Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search

Logo

Tuesday, May 12, 2026
Facebook

Logo

  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Home Blog Page 784

मनसुन पूर्वतयारी प्रतिकार्य योजना सार्वजनिक

By
Himalayan Tribune
-
June 5, 2024
0

काठमाडौँ: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना २०८१’ सार्वजनिक गरेको छ । प्राधिकरणले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको योजनाअनुसार मनसुन सुरु भएदेखि अन्त्य नहुँदासम्म राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमा नियमित कमान्ड पोस्टमा रहेर कार्य गरिने जनाइएको छ ।

यही जेठ २१ ग्ते उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहित प्राधिकरणको कार्यकारी समिति बैठकले उक्त कार्ययोजना पारित गरेको थियो । प्राधिकरणले यस वर्ष १८ लाख एक हजार मानिस र चार लाख हजार घर प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले साप्ताहिक, तीन दिन र एक दिन अगाडिको मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर जोखिम आकलन गरी पूर्वतयारी र प्रतिकार्य योजना प्रभावकारी कार्यान्वयन गरिने बताउनुभयो । उहाँका अनुसार प्राधिकरणले विभिन्न मन्त्रालय र निकायसँग समन्वय गरी काम गर्नेछ ।

नेता महरद्वारा चुरे संरक्षण अभियानमा ऐक्यबद्धता

By
Himalayan Tribune
-
June 5, 2024
0

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले चुरे तथा वनजङ्गल संरक्षण अभियानमा ऐक्यबद्धता जनाउँदै सरकार र सदनको ध्यानाकर्षण गराउनुभएको छ । काठमाडौँको माइतीघर मण्डलामा १४ दिनदेखि धर्ना बसेका अभियन्ताको मागका सम्बन्धमा वातावरण दिवस अवसरमा ऐक्यबद्धता जनाउँदै नेता महरले सरकार र सदनको ध्यानाकर्षण गराउनुभएको हो । अभियान्ता चुरे संरक्षण र वातावरण जोगाउन सप्तरीको भारदहबाट २५ दिन पैदल यात्रा गरी यहाँ पुगेर १४ दिनदेखि धर्नामा बसिरहेका छन् ।

चुरे विनाशले तराईमा पानीका मुहान सुकेर हाहाकार हुने स्थिति पैदा हुनु चिन्ताको विषय भएको भन्दै यसले वातावरणमा प्रतिकूल असर गरिरहेको नेता महरको भनाइ छ । “‘चुरे बचाऊ : हामीलाई पानी देऊ सरकार’ भन्ने प्रभावित क्षेत्रका जनताको माग हो । पानी नपाएसम्म हामी फर्किनौँ, बरु यतै मर्छौं भनेर जनता सडकमा छटपटाइरहेका छन् । राज्यलाई बिझेको छैन ?”, उहाँले प्रश्न गर्नुभयो । चुरे दोहन र वन विनाशका कारण पानीको स्रोत सुक्दै गएको र चुरेवासी पानीको सङ्कटबाट गुज्रिनुपरेको अवस्थालाई राज्यले बेवास्ता गर्न नहुने नेता महरले बताउनुभयो । “चुरे संरक्षणलाई सबैको साझा मुद्दा बनाउन र संरक्षणमा जुट्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छु”, उहाँले भन्नुभयो ।

चुरे मासिँदा भूक्षय बढ्ने, पहिरो जानेलगायत समस्याले त्यस क्षेत्र तथा तल्लो तटीय क्षेत्रमा समेत पानीको स्रोत सुक्दै जाने समस्याप्रति नेता महरले चिन्ता व्यक्त गर्नुभयो । जमिनमुनिको पानीको स्रोत बचाउन वनजङ्गल फँडानी र अतिक्रमण रोक्नुपर्ने उहाँको सुझाव छ ।

विचार : महामारीका रुपमा फैलिँदैछ तनाव

By
Himalayan Tribune
-
June 5, 2024
0

काठमाडौँ: विश्वका अनेक प्राणीहरुमध्ये मानव जाति चेतनशील र सामाजिक प्राणी भए पनि यसभित्र उत्पन्न हुने तनावले सबैभन्दा बढी समस्याग्रस्त बन्दै गएको छ । तनावले मानसिक स्वास्थ्यसँगै शारीरिक स्वास्थ्यमा पनि निकै असर गर्दछ । समयमा तनाव व्यस्थापन नगर्नाले हाम्रा दैनिक जीवनमा धेरै असहज अवस्था आउन सक्छ । तनाव विश्वकै ठूलो महामारीका रुपमा लिने गरिएको छ ।

मानिसलाई जस्तोसुकै रोगहरु पनि लाग्न सक्छ, त्यसको समयमै उपचार हुन सके निको पनि हुन्छ तर तनाव आएपछि सजिलैसँग त्यसबाट मुक्ति पाउन सकिँदैन । विश्व स्वास्थ्य सङ्गठनले तनावलाई जटिल स्वास्थ्य समस्याका रुपमा लिएको छ । तनावमा रहेको व्यक्तिले न राम्ररी सोच्न सक्छ, न बोल्न नै । यसका कारण उसको अरू व्यक्तिसँगको सम्बन्ध पनि बिग्रँदै जान्छ । त्यसैले अहिले मानिसको सबैभन्दा ठूलो समस्या भनेकै तनाव हो । मानिसको शरीरमा लाग्ने रोगको ७० देखि ९० प्रतिशत रोगहरु तनावकै कारण लाग्ने गर्दछ । तनावकै कारण ससाना व्यक्तिगत समस्यादेखि विश्वमा ठूलाठूला युद्ध, आतङ्कवादी घटनाहरु हुने गरेका छन् । तनावको समस्या पहिल्याउनु नै अहिलेको मुख्य चुनौती बनेको छ । पश्चिमा देशहरुले तनाव व्यवस्थापनका लागि थुप्रै कार्यक्रम ल्याएका छन् ।

