Thursday, May 14, 2026
Home Blog Page 738

अन्नपूर्ण पदमार्गमा छ महिनामा दश हजार बढी पर्यटक

0

लमजुङ: अन्नपूर्ण पदमार्गमा छ महिनामा १० हजार छ सय १३ विदेशी पर्यटक आएका छन् ।यी पर्यटक सन् २०२४ जनवरीदेखि जुन महिनासम्म भ्रमणका लागि आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीले जनाएको छ ।

केन्द्रका इञ्चार्ज भूपेन्द्र गुरुङका अनुसार छ हजार चार सय ३५ पुरुष र चार हजार एक सय ७८ महिला पर्यटक आए।

यीमध्ये सबैभन्दा बढी फ्रान्सबाट एक हजार ७४, इजरायलबाट आठ सय ३२, जर्मनबाट सात सय ८४ पर्यटक आएका छन् । यस पदमार्गमा बर्खा लागेसँगै सुनसान भएपनि दैनिकजसो चार/पाँच जना विदेशी पर्यटक आइरहेको केन्द्रले जनाएको छ ।

सन् २०२३ मा २१ हजार दुई सय ४७ र सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटक भ्रमण गर्न यहाँ आएका थिए । सन् २०२२ को तुलनामा सन् २०२३ मा पाँच हजार तीन सय ४७ जना विदेशी पर्यटक बढी आएका छन् । केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार छ सय ४७, सन् २०१८ मा २९ हजार चार सय ८४, सन् २०१७ मा २१ हजार ६८ पर्यटक अन्नपूर्ण पदमार्गमा आएका थिए ।

सन् २०१७ बाट पर्यटक आगमनमा वृद्धि हुँदै गर्दा सन् २०२० मा कोरोना सङ्क्रमणको पहिलो लहरसँगै पदमार्ग क्षेत्र प्रभावित भएको थियो । विस्तारै बढ्दो पर्यटक आगमनले यस क्षेत्रका सयौँ स्थानीयले रोजगारीसमेत पाएका छन् ।

 

जङ्गली जनावरको आक्रमणबाट मृत्युभएका परिवारलाई राहत प्रदान

0

अछाम: जङ्गली जनावर बँदेलको आक्रमणबाट मृत्युभएका यहाँका एक पीडित परिवारलाई राहत रकम प्रदान गरिएको छ । तुर्माखाद गाउँपालिका–३ का २९ वर्षीया दिलादेवी बयकको विसं २०८० साउन ३२ गते खेतबारीमा काम गरेर घर फर्किने बेला जङ्गली जनावर बँदेलको आक्रमणबाट मृत्यु भएको थियो ।

एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल र डिभिजन वन कार्यालयका प्रमुख जनक पाध्यायले मृतक बयकका श्रीमान् बलबहादुर बयकलाई रु १० लाखको चेक हस्तान्तरण गर्नुभयो ।

जिल्लामा जङ्गली जनावरले गरेको क्षतिवापत पीडितलाई रु ६७ लाख रकम प्रदान गर्नुपर्नेछ तर जङ्गली जनावरको आक्रमणबाट मृत्युभएका एकजनाका परिवार र घाइते ११ जनालाई चालु आर्थिक वर्षमा रु १६ लाख राहत रकम उपलब्ध गराइएको डिभिजन वन कार्यालय प्रमुख पाध्यायले जानकारी दिनुभयो । अन्य घाइते, मृतक र जङ्गली जनावरले क्षति पुर्‍याएका किसानको राहत रकम अर्को आर्थिक वर्षमा उपलब्ध गराइने उहाँले बताउनुभयो ।

अन्नबालीमा चार सय १३ जना किसानको रु १७ लाख ६४ हजार आठ सय, पशुधनतर्फ ७७ जना किसानको रु २८ लाख रकम राहत दिन बाँकी छ । आव २०७८/७९ देखि हालसम्म जङ्गली जनावरको आक्रमणबाट अछाममा दुईजनाको र १९ जना घाइते भएका छन् ।

 

पहिरोले घर पुरिँएर एक महिलाको मृत्यु

0

ढोरपाटन (बागलुङ) : वर्षाका कारण पहिरोेले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा गए राति पहिरोेमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।

