Thursday, May 14, 2026
Home Blog Page 739

युरोकप २०२४: फ्रान्सलाई हराउँदै स्पेन युरोकपको फाइनलमा

0

काठमाडौं: स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ। जर्मनीको म्युनिखमा गएराति भएको पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्स माथि २-१ जित दर्ता गर्दै फाइनलमा पुग्न सफल भएको हो।
युरोकपमा स्पेन १२ वर्षापछि फाइनलमा प्रवेश गरेको हो।

खेलको नौ मिनेटमा कप्तान केलियन एमबाप्पेले दिएको पासमा मुआनीले हेडर गर्दै फ्रान्सलाई अग्रता दिलाए पनि उक्त अग्रता धेरै बेर टिकेन। २१औँ मिनेटमा यमलले गोल गर्दै स्पेनलाई खेलमा फर्काए।

त्यसको चार मिनेटमै ओल्मोले गोल गर्दै स्पेनलाई २-१ को अग्रता दिलाए। बाँकी समय थप गोल हुन सकेन र स्पेन फाइनलमा पुग्न सफल भयो।

स्पेन २०१२ पछि पहिलो युरो उपाधिको खोजीमा छ। त्यसबखत स्पेनले इटालीलाई ४-० गोलअन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको थियो।

त्यसपछिका दुई संस्करणमा स्पेन सेमिफाइनलभन्दा माथि उक्लिन सकेको थिएन। स्पेनले अब आज राति हुने दोस्रो सेमिफाइनल अन्तर्गत इङ्ल्यान्ड र नेदरल्यान्ड्सबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ।

 

कोपा अमेरिका फुटबल: क्यानडालाई हराउँदै अर्जेन्टिना फाइनलमा

0

काठमाडौँ । क्यानडालाई हराउँदै विश्व विजेता अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । कोपा–अमेरिकाको ४८औँ संस्करणमा आज बिहान पहिलो सेमिफाइनल खेलमा क्यानडाविरुद्ध २–० को जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो।

अर्जेन्टिनाको लागि पहिलो गोल खेलको २२ औँ मिनेटमा जुलियन अल्भारेजले गरे । दोस्रो हाफको ५१ औँ मिनेटमा लियोनल मेसीले एक गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेका थिए ।

त्यस्तै, दोस्रो सेमिफाइनल भोलि उरुग्वे र कोलम्बियाबिच हुनेछ ।

कोपा–अमेरिका फुटबलको इतिहासमा अर्जेन्टिना सबैभन्दा सफल राष्ट्र हो । कोपा–अमेरिकामा अर्जेन्टिनाको यो ४४औँ सहभागिता हो । अर्जेन्टिनाले हालसम्म सर्वाधिक १५ पटक कोपा–अमेरिकाको उपाधि चुमिसकेको छ ।

 

ताप्लेजुङमा भूकम्प

0

काठमाडौँ: ताप्लेजुङ्गको तापेथोक केन्द्रविन्दु भएर गए राति भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

 

पारित भयो काठमाडौँ महानगरको नीति तथा कार्यक्रम र बजेट

0

काठमाडौँ: काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित भएको छ ।
राष्ट्रियसभा गृहमामंगलबार बसेको १५औँ नगरसभाको पाँचौँ बैठकले महानगरको नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो ।

बैठकमा नगरप्रमुख बालेन्द्र साहले पेस गर्नुभएको संशोधित नीति तथा कार्यक्रम र बजेटलाई नगरसभा सदस्यले सर्वसम्मत पारित गरेका हुन् । बैठकमा नगरसदस्यले बजेटमाथि आ-आफ्नो धारणा राखेका थिए बताए। नगरप्रमुख साहले नगरसदस्यको उठाएको विषय र सुझावलाई यथासम्भव समावेश हुने गरी बजेट र नीति तथा कार्यक्रम कार्यान्वयन गरिने विश्वास व्यक्त गर्नुभएको छ ।

काठमाडौँ महानगरपालिकाले यही असार १० गते आर्थिक वर्ष २०८१/८२ का लागि रु २५ अर्ब ७० करोड ६३ लाख २५ हजार बराबरको बजेट सार्वजनिक गरेको थियो । महानगरले पूर्वाधार विकास क्षेत्रका लागि सबैभन्दा धेरै रु १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार बजेट विनियोजन गरेको छ । जुन कूल बजेटको ६१ दशमलव २० प्रतिशत हो ।

कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि रु तीन अर्ब ४९ करोड ४५ लाख २९ हजार र सामाजिक विकास क्षेत्रका लागि रु तीन अर्ब ८१ करोड ३६ लाख १५ हजार बजेट प्रस्ताव गरिएको छ । सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि रु एक अर्ब ८९ करोड २१ लाख र स्थानीय सञ्चित कोषबाट खर्च हुने गरी रकममध्ये आर्थिक विकास क्षेत्रअन्तर्गतका कार्यक्रमका लागि रु १९ करोड नौ लाख प्रस्ताव गरिएको छ ।

 

‘राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमाले गठबन्धन’: कोइराला

0

काठमाडौँ: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेको गठबन्धन भएको बताएका छन् ।खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयले मंगलबार यहाँ आयोजना गरेको ‘छात्रावृत्ति वितरण समारोह’ मा बोल्दै नेता कोइरालाले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्दै सुशासन दिन कांग्रेस एमाले गठबन्धन निर्माण भएको बताएका हुन् । उनका अनुसार कांग्रेस र एमाले मिलेर आलोपालो सरकार चलाउने सम्झौता भएको छ ।

“मैले विगत सात/आठ महिनादेखि मुलुकमा स्थिर सरकार र सुशासन चाहिन्छ भनेर भन्दै आएको थिएँ, आज त्यो पूरा हुने क्रममा छ, कांग्रेस र एमाले मिलेर देशलाई सुशासन दिन्छौँ, संविधानमा भएका कमजोरी सुधार्दै मुलुकलाई आर्थिक विकासको गतिमा अगाडि बढाउछौँ”, उनले भने ।

उनले प्रधानमन्त्रीलाई विश्वासको मत लिने अधिकार संविधानले दिएकाले राजीनामा दिनुपर्छ भन्नु कुनै फाइदा नभएको उल्लेख गर्दै अब बन्ने सरकार संविधानको धारा ७६ (२) अनुसार बन्ने बताए ।

 

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

0
फाइल तस्बिर

बलेवा (बागलुङ): मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण खसेको पहिराले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । गलकोट नगरपालिका–१ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

भिरालो जमिनमा पहिरो निरन्तर खसिरहेकोले सडक खुलाउन कठिन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । उहाँले प्रहरी र स्थानीयले पहिरो पन्छाउने प्रयास गरिरहेका बताउनुभयो । लोकमार्ग अवरुद्ध हुँदा पश्चिम बागलुङ र छिमेकी जिल्ला रुकुमबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन दुदिलाभाटीमा रोकिएका छन् ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरमा ठाउँठाउँमा खसेको पहिराका कारण चार दिनयता सवारी आवागमन रोकिएका छैनन् । सडकको ‘ट्रयाक’ नै पहिराले बगाएका करिडोर सञ्चालनका लागि कठिनाइ भइरहेको हो । जिल्लमा रहेका दुई ठूला राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा बागलुङका स्थानीय सडकमा चल्ने सवारीसाधन रोकिएका छन् ।

इच्छाकामनाका २२ चेपाङ परिवारका लागि नयाँ घर निर्माण

0

भरतपुर: चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको रु एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न ती आवास निर्माण भएका हुन् । मङ्गलबार गाउँपालिकाको वडा नं ७ मा आयोजित कार्याक्रममार्फत गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सबै वडामा निर्माण भएका घरको साँचो हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा उहाँले गाउँपालिकाका सात वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरी घर निर्माण गरिएको बताउनुभयो । “पालिकाले चेपाङ समुदायको घर निर्माणको योजना बनाएर सरकारलाई अनुरोध गरेपछि अनुदान प्राप्त भएको हो”, उहाँले भन्नुभयो, “टोल र वडाको छनोटका आधारमा उनीहरुको घर निर्माण गरेका हौँ ।”

अध्यक्ष गुरुङले निर्माण सम्झौताअघि घर र उनीहरुको अवस्थाबारे स्थलगत अनुगमनसमेत गरिएको बताउनुभयो । “घडेरी सम्याउने र जग खनेर ढुङ्गा हाल्ने काम सम्बन्धित लाभग्राहीको हो”, उहाँले भन्नुभयो, “अरु सबै गाउँपालिकाले निर्माण गरिदिएको छ ।” उहाँले गाउँपालिकाले खरको छाना भएका र आर्थिक अवस्था कमजोर भएका चेपाङ परिवारलाई टिनको छानाको व्यवस्था गरेको जानकारी दिनुभयो ।