अमेरिकामा कुनै एउटै संस्थाले चालिस वर्षको बजेट बराबर खर्च गर्ने नभएर कूल तनाव व्यवस्थापनमा निजी क्षेत्रले गर्ने रकम नेपालको बजेटको ४० गुणाभन्दा बढी हुन्छ तर परिणाम शून्य छ । त्यसैले तनाव व्यवस्थापन खर्चिलो मात्र नभई समस्याको निदान नहुने भएकाले यसबाट पहिले नै सतर्क हुन आवश्यक छ । मानिसले आफ्नो दैनिक बानीमा केही परिवर्तन गर्नाले तनाव कम गर्न मद्दत पुग्न सक्छ । तनावका मुख्य कारण आज हरेक व्यक्ति कुनै न कुनै तनावबाट ग्रस्त छ । तनावको मूल कारण जीवनमा जुन परिवर्तन आएको छ, त्यसलाई आत्मसात् गर्न नसक्नु हो । समय क्षणक्षणमा बदलिएको छ तर हामी पुरानो सोच र आग्रहबाट ग्रसित छौँ । जसले गर्दा तनाव सृजना हुने गर्दछ ।

मानव जीवनको मूल लक्ष्य भनेकै खुसी हुनु हो । खुसी हुन नसक्नु तनावमा जानु हो । धेरै डिजिटल उपकरणहरूको प्रयोग गर्नु, निरन्तर रक्सी पिउनु, धेरै क्याफिन उपभोग गर्नुले पनि मानिसको जीवनमा थप तनाव ल्याउने गर्दछ । अर्को कुरा मानिसले समयको सही सदुपयोग गर्न नसक्दा पनि तनाव सृजना हुने गर्दछ । अर्काको इष्र्याले पनि तनाव सृजना गर्दछ । मानिसमा इष्र्या भावले गर्दा सम्बन्धमा दरार आउने गरेको छ । इष्र्यामा अरुलाई दबाउन खोजिन्छ । अरुभन्दा धनी कसरी बन्ने, म नै राम्रो हुँ भन्ने भाव बढ्नु उपभोक्तावादी र प्रतिस्पर्धात्मक संस्कारको उपज हो । तनाव व्यवस्थापनका उपाय तनाव व्यवस्थापन गर्ने एउटा राम्रो उपाय भनेको अध्यात्म हो ।

अध्यात्मलाई ध्यान र योगसँग जोड्न सकिन्छ । जीवनमा आएका चुनौतीहरुको समाधान गर्न सक्ने क्षमता घट्न गएमा तनाव हुने गर्दछ । जस्तो भनौँ कि कुनै चुनौती हाम्रा अगाडि आयो, त्यसलाई एक सय अङ्क दियौँ । त्यो चुनौतीको सामना गर्न सक्ने हामीसँग ४० बराबरको क्षमता छभने नपुग ६० अङ्क भनेको तनाव हो । त्यसैले ६० अङ्कलाई घटाउन हाम्रो क्षमतालाई बढाउँदै लैजानुपर्छ । जति मात्रामा बढाउँदै लैजान सकिन्छ तनाव त्यति नै घट्दै जान्छ । परिस्थितिलाई बदल्न सकिँदैन, तर मनस्थितिलाई बदल्न सकिन्छ । जीवनमा चुनौतीहरु आइरहन्छन्, त्यसलाई तनावका रुपमा लिने होइन, त्यसको समाधानका लागि हामीले हामीभित्र रहेको क्षमतालाई बढाउँदै लैजानुपर्छ । म गर्न सक्छु भन्ने आत्मविश्वास जागृत भएमा जस्तोसुकै चुनौती पनि सजिलै समाधान गर्न सकिन्छ । त्यसलै मानिसभित्र जीवनको बोध हुनुपर्छ । शरीर, मन र चेतनालाई दुरुस्त राख्नुपर्छ ।

शरीरलाई ऊर्जाशील र स्वस्थ बनाइराख्नुपर्छ । मानिसको शरीरमा इन्डोर्फिन रस नामक हर्मोन जन्मन्छ, यो जति बढी भयो, तनाव कम हुँदै जान्छ । हरेक दिन आधा घण्टा मात्रै व्यायाम ग¥यो भने पनि त्यस्तो हर्मोन बढ्न जान्छ र मानिस तनावमुक्त हुन्छ । त्यस्तै मनमा भएका तनाव हटाउन हरेक दिन गरिने प्राणायाम एउटा प्रभावकारी विधि हुनसक्छ । यसमा नमस्कार विधि निकै प्रभावकारी देखिएको छ । यो विधि हाम्रा ऋषिमुनिहरुले हजारौँ वर्षदेखि अभ्यास गर्दै आएका छन् । यसैगरी ध्यानले पनि तनावलाई जरोदेखि नै उखेल्न मद्दत गर्दछ । त्यसबाहेक जीवनमा मैले जित्नैपर्छ भन्ने भावनालाई पनि त्याग्नुपर्छ । हारलाई सहिज रुपमा स्वीकार गर्ने व्यक्ति सधैँ तनावमुक्त रहन्छ । यसलाई हारले हराउन सक्दैन, बरु जित्नका लागि थप बद पुग्दछ । त्यसलै भनिन्छ नि, असफलता नै सफलताको सिँढी चढ्नु हो । किनकि हारले मन मष्तिस्कलाई कमजोर बनाउँदैन । जसरी कुनै खेलाडीले आज खेलमा पराजय भोग्नु परे पनि अरूको सफलतामा रमाउँछ र भोलि विजय हुने अठोट राख्छ । सम्बन्धमा जहिले पनि लिनु र दिनुभन्दा सकारात्मक सम्बन्ध बनाइराख्न जोड दिनुपर्छ । अरूलाई स्वीकार गर्ने व्यक्तिले मात्रै सम्बध बनाउन सक्छ । आज हाम्रा कार्यालय, अफिसहरुमा यही सम्बन्धको अभाव रहेका कारण आपसमा द्वन्द्व, बेमेल र अविश्वास झाँगिदो छ ।

