Friday, June 19, 2026
Home Blog Page 638

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कर्मचारीले गरे तालाबन्दी

0

जुम्ला: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तालाबन्दी भएको छ। प्रतिष्ठानमा कार्यरत शिक्षक र कर्मचारीले आफ्ना माग पूरा नभएको भन्दै तालाबन्दी गरेका हुन्।

बढुवा र स्तरवृद्धिको माग सम्बोधन नगरिएको कारण देखाउँदै ५८ जना शिक्षक र कर्मचारीले प्रतिष्ठानमा तालाबन्दी गरेका छन्। यसले गर्दा पठनपाठन पूर्णरूपमा प्रभावित भएको छ। उपकुलपति, शिक्षाध्यक्ष, र रजिस्ट्रारलगायत पदाधिकारीका कार्यकक्षमा समेत तालाबन्दी भएपछि प्रशासनिक काम ठप्प भएको छ।

प्रतिष्ठानमा करिब चार सय कर्मचारी कार्यरत छन्, तर जसमध्ये केवल ७०-७५ जना स्थायी छन्। ठूलो सङ्ख्यामा करार र ज्यालादारी कर्मचारीले काम गरिरहेका छन्। लामो समयदेखि स्थायी प्रक्रियामा प्रगति नभएको, अदालतले आन्दोलनरत कर्मचारीको पक्षमा फैसला गरिसकेको र प्रतिष्ठानले सिनेट बैठकको निर्णय अनुसार माग सम्बोधनको प्रक्रिया अघि नबढाएको भन्दै कर्मचारीहरूले असन्तोष व्यक्त गरेका छन्।

विसं २०८० भदौ २१ मा दुई पक्षीय सम्झौतापछि असोज ८ मा बढुवापत्र प्रदान गरिएको थियो। तर, बाँकी स्थायी कर्मचारीको स्तरवृद्धि प्रक्रिया २०८० असोज १ देखि अघि बढाउने सहमतिमा ढिलाइ भएको आरोप आन्दोलनरत कर्मचारीले लगाएका छन्।

युक्रेनमा रूसको सेप्टेम्बर यताकै ठूलो आक्रमण, पोल्याण्डको वायुसेना स्ट्याण्डबाइ

0

काठमाडौं। पोल्याण्डले युक्रेनमा रुसले “ठूलो मात्रामा” आक्रमण गरेपछि आफ्नो वायुसेनालाई “स्ट्यान्डबाइ” मा राखेको छ।

पोल्याण्डको सशस्त्र बलको अपरेशनल कमाण्डले सामाजिक सञ्जालमा पोस्ट गर्दै जानकारी दिएअनुसार पोल्याण्ड र उसका सहयोगी राष्ट्रका विमानहरूले पोल्याण्डको हवाई क्षेत्रमा नियमित गस्ती सुरु गरेका छन्। यसैबीच, पोल्याण्डले आफ्नो सबै सशस्त्र सेना र स्रोतहरू पूर्णरूपमा सक्रिय गरेको छ। लडाकु विमान, जमीनमा आधारित वायु रक्षा प्रणाली, रडार प्रणाली लगायतका सुरक्षा संयन्त्र तैनाथ गरिएका छन्।

रुसले युक्रेनमा क्रुज र ब्यालेस्टिक मिसाइलहरूका साथै ड्रोनबाट ठूलो मात्रामा आक्रमण गरिरहेको छ। युक्रेनका पश्चिमी क्षेत्रहरू समेत यी आक्रमणको निशानामा परेका छन्।

गएराति रुसले युक्रेनका विभिन्न ठाउँहरूमा व्यापक मिसाइल र ड्रोन आक्रमण गर्‍यो। यो हमला सेप्टेम्बरयताकै सबैभन्दा ठूलो मानिएको छ। रुसले विशेषतः युक्रेनको ऊर्जा पूर्वाधारमा निशाना साधेको छ, जसमा जेनेरेटर र प्रसारण स्टेशनहरू मुख्य रूपमा क्षतिग्रस्त भएका छन्।

