Wednesday, June 17, 2026
Home Blog Page 670

भैरहवा र सिमरा विशेष आर्थिक क्षेत्रमा २५ उद्योग स्थापना गर्न अनुमति

0

काठमाडौँ: सरकारले भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा १० वटा उद्योगलाई उद्योग स्थापना गर्न प्लट (जग्गा) प्रदान गरेको छ । ती उद्योगबाट रु तीन सय ४४ करोड लगानी र तीन हजार पाँच सय २३ रोजगारी सिर्जना गर्ने प्रतिबद्धता प्राप्त भएका उद्योग भएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

वर्तमान सरकार गठन भएको एक सय दिनका अवधिमा थप दुई वटा उद्योगले उत्पादन सुरु गरेका छन् । प्लट प्राप्त गरेका ३ वटा उद्योगसँग उद्योग सञ्चालनका लागि सम्झौता गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै सिमरा विशेष आर्थिक क्षेत्र(सेज)मा १५ वटा उद्योगलाई उद्योग स्थापना गर्न जग्गा प्रदान गरिएको उक्त उद्योगहरूबाट कूल रु छ सय ८४ करोड लगानी र एक हजार दुई सय ८७ रोजगारी सिर्जना गर्ने प्रतिवद्धता प्राप्त भएको छ । ती उद्योगमध्ये सात वटा उद्योगसँग उद्योग सञ्चालनका लागि सम्झौता गरिएको मन्त्रालयले जनाएको छ ।

भारतीय सहयोगमा निर्माणाधीन भैरहवास्थित कन्टेनर डिपो निर्माणको अनुगमन/समीक्षा गरी तोकिएको समयमै निर्माण सम्पन्न गर्नेगरी सहजीकरण गरिएको मन्त्रालयले जनाएको छ ।

नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति र भण्डारण क्षमता अभिवृद्धिका लागि नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच मिति गत असोज १७ मा सम्झौता भएको छ । नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति र भण्डारण क्षमता अभिवृद्धिका लागि भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पाइपलाइन विस्तार र १८ हजार नौ सय किलो लिटर क्षमताको पेट्रोलियम भण्डारण ट्याङ्की भारत सरकारको अनुदान सहयोगमा निर्माण गर्नेसमेत सम्झौता भएको छ ।

त्यसैगरी अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाइपलाइन भारत सरकारको अनुदान सहयोगमा विस्तार गर्ने र ९१ हजार नौ सय किलो लिटर क्षमताको पेट्रोलियम भण्डारण ट्याङ्की भारत सरकारको प्राविधिक सहयोगमा नेपाल सरकारले निर्माण गर्ने सहमति भएको छ ।

कञ्चनपुरको दोधारा चाँदनीमा भारतीय सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाह निर्माणका लागि जग्गा प्रयोग र रुख कटानसम्बन्धी मन्त्रिपरिषद्बाट स्वीकृत प्राप्त भइ निर्माण प्रक्रिया अगाडि बढेको मन्त्रालयले जनाएको छ ।

यसबीचमा उद्योग विभागमा एक सय ९९ वटा नयाँ उद्योग दर्ता भई रु ३३ अर्ब ६८ करोड लगानीको प्रतिबद्धता प्राप्त भएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ । चालु आवमा स्टार्टअप कार्यक्रम सञ्चालन गर्न रु एक अर्व विनियोजन गरिएकामा उक्त कार्यक्रमबाट स्टार्टअप उद्यमीको वित्तीय पहुँच बढाउन पुस मसान्तभित्र कर्जा प्रवाह गर्ने कार्य सम्पन्न गर्ने गरी तयारी अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।

लामो अवधिसम्म बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध विभिन्न नौ वटा सार्वजनिक संस्थानको अद्यावधिक स्थिति तयार गरी निजीकरण समितिमा पेस गरिएको छ । विश्व व्यापार सङ्गठनका विज्ञ र नेपालको व्यापार सम्बद्ध मन्त्रालयको सहभागितामा नेपालको राष्ट्रिय व्यापार नीतिको समीक्षा कार्य प्रारम्भ भएको छ ।

