Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search

Logo

Wednesday, May 13, 2026
Facebook

Logo

  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Home Blog Page 762

शहीद लालध्वजमार्ग स्तरोन्नति गरिँदै

By
Himalayan Tribune
-
June 20, 2024
0
दमौली (तनहुँ): शुक्लागण्डकी नगरपालिकादेखि व्यास नगरपालिकासम्म जोडिने शहीद लालध्वजमार्ग स्तरोन्नतिको काम सुरु भएको छ । शुक्लागण्डकी नगरपालिका–१ थप्रेकदेखि व्यास नगरपालिका–६ सिन्धुसम्म जोडिने उक्त मार्ग स्तरोन्नतिका लागि जिल्ला पूर्वाधार विकास कार्यालय बोलपत्र आह्वान गरेको छ ।
पूर्वाधार विकास कार्यालय रु १५ करोडको लागतमा उक्त मोटरमार्गको स्तरोन्नतिका लागि बुधबार सूचना प्रकाशित गरेको हो । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट रु चार करोड बजेट विनियोजन गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको हो । सडकका लागि प्रदेश भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र आर्थिक मामिला मन्त्रालयले रु १५ करोडको स्रोत सुनिश्चित गरेको छ । विसं २०५२ पुस २८ गते यो सडकको ‘ट्रयाक’ खुलेको थियो ।

मध्यपहाडी लोकमार्गः धारापानी–झिनडाँडाखण्डमा स्तरोन्नति सुरु

By
Himalayan Tribune
-
June 20, 2024
0

म्याग्दी: धौलागिरि गाउँपालिका–७ धारापानीदेखि धारापानी–ताकम–शिवाङ–झिनडाँडासम्मको सडक स्तरोन्नति थालिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना सडकअन्तर्गत धौलागिरि गाउँपालिकाको धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेलको काम सुरु भएको हो ।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु पाँच करोड विनियोजन गरेको यस सडकका लागि रु २५ करोड बराबरको वहुबर्षीय ठेक्का लगाउन बजेटको स्रोत सुनिश्चिता गरेको थियो । प्रतिस्पर्धामार्फत आयोजना निर्माणका लागि छनोट भएको निर्माण कम्पनी रामसागर–बिएस धौलागिरि जेभीले संयुक्त सर्वेक्षणको काम सकेर सडक फराकिलो बनाउन कार्यक्षेत्रमा परिचालन भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले जानकारी दिनुभयो । चार किलोमिटर लामो यो सडक स्तरोन्नति गर्न उक्त कम्पनीले रु १४ करोड ६१ लाख ६१ हजारमा गत जेठ २० गते सडक विभागसँग सम्झौता गरेको छ ।

म्याग्दीबाट ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ७० किलोमिटर छोटो हुने भएकाले यसलाई प्राथमिकता दिइएको गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताउनुभयो । यो सडक आयोजनाअन्तर्गत झिनडाँडादेखि मुनातर्फ हालै ग्राभेल भएको छभने दरवाङ–धारापानी खण्डमा कालोपत्रसहित स्तरोन्नति गर्न प्रदेश र सङ्घीय सरकारको लागत साझेदारीमा रु एक अर्ब बजेट विनियोजन भएको उहाँले जानकारी दिनुभयो ।

हाल मरेनीसम्म बनेको कच्ची सडकलाई विस्तार गरेर ढोरपाटन जोड्न सडक डिभिजन कार्यालयमार्फत कार्यान्वयन हुने गरी थप रु छ करोड ५० लाख विनियोजन भएको जुग्जालीले बताउनुभयो । विसं २०६६ मा धारापानीमा पुगेको सडक स्तरोन्नति गर्न स्थानीयले जग्गा उपलब्ध गराउने सहमति गरेका टोल सुधार समितिका संयोजक रिमबहादुर थापाले बताउनुभयो । धारापानीका अगुवा किरण थापाले सडक आठ मिटर फराकिलो बनाउन सबै जग्गाधनी सहमत भएका तथा त्यसनिम्ति जग्गा प्रदान गर्न तयार रहेका बताउनुभयो ।

