Thursday, June 11, 2026
Home Blog Page 706

लुम्बिनी प्रदेशका कांग्रेस सांसद केसी जेल चलान

0

बुटवल: लुम्बिनी प्रदेशसभाका सांसद धनबहादुर केसी जेल चलान भएका छन्। यसअघि फरार सूचीमा रहेका उनी आफैं अदालतमा उपस्थित भएपछि जेल चलन भएका हुन् । अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार पठाएको छ।

सरकारी कागजात कीर्ते अभियोगमा उनलाई अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। २०४८ सालको फैसला अहिलेसम्म कार्यान्वयन भएको थिएन।

केसीलाई उनकै श्रीमती राधा केसीले सम्बन्ध विच्छेदको नक्कली कागज बनाएको भन्दै मुद्दा दायर गरेकी थिइन्। सो मुद्दामा उनी दोषी ठहर भएका थिए । नेपाली कांग्रेसका नेता केसी गत २०७९ को प्रदेश सभा निर्वाचनमा रुकुम (पूर्व) निर्वाचन क्षेत्र १(१) बाट निर्वाचित भएका थिए।

सहकारी छानबिन संसदीय विशेष समितिले गर्‍यो अर्थमन्त्री र गभर्नरसँग छलफल

0

काठमाडौं: सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गभर्नर महाप्रसाद अधिकारीलगायतसँग छलफल गरेको छ। सिंहदरबारमा आइतबार बसेको समिति बैठकले प्रतिवेदन निर्माणका सन्दर्भमा अर्थमन्त्री लगायतसँग छलफल गरेको हो।

छलफलका क्रममा उपप्रधान एवं अर्थमन्त्री पौडेलले समितिले निकालेका निष्कर्ष र प्रतिवेदनलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभएको समिति संयोजक सूर्य थापाले जानकारी दिए। सहकारीको चम्किलो भविष्यका निम्ति समितिको प्रतिवेदन महत्वपूर्ण हुने भन्दै अर्थमन्त्री पौडेलले समितिको कामलाई सरकारले महत्वका साथ हेरिरहेको बताएका थिए।

सहकारीबाट ऋण लिनेले तिर्नुपदैन भन्ने भ्रम नराख्न र सहकारी क्षेत्रको प्रभावकारी नियमनका लागि संयन्त्र गठन गर्नुपर्नेमा समेत अर्थमन्त्री पौडेलले जोड दिनुभएको समिति संयोजक थापाले बताए।

त्यस्तै राष्ट्र बैंकका गभर्नर अधिकारीले सहकारी क्षेत्रलाई दोश्रो नियमनकारी निकाय गठन गरेर हेर्नुपर्ने, सहकारीको आर्थिक हिसावकिताव हेरेर समाधान खोज्नुपर्नेमा जोड दिनुभएको थापाले जानकारी दिए। सवै निकायको छलफलका आधारमा प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी भइरहेको संयोजक थापाले बताए।

यसअघि समितिले सहकारी दूरुपयोगमा आरोपित, पीडित, सरोकारवाला निकाय लगाएतसंग छलफल गरेको थियो। सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानविन गर्न संसदले गत १५ गते छानविन समिति गठन गरेको थियो। समितिको तीन महिनाको समय अवधि भदौँ २३ गते सकिँदै थियो। तर सो समयमा प्रतिवेदन तयार हुन नसकेपछि प्रतिनिधिसभाले १५ दिनको म्याद थप गरेको छ।

 

कर्णाली राजमार्ग पुनः अवरुद्ध , सवारीसाधनका यात्री अलपत्रमा

0

जुम्ला: कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । गए रातिको अविरल वर्षाका कारण कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित एसमोड र गगनेखोलामा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार अवरुद्ध राजमार्ग सञ्चालनको प्रयास जारी छ । गगनेखोलामा बारम्बार पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ । राजमार्ग अवरुद्ध हुँदा जुम्ला, कालिकोट तथा मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौँ जाने सवारीसाधनका यात्री अलपत्र परेका छन् ।

दाउराको मूल्य बढेपछि माटाका भाँडा बनाउन छाड्दै प्रजापति समुदाय

0
Exif_JPEG_420

बर्दघाट सुस्तापश्चिम (नवलपरासी): नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा बसोबास रहेको प्रजापति समुदायले पछिल्लो समय माटाका भाँडा बनाउन छाडेको छ । दाउराको मूल्य बढेपछि प्रजापति समुदायले माटाका भाँडा दियो, गाग्री, घोलक, गमलालगायत बनाउन छाडेका हुन् ।

प्रजापति समुदाय माटाका भाँडा बनाउन छाडेर अन्य काममा लागेका पाल्हीनन्दन गाउँपालिका‐५ का वडाध्यक्ष दयाशङ्कर त्रिपाठीले बताउनुभयो । पाल्हीनन्दनका अधिकांश प्रजापति समुदायले माटाका भाँडा बनाउने र बिक्री गर्ने कार्यलाई मुख्य व्यवसाय बनाएका थिए ।

पूजाआजामा बढी प्रयोग हुने भएपछि माटाका भाँडा बनाउने तथा ग्राहकको घरघरमा पुुर्याउने गर्दैआएका थिए । दाउराको मूल्य बढेपछि माटाका भाँडा पकाउन असहज भएको उनीहरुको भनाइ छ । घाटा बेहोर्नु परेको भन्दै अहिले उनीहरूले यसको व्यापार छाडेको वडाध्यक्ष त्रिपाठीले बताउनुभयो ।

विद्युुतीय बत्तीको प्रयोगले माटाका दियो र भाँडाको प्रयोगलाई विस्थापित गरेपछि उक्त काम छाडेर वैदेशिक रोजगार तथा अन्य काममा लाग्नुपरेको पाल्हीनन्दन‐५ का ७४ वर्षीय भिखन प्रजापतिले बताउनुभयो । उहाँका अनुसार माटाको दियो तथा भाँडा पकाउने दाउराको मूल्य बढेपछि घाटा बेहोर्नु परेकाले स्थानीय माटाका भाँडा बनाउने काम छाडेर अरु काममा लागेका छन् ।

केही वर्ष पहिला पाल्हीनन्दन गाउँपालिकाले ५० प्रतिशत अनुुदानमा भाँडा बनाउने प्रजापति समुदायलाई आठ मेसिन वितरण गरेको थियो । दिपावली र छठ पूजामा बढीजसो माटाका दियो प्रयोग गर्ने चलन छ । अन्य बेला पनि पूजाआजा तथा घरायसी प्रयोजनका लागि यसको प्रयोग गरिन्छ ।

स्थानीय तहले माछापालनका लागि पोखरी ठेक्कामा दिएको र ठेकेदारले पोखरीमा पानी भरेपछि आफूहरूलाई माटो झिक्न नमिल्ने भएपछि प्रजापति समुदायलाई माटाका भाँडा बनाउन समस्या भएको छ । माटाका भाँडा बनाउन स्थानीय तहले केही प्रतिशत छुुटमा वन कार्यालयबाट दाउरा उपलब्ध गराए पनि यो प्रर्याप्त नभएको सो समुदायको गुनासो छ ।

बर्दघाट सुस्तापूर्वका थारू समुदाय भोदी खेलको संरक्षणमा जुट्दै

0

मध्यविन्दु (नवलपरासी) : बर्दघाट सुस्तापूर्वका थारू समुदाय लोप हुन थालेको परम्परागत भोदी खेल संरक्षणमा जुटेका छन् ।

अनतपर्वका अवसरमा थारू समुदायले खेल्ने भोदी खेल संरक्षणका लागि थारू युवा समूहबीच प्रतियोगिता सञ्चालन गरिएको छ ।

नवलपरासीसहित तराई क्षेत्रका थारू समुदायले अनतपर्वलाई सहकालका देवता इन्द्रको पूजा गरी मनाउने गर्दछन् । अनतका अवसरमा इन्द्रलाई पूजा गरी खुसी बनाए वर्षा राम्रोसँग हुने र अन्नबाली राम्रो फल्ने जनविश्वासका आधारमा विभिन्न धार्मिककार्य गरिने थारू कल्याण कारिणीसभा नवलपुरका अध्यक्ष रामप्रसाद महतोले बताउनुभयो ।

“अनतका अवसरमा अन्नबालीलाई आवश्यक पानी पारिदिन इन्द्र भगवान्को उपासनासँगै भोदी खेल खेल्ने चलन जिल्लामा २०५२ सालदेखि सुरु गरिएको हो”, उहाँले भन्नुभयो, “लोप हुने अवस्थाको यस खेलको संरक्षण गर्दा थारूको कला, संस्कृति र परम्परासमेत उजागर भएको छ ।”

इन्द्रलाई खुसी बनाउन पिङ खेल्ने, भोदी खेल्ने परम्परा रहिआएको छ । भोदी खेल थारू समुदायको बाक्लो बस्ती भएको गाउँमा समूह बनाएर खेल्ने पुरानो परम्परा भए पनि पछिल्ला वर्षमा यो परम्परा हराउँदै गएको छ । थारू समुदायको पहिचान बोकेको विभिन्न चाडपर्वमध्ये अनन्त चतुर्दशी पर्वलाई पनि थारू समुदायले विशेष महत्वका साथ मनाउने गर्दछन् । यस पर्व ठाउँ र परिवेशअनुसार फरक तरिकाले मनाउने गरिएको अध्यक्ष महतोले बताउनुभयो ।

“भोदी खेलमा एक समूहमा १० जना हुने गर्छन्, भुइँमा नौवटा लट्ठी गाडेर राखिन्छ, पालैपालो हानेर लट्ठी निकाल्ने गरिन्छ, जुन समूहले सबै लट्ठी निकाल्न सक्छ त्यो समूह नै विजयी घोषित हुन्छ”, उहाँले भन्नुभयो ।

भोदी खेल धार्मिक र ऐतिहासिक महत्व बोकेको हुँदा थारू समुदायका अगुवाले यसको संरक्षणका लागि हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएका थारू महिला अगुवा ओमकुमारी महतोले बताउनुभयो । यसबाट नयाँ पुस्तालाई खेलको महत्व बुझाउन र सिकाउन सहज भएको उहाँले बताउनुभयो ।

“यहाँका थारूहरूले व्रत बसी पूजा गर्ने गर्छन्, यसै दिन व्रत बसेर लट्ठीले हानेर खेलिने मौलिक खेललाई नै भोदी खेल भनिन्छ”, उहाँले भन्नुभयो । भाद्र चतुर्दशीमा मनाइने अनतपर्व १८२५ सालदेखि मनाउन थालिएको बताइन्छ । तराई क्षेत्रका थारू समुदायले अनतपर्वलाई सहकालका देवता इन्द्रको पूजा गरी व्रत बसेर भोदी खेल्ने गर्दछन् । धार्मिक र ऐतिहासिक महत्व बोकेको यस खेलको महत्व नयाँ पुस्तालाई बुझाउन र सिकाउन थारू समुदायको बाहुल्यता रहेको गाउँहरूमा प्रत्येक वर्ष भोदी खेल प्रतियोगिता आयोजना गरिन्छ ।

प्रधानमन्त्री ओलीद्धारा अन्ठाउन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको शुभकामना

0

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । अन्ठाउन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले विद्यालय उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाको अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।

अनिवार्य तथा निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चितता गरिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसका निम्ति अनिवार्य र निःशुल्क शिक्षा ऐन कार्यान्वयनसँगै साक्षरता÷आजीवन सिकाइका कार्यक्रम सञ्चालनमा रहेको स्पष्ट पार्नुभयो । साक्षरता कार्यक्रम सञ्चालनमा स्थानीय तहको महत्त्वपूर्ण भूमिका हुने भन्दै उहाँले निरक्षरतालाई साक्षरतामा रुपान्तरण गर्न सबैको एकताबद्ध प्रयासको खाँचो औँल्याउनुभयो ।

गरिबीका कारणले तराई र दुुर्गमका कतिपय ठाउँमा साक्षरता र भर्ना अभियानले सार्थकता पाउन नसकेको अवस्थालाई दृष्टिगत गरी आफ्नो नेतृत्वको अघिल्लो सरकारले राष्ट्रव्यापी रूपमा विद्यार्थी भर्ना अभियान कार्यक्रमको सुरुआत गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विद्यालय जाने उमेरका सबै बालबालिकालाई अनिवार्य रूपमा विद्यालयमा भर्ना गर्ने नीतिले पनि साक्षरताको अभियानलाई सहयोग पुर्याएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले बालबालिकालाई विद्यालयबाट ‘ड्रपआउट’ हुन नदिन सरकारले दिवाखाजा, छात्रवृत्तिलगायत अन्य प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको र यसलाई अझै सुधार गर्दै लैजाने सरकारको योजना रहेको स्पष्ट पार्नुभयो । उहाँले नेपालमा पछिल्लो समयमा पूर्ण साक्षर पालिका र साक्षर जिल्ला घोषणा हुँदै जानु महत्त्वपूर्ण उपलब्धिका रूपमा अथ्र्याउनुभयो ।

“विश्व अहिले सूचना प्रविधिको युुगमा प्रवेश गरेको छ, त्यसकारण प्रविधिमैत्री साक्षरता र सीप अहिलेको आवश्यकता हो । प्रविधिमैत्री शिक्षा प्रदान गर्न सरकारले योजनाबद्ध रूपमा कार्य अगाडि बढाइरहेको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “शिक्षालाई रोजगार र स्वरोजगारसँग जोड्दै निजी क्षेत्र, सामाजिक सङ्घसंस्थालगायत सबैको भूमिकालाई प्रभावकारी बनाउँदै निरक्षरतालाई साक्षरतामा रुपान्तरण गर्न सबै दृढताका साथ लाग्नुपर्छ ।”

सबैको योगदानले साक्षर नेपालको अभियानलाई सार्थक बनाउन सकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाल पूर्ण साक्षर मुलुकतर्फ अग्रसर हँुदै ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्यमा लम्किरहेको बताउनुभयो । “गन्तव्य प्राप्तिमा शिक्षा क्षेत्रको योगदान महत्त्वपूूर्ण हुने भएकाले त्यसअनुसारको भूमिका निर्वाह गर्न आह्वान गर्दछुु”, उहाँले भन्नुभएको छ ।

प्रधानमन्त्री ओलीले ‘बहुभाषिक शिक्षाको प्रवर्द्धनः पारस्परिक समझदारी र शान्तिका लागि शिक्षा’ भन्ने वाक्यका साथ मनाउन लागिएको यस दिवसले शान्ति, सहिष्णुता, बहुभाषिक शिक्षा र आपसी समझदारीका साथ अगाडि बढ्न प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ सुरु हुने, पायो ५० सिट

0

तुलसीपुर : दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ सुरु हुने भएको छ ।

चिकित्सा शिक्षा आयोगले एमबिबिएस पढाइ सञ्चालनका लागि ५० सिट सुनिश्चित गरेको छ । जसमा ७५ प्रतिशत छात्रवृत्तिमा विद्यार्थीले एमबिबिएस पढ्न पाउने रजिष्ट्रार श्याम लम्सालले बताउनुभयो ।

प्रतिष्ठानले करिब ७ बर्षपछि एमबिबिएस पठनपाठनका लागि आयोगबाट अनुमती पाएको हो । हाल प्रतिष्ठानमा बिएस्सी र बिएनएस नर्सिङ र चिकित्सकको एमडिको पठनपाठन भइरहेको छ । अब एमबिबिएस पढ्नकै लागि जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । “एमबिबिएस पढाइ सञ्चालन गर्ने कुरा धेरै महत्त्वपूर्ण कुरा हो”, उहाँले भन्नुभयो, “यो प्रतिष्ठानको शैक्षिक कार्यक्रममा कोसेढुङ्गा सावित हुनेछ ।”

यसअघि लामो समय शैक्षिक कार्यक्रम सुरु नहुँदा जिल्लामा व्यापक आवाज उठ्ने गरेको थियो । तर, अब वर्सेनि शैक्षिक कार्यक्रम थपिन थालेपछि जिल्लामा उत्साह थपिएको छ । राप्ती उपक्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइएको हो ।

नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छः प्रचण्ड

0

काठमाडौँ: पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेवारी सभ्यताभित्र रहेको साझापन र आत्मनिर्भर अर्थतन्त्रको अभ्यास समाजवादी व्यवस्थासँग मिल्दोजुल्दो भएकाले यसलाई अझ प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको बाह्र वर्षे मेलामा समापन मन्तव्य व्यक्त गर्दै उहाँले नेवाः सभ्यताको मौलिकतालाई कायम राख्दै नेवारी संस्कृतिलाई पर्यटन र आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो ।

गणराज्यकै झल्को दिने गरी नेवार समुदायमा रहेको आर्थिक आत्मनिर्भरता, सामाजिक सद्भाव र सौहार्द अनि सांस्कृतिक मौलिकपनलाई समाजवादी व्यवस्थाको भ्रुणका रुपमा औल्याउँदै उहाँले यसले नेवा सभ्यताको संरक्षणमा मात्र नभई समग्र मुलुककै संस्कृति संरक्षण र समाज व्यवस्थाका लागि महत्वपूर्ण योगदान दिइरहेको स्पष्ट गर्नुभयो ।

मुलुकको आर्थिक विकास, सामाजिक सौहार्दता र संस्कृति संरक्षणको क्षेत्रमा मात्र नभई नेवाः समुदायले मुलुकको राजनीतिक परिवर्तनका लागि पनि ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, खासगरी दश वर्षे महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनमा नेवाः समुदायले गरेको योगदान अवस्मरणीय र अद्धितीय छ । यही योगदानकै फलस्वरुप हामीले नेपालको संविधानमार्फत सबै जाति, क्षेत्र, लिङ्ग, भाषा, समुदायका अधिकार सुनिश्चित गरेका छौं र अहिले अहिले कार्यान्वयनको चरणमा छौं । अब पनि सुशासन, सामाजिक न्याय र समृद्धिहुँदै नेपाली जनताले देखेको समाजवाद निर्माणको सपना पूरा गर्न यो समुदायले ऐतिहासिक र निर्णायक भूमिका निर्वाह गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नेवारी सभ्यता विविधतापूर्ण भएको र त्यसमा पनि अझ नेपालमण्डलकै एक मौलिक प्राचीन वस्ती खोकना पृथक सांस्कृतिक पहिचानसहित स्थापित रहेको औल्याउँदै अध्यक्ष प्रचण्डले देशभरमै फरक पहिचानका साथ लाग्ने १२ वर्षे मेला मुलुककै महत्वपूर्ण संस्कृतिको रुपमा रहेको बताउनुभयो । भुटेको तोरीको तेलका लागि प्रशिद्ध खोकनाले नेपालमै पहिलोपटक बिजुली बत्ती बलेको ठाउँको रुपमा पनि पनि आफ्नो पहिचान स्थापित गरेको उल्लेख गर्दै उहाँले आफ्नै उत्पादन, आफ्नै ब्यापार, आफ्नै भेषभुषासहित खोकनाबासीले सबै क्षेत्रमा मौलिकता स्थापित गर्न सफल हुनु मुलुकमै नमुनायोग्य भएको बताउनुभयो ।

सामाजिक एकता, भाषा संस्कृतिको संरक्षण, मूर्त र अमूर्त संस्कृतिको प्रवर्धन गर्न नेवाः समुदायले निर्वाह गरेको भूमिकालाई राज्यले यथेष्ट सम्मान गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । खोकनालाई नेपालमा मात्रै होइन, अन्तर्राष्ट्रियस्तरमै स्थापित गर्न आवश्यक छ रहेको औल्याउँदै पुरातत्वविद्, इतिहासकार र अन्वेषकहरुको सहयोगमा विश्व सम्पदासूचीमा सूचिकृत गर्ने उद्देश्यसहित स्थानीय सरकारले पहल लिनुपर्ने अध्यक्ष दाहालले बताउनुभयो ।

आफूहरुले नेवाः सभ्यतालाई स्थापित गर्न आफूले महत्वपूर्ण काम थालेका स्मरण गराउँदै उहाँले आफू पहिलोपटक प्रधानमन्त्री भएको बेला २०६५ सालमा नेपाल संवतलाई राष्टिय संवतको मान्यता प्रदान गर्ने घोषणा गरेको र पछिल्लोपटक सरकारको नेतृत्व गरेको बेला २०८० कार्तिक २७ गतेको मन्त्रिपपरिषद् बैठकबाट नेपाल संवतलाई हरेक सरकारी कागजातमा उल्लेख गर्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो । अहिले बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा हुनु थप ऐतिहासिक काम भएको अध्यक्ष दाहालको भनाइ थियो ।

राष्ट्रपति निर्वाचनपछि ट्रम्पको सजाय सुनाइने

0

काठमाडौं: अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई म्यानहट्टन हश मनी आपराधिक मुद्दामा सुनाइने भनेको सजाय नोभेम्बरमा हुने राष्ट्रपति चुनावसम्म स्थगित गरिएको छ ।

न्यायाधीश जुआन मार्चेनले सो सजाय नोभेम्बर २६ सम्म स्थगित गर्ने निर्णय गरेका हुन्। ट्रम्प रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार समेत हुन् । यस प्रकरणमा उनको सजायको घोषणाको मिति सेप्टेम्बर १८ मा तोकिएको थियो, तर राष्ट्रपति निर्वाचनलाई प्रभवित गर्ने भन्दै ट्रम्पका वकिलहरूले उनको सजाय स्थगित गर्न प्रयास गरेका थिए ।

मे महिनामा न्यूयोर्कको एक निर्णायक मण्डलले ट्रम्पलाई फर्जी व्यापार रेकर्ड र अपराध गरेकोमा दोषी ठहर गरेको थियो । अमेरिकामा पूर्व राष्ट्रपतिलाई अपराधमा दोषी ठहर गरेको यो पहिलो पटक हो। न्यायाधीशले यो निर्णयमा अमेरिकी चुनावमा कुनै असर नपर्ने गरी निर्णय गर्नुपर्ने पनि बताएका छन् ।

प्रचण्डलाई प्रधानमन्त्री ओलीले भने चेतावनी : हिंसाको महिमा मण्डन नगर्नुस्

0

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको महिमा मण्डन नगर्न माओवादी केन्द्रलाई चेतावनी दिएका छन् । शनिबार काठमाडौँमा २१ औँ निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा (माओवादी केन्द्र) र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै हिंसाको महिमा मण्डन गर्न छोडेर देश विकासमा लाग्न आग्रह गरे ।

उनले देशमा हिंसा रहेको र त्यसलाई व्यवस्थापन गर्नुपर्ने अवस्थाअनुसार व्यवस्थापन भएको बताए । उनले माओवादी युद्ध महान थियो भने किन छोडेको, किन शान्ति प्रक्रियामा आएको भन्दै प्रश्न समेत गरे । उनले महान जनयुद्ध भएको भए सफल हुनुपर्ने भन्दै जनआन्दोलन फेल नहुने बताए ।

ओलीले जनताका नाममा एक मुठी मान्छेले आफ्नो रहरका लागि निर्देशित, प्रायोजित वा अरु प्रकारका रहरहरु लाद्न खोजे देशले स्वीकार नगर्ने बताए । झापा आन्दोलनताका आफूले लिएका नीतिहरु पनि सही नभएकाले बदलेर आएको भन्दै माओवादीले पनि हिंसा गरेको र हिंसाको बाटो बदलेर शान्ति प्रक्रियामा आएको बतए ।

उनले भने, ‘हाम्रो देशमा हिंसा थियो, त्यसलाई व्यवस्थापन गर्नुपर्यो । केही मानिसहरुले त्यसलाई महिमा मण्डन गरेको सुन्छु । त्यस्तो महान थियो भने किन छोडेको त त्यो बाटो ? किन आउनुपर्यो शान्ति प्रक्रियामा ? त्यस्तो महान जनयुद्धै थियो भने त सफल पार्नुपर्दथ्यो । जनयुद्ध भन्ने चिज जनयुद्ध हो भने त्यो फेल हुँदैन । जनआन्दोलन हो भनेपनि त्यो फेल हुँदैन । जन भइसकेपछि त्यो फेल हुँदैन । अब जनताका नाममा एक मुठी मान्छेले आफ्नो रहर, निर्देशित, प्रायोजित वा अरु प्रकारका रहरहरु लाद्न खोज्यो भने देशले त्यसलाई अस्वीकार गर्छ । बाटो बदल्नुपर्छ ।’

अध्यक्ष ओलीले आफुहरुले पनि झापा आन्दोलनताका लिएका नीतिहरु बदलेर अघि बढेको बताए । उनले भने, ‘मैले पनि झापा आन्दोलनताका जुन नीतिहरु लिएको थिएँ, त्यो सही नीति भएनछ अगाडि बढ्ने । बदलियो । सही भएन त बदल्नुपर्छ । त्यस्तै अरुले चलाएका अनावश्यक हिंसा आदि पनि छोड्नुपर्छ । बदल्नुपर्छ । बदल्नुपर्दथ्यो, बदलियो पनि । हिंसाको महिमा मण्डन गरेर हामी अघि बढ्न सक्दैनौँ । त्यसले फेरि खतरा ल्याउँछ ।’

उनले हिंसाको महिमा मण्डन गर्न नहुने पनि बताए ।