अहिले हरेक व्यक्ति वा कार्यालयका प्रमुखहरुले आर्थिक मन्दीलाई मुख्य समस्या देखाउने गरेका छन् । वास्तवमा त्यो भन्नु आफूले आफ्नो क्षमतालाई बढाउनेतर्फ बेवास्ता गर्नु हो । आफू र आफ्ना मातहतका कर्मचारीहरुलाई कम्तीमा तीन महिनामा एकपटक तनावमुक्त गर्ने तालिम दिन सकिएमा प्रतिफल राम्रो आउनेछ । मानव संसाधनमा लगानी गर्नु भनेको क्षमतामा लगानी गर्नु हो । अब कार्यालयहरुमै ध्यान, प्राणायाम गर्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ । ध्यानले अल्पकालीन तनावबाट राहतका साथै दिगो तनाव व्यवस्थापनका फाइदाहरु ल्याउँछ भने योगले शारीरिक ध्यान, हल्का व्यायाम र नियन्त्रित श्वास फेर्ने प्रक्रियालाई संयोजन गर्छ ।

योगले तनावको दीर्घकालीन व्यवस्थापनमा सहयोग गर्छ । योगले विभिन्न प्रकारका शारीरिक, मनोवैज्ञानिक र आध्यात्मिक लाभहरू प्रदान गर्छ । त्यस्तै स्वस्थ आहारले लामो समयसम्म तनावसँग लड्न मद्दत गर्न सक्छ । काम गर्ने भनेको मानिसले हो, यसलाई नै स्वस्थ बनाउन सकिएन भने कुनै सकारात्मक परिणाम आउन सक्दैन । शारीरिक गतिविधि तनाव व्यवस्थापन र मानसिक स्वास्थ्य सुधार गर्नका लागि महत्वपूर्ण छ । तनाव व्यवस्थापन गर्न हिँड्ने, जिम जाने, पौडी खेल्ने जस्ता शारीरिक व्यायाम गर्न सकिन्छ । सवारी साधान चढ्ने व्यक्तिले पनि सम्भव भएसम्म हप्तामा एक वा दुई दिन मात्रै भए पनि हिँडेर घर कार्यालय आउजाउ गरेमा घर वा कार्यालयको तनाव धेरै नै कम हुन सक्छ । समय व्यवस्थापन अर्थात् समयभित्र आफू व्यवस्थित रहनु भनेको समस्या आउन नदिनु हो । समय व्यवस्थापनका लागि हरेक दिन बिहान योजना बनाएर काम गर्नुपर्छ । योजनासँगै लक्ष्य राख्नुपर्छ भने आफ्नो काम सम्पन्न गर्नका लागि ध्यान दिनुपर्छ । कुनै गाह्रो काम भए त्यसलाई पन्छाएर नभई पहिले नै गरेर सक्नुपर्छ ।

अनावश्यक रुपमा समयलाई बर्बाद हुन दिनु हुन्न । समयको सदुपयोगले तनावलाई रोक्न मद्दत गर्छ । हरेक व्यक्ति ब्रह्माण्ड हो, यसको जन्म अरूलाई हराउन होइन, जिताउन सक्छु भन्नेमा यसको ध्यान जानु पर्दछ । आफूभित्रकै क्षमता जागृत गरी प्रत्येक व्यक्तिले प्रगति गर्न सक्छ । कसैसँग प्रतिस्पर्धा गरिरहनु नै पर्दैन । इष्र्या, वैमनष्य नराखी आफ्नो क्षमता उपयोग गर्न सकिएमा तनाव स्वतः कम हुन्छ । (जीवन विकास विशेषज्ञ शर्मासँग गरिएको कुराकानीमा आधारित)

कृषिमा आधुनिक प्रणाली चाहन्छन् पाँचखालका किसान

By
Himalayan Tribune
-
June 5, 2024
0

काभ्रेपलाञ्चोक: खाद्यान्न तथा तरकारी उत्पादनमा प्रख्यात काभ्रेपलाञ्चोकको पाँचखाल नगरका किसान कृषिमा आधुनिक प्रणाली चाहन्छन् । उनीहरुले परम्परागत रुपमा गरिने खेती प्रणालीलाई विस्थापित गर्दै कृषिमा आधुनिकीकरणसँगै नयाँनयाँ बीउविजनसमेत उपलब्ध हुनुपर्ने बताउँदै आएका छन् । विभिन्न पक्षले पाँचखालको कृषिलाई आधुनिकीकरण गरिने जनाउँदै आइए पनि यहाँको खेतीप्रणालीमा कुनै सुधार नभएको पाँचखाल –६ का किसान केदार ढुङ्गानाको दुःखेसो छ ।

उहाँ भन्नुहुन्छ , “पुरानै खेतीप्रणालीले उत्पादन वृद्धि गर्न सकिरहेका छैनौँ, पर्याप्त रासायनिक मल उपलब्धतासँगै कृषिमा आधुनिकीकरणको आवश्यकता भइसक्यो ।” खेतीबालीका विषादी कम गर्दै लगिए पनि सबै किसानलाई जैविक विषादीतर्फ उन्मुख गराउनुपर्ने उहाँको भनाइ छ ।

करिब ७० प्रतिशत उत्पादनशील क्षेत्र रहेको पाँचखालमा हालसम्म पुरानै शैलीमा मौसमी आलु, गोलभेडालगायत तरकारी तथा धान, मकैलगायत खाद्यान्न उत्पादन हुँदै आएको छ । ‘पाँचखाल नगर–कृषि सहर’का रुपमा परिचित गराउन नगरले ‘हरसम्भव प्रयासरत’ रहेको जनाउँदै आएको छ । यहाँको कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै नगरले तीन वर्षअघि सम्झौता गरेअनुसार इजरायली नयाँ प्रविधिमा लगिने आशामा रहेको तर सम्झौतामै सीमित रहेकोमा स्थानीय दुःख व्यक्त गरिरहेका छन् । “यहाँको कृषि इजरायली प्रविधिमा लैजाने भनेर तीन वर्षअघि नेपालस्थित इरजायली दूतावास र पाँचखाल नगरबीच सहमति भएको थियो, त्यतिबेला हामी पनि उत्साहित भयौँ तर सम्झौतामै सीमित रह्यो”, पाँचखाल–३ का किसान ज्ञानबहादुर थापाले भन्नुभयो ।

