Tuesday, May 12, 2026
Home Blog Page 779

ठोरीलाई त्रिदेशीय नाकाका रूपमा स्थापित गर्नुपर्ने

0

वीरगञ्ज (पर्सा): भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले ठोरी नाकालाई त्रिदेशीय नाकाका रूपमा स्थापित गरेर व्यापारिक र पर्यटकीय गतिविधि बढाउनुपर्ने बताउनुभएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर शनिबार पर्साको ठोरीमा आयोजित दुई देशीय पर्यटन प्रवर्द्धनसम्बन्धी छलफलमा नगरप्रमुख दाहालले दूरीका हिसाबले ठोरी–केरुङ नाका सबैभन्दा छोटो भएकाले नेपाल, भारत र चीन तीनवटै मुलुक जोड्ने यो नाकाबाट लाभ लिनेतर्फ काम गर्न आवश्यक भएको बताउनुभयो । “ठोरी छोटी भन्सारलाई व्यापारिक दृष्टिकोणबाट नभई पर्यटकीय हिसाबले आउने पर्यटकको सहजताका लागि दुई महिनाअगावै सञ्चालनमा ल्याएका छौँ”, उहाँले भन्नुभयो, “भारतीय पर्यटकले प्रयोग गर्ने उताका सवारीसाधनलाई अस्थायी अनुमति लिन वीरगञ्ज धाउनुपर्ने बाध्यता थियो, अब त्यो सेवा ठोरी छोटी भन्सारबाटै प्रवाह भएको छ ।

यसले पर्यटकीय गतिविधिमा ठूलो फाइदा पुर्याएको छ ।” वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत देवी साही मीनाले भारत र नेपालबीच सदियौँदेखिको सांस्कृतिक एवं धार्मिक सम्बन्धलाई दुवै देशका धार्मिक तथा पर्यटकीय गन्तव्यमा भारतीय र नेपालीले भ्रमण गर्नुपर्नेमा जोड दिनुभयो । ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले केही समय यता ठोरी नाकाबाट भारतीय पर्यटकको सङ्ख्या बढिरहेको बताउँदै उनीहरूलाई भ्रमणमा प्रोत्साहन गर्न सम्बद्ध सबैलाई अनुरोध गर्नुभयो ।

इलाममा आदिवासी जनजाति महोत्सव

0

फिक्कल (इलाम): इलाममा आजदेखि ‘आदिवासी जनजाति सांस्कृतिक तथा खाना महोत्सव आयोजना हुँदैछ । नेपाल आदिवासी जनजाति महासङ्घ सूर्योदय नगर समन्वय परिषद् र सूर्योदय महिला मञ्चको आयोजनामा सूर्योदय नगरपालिका–११ मा दुईदिने महोत्सव हुन लागेको हो ।

महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन, वेशभूषा प्रदर्शन एवं विविध परिकार प्रदर्शन गरिने नेपाल आदिवासी जनजाति महासङ्घ सूर्योदय नगर अध्यक्ष सोनाम योल्मूले जानकारी दिनुभयो । “आदिवासी जनजातिको कला, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो”, उहाँले भन्नुभयो ।

ताप्लेजुङका सामुदायिक विद्यालयमा शैक्षिकस्तर सुधार अभियान

0

फुङ्लिङ (ताप्लेजुङ): जिल्लाका सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्ने उद्देश्यले आठराई त्रिवेणी गाउँपालिकाले १३ बुँदे शैक्षिक घोषणापत्र जारी गरेर अभियान सुरु गरेको छ । पालिकाले शैक्षिक भेला गरी समुदायिक विद्यालयहरूको शैक्षिकस्तर सुधार अभियान सुरु गरेको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमुले जानकारी दिनुभयो ।

शिक्षाको गुणस्तर सुधार्न शिक्षक, विद्यार्थी र अभिभावकसमेतलाई जिम्मेवार बनाउने विषय घोषणापत्रमा समावेश गरिएको छ । गाउँपालिकाले जारी गरेको घोषणापत्रमा शिक्षणमा कार्यरत सम्पूर्ण प्रधानाध्यापक, शिक्षक, बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरु ९५ प्रतिशत भन्दामाथि हाजिर भई पठनपाठनमा संलग्न भएमा शिक्षक दिवसका अवसरमा प्रोत्साहन गरिने उल्लेख छ ।

विद्यालय हाताभित्र राजनीति गतिविधिमा प्रतिबन्ध लगाइएको तथा हाल कायम रहेको गाउँ शिक्षा ऐन, नियमावली, कार्यविधि र निर्देशिका समयानुकूल परिमार्जन गरिने छ । प्रधानाध्यापकको छनोट प्रचलित कानुन, ऐन तथा नियमावलीबमोजिम गर्ने, शैक्षिक गुणस्तर वृद्धिका लागि योग्य, विषयगत र प्रविधिमा दक्खल राख्ने शिक्षकको छनोट गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घलाई विद्यालयको प्रभावकारी अनुगमन तथा सुपरीवेक्षणका लागि आवश्यक तालिम दिइने भएको छ । यसैगरी विद्यालयको भौतिक पूर्वाधारलाई बालमैत्री बनाइने छभने शैक्षिक, सामाजिक र आर्थिक पक्षलाई सुदृढ बनाइने तथा अभिभावक शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन गरिने छ ।

आँबुखैरेनी–मुग्लिन सडक आज चार घण्टा बन्द हुने

0

तनहुँ: पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड चार घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ । आँबुखैरेनी–४ स्थित डयाम नजिक पहिरो नियन्त्रणको काम भइरहेकाले बिहान १० देखि दिउँसो १ बजेसम्म सडक बन्द हुने भएको हो ।

हिलसाइडमा चर्किएका ढुङ्गा ‘ट्रिममिङ’ गर्नुपर्ने भएकाले बाटो बन्द गरिने जिल्ला सडक डिभिजन कार्यालयका प्रमुख पशुपति ज्ञावलीले बताउनुभयो । पृथ्वीराजमार्गमा गुड्ने सवारीसाधन व्यवस्थापनमा सहजीकरण गरिदिन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई उक्त कार्यालयले अनुरोध पनि गरेको छ ।

सेनाको एकीकृत स्वास्थ्य शिविरबाट छ सय ६२ जना लाभान्वित

0

लुम्बिनी, कर्णाली र सदूरपश्चिममा हुरीबतासको चेतावनी

0

काठमाडौँ हाल मुलुकमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सफा रहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा ती प्रदेशका बाँकी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।

त्यसैगरी आज राति कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा तथा ती प्रदेशका बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाकोे सम्भावना छ । विभागले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले सतर्कता अपनाउ अनुरोध गरेको छ ।

भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील छ : प्रधानन्यायाधीश

0

प्रधानमन्त्री दाहाल आज अपराह्न भारत भ्रमणमा जानुहुँदै

0
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जानुहुने भएको छ ।
प्रधानमन्त्री दाहालका साथ उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहनुहुनेछ । प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ ।
भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उहाँबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणबारे जानकारी गराउनुभएको थियो ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो । यसअघि प्रधानमन्त्री दाहालले गत जेठमा पनि भारतको औपचारिक भ्रमण गर्नुभएको थियो ।
सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी हुनुभएको थियो । श्री मोदीले भारतको नेतृत्व सम्हाल्नेबित्तिकै अवलम्बन गर्नुभएको ‘छिमेक पहिले’ विदेशनीतिमा दक्षिण एसियाली राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलाई उक्त समारोहमा निमन्त्रणा गर्नुभएको थियो ।

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

0

काठमाडौँ: विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटक नारायणघाट–बुटवल सडकको दूरावस्थाका कारण घट्न थालेको लुम्बिनी विकास कोषले जनाएको छ । विसं २०७६ अघि लुम्बिनी क्षेत्रमा आउने आन्तरिक पर्यटक कम्ती भएको वर्ष पनि वार्षिक १० लाख हुन्थे । कोभिडपछि दुई वर्ष पर्यटक लुम्बिनी क्षेत्रमा जान सकेनन् ।

कोरोना महामारी कम भएपछि अरु सबै क्षेत्र पूर्ववत् फर्किए पनि लुम्बिनी क्षेत्रमा भने नारायणघाट–बुटवल सडकको दूरावस्थाका कारण वार्षिक छ लाख पर्यटकमात्र पुग्ने गरेको कोषका सदस्य सचिव सानुराजा शाक्यले राससलाई जानकारी दिनुभयो । आफू संसदीय समितिको बैठकमा भाग लिन कार्यालयकै गाडीमा काठमाडौँ आउँदा पनि १३ घण्टा समय लागेको उल्लेख गर्नुहुँदै उहाँले धार्मिक पर्यटक वृद्धि गर्न ती ठाउँमा जाने सडक पनि सुधार गरिनुपर्नेमा जोड दिनुभयो ।

लुम्बिनी क्षेत्रमा पूर्वाधार निर्माण गरे पनि नारायणघाट–बुटवल सडकका कारण पर्यटकले सास्ती खेप्नुपरेको गुनासो कोषका पदाधिकारी र कर्मचारीले सुन्नुपरेको सदस्य सचिव शाक्यको भनाइ छ । सडकको काम चाँडो सकिए लुम्बिनीलगायत त्यहाँबाट पश्चिम नेपालका विभिन्न जिल्लामा जाने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या बढ्ने उहाँले बताउनुभयो ।

नेपाली कांग्रेस प्रतिपक्षमै रहने

0

काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस विसं २०८४ सम्म प्रतिपक्षमा बस्ने बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३ वडा कार्यसमितिले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्थामा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले अर्को निर्वाचनसम्म कांग्रेस सशक्त प्रतिपक्ष भएर बस्ने बताउनुभएको हो ।

महामन्त्री थापाले विसं २०७९ को निर्वाचनमा पाँच वर्षका लागि पाँच दलबीच गठबन्धन भए पनि चाहनाले नभई परिस्थितिले गठबन्धन टुटेकाले अब प्रतिपक्षमा बसेर सङ्गठन निर्माणको कामलाई अगाडि बढाउने बताउनुभएको हो । तीन वर्षको समय पार्टीलाई पुनःनिर्माण र बलियो बनाउने समय भएको उहाँको भनाइ छ । “कांग्रेसको सरकार बनाउने र गिराउने चाहाना छैन, कांग्रेस जनताका विषयलाई लिएर अगाडि बढ्छ, सरकार र शक्तिको आडमा अदालत र संवैधानिक आयोगलाई प्रभावमा पारेर कसैले जनविरोधी काम गर्न पाइँदैन”, उहाँले भन्नुभयो ।

महामन्त्री थापाले पछिल्लो समय राष्ट्रिय अर्थतन्त्र कमजोर भएकाले त्यसलाई ठीक गर्न कांग्रेसले पहलकदमी लिने बताउनुभयो । उहाँले कांग्रेसले तीन सय ३२ स्थानीय तहमा विजय हासिल गरेर कतिपय स्थानीय तहमा राम्रा काम गरे पनि त्यसको प्रचारप्रसार हुन नसकेको उल्लेख गर्नुभयो । महामन्त्री थापाले घरघरमा पुगेर पार्टी र आगामी कार्यदिशाका बारेमा छलफल गर्नुपर्नेबेला आएको बताउनुभयो । उहाँले अब बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले महासमितिको प्रस्ताव पारित गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । आगामी बैठकले पार्टीका भ्रातृ संस्थाका बारेमा निर्णय लिने उहाँले जानकारी दिनुभयो । कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले काठमाडौँका जनता सचेत भएकाले सोहीअनुसार पार्टीले रणनीति बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । “सङ्गठनलाई सशक्त बनाउन जनसम्पर्क र जनताका चाहनालाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

नेता पौडेलले गिरिबन्धु टि स्टेटका बारेमा अदालतले फैसला गरेकाले त्यसबारे कांग्रेसले कुरा उठाउँदै आएको बताउनुभयो । गिरिबन्धु टि स्टेटका बारेमा सहकारी जस्तै कुरा उठाउन जरुरी भएको उहाँले बताउनुभयो । नेपाली कांग्रेस बागमती प्रदेशका सदस्य रमेशकुमार खड्काले पार्टीको सङ्गठनलाई बलियो बनाएमात्र सबै क्षेत्रमा कांग्रेसले जीत हासिल गर्नसक्ने बताउनुभयो ।

नेपाली कांग्रेस काठमाडौँका उपसभापति गोकर्ण केसीले कांग्रेसले अहिलेसम्म देशको विकासका लागि गरेको राम्रा काम जनतामाझ लैैजानुपर्ने बताउनुभयो । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ का सचिव पञ्चकुमारी श्रेष्ठले जनताका समस्या समाधानका लागि कांग्रेस लाग्नुपर्ने बताउनुभयो । कांग्रेस काठमाडौँ महानगरपालिका–३ का सभापति विसम केसीले नेपाली कांग्रेसलाई बलियो बनाउन मतदाताका घरघरमा पुगेर सङ्गठन निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।