युक्रेनको दक्षिणी सहर माइकोलाइभ सबैभन्दा प्रभावित क्षेत्रहरूमध्ये एक हो। युक्रेनको आपतकालीन सेवाका अनुसार यस आक्रमणमा दुई महिलाको मृत्यु भएको छ भने दुई बालबालिकासहित छ जना घाइते भएका छन्।

निकोलाईभका गभर्नर भिटाली किमले आइतबार बिहान धेरै ड्रोन आक्रमण भएको जनाएका छन्। उनका अनुसार आगलागीका कारण आवासीय भवनहरू, अग्ला भवन, गाडीहरू, सपिङ सेन्टर, र अन्य पूर्वाधारहरूमा ठूलो क्षति पुगेको छ।

युक्रेनको राजधानी किभमा पनि मिसाइल र ड्रोन आक्रमण प्रयास गरिएको थियो। तर, अधिकांश क्षेप्यास्त्र र ड्रोनहरूलाई रोकिएको थियो। रोकिएका क्षेप्यास्त्रका टुक्राहरू किभका धेरै ठाउँमा खसेका छन्। यद्यपि, यस घटनामा कुनै घाइते हुने खबर आएको छैन।

यो घटनाले रुस-युक्रेन युद्धको तनावलाई थप गहिरो बनाएको छ। पोल्याण्डको यो तयारी र गतिविधि युक्रेनको पक्षमा रहेको उसको अडानलाई स्पष्ट रूपमा देखाउँछ।

कार्यालय खुल्ने समयमा सार्वजनिक बिदाको जानकारी: समयमै निर्णय गर्न कसरी चुक्यो सरकार ?

0

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको आइतबार दिउँसो काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारकै क्रममा ८३ वर्षको उमेरमा निधन भयो। कलेजोसँग सम्बन्धित समस्याका कारण अस्पतालमा उपचाररत रहेका ढुंगानाले, मृत्यु स्वाभाविक रहेको स्वीकार्दै संसारबाट बिदा लिए।

वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगाना २०४८ देखि २०५१ सालसम्म सभामुखको भूमिका निर्वाह गरेका थिए।

उनको निधनपछि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आइतबार नै राष्ट्रिय शोकस्वरूप एक दिनको सार्वजनिक बिदा दिन आग्रह गरेका थिए। तर, सरकारको नेतृत्व उनकै पार्टीले गरिरहेका बेला समेत यस प्रस्तावलाई तत्काल गम्भीरतापूर्वक लिइएन। अन्ततः सोमबार बिहान सरकारी कार्यालय खुल्ने समयमा मात्र सार्वजनिक बिदाको सूचना जारी गरियो।

सार्वजनिक बिदाको सूचना ढिलो गरि साढे ९ बजेपछि मात्र बाहिरिएपछि लामो दूरीबाट कार्यालय जाँदै गरेका कर्मचारीहरू समस्यामा परे। कतिपयले त कार्यालय पुगिसकेपछि मात्र बिदा भएको थाहा पाए। ढिलो निर्णयका कारण धेरैले अनावश्यक असुविधा भोग्नुपर्‍यो।

केपी शर्मा ओली नेतृत्वको सरकारले आज दिएको सार्वजनिक बिदा ‘जब पर्‍यो राति तब बुढी ताती’ भन्ने नेपाली उखानसँग मिल्दो भएको भन्दै धेरैले त खिसिटिउरीसमेत गरे। प्रधानमन्त्री ओलीले आइतबार दिउँसो ३ बजे सामाजिक सञ्जालमार्फत् ढुंगानाको निधनप्रति दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।

‘२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु। नेपालमा मानवअधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उहाँको योगदान सम्झिरहेको छु । दिवंगत मित्र दमननाथ ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली, शोकमा रहनु भएका परिवारजनमा गहिरो समवेदना,’ उनले लेखेका थिए। तर, सोमबार बिहानको नियमित मन्त्रिपरिषद् बैठकबाट मात्र ओली सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्‍यो।