उहाँ कृषिमा आधुनिकीकरणले उत्पादन बढेको सुनिरहेका छौँ भन्नुहुन्छ । “पछिल्ला वर्ष बाली उत्पादन लागत बढ्दै गएको छ, यसअनुसार उत्पादन बढाउन कृषिलाई आधुनिकीकरण गर्न जरुरी भइसक्यो”, उहाँले भन्नुभयो । उहाँले यसको अगुवाइ नगरले गर्नुपर्ने उहाँको धारणा छ । सहमतिमा पाँचखालका किसानलाई परम्परागत खेतीप्रणालीलाई रुपान्तरण गर्दै आधुनिक खेतीप्रणालीमा लैजाने तथा नगदी बालीलाई विशेष प्राथमिकता दिई किसानको जीवनस्तर सुधार गर्दै जाने विषयलाई अघि सारिएको थियो ।

कृषिलाई आधुनिकीकरणका नाममा नगरद्वारा किसानलाई आधा प्रतिशत अनुदानमा हाते ट्याक्टर र मौरीघार वितरण बाहेकका उदाहरणीय काम भएको पाइदैन । नगरप्रमुख महेश खरेल यहाँको कृषिलाई आधुनिकीकरण गर्न विभिन्न निकाय एवं सङ्घ संस्थासँग समन्वय र सहकार्य गर्न नगर सदैव तयार रहेको बताउनुहुन्छ । यसअघिका केही सम्झौता विविध कारण अघि बढाउन नसकिएको उहाँको भनाइ छ । उहाँका अनुसार उद्योगमा क्षेत्रमा केही योजना निर्माणाधीन अवस्थामा रहेका छन् । इजरायली प्रविधि भित्र्याउने सहमतिपछि नगरका जनप्रतिनिधिले चासो नदिँदा सहमतिमै सीमित भएको पाँचखाल–४ का किसान रामचन्द्र श्रेष्ठले बताउनुहुन्छ ।

कृषिमा इजरायली प्रविधि, ज्ञान–सीप विश्वमै उत्कृष्ट मानिन्छ । उक्त प्रविधिलाई कृषियोग्य पाँचखालको भूमिमा प्रयोग गर्नसके यहाँ उत्पादन भएका गुणस्तरीय तरकारी तथा फलफूल अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने अपेक्षा गरिएको थियो । नगरले आफ्नो बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै आएको छ । तर, पर्याप्त सिँचाइको अभावमा अपेक्षित उत्पादन हुन सकिरहेको छैन । केही वर्षदेखि लगानी भित्र्याउने तीव्र चाहना बोकेको नगरले ४० बढी उद्योग स्थापना गर्ने योजना अघि सारेको थियो । तर, आर्थिक वर्ष २०७६÷७७ को अन्त्यतिर लगानी सम्मेलनको तयारीमा जुटेलगत्तै कोरोना भाइरसको सङ्क्रमण उच्च जोखिम बढ्दै गएपछि योजनामै सीमित भएको थियो । गत आर्थिक वर्षमा गर्ने बताइए पनि कुनै औपचारिक योजना भने बनाइएको छैन । “लगानी सम्मेलन गर्ने योजना बनाउने चाहना छ, आउँदो आवमा गर्न सकिन्छ” नगर खरेलले भन्नुभयो ।

लगानी सम्मेलन गरेर नगरको थप विकासमा लाग्ने योजनाको खोजी गर्दै कृषि तथा पशुपालन क्षेत्रमा आधुनिककीकरण, सौर्य ऊर्जा, प्रविधि र पर्यटकीयस्तरका ठूला होटल, उद्योग स्थापनार्थ सम्मेलनमा प्रस्ताव गरिने योजना बनाइएको जनाइयो । पाँचखालमा ४० उद्योग स्थापना गर्नसके स्थानीयस्तरमा खाद्यान्नलगायत उत्पादनसँगै करिव चार हजार स्थानीयवासीले रोजगारी पाउने छन् । उद्योग स्थापनाका लागि नगरले स्थानीयवासीलाई नै प्राथमिकतामा राख्ने नगरको योजना थियो । “उद्योग स्थापनार्थ स्थानीयवासीलाई प्राथमिकता दिँदै सरल कर्जाका लागि वित्तीय संस्थासँग समन्वय गर्नेछौँ” खरेलले भन्नुहुन्छ । पाँचखाल नगरमा सघन सहरी विकास कार्यक्रमका लागि बजेट विनियोजन भए पनि योजनालाई अघि बढाइएको छैन ।

सरकारले ग्रीन स्मार्ट–सिटी निर्माणार्थ विसं २०७८ फागुनमा मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गतको उक्त कार्यक्रम लागू गर्न रु पचास करोड बजेट विनियोजन गरेको थियो । ‘पाँचखाल नगर, कृषि सहर’ नारालाई सार्धक बनाउन नगरले यसअघिनै पाँचखालको खेतीयोग्य जमिनलाई ‘प्लटिङ’ गर्न पूर्ण प्रतिबन्ध लगाउँदै आएको छ । नगरले वर्षौँदेखि खेतीयोग्य जमिन जोगाएर मानवबस्ती तथा औद्योगिक ग्राम स्थापना गर्ने जनाए पनि अपेक्षित काम हुन नसकेको बताइन्छ । पाँचखालमा केही राष्ट्रिय योजनाअन्तर्गत विशेष आर्थिक क्षेत्र (सेज)का भौतिक निर्माण भइरहेको भने मदन भण्डारी विश्वविद्यालयका लागि जमिन स्वामित्वमा लगिएको, वृहत सुनकोशी पाँचखाल खानेपानी आयोजनाको काम भइरहेको छ ।

