Thursday, June 11, 2026
Home Blog Page 705

आज विपीको १११औँ जन्मजयन्ती मनाइँदै

0

काठमाडौँ: नेपालको राजनीति र साहित्यमा अतुलनीय योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको आज १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ ।

विसं १९७१ भदौ २४ गते जन्मनुभएका कोइरालाले नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएको थियो । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई ‘पार्सल’ गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो ।

भारत निर्वासनमै विपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिनुभयो। भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उहाँ त्यो आन्दोलनमा सक्रिय हुनुभयो। भारत निर्वासन कै क्रममा जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००३ मा विपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो ।

प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शमशेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो ।

क्रान्तिको सफलतापछि मोहन शमशेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बीपी गृहमन्त्री बने । २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । प्रधानमन्त्रीत्व कालमा उहाँले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराउनुभयो ।

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दी गृहमा सारियो ।

विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभयो । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनर्स्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ ओटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्किनुभयो ।

उहाँले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक मानिन्छ । मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि बहुदल वा सुधारिएको पञ्चायत भन्ने विकल्पमा जनमत सङ्ग्रहको वातावरण बन्यो । धाँधली गरेर बहुदललाई हराएको भनी देशव्यापी गुनासो भएपनि बीपीले निर्वाचन परिणामलाई स्वीकार गरे । क्यान्सर रोगले बीपीको विसं २०३९ साउन ६ गते निधन भयो ।

साहित्यिक व्यक्तित्व

नेपाली साहित्यका क्षेत्रमा पनि विपीको अतुलनीय योगदान रहेको छ।
नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।

कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहूदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवम् ‘बाबु आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छन् ।

सारङ्गी रेट्दा अझै जवान छु जस्तो लाग्छ: लालबहादुर

0

देउखुरी (दाङ): टालेको झुत्रो झोला, हातमा सारङ्गी । त्यही सारङ्गी रेट्दै घरघरमा मिठो धुन सुनाउँदै हिँड्नुभएका सल्यान खलङ्गाका ५५ वर्षीय लालबहादुर गन्धर्व हालै यहाँको घोराही बजार आइपुग्नुभएको छ ।

“सारङ्गी रेटेर धुन बजाउँदै गीत गाउन थालेको ४० वर्षभन्दा धेरै भयो, सारङ्गी बजाउँदा आफू अझै जवान भएजस्तो लाग्छ, सारङ्गीको घुन निकालेपछि झन् जोशजाँगर बढेर आउँछ,” उहाँ भन्नुहुन्छ । सल्यान, दाङ, रोल्पा, रुकुम र काठमाण्डौँ लगायतका शहर तथा बस्तीमा पुगेर सारङ्गी बजाएर गीत गाउने गरेको उहाँले बताउनुभयो ।

घरमा सानै उमेरदेखि बाउबाजेबाट सारङ्गी रेट्ने सीप सिक्नुभएका लालबहादुरले १५ वर्षको उमेरदेखि यही पेसा अपनाउनुभयो । “हिजोआज कसैले राम्रो मानेर गीत सुन्न खोज्छन् त कसैले बाहिरबाट पठाउँछन्,” उहाँले भन्नुभयो ।

जग्गा जमिन केही नभएपनि सारङ्गीको धुन र गीत गाएरै परिवारको जिविका चलाउँदै आएको उहाँको भनाइ छ । उहाँले सात वटी छोरीमध्ये पाँचको विवाह गरिसक्नुभएको छ । दुई छोरी तुलसीपुर– १७ स्थित मावि दुधरासमा कक्षा आठ र ११ मा पढ्छन् । आफूले नपढे पनि छोरीलाई पढाउने सोचाइ रहेको उहाँले बताउनुभयो । गीत गाएर दिनमा एक हजारदेखि तीन हजारसम्म कमाउने गर्नुहुन्छ । समाजबाट लोप हुँदै गएको गन्धर्व जातिको पुरानो मौलिक संस्कृति धान्न गाउँगाउँमा पुग्ने गरेको उहाँ बताउनुहुन्छ ।