बैठकले ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने, स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनाए। तर, त्यो कार्यालय खुल्ने समयमा गरिएको अनौठो निर्णय थियो। गृह मन्त्रालयले सरकारको निर्णय औपचारिक रुपमा सार्वजनिक गर्दासम्म कार्यालय सुरू भइसक्ने समय साढे १० भइसकेको थियो।

ढिला गरी गरिएको निर्णयले अनावश्यक रुपमा कैयौंको तेल खर्च भयो, समय खर्च भयो, सडक जाम भयो, विद्यार्थी, शिक्षक, कर्मचारी सबै अन्यौलमा परे। र, सबैले सरकारले ढिला गरि गरेको निर्णयको विरोध गरे।

धेरैले सामाजिक सञ्जालमा सरकारले ढुंगानाको योगदानको सम्मान नभइ हचुवा तालमा दिइएको बिदाले अपमान भएको टिप्पणी गरेका छन्। उनीहरूले समयमै सार्वजनिक बिदा दिन किन चुक्यो सरकार भन्दै सामाजिक सञ्जालमार्फत प्रश्न गरिरहेका छन्।

संचालनमा आएको दुई महिना नबित्दै धरहरा बन्द

0

काठमाडौँ: सञ्चालनमा आएको दुई महिना नपुग्दै धरहरा बन्द भएको छ। लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि धरहरा बन्द गरिएको सहरी विकास भवन निर्माण विभागका उपमहानिर्देशक प्रकीर्ण तुलाधरले जानकारी दिएका छन्।

उपमहानिर्देशक तुलाधरले भने, “लिफ्ट बिग्रिएकै कारण केही दिनअघि धरहरा बन्द गरिएको हो। मर्मतपछि चाँडै पुनः सञ्चालनमा आउनेछ।”

२०७२ सालको विनाशकारी भूकम्पले धरहरा ढालेपछि पुनर्निर्माणको काम २०७५ सालदेखि थालिएको थियो। निर्माण सुरु भएको छ वर्षपछि पनि पूर्णरूपमा सम्पन्न नभएकाे धरहरा असोज ३ गते संविधान दिवसको अवसरमा सञ्चालनमा ल्याइएको थियो।

परीक्षणकालीन रुपमा सञ्चालन गरिएको धरहरामा दैनिक ६०० जना निःशुल्क चढ्न सक्ने व्यवस्था गरिएको थियो। अनलाइनमार्फत निःशुल्क टिकट बुकिङ गरेर चढ्न सकिने यो धरहरा बुधवार र सार्वजनिक बिदाको दिनबाहेक अन्य दिन खुला गरिएको थियो।

हालसम्म २५,७४२ जनाले धरहरा चढेको तथ्याङ्कमा उल्लेख छ।

विद्यार्थीको अनुपातअनुसार शिक्षकको व्यवस्था गर्न आजपा अध्यक्ष साहको आग्रह

0

राजविराज (सप्तरी): आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले विद्यार्थी अनुपातअनुसार शिक्षकको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभएको छ । पत्रकार सम्मेलनमा उहाँले प्रदेश सरकार र सङ्घीय सरकारलाई विद्यार्थीको अनुपातमा तत्काल शिक्षक व्यवस्थाका लागि आग्रह गर्नुभयो ।

अध्यक्ष साहले भ्रष्टाचार, अनियमितता, कुशासन, मनपरी कर, महँगी, बेरोजगारी, बैदेशिक रोजगारमा ठगीलगायत विषयमा आफ्नो पार्टीले आवाज उठाउँदै आएको बताउनुभयो । आफू माओवादी र एमालेमा रहँदा उच्च पद र ठूलो हैसियत पाए पनि ती पार्टीको कार्यशैलीका कारण देश र जनताका समस्या समाधान हुन नसक्ने ठानेर छुट्टै अभियानमा लागेको उहाँले जिकिर गर्नुभयो ।

पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द हुने

0

दमौली (तनहुँ): पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ।

निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्डमा कामलाई तीव्रता दिन यही मङ्सिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा सवारी आवागमन बन्द गरिने योजना रहेको छ। यस सडकखण्डमा दुई चरणमा सडक बन्द गरी काम गरिने मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो।

सडक बन्दको समय तालिका

इन्जिनियर पाण्डेका अनुसार, आज राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रूपमा बन्द रहनेछ। त्यसपछि, राति १ बजेदेखि १ः३० बजेसम्म सवारी आवागमन खुला हुनेछ। दोस्रो चरणमा, राति १ः३० बजेबाट बिहान ४ बजेसम्म सडक पुनः बन्द गरी निर्माण कार्य सञ्चालन गरिनेछ। आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइने पनि पाण्डेले बताउनुभयो।

उहाँले थप स्पष्ट पार्दै भन्नुभयो, “छिर्कनेदेखि देउराली खण्डमा अत्यावश्यक सवारीबाहेक अन्य सवारी साधन पूर्ण रूपमा रोकिनेछन्। सडक निर्माणको कामलाई प्रभावकारी बनाउन सवारी साधनले लेन अनुशासन कडाइका साथ पालना गर्न र सवारी लामबद्ध भएको अवस्थामा जथाभाबी ओभरटेक नगर्न आग्रह गरिएको छ।”

पूर्वी खण्डको प्रगति अवस्था

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत काम सम्पन्न भइसकेको छ। पाण्डेका अनुसार:

  • १४ वटा साना पुलको निर्माण सम्पन्न भइसकेको छ।
  • दुई ठूला पुल र एक सय तीन कल्भर्टको निर्माण पनि सकिएको छ।
  • व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम ४५ प्रतिशत पूरा भएको छ।

पूर्वी खण्डको निर्माण विसं २०७७ माघ १७ गते ठेक्का सम्झौतासँगै सुरु भएको थियो। चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले उक्त ठेक्का लिएको हो। निर्माण कार्य २०७८ वैशाख २ गतेदेखि औपचारिक रूपमा सुरु गरिएको थियो।

सडक निर्माणमा प्रगति र आगामी योजना

पूर्वी खण्डतर्फ सडक निर्माणको ६८ प्रतिशत काम पूरा भइसकेको छ। बाँकी कामलाई यथाशक्य चाँडो सम्पन्न गर्न निर्माणलाई तीव्रता दिने योजना रहेको पाण्डेले जानकारी दिनुभयो।

ऊर्जा मन्त्रालयले कार्यान्वयनमा ल्यायो ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि’

0

काठमाडौँ: सरकारले निर्माण कार्यको अनुमगन, सुपरिवेक्षण, सञ्चालन तथा परामर्श सेवाका लागि आवश्यक पर्ने अस्थायी प्रकृतिको जनशक्ति व्यवस्थापनका लागि ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि, २०८१’ कार्यान्वयनमा ल्याएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मन्त्रिस्तरीय निर्णयमार्फत सो कार्यविधि कार्यान्वयनमा ल्याउनु भएको हो । सो कार्यविधि यही मङ्सिर २ गते मन्त्रालयले स्वीकृत गरेको छ । मन्त्रालयका सहसचिव इन्दिरा दाहाल संयोजक रहनुभएको एक कार्यदलले सो कार्यविधि तयार पारेको थियो ।

कार्यदलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव मुना शर्मा, जलस्रोत तथा सिँचाइ विभागका उपसचिव विष्णुदेव यादव, विद्युत् विकास विभागका उपसचिव सुवर्ण खनाल, जल तथा मौसम विज्ञान विभागका उपसचिव निराजन सापकोटा सदस्य हुनुहुन्थ्यो ।