घट्न थाले अन्नपूर्ण पदमार्गमा पर्यटक

By
Himalayan Tribune
-
June 5, 2024
0

लमजुङ:पाँच जिल्ला जोडिएको पर्यटन क्षेत्रमा महत्वपूर्णमध्ये एक मानिने अन्नपूर्ण पदमार्गमा पछिल्लो समय पर्यटक घट्न थालेका छन् । यहाँ दुई सय ५० को हाराहारीमा दैनिक पर्यटक आउने गरेकामा वर्षा सुरु हुन थालेपछि १५–२५ जना मात्र आउन थालेका मनाङको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रले जनाएको छ । वर्षा सुरु हुन लागेपछि यहाँ यतिबेला दैनिक १५ देखि २५ जनासम्म पर्यटक आउने गरेका केन्द्रका प्रमुख भूपेन्द्र गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “केही साताअघिसम्म दुई सय ५० जना आउने गरेकामा उक्त सङ्ख्याबाट घटेर दैनिक ४०/५० को हाराहारीमा आएको थियो । त्यो सङ्ख्या पनि घट्ने क्रममा छ ।” मङ्गलबार पदमार्गका लागि नौ जना मात्र पर्यटक आएका गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो सङ्ख्या पनि अझै घट्दै पाँच/छ जनामा आउन सक्नेछ । भदौ लागेपछि पुनः पर्यटककीय चहलपहल सुरु हुने भन्दै भदौअघि पर्यटक आगमन कम हुँदै जाने उहाँको भनाइ छ । विगतमा यस पदमार्गमा दैनिक पाँच/छ सय पर्यटक आउने गर्दथे । कोरोना महामारीपश्चात् थलिएको यस क्षेत्रको पदमार्गमा महामारीपछि पुरानो गतिमा पर्यटक आगमन हुन सकेको छैन ।

विदेशी तथा आन्तरिक पर्यटकको चहलपहल हुने यस पदमार्गमा पर्यटक घट्न थालेसँगै पदमार्गसँगै आसपासका होटल, रेष्टुरेन्टहरु समेत सुनसान हुन थालेका पर्यटन व्यवसायीको भनाइ छ । लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेका पर्यटन व्यवसायी बाबुराम तामाङले पर्यटक आगमन भइरहँदा दैनिक रु ३०–४० हजार आम्दानी हुने भन्दै यतिबेला पर्यटक घट्दा रु पाँच–१० हजार मात्र हुने गरेको बताउनुभयो । बर्खा लागेपछि झन आम्दानी ठप्प हुने उहाँको भनाइ छ । पर्यटन व्यवसायी पच्चबहादुर गुरुङले भन्नुभयो, “तीनदिन अघिसम्म केही पर्यटक होटलमा आएपनि सोयता व्यापार ठप्पै भएको छ ।” यस वर्षको पर्यटनको याममा रु १० लाख आम्दानी भएको जनाउँदै उहाँले वर्षाभरि सोही रकमले घरखर्च चलाउने बताउनुभयो । उहाँका अनुसार भदौ लागेपछि पुनः पर्यटक आगमन हुने र व्यापार व्यवसाय चलायमान हुनेछ । बर्खा लागेसँगै बाटो अप्ठ्यारो, बाढी पहिरो आउनेलगायत समस्या हुने भएकाले पर्यटक ठप्प हुने केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख गुरुङले सन् २०२४ को जनवरीदेखि जुन ४ सम्म यस पदमार्गमा १० हजार दुई सय ७९ जना विदेशी पर्यटक आएका छन् ।

उक्त अवधिमा आएका पर्यटकमध्ये सबैभन्दा धेरै फ्रान्सका एक हजार ४९, इजरायलका आठ सय ३१, जर्मनीका सात सय ७१, चाइनाका छ सय ९६ रहेका उहाँले जानकारी दिनुभयो । सन् २०२३ को जनवरी १ देखि जुन ४ तारिखसम्म नौ हजार दुई सय ४१ जना पर्यटक आएका थिए । पर्यटकहरु हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको संस्कृति, परम्परा र रहनसहन, प्राकृतिक सुन्दरता हेर्ना साथै मनाङबाट मुस्ताङ, कोही पोखरा जान अन्नपूर्ण पदमार्गमा आउने गर्दछन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारमा छ । पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ । काठमाडौँ हुँदै सवारीसाधनमा लमजुङ बेँसीसहरमा पर्यटक आउने गर्दछन् ।

यस पदमार्गमा विगतको तुलनामा कोरोनापश्चात् कम पर्यटक आगमन हुन थालेका छन् । आर्थिक मन्दी, पदमार्ग जीर्ण, सडकले केही ठाउँमा पदमार्ग मासिनुलगायत कारणले कम पर्यटक आएका हुन सक्ने पर्यटन व्यवसायी बताउँछन् ।

सीप मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सरकार तयार छ : मन्त्री भण्डारी

By
Himalayan Tribune
-
June 5, 2024
0

काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सीप मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत र नियमित गर्न सरकारले आवश्यक एकीकृत ढाँचा निर्माण गर्ने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाले गत वैशाख १९ गतेदेखि सुरु गरेको सीप मेलाको ‘नीति संवाद’ कार्यक्रममा भण्डारीले मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सरकार तयार रहेको बताउनुभयो ।

एउटा मन्त्रालय वा निकायले काम थाल्ने, अर्कोले रोक्ने प्रवृत्ति रहेसम्म दिगो विकासमा प्रगति हुन नसक्ने उहाँको भनाइ छ । मन्त्री भण्डारीले भन्नुभयो, “सीप मेलालाई नतिजामुखी र दिगो बनाउन नीति आवश्यक छ । यसले व्यावसायिक तालिम, तालिमको तह र योग्यता निर्धारण, रोजगार र स्वरोजगारका क्षेत्रमा बाटो देखाउँछ ।” मानव स्रोतलाई उत्पादनमूलक बनाउन उसमा भएका व्यावसायिक सीपलाई वृत्ति विकास तथा योग्यता मापनको तहमा आबद्ध गराउने नीति तर्जुमा गर्नुपर्ने उद्देश्यले ‘सीप मेलाको नीति संवाद’ सम्पन्न भएको छ । ‘सीपमूलक, व्यावसायिक र रोजगारमूलक तालिममा, युवाहरुको सहभागिता, आत्मनिर्भर, दक्ष र उद्यमी जनशक्ति उत्पादनमा, महानगरको प्राथमिकता’ भन्ने नारासहित आयोजना गरिएको ‘नीति संवाद’ कार्यक्रममा क्षेत्रगत अधिकारी र प्रशिक्षार्थीहरुबाट प्राप्त छलफलका आधारमा उक्त निष्कर्ष निकालिएको हो ।

