैछौँ भन्ने प्रश्न आउँछ ।”

छानबिन समितिको कार्यादेश तय गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल कठोर भएर उपस्थित भएको र व्यक्ति विशेष छानबिन थालिनुपर्ने अडानमा कायम रहँदा सहमति जुट्न नसकेको लामिछानेको भनाइ छ ।

“प्रतिपक्षले लचकताका आधारमा समिति बनाउने कुरामा सहमति गरेर आएका हौँ, तर कार्यादेशको विषय नटुङ्गिँदै मिडियामा आइसक्छ । तपाईंहरुले कस्तो किसिमको समिति बनाउन खोज्नुभएको हो ?, रास्वपालाई बाहिर राखेर समिति गठन गर्ने भए पनि गर्नुस्”, गृहमन्त्री लामिछानेले भन्नुभयो ।

नयाँ दलका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदाएको विषयलाई पुरानो र लामो संसदीय अभ्यास गुजारिसकेको नेपाली कांग्रेसले सहन नसकेको उहाँको आरोप थियो । उहाँले भन्नुभयो, “लोकतन्त्र र संविधानका आधारमा रास्वपा भर्खरै हुर्केको हो तर यहाँ निमोठ्ने प्रयास भयो । एउटा व्यक्तिलाई खुइल्याउने, सदनमा बोल्न नदिने अनि समस्याको समाधान गर्न पहल पनि गर्न नदिने स्थिति बन्यो ।”

उपप्रधानमन्त्री लामिछानेले सहकारी समस्या समाधानका लागि व्यक्ति केन्द्रित नभई समस्या केन्द्रित रहेर जानुपर्नेमा सरकार सदैव तयार रहेको बताउनुभयो । उहाँले समस्याग्रस्त सहकारीमा सबैभन्दा पहिला बचतकर्ताको रकम फिर्ता गर्न सरकार तयार रहेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले यही अधिवेशनमार्फत सहकारीका समस्या समाधानका लागि कुनै कानुन बनाएर जानसकिने भन्दै त्यस प्रक्रियामा सहजीकरण गर्न प्रतिपक्षी दललाई आग्रह गर्नुभयो ।

यसअघि विभिन्न समयमा उठेका आर्थिक अनियमितताका उदाहरण दिँदै उपप्रधानमन्त्री लामिछानेले ती घटनामा पनि छानबिन थालिनुपर्ने धारणा राख्नुभयो । सहकारी ठगीको विषय फौजदारी कसुरको विषय भएकाले सोहीअनुसार अनुसन्धान र अभियोजनलगायत कानुनी प्रक्रियामा जानुपर्ने उहाँको भनाइ छ ।

उपप्रधानमन्त्री लामिछानेले समस्या केन्द्रित छानबिन अगाडि बढ्दा आफूले त्यसलाई सहजै स्वीकार्ने र आफूमाथिको छानबिनका लागि सहजीकरण गर्न तयार रहेको स्पष्ट पार्नुभयो । “संसदीय छानबिन समिति बनाउनूस्, म परीक्षित हुन तयार छु । सञ्चारमाध्यममा समाचार आएकै भरमा व्यक्ति केन्द्रित विषयमा समिति बनाउने होइन । समस्या केन्द्रित भएर छानबिन गरिनुपर्छ”, उहाँले भन्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठक निर्धारित कार्यसूचीअनुसार अगाडि बढ्न सकेन । उपप्रधानमन्त्री लामिछानेको सम्बोधनपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले आजका लागि निर्धारित विषयहरु कार्यसूचीबाट हटाएको जानकारी दिनुभयो । प्रतिनिधिसभाको अर्को बैठक भोलि जेठ ७ गते सोमबार बिहान ११ बजे बस्नेछ ।

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

0

काठमाडौँ: सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको हो ।

पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन् । उक्त राजदूतावासले शनिबार एक सूचना जारी गरी “किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब दुई सय ८० को सङ्ख्यामा खासगरी बिस्केक र वरपर रहनुभएका नेपाली हाल सकुशल रहनुभएको र स्थिति सामान्य नहुञ्जेलसम्म निवास÷घर बाहिर ननिस्कन आग्रह छ”, भनेको छ ।

दूतावासले कुनै किसिमको समस्या परेमा उक्त देशमा रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ । साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नं +92512610321 (ह्वाट्सयाप समेत) र इमेल eonislamabad@mofa.gov.np मा सम्पर्क गर्न सकिने जनाएको छ ।

बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्राबासमा आक्रमण भएपछि दूतावासले उक्त आग्रह गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल बिस्केकको अवस्था सामान्य छ । त्यहाँको परराष्ट्र मन्त्रालयले बिस्केकको स्थिति नियन्त्रणमा रहेको जनाउँदै झुटा समाचार सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सम्बद्ध सबैमा आग्रह गरेको छ । छात्राबासमा भएको आक्रमणमा १५ जना विद्यार्थीलाई चोट लागेको र उनीहरूको उपचार भएको जनाएको छ ।

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै

0

वागमती: बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रारम्भ हुने भएको छ । मोतीहारी–अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ ।

अमलेखगञ्ज–लोथर ६९ किलोमिटरमा पाइप लाइनको काम प्रारम्भ गर्न प्राविधिक टोलीबाट अध्ययन भइरहेको निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिनुभयो । “नेपाल र भारत दुवै देशका उच्चस्तरीय प्राविधिक टोलीबाट अध्ययन भइरहेको छ”, उहाँले भन्नुभयो, “टोलीको प्रतिवेदन प्राप्त भएपछि काम थालिन्छ ।” पाइप लाइन विस्तार गरी लोथरमा एक लाख लिटर पेट्रोलियम पदार्थ भण्डारण गरिने छ ।

मोतिहारी–अमलेखगञ्ज पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७० प्रतिशतभन्दा बढी काम पूरा भएको छ । दोस्रो चरणमा भारतीय आयल निगमले बाराको अमलेखगञ्जस्थित डिपोमा चार हजार एक सय किलोलिटर क्षमताका दुई ‘पेट्रोल ट्याङ्क’, दुई सय ५० किलोलिटर क्षमताका दुई ‘ट्रान्समिक्स ट्याङ्क’, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित ‘लोडिङ वे–रिफिलर’, ‘पम्प हाउस’ र प्रयोगशाला निर्माण गरेको प्रमुख उपाध्यायले बताउनुभयो ।

पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क भारतीय आयल निगमले निर्माण गर्ने सम्झौता भएको छ । एउटै पाइप लाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा अहिले ट्याङ्करबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता छ । पाइप लाइनबाट पेट्रोलियम पदार्थ आयात हुँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी खर्च जोगिने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्नेछ ।

जलवायु जोखिमः हिमाली मुलुकका मुद्दा स्थापित गर्न अन्तर्राष्ट्रिय संवाद, २३ देशका विज्ञ सहभागी हुँदै

0

अघिल्ला दशकका तथ्याङ्क विश्लेषण गर्दा हिमालमा प्रतिदशक शून्य दशमलव ०५ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ । तापक्रम वृद्धिसँगै हिमनदी पग्लिने क्रम पनि बढिरहेको छ । यसको प्रत्यक्ष असर हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीदेखि टापु राष्ट्रसम्म परेको छ । सन् १९८० देखि २०१० सम्मको अवधिमा भएको तापमान वृद्धिले २५ प्रतिशत हिमनदीको क्षेत्रफल घटेको छ । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार हाल नेपालमा दुई हजार ७० हिमताल छन् र तीमध्ये २१ वटा जोखिममा छन्भने चीनको स्वशासित क्षेत्र तिब्बतका २५ र भारतको एउटा हिमताल जोखिममा छ ।

ह्यारी र मेगनको विवाह वर्षगाँठ

0

काठमाडौँ : आज मे १९, हो, आज कै दिन विश्वको ध्यान खिच्ने गरी सम्पन्न भएको बेलायतका तत्कालीन राजकुमार ह्यारी र मेगनबीच सम्पन्न विवाहको वर्षगाँठको दिन हो।
बेलायतको विन्डसोर क्यासलको सेन्ट जोर्जेज च्यापलमा भएको उक्त वैवाहिक समारोहमा विश्वभरिबाट करिब ६सय विशिष्ट पाहुना सहभागी भएका थिए । मेगन आफ्नी आमासहित रोल्सरोयस गाडीमा विवाहस्थल पुगेकी थिइन् भने ह्यारी दाजु विलियमसँगै समारोहस्थलमा पुगेका थिए ।

३३ वर्षीय ह्यारी र ३६ वर्षीया मेगनबीचको विवाह समारोहलाई टेलिभिजनमार्फत विश्वभरि प्रत्यक्ष प्रसारण गरिएको थियो । त्यस्तै, वैवाहिक समारोह भएको दरबारबाहिरको सडकमा दुईतर्फ उपस्थित करिब एक लाख जनताले खुसी विवाहको खुशी साटासाट गरेका थिए ।

