Wednesday, June 17, 2026
Home Blog Page 679

सूचना प्रविधिको विकास भएपनि ‘कटुवाल प्रथा’ कायमै

0

म्याग्दी: म्याग्दीको बेनी नगरपालिका– ९ घतानका ६० वर्षीय दिलबहादुर दमाई र बेनी नगरपालिका–२ ज्यामरुककोटका ७१ वर्षिय भीमबहादुर विक दुई दशकदेखि गाउँका अग्ला डाँडाबाट कर्नाल फुक्दै गाउँलेलाई सूचना प्रवाह गर्दै आएका छन्।

गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् या भेला बैठक र सरसफाइको ‘झारा’ लगाउने कार्यक्रम किन नहोस्, दुवै जना गाउँभर सूचना पुर्‍याउन डाँडा उक्लिहाल्छन्। सदरमुकामसँगै जोडिएकोले यो गाउँ सूचनाको पहुँचबाट भने टाढा छैन। गाउँमा इन्टरनेट, विद्युत्, मोबाइल, टेलिभिजन, पत्रपत्रिका, रेडियोलगायत सञ्चारसाधनको राम्रो पहुँच छ तर चलिआएको परम्परागत कटुवाल प्रथा कायमै रहँदा भीमबहादुरलाई भ्याइनभ्याइ छ।

उनी विशेषगरी गाउँको सरसफाइका लागि प्रत्येक हप्ताको शनिबार समुदायलाई जुटाउनका लागि कलुवाल कराउनुहुन्छ । यसैगरी गाउँमा पाहुना आउने खबर र भेला बैठकका लागि पनि समुदायलाई सूचना पुर्‍याउने जिम्मा उनकै काँधमा छ। म्याग्दीका ६ वटै स्थानीय तहका प्रायः सबै गाउँमा अझै पनि कटुवाल प्रथा कायमै छ। सञ्चार तथा सूचना प्रविधिको पहुँच विस्तार गरी परम्परागत प्रथालाई आधुनिकीरण गर्दै लैजानेतर्फ भने कसैको पनि ध्यान पुग्न नसकेको पत्रकार हरिकृष्ण गौतमको भनाइ छ।

यसरी परम्परागत प्रथा जोगाउन महत्त्वपूर्ण भूमिका खेले पनि उनीहरूको पारिश्रमिक भने न्यून छ। बगरफाँटमा एक सय ९७ घरधुरी छन्। तीमध्ये बसाइँसराइका कारण कैयौं घर खाली छन्, कतिपय घरमा गाउँ बाहिरबाट आएका मानिस भाडामा बसेका छन्। बसोबास गर्नेहरूबाट विकले वर्षभरको ज्याला प्रतिघर दुई पाथी अन्न मात्र पाउने गरेका छन्। यसले जीविका धान्न मुस्किल भइरहेको उनको गुनासो छ।

‘बाबुबाजेले गर्दै आएको पेसा धान्नका लागि अरू काममा ध्यानै दिइएन। यसैलाई निरन्तरता दिन आफ्नो सम्पूर्ण समय खर्चियो। गाउँमा अन्य पेसा र विकल्प पनि भएनन् तर कटुवाल कराउने काम गरेर जीवन धान्न सकिएन,’ विकले भने।

कटुवाल दिलबहादुर दमाईको पनि यस्तै गुनासो छ। विगत २० वर्षदेखि कटुवालको काम गर्दै आएका उनले दैनिकजसो बस्ती नजिकैको डाँडामा आफ्नो कर्नाल फुक्दै चिच्याएर थरिथरीका सूचना सुनाउँछन्। दसैंको बेला त झन् व्यस्तता बढ्छ। दसैंमा गाउँघरमा बाटो सफाइ गर्नेदेखि मदिरा सेवन नगर्न, कोतघरको पूजा, वडा कार्यालयबाट आउने सूचनाहरू बस्तीसम्म पुर्‍याउन दिलबहादुरलाई भ्याइनभ्याइ हुन्छ।

‘सुन हो गाउँले हो, दसैंको बेलामा आफ्नो बाटोघाटो सरसफाइ गरेर बस्नुहोस्। कसैले रक्सी नखानुहोला, नबेच्नुहोला, रक्सी खाएर होहल्ला नगर्नुहोला!’