यस्तै, ऊर्जा मन्त्रालयको कानुन तथा फैसला कार्यान्वयन शाखाका उपसचिव खिमानन्द ज्ञवाली सदस्य सचिव रहनुभएको थियो । सो कार्यदलले दिएको प्रतिवेदनका आधारमा कार्यविधि कार्यान्वयनमा ल्याइएको हो । कार्यविधिअनुसार विवाद समाधान, प्रोत्साहन, अध्ययन, अनुसन्धान तथा परामर्श, कार्यालयका लागि आवश्यक जनशक्ति व्यवस्थापन, मानव संशाधन विकासलगायतमा हुने खर्चलाई सहज बनाइनेछ ।

निर्माणसँग सम्बन्धित बोलपत्रको प्रस्तावको तयारी, सूचना प्रकाशन, इन्धन, स्टेशनरी, फर्निचर, टेलिफोन, विद्युत् तथा पानी महसुल, सवारी साधन, औजार तथा उपकरण खरिद वा भाडा, मर्मत सम्भारका लागि सहज हुनेछ ।

कन्टिन्जेन्सी रकम निर्माण, परामर्श, वस्तु खरिद र जडानको नियमित सुपरिवेक्षण तथा अनुगमन गर्ने प्रयोजनका लागि सवारी साधन, औजार तथा उपकरण खरिद गर्न कन्टिन्जेन्सी रकमको बढीमा २५ प्रतिशत रकम छुट्याई कार्यालयले विभागमा पठाउन सक्नेछ । सो रकमबाट सम्बन्धित विभाग वा कार्यालयले अर्थ मन्त्रालयको सहमति लिई सवारीसाधन खरिद गर्न सक्ने व्यवस्था गरिएको छ ।

उपकरण तथा सवारी साधन खरिदका लागि कार्यालय तथा विभाग मार्फत कूल कन्टिजेन्सी रकमको अधिकतम ४० प्रतिशतसम्म खर्च गर्न सकिने व्यवस्था कार्यविधिमा गरिएको छ । कार्यविधिले बढीमा रु २० लाखसम्म विनियोजित बजेट भएका धेरै योजनाहरु हुने बजेट उपशीर्षकहरुको हकमा कन्टिजेन्सी रकम खर्च गर्दा सम्बन्धित बजेट उपशीर्षकमा एकमुष्ट खर्च जनाउन सकिने प्रबन्ध गरेको छ । त्यस्तो एकमुष्ट खर्च रकमलाई समानुपातिक रुपमा बाँडफाँड गरी प्रत्येक ठेक्काको नापी किताबमा कन्टिजेन्सी खर्च प्रविष्ट गर्नुपर्नेछ ।

कार्यविधिअनुसार आयोजना सञ्चालन हुने क्षेत्रको भौगोलिक अवस्था, आयोजना क्षेत्र वरिपरि सोही आयोजनाले सञ्चालन गर्नुपर्ने अन्य आयोजनाहरु, कार्यको जटिलता तथा कार्यबोझ, सुपरिवेक्षकका लागि चाहिने योग्यता, प्राविधिक क्षमता, जनशक्तिको उपलब्धतालाई ध्यान दिएर लागत अनुमान तयार गर्नुपर्नेछ । कन्टिजेन्सी रकम खर्च गर्नेसम्बन्धी निर्देशिका, २०७७ बमोजिम भए गरेका काम कारवाहीलाई समेत कार्यविधि बमोजिम भएको मानिनेछ ।

कन्जिेन्सी रकम खर्च गर्दा मितव्ययी बन्नुपर्ने, खर्च रकमको अभिलेख अद्यावधिक गरी राख्नुपर्ने, प्रचलित कानुनको परिपालना गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । विकास निर्माणलाई थप प्रभावकारी बनाउने र मन्त्रालय मातहतका आयोजनालाई थप गति दिने लक्ष्यका साथ सो कार्यविधि कार्यान्वयनमा ल्याइएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

महिला मृत्युदर घटाउन निशुल्क ‘एचपीभी’ खोप: के हो यो खोप?