कार्यक्रममा कामपाका उपप्रमुख सुनिता डङ्गोलले तालिमका प्रमाणपत्रले कोठा भर्ने तर सीपलाई उद्यममा प्रयोग नगर्ने परिपाटी अन्त्य गर्नुपर्ने बताउनुभयो । सहभागीको आचरण र मापदण्ड अनुसार तालिम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ । कामपाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भन्नुभयो, “घरको ढोका खोल्ने बित्तिकै देखिने सरकारबाट भएका कामले नागरिकलाई मेरो सरकार छ, भन्ने आश्वासन दिन्छ ।” रोजगारी क्षेत्रमा जाने व्यक्तिले तल्लो तहको काम नगरी माथिल्लो तह खोज्ने प्रवृत्तिले अस्थिरता आएको, कामप्रति प्रतिबद्ध नहुँदा विकल्प खोजिने, रोजगारीप्रति प्रतिबद्धता नभएको, धेरै छोटो अवधिका लागि मात्र रोजगारीमा रहन चाहनेलगायत समस्याले रोजगारदाताका आवश्यकता पूरा हुन नसक्ने विषय संवादमा छलफल गरिएको थियो ।

सहभागीले काममा प्रवेश पाउनुअघि अनुभव खोज्ने भएपछि अवसर नै नभई अनुभव दिन नसकिने अवस्थाले रोजगारमा जान चुनौती भएको, पुस्तामा हस्तान्तरण भएर आएका सीपहरुको प्रमाणीकरण हुन नसकेकाले स्वरोजगारका अवसरबाट वञ्चित हुनु परेको गुनासो राख्नुभएको थियो । कामपाले गत वैशाख १९ गतेदेखि सुरु गरेको ‘सीप मेला २०८१’ यही जेठ २० गते सकिएको छ । कामपाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृृद्धि’ अन्तर्गत सीप मेला सुरु गरिएको हो ।

हुरीले मकै बाली क्षति

By
Himalayan Tribune
-
June 5, 2024
0

खोटाङ: वर्षासँगै आएको हुरीले मकै बालीमा ठूलो क्षति पुर्‍याएको छ । मङ्गलबार दिउँसो वर्षासँगै आएको हुरीले जिल्लाका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीमा क्षति पुर्‍याएको हो । पसाउन (धानचामल निस्कने प्रक्रिया) लागेको मकैको बोट हुरीले ढाल्दा लाखौँको क्षति भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका हर्कराज राईले बताउनुभयो । “यस क्षेत्रको प्रमुख बाली मकै हो । पसाउन थालेको मकैको बोट मङ्गलबार आएको हुरीले सोत्तर पारेको छ”, उहाँले भन्नुभयो, “उत्पादन दिने बेला बोट नै ढलेर क्षति भएपछि कृषक चिन्तित बनेका छन् ।” मङ्गलबार दिउँसो आएको हुरीले जिल्लाका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीमा क्षति पुर्याएको भन्दै क्षतिको विवरण आउन बाँकी रहेको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिनुभयो । उहाँका अनुसार दश स्थानीय तह रहेको जिल्लामा ३९ हजार आठ सय ४५ हेक्टर क्षेत्रफल जमिनमा मकैखेती गर्ने गरिएको छ । हुरीले साकेला गाउँपालिका–२ रतन्छास्थित टाँकीबारी आधारभूत विद्यालयमा क्षति गरेको प्रहरीले जनाएको छ । ढुङ्गामाटोले बनेको तीन कोठाको एकतले जस्तापाताले छाएको छाना उडाउँदा करिब रु तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो ।

खाजा खाने समयमा घटना भएकाले मानवीय क्षति हुनबाट जोगिएको विद्यालयका प्रधानाध्यापक केशव बस्नेतले बताउनुभयो । उहाँका अनुसार हुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित बनेको छ । कक्षा–५ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा हुरीले क्षति पुर्‍याएपछि कक्षा पुनः सञ्चालन गर्ने विषयमा छलफल गर्न आज विद्यालय व्यवस्थापन समितिको बैठक आह्वान गरिएको छ । सोही वडाको पीपलडाँडा आधारभूत विद्यालयमा पनि हुरीले क्षति गरेको छ ।

त्रिभुज परियोजना देशकै महत्वपूर्णः प्रधानमन्त्री

By
Himalayan Tribune
-
June 5, 2024
0

गण्डकी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटका अधिकांश प्रावधान सबै प्रदेशका साझा भए पनि गण्डकीमा महत्वपूर्ण र ऐतिहासिक योजना कार्यान्वयन गर्न लागिएको जानकारी दिनुभएको छ । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित पार्टी प्रशिक्षणमा उहाँले प्रदेशका विकासमा महत्वपूर्ण योगदान पुग्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेट निर्माण भएको बताउनुभयो ।

उहाँले आव २०८१/८२ को बजेटले कृषिको रूपान्तरण, ऊर्जाको विकास, सूचना प्रविधिको विकास, पर्यटन प्रवर्द्धन र उद्यमशीलता र औद्योगिक विकासलाई विशेष प्राथमिकतामा राखेको उहाँले जानकारी दिनुभयो । “भरतपुर, बुटवल र पोखरालाई गण्डकी त्रिभुज परियोजनाको रूपमा विकास गरिने छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यो परियोजना मुलुककै महत्वपूर्ण र ऐतिहासिक हुनेछ ।”म्याग्दी, मुस्ताङ, मनाङ र गोरखाको हिमाली क्षेत्रमा कस्तुरी–मृग लगायतका वन्यजन्तुपालन गर्ने व्यावसायिक फार्म स्थापना गर्नेगरी नयाँ सोचका साथ बजेट निर्माण गरिएको उहाँले बताउनुभयो । देशकै ‘लोड सेन्टर’मा रहेको एक हजार दुई सय मेगावाटको बूढीगण्डकी आयोजनाको निर्माण सुरु गर्ने र यस परियोजनाले देशकै ऊर्जा क्षेत्रमा दीर्घकालीन फाइदा हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ४२ मेगावाटको मोदी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सुरु गरिने जानकारी दिनुभयो ।