ट्रयाक खुलेको १८ वर्षपछि ग्रामीण सडक कालोपत्र गरिँदै

By
Himalayan Tribune
-
June 20, 2024
0

ढोरपाटन (बागलुङ): बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा– जैदीछिस्ती ग्रामीण सडक कालोपत्र गर्न थालिएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकार र जैमिनी नगरपालिकाले विनियोजन गरेको रु ५० लाख गरी रु एक करोडमा सडक कालोपत्र गर्न थालिएको हो । कुश्मिसेरा बजारदेखि सर्कुवा, ब्यार्थला, बिनामारी, जैदीछिस्ती पुग्ने सडकको कालोपत्रसँगै स्तरोन्नतिको कामसमेत भइरहेको छ ।

आर्थिक वर्ष २०६२/०६३ सालमा ट्रयाक खुलेको सडक १८ वर्षपछि कालोपत्र हुन थालेपछि स्थानीय हर्षित भएका छन् । जैमनी नगरपालिका–५ का वीरबहादुर खत्रीले लामो समयसम्म सडक कालोपत्र नहुँदा यस क्षेत्रका हजारौँ नागरिकले सास्ती खेपेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “यो बाटो खुलेको धेरै वर्ष भयो, जहिले सडक खुल्यो त्यस बेलादेखि नै गाडी चल्न थालेका हुन्, बाटो साँघुरो र अप्ठ्यारो हुँदा यात्रा गर्न निकै समस्या थियो, ढिलै भए पनि सरकारले सडक पिच गर्न थालेकामा हामी खुशी छौँ ।”

यस वर्ष कुश्मिसेरादेखि चार सय ५० मिटरमाथि सम्म सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्र गरिनेछ । सडक कालोपत्रको जिम्मा पाएको कोन्डा कन्स्ट्रक्सनले हालसम्म करिब ९० प्रतिशत काम पूरा गरेको छ ।

पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध

By
Himalayan Tribune
-
June 20, 2024
0

लमजुङ: पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइका अनुसार खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही बाटोमा पर्ने अक्टोपस झरनामा पानी बढेपछि आवागमन रोकिएको छ । हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ ।

बाढी पहिरोको सबैभन्दा बढी जोखिम रहेको स्थान खरखरेभिर नै हो । यहाँ पहिरो नियन्त्रणका निम्ति सङ्घीय सरकारले रु १६ करोड ४८ लाखको लागतमा आयोजना सञ्चालन गरेको भए पनि त्यो पूरा नहुँदा समस्या भएको छ ।

विश्वकपको सुपर आठमा दक्षिण अफ्रिकाद्वारा अमेरिका पराजित

By
Himalayan Tribune
-
June 20, 2024
0

काठमाडौँ : आइसिसी टी–ट्वान्टी विश्वकप २०२४ को पहिलो सुपर–आठमा दक्षिण अफ्रिकाले अमेरिकालाई पराजित गरेको छ । दक्षिण अफ्रिका अमेरिकालाई १८ रनले पराजित गर्दै विजयी भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार एक सय ९५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७६ रनमा समेटियो । अमेरिकाका एन्ड्रिस गौसले सर्वाधिक ८० रन बनाए । उनले ४७ बलमा ५ चौका र ५ छक्कासहित ८० रनका योगदान दिए । त्यस्तै हरमीत सिंहले २२ बलमा २ चौका र ३ छक्कासहित ३८ रन बनाए । स्टिभन टेलरले २४, नितेश कुमारले ८ तथा कोरी एन्डरसनले १२ रन जोडे ।

दक्षिण अफ्रिकाका कागिसो रबाडाले तीन विकेट लिए भने केशव महाराज, एनरिच नोर्किया र तबरेज शाम्सीले समान एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ९४ रनको योगफल बनाएको थियो । क्विन्टन डि ककले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४० बलमा ७ चौका र ५ छक्कासहित ७४ रन बनाएका हुन् । कप्तान एडेन माक्ररमले ३२ बलमा ४ चौका र १ छक्कासहित ४६ रन जोडेभने हेनरिक क्लासेन २२ बलमा ३ छक्कासहित ३६ रनमा बनाए । ट्रिस्टन स्टब्सले १६ बलमा २ चौकासहित २० रन बनाए । अमेरिकाका हरमीत सिंह र सौरभ नेत्रवालकरले समान दुई दुई विकेट लिए ।

