Wednesday, June 10, 2026
Home Blog Page 720

बाराका सरकारी कार्यालयको पुँजीगत खर्च ८४ प्रतिशत

0

वीरगञ्ज (पर्सा): मधेस प्रदेश सरकार मातहत रहेका बाराका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा कूल विनियोजित बजेटको ८३ दशमलव ६९ प्रतिशत अर्थात् रु दुई अर्ब २७ करोड दुई लाख ३७ हजार आठ सय ३४ रकम पुँजीगत खर्च गरेका छन् ।

मधेस प्रदेश सरकारले गत आवमा प्रदेश सरकार मातहतका १५ वटा सरकारी कार्यालय र १६ वटा स्थानीय तहका लागि पुँजीगत र चालुतर्फ दुवै गरेर रु तीन अर्ब ७० करोड ८० लाख सात हजार तीन सय ७० रकम विनियोजन गरेको थियो ।

प्रदेश लेखा एकाइ कार्यालयका प्रदेश कोष नियन्त्रक श्यामउदय ठाकुरले बाराका सरकारी कार्यालयले गत आवमा विनियोजित बजेटको चालु र पुँजीगत दुवैतर्फ गरेर ८१ दशमलव ०९ प्रतिशत अर्थात् रु तीन अर्ब ६९ लाख ५४ हजार तीन सय ९५ रकम खर्च भएको जानकारी दिनुभयो । “गत आवमा बाराका सरकारी कार्यालयको चालु र पुँजीगत दुवैतर्फ गरेर समग्रमा ८१ दशमलव ०९ प्रतिशत खर्च भएको छ । गत आवको समग्रमा खर्च उत्साहप्रद रहेको छ”, उहाँले भन्नुभयो, “बाराका सरकारी कार्यालयको चालु खर्च ७४ दशमलव ०२ प्रतिशत छ ।” उहाँले बाराका सरकारी कार्यालयले गत आवमा पुँजीगत खर्च पनि उत्साहजनक ढङ्गले गरेको जानकारी दिनुभयो ।

प्रदेश सरकारले बाराका १६ पालिकाका लागि रु २० करोड ४२ लाख ३६ हजार बजेट विनियोजन गरेकामा सो अवधिमा रु १६ करोड ४२ लाख ३५ हजार छ सय ७९ रकम खर्च गरेका छन् । बाराका सरकारी कार्यालयले गत आवमा रु ११ करोड ११ लाख ७७ हजार चार सय २७ रकम सङ्कलन गरेका छन् । प्रदेश लेखा एकाइ कार्यालयको कार्यक्षेत्र बारा र पर्सा हुन् ।

मङ्गलसेन–ठाटीखाँद सडकखण्ड पहिरोले अवरुद्ध

0

अछाम: मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत मङ्गलसेन–ठाटीखाँद खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । शनिबार रातिदेखि भएको अविरल वर्षाका कारण पहिरो खस्दा मङ्गलसेन–ठाटीखाँद सडक अवरुद्ध भएको हो । उक्त सडकको ठूलासैन नजिकैको चिण्डे वनमा केही भाग भासिएको छ ।

अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार अवरुद्ध सडक खुलाउन सडक कार्यालय र मङ्गलसेन नगरपालिकासँग समन्वय भइरहेको छ ।

सेती नदी कटानले अन्त्यकर्मका लागि सतीघाट पुग्न समस्या

0

गण्डकी: सेती नदीको कटानका कारण पोखरा महानगरपालिका–३२ स्थित सतीघाटमा बाटो भत्कँदा समस्या भएको छ ।परापूर्वकालदेखि तल्लो गगनगौडा, लामेआहाल, कालिकानगर, मजुुवा र आसपासका व्यक्तिको अन्तिम संस्कार गरिने घाटमा पुग्ने बाटो सेती नदीको कटानसँगै भत्केपछि समस्या भएको हो । घाटसम्मको बाटोलाई विगत दुुई वर्षयता लगातार रुपमा बजेट विनियोजनगरी ढलान गरिएको भए पनि नदीको कटानका कारण बाटो नै भत्कँदा त्यहाँबाट आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको पोखरा महानगरपालिकाका वडाध्यक्ष अक्कलबहादुुर कार्कीले बताउनुुभयो ।

“घाटसम्मको बाटो ढलानका लागि यसअघिका दुुई आर्थिक वर्षमा क्रमशः १५ लाख र २३ लाख रुपैयाँ बजेट विनियोजन भई काम भएको थियो”, उहाँले भन्नुुभयो, “नदी कटानले बाटोको धेरै भाग भत्किएको छ ।” वडामा बाढी नियन्त्रणका लागि रु ७० लाख बजेट विनियोजन भए पनि उक्त रकमले त्यहाँको समस्या समाधान गर्न असम्भव भएको बताउँदै उहाँले घाटसम्मको आवतजावत सहज बनाउन धेरै रकम चाहिने जानकारी दिनुुभयो ।

घुमाउनेमा यात्रुवाहक बस दुर्घटना, १५ जना घाइते

0

चितवन: नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

भेटियो विश्वको दोस्रो ठूलो हीरा, तौल २ हजार ४९२ क्यारेट

0

काठमाडौं: दक्षिण अफ्रिकी देश बोत्सवानामा विश्वको दोस्रो ठूलो हीरा भेटिएको छ । प्रशोधन नगरिएको यो हीरा २४९२ क्यारेटको छ । यो क्यानडाको कम्पनी लुकारा डायमण्डको बोत्सवानाको खानीबाट निकालिएको हो ।

यसअघि सन् १९०५ मा दक्षिण अफ्रिकामा ३१०६ क्यारेटको कुलिनन डायमण्ड भेटिएको थियो । यसलाई नौ अलग टुक्रामा काटिएको थियो। यी मध्ये धेरै बेलायतको शाही मुकुटमा राखिएका छन्।

बोत्सवानाको केरो खानीमा विश्वको दोस्रो ठूलो हीरा फेला परेको छ । यो बोत्सवानाको राजधानी गाबोरोनबाट ५०० किलोमिटर उत्तरमा छ।

बोत्सवाना सरकारले दक्षिणी अफ्रिकी देशमा पाइने यो सबैभन्दा ठूलो हीरा भएको बताएको छ । यसअघि सन् २०१९ मा बोत्सवानामा १७५८ क्यारेटको हीरा भेटिएको थियो ।

बोत्सवाना विश्वको सबैभन्दा ठूलो हीरा उत्पादन गर्ने देश हो। संसारको २० प्रतिशत हीरा यहाँ उत्पादन गरिन्छ।

लामिछानेले भने- ‘आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको छु’

0
file photo

भरतपुर (चितवन): राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताएका छन् ।
भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा मिडियासँग आफू संलग्नका बारेमा लागेको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताए । “आरोपका आधार तथ्य प्रमाणको छानबिनका लागि संसदीय समिति बनेको हो”, उनले भने, “त्यसलाई मैले आफूमाथि लागेको आरोपको स्पष्टिकरण दिने अवसरका रुपमा हेरेको छु ।”

सभापति लामिछानेले शुक्रबार छानबिन समितिलाई १० घण्टा लामो बयान दिएका थिए। उनले जिबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी रहेको बताए । ग्यालेक्सी टिभीका अध्यक्ष राईको सम्पत्तिको स्रोतको विषयमा हेर्ने काम राज्यका निकायको रहेको उनको भनाइ थियो ।

“मैले त्यहाँ हेरेर, जानेर र बुझेरै काम गरेको थिएँ । छोडेर गएको डेढ वर्षपछि विभिन्न अनुसन्धानबाट जानकारी आएपछि मात्र थाहा भएको कुरा हो । त्यतिखेर थाहा भएको कुरा होइन । त्यतिखेरै आएको भए त्यतिखेरै थाहा हुन्थ्यो । कतिपय कुरा जतिखेर उजागर हुन्छ त्यतिखेरै हेरिन्छ”, सभापति लामिछानेले भने , ‘उजागर नहुँदा त्यसबारेमा थाहा नहुनु स्वाभाविक हो ।” सभापति लामिछानेले पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले लगाएको आरोपबारे समयले बताउँदै जाने उल्लेख गरे ।

रास्वपाले सुरु गर्‍यो ‘आत्मनिर्भर नेपाल अभियान’

0

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीले आत्मनिर्भर नेपाल अभियान सुरु गरेको छ । शनिबार अपराह्न पार्टीका उपसभापति डीपी अर्यालले पार्टी कार्यालयबाट घण्टी बजाएर सो अभियानको सुरु गरेका हुन् ।

उक्त अवसरमा पार्टी कार्यालयमा ५ ओटा नीति मन्थनबारे छलफल भएको उनले जानकारी गराए । उनले देशमा युवालाई रोक्नका लागि स्टार्टअप जस्ता विभिन्न कार्यक्रमहरू पार्टीले अघि सारेको बताए । पार्टीको ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गर्दै रास्वपाले हरेक सुरुवात केही नयाँ कामबाट गरिरहेको उनको भनाई थियो।

‘नेपालमै बस्न हाम्रा दाजुभाईहरुले के काम गरिरहनुभएको छ, भनेर देखाउने प्रयास स्वरूप यो कार्यक्रम गरिएको हो । अब आउने दिनमा केन्द्रमा मात्र नभएर प्रदेशमा पनि यस्ता कार्यक्रम गर्छौँ । हामीले हरेक सुरुवात केही न केही नयाँ, नेपालीको आवश्यकता आजको युवा पुस्तालाई कसरी यो देशमा रोक्न सकिन्छ प्रयास गरिरहेका छौँ,’ उनले भने ।

डा.प्रभात अधिकारी, हरि जोशी लगायतका युवाहरूले नेपाली युवालाई रोक्ने खालका स्टार्टअपका अवधारणा ल्याएको र त्यसबाट साना उद्योग व्यवसाय गर्न सकिने बताए ।

कार्यक्रममा कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले नेपाललाई आत्मनिर्भर बनाउन खोज्ने जुनसुकै उद्यमीलाई राज्यको कार्यक्रममा समेटेर लैजान उनीहरूलाई प्रवर्द्धन गर्न चाहेको बताए । राजनीति कम र उत्पादन मूलक काम गर्नका लागि रास्वपा पार्टी बनेको उल्लेख गरेको उनको भनाई थियो ।

उनले नेपालमा अवसरको ढोका खोल्न सकेमात्र युवाहरू विदेश जानबाट रोकिने भएकोले नवप्रवर्तनको प्रदर्शनी राखिएको जानकारी दिए । उनले नेपाली उत्पादनलाई प्राथमिकता दिई आत्मनिर्भर नेपाल बनाउने अभियान सुरु गरेको बताए ।

माओवादीलाई कसैले फुटाउन सक्दैनः प्रचण्ड

0

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले फुटाउन नसक्ने बताएका छन्।

शनिबार काठमाडौंमा माओवादी केन्द्र नुवाकोट सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै पार्टी फुटाउने षड्यन्त्र प्रतिक्रियावादीहरुले पटक पटक प्रयास गरेपनि कसैले फुटाउन नसक्ने बताएका हुन्। केही समयपछि फुटेर गएका माओवादीहरु पनि एकताबद्ध हुने भन्दै यसका लागि वार्ता चलिरहेको उनले बताए।

प्रचण्डले पार्टीलाई बलियो बनाउदै अघि बढाउन सके आगामी निर्वाचनमा ६४ सालको हैसियतमा पुग्ने सकिने धारणा राखे।

उहाले माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारबिरुद्ध अभियान सुरु गरेको र यसैका कारण कांग्रेस–एमाले मिलेर आफु नेतृत्वको सरकारलाई हटाएको जिकिर गरे। अहिलेको सरकार भ्रष्टाचारीहरुकै सरकार भएको उनले बताए।

प्रचण्डले अँध्यारोमा रमाउनेहरुलाई अहिले उज्यालो मन नपरेको भन्दै अँध्याराका पक्षपातीहरुले विद्युत वक्यौतामा विवाद निकालेको तर्क गरे। त्यस्तै उनले संविधान संशोधनका नाममा मुलुकलाई पछाडि फर्काउने षडयन्त्र माओवादी रहदासम्म सफल हुन नदिने स्पष्ट पारे।

उनले आत्मसमिक्षाका साथ जनताको घर घरमा जान र माओवादीले गरेका कामहरुका बारेमा जानकारी गराउन नेता तथा कार्यकतालाई निर्देशन समेत दिए।

बालबालिकामा पढ्ने बानी बसाल्ने सही तरिका

0

काठमाडौँ : बालबालिकामा पढ्ने बानी बसाल्नु उनीहरुको मानसिक विकासका लागि निकै फाइदाजनक हुन्छ । उनीहरुको ज्ञान बढाउनुका साथै उनीहरुको सोच र व्यक्तित्वमा पनि यसले सकारात्मक प्रभाव पार्छ ।
यसका लागि निम्न पाँच कुरामा ध्यान दिनुहोस्:

१. दैनिक पढ्ने बानी बसाल्नुहोस् :
यदि तपाईं बालबालिकामा पुस्तकप्रतिको प्रेम जगाउन चाहनुहुन्छ भने सानैदेखि यसका लागि प्रयास गर्न सक्नुहुन्छ । यदि तपाईंले हरेक दिन निश्चित समयमा, विशेष गरी सुत्नु अघि, कथा, कविता वा चित्रहरू आदि देखाउनुभयो भने, उनीहरूमा किताबहरूबारे रुची विकसित हुन थाल्छ । उनीहरू किताबसँग मित्रता गर्न थाल्छन्।

२. पढ्नको लागि वातावरण तयार गर्नुहोस्:
पुस्तकहरूमा रुचि विकास गर्न, तपाईंले घरमा पुस्तकालय बनाउनु आवश्यक छैन। तर अध्ययनका लागि सहज स्थान, पर्याप्त प्रकाश र शान्त वातावरण उपलब्ध गराएमा उनीहरूले अध्ययनमा रुचि राख्छन् ।