अहिलेसम्म घुमेको ठाउँमा रोल्पा सबै भन्दा राम्रो लागेको स्मरण गर्नुभयो । रोल्पामा गाइने आयो भने चाडवर्प आए जस्तो हुन्छ भनेर सिदा (चामल, दाल) दिने गरेको बताउनुभयो । सारङ्गी बजाउन युवा पुस्ताले चासो नदिँदा गन्धर्व पेशा लोप हुने चिन्ता उहाँलाई छ । “मेरा छोरीले बजाउँदैनन् म पछिको पुस्ताले सारङ्गी छुदैनन्,” उहाँले भन्नुभयो ।

गाइनेको रुपमा हिँड्दा एकातिर संस्कृति संरक्षण अर्कोतिर रमाइलो गरी जीवन चलिरहने र देशका विभिन्न ठाउँ हेर्ने अवसर मिल्ने उहाँको अनुभव छ । उहाँ गीतकै माध्यमबाट आफ्ना भावना पनि व्यक्त गर्नुहुन्छ । पछिल्ला समय सारङ्गी रेटेर गाउँगाउँमा गीत गाउँदै हिँड्ने गन्धर्वको सङ्ख्या घट्दो छ । केही पाकापुस्ताले संस्कृति जेनतेन धान्दै आए पनि गन्धर्व समुदायका युवापुस्ताले चासो दिएको पाइँदैन ।

मुस्ताङको लो–घेकर दामोदरकुण्डको प्रशासकीय र वडा कार्यालय भवन निर्माण

0

म्याग्दी: मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले प्रशासकीय र सबै वडा कार्यालयको भवन निर्माण गरेको छ । स्थापना भएको सात वर्षपछि चराङमा प्रशासकीय र पाँच वटा वडाका केन्द्रमा भवन निर्माण गरी कार्यालय सञ्चालनमा ल्याएको हो ।

प्रमुख प्रशासकीय अधिकृत विशाल भण्डारीले गाउँपालिकाको नयाँ भवनबाट सेवा प्रवाह थालिएको जानकारी दिनुभयो । “भवनको औपचारिक उद्घाटन बाँकी भए पनि सेवा प्रवाह सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “नयाँ भवन बनेपछि साँघुरो कोठा भएको अस्थायी भवनबाट कार्यालय सञ्चालन गर्नुपर्ने समस्या हटेको छ ।”

व्यवस्थित र सुविधायुक्त नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह सहज भएको गाउँपालिकाका अध्यक्ष राजु विष्टले बताउनुभयो । विसं २०७३ मा स्थापना लगत्तै केही समय भाडाको घरमा राखिएको गाउँपालिकाको कार्यालय पछिल्लो समय अस्थायी टहरा बनाएर सञ्चालन गरिएको थियो ।

दुई तले भवन निर्माणका लागि इमाटोल–कोमल कन्ट्रक्सन जेभीले विसं २०७७ असार ११ गते रु चार करोड २४ लाख ५८ हजार छ सय ९२ मा ठेक्का सम्झौता गरेको थियो । विसं २०७९ असार २० गते सम्पन्न गर्ने लक्ष्य रहेको भवन दुई वर्ष ढिला गरी सम्पन्न भएको हो ।

३० वटा कोठा रहेको भवनमा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सभाहल, बैठक, प्रशासन, विषयगत शाखाका लागि कक्ष छन् । यसअघि लो–घेकर दामोदरकुण्डले पाँचवटै वडा कार्यालयको एकतले छ÷छ वटा कोठा भएका भवन निर्माण गरेको छ ।

स्थानीय डिजाइन, निर्माण सामग्रीको प्रयोग गरेर मौलिकता झल्कने किसिमको वडा कार्यालय भवन निर्माण गरेको हो । भवनमा वडाध्यक्ष, सचिव, सदस्य, बैठक कक्ष र सभाहल छन् । एउटा वडा कार्यालय भवन बनाउन रु ५० लाख देखि रु ६० लाख खर्च भएको गाउँपालिका अध्यक्ष विष्टले बताउनुभयो । भवन अभावका कारण सामुदायिक भवन, क्लब, आमा समूह र स्वास्थ्य चौकीबाट वडा कार्यालय सञ्चालन गरिएको थियो ।