ओली नेतृत्वको सरकारप्रति जनविश्वास छैन : अध्यक्ष दाहाल

0

जुम्ला: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनविश्वास नरहेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिद्वारा आज आयोजित जनसभालाई सम्बोधन गर्न यहाँको कनकासुन्दरी गाउँपालिकाको गोरुचौर आइपुग्नुभएका दाहालले वर्तमान सरकारले भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाउनुभयो ।

प्रेस सेन्टरले कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “मैले उति बेला नै भनेको थिएँ, यो सरकार भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो । सरकार गठनको तीन महिना पुग्दैछ । तपाईहरुले सबै देखिरहनुभएको छ ।” उहाँले आफ्नो नेतृत्वको सरकारले राज्यको जमिन जबरजस्ती व्यक्तिका नाममा दर्ता गर्नेलाई गिरफ्तार गरेको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले नै अदालतमा मुद्दा चलिहरको व्यवसायीबाट जग्गा दान लिएर भ्रष्टाचारीको संरक्षण गरेको उहाँको आरोप थियो ।

उहाँले सरकार गठन भएको सय दिन पूरा भएपछि विरोधका कार्यक्रम सुरु गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले जतिसुकै नराम्रो काम गरे पनि हामीले हनिमुन पिरियड मानिने सय दिनसम्म प्रतिनिधिसभाबाट खबरदारी वक्तव्य दिनेबाहेक अन्य विरोधका कार्यक्रम गरेका छैनौँ । आज मात्रै हामी विपक्ष दलहरुका तर्फबाट सरकारलाई ज्ञापनपत्र दिँदैछौँ र सय दिन पुगेपछि विरोधका कार्यक्रम सुरु हुन्छन् ।”

अध्यक्ष दाहालले आफ्नो नेतृत्वको सरकारले देशभित्र भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा तथा अन्तर्राष्ट्रिय रुपमा नेपालमा प्रतिष्ठा अभिवृद्धि गर्न पहलकदी लिइरहेको बेला संसद्को पहिलो र दोस्रो दलले आफूलाई हटाएको बताउनुभयो ।

उहाँले आफूले सरकारको नेतृत्व गरेको बेला दुई छिमेकी देशको भ्रमणमा ऐतिहासिक समझदारीहरु भएको उल्लेख गर्नुभयो । “संयुक्त राष्ट्रसङ्घको महासभा, विश्व खाद्य सम्मेलन, कोप–२८ सम्ममा लिएको हस्तक्षेप पूर्ण पहलकदमीले विश्वको ध्यान आकर्षित भएको थियो । महासभाका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिवलाई निम्तो दिएर विभिन्न युद्धको जटिल अवस्थामा महासचिव नेपाल आउनु महत्वपूर्ण उपलब्धि हो”, उहाँले भन्नुभयो, “गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट उहाँ र मैले विश्व शान्तिका लागि अपिल गरेका थियौँ । यी सबै पहलकदमीले विश्वको ध्यान नेपालमा तानिएको थियो र नेपालको पक्षमा अन्तर्राष्ट्रिय जनमत राम्रो बनेको
थियो ।”

अध्यक्ष दाहालले सिंजा सभ्यता र प्रतिष्ठानका लागि चाँडै ऐन बन्ने बताउनुभयो । उहाँले आफू पछिल्लोपटक प्रधानमन्त्री भएको बेलामा सिंजा सभ्यता र प्रतिष्ठानसम्बन्धी विधेयक अघि बढाएको उल्लेख गर्दै यसलाई चाँडै मन्त्रिपरिषद्बाट पारित गरी संसद्बाट ऐन बनाउने प्रक्रिया थालनी गर्नुपर्ने बताउनुभयो ।

सौर्य विद्युत् परियोजनामा कर्जा लगानीसम्बन्धी सम्झौता

0

काठमाडौँ: ग्लोबल आइएमई बैंकले प्राइम पावर लिमिटेडले प्रवर्द्धन गर्ने सौर्य विद्युत् परियोजनामा कर्जा लगानी गर्ने भएको छ । कर्जा लगानीसम्बन्धी द्विपक्षीय समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशीष गर्गले आज हस्ताक्षर गर्नुभएको छ ।

समझदारी अनुसार प्राइम पावर लिमिटेडले ३० मेगावाट क्षमताको सौर्य विद्युत् परियोजना कपिलवस्तु जिल्लामा निर्माण गरी सञ्चालन गर्नेछ ।

त्यसअवसरमा प्राइम पावर लिमिटेडका अध्यक्ष गर्गले यस परियोजनाद्वारा उत्पादित विद्युत् खरिदका साथै चनौटास्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा विद्युत् जोड्नका निमित्त नेपाल विद्युत् प्राधिकरणसँग कम्पनीको सम्झौता भइसकेको जानकारी दिनुभयो ।

यस परियोजनामा संलग्न लगानीकर्ता समुहद्वारा विभिन्न पाँच सौर्य परियोजनाअन्तर्गत ५६ मेगावाट कूल जडित क्षमताको आयोजनामा समेत लगानी छ ।

नेपालमा सञ्चालित सौर्य परियोजनामध्य उक्त परियोजना सौर्य ऊर्जाअन्तर्गत विद्युत् क्षेत्रको सबैभन्दा ठूलो क्षमताको परियोजना हो । बैंकले नविकरणीय र हरित उर्जा उत्पादन, प्रशारण तथा वितरणमा आफ्नो लगानी प्रवर्द्धन गर्ने उद्देश्य अनुरुप सौर्य तथा जलविद्युत्मा सुलभ ब्याजदरमा कर्जा लगानी गर्दै आएको छ ।

आजको मौसम : लुम्बिनी र मधेशमा हल्का वर्षाको सम्भावना

0

काठमाडौँ: हाल देशभर पश्चिमी एवं स्थानीय वायुको प्रभाव कायमै रहेको छ । यही प्रभावका कारण लुम्बिनी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज यहाँ जारी विज्ञप्तिमा मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत रहेको उल्लेख छ ।

देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ । यसैगरी आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । हल्का हिमपातको सम्भावना भएका स्थानमा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको
छ ।

बागलुङमा उत्पादित छुर्पी अमेरिका निर्यात

0

गलकोट (बागलुङ): पछिल्लो समय यहाँ उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात हुने गरेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण हुने गरेको छ ।

वार्षिक रु आठ करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने सहकारी सङ्घले आर्थिक वर्ष २०८०/८१ मा मात्रै रु. ३८ लाख ५४ हजार चार सय १० को छुर्पी अमेरिका निर्यात गरेको हो । दुग्ध सहकारी सङ्घ बागलुङका अध्यक्ष दिपक गौतमकाअनुसार सहकारीबाट उत्पादित दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवामध्ये छुर्पीको माग अन्तर्राष्ट्रिय बजारमा उच्च छ । “दूध, तथा अन्य उत्पादनहरु बागलुङमै खपत भइरहेको हुन्छ, तर छुर्पीको बजार अन्तर्राष्ट्रियस्तरमा छ”, गौतमले भन्नुभयो ।

दुग्ध उत्पादक सहकारी सङ्घमा एक हजार पाँच सय किसान आबद्ध छन् । सङ्घले किसानबाट सङ्कलित दूधसहित अन्य सात प्रकारका दुग्धजन्य परिकार उत्पादन गरी बिक्री तथा वितरण गर्दै आएको छ । सङ्घले बागलुङ जिल्ला दूधमा आत्मनिर्भर बनाएको छ । सहकारीले गत आवमा रु सात करोड ८३ लाखको दूध, एक करोडको दही, २० लाखको घ्यू, ३२ लाखको पनिर र ८० हजारको खुवा बिक्री गरेको जनाएको छ ।

हाल सहकारी सङ्घले छुर्पी प्रतिकिलो रु एक हजार दुई सयमा बिक्री गर्दै आएको छ । सहकारीमा आबद्ध किसानले सहकारीमा आवद्ध भएपछि दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएकाले हौसला मिलेको बताएका छन् । सहकारी सङ्घमा १६ कर्मचारीले सङ्कलित दूध बागलुङ बजारका घरघरमै लगेर बिक्री गर्ने गरेको सहकारीका लेखापाल गणेश खड्काले बताउनुभयो ।

कृषकले उत्पादन गर्ने, सहकारीले सङ्कलन गर्ने र सहकारी सङ्घले दूध प्रशोधन गरी दुग्धजन्य पदार्थ बिक्री गरेर सहकारीको असल अभ्यास गरेको राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा सहकारी अभियन्ता रामबहादुर जिसीको भनाइ छ । दैनिक यहाँका काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका किसानले उत्पादन गरेको दूध खरिद गरी १४ वटा सहकारीमार्फत सङ्घले बजारीकरण गर्दै आएको छ ।

सीतापाइलाबाट धादिङको धार्के पुगिने वैकल्पिकमार्ग अनिश्चितकालका लागि बन्द

0

काठमाडौँ: नागढुङ्गा–नौबिसे सडकको जाम छल्न काठमाडौँको सीतापाइलाबाट धादिङको धार्के पुगिने वैकल्पिकमार्ग अनिश्चितकालका लागि बन्द गरिएको छ ।

धार्के–ठूलोखोलामा दोस्रो तहको कालोपत्र आजदेखि सुरु भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको धुनीबेँसी नगरपालिका–५ का वडाअध्यक्ष विशाल भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आजदेखि धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र सुरु भएको छ । अत्यावश्यक बाहेकका सवारी साधनलाई बन्द गरिएको हो ।”

उक्त सडकअन्तर्गत हाल धुनिबेँसी नगरपालिका–५ को बट्टारबाट अमलेश्वरी पार्कसम्म कालोपत्र भइरहेको सडक निर्माणको ठेक्का लिएको कम्पनी गोरखकाली कन्स्ट्रक्सनका साइट इन्चार्ज रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले नौ किलोमिटरको उक्त दोस्रो लेयरको कालोपत्र तीन चरणमा पूरा गर्नेगरी तीन/तीन किमीका दरले काम गर्नेछौँ, तिहारसम्म आधा काम सकिन्छ ।”

यस पटकको दसैँमा सवारी जामका कारण नागढुङ्गा–नौबिसे सडकको सट्टा सीतापाइला–धार्के सडक प्रयोगमा ल्याइएको थियो । अधिकांश साना सवारी साधन सीतापाइला–धार्के हुँदै गुडेका थिए । नागढुङ्गा–नौबिसे सडकको जाम छल्न यातायात व्यवसायीले दसैँमा उक्त सडक प्रयोग गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो ।

नागरिक स्तरबाट सडक स्तरोन्नतिको माग बढेपछि सरकारले उक्त सडकको काठमाडौँतर्फ पाँच किलोमिटर सडक विस्तार सुरु गरिसकको छ । सीतापाइला–धार्के सडक कुल २४ किलोमिटर लम्बाइ र सीतापाइला–रामकोट–भीमढुङ्गा–महेशफाँट हुँदै धार्केमा जोडिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले जानकारी दिनुभयो ।

हेटौँडा सिमेन्ट उद्योगले तिहारपछि सिमेन्ट उत्पादन गर्ने

0

बागमती:हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापन पक्षले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भएको छ । उद्योगका विभिन्न उपकरण मर्मत गर्नुपर्ने भन्दै व्यवस्थापनल पक्षले यही असोज १५ गतेदेखि उत्पादन बन्द गरेको हो ।

उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणहरुको मर्मत कार्य भइरहेको र तिहारसम्ममा मर्मत सकिएपछि पुनः सिमेन्ट उत्पादको कार्य सुरु गरिने उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिनुभयो । उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मतसम्भारमा समय लागेको उहाँको भनाइ थियो । अध्यक्ष भण्डारीले मर्मतसम्भारको काम तीव्र रुपमा भइरहेकाले छिट्टै सकिने र त्यस लगत्तैबाट उत्पादन सुरु गर्ने तयारी भएको बताउनुभयो ।

“हामीसँग कच्चापदार्थको अभाव छैन्”, अध्यक्ष भण्डारीले भन्नुभयो, “उद्योगलाई चाहिने करिब चार सय मेट्रिक टन कोइला मौज्दात छ ।” थप कोइला खरिदको प्रक्रिया अघि बढिसकेकाले कोइलाको समस्या नहुने उहाँको भनाइ थियो । आर्थिक अभावका कारण यसअघि दुई महिना सो उद्योग बन्द भएको थियो ।

यही भदौ महिनाको तेस्रो सातादेखि सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताउनुभयो । विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।

मन्त्री भट्टराईद्वारा बाढी पहिरोबाट क्षतिग्रस्त ललितपुरका विद्यालयको निरीक्षण

0

पाटन (ललितपुर: शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले गत असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढी र पहिरोबाट क्षति पुगेका ललितपुरका विद्यालयको निरीक्षण गर्नुभएको छ ।आज उहाँले बाढी र पहिरोका कारण क्षती पुगेका कोन्ज्योसोम गाउँपालिकाको ज्ञानज्योति आधारभूत विद्यालय, गोदावरी नगरपालिकाको बुद्ध माध्यमिक विद्यालय, वागेश्वरी आधारभूत विद्यालय, महालक्ष्मी नगरपालिकाको गम्भीर समुद्र सेतु माध्यमिक विद्यालयको निरीक्षण गर्नु भएको हो ।

त्यसक्रममा मन्त्री भट्टराईले क्षतिग्रस्त विद्यालयमा आवश्यकतानुसार तत्काल अस्थायी सिकाइ केन्द्रको व्यवस्था गर्ने, अभिभावक र विद्यार्थीलाई मनोपरामर्श दिने र विद्यार्थीको सिकाइलाई निरन्तरता दिन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले पाठ्यपुस्तक क्षति भएका विद्यार्थीलाई स्थानीय तहमार्फत पाठ्यपुस्तक उपलब्ध गराइने र दीर्घकालीन रूपमा विपद् प्रतिरोधी जग्गामा मापदण्डअनुसारको भवन बनाउन स्थानीय तह, विद्यालय व्यवस्थापन समिति र सरोकारवालाको चासो रहनुपर्नेमा जोड दिनुभयो ।

ललितपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले कोन्ज्योम गाउँपालिकाको ठोठ्नेखोला क्षेत्रमा बाढिले क्षतिग्रस्त बनाएको बस्तीको स्थानान्तरणका लागि पहल गर्न उहाँलाई अनुरोध गर्नुभयो ।

निरीक्षणमा मन्त्री भट्टराईसँगै सांसद राणा र क्षेत्र नं २ का प्रेम महर्जन, बाग्मती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, कोन्ज्योसोम गाउँपालिका प्रमुख कृष्णमान लामा, उपप्रमुख राजनप्रसाद घिमिरे, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक तथा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखलगायत उपस्थित हुनुहुन्थ्यो ।

स्वर्ण पदक विजेता टोली प्रधानसेनापतिबाट सुशोभित

0

काठमाडौँ: प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त अधिराज्य बेलायतमा यस वर्ष सञ्चालन भएको अभ्यास क्याम्ब्रियन गस्तीका स्वर्ण पदक विजेता नेपाली सेनाका टोलीलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा  आयोजित समारोहमा एक व्यवस्थापकसहित प्रतियोगितामा सहभागी १० सैनिकलाई प्रशंसा पदकबाट सुशोभित गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

अन्तर्राष्ट्रियस्तरको सैनिक प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याई नेपाल र नेपाली सेनाको छवि एवं गौरव बढाउन पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सेनाले उहाँहरुलाई सम्मान गरेको हो । गत असोज १८ देखि २७ गतेसम्म बेलायतको वेल्स, ब्रेकनमा सञ्चालित अभ्यासमा ३७ राष्ट्रका एक सय २१ टोलीको सहभागिता थियो ।

सन् १९६० देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको उक्त प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ । सेनाले यसअघि सन् २०१७ र सन् २०१९ मा पनि स्वर्ण पदक प्राप्त गरेको थियो ।

बाढीले क्षति पुर्‍याएको खिम्ती–लामोसाँघु प्रसारण लाइन इआरएस टावर प्रयोग गरी सञ्चालनमा ल्याइँदै

0

काठमाडौँ: गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु एक सय ३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनःस्थापना प्रणाली (इआरएस) टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइने भएको छ ।

बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारस्थित प्रसारण लाइनको सात नं टावर बगाएको थियो । टावर बगेपछि चारवटा टावरको तार (कन्डक्टर) मा पनि क्षति पुगेको छ । उक्त लाइनबाट १३ असोजदेखि विद्युत् प्रवाह बन्द छ । यसबाट खिम्तीबाट काठमाडौँ उपत्यकाको प्रसारण लाइन ‘लिङ्क’ टुटेको छ । करिब दुई सय मेगावाट विद्युत् प्रवाह क्षमताको उक्त लाइन काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिन्छ । सोही लाइनबाट आएको विद्युत्लाई लामोसाँघु–भक्तपुर प्रसारण लाइन हुँदै काठमाडौँ उपत्यकामा आपूर्ति गरिन्छ ।

यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी नदी जलाधार क्षेत्रमा निर्माण भएको जलविद्युत् आयोजनाको विद्युत् लामोसाँघु–खिम्ती–ढल्केबर हुँदै भारततर्फ निर्यात हुँदै आएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो, “खिम्ती–लामोसाँघु प्रसारण लाइन बन्द हुँदा विद्युत् प्रणालीको विश्वसनीयतामा असर परेको छ, भारततर्फको विद्युत् निर्यातसमेत प्रभावित भएको छ, त्यसैले इआरएस संरचनाको प्रयोग गरी लाइनलाई जतिसक्दो छिटो सञ्चालनमा ल्याउन लागिएको हो ।” उहाँले हाल इआरएसमार्फत लाइन चलाएर बाढीले बगाएको टावरको सट्टा अर्को स्थायी टावर निर्माण गरिने उल्लेख गर्नुभयो ।
प्रसारण लाइन सञ्चालनमा ल्याउन इआरएस टावर जडान गरिसकिएको छ । यो टावर राख्न लागेपछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै काममा अवरोध गरेका थिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, रामेछापका प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थितिमा भएको छलफलमा स्थानीयसँग सहमति जुटेपछि २ कात्तिकदेखि इआरएस टावर राख्न सुरु गरिएको थियो । टावर जडान सकेर तार तान्न सुरु गर्न लाग्दा फेरि दोलखाका स्थानीयले अवरोध गरेका थिए । स्थानीय जनप्रतिनिधिको रोहबरमा आजै सहमति जुटेको हो । प्राधिकरण खिम्ती ग्रिड शाखाका प्रमुख मनोज साहले अब करिब चार दिनमा तार तानेर प्रसारण लाइन सञ्चालनमा ल्याइने जानकारी दिनुभयो ।