0

काठमाडौँ: देशभर पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ‘एचपीभी खोप’ आगामी माघ २२ गतेदेखि निःशुल्क उपलब्ध गराइने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको सङ्ख्या बढ्न थालेपछि जोखिम न्यूनीकरणका लागि खोप अभियान सञ्चालन गर्न लागेको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप उपलब्ध गराइनेछ। यो अभियानमा करिब १७ लाख किशोरीलाई लक्षित गरिएको छ।

“यो खोप लगाएपछि ९० देखि ९५ प्रतिशतसम्म पाठेघरको मुखमा हुने क्यान्सरबाट सुरक्षित रहन सकिन्छ,” प्रवक्ता बुढाथोकीले बताउनुभयो।

विशाल खोप अभियानको तयारी

स्वास्थ्य सेवा विभागका अनुसार १८ हजार ९ सय विद्यालय र ८ हजार २ सय अन्य खोप केन्द्र स्थापना गरिनेछ। खोप अभियानलाई प्रभावकारी बनाउन २७ हजार ८० जना स्वास्थ्यकर्मी, ५४ हजार स्वयंसेवक र १५ हजार सुपरिवेक्षक परिचालन गरिनेछ। यो खोप अभियान देशभर एकैसाथ माघ २२ देखि फागुन ६ सम्म सञ्चालन हुनेछ।

दैनिक चार महिलाको मृत्यु

पाठेघरको मुखको क्यान्सर नेपालमा महिलामा हुने क्यान्सरमध्ये पहिलो स्थानमा पर्छ। ‘ग्लोबल क्यान्सर अब्जरभेटरी २०२२’ का अनुसार नेपालमा हरेक वर्ष २ हजार १ सय ६९ महिलामा यो क्यान्सर हुने अनुमान छ। औसतमा दैनिक चार महिलाको मृत्यु यसै कारण हुने तथ्याङ्कले देखाएको छ।

विश्व स्वास्थ्य सङ्गठनको सन् २०२० को रिपोर्ट अनुसार, यो क्यान्सरबाट प्रत्येक वर्ष विश्वभर तीन लाख ११ हजार महिलाको मृत्यु हुने गरेको छ। सन् २०३० सम्म यो सङ्ख्या चार लाख पुग्ने अनुमान गरिएको छ।

सरकारको पहल र रणनीति

पाठेघरको मुखको क्यान्सर निवारणलाई सरकारले राष्ट्रिय प्राथमिकतामा राख्दै यसअघिका वर्षहरूमा ‘पाइलट प्रोजेक्ट’का रूपमा कास्की र चितवनमा सफल परीक्षण गरिसकेको छ। खोप अभियानलाई नियमित रूपमा सञ्चालन गर्न नेपाल सरकारले ‘गाभी’ सँग सहकार्य गरेको छ।

यस पटकको अभियानमा १७ लाख ७० हजार मात्रा खोप उपलब्ध गराइने छ। खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार, “पहिले दुई मात्रा खोप दिइन्थ्यो, तर यस पटक एक मात्राको खोप पर्याप्त हुने छ। यो खोपले पाठेघरको मुखको क्यान्सर रोकथाममा महत्वपूर्ण भूमिका खेल्नेछ।”

एचपीभी खोप के हो?