पाँच वटा स्थानीय तह रहेको मुस्ताङमा यसअघि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कागबेनी र घरपझोङ गाउँपालिकाले जोमसोममा प्रशासकीय भवन निर्माण गरेर सेवा प्रवाहका लागि प्रयोगमा ल्याएका छन् । वारागुङ मुक्तिक्षेत्रको भवन निर्माणमा तिब्बती शैली प्रयोग भएको छ ।

चीनको सिमानामा रहेको लोमान्थाङ गाउँपालिकाको प्रशासकीय भवन निर्माणाधीन छ । खन्तीमा रहेको तत्कालीन कोवाङ गाविसको भवनमा रहेको थासाङ गाउँपालिकाले हालसम्म आफ्नै भवन निर्माणको प्रक्रिया अगाडि बढाउन सकेको छैन ।

राप्रपाले असोजदेखि पार्टी प्रवेश कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्ने

0

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आइतबार साँझ केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ । सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले विज्ञप्ति जारी गरी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले आगामी असोजदेखि पार्टी प्रवेश कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।

स्वदेशमा र प्रवासमा पार्टी र पार्टीको एजेण्डाप्रति देखिएको आकर्षणलाई पार्टी सङ्गठनको दायरामा ल्याउन राप्रपाले अभियान सञ्चालन गर्न लागेको जनाएको छ । राप्रपाले २०८१ साललाई पार्टी प्रवेश वर्षको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टीको वडादेखि सबै तहको अधिवेशन गर्ने प्रयोजनका लागि कार्यसम्पादन समितिका सदस्य तोरणबहादुर गुरुङको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिइएको, समितिमा केन्द्रीय सदस्य राजाराम श्रेष्ठ, कार्यसम्पादन समिति सदस्य अधिवक्ता निरुपमा यादव, सहमहामन्त्री अमृत पुडासैनी, सहायक महामन्त्री रमानन्द न्यौपाने, केन्द्रीय सदस्यहरु डा जयन्तनाथ खनाल, भरतजङ्ग उप्रेती र स्वाती थापा तथा समितिको सदस्य सचिवमा सहमहामन्त्री अधिवक्ता श्यामबहादुर शाहीको मनोनयन यसअघि भएको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी राप्रपाले आफ्नो पार्टी कार्यालय भवन चाबहिलमा निर्माण गर्ने भएको छ । भवन निर्माणका लागि कार्यसम्पादन समितिका सदस्य, आर्थिक विभाग प्रमुख दिनेश श्रेष्ठको संयोजकत्वमा भवन निर्माण समिति गठन गरिएको प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकले सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने भनी गरेको फैसलाप्रति राप्रपाको ध्यानाकर्षण भएको तथा अदालतको फैसलाबाट लाखौँ नागरिक प्रभावित हुन पुगेका एवं क्षतिपूर्तिको सुनिश्चितता विना जनताको निजी सम्पत्तिमाथि कुनै प्रकारको खलल पु¥याइनु हुन्न भन्ने दृष्टिकोण रहेको विज्ञप्तिमार्फत जनाएको छ ।

लिदीखोलामा मोटरेबल पुल निर्धारित मितिभन्दा सात महिना अगावै निर्माण सम्पन्न

0

पर्वत: यहाँको मोदी गाउँपालिका–६ तिलाहारस्थित लिदीखोलामा मोटरेबल पुल निर्माण भएको छ । डिमुवा–राम्जा चित्रे सडकमा पर्ने लिदीखोला मोटरेबल पुल निर्धारित मितिभन्दा सात महिना अगावै निर्माण सम्पन्न भएको हो । पूर्वाधार विकास कार्यालयका अनुसार १८ महिनामा निर्माण सम्पन्न गर्नेगरी विसं २०८० असोज २२ गते ठेक्का सम्झौता भएको थियो ।

मोदी गाउँपालिका–६ र ८ को सिमानामा रहेको लिदीखोलामा ‘सिङ्गल स्पान’को १५ मिटर लामो मोटरेबल पुल निर्माण गरिएको हो । रु दुई करोड ५३ लाख लागतमा निर्माण सम्पन्न पुल निर्माणको ठेक्का कस्तुरी कन्स्ट्रक्सनले पाएको थियो । यो पुलको भारवहन क्षमता ७० टन रहेको छ ।

अनुकूल मौसम, पर्याप्त जनशक्ति, निर्माण सामग्रीको सहज उपलब्धता र स्थानीयवासीको सहयोगका कारण निर्धारित समय अगावै निर्माण भएको निर्माण व्यवसायी चेतनारायण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पुल निर्माण सम्झौता आगामी फागुनसम्म रहेको थियो ।

यो पुल निर्माणपछि मोदी गाउँपालिका–७ राम्जा, वडा नं ८ चित्रे तथा कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कका बासिन्दा लाभान्वित भएका छन् । पुल निर्माण भइ सवारीसाधनसमेत सञ्चालन हुन थालिसकेको पूर्वाधार विकास कार्यालयका इन्जिनियर जिता गिरीले जानकारी दिनुभयो ।

विगतमा वर्षायामको बेला खोलाबाट वारपार गर्न नसकेर यातायात सुविधाबाटै वञ्चित हुने गरेका त्यस क्षेत्रका बासिन्दा यस वर्षदेखि सहज रुपमा आवतजावत गर्न पाएको कार्यालयले जनाएको छ ।
स्थानीय सडक पुल कार्यक्रम ‘एलआरबिपी’ र प्रादेशिक सडक पुल सहयोग इकाई ‘पिआरवी एसयु’को प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो । स्थानीय सडक पुल कार्यक्रमका ‘टेक्निकल अफिसर’ लोकेश राईले सबै अवस्था सहज भएकाले निर्धारित मिति अगावै पुल निर्माण भएको बताउनुभयो ।

पर्वतमा गत आर्थिक वर्षमा योसँगै अन्य तीनवटा मोटरेवल पुल निर्माण सुरु भएका थिए । ती पुलहरु धमाधम निर्माण भइरहेको पूर्वाधार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दक्षिण पर्वतको पैँयु गाउँपालिकामा पर्ने सरौ–बालाकोट सडकअन्तर्गत छत्तिसेघाट मोटरेबल पुल निर्माण भइरहेको छ । रु चार करोड ४३ लाखको लागतमा निर्माणाधीन उक्त पुल २५ मिटर लामो हुने छ ।

कुश्मा नगरपालिका–१० पिपलटारी र फलेवास नगरपालिका वडा नं ३ शङ्करपोखरी जोड्ने मल्याङ्दीखोला माथि पुल निर्माण भइरहेको छ । १६ मिटर लामो यो पुल रु चार करोडको लागतमा सम्पन्न हुने छ । यसैगरी, दक्षिण पर्वतको पैँयु गाउँपालिका–७ भोर्लेमा पनि भोर्ले खोला मोटरेबल पुल निर्माण सुरु भएको कार्यालयले जनाएको छ ।

डेङ्गीबाट झापामा दुई जनाको मृत्यु, कोशीमा एक हजार ६५ जना सङ्क्रमित

0

झापा: कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेङ्गीबाट यस अवधिमा डेङ्गी सङ्क्रमणका कारण झापामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत रहेका छन् । झापामा साउन १ गतेयता सङ्क्रमितको सङ्ख्या एक सय २८ पुगिसकेको छ ।

कोशी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा सङ्क्रमितको सङ्ख्या पाँच सय ३२ पुगेको छभने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेङ्गीका सङ्क्रमित धेरै पाइएको छ । ताप्लेजुङमा भने डेङ्गीको एकजना पनि सङ्क्रमित पाइएको छैन ।

स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन सुरक्षा खत्रीका अनुसार धनकुटामा ८० र सुनसरीमा ७० जनामा डेङ्गीको सङ्क्रमण भएको छ । यसैगरी, उदयपुरमा ६९ जना, भोजपुरमा ६८, सङ्खुवासभामा ६७, ओखलढुङ्गामा २९, पाँचथरमा २१, सोलुखुम्बुमा ६, इलाममा पाँचजना, खोटाङमा चारजना र तेह्रथुममा दुईजनामा डेङ्गी सङ्क्रमण भएको पाइएको छ ।गत वैशाखदेखि नै कोशी प्रदेशका अधिकांश जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिन थालेको थियो । वैशाखदेखि असारसम्म कोशीमा तीन सय ८६ जनामा डेङ्गी सङ्क्रमण भइसकेको थियो ।

