Wednesday, June 17, 2026
Home Blog Page 678

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

0

काठमाडौँ, २८ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ७९ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ४४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ १५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ २६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५९ पैसा र बिक्रीदर ९१ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ७९ रुपैयाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ र बिक्रीदर नौ रुपैयाँ ४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ पाँच पैसा र बिक्रीदर चार रुपैयाँ छ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा कायम छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९५ पैसा र बिक्रीदर नौ रुपैयाँ ९९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३ रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९ रुपैयाँ ७६पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ७६पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ७४ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६५ पैसा तोकेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

आजको मौसम : दुई प्रदेशमा वर्षाको सम्भावना

0

काठमाडौँ: पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ । तीनवटै प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज २९ गते मङ्गलबार पनि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहनुका साथै कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही किसिमको मौसमी प्रणाली कायम रहने महाशाखाले पूर्वानुमान गरेको छ ।

काठको अवैध ओसारपसार गरिरहेको अवस्थामा ट्याक्टरसहित एक जना पक्राउ

0

कृष्णनगर (कपिलवस्तु): कपिलवस्तुको विजयनगर गाउँपालिका-६ जुडपनीयाबाट सिसौँको काठ ‘लोड’ गरिएको ट्याक्टरसहित एक जनालाई पक्राउ गरिएको छ ।

आइतबार साँझ लु ३ त २२९१ नम्बरको ट्याक्टरमा १० थान सिसौँको गोलिया काठ अवैध रूपमा ओसारपसार गर्दै गरेको अवस्थामा स्थानीय दुर्गाप्रसाद आरख समेतलाई पक्राउ गरिएको वन अधिकृत वली मोहम्मद खानले जानकारी दिनुभयो ।।

चोरी तथा निकासी भइरहेको सूचनाका आधारमा काठ, ट्याक्टर र त्यसमा सङ्लग्न खानलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

दसैँको समयमा जुम्लामा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार

0

जुम्ला: जुम्लामा यस वर्षको दसैँको समयमा मात्रै रु १६ करोडभन्दा बढीको भेडा, खसीलगायतको कारोबार भएको छ । चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट मात्रै रु १६ करोड ३२ लाख ३१ हजारको भेडा, खसी, बोका तथा राँगाभैँसीको बिक्रीवितरण भएको जानकारी दिनुभयो ।

शाखा प्रमुख रावलका अनुसार जिल्लाकै भेडापालक किसान र बाहिरबाट ल्याइएका समेत गरेर यहाँ सात हजार ९२८ भेडा तथा खसी बिक्री भएका छन् । यस्तै रु १५ करोड २३ लाख २३ हजारका भेडा, रु ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजारका राँगा तथा भैसीहरू खरिद बिक्री भएका छन् । जसमा चार सय ८७ खसी, तीन वटा राँगा र ८२ वटा भैँसी रहेका छन् ।

यहाँ स्थानीय भेडाको अधिकतम मूल्य रु २८ हजार, न्यूनतम रु १० हजार भएकामा औसत मूल्य १९ हजार तोकिएको थियो । जुम्ली खसीको अधिकतम मूल्य रु २४ हजार र न्यूनतम रु आठ हजार रहेकामा औसत रु १६ हजारमा बिक्री भएको जनाइएको छ । अधिकतम मूल्य रु ५० हजार र न्यूनतम रु २६ हजारमा किनबेच भइरहेका राँगाभैंसी औसत रु ३८ हजारमा बिक्री भएका थिए ।

विसं २०६८ देखि तिब्बती भेडाच्याङ्ग्रा ल्याउन छाडेपछि यहाँ जुम्ली भेडा, खसीबोका मात्रै बिक्रीवितरण हुने गरेका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन् ।
पछिल्लो समय कनकासुन्दरी गाउँपालिकाको गोठीज्यूला, सिंजा गाउँपालिकाको नराकोट, हिमा गाउँपालिकाको जुगाड, बागबजार, तिला गाउँपालिकाको रारालिही, तातोपानी गाउँपालिकाको लिताकोट, पातारासी गाउँपालिकाको लासी बजार र उर्थुचौतारा, गुठीचौरी गाउँपालिकाको मणिसाँघुलगायत साना बजारमा समेत भेडा, खसीलगायतको कारोबार हुने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।

डेंगी लाग्यो? आत्तिनु पर्दैन: चिकित्सक

0

गण्डकी: चिकित्सकहरुले डेंगी सङ्क्रमण हुँदैमा नआत्तिन आग्रह गरेका छन् । अधिकांश सङ्क्रमित सामान्य उपचार र हेरचाहबाट निको हुने भन्दै उहाँहरूले दीर्घरोगी, गर्भवती र बालबालिकामा सङ्क्रमण जटिल बन्नसक्ने औँल्याउनुभयो ।

धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेंगी
सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकानजस्ता लक्षण देखिएमा भने चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने बताउनुभयो ।

“डेंगी सङ्क्रमण हुँदैमा आत्तिहाल्नुपर्दैन, डेंगीले शरीरमा प्लेटलेट्स मात्रा घटाउन सक्छ, यस्तो अवस्थामा विशेष ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “प्रशस्त आराम गर्ने, पानीलगायत झोलिलो पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्नु हुँदैन ।” कतिपयमा डेंगीले जटिलता ल्याउन सक्ने भन्दै सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै जोखिममा पर्ने उहाँको भनाइ छ ।

डेंगीबाट बच्ने उत्तम उपाय लामखुट्टेको टोकाइबाट बच्नु रहेको प्रमुख चिकित्सक प्रधानले बताउनुभयो । डेंगी सार्ने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने उहाँले बताउनुभयो ।

डेंगीको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गनुपर्ने प्रमुख चिकित्सक प्रधानले बताउनुभयो ।

गण्डकी प्रदेशका कास्की, तनहुँलगायतका जिल्लामा गत असारयता डेंगी सङ्क्रमण बढ्दै गएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार हालसम्म गण्डकीका ११ वटै जिल्लामा गरी १२ हजारबढीमा डेंगीको संक्रमण पुष्टि भएको छ । डेंगीबाट कास्कीमा पाँच, म्याग्दीमा एक र तनहँमा एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीका अनुसार असारदेखि कात्तिकसम् डेंगीको संक्रमण बढी फैलने गर्छ ।

उहाँले पछिल्लो समय प्रदेश राजधानी पोखरामा डेङ्गु तीव्र रूपमा फैलिएको बताउनुभयो ।डेंगी रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने प्रमुख नेपालीको भनाइ छ । यस रोगबाट बच्न लामखुट्टको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीले बताउनुभयो ।

चार प्रकारको भाइरसबाट मानिसमा डेंगी सङ्क्रमण हुने गरेको उहाँले बताउनुभयो ।डेंगीको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने गरेको उहाँको भनाइ छ ।

बन्दै छ भरतपुरमा क्रिकेट रङ्गशाला, दैनिक दुई चरणमा काम

0

चितवन: चितवनको भरतपुर महानगरपालिका–१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम जारी छ । रङ्गशाला निर्माण कार्य दसैँमा पनि राकिएको छैन । हालसम्म रङ्गशालाको १० प्रतिशत काम सकिएको छ ।

भरतपुर महानगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर रङ्गशालाको कामलाई अघि बढाएको हो । धुर्मुश–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिँदै काम अघि वढाएको हो । ‘हिमालयन कालिञ्चोक बिबिआर जेभी’ले बोलपत्र सकारेर काम गरिरहेको छ ।

महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार प्यारापिटमुनि ढलाई गरिएको छ । मैदानको माथिल्लो तह फालेर काम थालिएको छ । गत साउनमा बिबिआर जेभीले निर्माणकार्य सुरु गरेको हो । विसं २०८३ पुससम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्ने गरी रु ७८ करोड ५१ लाखमा ठेक्का लगाइएको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । रङ्गशाला निर्माण गर्न चालु आर्थिक वर्षमा सङ्घीय र प्रदेश सरकारले रु ५० करोड विनियोजन गरेका छन् ।

रङ्गशालामा दैनिक दुई चरणमा काम भइरहेको छ । चाडपर्वमा समेत काम नरोकिने प्रमुख दाहालले बताउनुभयो । काममा अवरोध नहोस् भनेर महानगरपालिकाका डिभिजनल इञ्जिनियर नेतृत्वको प्राविधिक समूहले प्रत्यक्षरुपमा रेखदेख गर्ने व्यवस्था गरिएको छ ।

इजरायली आक्रमण कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु

0

काठमाडाैं। उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले आफ्नो सैन्य कारबाहीलाई तीव्र पार्दा विगत २४ घण्टामा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन्।

गाजाको सिभिल डिफेन्स अथोरिटीले एक प्रेस विज्ञप्तिमा इजरायली युद्धक विमानहरूले जबलिया क्षेत्र र यसको शिविरमा बमबारी गरेको बताएको छ। स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली सेनाले घरघरमा व्यापक बमबारी सञ्चालन गरेर ठूलो विस्फोट गराएको थियो।

यहाँ बालबालिका र महिला सहित २५ प्यालेस्टिनीहरूको शव निकालेको र ९६ जना घाइते भएका चिकित्सा टोलीले सिन्ह्वालाई बताए। एक विश्वव्यापी चिकित्सा परोपकारी संस्था डाक्टर्स विदाउट बोर्डर्सले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै इजरायलको सैन्य कारबाहीका कारण हजारौं प्यालेस्टिनी अझै पनि जबलिया क्षेत्रमा फसेको बताइएको छ।

गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या ४२ हजार एक सय ७५ जना पुगेका छन्।

कमला ह्यारिसको स्वास्थ्य परिक्षण रिपोर्ट जारी, ट्रम्पमाथि दबाब

0

काठमाडौँ: अमेरिकी राष्ट्रपति चुनावको क्रममा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले आफ्नो स्वास्थ्य परिक्षण रिपोर्ट सार्वजनिक गरेकी छन् ।

रिपोर्ट अनुसार डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसको स्वास्थ्य अवस्था ‘धेरै राम्रो’ रहेको र उनी राष्ट्रपति पदका लागि पूर्णरुपमा फिट रहेको देखाएको छ ।

कमला ह्यारिसले आफ्नो मेडिकल रेकर्ड जारी गरेपछि, डेमोक्र्याटिक पार्टीले डोनाल्ड ट्रम्पलाई उनको स्वास्थ्य रेकर्ड जारी नगरेकोमा पारदर्शिताको अभावको आरोप लगाएको छ ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार हुन् । कमला ह्यारिसले पनि मेडिकल रेकर्डलाई लिएर ट्रम्पको आलोचना गरेकी छन् । उनले ट्रम्प अमेरिकी जनताले आफू राष्ट्रपति पदका लागि योग्य छन् वा छैनन् भन्ने थाहा पाउन् भन्ने नचाहेको आरोप लगाएकी छन् ।

ट्रम्पको मेडिकल रेकर्ड खुलासा नगरीकन, उनको टोलीले भने ट्रम्प भने पूर्ण रूपमा ठीक र उत्कृष्ट स्वास्थ्य रहेको बताएको छ । यसअघि रिपब्लिकन पार्टीले पनि वर्तमान राष्ट्रपति जो बाइडेनको स्वास्थ्यलाई लिएर हमला गर्दै आएको थियो । डेमोक्र्याटिक पार्टी भित्र पनि बाइडेनको स्वास्थ्यलाई लिएर विरोधको आवाज सुनिएको थियो।

बाइडेनको वर्तमान उमेर ८१ वर्ष र ट्रम्पको उमेर ७८ वर्ष छ । गत जुनमा ट्रम्प र बाइडेनबीचको पहिलो सार्वजनिक बहसपछि अमेरिकी चुनावमा मानसिक स्वास्थ्यको मुद्दा निकै चर्किएको थियो ।

अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठूलो वर्षा

0

काठमाडौं। विश्वकै सुख्खा र बाँझो क्षेत्र मानिने अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि यति ठूलो वर्षा भयो कि त्यो ठाउँ हरियालीले भरिएको छ।

दुई दिनको वर्षामा प्रायः बाँझो बालुवाका थुप्रा अहिले पानीले डुबेका छन्। विज्ञहरूका अनुसार जलवायु परिवर्तन र असामान्य मौसमका कारण यस्तो अवस्था आएको हो। नासाले उपग्रहमार्फत सहाराको बालुवाबाट बग्ने पानी, पुरातन दरबार र मरुभूमिको वनस्पतिको मनोरम तस्बिर खिचेको छ।

यो अब ताडका रूखहरू र बालुवाका थुप्राहरूको बीचमा निलो लगुन जस्तो देखिन्छ। मोरक्कोको इरिकी ताल पनि ५० वर्षपछि पूर्ण रूपमा पानीले भरिएको छ। यसअघि सन् १९७४ मा सहारा मरुभूमिमा ६ वर्षको खडेरीपछि पानी परेको थियो जुन पछि बाढीमा परिणत भएको थियो।

दक्षिण-पूर्वी मोरक्कोमा वर्षभरि औसत २५० मिमी भन्दा कम वर्षा हुन्छ। तर, सेप्टेम्बरमा नै पछिल्ला दुई दिनमा धेरै क्षेत्रमा असामान्य वर्षा भएको छ। सबैभन्दा प्रभावित क्षेत्र टाटामा वर्षापछि अचम्मको दृश्य देखिएको छ। यस्तै, राजधानी रबातबाट करिब ४५० किलोमिटर दक्षिणमा रहेको ट्यागौनित गाउँमा २४ घण्टामा १०० मिलिमिटर वर्षा भएको छ।

मोरक्कोको मौसम विज्ञान महानिर्देशनालयका अनुसार यो दुर्लभ उष्णकटिबंधीय आँधी हो र यसले भविष्यमा मौसमको ढाँचा परिवर्तन गरेको छ। यसले भविष्यमा थप आँधी आउन सक्छ । यो वर्षाले भूमिगत पानीका स्रोतहरू पुनःपूर्ति गर्न मद्दत गर्न सक्छ। दुर्भाग्यवश, भारी वर्षाको कारण आएको बाढीले मोरक्को र अल्जेरियामा २० भन्दा बढी मानिसको ज्यान लियो र किसानहरूको बाली नष्ट गरेको छ।

विद्या भण्डारीलाई अघि सारेर फेरि वाम सहकार्यको तयारी

0

काठमाडौं: तत्कालीन एमाले माओवादी एकीकृत भएर बनेको नेकपाको एकता दीर्घकालसम्म टिक्न नसके पनि फेरि नयाँ शिराबाट दुई पार्टीको सहकार्यको मिलनबिन्दु खोज्न थालिएको छ।

करिब दुई कार्यकाल मुलुकको राष्ट्रपति भएर पदमुक्त भएकी तत्कालीन एमाले नेतृ विद्या भण्डारीलाई अघि सारेर एमाले माओवादी सहकार्यको सुरुवात थालिएको स्रोतले जनाएको छ।

एमालेमा भण्डारीको सक्रिय राजनीतिक आगमनको संकेतले सशंकित भएका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन माओवादीले भण्डारीलाई उपयोग गर्न थालेको छ।

भण्डारीले सक्रिय राजनीतिक उद्देश्यले एमालेको पार्टी सदस्यता समेत नवीकरण गरेको चर्चा समेत चलेको थियो। यद्यपि त्यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस गुहकार्यमा पार्टीका उपमहासचिव वर्षमान पुनलाई अघि बढाएका छन्। प्रचण्डको निर्देशनमा पुनले पटक पटक भण्डारीसँग भेटवार्ता गरेको स्रोतको दाबी छ।

स्रोतका अनुसार प्रचण्डको राजनीतिक जीवनको विश्रामका लागि सम्मानजनक उचित पदीय व्यवस्थापन गर्ने र माओवादीलाई एमालेमा विलय गराउने सम्मको तयारी छ।

२०७४ को निर्वाचन अघि भएको एमाले माओवादी सहकार्य पार्टी एकतासम्म पुगेको थियो। निर्वाचन पछि भएको दुई पार्टीबीचको एकता करिब दुई बर्ष पनि टिक्न सकेन। पार्टीका अध्यक्षद्वयबीचको तिक्तताले राजनीतिक विभाजनको संघारमा पुगेको तत्कालीन नेकपा सर्वोच्च अदालतको फैसला पछि प्राविधिक रुपले दुई पार्टी पूर्ववत् स्थानमा पुगेका थिए।

अहिले फेरि प्रयत्न थालिएको सहकार्य पार्टी एकताकै तहमा पुर्‍याउने गरी हो या आगामी निर्वाचनमा वाम सहकार्यका लागि मात्रै हो भन्ने बारेमा नेताहरुले सार्वजनिक टिप्पणी नगरेपनि दुई पार्टी एकता गरेर पूर्वराष्ट्रपति भण्डारीलाई अध्यक्ष बनाउने सम्मको तयारी रहेको स्रोतको दाबी छ।

पूर्व राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले भने बाम एकता गर्ने गरी कुनै दलकाे नेतासँग भण्डारीकाे भेट भएकाे विषयलाई अस्वीकार गरे। उनले यस्ताे भेटकाे विषयमा कुनै जानकारी नभएकाे समेत बताए।

यस अघि एमालेसँगकै सत्ता सहयात्रा गरेर प्रचण्डले बीचमै धोका दिएपछि एमाले अध्यक्ष ओली प्रचण्डसँग रुष्ट बनेका थिए। तथापि केही समयमै दुई शीर्ष नेताले संवाद थालेर बिग्रेको सम्बन्ध सुधार्दै पुनः सहकार्य थाले पनि विश्वासको वातावरण बन्न सकेको थिएन।

तेस्रो पटक प्रधानमन्त्री भएका प्रचण्डले बीचमै सहकार्य तोडेर कांग्रेससँग सहकार्य गरेको केही समयमै फेरि एमालेसँग सहकार्य गरेपनि एमाले विश्वस्त बन्न सकेन र अन्ततः कांग्रेस एमाले मिलेर सरकार गठन प्रक्रिया अघि बढाएपछि प्रचण्ड करिब १९ महिना पछि सरकारबाट बाहिरिएका थिए।

प्रचण्डको हरेक पटकको धोका र अस्थिर राजनीतिक संस्कारले आजित भएको एमाले अब प्रचण्डको राजनीतिक व्यवस्थापन बेगर सहकार्य नगर्ने निष्कर्षमा पुगेको बताइएको छ ।
त्यसैले उनको सक्रिय राजनीतिको बैठान राष्ट्रपति पदमा आसिन गराएरमात्रै सहकार्य थाल्ने तयारीमा एमाले रहेको स्रोतको दाबी छ।

उता प्रचण्ड पनि पार्टीको आन्तरिक किचलो र शक्तिहीन भएपछि केही साना वाम घटकहरुसँग सहकार्य सुरु गरे पनि त्यसले सफलता हासिल गर्न सकेको छैन। सरकारबाट बाहिरिएपछि चार दल सम्मिलित समाजवादी मोर्चालाई सक्रिय तुल्याएका उनले पार्टीको आन्तरिक व्यवस्थापनका लागि एकता गर्ने सम्मको तयारीमा थिए।

यद्यपि मोर्चामा सहभागी एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तदारुकता नदेखाएपछि एकताको सम्भावना तत्कालका लागि टरेको छ।अन्य विभाजित माओवादीका विभिन्न घटकसँग एकता गर्ने प्रचण्डले घोषणा गरे पनि त्यसले मूर्तरुप लिन सकेको छैन।

विप्लव नेतृत्वको नेकपा र बाबुराम भट्टराईको नेसपाबाट विभाजित महिन्द्रराय नेतृत्वको दलसँग समेत एकता प्रक्रिया अघि बढाउन असमर्थ भएका छन्।

पार्टीकै उपमहासचिव जनार्दन शर्माले नेतृत्वको विकल्पका बारेमा बहस छेडेपछि रन्थनिकएका प्रचण्डले त्यसलाई मत्थर पार्न विप्लवसँगको एकतामा जोड दिएका थिए। उनले विप्लव भित्र्याएर पार्टीको अन्तरसंघर्ष फरक दिशातर्फ मोड्ने प्रयत्न गरे पनि सफल हुन सकेन।

विप्लवसँगको एकताले पनि गति लिन नसकेको र अर्कोतर्फ उपमहासचिव शर्माले चुनौती दिएपछि उनी पार्टीभित्र थप संकटमा परेका छन् । एमालेसँग सहकार्य गरेर र आफ्नो राष्ट्रपतिबाट सम्मानजनक सक्रिय राजनीतिक जीवनबाट बहिर्गमित हुने प्रचण्डको दाउ रहेको स्रोतको दाबी छ।