देश विकासको बाटोमा अगाडि बढिरहेको छः मास्टर सेफ साह

By
Himalayan Tribune
-
June 19, 2024
0

काठमाडौँ: मास्टर सेफ सन्तोष साहले गणतन्त्रप्राप्तिपछि देश विकास र आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको बताउनुभएको छ । राससले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनीको आज अवलोकनपश्चात् उहाँले राससको तस्बिर प्रदर्शनीले गणतन्त्रपछि विकास भएको छ भन्ने सन्देश प्रवाह गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गणतन्त्रपछि विकासै भएको छैन भन्ने भाष्यहरु बनिरहेका बेला राससले विकास पूर्वाधारका क्षेत्रमा प्राप्त उपलब्धि समेटेर गरेको प्रदर्शनीले देशविकास र परिवर्तनको सकारात्मक सन्देश दिएको छ । युवापुस्तामा ऊर्जा र उत्साह जगाएको छ ।” सेफ साहले देशको भौतिक पूर्वाधार, आर्थिक समृद्धिका विविध आयामलाई समेटिएको प्रदर्शनीको प्रशंसा गर्नुभयो । “मलाई एकदमै खुसी लागेको छ, यो प्रदर्शनीका ज्ञानवद्र्धक कुराले । यदि म नआएको भए धेरैकुरा जान्ने अवसर गुम्ने रहेछ ”, उहाँले भन्नुभयो, “अरु नेपालीजस्तै म सोच्दथे देश विकास भएकै छैन तर राससको तस्बिर अवलोकन गरेपछि थाहा भयो कि देशमा धेरै कुरा भएका रहेछन् ।” उहाँले आगामी दिनमा देशविकास र आर्थिक समृद्धिका अझ धेरै विषयवस्तु समेटेर राससले यस किसिमको प्रदर्शनीलाई निरन्तरता दिन जरुरी रहेको बताउनुभयो । “नेपालमा केही प्रगति भइरहेको छ भन्ने कुरा यी तस्बिरले बोलिरहेका छन् ।

सबै नेपाली सकारात्मक बनेर देश विकासमा लाग्न आवश्यक छ । सकारात्मक सोच र पहलकदमी भए लाग्छ तर पक्कै देश बन्ने छ”, उहाँको भनाइ थियो । सेफ साहलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले प्रदर्शनीमा राखिएका तस्बिरबारे जानकारी गराउनुभएको थियो । ‘फुड टुरिज्म’ प्रवर्द्धन सेफ साहले नेपालमा ‘फुड टुरिज्म’ को प्रवर्द्धनका लागि आफू लागिपरेको बताउनुभयो । फुड टूरका लागि आफू भर्खरै कर्णाली गएर फर्किएको र त्यहाँको विकास र प्रगति देख्दा निकै उत्साहित भएको पनि बताउनुभयो । उहाँले नेपालको फुड पर्यटनमा अत्यन्तै सम्भावना रहेको भन्दै सबै सरोकारवाला मिलेर यसको प्रवर्द्धनमा जुट्नुपर्ने खाँचो औँल्याउनुभयो ।

पाककलामा उत्कृष्ट प्रदर्शन गर्दै सेफ साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स युके’ को विजेता बन्नुभएको थियो । पाककलामा नेपालका रैथाने खानालाई विश्वमाँझ परिचित गराउने अभियानमा लाग्नुभएका उहाँले मधेसको रैथाने परिकार मिथिला थालीको स्वाद नेपालसहित अन्तर्राष्ट्रियस्तरमा पस्किरहनुभएको छ । मिथिला थालीलाई जनकपुर, काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा विस्तार गर्नुभएका साहले चाँडै भारत र कतारमा मिथिला थाली विस्तार गर्ने योजना बनाउनुभएको छ ।

शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने

By
Himalayan Tribune
-
June 19, 2024
0

काठमाडौँ: मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ । बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द सम्भावना रहेको समितिले जनाएको हो ।

योसँगै उपत्यकावासी यही शुक्रबार (पर्सि) देखि मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन् । मनसुन अवधिमा विपत्तिको जोखिम कायमै रहने भन्दै मनसुन कम भए मात्रै मेलम्चीको पानी उपत्यका पठाउन सुरु गर्नेगरी तयारी गरिएको खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछाने बताउनुभयो । मनसुनी जोखिम सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी उपभोग गर्न पाउने उहाँको भनाइ छ ।

मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेर्डबक्समा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले वर्षा सुरु भएसँगै आयोजना बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गर्दै आइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सरदर मनसुन जुन १३ मा भित्रिने गरेकामा यो पटक तीन दिन चाँडो भित्रिएको थियो । मनसुन अक्टोबर २ मा बाहिरने गर्दछ । समितिका कार्यकारी निर्देशक लामिछाने वर्षा हुन थालेसँगै नदीमा पानीको बहाव बढेकाले आयोजनालाई बाढीको जोखिमबाट बचाउन बन्द गर्नुपर्ने सम्भावना रहेको जानकारी दिनुभयो । “यसअघि खासै ठूलो वर्षा भएको थिएन । वर्षा नहुञ्जेल उपत्यकावासीलाई खानेपानीको उपलब्धता गराउन बन्द गरेनौँ”, रासससँग उहाँले भन्नुभयो, “सिन्धुपाञ्चोकतिर मनसुनी वर्षा सुरु भएर मेलम्ची नदीमा पानीको बहाव बढेको छ । शुक्रबार आयोजना अवलोकनका लागि त्यसतर्फ जाँदैछौँ । आयोजनालाई जोगाउन शुक्रबारदेखि नै बन्द गर्ने सम्भावना बढी छ ।” बढी वर्षा भएमा मेलम्ची नदी धमिलो हुँदा आयोजनामा लेदो पस्न सक्ने खतराबाट जोगाउन बन्द गर्नुपर्ने बाध्यता आएको लामिछानेको भनाइ छ । “परामर्शदाता र एसियाली विकास बैङ्कले (एडिबी)ले मनसुनजन्य विपत्तिबाट आयोजनामा पुग्न सक्ने सम्भावित क्षति कम गर्न मेलम्ची बन्द गर्नुपर्ने सुझाव दिएका छन् ।

आयोजना बन्द गर्दा बाढीबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न सकिन्छ । उहाँहरुले आयोजना बन्द गर्न ढिलाइ भएको प्रतिक्रिया दिइरहनुभएको छ”, उहाँले भन्नुभयो, “उपत्यकामा खानेपानीको अभाव देखेर जटिल अवस्था नआउञ्जेल आयोजना सञ्चालन गर्ने निर्णय गरेका थियौँ ।” लामिछानेका अनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिएकामा हाल आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ । उपभोक्तालाई खानेपानीको अभाव भइरहेको बेलामा तत्काल बन्द गर्नु उपयुक्त नरहेकाले निरन्तरता दिइएको उहाँको भनाइ छ । मेलम्ची खानेपानी आयोजनाको मुख्य हेडबक्समा पानी थिग्र्याउने संरचनाले सुरुङमा धमिलो पानी जान पाउँदैनथ्यो । समितिका अनुसार उक्त संरचना बिग्रिएकाले नदी धमिलिने बित्तिकै आयोजना बन्द गनुपर्ने हुन्छ ।

