Monday, May 11, 2026
Home Blog Page 802

नरभक्षी बाघ मर्‍यो

0

चितवन: मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको छ । सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो ।

शनिबारदेखि बिरामी परेको बाघ आाइतबार मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । दश वर्षीया सो बाघ सौराहास्थित खोरमा राखिएको थियो । बाघलाई गत मङ्सिरमा खुट्टामा चोट लागेको अवस्थामा उद्धार गरी ल्याइएको थियो । त्यसयता खोरमा बाघको उपचार भइरहेको थियो ।

चालु आर्थिक वर्षमा चितवनमा सातवटा बाघ मरेका छन् । सन् २०२२ को गणनाअनुसार नेपालमा तीन सय ५५ बाघ रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा रहेका छन् ।

कांग्रेस संसदीय दलको बैठक बस्दै

0

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ । त्यसअघि संसदीय दल कार्यसमितिको बैठक बिहान ८ः३० बजे बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वर, ल्होत्से हलमा बस्ने बैठकमा आजै बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा पार्टी कसरी प्रस्तुत हुनेलगायत विषयमा छलफल हुनेछ । त्यस्तै प्रतिनिधिसभाको आइतबारको बैठकमा भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बोलेका विषय र कांग्रेसलाई लगाएका आरोपबारेमा समेत छलफल हुने बताइएको छ ।

कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको समेत संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठक अवरुद्ध गर्दै आएको छ । तर प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेसलगायत विपक्षी दलको संयुक्त बैठकले गृहमन्त्री लामिछानेको मागबमोजिम उहाँलाई सदनमा बोल्न दिने सहमति गरेका थिए ।

प्रतिनिधिसभाको आइतबारको बैठकपछि कांग्रेस महामन्त्री गगनकुमार थापाले पत्रकारसम्मेलन मार्फत सहकारीको रकम अपचलनका विषयमा निष्पक्ष छानबिन गर्न संसदीय समिति नबनेसम्म आफ्नो पार्टीले संसद् बैठक अघि बढ्न नदिने बताउनुभएको थियो । कांग्रेसले सहकारीका बचतकर्ताको रकम फिर्ता दिलाउनुपर्ने र सहकारीको रकम अपचलनमा संलग्न जोसुकै होस् कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै आएको छ ।

 

भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने

0

वीरगञ्ज (पर्सा): भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले यही जेठ १० देखि १२ गते बेलुका ६ बजेसम्म भारतसँग जोडिएका पर्साको सीमानाका बन्द हुने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भारतको विहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुने लोकसभा निर्वाचनलाई लक्षित दुई देशबीचको सीमानाका बन्द हुने बताउनुभयो ।

“दुवै मुलुकमा निर्वाचन हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार सीमानाका बन्द गर्ने सहमति भएको छ”, उहाँले भन्नुभयो, “भारतको विहार राज्यको पश्चिम चम्पारण जिल्लामा हुन गरिरहेको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न शुक्रबार बसेको बिडिसिसी बैठकको निर्णयअनुसार निर्वाचन हुनु ४८ घण्टाअघिदेखि सीमानाका बन्द गर्ने निर्णय भएको छ ।”

पर्साको एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ । दुवै मुलुकको बिडिसिसी बैठकको निर्णय र समाहरणालय, पश्चिम चम्पारण, बेतिया (विहार)को पत्राङ्कको पत्रबाट समेत अनुरोध भएर आएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । नेपालमा निर्वाचन हुँदा पनि भारतको सीमानाका बन्द गर्ने परम्परा रहँदै आइरहेको छ ।

एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन

0

म्याग्दी: नेपाल कम्युनिष्ट पार्टी (एमाले) मुस्ताङको अध्यक्षमा दीपक लालचन चयन हुनुभएको छ । जोमसोममा गए राति सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट घरपझोङ गाउँपालिका–२ मार्फाका लालचनको अध्यक्षतामा ३१ सदस्यीय समिति सर्वसम्मत चयन भएको जनाइएको छ ।

समितिको उपाध्यक्षमा छेवाङ रिनजिङ गुरुङ, सचिवमा तिलक विक र उपसचिवमा सम्राट गौचन निर्वाचित हुनुभएको सो पार्टीका गण्डकी प्रदेश समितिका अध्यक्ष नवराज शर्माले जानकारी दिनुभयो । सुनदेवी रसाइलीको संयोजकत्वमा लेखा समिति चयन गरिएको छ ।