शर्मा घरमा एक्लै बस्दै आउनुभएको बागलुङ–७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिनुभयो । आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।

मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

0

भरतपुर : आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–३, मौवाखोलामा पहिरोे खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । अहिले सडक डिभिजन कार्यालयले पहिरो पन्छाउने गरिरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो ।

पहिरो पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन हुन केही समय लाग्ने उहाँले बताउनुभयो । अहिले गन्तव्यमा हिँडेका सवारी साधन सडकमा नै रोकिएका छन् । सडक विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा बर्खा सुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।

‘मधेस प्रदेशमा रासायनिक मलको अभाव नहुने’

0

वीरगञ्ज (पर्सा): मेधश प्रदेशमा यसवर्ष रासायनिक मलको अभाव नहुने भएको छ । रासायनिक मल वितरण गर्दै आएका साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले कम्पनीसंग यथेष्ट मल मौज्दात रहेका जनाउँदै मलको अभाव नहुने दाबी गरेका हुन् ।

रासायनिक मल कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत आयात गरेर अनुदानबापत कम मूल्यमा किसानलाई मल उपलब्ध गराउँदै आइरहेका छन् । पछिल्लो समय कृषि सामग्री र साल्ट ट्रेडिङले रासायनिक मलखादलाई खेतीयोग्य जमिनको क्षेत्रफल,विगत आवको मलको खपतको अभिलेख र बाली सघनताको आधारमा स्थानीय तहअनुसारको कोटाअनुसार रासायनिक मलको बाँडफाँट गर्दै आइरहेका छन् ।

साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेड प्रादेशिक कार्यालय प्रमुख आमोज लामिछानेले विगतको यस वर्ष रासायनिक मलको समस्या नहुने दाबी गर्नुभयो । “गत आवमा भन्दा चालु आवमा आठ हजार आठ सय ४५ दशमलव १५ मेट्रिक टन धेरै मल वितरण भइसकेको छ । त्यसैले पनि विगतको वर्षमा जस्तै यो वर्ष रासायनिक मलको समस्या नहुने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।

कार्यालयले २०८१ असार २४ गतेसम्मको अवधिमा कार्यालयले मधेस प्रदेशमा युरिया, डिएपी र पोटास गरी कूल ५२ हजार छ सय ५२ दशमलव ३५ मेट्रिक टन रासायनिक मल मधेस प्रदेशका आठ जिल्लामा वितरण गरिसकेको छ । यसमा युरिया मलको हिस्सा २७ हजार छ सय १४ दशमलव २५ मेट्रिक टन, डिएपी मलको हिस्सा २३ हजार छ सय ८७ दशमलव ७० मेट्रिक टन र पोटास मलको हिस्सा भने १३ सय ६१ दशमलव ४० मेट्रिक टन रहेको छ ।

गत आवमा प्रादेशिक कार्यालयले तिनै थरिका मल ४३ हजार आठ सय ७ दशमलव २० मेट्रिक टन वितरण गरेका थियो । यसमा युरियामल ३१ हजार पाँच सय ८३ दशमलव ५५ मेट्रिक टन, डिएपी मल १२ हजार दुई सय एक दशमलव ३० मेट्रिक टन र पोटास मल २२ दशमलव ३५ मेट्रिक टन वितरण गरिएको थियो ।

कार्यालयले मधेस प्रदेशका एक हजार दुई सय ७० वडामा एक हजार २९ डिलरमार्फत मल उपलब्ध गराउँदै आइरहेको छ । साल्ट टे«डिङले देशभरिका लागि खरिद गर्ने कूल मलमध्ये मधेस प्रदेशका लागि २६ दशमलव ५० प्रतिशत मल वितरण गर्ने गरिन्छ । त्यस्तै कोशी प्रदेशका लागि २१ दशमलव ५ प्रतिशत, लुम्बिनी प्रदेशका लागि २० दशमलव ६ प्रतिशत, बागमती प्रदेशका लागि १४ दशमलव ८० प्रतिशत र सुदूरपश्चिम प्रदेशका लागि ९ दशमलव ७० प्रतिशतको कोटा निर्धारण गरेको छ । त्यस्तै कर्णाली प्रदेशको लागि दुई प्रतिशत कोटा तोकिएको छ । यसैगरी कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका कायममूकायम (कामु) प्रमुख दुर्गाप्रसाद पाण्डेयले गत आर्थिक वर्षको तुलनामा चालु आवमा मलको आयातमा वृद्धि भएकाले पनि मधेस प्रदेशमा रासायनिक मलको समस्या नहुने दाबी गर्नुभएको छ । “कार्यालयले गत आवको तुलनामा चालु आवमा आठ हजार छ सय ४५ मेट्रिक टन रासायनिक मल धेरै प्राप्त गरेको छ”, उहाँले भन्नुभयो, “अन्य वर्षमा जस्तो यो वर्ष मलको चर्काे अभाव नहोला कि भन्ने लागिरहेको छ ।”

