Tuesday, June 16, 2026
Home Blog Page 692

एनआरएनले गर्यो बाढीपहिरो पीडितलाई एक करोड सहयोग

0

लण्डन: लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले रु एक करोड सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसीका अनुसार आइतबार भएको भर्चुअल बैठकमा सङ्घका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल बाढीपीडितका लागि रु एक करोड सहयोग गर्ने निर्णय गरेका हुन् ।

बैठकले गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष डा हेमराज शर्माको संयोजकत्वमा उच्चस्तरीय आर्थिक सहयोग सङ्कलन समिति गठन गरेको छ । समितिमा सङ्घका विभिन्न पदाधिकारी, क्षेत्रीय संयोजक तथा राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरू समावेश छन् । पदाधिकारीको बैठक पछि राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद्को आपतकालीन संयुक्त बैठक आयोजना गरी सहयोग सङ्कलनमा थप छलफल गरिने जनाइएको छ ।

अध्यक्ष डा केसीका अनुसार एनआरएनएले राष्ट्रिय समितिको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा भौतिक रूपमा उपस्थित भएर राहत वितरण गर्ने तयारी गरिरहेको छ । बैठकले वर्षाका कारण उत्पन्न विपद्का घटनामा ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जलि व्यक्त गर्दै, शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । यसैक्रममा सङ्घले प्रभावित क्षेत्रको क्षति अध्ययन गर्न काठमाडौँमा रहेका सोम सापकोटा र कृष्ण तिमल्सिनासहितको समिति गठन गरेको छ । समितिले आफ्नो प्रतिवेदन अन्तर्राष्ट्रिय परिषद् (केन्द्रीय समिति) बैठकमा प्रस्तुत गर्नेछ । बाढीपहिरोबाट काठमाडौँ, भक्तपुर, मकवानपुर, ललितपुर, काभ्रे, धादिङ, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोट, पाँचथर, धनकुटा, उदयपुर, सोलुखुम्बु, इलाम, महोत्तरी र सप्तरी जिल्लाका बासिन्दा प्रभावित छन् ।

सङ्घका महासचिव गौरीराज जोशीले सङ्घको वार्षिक साधारणसभाको तयारीबारे पनि बैठकमा छलफल भएको जानकारी दिनुभयो । उक्त साधारणसभा आगामी कात्तिकको ११ र १२ मा काठमाडौँमा आयोजना हुँदैछ ।

बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु, ३० जना बेपत्ता

0

काठमाडौँ: अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छभने ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपदमा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो ।

बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।

बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताउनुभयो ।

पक्की पुल बगाएपछि रामेछाप–सिन्धुली वैकल्पिक मार्गबाट यातायात सुचारु

0

मन्थली (रामेछाप): सुनकोशी नदीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पक्की पुल बगाएपछि वैकल्पिक मार्गको रुपमा मन्थली–पकरवास–भीरपानी सडकखण्ड मर्मत गरी आइतबार साँझबाट यातायात सुचारु भएको छ ।

मन्थलीबाट गाइखुरा पुल हुँदै पकरवास–भिरपानी सडकखण्ड मर्मत गरेसँगै सित्खा हुँदै र सिन्धुलीको मुलकोटसम्मको आवागमन सुचारु भएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिनुभयो । खुर्कोटको पुल बाढीले बगाएपछि मन्थली–पकरवास–भीरपानी सडकखण्ड सुचारु गर्न जिल्लास्थित सरोकारवालाले पहल थालेका थिए । मन्थलीदेखि सिन्धुलीको वैकल्पिक मार्ग आवागमन सुचारु भएपछि तराइका जिल्लासँग यातायातको माध्यमबाट सम्पर्क पुनःस्थापित भएको छ

आइतबार प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले खुर्कोटको पुल बगाएसँगै जिल्लामा यातायात सुचारु गराउन वैकल्पिक सडक मन्थली–पकरवास–भिरापनी–सित्खा सडक तत्काल मर्मत गरी सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सडक सुचारु गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना स्थानीय र गाँउपालिकाको टोली आइतबार साँझ अबेरसम्म खटिएका थिए । यसैबीच यातायात सेवा अवरुद्ध भएपछि तारा एयरले आइतबार देखि दैनिक मन्थली–काठमाण्डौ उडान सुरु गरेको छ ।
बाढीपहिराका कारण सदरमुकाम मन्थली लगायतका अधिकांश ठाउँमा विद्युत्, टेलिफोन, इन्टरनेट र खानेपानी सेवा अझै अवरुद्ध छन् ।

बाढी पसेको क्षेत्रका कच्ची घरहरू माटो गलेर घर भत्किन थाले

0

बरहथवा (सर्लाही): सर्लाहीको विभिन्न स्थानीय तहमा बाढी पसेको क्षेत्रका कच्ची घरहरू भत्किन थालेका छन् । शनिबार बाढीपछि डुबानमा परेको बरहथवा नगरपालिका–१५, हरपुर्वाका उमेश यादवको कच्ची घर भत्कियो । खपडाको छाना भएको यादवको कच्ची घर लडेको प्रहरीले जनाएको छ । चार फिटसम्म पानी जमेपछि माटो गलेर घर भत्किएको स्थानीयको भनाइ छ ।

डुबानमा परेर घर भत्किएपछि बिचल्ली भएको यादवले गुनासो गर्नुभयो । लगातारको वर्षापछि बागमती, लखन्देही र झिम नदीको बाँध फुटेर गाउँमा पानी पसेको थियो । पानी पसेपछि गाउँका कच्ची घरहरू भत्किन थालेका हुन् । घर भत्किएपछि कतिपयले आफन्तका घरमा शरण लिएपनि अधिकांशले पानी जमेकै घरमा रात बिताएको रामनगर गाउँपालिकाका स्थानीयवासी जितेश यादवले जानकारी दिनुभयो ।

बागमती नदीको ड्याम फुटेर गाउँ पसेको पानीले १० भन्दा बढी कच्ची घरमा क्षति पुगेको रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवले जानकारी दिनुभयो । जिल्लाको रामनगर गाउँपालिका, बलरा नगरपालिका, बसवरिया, धन्कौल र ब्रह्मपुरी गाउँपालिकामा बाढी पसेपछि माटो गलेर ठूलो सङ्ख्यामा कच्ची घरहरूमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

“क्षति भयो घर बगायो÷डुबायो भन्ने गुनासो आएको छ”, उहाँले भन्नुभयो, “तत्काल सम्बन्धित पालिकाहरूले व्यवस्थापन गरेका छन् । बाँकी विवरण सङ्कलनमा जुटेका छौँ । यकिन तथ्याङ्क आउन केही समय लाग्छ ।”

बागमती नदीमा आएको बाढी पसेर बरहथवा नगरपालिका–१४ र १५ को हरपुर्वा गाउँ, बसवरिया गाउँपालिकाको १ र २ नं वडा मानपुर र ढापटोल, धन्कौल गाउँपालिका–५, स्थित महिनाथपुर, रामनगर गाउँपालिकाको नदी तटीय गाउँ, बलरा नगरपालिका–१ र २ स्थित छन्कीटोल र जयहथिऔल गाउँ डुबानमा छ ।

लखन्देही नदीमा आएको बाढीले चक्रघट्ट गाउँपालिकास्थित शिवनगर सक्रौल गाउँ र झिम नदीमा आएको बाढीले त्रिभुवन नगर गाउँका केही घरहरु डुबान परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाढीपहिरो र डुबान प्रभावितलाई तत्काल राहत प्रदान गर्न अध्यक्ष नेपालद्वारा माग

0

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले अविरल वर्षाबाट प्रभावितलाई उद्धार, राहतमा थप क्रियाशील हुन आफ्ना स्थानीय तहका पार्टीपङ्क्तिलाई आह्वान गरेको छ ।

पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अविरल वर्षापछि बेपत्ता भएकाको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार तथा स्वयंसेवक संस्थासँग समन्वय गरेर काम गर्न नेता कार्यकर्ता सबैलाई विशेष अपिल गर्नुभएको छ । अध्यक्ष नेपालद्वारा आइतबार जारी विज्ञप्तिमा बाढीपहिरो र डुबानले देशका विभिन्न भागमा नागरिकको ज्यान गएको, नागरि सम्पर्कविहीन भएका र घाइते भएका जनाउँदै प्राकृतिक विपदबाट नागरिकका घर क्षतिग्रस्त भएका तथा भौतिक सम्पत्ति नष्ट हुँदा पार्टीलाई मर्माहत तुल्याएको उल्लेख गर्नुभएको छ ।

विज्ञप्तिमा उहाँले बाढी पहिरोमा बेपत्ता भएकाहरूको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र सङ्घी सरकारसंग आग्रह समेत गर्नुभएको छ । विज्ञप्तिमा प्राकृतिक विपद्मा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकमा श्रद्धाञ्जलि तथा शोक सन्तप्त परिवार र आफन्तजनमा समवेदना प्रकट गर्नुभएको छ ।

बाढीपहिरो र डुबान प्रभावितका नागरिकहरूको उद्धार तथा बिचल्लीमा परेकाहरूको बस्ने र खाने व्यवस्था मिलाउन, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन, अवरुद्ध सडकको तत्काल मर्मतसम्भार गर्न उहाँले सरकारसँग माग गर्नुभएको छ । उहाँले विज्ञप्तिमार्फत सम्भावनालाई जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउनसमेत सबैमा अनुरोध गर्नुभएको छ ।

बाढी सम्बन्धी सन्देश दिन दुई दिनमा पठाइयो ४१ लाख एसएमएस

0

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले गत शुक्रबार र शनिबार गरी दुई दिनमा ४१ लाख सेवाग्राहीलाई मोबाइल एसएमएस पठाएको जानकारी दिएको छ । बाढीसम्बन्धी जानकारी दिन र बाढीबाट सुरक्षित रहन सन्देश प्रवाह गर्दै नेपाल टेलिकम र एनसेलबाट उक्त एसएमएस पठाइएको हो ।

जल तथा मौसमविज्ञान विभागका बाढीविद् विनोद पराजुलीले एनसेलबाट करिब २१ लाख ७२ हजार र नेपाल टेलिकमबाट १९ लाख २१ हजार मोबाइल एसएमएस सर्वसाधारणलाई पठाइएको जानकारी दिनुभयो । “प्राकृतिक विपद्बाट हुन सक्ने सम्भावित धनजनको क्षति न्यूनीकरण गर्ने लक्ष्यले सर्वसाधारणलाई मोबाइल एसएमएस पठाउन नेपाल टेलिकम र एनसेलसँग समझदारी पत्रमा हस्ताक्षर भइसकेको थियो”, उहाँले भन्नुभयो, “असोज ११ र १२ गते गरी दुई दिनमा मात्रै विपद्को जोखिम भएको क्षेत्र आसपासमा बस्ने सर्वसाधारणलाई एसएमएस पठाएका थियौँ ।”

हाल जल तथा मौसम विज्ञान विभागले मनसुनजन्य विपत्तिबाट जोगाउन वार्षिक ९० लाख एसएमएस सर्वसाधारणलाई पठाउने गरेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यले बताउनुभयो । “हामी प्रत्येक दिन बिहान ६ बजे र बेलुकी ६ बजे मौसमी बुलेटिन प्रकाशन गर्छौँ, यसले तीन दिनसम्मको मौसमसम्बन्धी जानकारी दिन सहयोग गरेको छ”, उहाँले भन्नुभयो, “यस्तो विपद् ल्याउने किसिमको वर्षा हुन्छ भनेर हामीले मौसमी बुलेटिनमा प्रकाशित गरिसकेका थियौँ । विपद्पछि पनि पूर्व सूचना दिन एसएमएस पठाएका थियौँ । कयौँले थाहा पाएर पनि हेल्चेक्र्याइँ गरेका कारण मानवीय क्षति भएको छ ।”

उहाँका अनुसार बाढी र वर्षासम्बन्धी जानकारीका लागि टोल फ्री नम्बर ११५५ र उद्धारका लागि मद्दत माग्न ११४९ को व्यवस्था गरिएको छ । नेपाल टेलिकम र एनसेलले बाढीको पूर्वसूचना उपलब्ध गराउन निःशुल्क एसएमएस प्रवाह गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर (एमओयू) भएपछि एसएमएस प्रवाह गर्न सहज भएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओली अमेरिकाबाट आज स्वदेश फर्कँदै

0

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई आज अपराह्न ४ः०० बजे स्वदेश फर्कँदै हुनुहुन्छ । महासभामा भाग लिन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क जानुभएका प्रधानमन्त्री प्रधानमन्त्री ओलीले महासभालाई असोज १० गते सम्बोधन गर्नुभएको थियो ।

महासभाका क्रममा यस वर्ष ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ भन्ने विषयमा केन्द्रित भई छलफल भयो । न्युयोर्क रहँदा प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटनसत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभयो । उहाँले अति कमविकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई सम्बोधनसहित विभिन्न कार्यक्रममा सहभागी हुनुभयो ।

उहाँले भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका आफ्ना समकक्षीसँग भेटघाट गरी द्विपक्षीय वार्ता गर्नुभयो । प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकृत हुनुहुन्छ ।

सहकारी ठगी प्रकरण: छविलाल जोशीको बयान सकियो

0

कास्की (पोखरा): सहकारीको रकम अपचलन गरी गोर्खा मिडियामा लगानी गरेको आरोपमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीको बयान आज सकिएको छ । जिल्ला सरकारी वकिलको उपस्थितिमा कास्की प्रहरीले उनीसँग बयान लिएको हो ।

‘अहिलेका लागि बयान सकिएको छ । यही बयानका आधारमा अदालतमा पेस गर्छौं,’ कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले भने, ‘आवश्यक पर्‍यो भने फेरि पनि थप बयान लिन सकिन्छ ।’ जोशीलाई सुरुमा ५ दिनको म्याद दिइएको थियो ।

बयान र अनुसन्धान नसकिएको भन्दै थप ७ दिन म्याद थपिएकोमा बयान पूरा भएको थापाले बताए । उनलाई असोज ६ गते काठमाडौँबाट पक्राउ गरेर जहाज मार्फत पोखरा ल्याइएको थियो ।

लेबनानको सिमानामा इजरायलको ट्यांक तैनाथ

0

काठमाडौं: हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको मृत्युपछि इजरायलले आइतबार लेबनानसँगको सीमामा ट्यांकहरू तैनाथ गरेको छ।

अल्जजीराले  ट्यांकहरू तैनाथ गरेका तस्विर सार्वजनिक गरेको छ। इजरायलले लेबनानमा हिजबुल्लाहका केन्द्रमा जमिनी आक्रमण गर्ने यस अघि नै चेतावनी दिएको थियो ।  अर्कोतर्फ नसरल्लाहको मृत्युपछि पनि इजरायलले लेबनानमा आक्रमण जारी राखेको छ।

न्यूयोर्क टाइम्सका अनुसार लेबनानको स्वास्थ्य मन्त्रालयले यी आक्रमणमा ३३ जनाको मृत्यु भएको र १९५ जना घाइते भएको बताएको छ। रिपोर्टमा नसरल्लाहलाई मार्न इजरायलले सेप्टेम्बर २७ मा ८ वटा लडाकु विमान पठाएको दाबी गरेको छ।

यसमार्फत हिजबुल्लाहको मुख्यालयमा २ हजार पाउण्ड मूल्यका १५ वटा बम खसालेको थियो। रिपोर्टका अनुसार यी अमेरिका निर्मित बीएलयू(१०९ बम थिए, जसलाई बंकर बस्टर पनि भनिन्छ । यी तोकिएको स्थानमा भूमिगत प्रवेश गर्न र विस्फोट गराउन सक्षम रहेको बताइन्छ।

बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४८ पुग्यो

0

काठमाडौं: शुक्रबार र शनिबार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ ।

नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्म गरेको अद्यावधिक विवरणअनुसार, ५५ जना अझै बेपत्ता छन्। बाढीपहिरोबाट उद्धार गरिएका १ सय १ जना घाइते छन्।

३ हजार ६ सय ६१ जनाको उद्धार गरिएको छ। काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगानजिकै रहेको झ्याप्लेखोलामा मात्रै ३५ वटा शव गाडीसँगै पुरिएको अवस्थामा फेला परेका छन्। काभ्रे जिल्ला भरिमा ३१ जनाको ज्यान गएको छ। ललितपुरमा २३ जनाको मृत्यु भएको छ।