ह्यारी र मेगनले २०१६ जुलाईदेखिको प्रेमलाई विवाहमा परिणत गर्दै वैवाहिक सम्बन्धमा गाँसिएका थिए।

अमेरिकी टेलिशृंखलाको अभिनयबाट चर्चामा आएकी मेगन हाल परोपकारी कार्यमा पनि संलग्न छिन्। ह्यारी र मेगनले २०२० जनवरीमा शाही उपाधि त्यागी सर्वसाधारण नागिरक जीवनयापन गर्दै आइरहेका छन् ।

म्याग्दीमा आठ वर्षपछि बृहत् खानेपानी आयोजना कार्यान्वयन हुँदै

0

म्याग्दी: जिल्लावासीलाई स्वच्छ पेयजलको व्यवस्था गर्न प्रस्ताव गरिएको बृहत् घोप्टेखोला खानेपानी आयोजनालाई सङ्घीय सरकारले बजेटको व्यवस्था गरेसँगै आठ वर्षपछि आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

सङ्घीय सरकार खानेपानी मन्त्रालयको वार्षिक कार्यक्रममा २०७३ सालदेखि समावेश भएको म्याग्दीका दुईवटा स्थानीय तहका छवटा वडाका दुई हजार पाँच सयभन्दा बढी परिवारलाई खानेपानी सुविधा पुर्याउने लक्ष्य राखिएको घोप्टेखोला खानेपानी आयोजना चालु आर्थिक वर्षदेखि कार्यान्वयन भएको हो ।

म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले घोप्टेखोला खानेपानी आयोजनाका लागि आवश्यक बजेटको स्रोत सुुनिश्चितता भएपछि करिब एक दशकको निरन्तर प्रयास सफल भएको राससलाई बताउनुभयो । “ आयोजनाको लागत रु ४८ करोड अनुमान गरिएको तर खानेपानी मन्त्रालयले वार्षिक कार्यक्रममा समावेश गरे पनि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत र बजेटको स्रोत सुनिश्चितता नहुँदा कार्यान्वयन हुनसकेको थिएन”, उहाँले भन्नुभयो, “गत फागुनमा अर्थ मन्त्रालयले रु ३७ करोड बजेटको स्रोत सुनिश्चितता गरेपछि ठेक्का आह्वान गरेर कार्यान्वयन थालिएको हो ।”

उपभोक्ताले ब्यहोर्नुपर्ने समग्र लागतको १० प्रतिशत बजेट आयोजना प्रभावित बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाले व्यवस्थापन गरेका छन् । खानेपानी मन्त्रालयले डिपिआर स्वीकृत र अर्थले स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का आह्वान गर्न सहमति दिएपछि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले प्रक्रियागत काम थालेको हो ।

कार्यालयका सूचना अधिकारी इन्जिनियर नवीन सुवेदीले बहृत् घोप्टेखोला आयोजनाका लागि आह्वान गरिएको ठेक्कामा परेका छवटा कम्पनीको प्रस्ताव मूल्याङ्कनको चरणमा रहेको र चालु आवभित्रै सम्झौता गरिने जानकारी दिनुुभयो । बेनी– ५, ६, ९, १० का विभिन्न बस्ती, रघुगङ्गा गाउँपालिका–६ पाखापानी र वडा नं ५ झीँलाई लक्षित गरी विसं २०७३ मा परिकल्पना गरिएको बृहत् घोप्टेखोला खानेपानी आयोजनाको निर्माण गर्न पछिल्लोपटक सन् २०२२ मा सर्वेक्षण भएको थियो ।
आयोजनामार्फत दुई हजार पाँच सय ५३ घरपरिवारलाई खानेपानी वितरण गर्ने लक्ष्य रहेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख सुनम थापाले बताउनुभयो । चालु आवमा घोप्टेखोला खानेपानी आयोजनाका लागि रु दुई करोड बजेट विनियोजन भएको छ ।

ठेक्का सम्झौता भएको दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । रघुगङ्गा–६ पाखापानीको करेन्टखोलाको मुहानबाट पाइप लाइनमार्फत ल्याइएको पानीलाई पाखापानीकै शिरमा रहने ट्याङ्कीबाट पाखापानी र त्यहाँबाट झीँ, पात्लेखेत, घतान, पुलाचौर हुँदै अर्थुङ्गे क्षेत्रसम्म खानेपानी सुविधा विस्तार गर्ने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष भेषकुमार शेरपुञ्जाले राससलाई जानकारी दिनुभयो ।