कार्यालयले चालु आवको असार ११ गतेसम्मको अवधिमा युरिया, डिएपी र पोटास गरी कूल ९५ हजार दुई सय तीन दशमलव ४० मेट्रिक टन रासायनिक मल प्राप्त गरिसकेको छ । जसमा युरिया मल ६० हजार छ सय ८२ दशमलव २५ मेट्रिक टन, डिएपी मल भने २८ हजार नौ सय ६३ दशमलव ४० मेट्रिक टन र पोटास मल भने पाँच हजार पाँच सय ५७ दशमलव ७५ मेट्रिक टन रहेको छ ।

कार्यालयले चालु आवमा प्राप्त भएको मलमध्ये हालसम्म ८४ हजार चार सय २७ दशमलव ५० मेट्रिक टन मल मधेस प्रदेशसहितका अन्य जिल्लामा पठाइसकेको छ । प्रादेशिक कार्यालय वीरगञ्जले मधेस प्रदेशका छ जिल्लामा पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सर्लाही जिल्लामा मल उपलब्ध गराउने गर्छ । तर, तराईका सिरहा र सप्तरी जिल्लामा भने कोशी प्रदेश कार्यालय मातहतको कार्यालयबाट वितरण गर्ने गरिन्छ ।

सो कार्यालयले आव २०७९/८० मा युरिया, डिएपी र पोटास गरी ८६ हजार पाँच सय ५८ दशमलव ७५ मेट्रिक टन रासायनिक मल प्राप्त गरेको थियो । यसमा युरिया मलको हिस्सा ५५ हजार दुई सय ९७ दशमलव ६०० मेट्रिक टन, डिएपी मलको हिस्सा ३० हजार सात सय ६१ दशमलव १५ मेट्रिक टन र पोटास मलको हिस्सा पाँच सय मेट्रिन टन रहेको थियो । कार्यालयले गत आवमा प्राप्त भएकोमध्ये ७२ हजार आठ सय २६ मेट्रिक टन मल आफ्नो मातहतका १७ जिल्लामा पठाएको थियो ।

सो कार्यालयले मधेस प्रदेशको अलावा बागमती प्रदेशका सात जिल्लामा पनि रासायनिक मल उपलब्ध गराउँदै आइरहेको छ । जसमा सिन्धुली, काभेपञ्लाचोक, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, काठमाडौँलगायतका जिल्लामा पठाउने गर्छ । त्यस्तै गण्डकी प्रदेशका पर्वत, कास्की, तनहुँ र गोरखा जिल्लामा पठाउने गर्छ । कार्यालयमा अहिले थप प्राप्त भइरहेको युरिया ११ हजार आठ सय मेट्रिक टन र डिएपी नौ हजार पाँच सय मेट्रिक टन रहेको छ ।

अनुदानको मलको कोटा बढाउनुपर्छ : किसान महासङ्घ

नेपाल किसान महासङ्घ पर्साका पूर्वअध्यक्ष असर्फी साह समग्रमा मधेस प्रदेशमा रासायनिक मलको अभाव भने कायमै रहेको गुनासो गर्नुभयो । “सरकारी निकायले पर्याप्त मात्र उपलब्ध गराएको दाबी गरे पनि कृषकले भने अहिले पनि मल अभावको समस्या खेपिरहेका छन्”, उहाँले भन्नुभयो, “सरकारी निकायले कोटा निर्धारण गरेर उपलब्ध गराउँदै आइरहेका छन् । तर, कृषकले भने पारदर्शी ढङ्गले मल भने प्राप्त गर्न सकिरहेका छैनन् ।” उहाँले धान रोपाइँ गर्नका लागि किसानले मागका आधारमा मल पनि पाउन नसकेको दाबी गर्नुभयो ।