गाउँपालिकाको वडा नं १ मा पाँच, वडा नं २ मा दुई, वडा नं ३ मा दुई, वडा नं ४ मा दुई, वडा नं ५ मा दुई, वडा नं ६ मा तीन र वडा नं ७ मा छवटा घर निर्माण गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष माया सिलवाल धेरैको आकाङ्क्षा भए पनि बिहान–बेलुका हातमुख जोर्न पनि समस्या हुनेको पहिचान गरेर घर निर्माण गरिएको बताउनुभयो । उहाँले समयमै काम सम्पन्न गर्ने निर्माण कम्पनीलाई धन्यवाद दिनुभयो ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा पनि चेपाङ आवास कार्यक्रमलाई निरन्तरता दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो । उहाँले घर नभएका र खरको झुप्रोमा बस्दै आएकाहरूलाई प्राथमिकतामा राखेर घर निर्माण गरिने बताउनुभयो । पालिकाले आगमी आवका लागि रु तीन करोड ३० लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

वर्षाैँदेखि खरको झुप्रोमा बस्दै आउनुभएका इच्छाकामना –७ सुन्दरबस्तीका अइतराम प्रजा घामपानीमा अन्यको घर ओत लाग्न जानुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । उहाँले पालिकाले दुई कोठाको घर निर्माण गरिदिएपछि खुसी लागेको जनाउँदै अब जीवनयापनमा सहज हुने बताउनुभयो ।

इच्छाकामना–१ कोलभन्ज्याङका अरसल चेपाङ भूकम्पले पुरानो घर भत्किएपछि छाप्रामा बस्दै आएको बताउनुभयो । उहाँले बर्खामा पानी चुहिने र हिउँदमा हुरीबतास र आगलागीको डर अब अन्त्य भएकामा खुसी व्यक्त गर्नुभयो । “गाउँपालिकाले घर बनाइदिएपछि निकै खुसी छौँ, छजनाको परिवार एउटै कोठामा बस्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ”, उहाँले भन्नुभयो । इच्छाकामनामा दुई हजार पाँच सय चेपाङ परिवारको बसोबास छ ।

पाल्पा दरबार सङ्ग्रहालय आकर्षक बनाइँदै

0

रामपुर (पाल्पा): माओवादी जनयुद्धकालमा ध्वस्त ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको केही संरचनाको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ । दरबारलाई थप पर्यटकीय क्षेत्रका रूपमा विकास गर्र्ने ध्येयले पुराना जीर्ण संरचनाको पुनःनिर्माण थालिएको थियो ।

लुम्बिनी प्रदेश सरकार , पुरातत्व विभाग र तानसेन नगरपालिकाको सहकार्यमा दरबार क्षेत्र परिसरमा ढुङ्गा छाप्ने, पर्खाल बनाउने र जीर्ण भएको मूलढोका पुनःनिर्माण जारी छ । दरबारको सुरक्षार्थ बनाइएको पर्खाल र यसभित्रको संरचनामा ढुङ्गा बिछ्याउने काम यस आर्थिक वर्षभित्रै सक्नेगरी धमाधम भइरहेको छ ।

पुन: निर्माणका लागि तानसेन नगरपालिकाले चालु आर्थिक वर्षमा रु ४१ लाख र लुम्बिनी प्रदेश सरकारले रु ५० लाख बजेट विनियोजन गरेको थियो।

यसैगरी मूलढोका पुनःनिर्माण गर्ने काममा पुरातत्व विभागले रु ८१ लाख ९५ हजार विनियोजन गरेको जनाइएको छ ।

राणाकालीन समयमा बनेको मूलढोका जीर्ण बनेपछि यसलाई पुरानै स्वरुप नबिग्रने गरी बनाउन थालिएको तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले जानकारी दिनुभयो । पाल्पाको पहिचानका रूपमा रहेको दरबारको ऐतिहासिक स्वरुप नबिग्रने गरी पुनःनिर्माण सम्पन्न गरेर आन्तरिक मात्र नभई बाह्य पर्यटक भित्र्याउन गरी संरचना तयार पारी पर्यटकीय केन्द्रका रूपमा विकास गर्नुपर्ने स्थानीय सन्तवीर बराल बताउनुभयो ।उहाँले भन्नुभयो, “पाल्पालीको शान बनेको पाल्पा दरबारको ऐतिहासिकतालाई जोगाउँदै यसलाई थप परिस्कृत गरी आकर्षक बनाउने र उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलका रूपमा स्थापित गराउन सबैले आ–आफ्नो ठाउँबाट पहल गरौँ ।”