झापामा साउन १ गतेयता सबैभन्दा धेरै विर्तामोडमा ८१ जनामा डेङ्गीको सङ्क्रमण भेटिएको छ । त्यसपछि दमकमा २२ जनामा सङ्क्रमण पुष्टि भयो भने हल्दिबारीमा सातजना र भद्रपुरमा पाँचजनामा डेङ्गीको सङ्क्रमण भेटिएको छ ।

श्री एयरले काठमाडौं–पोखरा उडानमा एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा दिने

0

काठमाडौँ: निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाडौँ–पोखरा उडान गर्ने यात्रुलाई एक टिकट खरिद गर्दा अर्को टिकट निःशुल्क दिने भएको छ । एयरलाइन्सले भदौ २३ देखी आगामी असोज ४ गतेसम्म काठमाडौँ–पोखरा विमानमार्फत यात्रा गर्दा एउटा टिकट सित्तैमा दिने भएको हो ।

एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले पोखराको पर्यटन चलायमान बनाउन तथा एयरलाइन्समा यात्रुको आकर्षणका लागि एक टिकट खरिद गर्दा अर्को निःशुल्क दिने अफर ल्याइएको जानकारी दिनुभयो । “पोखरा–काठमाडौँ गन्तव्यमा हवाई यात्रुको चहल पहल बढाउन तथा पर्यटन प्रवर्द्धनका लागि यो अफर ल्याएका हौँ, यसबाट थोरै भए पनि एयरलाइन्सको गतिविधि बढ्ने र पर्यटन क्षेत्रमा पनि केही राहत मिल्ने विश्वास लिएका छौँ ।”

आसोज ४ गतेसम्म टिकट खरिद गर्नेले उक्त अफर पाउनेछन् । खरिद गरेको टिकटबाट असोज १४ सम्म यात्रा गरिसक्नुपर्नेछ । श्री एयरको आन्तरिक उडानमा फिक्स्ड विङतर्फ विमान १० विमान र आठ रोटर (हेलिकप्टर) छन् । कम्पनीसँग सीआरजे र बम्बार्डियर ड्यास–८–क्यू–४०० विमान छन् । आन्तरिक उडानतर्फ श्री एयरलाइन्सले पछिल्लो समय विमान थपेर गन्तव्य विस्तार गरिरहेको छ । कम्पनीले काठमाडौँबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा पर्वतीय उडान (माउन्टेन फ्लाईट) सञ्चालन गर्दै आएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका कानुनलाई समयानुकूल परिमार्जन गर्न प्रधानमन्त्रीको निर्देशन

0

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले समयको माग र जनअपेक्षा अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विद्यमान कानुनमा संशोधन विधेयक ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री निवास, वालुवाटारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिव र दुवै सङ्गठनका प्रमुुखसहित आईतबार साँझ भएको छलफलमा प्रधानमन्त्री ओलीले ती कानुनलाई समयानुुकूल र वस्तुनिष्ट बनाउनुपर्ने बताउनुुभयो । उहाँले मुलुकमा शान्ति सुरक्षा र सुशासन कायम गर्न तथा सङ्गठनभित्र सानो तहदेखि माथिल्लो तहसम्मको सुविधासमेतलाई ध्यान दिएर प्रस्ताव ल्याउन आग्रह गर्नुभयो ।

ती दुवै कानुनलाई संशोधन गर्ने विधेयकको मस्यौदा रायका लागि गृह मन्त्रालयले अर्थ मन्त्रालयमा पेस गरेको सन्दर्भमा प्रधानमन्त्री ओलीले आर्थिक र प्रशासनिक पक्षलाई अध्ययन गरेर छिटो विधेयक अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देश गर्नुभयो । ती दुवै विधेयक संसद्मा पेस गर्ने विषय सरकारको सय दिनभित्रको प्राथमिकतामा परेको छ ।

छलफलमा अर्थमन्त्री पौडेलले विधेयकलाई समग्ररुपमा अध्ययन गरेर छिटो निष्कर्ष निकालिने बताउनुुभयो । गृहमन्त्री लेखकले प्रस्तावित विधेयक ल्याउँदा प्रहरी सङ्गठनमा ऊर्जा थपिनुका साथै मुुलुकको आर्थिक दायित्व बचत हुने स्पष्ट गर्नुभयो ।