अधिवेशनको एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको थियो । अधिवेशन उद्घाटनका क्रममा उपमहासचिव गुुरुङ, केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज गोकर्ण विष्ट र प्रदेश अध्यक्ष शर्माले नेपाललाई समृद्धिको मार्गमा लैजान बामपन्थी शक्तिहरुको सहकार्य आवश्यक भएको बताउनुभएको थियो ।

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा

0

दमौली (तनहुँ): तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति १२ः४५ बजेदेखि आगलागी सुरु भएको थियो ।

आगलागीका कारण यहाँका करिब २० वटा सटर पूर्णरुपमा जलेका छन् । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ । तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।

तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी चार वटा दमकलको सहायताले बिहान ३ः४५ बजे आसपास आगलागी निभाइएको प्रहरीको भनाइ छ । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले सहयोग गरेका थिए ।

आगलागीको केही समयमै व्यास नगरपालिकाको दमकल आइपुगेको थियो । नगरपालिकाको दमकल सानो र कम क्षमताको भएका कारण सुरुमा आगलागी निभाउन कठिन भएको थियो । केही समयपश्चात् मुग्लिन पोखरा सडक योजना र तनहुँ जलविद्युत आयोजनाका दमकल आएपछि आगलागी नियन्त्रणमा सहज भएको थियो ।

विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका सटर भाडामा लगाइएको थियो । यहाँ विभिन्न पसल सञ्चालनमा थिए ।

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिनुहुँदै

0

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिनुहुनेभएको छ । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उहाँले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लाग्नुभएको हो ।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने सवैधानिक व्यवस्था छ ।

वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लाग्नुभएको हो ।

उक्त विश्वासकोे मतसम्बन्धी पेश भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन पर्ने व्यवस्था छ ।

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा नियमावली २०७९ को निमय १५५ बमोजिम आजको बैठकमा त्यससम्बन्धी प्रस्ताव पेश गर्नुहुने सङ्घीय संसदको आजको सम्भावित दैनिक कार्यसूचीमा उल्लेख छ ।

सभामुखबाट उक्त प्रस्ताव बैठकमा निर्णयार्थ प्रस्तुत हुनेछ । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि सभाको निर्णय सदस्यको दस्तखतसहितको मतविभाजनद्वारा हुनेछ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न आजै विहान १० बजे संसद भवन बानेश्वसरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो ।

सङ्घीय ससद्को चौथो अर्थात बर्खे अधिवेशन गत वैशाख २८ बाट शुरुभएको हो । संसद्को संयुक्त वैठकमा यही जेठ १ गते आगामी आर्थिक बर्ष २०८१/८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको छ भने प्रत्येक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्ने सवैधानिक व्यवस्था छ ।

इरानी राष्ट्रपति चढेको हेलिकप्टर सम्पर्कविहीन

0

काठमाडौं। इरानी राष्ट्रपति इब्राहिम रायसीलाई बोकेको हेलिकप्टर सम्पर्क विहीन भएको छ।

अजरबैजानको भ्रमण गर्ने क्रममा राष्ट्रपति रायसी चढेको हेलिकप्टर सम्पर्कविहीन भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।

इरानी तसिन्म समाचारले राईसी चढेको को हेलिकप्टरको वास्तविक अवस्था के छ भन्ने स्पष्ट नभएको जनाएको छ।

राष्ट्रपति चढेको हेलिकप्टरसहित तीन हेलिकप्टर त्यसतर्फ गएका थिए, जसमा दुईवटा हेलिकप्टरमा मन्त्री र अधिकारीहरू सवार थिए जो सुरक्षित गन्तव्यमा पुगेको बताइएको छ ।

सुन किन्न सकिएला ? अहिलेसम्मकै उच्च मूल्य

0

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य आजसम्मकै उच्च रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो। यसअघि शुक्रबार सुन तोलामा १ लाख ३९ हजार ३०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६५० रुपैयाँ थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको तोलामा ११० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

काठमाडौँ महानगरले मापदण्ड विपरीतका संरचना भत्कायो

0

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले गौशाला चोक आसपासमा सडक क्षेत्र मिचेर बनाएका घरटहरा आजदेखि भत्काउन सुरुआत गरेको छ ।

मापदण्ड विपरीत जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा डोजर लगाएर भत्काउन थालिएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गौशाला चोक आसपासमा सडक किनार अतिक्रमण गरी बनाइएका घरटहरा र सटरहरु आजदेखि भत्काउन सुरु गरिएको छ, सबै कति घर छन्, भत्काएपछि मात्रै थाहा हुनेछ ।” यसअघि शुक्रबार मात्रै काठमाडौँ महानगरपालिकाको टोलीले भत्केको पुल आसपासमा निर्माण गरिएका मापदण्ड विपरीतका संरचना भत्काएको थियो ।