मुक्तिनाथ दर्शनयातायात सेवा सञ्चालन गरी तीर्थयात्रीलाई सहज रूपमा प्रमुख धार्मिकस्थल दर्शन गर्ने व्यवस्था मिलाउने योजनासहित सरकारले बजेट विनियोजन गरेको उल्लेख गर्दै उहाँले गुरिल्ला ट्रेल लगायतका पर्यटकीय पूर्वाधारको विकास गर्ने, गण्डकीलाई पर्यटनको ‘हब’ बनाउने महत्वपूर्ण काम अगाडि बढाइने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “भौतिक पूर्वाधारको क्षेत्रलाई पनि सरकारले विशेष प्राथमिकतामा राखेको छ । मुग्लिङ–पोखरा सडक खण्डको विस्तार कार्य सम्पन्न गर्ने, बुटवल–पोखरा सडक खण्डलाई डेडिकेटेड दुई लेनमा स्तरोन्नति गरिने गरी सरकार अगाडि बढेको छ । घरेलु मदिराको उत्पादन, ब्राण्डिङ, बजारीकरण गर्ने एवं बन्दीपुरको इतिहास, संस्कृति, भाषा र सभ्यतालाई संरक्षण र सम्वद्धर््न गर्न विविध कार्यक्रम सञ्चाल गरिने छ । तनहुँको चुँदी रम्घामा सबै नेपाली भाषाभाषिका मूर्धन्य स्रष्टाको प्रतिमा र सप्तधामसहितको भानु साहित्य उद्यान स्थापना गर्ने छ । ” गोरखामा राजतन्त्रदेखि गणतन्त्रसम्मको अभिलेख रहने गरी ऐतिहासिक सङ्ग्रहालय निर्माण, मुस्ताङमा वायु गुणस्तरमापन केन्द्र विस्तार, टाकुरा पर्यटकीय गन्तव्यको विकास जस्ता कार्यक्रमले यस क्षेत्रमा रोजगारी सिर्जना गर्नुका साथै आयआर्जनमा सहयोग गर्ने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गर्नुभयो ।

पोखरामा मेडिकल कलेज स्थापना गर्ने कार्य अघि बढाउने, पोखरा प्रादेशिक अस्पतालको क्षमता पाच सय शय्यामा विस्तार गरने, मध्यपहाडी पुष्पलाल लोकमार्गको निर्माण कार्यलाई तीव्रता दिने र गोरखाको लिगलिगकोट, भच्चेक, बारपाक, बुङकोट, गोरखाबजार, मनकामना, बेनीघाटसम्म पड्वेयातायात प्रणालीको सम्भाव्यता अध्ययन गरी निर्माणकार्य अगाडि बढाइने तयारीसहित बजेटको व्यवस्था गरिएको उहाँले जानकारी दिनुुभयो । पोखरामा एकीकृत सहरी पूर्वाधार विकास, नवलपरासी बर्दघाट सुस्तापूर्व जिल्ला सदरमुकामको प्रशासनिक केन्द्रको पूर्वाधार निर्माणलाई प्राथमिकता, गोरखकाली रबर उद्योगलगायतका उद्योग सार्वजनिक–निजी साझेदारीमा सञ्चालनमा ल्याउने कार्यक्रम यस क्षेत्रका लागि थप महत्वपूर्ण हुने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गर्नुभयो ।

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी पञ्चवर्षीय रणनीति तयार

By
Himalayan Tribune
-
June 5, 2024
0

काठमाडौँ: सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउण्डरिङ) सम्बन्धी स्थितिको सुधार गर्ने उद्देश्यका साथ पञ्चवर्षीय रणनीति तय गरेको छ । अर्थमन्त्री अध्यक्ष रहने सम्पत्ति शुद्धीकरण निर्देशक समितिको पहिलो बैठकले आज उक्त रणनीतिको मस्यौदा परिमार्जनसहित पारित गरेको हो ।

मन्त्रिपरिषद्ले अनुमोदन गरेसँगै रणनीति कार्यान्वयनमा आउने छ । अर्थमन्त्री वर्षमान पुनको अध्यक्षतमा मन्त्रालयमा बसेको बैठकमा समितिका सदस्यहरु कानुनमन्त्री पदम गिरी, मुख्यसचिव बैकुण्ठ अर्याल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, महान्यायाधिवक्ता दिनमणि पोखरेल, निर्देशक समितिअन्तर्गतको समन्वय समितिका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन हेर्ने सचिव लीला गर्तौला र निर्देशक समितिका सदस्यसचिव एवं अर्थ मन्त्रालयका सचिव (राजश्व) डा रामप्रसाद घिमिरे सहभागी हुुनुहुन्थ्यो ।

चालु आर्थिक वर्ष २०८१÷८२ मै कार्यान्वयनमा ल्याउन लागिएको उक्त रणनीतिको नाम ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना’ रहेको छ । रणनीतिले मुलुकको वित्तीय प्रणाली र समग्र अर्थतन्त्रलाई वित्तीय अपराधको जोखिमबाट संरक्षण गरी स्थायित्व प्रदान गर्ने विषयलाई जोड दिएको अर्थ मन्त्रालयका सहसचिव एवं आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार भ्रष्टाचार, राजस्व छली, हुन्डी र क्रिप्टो करेन्सीको कारोबारजस्ता वित्तीय अपराध न्यूनीकरणमा काम गर्नेछ । यस्तै लागुऔषध ओसारपसार, सङ्गठित अपराध, आपराधिक लाभ, आन्तरिक आतङ्कवाद, ठगी, चोरी, नक्कली मुद्राको कारोबार, कालोबजारी तथा तस्करी, किर्तेलगायतका अपराध नियन्त्रणजस्ता विषय पनि रणनीतिमा समावेश गरिएका छन् । सम्पत्ति शुद्धीकरण मामिलाबारे निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटीएफ) र एफटीएफसँगको सहकार्यमा काम गरिरहेको एसिया प्रशान्त समूह (एपिजी)ले नेपालको सम्पत्ति शुद्धीकरणको अवस्थाबारे गत वर्ष प्राविधिक मूल्याङ्कन गरेको थियो । एपिजीले २०७९ असोजमा गरेको पारस्परिक मूल्याङ्कनपछि सम्पत्ति शुद्धीकरणका क्षेत्रमा नेपालले गर्नुपर्ने प्राविधिक पक्ष (कानुनी, नीतिगत र संरचनागत) सुधार तथा प्रभावकारिताको मूल्याङ्कन गरी सुझाव दिएको थियो । एपिजीको नेपाल सदस्य राष्ट्र हो ।