तत्कालीन द्वन्द्वका समयमा पूरै ध्वस्त बनेको दरबारलाई पुरानै शैलीमा पुनःनिर्माण गरी सङ्ग्रहालय बनाइएको छ । अहिले सो दरबारलाई थप सुन्दर र आकर्षक बनाउन विभिन्न कार्य भइरहेका छन् । दरबारलाई सङ्ग्रहालयका रूपमा स्थापित गरिएपछि यहाँ अवलोकन गर्न पर्यटक आउने गर्दछन् । पाल्पाको सदरमुकाम तानसेनमा रहेको दरबार जिल्लाको चिनारीका रूपमा रहेको छ ।

इतिहासकारका अनुसार तत्कालीन प्रधानमन्त्री जङ्गबहादुरका भाइ बद्रीनाथ सिंहले विसं १९३० ताका मूलढोका निर्माण गरेका थिए । सोही बेला बनेको मूलढोका पर्खाल र दरबार परिसरलाई थप आकर्षक बनाउन पुनःनिर्माण गरिएको हो । तत्कालीन समयमा दरबारलाई सुरक्षाका दृष्टिले पर्खाल बनाइएको बताइएको छ । ऐतिहासिक दरबार परिसरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गत वर्ष यहाँ रहेका ५७ घर तथा टहरा भत्काइएको थियो । पुनःनिर्माण भइरहेका संरचना बनाउने काम पूरा भएपछि तानसेन सहर थप आकर्षणको केन्द्र बन्नेछ । पुरानो सहरका रूपमा परिचित पाल्पाको तानसेन सहरमा ऐतिहासिक, धार्मिक सम्पदा प्रशस्त छन् । पुराना संरचना तथा सम्पदालाई संरक्षण गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्नै र यहाँको आयस्रोतमा टेवा पुग्ने स्थानीय बताउँछन् ।

अष्ट्रेलियामा १२ वर्षकी बालिकालाई गोहीले खायो

0

काठमाडौं । अष्ट्रेलियामा १२ वर्षीया बालिकालाई गोहीले खाएको छ । अष्ट्रेलियाली मिडिया एबीसीका अनुसार उक्त घटना अष्ट्रेलियाको पालुम्पा क्षेत्रमा भएको हो।
बालिका मंगलबार दिउँसो पौडी खेल्न गएकी थिइन् । राति अबेरसम्म बालिका फेला नपरेपछि परिवारले प्रहरीमा हराएको उजुरी दिएका थिए ।

प्रहरीले बालिकाको खोजीका लागि स्थानीयको सहयोग मागेको थियो । यसका लागि प्रहरीले पार्क सञ्चालक र वन विभागको विशेष टोली गठन गरेको थियो । प्रहरीले बुधबार साँझ स्विमिङ पुल नजिक बालिकाको रगतले लतपतिएको लुगा फेला पारेको थियो ।

त्यसपछि पूरै क्षेत्रमा त्रास फैलियो । प्रहरीले बिहीबार बिहानदेखि खोजी कार्यलाई तीव्र पारेको थियो । यसपछि केही दूरीमा बालिकाको शव फेला परेको थियो ।

प्रहरी अधिकारीले बिहीबार बिहान उक्त क्षेत्रमा गोही देखेको बताए । यसपछि वन विभागको टोलीले पौडी पोखरी वरपर गोहीको सङ्केत पाएपछि बालिकालाई गोहीले खाएको प्रष्ट भएको थियो ।

बालिकाका परिवारका अनुसार उनीहरु बिदा मनाउन पलुम्पा आएका थिए । यस अवधिमा उनीहरूले छोरीका लागि पौडी खेल्ने कक्षा सञ्चालन गरेका थिए । पालुम्पाका मुख्यमन्त्री इभा ललरले यस घटनाप्रति दुःख व्यक्त गर्दै यो घटना हृदयविदारक भएको बताइन्। उनले गोहीबाट जनतालाई जोगाउन अझै पहल गर्न बाँकी रहेको बताइन् ।

 

म्यानमारको विमानस्थल विद्रोहीको कब्जामा, विद्रोहीले ४०० सैनिक मारेको दाबी

0

काठमाडौं । म्यानमारको अल्पसंख्यक आदिवासी विद्रोही समूह अराकानले सैन्य शासनविरुद्ध चलिरहेको लडाइँमा एउटा विमानस्थल कब्जा गरेको छ।