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन

0

वीरगञ्ज (पर्सा): आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८०/ ८१ को १० महिनामा रु साढे पाँच अर्बभन्दा धेरै रकम राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आवको १० महिनामा मूल्य अभिवृद्धि कर सङ्कलन उत्साहजनक देखिए पनि अन्तःशुल्क कर भने अपेक्षाकृत ढङ्गले सङ्कलन हुन सकिरहेको छैन ।

आन्तरिक राजस्व कार्यालय वीरगञ्जका प्रमुख कर अधिकृत ढाकाराम तिवारीले कार्यालयले चालु आवको १० महिनाको अवधिमा सबै शीर्षकमा रु पाँच अर्ब ५८ करोड ९६ लाख ५० हजार राजस्व असुली गरेको बताउनुभयो । “आन्तरिक राजस्व विभागले चालु आवको रु १० महिनामा सात अर्ब ३० करोड रकम राजस्व असुली गर्ने लक्ष्य तोकिदिएको थियो तर बजार सुस्ताएसँगै लक्ष्यको ७६ दशमलव ५६ प्रतिशत मात्रै राजस्व सङ्कलन गर्न सकेका छौँ,” उहाँले भन्नुभयो, “चालु आवको १० महिनाको अवधिमा मूल्य अभिवृद्धि कर (भ्याट) तर्फको राजस्व सङ्कलनको वृद्धिदर गत आवको तुलनामा ३० प्रतिशतभन्दा धेरै छ तर अन्तःशुल्क कर भने यो वर्ष घट्ने देखिएको छ ।”

कार्यालयले चालुको साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा सबैभन्दा धेरै अन्तःशुल्क कर (एक्साइज इन्टरनल) तर्फ भने दुई अर्ब २२ करोड ७१ लाख २२ हजार सङ्कलन गरेको छ । अब भने अन्तःशुल्क करबापतको रकम आगामी दुई महिनामा धेरै बढ्ने सम्भावना न्यून छ । कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ भने रु एक अर्ब ७२ करोड ४७ लाख रकम असुली गरेको छ । त्यस्तै, आयकर शीर्षकमा पनि एक अर्ब ५६ करोड ३६ लाख रकम असुली गरेको छ ।

चालु आवको १० महिनाका अवधिमा कार्यालयले व्याजकरबापत चार करोढ ७३ लाख ५६ हजार सङ्कलन ग¥यो । त्यस्तै, भाडाकरबापत दुई करोड ६६ लाख नौ हजार सङ्कलन गरेको छ । त्यस्तै, स्वास्थकरबापत एक लाख २४ हजार मात्रै सङ्कलन गरेको छ । कार्यालयले विशेषगरी छवटा शीर्षकमा कर असुली गर्ने गर्छ ।

कार्यालयका अनुसार यस वर्ष हिमालयन डिष्ट्रिलरीको उत्पादन घटेसँगै अन्तःशुल्कबापतको रकममा प्रत्यक्ष प्रभावित भएको बताइएको छ ।

प्रमुख कर अधिकृत तिवारीले राजस्व सङ्कलनलाई बढाउनका लागि नियमित रुपमा बजार अनुगमन र कर सचेतना कार्यक्रम अघि बढाउँदै आइरहेको बताउनुभयो । आन्तरिक राजस्व विभागले कार्यालयलाई चालु आवभरिमा रु नौ अर्ब ४१ करोड रकम सङ्कलन गर्ने लक्ष्य दिएको छ, तर कार्यालयले यस वर्ष लक्ष्यको कम्तीमा ७५ प्रतिशत हाराहारीमा राजस्व सङ्कलन हुने अनुमान गरेको छ। विभागले गत आवमा कार्यालयलाई १० अर्ब ६२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकामा सो अवधिमा भने सात अर्ब १४ करोड मात्रै सङ्कलन गरेको थियो ।

आयकर, भाडाको कर, व्याजकर, मूल्यअभिवृद्धि कर, अन्तःशुल्क कर र स्वास्थ्य कर असुली गर्ने गर्छ । कार्यालयमा हालसम्म एक लाख ४० हजार आठ सय ६३ करदाता दर्ता भएका छन् । त्यसैगरी, मूल्य अभिवृद्धि करमा भने १० हजार छ सय २५ दर्ता भएका छन् । त्यस्तैगरी, व्यक्तिगत आयकरमा भने ८६ हजार एक सय ८० र आयकरमा भने ४१ हजार दुई सय २६ जना दर्ता भएका छन् ।