३. पुस्तकहरूसँग साथी बनाउनुहोस्:
बच्चाहरूलाई किताबको नजिक ल्याउनुहोस् । तिनीहरूलाई पुस्तकहरूको संसारमा घुलिमल गराउनुहोस्। यसका लागि उनीहरूलाई पुस्तकालय, पुस्तक पसलमा लैजानुहोस् र उनीहरूलाई मनपर्ने पुस्तक छनोट गर्ने मौका दिनुहोस्। उनीहरूमाथि किताब नथोर्प्नुहोस् ।

४. साथ दिनुहोस्:
बच्चाहरूले आफ्ना आमाबाबुबाट धेरै कुरा सिक्छन्। यस्तो अवस्थामा तपाईंले पनि मोबाइल वा टिभीको सट्टा किताब पढ्नुभयो र बच्चाहरूलाई पढाइ कति रमाइलो छ भनेर देखाउनु भयो भने उनीहरूलाई पनि पढ्ने प्रेरणा मिल्छ ।

५. अध्ययनलाई रमाइलो बनाउनुहोस्:
तपाईंले किताबहरूसँगै केही रमाइलो खेल वा गतिविधिहरू थप्न सक्नुहुन्छ। पढिसकेपछि यससँग सम्बन्धित चीजहरूको बारेमा कुरा गर्ने, कला र शिल्पसँग सम्बन्धित परियोजनाहरू बनाउने वा ती ठाउँहरू भ्रमण गर्ने जस्ता काम गर्न सक्नुहुन्छ ।

पढाइले बच्चाहरूलाई नयाँ ज्ञान र जानकारीको परिचय मात्र दिँदैन, यसले उनीहरूको दिमाग पनि खोल्छ। साथै, नियमित पठनले बालबालिकाको शब्दावली बढाउँछ, उनीहरूको भाषा सीप र एकाग्रतामा सुधार गर्छ।

किताब र कथाहरूले बालबालिकाको कल्पनाशक्तिलाई पनि बढाउँछ, जसले उनीहरूमा रचनात्मकतालाई बढावा दिन्छ। यति मात्र होइन, धेरै पढ्दा बालबालिकालाई विभिन्न भावना र परिस्थितिहरू बुझ्न पनि मद्दत पुग्छ।

पढ्ने बानीले बालबालिकाको पढाइमा सुधार ल्याउँछ । कक्षामा राम्रो प्रदर्शन गर्छ, संवेदनशील हुन्छ र आत्म-नियन्त्रण बढ्छ। यति मात्र होइन, उनीहरू थप जिम्मेवार र अनुशासित पनि हुन्छन्।

बालबालिकाहरूले कथाहरू र तिनीहरूका पात्रहरूमार्फत सामाजिक कौशल र समानुभूति सिक्ने अवसर पनि पाउँछन्। उनीहरु तनाव र चिन्ताबाट पनि टाढा रहन्छन् ।

जर्मनीमा चक्कु प्रहारबाट तीन जनाको मृत्यु, चार जना गम्भीर घाइते

0

सोलिङ्गेन । जर्मनीको पश्चिमी सहर सोलिङ्गेनमा चक्कु प्रहारबाट तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार साँझ सहरको केन्द्रमा एक उत्सवको समयमा आक्रमण भएको थियो। आक्रमणकारी अझै फरार रहेको बताइएको छ ।

बिल्ड वेबसाइटका अनुसार एक व्यक्तिले अन्धाधुन्ध रूपमा छुरा प्रहार गरेका थिए। आक्रमणकारीको व्यापक रूपमा खोजी भइरहेको छ । प्रहरीको हेलिकप्टरहरू सहर माथि घुमिरहेको देखिएको छ।

बिल्डका अनुसार प्रहरीले छुरा प्रहार गर्ने सन्दिग्धको खोजीमा ४० वटा सवारी साधन परिचालन गरेको छ। सवारी साधनहरू विशेष टास्क फोर्सका अधिकारीहरूले कमान्ड गरिरहेका छन्। सडकहरू अवरुद्ध गरिएको छ भने अधिकारीहरूले स्थानीय बासिन्दाहरूलाई घर भित्रै बस्न भनेका छन् ।

आक्रमणको समयमा औद्योगिक सहर स्थापना भएको ६५० औँ वर्षगाँठ मनाइँदै थियो । घटनापछि उत्सवका कार्यक्रमहरू रद्द गरिएको छ।

सोलिङ्गेन उत्तर राइनल्याण्ड-वेस्टफालियाको एक सहर हो । यो स्टिल उद्योगको लागि प्रसिद्ध छ । यहाँ लगभग १ लाख ६० हजार बासिन्दाहरू छन्।