एकाबिहानै यस्तायस्तै सूचना बोकेर अग्लो डाँडामा गएर कराउनु उनको काम हो। सामाजिक सुरक्षाभत्ता, पूजाआजा, विभिन्न भेला, कार्यक्रम तथा बैठक, सुख वा दुःखका कुरा घरघरमा पुर्‍याउ थालेको पनि उनको दुई दशक बितिसकेको छ। उनले ज्यालामजदुरीसँगै कटुवाल पेशालाई निरन्तरता दिँदै आएको बताए।

‘सूचना हुदाँ भोकै घरबाट निस्किन्छु, पूरै गाउँ डुलेर सूचना भन्दाभन्दै जहाँ पाइन्छ त्यही खान्छु,’ दिलबहादुरले भने, ‘केही सूचना नभएको दिन जे पाउँछ त्यही ज्याला मजदुरीमा काम गर्छु!’

आफ्नो पीडा कसलाई सुनाउनु!

गाउँलेलाई सूचना र खबर सुनाउने दमाईले आफ्नो पीडा सुनाउने ठाउँ भने कतै नपाएको बताए।

‘पीडाको पहाडले मलाई थिचेको छ। एकमात्रै छोराको उपचारको क्रममा मृत्युपछि अपांगता भएकी श्रीमती र दुई नातिलाई बिहान–बेलुकी ‘हातमुख जोड्ने’ खर्च जुटाउनेदेखि आफ्नो नियमित जिम्मेवारी पूरा गर्नैपर्छ। छोरोको उपचारमा लागेको ऋण अहिलेसम्म तिर्न सकेको छैन। कहिलेकाहिँ त पेटभरी खाने अन्न पनि हुँदैन,’ दिलबहादुरले दुःखेसो पोखे, ‘एक्लो कमाइले श्रीमती, दुई नातिलाई पेटभरी खान समेत पुग्दैन। कटुवाल कराएबापत समुदायस्तरबाट आउने खाद्यान्न नपुगेपछि सहयोग माग्दै हिड्ने गरेको छु।’

उनले गाउँलेका सूचना दिने कर्ममा लागेको मान्छेले आफ्नै सूचना सुनाउने ठाउँ नपाउँदा खिन्न हुने गरेको सुनाए।
‘एउटा नातिको आँखामा समस्या छ, उपचारका लागि पैसा छैन । अरूले जस्तै राम्रो लाउने र मीठो खाने चाहना राख्छन् तर आफ्नो कमाइले पुग्दैन,’ दिलबहादुरले भने।

कटुवाल पेसाले परिवारको गुजारा जसोतसो चले पनि नातिको शिक्षादीक्षा, उपचारमा सहयोगको खोजीमा रहेको उनको भनाइ छ।

उनीलगायत लामो समयदेखि कटुवालको काम गर्दै आएका यहाँका सबैजसोलाई आजभोलि अन्न बालीभन्दा पनि काम गरेबापत नगद पाउन पाए हुन्थ्यो भन्ने लागेको छ। आफ्नो कामबापत आउने अन्नबालीको सट्टा पैसा दिएमा छोराको उपचारमा लागेको ऋण तिर्ने र नातिको उपचार गर्न सहज हुने दिलबहादुर बताउँछन्।

बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसी दिलबहादुरको इमान्दारिता र सूचना प्रवाह गर्ने भूमिकाको तारिफ गर्छन्।

‘उहाँलाई सूचना प्रवाहमा सहज बनाउने छौं। वडाबाट सक्ने सहयोग गरिएको छ, अझै पनि थप प्रोत्साहन गर्छौं,’ वडाध्यक्ष केसीले भने।

कटुवालको सहजताका लागि हाते–माइकको व्यवस्था गर्नसमेत माग गरिएको छ।
‘बेनीसहित सबै गाउँपालिकामा अझै पनि कटुवाल प्रथा कायम नै छ। त्यसैले सूचना प्रवाहमा सहजता ल्याउन प्रविधि सहयोग र यस काममा लागेका हामीहरूको जीविकोपार्जनलाई ध्यानमा राखेर आवश्यक काम गर्न हाम्रो आग्रह छ,’ कटुवाल विकले भने।

साफ वुमन्स च्याम्पियनसिप: काठमाडौं आइपुग्यो पाकिस्तानी टिम

0

काठमाडौं: कात्तिक १ देखि १४ गतेसम्म काठमाडौँमा आयोजना हुने सातौं संस्करणको साफ वुमन्स च्याम्पियनसिपमा सहभागी हुन पाकिस्तानी टिम हिजो राति काठमाडौं आइपुगेको छ ।
टोलीलाई एन्फा प्रवक्ता सुरेश शाहलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

सहभागी हुने/नहुने अन्योलका बीच अन्तिम समयमा पाकिस्तानले साफमा सहभागी हुन स्वीकृति पाएको थियो ।

पाकिस्तानले भारतसँग पहिलो खेल खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ ।

च्याम्पियनसिपमा दक्षिण एसियाका सातै टोली- नेपाल, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदै छन् । खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

टोलीलाई दुई समूहमा विभाजन गरिएको सो खेलअन्तर्गत समूह ‘ए’ मा साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा घरेलु टोली नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स छन् ।

नेपालले लगातार तेस्रो पटक साफ महिला च्याम्पियनसिप आयोजना गर्न लागेको हो । यसअघि सन् २०१९ मा विराटनगरमा पाँचौ संस्करण आयोजना भएको थियो भने २०२२ मा छैटौं संस्करण काठमाडौंमै आयोजना भएको थियो ।

त्यसअघि बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतले साफ महिला च्याम्पियनसिप आयोजना गरेका थिए ।

 

युरिक एसिड बढेको छ ?

0

काठमाडौँ । युरिक एसिड हाम्रो शरीरमा पाइने एक अपशिष्ट पदार्थ हो । यो शरीरको कोष टुक्रिदा बन्छ ।

शरीरमा बन्ने यो एसिडलाई बाहिर निकाल्ने काम मिर्गौलाले पिसाबमार्फत बाहिर फाल्ने गर्छ । तर शरीरमा धेरै मात्रामा युरिक एसिड बन्न थाल्यो भने किड्नीले सबैलाई शरीरबाट निकाल्न सक्दैन । जसले गर्दा शरीरमा युरिक एसिडको मात्रा बढ्न थाल्छ ।

यसका कारण जोर्नीमा दुखाई बढ्न थाल्छ । समय छँदै यसको उपचार गर्न सकिएन भने यसले जोर्नीमा समस्या निम्त्याउँछ ।

यसलाई नियन्त्रण गर्न औषधिको सेवन गरिन्छ । तर यो समस्या समाधान गर्न केही घरेलु उपाय पनि सहायक हुन सक्छ । शरीरमा युरिक एसिडको मात्रा बढेको छ भने आजैबाट बाजराको पिठोबाट बनेको रोटी खान सुरु गर्नुस् ।

युरिक एसिडमा बाजरालाई फाइदाजनक मानिन्छ । यसमा प्यूरिन निकै कम हुन्छ भने फाइबर निकै धेरै हुन्छ । शरीरबाट युरिक एसिड हटाउन यो लाभदायक साबित हुन सक्छ।

Sidhartha bank
बाजरालाई स्वस्थ अन्नमा गनिन्छ । यसमा पाइने पोषक तत्त्वहरू शरीरका लागि निकै लाभदायक छ । यो पीठोको सेवन गर्नु विशेष गरी जाडो मौसममा फाइदाजनक मानिन्छ किनभने यसले शरीरलाई न्यानो राख्छ ।

बाजरामा प्रशस्त मात्रामा फाइबर, भिटामिन बी३, आइरन, जिङ्क हुन्छ । यसमा प्रचुर मात्रामा प्रोटिन पनि पाइन्छ । दैनिक रूपमा बाजराको सेवनले तौल घटाउन, रगतमा चिनीको मात्रा नियन्त्रण र युरिक एसिड नियन्त्रण गर्न मद्दत गर्छ ।

अस्वीकरण (Disclaimer) : यो सामग्री एजेन्सीबाट लिएको हो। यसलाई अभ्यास गर्नुअघि सम्बन्धित चिकित्सकसँग परामर्श लिनुहोला

मुम्बईमा एनसीपी नेताको गोली हानी हत्या

0

मुम्बई: भारतमा एनसीपी (अजित पवार गुट) नेता बाबा सिद्दिकीको गोली हानी हत्या भएको छ। शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा उनीमाथि कैयौं राउण्ड गोली लागेको थियो ।

उनको छातीमा गोली लागेको थियो र गम्भीर अवस्थामा लिलावती अस्पतालमा भर्ना गरिएको थियो ।

छोरा जिशान सिद्दिकीको कार्यालय जाँदै गर्दा उनीमाथि आक्रमण भएको हो । मुख्यमन्त्री एकनाथ शिन्देका अनुसार प्रहरीले यस मामिलामा दुई जनालाई पक्राउ गरेको छ। उनीहरूसँग सोधपुछ भइरहेको छ ।

यस वर्ष फेब्रुअरीमा बाबा सिद्दीकी कांग्रेस छोडेर एनसीपी (अजित पवार गुट) मा सामेल भए। उनी विगत ४८ वर्षदेखि कांग्रेसमा थिए ।

घटनाको जानकारी दिँदै सीएम एकनाथ शिन्देले भने, ‘बाबा सिद्दिकीमाथि घातक हमला भएको थियो, उहाँको मृत्यु भएको छ । यो दुखद घटना हो । दुई अभियुक्त पक्राउ परेका छन्, एक फरार छन् । तेस्रो अभियुक्त पनि छिट्टै पक्राउ पर्नेछन् । एक आरोपी हरियाणा र एक उत्तर प्रदेशका हुन्।’

आइभोरी कोस्टमा धुम्रपानका कारण प्रतिदिन छ हजार व्यक्तिको मृत्यु हुन्छ

0

काठमाडाैं। धुम्रपानका कारण आइभोरी कोस्टमा वर्षेनी छ हजारभन्दा बढीको मृत्यु हुने गरेको त्यहाँको प्रमुख वकिलहरूको छाता संगठनले जनाएको छ।

आइभोरी कोस्टका ‘महिला लयर्स एसोसिएसन’का उपमहासचिव एन्डोसिन टोमोउ डे टुआलीले बुधबार राजनीतिक राजधानी यामुसौक्रोमा एशोसिएशनले सुरु गरेको धुम्रपान विरोधी अभियानका क्रममा उक्त तथ्यांक सार्वजनिक गरेका छन्।

सङ्गठनले आइभोरी कोस्टमा सुर्तीजन्य पदार्थको सेवन तीव्र गतिमा बढिरहेको भन्दै यसलाई ई-चुरोटलगायत सबै प्रकारका धुम्रपानको जोखिमबारे जनचेतना जगाउन र अकालमा हुने यस्ता मृत्युलाई रोक्न आह्वान गरेको छ।

सुर्तीविरूद्धको राष्ट्रिय कार्यक्रमका उपसंयोजक ओमर कौलिबालीले भने, “सक्रिय र निष्क्रिय धूम्रपान दुवैले क्यान्सर, कार्डियोभास्कुलर र श्वासप्रश्वाससम्बन्धी रोगजस्ता गम्भीर रोगहरू निम्त्याउँछ। गर्भावस्थाको समयमा धुम्रपान गर्दा भ्रुणमा विकृतिहरू हुन्छन्।”

उहाँले ‘युवाहरूलाई जहिल्यै पनि धुम्रपान गर्नबाट रोक्न’ प्रयास गर्नुपर्ने बताए।

सन् २०१२ मा सार्वजनिक स्थलमा धुम्रपानमा प्रतिबन्ध र सन् २०१९ मा सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी कानुन लागू भए तापनि आइभोरियालीमाझ धुम्रपान निकै लोकप्रिय छ।

बोइङले १० प्रतिशत कर्मचारी कटौती गर्ने

0

काठमाडाैं: बोइङले आफ्ना १० प्रतिशत कर्मचारीलाई हटाउने भएको छ।
कम्पनीले आगामी केही महिनामा १० प्रतिशत कर्मचारी कटौती गर्न लागेको शुक्रबार जनाएको छ। एक महिना लामो हडतालका कारण बोइङको उत्पादनमा कटौती हुने कम्पनीले जनाएको छ।

बोइङका अनुसार रोजगारी कटौतीले कम्पनीका सबै तहका करिब १७, हजार कामदारलाई असर पार्नेछ। कम्पनीले २९ वटा जेटका लागि हालको माग पूरा गरेपछि सन् २०२७ मा ७६७ मोडेलको (वाइडबडी मालवाहक) जहाजको उत्पादन बन्द गर्नेछ।

कम्पनीले आफ्नो नयाँ ७७७ एक्सको उत्वादनलाई बजारमा ल्याउने प्रक्रियालाई सन् २०२६ सम्म सार्ने बताएको छ।

प्रमाणीकरणको वर्षौंको ढिलाइ र हालैको एक त्रुटिपूर्ण भागको खोजपछि बोइङको नयाँ ७७७ मोडेलले यस वर्षको सुरुमा परीक्षण उडानहरू रोकेको थियो।

बोइङका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत केली ओर्टबर्गले कर्मचारीहरूलाई पठाएको पत्रमा कम्पनीले ‘हाम्रो वित्तीय वास्तविकतासँग मेल खाने गरी आफ्नो कार्यबलको स्तर पुनः तय गर्नुपरेको’ बताएका छन्।

उनले भने, “हामीले सामना गरिरहेको कामको बारेमा स्पष्ट र यथार्थवादी हुन आवश्यक छ । यसले पुनरुत्थानको मार्गमा महत्वपूर्ण सफलता मिल्नेछ । हाम्रा स्रोतहरू प्रदर्शन गर्न र नवप्रवर्तनमा ध्यान केन्द्रित गर्न आवश्यक छ ।”

मनसुन सकियो

0

काठमाडौं: यस वर्षको मनसुन आजदेखि पूर्णरुपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन सुरु गरेको मनसुन आजदेखि पूर्णरूपमा बहिर्गमन भएको हो।

आज अपराह्न एक सूचना जारी गर्दै विभागले बाँकी रहेका बागमती, मधेस प्रदेश र कोशी प्रदेशबाट पनि आज बाहिरिएसँगै मनसुन देशबाटै बाहिरिएको हो।

यसअघि असोज २० गते सुदूरपश्चिम तथा कर्णाली र लुम्बिनीका केही भागबाट तथा असोज २२ गते कर्णली, लुम्बिनी, गण्डकी र काठमाडौं उपत्यकाबाट पूर्ण रूपमा र बागमती र मधेस प्रदेशमा आंशिकरूपमा मनसुन बाहिरिएको थियो।

आज भने मधेस र बागमतीका बाँकी भाग र कोशीबाट समेत मनसुन बाहिरिएको हो। यसपालि मनसुन ढिला गरी जेठ २८ मा भित्रिएको थियो भने चार दिन ढिला गरी बाहिरिन सुरु भएकामा छ दिनपछि पूर्णरूपमा बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज काठमाडौं उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा

0

काठमाडौँ : नेपाल प्रहरीले दशैंको टीकाको दिन काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क सञ्चालन गर्ने भएको
छ । सर्वसाधारणको सुविधाका लागि नेपाल प्रहरीले नि:शुल्क बस संचालन गरेको हो।

दशैंमा सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने हुँदा सर्वसाधारणलाई आवतजावतमा सुविधा होस् भनेर प्रहरीले आज एक दिन रिङरोड भित्र र बाहिर दुईवटा बस निःशुल्क सन्चालन गरेको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नावय महानिरीक्षक दानबहादुर कार्कीका अनुसार काठमाडौं उपत्यकाभित्र नेपाल प्रहरीको एक नम्बर रुटवाला बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्साल फिर्ता हुनेछ ।

यसैगरी, अर्को २ नम्बर रुटवाला बस नक्सालबाट छुटेर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधान कार्यालय नक्साल आइपुग्ने छ ।

राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान

0

काठमाडौँ: राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घ (आईपीयू)को १४९ औँ महासभामा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको छ। दाहालसंग नौ सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डलसमेत आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेको छ ।

महासभामा राष्ट्रियसभा अध्यक्ष दाहालले ‘शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग’ विषयमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले महासभामा सहभागी विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल एवं अन्तर–व्यवस्थापिका सङ्घ तथा सचिवालयका पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम समेत छ ।

यही असोज २७ देखि कात्तिक १ गतेसम्म महासभामा भाग लिन गएको अध्यक्ष दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा सांसदहरू सुनिता बराल र निशा डाँगी छन् ।

प्रतिनिधिमण्डलमा राष्ट्रिय सभा सदस्यहरू तारामान स्वाँर र कृष्णप्रसाद पौडेल तथा सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयसहितका अधिकृत छन् । अध्यक्ष दाहाल नेतृत्वको प्रतिनिधिमण्डल आगामी कात्तिक ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेको अवस्थामा म पनि रमाउन सकिरहेको छैन : प्रधानमन्त्री

0

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपदले निम्त्याएको पीडाका बीच आपसी सहयोग र सद्भावका साथ विजया दशमी मनाउन अनुरोध गर्नुभएको छ ।

विजया दशमी २०८१ को अवसरमा उनले भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहनुभएका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैसे’ मिलाउन सबैलाई आह्वान समेत गरे । “जो जहाँ छौ, पीडामा परेकाहरूको पिडा हराउनका लागि सहयोगी हातहरू बढाउन आग्रह गर्छु”, उनले भने ।

प्रधानमन्त्री ओलीले विपद्को घडीमा यसपालिको दसैँ टीका उल्लासपूर्ण हुन नसकेको समेत बताए । “विपद्को घडीमा यतिबेला मेरो मन भारी भइरहेको छ । भारी मनका साथ दसैँको उल्लासमा रमाउनुपर्ने बेला हाम्रो दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेको अवस्थामा म पनि रमाउन सकिरहेको छैन”, उनले भनेका छन्, “दसैँअघि आएको भीषण बाढी र पहिरोका कारणले निर्दोष बालबालिका र असक्त ज्येष्ठ नागरिकहरूले जीवन गुमाउनुपर्‍यो । कति घाइते हुनुभयो, धेरै जनधनको क्षति भयो ।”

प्रधानमन्त्री ओलीले शुभकामना भिडियो सन्देशमार्फत सरकार प्रकोपपछिको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित रहेको जानकारी दिँदै आश्वस्त रहन आग्रह गरे । “प्रकोपले किसानको अन्नबाली नोक्सान भएको छ, त्यसको मूल्याङ्कन गरेर क्षतिपूर्ति उपलब्ध गराउँछौँ । भत्किएका घरहरू पुनर्निर्माण गरी हस्तान्तरण गर्नेछौ । यसप्रति आश्वस्त रहँदै, सबैलाई दसैँ मनाउन र मिल्नेहरूले टीका लगाउन म आग्रह गर्न चाहन्छु ।”

उनले आफू नेतृत्वको सरकार जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गर्दै प्रकोप प्रभावितलाई धैर्य धारण गर्न आग्रह समेत गरे। “सरकारको नेतृत्व गरिरहेका हुनाले मेरो काँधमा थप जिम्मेवारी छ”, प्रधानमन्त्री ओलीले भनेका छन्, “उहाँहरूको आशु पुछ्ने, उहाँहरूको घाउमा मलहम लगाउने, पीडितलाई राहत दिने, पुनःनिर्माणको काम यथाशीघ्र सम्पन्न गर्ने, चाडपर्वमा आवातजावतलाई सहज र सुगम बनाउने समेत उत्तरदायित्वमा लागिरहेको घडीमा सबैलाई धैर्य धारण गर्न पनि आग्रह गर्दछु ।”
रासस