कार्यकारी निर्देशक लामिछाने वर्षा बढ्न थालेको भन्दै योसँगै नदी धमिलिने खतरा बढिरहेकाले आयोजना बन्द गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पार्नुभयो । गत ३१ जेठ गते आयोजना बन्द गर्ने सरकारले निर्णय गरेको थियो । नेपालका मनसुन भित्रिए पनि पूर्वी भू–भागमा मात्रै सक्रिय भए पनि वाग्मतीमा ठूलो पानी नपरेपछि तत्कालका लागि आयोजना बन्द गर्न आवश्यक नरहेको भन्दै खुला राखिएको थियो । जल तथा मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा बढी पानी पर्ने प्रक्षेपण गरिरहेको छ । यसले बाढी पहिरोलगायत मनसुनजन्य घटनासमेत बढ्न सक्ने भन्दै समयमा सतर्कता अपनाउन विभागले सरोकार भएका सबैलाई सुझाव दिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । महाशाखाका मौसमविद् सरोज पुडासैनीले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा शुक्रबारसम्म आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहने बताउनुभयो । उहाँले मुलुकको पश्चिम क्षेत्रमा भने मनसुन सक्रिय भइनसकेको जानकारी दिनुभयो ।

महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी प्रकाशित बुलेटिन अनुसार आज, भोलि र पर्सिसम्म बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । दुई वर्षअघि मेलम्ची खोलामा आएको बाढीसँगै आयोजनामा बाढी पस्दा करिब रु दुई अर्ब बराबरको क्षति भएको गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । गत साउन २८ र २९ गते बाढीले पुनः आयोजनाको संरचनामा क्षति पुगेको थियो । मनसुन सकिएपछि मेलम्ची खानेपानीको पुनःवितरण गरिने भनिएकामा गत माघ १ गतेदेखि मात्रै मेलम्चीको पानी उपत्यका पठाइएको थियो । धाप ड्यामबाट दैनिक चार करोड लिटर पानी वितरण मेलम्ची खानेपानी आयोजना बन्द रहने अवधिसम्म वाग्मती सुधार आयोजनाअन्तर्गतको धाप ड्यामबाट पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्नेगरी अधिकार सम्पन्न बागमती सभ्यता–एकीकृत विकास समितिसँग सहमति भएको विकास समितिका कार्यकारी निर्देशक लामिछानेले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यका खानेपानी लिमिडेटका प्रवक्ता प्रकाशकुमार राईले उपत्यकामा मेलम्चीको खानेपानी बन्द भएपछि खानेपानीको अभाव झन्झन् बढ्ने भन्दै खानेपानी आपूर्ति व्यवस्थापनलाई केही सहज गर्न धाप ड्यामबाट दैनिक चार करोड लिटर पानी ल्याउने सहमति भएको जानकारी दिनुभयो । “मेलम्ची खानेपानीबाहेक विभिन्न स्थानबाट सुक्खा याममा नौ करोड लिटर पानी दैनिक उपभोक्तालाई वितरण गरिरहेका छौँ । सो अवधिभर करिब ४० प्रतिशत भूमिगत पानीबाट आपूर्ति हुन्छ”, उहाँले भन्नुभयो, “मेलम्चीको पानी बन्द भएपछि उपत्यकामा फेरि पानीको अभाव हुन सक्छ । मेलम्चीको विकल्पमा अन्य आयोजनाको खोजी गरी तत्काल कार्यान्वयन गरिनुपर्छ ।” प्रवक्ता राईले काठमाडौँमा दैनिक ४३ करोड खानेपानीको माग रहेको जनाउँदै आवश्यकता र मागअनुसार पानी आपूर्ति गर्न नसकिएको बताउनुभयो ।

उपत्यकामा बढ्दो जनसङ्ख्यासँगै भूमीगत पानी, पोखरी, ढुङ्गेधारा सुक्दै जाँदा खानेपानीको अभाव बढिरहेको उहाँको भनाइ छ । सहतमुनिको पानी सुक्दा आपूर्तिमा समस्या काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम रानाले उपत्यकामा जमिनमुनिको पानी, ढुङ्गेधारा, पोखरी, इनार सुक्दै गइरहेकाले खानेपानीको अभाव पनि बढिरहेको बताउनुभयो । उपत्यकामा मेलम्ची आयोजनाले खानेपानीले आपूर्ति व्यवस्थापनका साथै जमिनमुनिको पानीको सहत समेत बढाएको उहाँको भनाइ छ । बोर्डका अनुसार उपत्यकामा रहेका आठ सय ३७ ढुङ्गे धारामध्ये एक सय १७ लोप भइसकेका छन् ।