थान्डवे नामको यो विमानस्थल म्यानमारको पश्चिमी प्रान्त रखाइनको दक्षिणी भागमा अवस्थित छ। यसलाई मा जिन एयरपोर्ट पनि भनिन्छ। देशको सबैभन्दा ठूलो सहर याङ्गुनबाट यसको दूरी २६० किलोमिटर छ।

थान्डवे विमानस्थल म्यानमारमा सैन्य शासन लागू भएपछि विद्रोही समूहले कब्जा गरेको पहिलो स्थान हो। यो एयरपोर्टले देशको सबैभन्दा महत्त्वपूर्ण समुद्री रिसोर्टहरूसम्म सेवा गर्दछ।

विमानस्थल नियन्त्रणमा लिएपछि अराकान आर्मीलाई राखिन राज्यको तटीय क्षेत्र कब्जा गर्ने बाटो खुलेको छ । अराकान आर्मीले यस क्षेत्रको उत्तरी भागमा पहिले नै नियन्त्रण गरिसकेको छ।

राखिन राज्यका बासिन्दा र स्थानीय सञ्चारमाध्यमले पनि विमानस्थल कब्जा गरेको पुष्टि गरेका छन् । अहिले यो विमानस्थल अराकान समूहले कब्जा गरेपछि सबै प्रकारका गतिविधिमा प्रतिबन्ध लगाइएको छ ।

सन् २०२१ मा आङ सान सुकीको निर्वाचित सरकारलाई ध्वस्त पारेर सेना त्यहाँ शासन गर्न आयो। देशका धेरै भागमा विद्रोही समूहहरूले सैन्य शासनविरुद्ध सशस्त्र विद्रोह गरिरहेका छन्। यी विद्रोहहरूमा प्रजातन्त्रको पुनर्स्थापनाका समर्थक र छापामार समूह दुवै समावेश छन्।

अराकान आर्मीले टेलिग्राम एपमा एक विज्ञप्ति जारी गर्दै यस क्षेत्रमा लडाइँपछि ४०० भन्दा बढी सैनिकको शव भेटिएको बताएको छ। यस बाहेक विद्रोहीले ठूलो परिमाणमा गोलाबारुद पनि बरामद गरेको छ । यद्यपी समाचार एजेन्सी एपीका अनुसार अराकान आर्मीका यी दावीको पुष्टि भएको छैन ।

अराकान आर्मी म्यानमारको अल्पसंख्यक बौद्ध राखिन समुदायको सैन्य शाखा हो। यसको उद्देश्य म्यानमार सरकारबाट राखिन राज्यको स्वायत्तता प्राप्त गर्नु हो। अरकान आर्मीलाई अरखा आर्मी पनि भनिन्छ। गत वर्ष नोभेम्बरदेखि अरकान आर्मीले ९ वटा बस्ती कब्जा गरिसकेको छ ।

सेनाले म्यानमारमा १ फेब्रुअरी २०२१ मा विद्रोह गरेको थियो। यसपछि स्टेट काउन्सिलर आङ सान सुकी र राष्ट्रपति विन मिन्ट लगायत धेरै नेताहरु पक्राउ परेका थिए । त्यसयता उनीविरुद्ध दर्जन बढी मुद्दा परेका छन् । यस्ता कैयौं मुद्दामा उनी दोषी ठहर पनि भएकी छन् ।

उनी हाल राजधानी नापितामा २७ वर्ष कैद भुक्तान गरिरहेकी छिन् । यसपछि सैन्य नेता जनरल मिन आङ ह्लिङले आफूलाई देशको प्रधानमन्त्री घोषणा गरे। सेनाले देशमा २ वर्षे संकटकाल घोषणा गरेको थियो । तर, पछि बढाइएको थियो ।

पीस रिसर्च इन्स्टिच्युटको प्रतिवेदनअनुसार सन् २०२१ मा म्यानमारमा भएको ‘कू’पछि सेनाले ६ हजार मानिसको हत्या गरेको छ । म्यानमारले आफ्ना विरोधीहरूलाई निरन्तर मृत्युदण्ड दिइरहेको छ।

द गार्डियनको रिपोर्टका अनुसार म्यानमारमा हवाई हमला दैनिकी बन्न थालेको छ । सेनाले आफ्ना विरोधीलाई खोज्न कुनै कसर बाँकी राखेको छैन । जसका कारण उनीहरू सर्वसाधारणलाई लक्षित गरिरहेका छन् ।