पर्साको पटेवा सुगौली गाउँपालिकाका उपाध्यक्ष ममता महतो पनि सरकारले किसानको मागअनुसारको मल उपलब्ध गराउन माग गर्नुभयो । “सरकारी अनुदानको मलले ५० प्रतिशत मात्रै थेग्ने गर्छ”, उहाँले भन्नुभयो, “अन्य मल किसान आफैँले जुगाड गर्नुपर्ने हुन्छ ।” कामु प्रमुख पाण्डेयले मलको आयात कम र कृषकले धेरै मलखाद प्रयोग गर्ने भएकाले पनि मलको समस्या हुने गरेको बताउनुभयो । “सरकारले प्रति कट्ठा तीन किलोग्राम मल प्रयोग गर्नुपर्ने मापदण्ड तोकेको छ । तर, कृषकले प्रति कट्ठा छ किलोग्रामभन्दा धेरै मल प्रयोग गर्नाले पनि अभाव हुने गरेको हो ।” उहाँले भन्नुभयो ।

भरतपुर अस्पतालमा एमआरआई सेवा सुरु हुँदै

0

चितवन : भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उकरण सञ्चालनमा ल्याउन लागिएको हो । प्रा डा पौडेलका अनुसार सङ्घीय सरकारले उपलब्ध गराएको रु २५ करोड र अस्पताल विकास समितिको रु पाँच करोड गरी रु ३० करोडमा मेसिन खरिद गरिएको हो ।

स्वास्थ्य बीमाले तय गरेको रु नौ हजारदेखि १४ हजार शुल्कमा उपकरणबाट स्वास्थ्य परीक्षण हुने उहाँले जानकारी दिनुभयो । दैनिक २५ जनासम्मलाई सेवा दिन सकिने जनाइएको छ ।

अस्पतालमा दुर्घटनालगायतका बिरामीको एमआरआई गर्नुपरेमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगायत अन्यत्र जानुपर्ने बाध्यता थियो ।
अस्पतालमा आउने बिरामी मध्ये दुर्घटनाका धेरै हुने बताइएको छ । अस्पतालमा सिटीस्क्यान, भिडियो एक्सरेलगायतका उपकरण यसअघि नै सञ्चालित छ । अस्पतालमा ‘क्याथल्याब’ सञ्चालन गर्ने तयारी गरिएको छ ।

युक्रेन युद्धमा रुसको पक्षमा लडिरहेका भारतीयहरूलाई फिर्ता पठाउन रूस सरकार सहमत

0

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणका क्रममा रुसको तर्फबाट युक्रेन युद्धमा लडिरहेका भारतीयहरूलाई रुसले भारत फिर्ता पठाउने वाचा गरेको छ ।

भारतको विदेश मन्त्रालयले सो जानकारी दिएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीको मस्को भ्रमणको अन्त्यमा यो घोषणा गरिएको हो ।

यो मुद्दा यही भ्रमणका क्रममा राष्ट्रपति पुटिनसँग पनि उठेको थियो । दिल्लीले भारतीयहरूलाई फिर्ता पठाउन अपिल गरेको थियो।

गैर-लडाकू इकाइहरूमा काम गर्ने नाममा सेनामा भर्ती भए पनि पछि युक्रेनमा सक्रिय लडाइँमा पठाइएको यी भारतीयहरू बताउँछन्।

युक्रेन युद्धमा हालसम्म कम्तीमा चार भारतीयको मृत्यु भइसकेको छ ।

यो युद्धमा धेरै नेपालीहरू पनि रूसको पक्षबाट लडिरहेका छन् तर नेपाल सरकारले उनीहरूलाई फिर्ता ल्याउन कुनै ठोस पहल गरेको छैन । युद्धमा मारिने नेपालीको संख्या भारतीयको भन्दा कैयौं धेरै छ ।