सञ्चालनमा रहेका सात सय २० मध्ये तीन सय २० सुकिसकेका छन् । “कतिपय ढुङ्गेधारालाई जीवित बनाउन पानीको स्रोत खन्नुपर्ने हुन्छ । यसरी स्रोत खन्दा भएका स्रोत पनि सक्ने वा हराउने जोखिम रहन्छ”, प्रवक्ता राईले भन्नुभयो । भू–गर्भविद् डा सुबोध ढकालले उपत्यका बढ्दो जनसङ्ख्यासँगै जमिनमुनिको पानीको बढी आपूर्ति हुने, भौतिक पूर्वाधारको विकासका क्रममा सहतमुनि पानीको रिचार्ज नहुनेलगायत कारण सहतमुनिको पानी घट्दै गएको बताउनुभयो । उहाँले भू–गर्भसम्बन्धी प्रभावकारी अध्ययन नभई मेलम्ची खानेपानी आयोजनाको डिजाइन तयार गरिएकाले यो समस्या आएको बताउनुभयो ।

मनसुनजन्य घटनाका समयमा समन्वय र सहकार्य गरी काम गर्नुस्–मन्त्री शर्मा

By
Himalayan Tribune
-
June 19, 2024
0

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी मनसुनजन्य घटना बाढीपहिरो, डुवान र चट्याङबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न मातहतका निकायलाई सम्र्पक, समन्वय र सहकार्य गरी कार्य गर्न निर्देशन दिनुभएको छ । मनसुनजन्य घटनाबाट हुनसक्ने जनधनको क्षतिबाट जोगिन र समयमै जनचेतना प्रदान गर्न मातहतका निकायबाट भइरहेका आवश्यक पूर्वतयारीबारे जानकारी लिँदै उहाँले विपद्का समयमा तत्काल सम्पर्क गर्ने र सूचना प्रवाह गर्ने कार्यलाई प्रभावकारी तुल्याउन सुझाव दिनुभयो ।

मन्त्री शर्माले भन्नुभयो,“मनसुनको पूर्वसूचना दिने, विपद्का घटनाको तत्काल सही सूचना प्रवाह गरी राहत र उद्धार कार्यमा सबैको सहयोग र समन्वय हुन आवश्यक छ ।”कल्पनानै नगरेको ठाउँमा बाढीपहिरो र डुवानका घटना भएका प्रशस्त उदाहरण रहेकाले राहत र उद्धारका लागि गर्नुपर्ने पूर्व तयारीको पाटोलाई विशेष ध्यान दिन सुझाव दिँदै मन्त्री शर्माले बर्षाद्काकरण अवरुद्ध हुनसक्ने सञ्चार सम्पर्कलाई नियमित तुल्याउनेतर्फ प्रभावकारी तयारी व्यवस्थापनको खाँचो औँल्याउनुभयो । विपद्जन्य घटनाकारण इन्टरनेट सेवा प्रवाह र दूरसञ्चार सेवामा प्रवाहमा पर्न क्षतिको आँकलन गरी तत्काल सुचारु तुल्याउने समयन्त्र निर्माण गर्न सुझाव दिँदै उहाँले पूर्व सूचना सङ्कलन र विपद्बाट बच्न अपनाउनुपर्ने सचेतना समयमै प्रवाह गर्न सुझाव दिनुभयो ।

यसअघि मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले मन्त्रालय र मातहतका निकायले आगामी मनसुनजन्य घटनाका सम्बन्धमा आ–आफना मन्त्रालयबाट भएका तयारी र आगामी दिनको रणनीतिबारे जानकारी लिन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सो अवसरमा विज्ञापन बोर्ड अध्यक्ष लक्ष्मण हुमागाईँ, नेपाल टेलिभिजनका अध्यक्ष समीरजङग शाह, रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी, नेपाल टेलिकमका उपमहाप्रबन्धक सङ्गीता पहाडी अर्यालले आ–आफ्ना संस्थाबाट मनसुनजन्य घटनामा हुने जनधनको क्षति न्यूनीकरण र सेवा प्रवाहको निरन्तरताका लागि चाल्नुपर्ने कदम र कार्यक्रमबारे जानकारी गरानुभयो ।