जो बाइडेन अहिलेसम्मकै धेरै बिदा लिने अमेरिकी राष्ट्रपति बने

0

काठमाडौं: अमेरिकी राष्ट्रपति जो बाइडेन अमेरिकी राष्ट्रपतिको इतिहासमा अहिलेसम्म कै सबैभन्दा बढी बिदा लिने राष्ट्रपति बनेका छन्। उनले आफ्नो ४ वर्षे कार्यकालमा ५३२ दिन बिदा लिएका छन् ।

न्युयोर्क पोस्टका अनुसार ८१ वर्षीय बाइडेनले राष्ट्रपति पद ग्रहण गरेको १३२६ दिन भइसकेको छ । बाइडेनले यी दिनको ४० प्रतिशत बिदा लिएका छन् भने उनले ७९४ दिन मात्र काम गरेका छन् ।

रिपोर्टका अनुसार बाइडेनले हरेक १० दिनमा ४ दिन बिदा लिइरहेका छन् । अमेरिकामा कुनै पनि व्यक्तिले प्रत्येक वर्ष औसत ११ दिन बिदा पाउँछन् । यसका अनुसार बाइडेनले ४ वर्षमा जति बिदा लिएका छन्, एक साधारण अमेरिकी व्यक्तिलाई ४८ वर्ष लाग्छ ।

यसअघि ट्रम्पले आफ्नो कार्यकालमा १४६१ दिनमा २६ प्रतिशत अर्थात् ३८१ दिन बिदा लिएका थिए । जबकि बराक ओबामा र रोनाल्ड रेगन आफ्नो कुल कार्यकालको ११ प्रतिशत दिन मात्र बिदामा थिए। जिम्मी कार्टरले राष्ट्रपतिको रुपमा ७९ दिन मात्रै बिदा लिएका थिए । विश्वको उथलपुथलका बीच अमेरिकी राष्ट्रपतिले लामो समय बिदा लिएको भन्दै बाइडेनको आलोचना भइरहेको छ।

बाइडेनका सहयोगीहरूले अमेरिकी राष्ट्रपति जहिले पनि बिदामा गएको बेला आफ्नो काममा जोडिएको अवस्थामा रहने बताएका छन्। उसले नियमित रूपमा आवश्यक कलहरू प्राप्त गर्ने र सजिलै सम्पर्क गर्न सकिने अवस्थामा बसेको स्पष्ट गरेका छन्। बाइडेन अमेरिकामा राष्ट्रपति पद सम्हाल्ने सबैभन्दा वृद्ध नेता हुन्।

८० वर्षीय डेमोक्र्याट नेताले जनवरी २०, २०२१ मा राष्ट्रपतिको रूपमा शपथ लिएका थिए । उनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराएर अमेरिकाको राष्ट्रपति बनेका थिए।

फ्रान्सका नयाँ प्रधानमन्त्रीविरुद्ध सडकमा विरोध प्रदर्शन

0

काठमाडौं: फ्रान्समा दक्षिणपन्थी नेता मिशेल बार्नियरलाई प्रधानमन्त्री बनाइएपछि फ्रान्सको नाइस र लेमनलगायत देशका धेरै क्षेत्रमा उनको नियुक्तिको विरोधमा प्रदर्शन भएको छ। बार्नियरविरुद्ध हजारौं मानिस सडकमा उत्रिएका छन् ।

अहिले देशका एक सय स्थानमा विरोध प्रदर्शन गर्ने तयारी भइरहेको छ । फ्रान्सेली ट्रेड युनियन र वामपन्थी पार्टीहरूले तिनीहरूलाई संगठित गरेका छन्।

वास्तवमा, राष्ट्रपति इमानुएल म्याक्रोनले वामपन्थी दलहरूका प्रधानमन्त्रीको उम्मेदवारलाई प्रधानमन्त्री नियुक्त गरेनन् । उनको यही निर्णयविरुद्ध प्रदर्शन भइरहेको छ ।

अर्कोतर्फ ईयू ब्रेक्जिटका पूर्व वार्ताकार मिशेल बार्नीले सरकार गठनका लागि वामपन्थीलगायत अन्य दलहरूसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।