Tuesday, June 16, 2026
Home Blog Page 681

सुदूरपश्चिममा एक सय ६२ जुवाडे पक्राउ

0

सुदूरपश्चिम: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना कार्यान्वयन गर्ने क्रममा एक सय ६२ जुवाडेलाई पक्राउ गरेको छ । कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा रु नौ लाख ६४ हजार छ सय ८६ सहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कैलालीबाट ७७ र कञ्चनपुरबाट ८५ जना रहेका र उनीहरूलाई कानुनबमोजिम कारबाही अघि बढाइएको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले बताउनुभयो । प्रदेशका नौ जिल्लामा सामान्य अवस्थामा सात हजार पाँच सय प्रहरी परिचालित हुने गरेकामा चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका लागि थप चार हजार गरी ११ हजार पाँच सय प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

“चाडपर्वलाई लक्षित गरेर विगतका घटनाको समेत विश्लेषण गर्दै प्रदेशमा सुरक्षा योजना बनाएर लागु गरिएको हो । सुरक्षा योजनाअन्तर्गत सीमानाकामा सञ्चालनमा रहेका सहायता कक्षमा प्रहरी सङ्ख्या बढाइएको छ”, प्रहरी नायब महानिरीक्षक केसीले भन्नुभयो ।

सीमा क्षेत्रबाट लागुऔषधको कारोबार, विस्फोटक पदार्थलगायत मालसमानको चोरी तस्करीका घटना हुन नदिन नाकामा सञ्चालित सहायता कक्षमा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । सुरक्षा योजना लागु भएपछि पछिल्लो आठ÷दश दिनमा सीमा क्षेत्रबाट तस्करी भएर ल्याइएको झण्डै रु ५० लाख बराबरको मालसामान बरामद गर्न गरिएको पनि प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दसैँमा पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् तयारी

0

गण्डकी: दसैँ, तिहार जस्ता ठूला चाडबाड सम्मुखमा छन् । दसैँमा लामो बिदा हुने भएकाले मानिसहरु घुमफिरको योजना बनाइरहेका हुन्छन् । पदयात्राका लागि यहाँका अन्नपूर्ण, मनाश्लुलगायत क्षेत्रमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।

नेपालीहरु विशेष गरी दसैँ मनाए लगत्तै पदयात्रामा निसक्ने गर्छन् । ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार असोजदेखि मङ्सिरसम्मको याम पदयात्राका लागि उत्तम
मानिन्छ ।

कुनै समय विदेशी पर्यटकले चिनाएको नेपालको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ । प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द बटुल्न पर्यटहरु पदयात्रामा निस्कन्छन् । शारीरिक, मानसिक स्वास्थ्य र तन्दुरुस्तीका दृष्टिले पनि पदयात्रा गर्नु उपयुक्त मानिन्छ । पदयात्रा पर्यटनका लागि विश्वमै चर्चित बनेका गन्तव्यस्थल नेपालमा छन् ।

बर्सेनि लाखौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक ती गन्तव्यस्थलको पदयात्रामा निस्कन्छन् । तपाईं पनि यसपालिको दसैँ बिदामा पदयात्राका लागि कुनै गन्तव्यस्थल रोज्दै हुनुहुन्छ भने त्यसका लागि गर्नुपर्ने बन्दोबस्ती र तयारीबारे ‘टान’ गण्डकीका अध्यक्ष आचार्य अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख डा रविन कडरिया र पदयात्री तथा पर्यटक पथप्रदर्शक दिवस गुरुङसँगको कुराकानीमा आधारित रहेर हामीले यो सामग्री प्रस्तुत गरेका छौँ ।

खर्चको जोहो
तपाईं कुन गन्तव्यमा जाँदै हुनुहुन्छ भन्ने कुराले खर्चको निर्धारण गर्छ । सामान्यतया दिनको रु तीनदेखि चार हजारसम्म जोहो गर्नुहोस् । सगरमाथा क्षेत्र जाँदै हुनुहुन्छ अझ बढी पैसा लाग्छ । छोटो, मध्यम या लामो दुरीमध्ये जुन रोज्नुहुन्छ त्यसअनुसार खर्च तलमाथि हुनुसक्छ । पर्यटकीय क्षेत्रको सेवासुविधा यसै पनि महङ्गो हुन्छ । अहिले प्रायः पदयात्रा गन्तव्यमा इन्टरनेट र अनलाइन सुविधा पुगेको छ । अनलाइन भुक्तानी सेवा पनि छ । विकट गाउँबस्ती र भूगोलतिर त्यो सेवा नहुन पनि सक्छ । नगद पनि बोकेर जाँदा सजिलो हुन्छ ।

गन्तव्यस्थलको पूर्वअध्ययन
आफू घुमफिरमा जान लागेको गन्तव्य र त्यहाँको भौगोलिक अवस्थाबारे जानकारी लिनुहोस् । सूचना बटुल्नुहोस् । त्यस क्षेत्रमा रहेका होटल, रेष्टुराँ र चिया घरबारे बुझ्नुहोस् । गुगल या अन्य नक्साको सहायता लिएर पनि गन्तव्यस्थलबारे धेरै कुरा थाहा पाउन सकिन्छ । कति लामो र उचाइसम्मको पदयात्रा हो त्योबारे पहिल्यै थाहा पाएर आफूलाई शारीरिक र मानसिक रुपमा तयार राख्नुपर्छ । नयाँ ठाउँबारे जान्ने जिज्ञासा र उत्साहसहित पदयात्रामा निस्कनुपर्छ ।

बन्दोबस्ती
याम, मौसम, हावापानी आदि विचार गरेर लुगालगायत पदयात्राका लागि चाहिने सामग्री जुटाउनुपर्छ । सामानको जोहो गर्दा हतार गर्नुहुँदैन । झोलामा राख्नुपर्ने महत्वपूर्ण सामान छुट्न सक्छ । ट्रेकिङ झोला, जुत्ता, लठ्ठीलगायत सामग्री पदयात्राका लागि नभइहुँदैन । हलुका र धेरै सामान अट्ने झोला किन्नुहोस् । ६५ लिटर जानेसम्मको ट्रेकिङ झोला भयो भने २५ किलोसम्म तौल धान्छ । आफूले बोक्ने सामानको लेखाजोखा गरेर त्यही अनुसार क्षमता भएको झोला किन्न सकिन्छ । बजारमा ट्रेकिङका लागि चाहिने सामग्री सजिलै पाइन्छ । ती सामग्री किन्न १५ हजार जति खर्च हुन्छ । गुणस्तर र ब्राण्डका कारण कुनै सामान अझै महँगो पनि पर्छ ।

गोल्डस्टारलगायत नेपाली ब्राण्डका टे«किङ जुत्ता पनि अहिले बढी प्रयोगमा आइरहेको छ । जुत्ता आरामदायी, बाक्लो सोल र ग्रिप भएको, झट्ट पानी नछिर्ने, हिलो र हिउँमा नचिप्लने चाहिन्छ । ट्रेकिङ ज्याकेट, टिसर्ट, ट्रयाक, ट्राउजर, टोपी, मोजा र पञ्जा आवश्यक पर्छ । गर्मी याम छ भने सोही अनुसारको लुगा चाहिन्छ । जाडो याम छ र हिमाली क्षेत्रमा जाँदै हुनुहुन्छ भने फेदर डाउन ज्याकेटलगायत न्यानो लुगा बोक्नुहोस् । पदयात्रामा जाँदा आँखाका सुरक्षाका लागि चश्मा अनिवार्य चाहिन्छ । गर्मी याममा घामबाट जोगिने चश्मा प्रयोग गर्नुपर्छ । टोपी र ह्याट पनि त्यही अनुसार चाहिन्छ । छालालाई घामबाट जोगाउने क्रिम, लोसन पनि प्रयोग गर्न सकिन्छ ।

एक्लै निहिँड्नुस्
नयाँ र टाढाको गन्तव्यस्थल छ भने एक्लै पदयात्रामा निस्कनुहुँदैन । नजिक र मानिसको आउजाउ बाक्लो हुने ठाउँ छ भने छोटो दुरीको पदयात्रा एक्लै पनि गर्न सकिन्छ । पदयात्रामा जाँदा पथप्रदर्शक साथमा लिएर जाँदा धेरै सहज हुन्छ । समूहमा पदयात्रा गर्दा झनै सजिलो । सुरक्षादेखि अन्य व्यववस्थापकीय तयारीका लागि पनि समूहमा जाँदा उपयुक्त हुन्छ । पछिल्लो समय पथप्रदर्शक नलिई पदयात्रामा जान नपाइने नीति पनि सरकारले ल्याएको छ । एक्लै हिँड्दा सुरक्षा जोखिम हुन्छ । दुर्घटना भइहोलमा उद्धार जटिल बन्छ । हिमाली भेग छ भने विशेष ख्याल गर्नुपर्छ । हाम्रो हिमालय क्षेत्रमा झण्डै छ हजार मिटरसम्म उचाइ छिचोलेर पदयात्रा गर्नुपर्ने गन्तव्य छन् ।

औषधि र हलुका खानेकुरा
पदयात्रामा निस्कदाँ प्राथमिक उपचारका औषधि र सामग्री साथमा बोक्नुपर्छ । आफूले कुनै नियमित खाने गरेको औषधि छ भने नबिर्सिइ झोलामा राख्नुहोस् । उचाइमा जाँदा लेक लाग्ने समस्या हुनुसक्छ । कसैलाई तीन हजार मिटरदेखि माथि जाँदा ‘अल्टिच्युड सिकनेस’को लक्षण देखिन थाल्छ । त्यसकार एकैदिन धेरै हिँड्नुहुँदैन । विश्राम लिँदै पदयात्रा गर्नुपर्छ । तीनहजार मिटरदेखि माथिको यात्रा छ भने दिनमा पाँच सय मिटर मात्र उकालो चढ्नु उपयुक्त मानिन्छ । यात्रामा कहिलेकाहिँ आपतकालीन अवस्था आइपर्न सक्छ । त्यसैले पर्यटक सूचना केन्द्र, प्रहरी, होटललगायत स्थानीयवासीको सम्पर्क नम्बर लिनुपर्छ । पदयात्रामा जाँदा पानीलगायत हलुका खानेकुराको प्रबन्ध गर्नुपर्छ । बिस्कुट, चक्लेट, काजु, बदाम आदि साथमा राख्दा राम्रो हुन्छ ।

विदेशी मुद्राको आजको विनिमय दर

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ २४ पैसा , युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ १६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ६३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०७ पैसा र बिक्रीदर ९० रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ७९ रुपैयाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ र बिक्रीदर नौ रुपैयाँ ४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा कायम छ ।

साथै साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९२ पैसा र बिक्रीदर नौ रुपैयाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १२ रुपैयाँ नौ पाँच र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १९ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २५ पैसा र बिक्रीदर १७ रुपैयाँ ३३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ५८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १७ पैसा तोकेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

बली दिने राँगोका लागि पौने पाँच लाखको बोलकबोल

0

बेनी (म्याग्दी): बडा दसैँको नवमीमा बली चढाइने सरकारी राँगोलाई मार हान्न पौने पाँच लाखको बोलकबोल लागेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा नवमीमा बली चढाइने सरकारी राँगो मार हान्नका लागि रु चार लाख ७१ हजारको बोलकबोल भएको हो ।

बिहीबार राति भएको कालरात्रिमा खुला बोलकबोलमार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । करिब ४५ मिनेट चलेको बोलकबोलमा सहभागी तीनजनाको प्रतिस्पर्धामा रघुगङ्गा गाउँपालिका–३ अक्षताका सोवित भण्डारीले सबैभन्दा धेरै कबोल गर्नुभएको भगवती कोत मन्दिर पुजा व्यवस्थापन समितिले जनाएको छ ।

बोलकबोलमा भगवतीका रमेश कटुवाल र अक्षताका भण्डारीबीच प्रतिस्पर्धा हुँदा समितिले तीन मिनेटको समय दिएको थियो । अन्तिममा लिखित रुपमा भएको बोलकबोल भण्डारीको पक्षमा गएको थियो ।
सबैभन्दा बढी रकम कबोल गर्ने व्यक्तिलाई नै मार हान्न दिने परम्पराअनुसार नवमीको मार हान्ने व्यक्तिको टुङ्गो लगाइएको भगवतीका वडा अध्यक्ष अमृत भण्डारीले जानकारी दिनुभयो ।

गत वर्षको नवमीमा एकेन्द्र भण्डारीले सबैलेभन्दा धेरै रु तीन लाख ३० हजार रकम तिरेर सरकारी मार हान्नुभएको थियो । यस क्षेत्रकै शक्तिपीठ मानिने भगवती कोतमा यसअघि २०७९ सालको नवमीमा रु तीन लाख १५ हजार, २०७८ सालको दसैँको नवमीमा भगवतीमा रु तीन लाख, २०७६ सालको दसैँमा दुई लाख ८० हजारमा मार हानेका थिए ।

नवमीको दिन बली दिइने राँगो मार हान्ने व्यक्तिहरुको मनोकांक्षा पूरा हुने जनविश्वासका कारण आकांक्षीहरु धेरै हुने भएकाले खुला बढीबढाउमार्फत छनौट गरिँदै आइएको भगवती कोतमन्दिर पूजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।

भगवती कोत मन्दिरमा कालरात्रिमा कोटमन्दीरमा सर्वसाधारणको बीचमा खुल्ला बोलकबोल गर्ने परम्परागत छ । कोत मन्दिरमा सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास छ ।

तत्कालीन बाइसे/चौबीसे राज्यकालदेखि यहाँको कोतमन्दिरमा बढीबढाउ गरी राँगो हान्ने चलन छ । नवमीका दिन कोत मन्दिरमा सरकारी मार हानेपछि पूजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेहरुले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन छ ।

ओसामा बिन लादेनका छोरालाई फ्रान्सले गर्‍यो देश निकाला, सदाका लागि प्रतिबन्ध

0

पेरिस। फ्रान्सले आतंकवादी ओसामा बिन लादेनका छोरा ओमार बिन लादेनलाई सदाका लागि प्रतिबन्ध लगाएको छ। बीबीसीका अनुसार फ्रान्सका आन्तरिक मन्त्री ब्रुनो रिटेउले मंगलबार यो आदेशमा हस्ताक्षर गरेका छन्।

गृहमन्त्री रिटेउले अब ओमर बिन लादेन फ्रान्स फर्किने आशा सदाका लागि समाप्त भएको बताएका छन्।

ओमरले सामाजिक सञ्जालमा आतंकवादलाई बढावा दिने पोस्ट गरेको रितेयुले बताए। ४३ वर्षीय उमर सन् २०१६ देखि फ्रान्सको नर्मन्डीमा बस्दै आएका थिए। उनले बेलायती नागरिक जेना मोहम्मद अल सबाह (जेन फेलिक्स ब्राउन) सँग विवाह गरेका छन्। त्यसपछि उनलाई फ्रान्समा बस्ने अनुमति दिइएको थियो। फ्रान्समा उनले चित्रकला गरेर आफ्नो जीविकोपार्जन गर्थे।

गत वर्ष ओमरले बुबा ओसामा बिन लादेनको जन्मदिनमा पोस्ट गरेका थिए। यसमा उनले बुवाको प्रशंसा गरेका छन्। यसलाई आतंकवादको समर्थनका रूपमा हेरिएको थियो। यसपछि उनको फ्रान्समा बस्ने अनुमति दुई वर्षका लागि रद्द गरियो। त्यसपछि उनी श्रीमतीसँग कतार गए।

उमर बिन लादेनको जन्म सन् १९८१ मा साउदी अरबमा भएको थियो। उनी ओसामाका चौथो छोरा हुन्। ओमर बिन लादेन सन् १९९१ देखि १९९६ सम्म बुबासँग सुडानमा बसेका थिए। यस अवधिमा उनी अल कायदाको अर्को उत्तराधिकारी मानिन्थ्यो।

२००१ मा आफ्नो बुबा छोडे पछि ओमरले स्वीकार गरेका थिए उनले अल कायदाको प्रशिक्षण शिविरहरुमा हतियार प्रशिक्षण लिएको थियो। तर पछि ओमरले भने कि उनले आफ्नो बुबालाई यसकारण छोडेका थिए कि उनी मानिसहरू मार्न चाहँदैनन्।

सन् २०११ मा ओसामा बिन लादेन पाकिस्तानमा मारिए पछि ओमरले अमेरिकी अधिकारीहरूले आफ्ना बाबुको शव समुन्द्रमा नफालेको दाबी गरेका थिए। तर, अमेरिकी सेनाले लादेनको शव समुद्रमा फ्याँकेको बताउँदै आएको छ।

रतन टाटाको निधन: को बन्ला टाटाको ६० हजार करोड सम्पतिको उत्तराधिकारी ?

0

मुम्बई। भारतका प्रसिद्ध उद्योगपति तथा टाटा सन्सका अध्यक्ष रतन टाटाको गए राती निधन भएको छ । टाटालाई उत्कृष्ट र विश्वव्यापी ब्रान्ड बनाउन उनको योगदानलाई बिर्सन कसैले पनि सक्दैन ।

तर, रतन टाटा एक अर्बपति मात्र नभई टाटा समूहसँग मिलेर यो देश र यहाँका करोडौं जनतालाई सहयोग दिने व्यक्तिसमेत थिए । उनले आम्दानीको कराडौं रकम दिनदुःखीको सेबामा लगाएका थिए । त्यसैले रतन टाटाको निधनले सबैलाई दुःख मनाऊ गरिरहेका छन ।

आफ्नो विनम्र जीवनशैली र टाटा ट्रस्टहरू मार्फत परोपकारी कार्यमा गहिरो प्रतिबद्धताका लागि पनि परिचित उनको निधन पछि उनको उत्तराधिकारी को हुने भन्ने प्रश्न उठिरहेको छ । झन्डै ६० हजार करोड रुपैयाँको सम्पत्तिका मालिक रतन टाटा जीवनभर अविवाहित नै रहेका थिए । उनको सम्पत्ति र उत्तराधिकारीका बारेमा अहिले भारतीय मिडियामा बहस चलिरहेको छ ।

रतन टाटाको उत्तराधिकारीको बारेमा आजदेखि छलफल सुरु भएको हैन, यी बहसहरु लामो समयदेखि चल्दै आएका छन् । टाटा परिवारमा एन चन्द्रशेखर सन् २०१७ देखि टाटा सन्सका अध्यक्ष छन्। उनीहरू बाहेक टाटा समूहका विभिन्न कम्पनीका धेरै व्यक्तिहरू छन्, जसले भविष्यमा टाटा समूहमा विभिन्न जिम्मेवारीहरू निर्वाह गर्न सक्ने देखिएको छ ।

को बन्ला टाटाको उत्तराधिकारी ?

नोएल टाटा

रतन टाटाका पिता नवल टाटाको दोस्रो विवाह सिमोनसँग भएको थियो । उनका छोरा नोएल टाटा रतन टाटाका सौतेनी भाइ हुन्। यो सम्बन्धले उनलाई रतन टाटाको विरासतको उत्तराधिकारी बनाउँन मधत गर्नेछ। नोएल टाटाका तीन सन्तान छन्, जसमा माया, नेभिल र लेआ छन्। यसकारण रतन टाटाको उत्तराधिकारी यी मध्ये जो पनि हुन सक्छन् ।

माया टाटा

यीमध्ये माया टाटा ३४ वर्षकी भइन् र टाटा समूहमा निरन्तर प्रगति गरिरहेकी छन् । बेइज बिजनेस स्कूल र वारविक विश्वविद्यालयबाट शिक्षा प्राप्त गरेपछि माया टाटाले टाटा अपरच्युनिटीज फण्ड र टाटा डिजिटलमा धेरै महत्त्वपूर्ण पदहरू सम्हालिसकेकी छिन्। यस समयमा, मायाको रणनीतिक सीप र दूरदर्शिताले टाटा नियो एप सुरु गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको थियो।

नेभिल टाटा

नेभिल टाटा ३२ वर्षका भइसकेका छन् र आफ्नो पारिवारिक व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउन व्यस्त छन्।नेभिल टाटाले टोयोटा किर्लोस्कर समूहकी मानसी किर्लोस्करसँग विवाह गरेका छन् र स्टार बजार, ट्रेन्ट लिमिटेडको प्रमुख हाइपरमार्केट चेन प्रमुख छन्।

लेह टाटा

नोएल टाटाकी जेठी छोरी लिआ टाटा ३९ वर्षकी भइन् । उनले टाटा समूहको हस्पिटालिटी क्षेत्रमा आफ्नो विशेषज्ञता प्रमाणित गरिरहेकी छिन् । स्पेनको आईई बिजनेस स्कुलमा अध्ययन गरेकी लेहले ताज होटल्स रिसोर्ट र प्यालेसमा महत्वपूर्ण योगदान दिएकी छिन् र विगत १० वर्षदेखि होटल उद्योगसँग आबद्ध छिन् ।

माया, नेभिल र लेहलाई टाटा मेडिकल सेन्टर ट्रस्टको ट्रस्टी बनाइएको छ । टाटा समूहसँग आबद्ध परोपकारी संस्थामा पहिलो पटक युवालाई समावेश गरिएको छ ।

यो ठूलो प्रश्न उत्तराधिकारसँग सम्बन्धित छ:

रतन टाटाले टाटा समूहको व्यापार रणनीति मात्र निर्देशित गरेनन्, सो समूहको परोपकारी पहलहरूसँग पनि घनिष्ठ रूपमा संलग्नसमेत थिए। यस्तो अवस्थामा, उत्तराधिकारीको सन्दर्भमा आधारभूत प्रश्न यो हो कि जो उत्तराधिकारी भए पनि आविष्कार, यसको सामाजिक प्रभाव र टाटा समूहको अखण्डतालाई कायम राख्ने जिम्मेवारी लिन सक्षम छन् कि छैनन् ? त्यो हेरिएको छ ।

इजरायली आक्रमणबाट गाजाको विद्यालयमा २८ को मृत्यु

0

काठमाडाैं। गाजाको एक विद्यालयमा बिहीबार भएको हवाई आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको प्यालेस्टिनी रेड क्रिसेन्टले बताएको छ। इजरायली सेनाले भने हमासको कमान्ड केन्द्रमा आक्रमण गरेको जनाएको छ।

“प्यालेस्टिनी रेड क्रिसेन्ट टोलहरूले इजरायली कब्जामा रहेको दीर अल-बलाहको रफिदा विद्यालयलाई सेनाले लक्षित गर्दा २८ मृतक र ५४ घाइतेलाई सहयोग गरेका छन्”, संस्थाले भनेको छ। गाजाको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले वक्तव्यमा समान मृत्यु संख्या उपलब्ध गराएको छ।

‘रफिदा विद्यालयको रूपमा पहिले प्रयोग भएको परिसरभित्र रहेको कमान्ड-एन्ड कन्ट्रोल केन्द्रबाट’ सञ्चालन गरिरहेका प्यालेस्टिनी लडाकूहरूलाई आक्रमणले लक्षित गरेको इजरायली सेनाले एक वक्तव्यमा बताएको छ।

सेनाले मृतकको सङ्ख्या उपलब्ध नगराए पनि कमान्ड-एन्ड-कन्ट्रोल केन्द्र ‘आइडिएफ (सेना) सैनिक र इजरायल राज्यविरुद्ध आतङ्कवादी आक्रमणहरूको योजना बनाउन र कार्यान्वयन गर्न’ प्रयोग गरिरहेको बताएको छ।

बिहीबारको आक्रमणमा गाजामा विस्थापित प्यालेस्टिनीहरूलाई आश्रय दिइरहेका विद्यालय भवनहरूमा भएको इजरायली आक्रमणहरूको शृङ्खलामा पछिल्लो थियो। गाजामा एक वर्षभन्दा बढी समयदेखि लडाइँ जारी छ।

गाजा नागरिक सुरक्षा एजेन्सीका अनुसार सेप्टेम्बर २६ मा उत्तरी गाजाको जबालिया शिविरमा अर्को विद्यालय-बनेको आश्रयस्थलमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको थियो। इजरायली सेना हाल जबालियामा गहन अभियानमा संलग्न छ।

इजरायली सेनाले हमासलाई हजारौँ गाजाबासीले आश्रय लिएका विद्यालयहरू भवनहरूमा लुकेको आरोप लगाएको छ। उक्त आरोपलाई हमासले अस्वीकार गरेको छ।

बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका खोलेपछि…

0

काठमाडौं: विराटनगरबाट जनकपुरका लागि उड्नेक्रममा रहेको बुद्ध एयरको एटीआर विमानमा एक यात्रुले इमर्जेन्सी डोर (आपतकालिन ढोका) खोलेका छन्।

बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्रकुमार कर्णका अनुसार आज बिहान काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ५०५ विमान भिजिबिलिटी कमजोर हुदाँ जनकपुर विमानस्थलमा अवतरण हुन नसकेपछि विराटनगर विमानस्थलमा अवतरण गरिएको थियो।

आपतकालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृतरूपमा यात्रुलाई जानकारी गराएका हुन्छन्। आपतकालिन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पुर्‍याउँछ।

जनकपुरको मौसममा सुधार भएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको विमान ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा विमानको ती यात्रुले विमानको इमरजेन्सी ढोका नजिकै बसेका यात्रुले खोलेका थिए। उक्त घटनापछि चालक दलले विमान पार्किङ–वे मै फर्काएएका थिए। उक्त विमानको प्राविधिक जाँच पछि नियमित उडानमा रहेको बुद्ध एयरले जनाएको छ।

यस्ता घटनाले उडान सुरक्षामा खलल पुर्‍याउने यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाइएको छ।

विगत केही साता यता यात्रुले विमानका इमरजेन्सी ढोका खोलेका घटना सार्बजनिक भएका छन्। गत अक्टोबर २ तारिखका दिन विराटनगरबाट काठमाडौं उडानमा र ७ अक्टुबरका दिनमा नेपालगञ्जबाट काठमाडौं उडानमा पनि यात्रुले इमरजेन्सी ढोका खोलेका थिए। यसले उडान प्रक्रियालाई नै अवरुद्ध गरी उडान तालिकालाई थप प्रभावित बनाएको कम्पनीले जनाएको छ।

हवाई उडानमा खलल पुर्याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’ अनुसार १ देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरी जन्मकैदसम्म सजायँ हुने प्रावधान छ। उडान सुरक्षामा अनाहक खलल पुर्‍याउने यात्रुलाई विमान सेवा प्रदायक कम्पनीले उडानमा थप प्रतिबन्ध लगाउने गरेका छन्।

पोखरामा राँगोले हानेर एक जनाको मृत्यु

0

कास्की (पोखरा ): पोखरामा राँगोले हानेर एक जनाको मृत्यु भएको छ ।
पोखरा ३३ का ३७ वर्षीय धनन्जय आचार्यको आफ्नै दाजुको भैँसी फर्ममा गएका बेला राँगोले हानेर मृत्यु भएको
हो ।

राँगोले हानेर उनको शव क्षतविक्षत अवस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ । मंगलबार नै शवको पोस्टमार्टम गरी अन्त्येष्टि समेत गरिसकिएको पारिवारिक स्रोतले जनाएको छ ।

मिल्टन आँधी अमेरिकाको फ्लोरिडा पुग्यो, १० लाख मानिसलाई सुरक्षित स्थानमा पुर्‍याइयो

0

फ्लोरिडा: अमेरिकामा मिल्टन आँधीका कारण विनाशको सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा तयारी तीव्र रूपमा भइरहेको छ ।

यो आँधी फ्लोरिडाको सारासोटा तिर सरेको देखिन्छ। आँधीलाई ध्यानमा राख्दै फ्लोरिडाको प्रशासनले तटीय क्षेत्रहरू खाली गर्न आदेश दिएको छ। करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ ।

फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसका अनुसार मानिसहरूलाई बाहिर निकाल्ने समय अब ​​सकिएको छ। लाखौँ मानिस पहिले नै आफ्नो घर छोडेर गइसकेका छन्। मिल्टन अहिले सारासोटा पुगेको छ ।

यसअघि राष्ट्रपति जो बाइडेनले जनतालाई यो शताब्दीकै सबैभन्दा विनाशकारी आँधी हुने चेतावनी दिएका थिए। उनले आँधीबाट जनतालाई बचाउने सरकारको प्रयासको विरुद्ध डोनाल्ड ट्रम्पको कथित दुष्प्रचारको आलोचना गरेका छन्।