एफटिएफ र एपिजीको सुझावका आधारमा नेपालले संसद्बाट सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधन गरी सकेको छ । एपिजीको प्रतिनिधि मण्डल अर्को चरणको अध्ययन गर्न आगामी असोजमा नेपाल आउँदैछ । ती दुवै संस्थाले सम्पत्ति शुद्धीकरणसम्बन्धी अवस्थामा सुधार गर्न विद्यमान कानुनी व्यवस्थाको कार्यान्वयन गर्न र ती व्यवस्थालाई समायानुकूल परिमार्जन गर्न सुझाव दिँदै आएका छन् । एफटिएफले विद्यमान अवस्थामा सुधार नभए सम्पत्तिशुद्धीकरण सम्बन्धमा नेपाल जोखिम (ग्रे लिस्ट) मा पर्न सक्ने चेतावनी दिँदै आएको छ । सम्पत्ति शुद्धीकरणको ‘ग्रे’ लिस्टमा परेको अवस्थामा अन्तर्राष्ट्रियस्तरमा मुलुकको साख गिर्नुका साथै वैदेशिक सहायता, ऋण र लगानीमा कमी आउने तथा अन्तर्राष्ट्रिय बैंकिङ कारोबार चुनौतीपूर्ण हुनेछ । यस्तै विप्रेषण आप्रवाह घटेर हुण्डी कारोबारमा वृद्धि हुने र समग्र अर्थतन्त्रमै सङ्कट आइपर्ने खतरा रहन्छ ।

प्रतिनिधिसभाले संसद्को अघिल्लो अधिवेशन (२०८० माघ २४) मा ‘सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ पारित गरेको थियो । यसमार्फत सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विभिन्न विभिन्न १९ ऐन संशोधन गरी समयानुकूल बनाइएको छ । विधेयकमार्फत् निकासी पैठारी (नियन्त्रण) ऐन २०१३, पानी जहाज दर्ता ऐन २०२७, मालपोत ऐन २०३४, पर्यटन ऐन २०३५, भवन ऐन २०५५, दामासाहीसम्बन्धी ऐन २०६३, धितोपत्रसम्बन्धी ऐन २०६३, नेपाल राष्ट्र बैंक ऐन २०५८, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन २०७०, पारस्पारिक कानुनी सहायता ऐन २०७०, सङ्गठित अपराध निवारण ऐन २०७०, विद्युत् नियमन आयोग ऐन २०७४, सहकारी ऐन २०७४, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ र बीमा ऐन २०७९, मुलुकी अपराधसंहिता २०७४ र मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ संशोधन गरिएको छ । ऐनले सम्पत्ति शुद्धीकरण सम्बन्धमा सूचना सङ्कलन, अभियोजनलगायत विषयमा प्रहरीको अधिकार क्षेत्र वृद्धि, क्यासिनोको नियमन, हुन्डी कारोबारलाई फौजदारी कसुरमा समावेश गर्नेजस्ता व्यवस्था गरेको छ ।

ऐनले विद्युतीय र डिजिटल माध्यमबाट हुने कारोबारलाई पनि सम्पत्ति शुद्धीकरणको दायरामा समावेश गरेको छ । ऐनको दफा ७ (ब) मा अर्थमन्त्रीको अध्यक्षतामा निर्देशक समिति रहने व्यवस्था छ । ऐनले निर्देशक समितिलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी नीति र कार्यक्रमको मस्यौदा तयार पार्ने, सम्पत्ति शुद्धीकरणका लागि गर्नुपर्ने काम, त्यसका लागि आवश्यक संयन्त्र निर्माणका साथै सङ्घ, प्रदेश र स्थानीय सरकारका सबै निकायबीच संयोजन र अनुगमनको अधिकार दिएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन कार्यान्वयन गर्न समितिले निर्देशन दिनुका साथै कारबाहीसमेत गर्न सक्छ । यस्तै निर्देशक समितिले समन्वय समितिले पठाएको सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय जोखिम मूल्याङ्कन प्रतिवेदन स्वीकृत गर्नुका साथै सम्पत्ति शुद्धीकरण सम्बन्धमा वार्षिक प्रतिवेदन तयार पारी मन्त्रिपरिषद्मा पेस गर्नेछ ।

दूधको भुक्तानी नपाएको चितवनका किसानको गुनासो

By
Himalayan Tribune
-
June 5, 2024
0

चितवन: जिल्लाका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । उनीहरूले रु ७० करोडभन्दा बढी बक्यौता रहेको बताएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार जिल्लाका ४० हजार किसानको भुक्तानी रोकिएको छ । एक सय १४ वटा दुग्ध उत्पादक सहकारीमार्फत सङ्कलन गरिएको दूध खरिद गरेका डेरी उद्योगले भुक्तानी नदिएका हुन् ।

सुजल डेरी पोखराले कात्तिकको भुक्तानी गर्न बाँकी छ । दुग्ध विकास संस्थानको मङ्सिरयताको रु २२ करोड बाँकी छ भने अन्य २८ वटा डेरी उद्योगले पनि किसानलाई पैसा दिएका छैनन् । जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गरेको छ । यहाँ उत्पादित दूधमध्ये एक लाख ५० हजार लिटर जिल्ला बाहिर जाने गरेको छ । जिल्लामा पाँच सय हाराहारी पशुपालन फार्म छन् । यहाँ एक लाख गाई र ६० हजारभन्दा बढी भैँसी पालेर दूध उत्पादन हुँदै आएको छ ।

1...783784785...1,301Page 784 of 1,301

हिमालयन ट्रिब्युनको लागि

  • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
  • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
  • सम्पादक: गजे घले
  • व्यवस्थापक: आशिष पोखरेल
  • CONTACT
  • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
  • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune