Tuesday, May 12, 2026
Home Blog Page 778

ढोरपाटनको पाखुट्टेदेखि बायखोला–झिम्पा जोड्ने सडक स्तरोन्नति

0
सांकेतिक तस्बिर

ढोरपाटन (बागलुङ): निसीखोलामा पर्ने मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति गरिएको छ । विसं २०७३ मा साविक तीन वटा गाउँविकास समितिबाट विनियोजित रकमबाट निर्माण गरिएको उक्त सडक स्तरोन्नति गरिएको हो । चालु आर्थिक वर्षमा सङ्घीय सरकारले विनियोजन गरेको रु ५० लाख र गण्डकी प्रदेश सरकारको रु ३० लाखले सडकको स्तरोन्नति भएको हो ।

लोकमार्गको वैकल्पिक सडकका रुपमा ढोरपाटन नगरपालिका–२ पाखुट्टेदेखि बायखोला–झिम्पा हुँदै निसी जोडिएको छ । करिब २५ किलोमिटर रहेको यस सडकले निसीखोला गाउँपालिका २, ४ र ५ लाई जोडेको छ । वैकल्पिक निर्माणका लागि आठ वर्ष अगाडि निसी, बोहोरागाउँ र देवीस्थान गाउँ विकास समितिले रु दुई÷दुई लाख, अर्थ मन्त्रालयबाट ४० लाख, डोलीडारबाट रु सात लाख, जिल्ला विकास समितिबाट रु आठ लाखका लागतमा सडकको ट्रयाक खोलेको निसीखोला गाउँपालिकाका पूर्वअध्यक्ष तारानाथ पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो सडकले यस क्षेत्रका नागरिकको जीवनस्तरनै परिवतन गरि दिएको छ । ” यसभन्दा अगाडि निसीखोलाका कमै मात्र ग्रामीण क्षेत्रमा सडक पुगेका थिए । वैकल्पिक सडक निसीखोलावासीको ‘लाइफ लाइन’का रुपमा रहेको उहाँ बताउनुहुन्छ ।

पूर्व अध्यक्ष पौडेलले भन्नुभयो, “ट्र्याक खुलेको धेरै वर्षपछि सडकको स्तरोन्नति हुन थालेको छ, म गाउँपालिकाको अध्यक्ष हुने बेलादेखि नै पालिकाबाट बजेट विनियोजन गरेर सडक चौडा गर्ने, नाली निर्माण र ठाउँ–ठाउँमा कल्भर्ट बनाउने काम भएको थियो, कम बजेटका कारण त्यस बेला स्तरोन्नतिले पूर्णता पाएको थिएन, अहिले प्रदेश र केन्द्र सरकारको सानो बजेटले काम भएको छ, यो सडक पूर्णरुपमा स्तरोन्नति भयो भने निसीखोलाका नागरिकलाई यातायात र सामान ढुवानीमा सहज हुनेछ ।” सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी अमर अधिकारीले निर्माण कम्पनीले ९० प्रतिशत काम सकेको बताउनुभयो ।

खापुट्टेस्थित मध्यपहाडी लोकमार्गको पुलदेखि माथिल्लो क्षेत्रमा काम गरिरहेको उहाँको भनाइ छ । स्तरोन्नतिको जिम्मा पाएको सहस्रा कन्स्ट्रसन प्रालिले सडक फराकिलो बनाउने, ग्रेडिङ मिलाउने लगाएको काम गरेको उहाँले बताउनुभयो । रु ५९ लाख १२ हजार तीन सय २६ का सम्झौता गरेको निर्माण कम्पनीले असार मसान्तसम्म काम सक्नुपर्ने अधिकारी बताउनुहुन्छ ।

मुसिकोट नेपानेमा बोलेरो गाडी हुँदा तीनको मृत्यु, तीन जना घाइते

0

काक्रेविहार (सुर्खेत): रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मुसिकोट–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको बोलेरो आइतबार बेलुकी दुर्घटनामा परेको थियो ।

गाडी सडकबाट तल खस्दा बर्दियाको ठाकुरबाबा नगरपालिका–५ कालीगौडीका २७ वर्षीय सौगात विक, गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेत बराहताल गाउँपालिका–५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पताल सल्ले ल्याइएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको थियो । यसैगरी दुर्घटनामा घाइते हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दिया ठाकुरबाबा नगरपालिका–५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र सोही नगरपालिका कालीगौडीका २७ वर्षीय टीकाराम खनाल रहेको प्रवक्ता शाहीले जानकारी दिनुभयो । उनीहरूमध्ये विक र खनालको अवस्था गम्भीर छ ।

उनीहरुको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज ‘रिफर’ गरिएको छ । घाइते थापाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । बाँफिकोट क्षेत्रमा ‘फाइबर नेट’ विस्तार गरिरहेका उनीहरू छिनखेतमा बस्दै आएका थिए । गाडी सडकबाट करिब दुई सय मिटरभन्दा तल खस्दा तीन टुक्रा भएको बताइएको छ ।

वीरगञ्ज महानगरभित्रका विद्यालयमा बिहान १०ः३० भित्रै पठनपाठन सक्नुपर्ने

0

वीरगञ्ज (पर्सा): वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मी बढेसँगै बिहानको १०ः३० बजेभित्रै पठनपाठन सकाउन सामुदायिक तथा निजी विद्यालयलाई निर्देशन दिएको छ । महानगरको आइतबार बसेको बैठकले गर्मी बढेसँगै आजदेखि विद्यालयको पठनपाठन सीमित अवधिमा मात्रै गर्न निर्देशन दिएको हो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई/ मधेश क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन गर्मी बढ्न सक्ने मौसम विभागको पूर्वानुमानलाई मध्यनजर र बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै बिहानीको समयमा कक्षा सञ्चालनको समयावधिलाई कम हुने गरी पठनपाठन गराउन निर्देशन दिएको बताउनुभयो । “महानगरपालिकाको आइतबार बसेको बैठकले हाल शिक्षणको समयावधिमा हुने क्षतिलाई पछि मिलान गर्ने गरी शैक्षिक क्षतिलाई न्यूनीकरण गर्नका लागि अर्को सूचना जारी नभएसम्मका लागि जेठ २८ गतेदेखि बिहान १०ः३० बजेभित्र पठनपाठन सक्ने गरी कक्षा सञ्चालन गर्ने समयावधि व्यवस्थापन गर्न गराउनुहुन अनुरोध गरिन्छ”, उहाँले भन्नुभयो ।

वीरगञ्ज महानगर क्षेत्रमा यसअघि बिहान ६ बजेदेखि बिहानी सत्रमा पठनपाठन हुँदै आइरहेको थियो । महानगरले गत वैशाख २० गतेदेखि बिहानी सत्रमा पठनपाठन गराउँदै आइरहेको थियो । महानगरको शिक्षा समितिको २०८१ जेठ १४ गते बसेको बैठकले यसअघि वीरगञ्जमा अत्यधिक गर्मीको कारणले जेठ १६ गतेदेखि १८ गतेसम्मको लागि तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गरिएको थियोे ।

यसपछि बर्सा्त भए पनि वीरगञ्जमा बिहानकै समयमा पठनपाठन हुँदै आइरहेको थियो । महानगरभित्र सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ एक सय ३८ विद्यालय छन् । सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्राथमिक विद्यालय रहेको छ ।

दाताका भरमा अञ्चल बाल अनाथालय

0

दोधारा चाँदनी (कञ्चनपुर): अभिभावकविहीन बालबालिकाको आश्रयस्थल बनेको कञ्चनपुरको महेन्द्रनगरस्थित समाजकल्याण अञ्चल बाल अनाथालय दाताका भरमा सञ्चालन भइरहेको छ । विसं २०४९ मा स्थापना भएको बाल अनाथालयलाई राज्यबाट सहयोग नहुँदा अनाथालय सञ्चालनमा समस्या भइरहेको भए पनि कुनै पनि निकायले चासो देखाएका छैनन् ।

तत्कालीन जिल्ला विकास समितिले वार्षिकरुपमा अनाथालयलाई केही रकम खाद्यान्न खरिदका लागि अनुदान दिइरहेको भए पनि पछिल्ला वर्षमा राज्यस्तरबाट कुनै सहयोग नभएको समाजकल्याण अञ्चल बाल अनाथालयका अध्यक्ष दयाकृष्ण जोशीले जानकारी दिनुभयो । “सरकारले दिने अनुदान रकम स्थानीय सरकार आइसकेपछि बन्द हुँदा अनाथालयको खर्च व्यवस्थापनमा निकै समस्या भइरहेको छ”, अध्यक्ष जोशीले भन्नुभयो, “अहिले दाताहरुको भरमा अनाथालय सञ्चालन भइरहेको छ ।” उहाँले अनाथालयमा हाल २४ बालबालिका आश्रित रहेको बताउनुभयो । सबैजसो बालबालिकालाई बजार क्षेत्रका निजी तथा सरकारी स्कुलले निःशुल्क अध्यापन गराइरहेको भए पनि अनाथालयको अन्य व्यवस्थापनमा भने आर्थिक अभाव हुँदै आएको उहाँको भनाइ छ । “भवन अभाव हुँदा जीर्ण भवनमा बालबालिका राख्नुपरेको छ”, उहाँले भन्नुभयो, “भौतिक पूर्वाधारका लागि स्थानीय र प्रदेश सरकारसँग सहयोगका निम्ति आग्रह गरेका छौँ ।” उहाँले अनाथालयमा आश्रय लिएर पढेका धेरै बालबालिका सरकारी सेवामा प्रवेश भइसकेको बताउनुभयो ।

अनाथालय व्यवस्थापन समितिसँगै दाताको खाद्यान्न, लत्ताकपडा लगायतको सहयोगले अनाथालय चलिरहेको उहाँको भनाइ छ । “जन्मदिन, विवाह उत्सवलगायत खुसीमा यहाँ दाता सहयोग गर्छन्”, उहाँले भन्नुभयो, “यहाँका नागरिकले अनाथालय सञ्चालनमा महत्वपूर्ण सहयोग गरेका छन् ।” अनाथालयमा हाल एक सय ९३ टुहुरा बालबालिकालाई आश्रय लिएका छन ।

मोफसलमा दर्शक भेट्दै ‘पुजार सार्की’ समूह

0

काठमाडौँ: चलचित्रको गतिविधि प्रायः काठमाडौँ उपत्यका केन्द्रित नै भइरहेका हुन्छन् । प्रदर्शन अगाडि पत्रकार सम्मेलनका लागि मोफसलका केही सहरमा भने चलचित्रकर्मी पुग्ने गरेका छन् । प्रिमियर, निर्माण घोषणालगायत कार्यक्रम काठमाडौँ केन्द्रित भइरहँदा पछिल्लो समय चलचित्रकर्मी दर्शकसँग भेटघाट गर्न र प्रतिक्रिया लिन मोफसल पुग्ने गरेका छन् ।

यही क्रममा प्रदर्शनरत चलचित्र ‘पुजार सार्की’ को प्रतिक्रिया लिन र दर्शकसँग साक्षात्कार गर्न निर्देशक दिनेश राउत, अभिनेता आर्यन सिग्देल, अभिनेत्री अञ्जना बराइलीसहितको समूह मोफसल पुगेको छ । शनिबार चितवनदेखि सुरू भएको मोफसल यात्रा आज पोखराका दर्शकसँग भेटघाट गर्दै सकिने निर्देशक राउतले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो प्रचार काठमाडौँ उपत्यका केन्द्रित भइरहेको हुन्छ, हामीले पनि उपत्यकाका दर्शक भेटघाट गरेपछि मोफसलमा निस्किएका छौँ, यस्ता गतिविधिले बजार बढाउन मदत गर्छ भन्नेमा विश्वस्त छौँ”, निर्देशक राउतले भन्नुभयो ।

चितवनका दर्शक भेटेपछि अभिनेता सिग्देलले चलचित्र चेतना बढेको महशुस गर्नुभयो । “हामीले चलचित्रका बारेमा पाइरहेको प्रतिक्रियाले आगामी दिनमा काम गर्न दिशानिर्देश गर्छ, दर्शकको प्रत्यक्ष प्रतिक्रिया लिन पाउँदा उत्साहित छु”, अभिनेता सिग्देलले भन्नुभयो ।

प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य लगायतले अभिनय गर्नुभएको चलचित्रमा अन्तरजातीय प्रेम र त्यसका लागि गरिने सङ्घर्ष देखाइएको छ । विकास सुवेदीले लेख्नुभएको चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गर्नुभएको हो ।

विचार : किन ओझेलमा पर्‍यो दलित इतिहास ?

0

काठमाडौँ: हाम्रो देशमा इतिहासका विविध विषय छन् । कैयौँ विषय यस्ता छन्, जो लेख्न बाँकी नै छ । देख्दा साधारण जस्ता लाग्ने तर कतिपय गम्भीर विषयहरुमाथि नेपालका इतिहासकारहरुको कलम चलेको पाइँदैन । यस्ता गम्भीर विषयमध्ये एक हो, दलित उत्पीडितहरुको इतिहास । दलित उत्पीडितहरुको इतिहास लेखनका लागि स्वयं यस समुदायका इतिहासकारको उपस्थिति नदेखिदा र गैरदलित समुदायका इतिहासकारले उनीहरुको इतिहासको खोजी र लेखनप्रति उत्साह नदेखाउँदा नेपालका दलितहरुको इतिहास ओझेलमा पर्न पुगेको छ ।

युगौँदेखि छुवाछूतको मारमा परेको यो समुदायको सवालको प्राज्ञिक उत्थानका लागि पनि उनीहरुको छुट्टै इतिहास लेखनको आवश्यकता देखिन्छ । छुवाछूतको प्रचलन कहिलेदेखि चल्यो, कुन कारणले यी श्रमिक र सिल्पी समुदायलाई छुवाछूतको सिकार बनाइयो भन्ने बहस त भइरहेकै छ । उनीहरुको उत्थान र मुक्तिका लागि सरकारी तथा गैरसरकारी तहबाट केही प्रयासहरु भइरहेकै छन् ।

तर इतिहास लेखनमार्फत् पनि दलित तथा उत्पीडित वर्गलाई जुन प्रकारले प्राज्ञिक जगतबाट सम्बोधन हुनुपर्ने हो, यस्तो प्रयास भने हुन सकेको छैन । त्यसैले दलित उत्पीडित समुदायको छुट्टै इतिहास लेखन आजको एक प्राज्ञिक आवश्यकता हुन पुगेको छ । दलित उत्पीडितहरुको इतिहास लेख्ने क्रममा सोही समुदायका बौद्धिक व्यक्तित्वहरु पद्मलाल विश्वकर्मा, यामबहादुर किसान, रविमान लम्जेल र गणेश विकेको संयुक्त लेखनमा “नेपाली दलित आन्दोलनको संक्षिप्त इतिहास” (२०६३) प्रकाशित भएको पाइन्छ । यस पुस्तकले पृथ्वीनारायण शाहको समयमा सक्रिय बिसे नगर्ची, यखाजङ्ग विश्वकर्मालगायतका अगुवाहरुको सक्रियतालाई छिटपुट रुपमा समेटेर हालसम्म भएका दलित आन्दोलनको चर्चा गरेको छ । इतिहासको स्रोतका रुपमा शिलालेखहरुको उपलब्धताको हिसाबले इतिहासकारहरुले लिच्छवीकाललाई स्वर्णयुग मान्दै आएका छन् ।

इतिहासकारहरुले काल निर्धारण गरेअनुसार नेपाल संवत सुरु हुनुभन्दा अघिको काललाई प्राचीनकाल, त्यसपछि मध्यकाल र पृथ्वीनारायण शाहको समययतादेखिको काललाई आधुनिककाल मान्दै आएका छन् । यसअनुसार प्राचीनकाल र मध्यकालको इतिहास लेख्ने इतिहासकारहरुले दलितहरुको अवस्थाबारे ऐतिहासिक विवेचना गरेको त्यति पाइँदैन । नेपाली इतिहासको खोजीले त्यसतर्फ पनि चासो राख्ने ठाउँ प्रशस्तै रहेको छ । पृथ्वीनारायण शाहकालीन बिसे नगर्चीबारे पनि गम्भीरतापूर्वक इतिहास खोजी हुनै बाँकी छ । बिसे नगर्चीः ऐतिहासिक व्यक्तित्त्व पृथ्वीनारायण बिसे नगर्चीलाई नाटक, कविता आदिको माध्यमबाट चर्चाको चुलीमा पु¥याइँदै आएको छ ।

त्यसैले उनी कतै साहित्यिक विधाको पात्र मात्रै त होइन भन्ने भ्रम पनि पर्न जान्छ । तर बिसे नगर्ची पृथ्वीनारायण शाहको समयमा भएका विभिन्न युद्धहरुको मोर्चामा सक्रिय एक योद्धा पनि थिए भन्ने ऐतिहासिक तथ्य विभिन्न स्रोतहरुमा पाइन्छ । उनी १८०१ सालमा नुवाकोटको युद्धमा तीनघारेतिरबाट बढेको युद्धमोर्चामा पृथ्वीनारायण शाहका साथ सामेल थिए । गोरखालीहरुले असोज १५ गते नुवाकोट जित्दा विजयोत्सवमा बिसे नगर्चीले नगरा घन्काउँदा उनलाई बानादार दमाई र मणिराम गाइनेले साथ दिएका थिए । विसं १८१२ मा साउनमा लमजुङसँग सिरानचोकमा गोरखालीको युद्ध हुँदा त्यहाँ पनि बिसे नगर्ची सक्रिय थिए । युद्धमा गोरखालीको जीत हुँदा हारेका लमजुङे सैन्य अधिकारीहरुको अपमान गर्न बिसे नगर्चीको धोती टाँगेर उनीहरुलाई धोतीमुनि छिर्न लगाई बेइज्जत गरिएको ऐतिहासिक प्रसङ्ग भाषा वंशावलीमा पढ्न पाइन्छ । अहिले पनि बिसे नगर्चीका सन्तति गोरखामा रहेका छन् । उनीहरुसँग बिसे नगर्चीको नाम उल्लेख भएको रुक्का सुरक्षित रहेका छन् ।

तीमध्ये १८४६ माघ सुदी १५ मा जारी रुक्कामा “केही जग्गा जमिनको जागिर विस्याको नाउमा गयाको रहेछ, त्यो जग्गा उसैको छोरो दुब्ल्यालाई बक्स्यौँ” भन्ने प्रसङ्ग परेको छ । यसअनुसार बिसे नगर्चीको छोराका नाम दुब्ल्या अर्थात् दुब्ले रहेको देखिन्छ । यस्ता ऐतिहासिक स्रोतहरुबाट पनि बिसेलगायतका ऐतिहासिक व्यक्तित्वहरुको छुट्टै इतिहासको खोजी गर्न सकिन्छ । जङ्गबहादुरको दृष्टिमा दलित दलित उत्पीडित समुदायको इतिहासको खोजीका क्रममा तत्कालीन शक्तिशाली प्रधानमन्त्री जङ्गबहादुर राणाको एक अभिव्यक्तिलाई गम्भीरतापूर्वक नियाल्नु जरुरी छ ।

दलितहरुको सीप, श्रम र सिर्जनाका बारेमा जङ्गबहादुर गम्भीर र संवेदनशील थिए । उनले दलित समुदायको महत्वलाई बुझेका थिए । यसबारेमा उनले आफू बेलायत भ्रमणका बेला यता कार्यवाहक प्रधानमन्त्री रहेका आफ्ना भाई बमबहादुरलाई आफ्नै हस्ताक्षरमा लेखेको पत्रलाई उदाहरणका रुपमा लिन सकिन्छ । त्यसबेला उनले आफ्ना भाइलाई लेखेको पत्रमा कामी, सार्की, दमाई, कर्मीहरुको जागिर नखोस्नू भन्ने आदेश दिएका छन् । पत्रमा “कामी, सार्की, दमाई, कर्मी खोसे इलम पनि बिग्रन्छ । कारखाना पनि बिग्रन्छ । कोते, पिपा, जमादार, खलासी एक पनि नखोसेस् । यिनलाई खोस्नु बडो अनविवेक हुन्छ, किनभने यी थोरै खाई धेरै काम गर्छन्” भन्ने परेको छ ।

यताबाट हेर्दा दलित उत्पीडितले थोरै ज्याला लिएर धेरै र राम्रो काम गर्ने भएकोले उनीहरुको जागिर खोसिदिदा कारखाना चल्न नसक्ने र त्यस्तो काम गर्नु विवेकसम्मत नहुने धारणा जङ्गबहादुरको रहेको देखिन्छ । दलित उत्पीडितहरुको श्रम र सीपले सामान्य नागरिकको दैनिक जीवनमा उपयोग हुने सामग्रीको आपूर्ति त हुन्थ्यो नै, अझ जङ्गबहादुरको समयमा स्वचालित उपकरणहरुको विकास भइनसकेको अवस्थामा हातैले काम गरेर सैन्य प्रयोजनका हतियार कारखाना चलाउनुपर्ने अवस्था थियो । हतियारका लागि फलामको काम अनिवार्य हुन्थ्यो । यस्ता कारखानामा छालाको काम पनि अनिवार्य थियो । त्यसैले त्यसबेला मेगेजिन अड्डा नाम दिइएको हतियार कारखानामा आरन फाँट र सार्की फाँट हुन्थ्यो । सैनिकहरुका लागि जङ्गी पोशाक तयार गर्न दमाईहरुको श्रम र सीपको प्रयोग हुन्थ्यो ।

त्यसबेला सरकारबाट कर उठाउनका लागि जारी भएका ऐतिहासिक कागजपत्रहरुमा कम्पु तथा मेगेजिन करबारे उल्लेख छ । कम्पु भनेको सैनिक पल्टन हो भने मेगेजिन अड्डा भनेको हतियार कारखाना हो । यस्तै पुराना कागजपत्रहरुमा सार्कीको पलेटी, कामीको ताल, दमाईको सुजेरो भन्ने पनि उल्लेख गरिएको पाइन्छ । यी सबै दलित तथा उत्पीडित समुदायका श्रमिकहरुले गर्ने कामहरु हुन् । दलित तथा उत्पीडित समुदायको श्रम र सीपलाई राम्ररी नियालेका जङ्गबहादुरले हचुवाको भरमा कामी, सार्की, दमाईको जागिर नखोस्नू, उनीहरुको जागिर खोसिए इलम पनि बिग्रन्छ, कारखाना पनि बिग्रन्छ भनेका होइनन् । सबाल्टर्न दर्शनको उपयोग नेपालमा इतिहास लेखनलाई राजा महाराजाको कथा भन्नेहरुको सङ्ख्या प्रशस्तै छ । हुन पनि नेपालमा जे जति इतिहास लेखिए, तीमध्ये अधिकांशले राजा महाराजा वरिपरि फेरो मारेको देखिन्छ । विगतमा जे जस्ता घटनाहरु छन्, तिनीहरुको तथ्यपूर्ण प्रस्तुति नै इतिहास हो । इतिहासकारहरुले जनस्तरको इतिहास लेखनलाई प्राथमिकतामा नराखेकै हुन् ।

त्यसैले बारम्बार प्रश्न उठ्ने गरेको छ, खोई जनताको इतिहास लेखेको ? नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको पनि डेढ दशक नाघिसकेको छ । अब पनि जनस्तरको इतिहासको खोजीले प्राथमिकता नपाए कहिले पाउने ? तिनै जनस्तरको इतिहासको अध्ययन क्षेत्रभित्र दलित उत्पीडितहरुको इतिहास पनि पर्छ । तर यसतर्फ गम्भीरतापूर्वक चिन्ता र चासो देखा परिरहेको छैन । केवल नारा जुलुश, आमसभा र गोष्ठीहरुले मात्रै दलित उत्पीडितहरुलाई न्याय दिलाउन सक्दैन ।

उनीहरुका लागि इतिहासको खोजीबाट पनि प्राज्ञिक न्याय प्रदान गर्न सकिन्छ । दलित उत्पीडितहरुका लागि इतिहास लेखनमा देखा परेको पछिल्लो दर्शन सबाल्टर्न दर्शन उपयोगी देखिन्छ । सबाल्टर्न शब्दको प्रयोग गर्ने पहिलो ब्यक्ति इटालियन चिन्तक एन्तोनियो ग्राम्सी हुन् । उनले यो शब्द तल्लो तहका मानिसहरुलाई जनाउन लागि प्रयोग गरेका थिए । इतिहास लेखनमा निम्न स्तर, सुविधाविहीन, उपेक्षित, सिमान्तकृत, अल्पसङ्ख्यक, आवाजविहीन तथा कमजोर अवस्थामा रहेका समुदायका विषयलाई पनि यथोचित रुपमा समेट्नुपर्छ भन्ने दर्शन नै सबाल्टर्न दर्शन हो । इतिहास लेखनमा यो दर्शनलाई ब्यवहारमा लागू गर्नेमध्ये भारतीय इतिहासकार रन्जित गुहा मुख्य मानिन्छन् ।

नेपालका दलित उत्पीडितहरु नेपालका सिमान्तकृत र आवाजविहीन वर्गमा पर्छन् । तर सबाल्टर्न दर्शनले इतिहास लेखनमा सिमान्तकृत र आवाजविहीनहरुलाई मात्रै समेट्नुपर्छ भन्ने मान्यता राख्दैन । जसरी इतिहास निर्माणमा मुख्य नायकको भूमिका हुन्छ, उसको नेतृत्त्वलाई सफल बनाउन निम्न तहका कार्यकर्ताको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हुने हुँदा उनीहरुको भूमिकालाई पनि इतिहास लेखनमा समुचित स्थान दिइनुपर्ने धारणा सबाल्टर्न दर्शनले बोकेको छ । नेपालको इतिहास लेखनमा राजा महाराजारुपी नायकहरुलाई मात्रै स्थान दिइँदा उनीहरुलाई सफल बनाउने तल्लो तहका मानिसहरुको इतिहासलाई विस्मृत बनाउनुलाई कुनै पनि हालतमा न्यायोचित मान्न सकिन्न ।

पृथ्वीनारायण शाहलाई नेपालका इतिहासकारहरुले जुन ढङ्गले इतिहास लेखनमा स्थान दिए तर उनलाई सफल बनाउने बिसे नगर्चीलाई उनीहरुले गौण ठानिदिए । उनको विषयमा छुट्टै इतिहास लेख्न इतिहासकारहरुको कलम खासै उत्साहित भएको देखिएन । यसरी पनि दलित उत्पीडितहरुको इतिहास ओझेलमा पर्न गएको छ । अब दलित उत्पीडितहरुको इतिहासको खोजी र लेखनले पनि उचित स्थान पाउन जरुरी छ । यसका लागि स्वयम् दलित उत्पीडित वर्गबाट पनि इतिहासकारहरु तयार हुनु आवश्यक छ । अरुको भरले होइन, अब आत्मनिर्भरताले तथ्यपूर्ण इतिहास लेखिनुपर्छ । (लेखक इतिहास अध्ययनमा रुचि राख्नुहुन्छ)

कर्णालीको झोलुङ्गे पुलमा अड्किएका खच्चडको उद्धार

0

अछाम, २७ जेठ : कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा बीच भागमै अड्किएका ११ खच्चडको जीवितै उद्धार गरिएको छ । दुई खच्चडको भने मृत्यु भएको छ । अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्कीजिउला जोडने झोलुङ्गे पुलको जाली लत्रिएपछि आज बिहानदेखि १३ खच्चड पुलको बीच भागमा अड्किएका थिए ।

खच्चडलाई पुलको जाली काटेर कर्णालीमा खसाली उद्धार गरिएको अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो । “पुलको जाली काटेर उद्धार गर्ने क्रममा दुई खच्चडको मृत्यु भएको हो”, उहाँले भन्नुभयो–“बाँकीको डुङ्गाको सहायताले जीवितै उद्धार गर्न सफल भयौँ ।” पुलको दाँहिने तर्फको जाली लत्रिएको थियो ।खुट्टा जालीभित्र पसेपछि खच्चड पुलमा अड्किएका थिए । पुलको दाँहिने तर्फको भाग पुरै बाङ्गो भएको छ । उद्धारमा अछामस्थित नेपाली सेनाको गोरख बक्स गणको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासी खटिएका थिए ।

नेप्से परिसूचक ओरालो लाग्यो

0

काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक चार दशमलव ५९ अङ्कले ओरालो लागेर दुई हजार ७३ दशमलव १९ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १५ अङ्कले ओरालो लागेर तीन सय ६८ दशमलव १८ मा सीमित भएको छ । एक करोड चार लाख ५२ हजार एक सय २८ कित्ता शेयर रु पाँच अर्ब १८ करोड ९० लाख ७९ हजार पाँच सय २२ मा कारोबार भयो ।

नेप्सेका अनुसार, इस्टर्न हाइड्रोपावर, शुभम पावर, सिटी होटल र कुर्थली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । भगवती हाइड्रोपावरका लगानीकर्ताले नौ दशमलव ९९ प्रतिशतले कमाएका छन् । यस्तै बुद्धभूमि नेपाल हाइड्रोेपावर १०, पोखरा फाइनान्स सात दशमलव १२, लक्ष्मी लघुवित्त ६ दशमलव ६१, माईखोला हाइड्रोपावर पाँच दशमलव ३४ तथा मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव ५२ प्रतिशतले गुमाएका छन् ।

अन्तर्राष्ट्रिय विकास सङ्घको बैठक असार पहिलो साता काठमाडौँमा हुने

0

काठमाडौँ: विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) को बैठक असार पहिलो साता काठमाडौँमा हुने भएको छ । आगामी असार ४ देखि ७ गते (जुन १८ देखि २१ तारिख) सम्म हुने आइडिए-२१ बैठकका लागि आयोजक समिति, व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जनाएको छ । “बैठक व्यवस्थापनका लागि अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख एवं सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको छ”, अर्थमन्त्री पुनको सचिवालयले भनेको छ ।

बैठकको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने आयोजकले जनाएको छ । उद्घाटन, बन्दसत्र र समापन गरी तीन सत्रमा बैठक सञ्चालन हुनेछ । समापनसत्रको प्रमुख अतिथि अर्थमन्त्री वर्षमान पुन रहने तय भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ पनि बैठकमा वक्ताका रुपमा सहभागी हुनुहुनेछ । विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आइडिए बैठकमा सहभागी हुन विश्व बैंकका अध्यक्ष अजय बङ्गा, बैंकको दोस्रो वरियताका विकास नीति र साझेदारी विभागका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोट्सनवर्गलगायत उच्चपदस्थ अधिकारीहरु नेपाल आउने जनाइएको छ । सहसचिव नेपालका अनुसार विश्व बैंकका दाता करिब ६० र साझेदार ९० भन्दाबढी देशका तीन सय बढी प्रतिनिधि बैठकमा सहभागी हुनेछन् ।

सन् १९६० मा स्थापना भएको आइडिए विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त आर्थिक विकासमा पछि परेका मुलुकका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो । आइडिएले न्यून र मध्यम आय भएका विश्वका ७५ भन्दाबढी मुलुकमा सहायता उपलब्ध गराउँदै आएको छ । आइडिएको बैठक हरेक तीन वर्षमा हुने गरेको छ । यसपटकको बैठकका प्रमुख एजेण्डा नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने तय गरिएको छ । सहसचिव नेपालले यो स्तरको बैठकस्थलका लागि नेपाल छानिनु खुसीको कुरा रहेको बताउनुभयो ।

उहाँले साझेदारसँगको सहकार्यमा नेपालमा निर्माणाधीन विकास आयोजना, तिनीहरुका सकारात्मक पक्ष र चुनौतीबारे विश्वसमुदाय अवगत हुने र उक्त अनुभव संसारलाई बाँड्न बैठक महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुुभयो । कार्यक्रमबाट नेपाललाई कूटनीतिक लाभसमेत मिल्ने विश्वास आयोजकको छ । बैठकमा आगामी तीन वर्षमा आइडिएले गर्ने प्रमुख कामका साथै आर्थिक विकासमा उत्पन्न स्रोतको सीमालगायत विषयमा छलफल हुनेछन् । बैठकपछि अध्यक्ष बङ्गासहित उच्च अधिकारीहरू काठमाडौँ उपत्यका आसपासमा रहेका विश्व बैंकसहित विकास साझेदारका लगानीमा निर्माणाधीन विभिन्न आयोजनाको स्थलगत निरीक्षणमा जाने कार्यसूची रहेको जनाइएको छ ।

गत वैशाखमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन काठमाडौँ आउनुभएका विश्व बैंकका दक्षिण एशिया उपाध्यक्ष मार्टिन रेजरसँगको भेटमा अर्थमन्त्री पुनले बैठकको तयारीबारे छलफल गर्नुभएको थियो । त्यसअघि मन्त्री पुनले विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन वैशाख पहिलो साता अमेरिका गएकाबेला वासिङ्टन डिसीस्थित विश्व बैंक मुख्यालयमा भएको भेटमा बैंकका उपाध्यक्षद्वय अकिहिको निसियो र ग्वाङ्जे चेनसँगको भेटमा पनि आइडिए बैठकबारे कुराकानी गर्नुभएको थियो । आइडिएको २०औँ बैठक सन् २०२१ को डिसेम्बर १४ र १५ मा जापानले आयोजना गरेको थियो ।

सो बैठकमार्फत विकास साझेदारको विश्वव्यापी गठबन्धनले न्यून आय भएका देशलाई कोभिड-१९ महामारीको सामना गर्न र हरियाली प्रवर्द्धनमार्फत कार्बन उत्सर्जन घटाउन ९३ अर्ब अमेरिकी डलर अनुदान सहयोग गर्ने घोषणा गरेको थियो । विश्वबैंकले सङ्खुवासभामा निर्माण हुने एक हजार ६३ मेगावाटको अर्धजलासययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजना र छ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त आयोजनामा लगानी गर्दैछ ।

प्रधानमन्त्री दाहाल नयाँदिल्लीमा

0

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पदको शपथग्रहण गर्नुहुने समारोहमा सहभागी हुने सिलसिलामा आज अपराह्न भारतको राजधानी नयाँदिल्ली पुग्नुभएको छ । प्रधानमन्त्री दाहाललाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सरकारका विशेष प्रतिनिधिले स्वागत गर्नुभएको त्यहाँस्थित विदेश मन्त्रालयले जनाएको छ । तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टीका नेता मोदीले आज साँझ भारतको प्रधानमन्त्री पदको शपथ लिनुहुने कार्यक्रम छ ।

सो शपथ समारोहपछि प्रधानमन्त्री दाहाल र उहाँका समकक्षी मोदीबीच आजै साँझ भेटवार्ता हुने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहालका साथमा उहाँकी स्वकीय सचिव गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि हुनुहुन्छ । प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्कनुहुने कार्यक्रम छ ।