एचपीभी (ह्युमन प्यापिलोमाभाइरस) पाठेघरको मुखको क्यान्सरको मुख्य कारण हो। यो भाइरसबाट जोगिन एचपीभी खोप अत्यन्त प्रभावकारी मानिन्छ। नेपालमा ८० प्रतिशत पाठेघरको क्यान्सर एचपीभीका प्रजाति १६ र १८ बाट हुने गरेको छ।

विश्व स्वास्थ्य सङ्गठनले नौदेखि १४ वर्ष उमेरका बालबालिकालाई एचपीभी खोप लगाउन सिफारिस गरेको छ। यो खोपले क्यान्सरको जोखिमलाई उल्लेखनीय रूपमा घटाउँछ।

अन्तर्राष्ट्रिय लक्ष्य

सन् २०३० सम्म पाठेघरको मुखको क्यान्सरको पूर्ण निवारणका लागि विश्व स्वास्थ्य सङ्गठनले ९०–७०–९० रणनीति अघि सारेको छ।

  • ९० प्रतिशत किशोरीलाई १५ वर्षभित्र खोप लगाउने।
  • ७० प्रतिशत महिलालाई ३५ र ४५ वर्षको उमेरमा परीक्षण गर्ने।
  • ९० प्रतिशत क्यान्सर पुष्टि भएकालाई समयमै उपचार दिने।

नेपालले पनि यो लक्ष्य प्राप्तिका लागि ठोस कदम उठाउँदै खोप कार्यक्रमलाई व्यापक बनाउने तयारी गरेको छ।

कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता

0

कर्णाली: कर्णाली प्रदेशका विभिन्न स्थानीय तहका रिक्त आठ पदका लागि ४४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। निर्वाचन आयोग नेपालको कार्यतालिका अनुसार यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि यी उम्मेदवारहरूले आफ्नो उम्मेदवारी पेश गरेका हुन्।

कर्णालीका नलगाड नगरपालिकाको उपप्रमुख, दैलेखको महावु गाउँपालिकाको अध्यक्ष, सर्केगाड गाउँपालिकाको उपाध्यक्ष, र पाँच वडाध्यक्षको निधनपछि यी पदहरू रिक्त रहेका थिए।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, नगर उपप्रमुखका लागि ६, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका लागि ७/७ जना र वडाध्यक्ष पदका लागि २४ जनाले उम्मेदवारी दिएका छन्।

नलगाड नगरपालिकाको उपप्रमुखमा ६ उम्मेदवार
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखका लागि ६ जनाले उम्मेदवारी दिएका छन्। भूकम्पका कारण नेपाली कांग्रेसकी निर्वाचित उपप्रमुख सरिता सिंहको निधनपछि रिक्त रहेको यस पदमा कांग्रेसका इन्द्राचन्द्र सिंह, एमालेकी सुनिता बोहरा, माओवादी केन्द्रकी देवका लामिछाने, राप्रपा नेपालकी सुनिता पुन रावल, राष्ट्रिय स्वतन्त्र पार्टीकी पार्वती पुन र नेपाल समाजवादीकी पवित्रा जैशीले उम्मेदवारी दिएका छन्।

महावु गाउँपालिकाको अध्यक्ष पदमा ७ उम्मेदवार
दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी परेको छ। कांग्रेसका झलकबहादुर भण्डारी, माओवादी केन्द्रका जङ्गबहादुर बराल मगर, एकीकृत समाजवादीका जगतबहादुर हमाल, एमालेका जङ्गबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाशकुमार बुढा, राप्रपाका सुर्जे रावत र नेमकिपाका दुर्गबहादुर मगरले उम्मेदवारी दर्ता गराएका छन्।

सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा ७ उम्मेदवार
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी परेको छ। माओवादी केन्द्रका निर्वाचित उपाध्यक्ष चन्द्रसिंह कार्कीको बस दुर्घटनामा निधन भएपछि रिक्त रहेको यस पदमा कांग्रेसकी सविता बुढा, एमालेकी जाना शाही, माओवादी केन्द्रकी देवकी तिमिल्सिना, राप्रपाकी सङ्गीता शाही, राष्ट्रिय स्वतन्त्र पार्टीकी बाँचा बुढा, र स्वतन्त्र उम्मेदवारहरू रामसरा खड्का साउद र नरेश शाहीले उम्मेदवारी दिएका छन्।

वडाध्यक्ष पदका लागि प्रतिस्पर्धा

  • दुल्लु नगरपालिका–१३, दैलेख: यहाँ ६ जनाले उम्मेदवारी दिएका छन्। कांग्रेसका रेशमबहादुर शाही, एमालेका लालबहादुर शाही, माओवादी केन्द्रका ढकेन्द्र शाही, नेमकिपाका पूर्णप्रसाद उपाध्याय, राष्ट्रिय स्वतन्त्र पार्टीका रामबहादुर शाही, र राप्रपाका रेशम मल्ल उम्मेदवार छन्।
  • त्रिपुरासुन्दरी नगरपालिका–५, डोल्पा: यहाँ ४ उम्मेदवार छन्। कांग्रेसका राजेन्द्रप्रसाद न्यौपाने, एमालेका नरबहादुर रोकाय, माओवादी केन्द्रका नरबहादुर झाक्री, र एकीकृत समाजवादीका ज्योति घर्तीले उम्मेदवारी दिएका छन्।
  • तिलागुफा नगरपालिका–४, कालीकोट: ६ जनाको उम्मेदवारी परेको छ। कांग्रेसका पैलबहादुर शाही, एमालेका ऐनबहादुर शाही, नेमकिपाका खड्कराज शाही, माओवादी केन्द्रका नौशोभा शाही, राप्रपाका गोगनबहादुर शाही, र राष्ट्रिय स्वतन्त्र पार्टीका गगन बमले उम्मेदवारी दिएका छन्।
  • कुशे गाउँपालिका–७, जाजरकोट: ४ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन्। कांग्रेसका खम्बबहादुर सिंह, एमालेका डम्मरबहादुर घर्ती, माओवादी केन्द्रका गोरखबहादुर नेपाली, र राप्रपाका लालबहादुर खत्री उम्मेदवार छन्।
  • सानीभेरी गाउँपालिका–५, रुकुमपश्चिम: यहाँ कांग्रेसका मोतिराम खत्री, माओवादी केन्द्रका जसीराम बस्नेत, एकीकृत समाजवादीका हंसराज पुरी, र स्वतन्त्र उम्मेदवार वीरबहादुर बस्नेत प्रतिस्पर्धामा छन्।

रिक्त पदहरूमा हुने उपनिर्वाचनले स्थानीय नेतृत्व पूर्ति गर्ने अपेक्षा गरिएको छ।

पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै

0

काठमाडौँ: पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु त्यहाँ पुगेर उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्नुहुनेछ ।

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको छ ।

सानोगौचरणमा श्रद्धाञ्जलीपछि उहाँको पार्थिव शरीर अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने स्व ढुङ्गानाका परिवार स्रोतले जानकारी दिनुभयो । नेपाल सरकारले उहाँको अन्त्येष्टिका समयमा दिइने सम्मानसम्बन्धी निर्णय आजै बिहान बस्ने मन्त्रिपरिषद्बाट गर्ने तयारी गरेको छ ।

यसैबीच, सभामुख देवराज घिमिरेले पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइ सक्नुभएको छ । नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गर्नुहुने ढुङ्गानाले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।

राजनीति क्षेत्रमा देखिएको विकृति र विसङ्गतिबारे स्पष्ट र खरो रुपमा प्रतिक्रिया दिँदै आउनुभएका उहाँ संविधान र कानुनका ज्ञाता हुनुहुन्थ्यो । विसं २०४८ मा काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उहाँ प्रतिनिधिसभाको सभामुख हुनुभयो ।

नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न उहाँले ठूलो योगदान छ । सिद्धान्त, निष्ठा, स्वाभिमान र नैतिकतामा अडिग रही राष्ट्रिय एकता र मेलमिलापका माध्यमद्वारा राजनीतिक विवाद समाधानका पक्षमा लागि रहने नेपाली कांग्रेसको दोस्रो पुस्ताका नेताका रुपमा स्थापित हुनुहुन्थ्यो ।