रुसी सेनामा करिब ३५-४० जना भारतीय रहेको विदेश सचिव विनय मोहन क्वात्राले बताए, जसमध्ये १० जनालाई फिर्ता ल्याइएको छ। बाँकीलाई ल्याउन वार्ता भइरहेको छ ।

रसियामा फसेका भारतीयहरूले उनीहरूलाई राम्रा पैसा र रूसी पासपोर्टको सट्टामा सामेल हुन प्रलोभन दिएको बताएका छन्।

यीमध्ये धेरैजसो गरिब परिवारका छन्, जसलाई रुसी सेनामा सहयोगीको रूपमा कामको प्रस्ताव गरिएको थियो।

 

मैले कुनै पनि देशको पिआर लिएकी छैन: शिक्षामन्त्री सुमना

0

काठमाडौं: शिक्षामन्त्री सुमना श्रेष्ठले आफूले कुनै पनि देशको पिआर नलिएको बताएकी छन्।

राष्ट्रिय सतर्कता केन्द्रले नागरिकताको विषयमा पत्र पठाएको जानकारी दिँदै मन्त्री श्रेष्ठले आफूले कुनै देशको पीआर वा नागरिकता नलिएको बताएकी छन्।

उनले आफूले राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेकोले सो अनुसार जवाफ दिएको बताएकी छन्। उनले आरोप आफैमा अस्पष्ट रहेको बताउँदै कुन देशको पिआर वा नागरिकता भनेर पनि खुलाइएको छैन र आरोप पूर्णतः निराधार रहेको र आफूले छानबिनमा पूरा सहयोग गर्ने बताएकी छन् ।

उनले आरोप के प्रमाणको आधारमा लगाइयो, लगाउनेको नियत र कस्तो बेला ल्याइयो, प्रश्न गर्न आग्रह गरेकी छन्।

 

ओलीले ढाँटछल गरेर कांग्रेससँग गठबन्धन गरे: प्रचण्ड

0

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीले ढाँटछल गरेर कांग्रेससँग गठबन्धन गरेको बताएका छन्।

सिंहदरबारमा बुधबार बसेको माओवादी संसदीय दलको बैठकलाई ब्रिफ़िङ्ग गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन्।
प्रचण्डले भने, “कांग्रेससँग सहमति भएपछि पनि एमाले अध्यक्ष केपी ओलीले आफूसँगको छलफलमा आफ्नो सरकारलाई समर्थन जारी रहने बताएका थिए।”

प्रचण्डले आफूले सदनमा विश्वासको मत लिने र त्यसपछिको अवस्थामा संसदमा सशक्त भूमिका निर्वाह गर्न सबै दलहरुलाई साथमा लिने बताएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

बैठकले प्रधानमन्त्री प्रचण्डको पक्षमा विश्वासको मत दिन आफ्ना सांसदहरुलाई ह्वीप जारी गर्दै अन्य दलहरुसँग पनि विश्वासको मतका लागि अपिल गर्ने निर्णय भएको पाण्डेले बताए।

संविधानको व्यवस्थाअनुसार नै विश्वासको मत लिन लागेकाले त्यसपछिको अवस्थामा पनि संवैधानिक व्यवस्था अनुसार नै सरकार बन्ने उनले बताए।

उनले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै कसरी अघि बढ्ने भन्नेबारे पार्टीले थप रणनीति बनाउने जिकिर गरे।

 

अनुसन्धान विभागका अधिकृत नै दोषी ठहर

0

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत नै दोषी ठहरिएका छन्। विशेष अदालतले उनलाई नक्कली प्रमाणपत्र पेस गरेको मुद्दामा दोषी ठहर गरेको हो।
विशेष अदालतले आज बस्नेतलाई भ्रष्टाचार निवारण ऐन २०१७ अनुसार दोषी ठहर गरेको हो। विशेषले उनलाई पाँच हजार जरिवाना गर्ने फैसला सुनाएको हो।

बस्नेतले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाई स्कुल तहको नक्कली प्रमाणपत्र पेस गरी विभागमा सहायक निरीक्षक पदको ओहदा, लाभ र सुविधा लिएको अभियोगमा विशेषले २०८० मङ्सिरमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

बस्नेतविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई अदालतमा मुद्दा दायर गरेको थियो ।