Friday, May 8, 2026
Home Blog Page 68

नेपाल आर्ट काउन्सिलमा ६५ विद्यालयका ५८५ विद्यार्थीका कला कृति प्रदर्शनीमा

0

काठमाडौं । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ६५ वटा विद्यालयका ५ सय ८५ विद्यार्थीहरूले बनाएका पेन्टिङ तथा हस्तकला कृतिहरू प्रदर्शनीमा राखिएका छन्।

उपत्यकाका ६५ विद्यालयका विद्यार्थीले बनाएका कोलाज आर्ट, पेन्टिङ, टोट ब्याग (नेपाली उत्पादन) पेन्टिङ तथा विभिन्न हस्तकला सामग्री प्रदर्शनीसँगै बिक्रीका लागि पनि राखिएका छन्।

विद्यार्थीहरूमा रहेको कला तथा हस्तकला क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले पिडिलाइट इन्डस्ट्रिज लिमिटेड नेपालले ‘फेबिक्रिल आर्ट ओलम्पियाड एक्जिबिसन २०२६’ आयोजना गरेको हो। पहिलो चरणमा उपत्यकाका ६५ विद्यालयका करिब १० हजार विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो।

कक्षा ३ देखि ९ सम्म अध्ययनरत ती विद्यार्थीहरूमध्ये छनोट भएका ५ सय ८५ वटा पेन्टिङ तथा हस्तकला कृतिहरू प्रदर्शनीमा राखिएका छन्।

पिडिलाइट इन्डस्ट्रिज लिमिटेड नेपालका कला तथा स्टेशनरी विभागका बिजनेस डेभलपमेन्ट एक्जिक्युटिभ सुनिल यादवका अनुसार विद्यार्थीहरूले आफ्नो रुचि स्वतन्त्र रूपमा अभिव्यक्त गर्न र उनीहरूभित्र लुकेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

उनले विद्यालयका विद्यार्थीहरूमा कला तथा हस्तकलाप्रति आकर्षण बढाउनुका साथै उनीहरूको सिर्जनात्मक क्षमता विकास गर्ने लक्ष्यका साथ प्रदर्शनी गरिएको बताए।

मंगलबारदेखि सुरु भएको प्रदर्शनी शनिबारसम्म चल्नेछ। आयोजक पिडिलाइट इन्डस्ट्रिज लिमिटेड नेपालले विद्यालयका लागि आवश्यक कला तथा स्टेशनरी सामग्री उत्पादन गर्दै आएको छ।

किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वाेच्चकाे अन्तरिम आदेश

0

काठमाडौं । सर्वोच्च अदालतले किशोरी साह कमलको नाम कालोसूचीमा नराख्न कर्जा सूचना केन्द्रका नाममा अन्तरिम आदेश जारी गरेको छ।

धनुषा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका साहको नाम कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो। सो निर्णयविरुद्ध साहले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले कालोसूचीबाट नाम हटाउन अन्तरिम आदेश दिएको हो।

कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको आधारमा निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि साहले कर्जा सूचना केन्द्रलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्चको अन्तरिम आदेशपछि साहको उम्मेदवारी कायम रहने बाटो खुलेको अधिवक्ता दीपेन्द्र झाले बताएका छन्।

निर्वाचनको दुई दिनअघि मात्रै निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध दायर गरिएको रिटमाथि सुनुवाइका लागि शुक्रबार पेसी तोकिएको छ।

उम्मेदवारी खारेज भए पनि धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’मा उल्लेख्य मत परेको थियो। तर सो क्षेत्रमा निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मात्रिका यादवलाई निर्वाचित घोषणा गरिसकेको छ।

नक्कली एसएलसी प्रमाणपत्र पेस गरेको आरोपमा देवघाटका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

0

काठमाडौं। नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी सेवामा प्रवेश गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको देवघाट गाउँपालिकाका एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

देवघाट गाउँपालिकामा सामाजिक परिचालक, सरसफाइ सुपरिवेक्षक र उत्प्रेरक संयोजकका रूपमा कार्यरत होमबहादुर भारतीविरुद्ध आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

अख्तियारको अनुसन्धानअनुसार भारतीले देवघाट गाउँपालिकाको कार्यालयमा विभिन्न पदमा बहाल रहन तथा त्यसबापत गैरकानुनी लाभ र सुविधा लिन झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेका थिए। उनले सन् १९९९ (२०५५ साल) मा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेको दाबी गर्दै ‘सि.नं. 0252431M’ को नक्कली प्रमाणपत्र पेस गरेका थिए।

सोही प्रमाणपत्रका आधारमा उनले राष्ट्रसेवकको हैसियतमा नियुक्ति पाई सरकारी सुविधा लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

भारतीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर ठहरिने देखिएको आयोगले जनाएको छ। सोही ऐनअनुसार उनलाई कैद तथा जरिवाना सजायको मागदाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

सरकारी सेवामा झुट्टा विवरण पेस गरी लाभ लिनु गम्भीर अपराध मानिने भएकाले भारतीमाथि हदैसम्मको कारबाहीको माग गरिएको छ।

अमेरिका–इसराइलको आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी घाइते

0

अमेरिका र इसराइलले गरेको आक्रमणमा इरान का नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी पनि घाइते भएका छन्।

अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले स्रोतलाई उद्धृत गर्दै लेखेको समाचारअनुसार मोज्तबा पहिलो दिनको हवाई आक्रमणमै घाइते भएका थिए। उनको खुट्टा भाँचिएको र अनुहारमा सामान्य चोट लागेको बताइएको छ।

डिसेम्बर २८ मा तेहरानमा भएको आक्रमणमा तत्कालीन सर्वोच्च नेता आयातोल्लाह अली खामेनी र शीर्ष अधिकारीहरू मारिएका थिए। त्यही आक्रमणमा खामेनी परिवारका पाँच सदस्य पनि मारिएका थिए।

साइप्रसका लागि इरानी राजदूत अलिरेजा सलारियन का अनुसार मोज्तबा आफ्ना पिता मारिएका हवाई आक्रमणमा घाइते भएका थिए। ५६ वर्षीय मोज्तबाको देब्रे आँखाको वरिपरि चोट लागेको र अनुहारमा सानो काटिएको सिएनएनले उल्लेख गरेको छ।

यसअघि टाइम्स अफ इसराइल ले पनि अली खामेनीको हत्या प्रयासमा मोज्तबा घाइते भएको समाचार प्रकाशित गरेको थियो।

नयाँ सर्वोच्च नेताको रूपमा नियुक्त भए पनि मोज्तबा सार्वजनिक रूपमा देखिएका छैनन् र सार्वजनिक सम्बोधन पनि गरेका छैनन्। राजदूत सलारियनका अनुसार चोटपटकका कारण उनी अहिले भाषण दिन सक्षम छैनन्।

इरानी राष्ट्रपति मशुद पेजिस्कियन का छोरा युसेफ पेजिस्कियन ले मोज्तबा सुरक्षित रहेको पुष्टि गर्दै घाइते भए पनि चिन्ताजनक अवस्था नरहेको बताएका छन्।

इरानी सरकारी सञ्चारमाध्यमहरूले मोज्तबाको सार्वजनिक अनुपस्थितिमा पुराना भिडियो र सीमित दृश्य प्रयोग गर्दै आएका छन्। मोज्तबा खामेनी सार्वजनिक रूपमा धेरै नदेखिने धार्मिक व्यक्तित्वका रूपमा चिनिन्छन् र उनी आफ्ना पिता अली खामेनीले बनाएको प्रभावशाली राजनीतिक तथा सुरक्षा सञ्जालमा महत्वपूर्ण व्यक्ति मानिन्छन्।

विश्लेषकहरूका अनुसार मोज्तबा इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)सँग नजिक मानिन्छन् र आफ्नो पिताभन्दा पनि कडा धारका नेताका रूपमा हेर्ने गरिन्छ।

सन् २०१९ मा अमेरिकी सरकारले मोज्तबा खामेनीमाथि प्रतिबन्ध लगाएको थियो। अमेरिकी अधिकारीहरूले उनलाई क्षेत्रीय प्रभाव विस्तार गर्न र आन्तरिक दमनमा संलग्न भएको आरोप लगाएका थिए। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प ले नयाँ सर्वोच्च नेताको चयनप्रति असन्तुष्टि जनाएका थिए।

स्पेनमा इन्धनको मूल्य वृद्धि, जीवनयापन लागत बढ्ने चिन्ता

0

स्पेन का विभिन्न क्षेत्रका ग्यास स्टेशनहरूमा हालै इन्धनको मूल्य बढेको छ। विश्वव्यापी तेलको मूल्यमा आएको उतारचढाव र मध्यपूर्व क्षेत्रमा बढेको भूराजनीतिक तनावका कारण इन्धनको मूल्य वृद्धि भएको बताइएको छ।

मूल्यवृद्धिका कारण जीवनयापनको लागत बढ्ने भन्दै सर्वसाधारणमा चिन्ता बढेको छ। दुई हप्ताअघि डिजेलको मूल्य प्रतिलिटर करिब १.५७ युरो रहेकोमा अहिले बढेर १.८५ युरो पुगेको छ, जुन झन्डै ३० सेन्टको वृद्धि हो।

विशेषज्ञहरूका अनुसार इन्धनको मूल्य वृद्धि हुँदा यात्रा खर्च मात्र होइन, ढुवानी (लजिस्टिक) लागत पनि बढ्न सक्छ। यसको प्रभाव अन्ततः खाद्यान्न तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत देखिन सक्ने उनीहरूको भनाइ छ।

केही विश्लेषकहरूले मध्यपूर्वमा तनाव जारी रहे तेलको मूल्य अझै बढ्न सक्ने र यसले अर्थतन्त्र तथा सर्वसाधारणको जीविकोपार्जनमा थप दबाब सिर्जना गर्ने चिन्ता व्यक्त गरेका छन्।

अजरबैजानले दुई–तीन वर्षभित्र ग्यास उत्पादन १० अर्ब घनमिटरले बढाउने

0

अजरबैजान का राष्ट्रपति इल्हाम अलियेभ ले आगामी दुईदेखि तीन वर्षभित्र देशको ग्यास उत्पादन कम्तीमा १० अर्ब घनमिटरले बढाउने लक्ष्य राखिएको बताएका छन्।

राष्ट्रपतिको आधिकारिक वेबसाइटका अनुसार युरोपेली परिषद् का अध्यक्ष एन्टोनियो कोस्टा सँगको संयुक्त पत्रकार सम्मेलनमा अलियेभले अजरबैजानले यस वर्ष पनि ग्यास उत्पादन वृद्धि गर्ने योजना बनाएको जानकारी दिएका हुन्।

अलियेभका अनुसार अजरबैजानले आगामी पाँचदेखि छ वर्षभित्र निर्यातका लागि ६ देखि ८ गिगावाट नवीकरणीय ऊर्जा क्षमता विकास गर्ने लक्ष्य राखेको छ।

युरोपेली ऊर्जा सुरक्षामा अजरबैजानको बढ्दो भूमिकालाई उल्लेख गर्दै उनले हाल युरोपेली संघ का १० सदस्य राष्ट्रहरूले अजरबैजानबाट ग्यास आयात गरिरहेको बताए।

त्यस्तै, अजरबैजानी राष्ट्रपतिले जनवरी महिनामा देशको कुल व्यापारको झण्डै आधा हिस्सा युरोपेली संघसँग भएको उल्लेख गर्दै संघ अजरबैजानको प्रमुख व्यापारिक साझेदार बनेको पनि जानकारी दिए।

एनआरएनएको १२औं महाधिवेशन: अध्यक्षमा तीन र महासचिवमा दुई जनाको उम्मेदवारी

0
Generated by Gemini

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन समितिले उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक गरेको छ।

बालुवाटारस्थित निर्वाचन समितिको कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार संस्थाको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा तीन जना र महासचिव पदमा दुई जनाको उम्मेदवारी परेको छ।

अध्यक्ष पदका लागि रोविनप्रसाद शेरचन (जापान), डा. हेमराज शर्मा (यूके) र रविनराज बज्राचार्य (अमेरिका) ले मनोनयन दर्ता गराएका छन्। त्यस्तै महासचिव पदका लागि चिरञ्जीवी खड्का (चेक रिपब्लिक) र रामशरण सिम्खडा (यूके) चुनावी मैदानमा उत्रिएका छन्।

निर्वाचन समितिले सार्वजनिक गरेको नामावलीअनुसार ६ जना उपाध्यक्ष पदका लागि १० जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षका आकांक्षीहरूमा ददिबल खड्का, दिनेश पोखरेल, जुनु गुरुङ, खगेन्द्र न्यौपाने, महेन्द्र ओली, मनोजकुमार श्रेष्ठ, प्रबिन गुरुङ, पूर्णचन्द्र बानियाँ, रोजिना प्रधान राईरोशन थापा रहेका छन्।

महिला उपाध्यक्ष पदमा राधिका गुरुङ (टीका) को मात्र उम्मेदवारी परेको छ भने युवा उपाध्यक्ष पदका लागि भीमसेन थापा, मदनराज पौडेलओमान गौचन बीच प्रतिस्पर्धा हुने भएको छ।

त्यस्तै सचिव पदका लागि ८ जना, कोषाध्यक्षमा २ जना र सह–कोषाध्यक्षमा ४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। विभिन्न क्षेत्रीय संयोजक र उपसंयोजक पदहरूमा पनि मनोनयन दर्ता भएको छ।

एनआरएनएको १२औं अन्तर्राष्ट्रिय महाधिवेशन फागुन ३० देखि चैत २ गतेसम्म काठमाडौंमा आयोजना हुने तय भएको छ।

निर्वाचन आयुक्त तेज बहादुर कार्की का अनुसार संस्थाको निर्वाचन नियमावली २०२१ बमोजिम उम्मेदवारहरूको विवरण सार्वजनिक गरिएको हो। नामावली सार्वजनिक भए पनि नेतृत्वका लागि सहमतिको प्रयास जारी रहेको उनले जानकारी दिए।

तलको लिंक खोल्नुहोस्।

first-candidate-list

हिमालयन जाभा नेसनल बास्केटबल लिगमा आईआईएमएस कीर्तिपुर र सोलो बास्केटबल विजयी

0

काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ अन्तर्गत बुधबार सम्पन्न खेलमा आईआईएमएस कीर्तिपुर र सोलो बास्केटबल विजयी भएका छन्। नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा लिग सञ्चालन भइरहेको छ।

पहिलो खेलमा आईआईएमएस कीर्तिपुरले रोएल्सलाई ८१–६१ ले पराजित गरेको हो। खेलमा कीर्तिपुरले पहिलो क्वाटर २०–१५, दोस्रो २०–१३, तेस्रो १८–१९ र चौथो क्वाटर २३–१४ ले जित्दै समग्र खेल आफ्नो पक्षमा पारेको थियो।

कीर्तिपुरका प्रशान्त महर्जनले १३ अंक स्कोर गर्दै उत्कृष्ट प्रदर्शन गरे। उनी खेलको मोस्ट भ्यालुएबल प्लेयर (एमभिपी) घोषित भए।

यस्तै बुधबारको दोस्रो खेलमा सोलो बास्केटबलले प्ले बक्स एरेनालाई प्रतिस्पर्धात्मक खेलमा ६८–६५ ले पराजित गर्यो। पहिलो, दोस्रो र चौथो क्वाटर क्रमशः १५–११, २०–१९ र १६–१२ ले प्ले बक्सले जिते पनि तेस्रो क्वाटरमा सोलोले बनाएको २६–१४ को अग्रता नै अन्ततः जितका लागि निर्णायक बन्यो।

सोलो बास्केटबलका प्रगुण महर्जनले ३० अंक स्कोर गर्दै उत्कृष्ट प्रदर्शन गरे। उनी पनि खेलको एमभिपी घोषित भए।

आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ र ग्यास प्रयोग गर्न नेपाल आयल निगमको आग्रह

0

काठमाडौँ । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थ तथा एलपी ग्यास आवश्यक परिमाणमा मात्र खरिद र प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। निगमले आज जारी गरेको विज्ञप्तिमा मासिक एक सिलिन्डर खपत हुने अवस्थामा अतिरिक्त सिलिन्डर नभर्न, अनावश्यक रूपमा भण्डारण नगर्न र सम्भव भएसम्म ग्यासको सट्टा बिजुलीको प्रयोग बढाउन अनुरोध गरिएको छ।

निगमका अनुसार नेपाल पेट्रोलियम पदार्थमा पूर्ण रूपमा आयातमा निर्भर रहेको अवस्थामा यसको खपतमा केही सुरक्षात्मक प्रबन्ध आवश्यक भएको स्पष्ट पारिएको छ।

विज्ञप्तिमा अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्डिङ गरेको पाइएमा, बढी मूल्य लिएर ग्यास तथा पेट्रोलियम पदार्थ बिक्री गरेको भेटिएमा वा नयाँ सिलिन्डरको अवैध बजारीकरण गरिएको पाइएमा कडा कारबाही गरिने चेतावनी दिइएको छ।

निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “औद्योगिक प्रयोगमा पेट्रोलियम पदार्थ तथा ग्यासको खपत घटाउने, इन्धन तथा एलपी ग्यासको आयात र बिक्री वितरण नियमित भइरहे पनि मध्यपूर्वमा देखिएको समस्याले विश्व बजारमा पार्न सक्ने प्रभावका कारण नेपाल पनि प्रभावित हुन सक्ने सम्भावना छ। त्यसैले आवश्यक परिमाणमा मात्र इन्धन तथा ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न अनुरोध गरिएको छ।”

नेपाल राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर

0

काठमाडौं । नेपाल राष्ट्र बैंक ले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५७ पैसा तोकिएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५३ पैसा र बिक्रीदर १७१ रुपैयाँ २३ पैसा तथा युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३१ पैसा कायम गरिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५२ पैसा रहेको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ३० पैसा र बिक्रीदर १०५ रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७५ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९५ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ४० पैसा र बिक्रीदर २१ रुपैयाँ ४९ पैसा कायम गरिएको छ। साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३२ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३१ पैसा र बिक्रीदर ४० रुपैयाँ ४८ पैसा रहेको छ।

त्यस्तै, थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४ रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ०१ पैसा र बिक्रीदर ४० रुपैयाँ १८ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६८ पैसा तोकिएको छ।

यसैगरी, दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ ०२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ र बिक्रीदर १६ रुपैयाँ ०७ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८२ पैसा र बिक्रीदर २२ रुपैयाँ ९२ पैसा कायम गरिएको छ।

हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा रहेको छ भने कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ०६ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ०२ पैसा तोकिएको छ। त्यस्तै, बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ २२ पैसा र बिक्रीदर ३९० रुपैयाँ ८१ पैसा तथा ओमानी रियाल एकको खरिददर ३८१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ३० पैसा कायम भएको छ।

त्यसैगरी, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।