त्यसअवसरमा विश्व खाद्य कार्यक्रम नेपालका प्रतिनिधि रतिन्द्र क्षत्रीले बाढीपहिरोका घटनाबाट मनसुनका बेला विद्युत् र सोलारकाकारण सञ्चार अवरुद्ध भई सूचना लिन हुनसक्ने चुनौतीको सामाना गर्न जेनेटरलगायतका आवश्यक वस्तुको पर्याप्त मौजुदाको व्यवस्था गरिएको बताउनुभयो । त्यस अवसरमा विपद्पछिका घटनामा मानवीय उद्धार र सेवा सुचारु पाटोमा विशेष ध्यान पुर्याउन आवश्यक रहेको बताउँदै अन्य सहभागी वक्ताले यस वर्षको मनसुनमा अघिल्ला वर्षको तुलनामा भारी वर्षाको सम्भावना आँकलन गरिएकाले सोही अनुरुपको तयारी व्यवस्थापनको खाँचो औँल्याउनुभयो ।

ललितपुर महानगरको नीति तथा कार्यक्रम : आयोजना र श्रम बैङ्क

By
Himalayan Tribune
-
June 19, 2024
0

पाटन (ललितपुर): ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा आयोजना बैङ्क र श्रम बैङ्कलाई समेटेको छ । महानगरप्रमुख चिरीबाबु महर्जनले प्रस्तुत गर्नुभएको आव २०८१/८२ को नीति तथा कार्यक्रममा महानगरपालिकाको ‘आयोजना बैङ्क’ को कार्य भइरहेकाले आगामी आवदेखि सो बैङ्कबाट आयोजना छनोट गरी वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्ने परिपाटीको विकास गरिने उल्लेख गरिएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा आगामी वर्षदेखि आवधिक योजनाबमोजिम मध्यमकालीन खर्च संरचना तयार गरी सोहीअनुसार वार्षिक वजेट तथा कार्यक्रम तर्जुमा गर्ने व्यवस्था मिलाइने, बजेट तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न ‘कार्यक्रम कार्यान्वयन कार्ययोजना’ तथा ‘खरिद योजना’ अनिवार्य तवरले तर्जुमा गरिने, स्वीकृत योजनाको कार्यान्वयन तथा प्रगति सम्बन्धमा त्रैमासिक समीक्षा गर्ने व्यवस्था अनिवार्य तवरले गरिने नीति प्रस्ताव गरिएको छ ।

महानगरपालिकाभित्र विगत लामो समयदेखि अधुरा रहेका प्राविधिक, सामाजिक तथा आर्थिक हिसाबले सम्भाव्य नरहेका योजनाको लगत कट्टा गरिनेछ । सोका लागि पेस्की÷आयोजना फछ्र्यौट कार्यदल गठन गरिने र महानगर क्षेत्रभित्र विगत आव २०७४/७५ देखि २०७९/८० सम्म सम्झौता भई सञ्चालन भएका तर विविध कारणले सम्पन्न हुन नसकेका र प्रचलित कार्यविधिबमोजिम म्याद थप हुन नसक्ने आयोजनाको हकमा सम्बन्धित उपभोक्ता समितिबाट मूल्याङ्कन गरी फछ्र्याैटका लागि निवेदन पेस हुन आएमा उक्त आयोजना जेजस्तो अवस्थामा छ सोही अवस्थामा मूल्याङ्कन गरी फछ्र्याैट गरिने नीति महानगरले तय गरेको छ ।

बढ्दो सवारी चापको व्यवस्थापन तथा पैदलयात्रीको सहजताका लागि ललितपुर चक्रपथ खण्ड र अन्य उपयुक्त स्थानमा आकाशे पुल निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने र धुलोरहित सडक व्यवस्थापनका लागि नख्खु खोला तथा अन्य उपयुक्त स्थानमा टिपर पखाल्ने प्रविधि जडानको व्यवस्था मिलाइने विषयलाई नीति तथा कार्यक्रममा पनि समेटिएको छ । महानगरको नीति तथा कार्यक्रममा टिपरलगायत मालवाहक सवारी साधनको आवागमन करिडोर (नख्खु, बागमती)बाट मात्र सञ्चालन गर्न सम्बन्धित निकायमा समन्वय गरिनेछ । ठैव, हरिसिद्धि, धापाखेललगायत आवासीय क्षेत्रबाट टिपर चलाउन नपाउने गरी समन्वय गरिने विषयलाई पनि कार्यक्रममा समेटिएको छ ।

महानगर क्षेत्रभित्र रहेका शिल्पकला, काष्ठकला, धातुकला, प्रस्थरकलासँग सम्बन्धित श्रमिकको लगत ‘श्रम बैङ्क’का रुपमा तयार गरी सम्पदा संरक्षणका आयोजनामा परिचालन गर्ने व्यवस्था मिलाइने र पुरातात्विक संरचना, देवालय, शिवालय, मठ, मन्दिर, विहारमा प्रयोग हुने काठ, ढुङ्गा, माटो एवं धातुबाट तयार गर्नुपर्ने विभिन्न कलात्मक वस्तुको प्रदर्शनी कक्ष स्थापना गरिने विषयलाई समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

समस्याग्रस्त तीन सहकारीको बचत फिर्ता

By
Himalayan Tribune
-
June 19, 2024
0

काठमाडौँ: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका सहकारीका निक्षेपकर्ताको बचत फिर्ता गराउने अभियानलाई तीव्रता दिनुभएको छ । सहकारी विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका २० सहकारीमध्ये कुबेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्थाको सम्पति व्यस्थापन तथा दायित्व भुक्तानीको काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

समस्याग्रस्त सहकारी व्यस्थापन समितिका अध्यक्ष मोहन गौतमले मन्त्री अधिकारी र मन्त्रालयसँगको निरन्तर समन्वय र अग्रसरतामा समस्याग्रस्त घोषित तीन सहकारीको सम्पूर्ण बचत रकम फिर्ता गराउन सफल भएको जानकारी दिनुभयो । संस्थाका पीडित, बचतकर्ताका प्रतिनिधि, सञ्चालक तथा व्यवस्थापन समितिबिच विभिन्न मितिमा बचत फिर्तालगायत विषयमा छलफल भई समस्याग्रस्त १९ सहकारीमध्ये तीन सहकारीको समस्या पूर्णरुपमा समाधान गरिएको अध्यक्ष गौतमले बताउनुभयो । मन्त्री अधिकारीले समस्याग्रस्त अन्य १७ वटा सहकारीको समस्या स्थायी समाधानका लागि पहल गरिरहेको बताउनुभयो ।

पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका, दोस्रो चरणमा समस्याग्रस्तउन्मुख र तेस्रो चरणमा सहकारीमा देखिएको समस्याको स्थायी समाधानका लागि मन्त्रालयले काम गरिरहेको उहाँले बताउनुभयो । मन्त्री अधिकारीका अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई अझ प्रभावकारी ढङ्गले परिचालन गरी बचत फिर्तालाई तदारुकताका साथ अघि बढाइएको छ ।

सोही मन्त्रालयका सचिव गोकर्णमणि दवाडीले सहकारी ऐन, २०७४ ले परिकल्पना गरेका तर सोबमोजिम गठन हुन नसकेका संरचनाः कर्जा तथा बचत सुरक्षण कोष, कर्जा सूचना केन्द्र, दोस्रो तहको नियामक निकाय, कर्जा असुली न्यायाधीकरण स्थापना तथा गठनको प्रक्रियासमेत अघि बढेको जानकारी दिनुभयो ।

1...761762763...1,302Page 762 of 1,302

हिमालयन ट्रिब्युनको लागि

  • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
  • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
  • सम्पादक: गजे घले
  • व्यवस्थापक: आशिष पोखरेल
  • CONTACT
  • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
  • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune