Saturday, June 20, 2026
Home Blog Page 628

नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा

0

काठमाडौँ : नेपाल प्रहरीको स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका चार जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस गरिएको छ ।

गृह मन्त्रालयअन्तर्गतको बढुवा समिति सचिवालयको बिहीबार बसेको बढुवा समितिको बैठकको निर्णयानुसार प्राविधिक प्रहरी समूह स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका प्रहरी उपरीक्षकहरूलाई सोही समूहतर्फको प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको हो ।

बढुवा हुनेमा नेपाल प्रहरी अस्पताल रेडियोलोजी शाखा महाराजगञ्जमा कार्यरत डा केदार खड्गी, नेपाल प्रहरी अस्पताल मेडिसिन शाखा महाराजगञ्जमा कार्यरत डा छन्दबहादुर बुढाथोकी, गण्डकी प्रदेश प्रहरी अस्पतालमा कार्यरत डा पवनकुमार राय, नेपाल प्रहरी अस्पताल डेन्टल शाखा महाराजगञ्जमा कार्यरत डा सुवर्ण कुँवर रहेका बढुवा समितिका सदस्यसचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

मह चोर्दा चार वर्ष जेल

0

काठमाडौं: बुलन्दशहरको एक अदालतले निजी मौरी पालन केन्द्रमा चोरी गरेको अभियोगमा एक व्यक्तिलाई ४ वर्ष ७ महिना र ११ दिनको जेल सजाय सुनाएको छ। यो निर्णयले न्यायिक प्रणालीमा ढिलाइ भए पनि अन्ततः पीडितले न्याय पाएको पुष्टि गरेको छ।

यो घटना सन् २०१५ को हो, जब रुदपुर बाङ्गर गाउँका अमरवीर सिंहलाई छतरीको मौरीपालन केन्द्रबाट ७६ बाकस चोरी गरेको आरोप लाग्यो। उक्त चोरीका कारण मौरी पालन केन्द्रका मालिक मोहम्मद उस्मानले ठूलो आर्थिक क्षति बेहोर्नु परेको थियो।

२०१५ सेप्टेम्बर १० मा उस्मानले प्रहरीमा उजुरी दिएपछि, अनुपशहर पुलिसले भारतीय दण्ड संहिता (आईपीसी) को धारा ३७९ (चोरी) र ५०६ (धम्की) अन्तर्गत मुद्दा दर्ता गरेको थियो।

प्रहरीले सन् २०१६ मा अदालतमा आरोपपत्र दायर गर्‍यो। लामो समयसम्म चलेको सुनुवाइपछि अतिरिक्त न्यायाधीश यज्ञेशकुमार सोनकरले यही नोभेम्बर २६ मा आरोपी अमरवीर सिंहलाई दोषी ठहर गरे।

फैसलापछि मौरीपालन केन्द्रका मालिक मोहम्मद उस्मानले भने, “मैले यस मुद्दामा सबै आशा त्यागेको थिएँ। तर अन्ततः न्याय प्राप्त भएको छ।”

बुलन्दशहरका एसएसपी श्लोक कुमारले पुलिसको प्रभावकारी अनुसन्धान र अभियोजन रणनीतिलाई निर्णयको श्रेय दिँदै भने, “यो फैसला प्रहरीको प्रभावकारी लबिङ र तथ्यहरूको ठोस प्रस्तुतीकरणका कारण सम्भव भएको हो।”

यो घटना मौरी पालन जस्तो महत्वपूर्ण कृषि व्यवसायको सुरक्षा र त्यससँग जोडिएका समस्याहरूको उदाहरण हो। चोरीका कारण यो उद्योगमा ठूलो नोक्सानी हुने गरेको छ, जसले कृषकहरूको जीविकामा प्रत्यक्ष प्रभाव पार्छ।

यो फैसला अन्य अपराधीका लागि कडा सन्देश हो कि कानूनी प्रक्रिया ढिलो हुनसक्छ, तर अपराधको प्रतिफल पक्कै भोग्नुपर्छ। यस्तो निर्णयले मौरी पालन व्यवसायमा विश्वास बढाउने र अन्य पीडितलाई पनि न्यायका लागि अघि बढ्न प्रेरित गर्नेछ।

रुसले गरेको आक्रमणबाट युक्रेनको विद्युत आपूर्ति संयन्त्र ध्वस्त: १० लाख युक्रेनी अँध्यारोमा

0

काठमाडौं । युक्रेनले बुधबार राति भएको आक्रमणमा रुसले आफ्नो पावर प्लान्टलाई निशाना बनाएको बताएको छ ।

युक्रेनले रुसले देश भरी यस्ता आक्रमण गरेको जनाएको छ । “(युक्रेनको) ऊर्जा क्षेत्र फेरि ठूलो मात्रामा शत्रुको आक्रमणको चपेटामा परेको छ,” युक्रेनका ऊर्जा मन्त्री हर्मन हलुश्चेन्कोले सामाजिक सञ्जालमा पोस्टमा भने।

युक्रेनको राजधानी किभका मेयर भिटाली क्लित्सकोले रुसी आक्रमणका बेला राजधानीमा रहेको वायु रक्षा प्रणालीले काम गरिरहेको बताए ।

बिहीबार बिहान युक्रेनी वायुसेनाले रुसले देशका विभिन्न ठाउँमा आक्रमण गर्न सक्ने चेतावनी दिएको थियो ।

रुसको रक्षा मन्त्रालयले आफ्नो वायु रक्षा प्रणालीले रातारात चार क्षेत्रमा २५ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ ।

भारतीय कमेडियन सुनिल ग्रोवर (डा. गुलाटी) नेपालमा

0

काठमाडौँ: भारतीय कमेडियन सुनिल ग्रोवर नेपाल आएका छन्। ‘सुनिल ग्रोवर लाइभ इन नेपाल’ मा प्रस्तुति दिन उनी बिहीबार नेपाल आइपुगेका हुन्। कार्यक्रम शुक्रबार बानेश्वरस्थित एभरेस्ट होटेलको मैदानमा हुनेछ।

यस कार्यक्रमको आयोजना लिक्वीट इन्टिलिजेन्सले गरेको हो। सुनिल ग्रोवर चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ मार्फत दर्शकमाझ लोकप्रिय बनेका कलाकार हुन्। उनले शोमा ‘रिन्कु भाबी’ र ‘डा. मशहूर गुलाटी’ को भूमिकामा अभिनय गरेर सबैको मन जितेका थिए।

ग्रोवर यसअघि वि.सं. २०७४ मा पनि नेपाल आएका थिए। उनले त्यतिबेला एक कार्यक्रमका लागि नेपाल भ्रमण गर्दा पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए।

राष्ट्रिय चलचित्र पुरस्कार : विपिन र स्वस्तिमा उत्कृष्ट

0

काठमाडौँ । अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का उत्कृष्ट अभिनेता-अभिनेत्री घोषित भएका छन्। चलचित्र विकास बोर्डको आयोजनामा बुधवार राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ समारोहमा कार्कीले ‘प्रसाद २’ र खड्काले ‘दिमाग खराब’ चलचित्रबाट पुरस्कार प्राप्त गरे ।

उत्कृष्ट निर्देशक चलचित्र ‘दिमाग खराब’को लागि निश्चल बस्नेत बने। कार्यक्रममा सबैभन्दा धेरै अवार्ड ‘बुलाकी’ले जित्यो ।‘बुलाकी’ले उत्कृष्ट चलचित्रसहित लेखनमा राजबहादुर साने र छायाङ्कनमा शिव ढकालले प्राप्त गरे।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी सभापति र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ विशेष अतिथिको रूपमा समारोहमा नेपाली चलचित्र क्षेत्रका दिग्गज कलाकार, निर्माता, निर्देशक तथा पत्रकारहरूको सहभागिता थियो।

अवार्ड विजेताहरूको सूची:

• उत्कृष्ट चलचित्र: बुलाकी

• उत्कृष्ट अभिनेता: विपिन कार्की (प्रसाद २)

• उत्कृष्ट अभिनेत्री: स्वस्तिमा खड्का (दिमाग खराब)

• उत्कृष्ट निर्देशक: निश्चल बस्नेत (दिमाग खराब)

• उत्कृष्ट सम्पादक: मित्र डी गुरुङ (महाजात्रा)

• उत्कृष्ट छायाकार: शिव ढकाल (बुलाकी)

• उत्कृष्ट लेखन: राजबहादुर साने (बुलाकी)

• उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र: लोजिमा (लिम्बु भाषा) निर्णायक समिति प्रोत्साहन पुरस्कार

• अभिनेत्री: स्वस्तिमा कार्की (टुल्की)

• व्यावसायिक चलचित्र: जारी विशेष योगदान सम्मान

• तैय्यव शाह – कलाकार

• कृष्ण प्रसाद रायमाझी – प्रदर्शक

• नारायण प्रधान – द्वन्द्व निर्देशक

• विद्या कार्की – कलाकार

• नरेन्द्र महर्जन – प्रदर्शक

• नन्द किशोर प्रसाद श्रीवास्तव – कलाकार/निर्माता

• भोज बहादुर गुरुङ – निर्देशक/निर्माता

• अमूल कार्की ढली – सङ्गीत संयोजक

• ध्रुवकुमार श्रेष्ठ – प्रदर्शक

• बुद्धि तामाङ – कलाकार

• सबिता गुरुङ – कलाकार विशेष चलचित्र पुरस्कार सतीदेवी, सुगुप (लिम्बु भाषा), र मार्कली (गुरुङ भाषा) चलचित्र दीर्घ साधना सम्मान नेपाली चलचित्र इतिहासको पहिलो चलचित्र ‘आमा’की अभिनेत्री चैत्यदेवी सिंहलाई चलचित्र दीर्घ साधना सम्मान प्रदान गरिएको थियो ।

परराष्ट्रमन्त्री राणा आज चीन भ्रमणमा जाँदै

0

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज भ्रमणमा जाने भएकी छन् । मन्त्री राणाले मङ्सिर आजदेखि १५ गतेसम्म चीनको भ्रमण गर्न लागेकी हुन् ।

भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारीलगायत दुई देशबिचको आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ ।

राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले मङ्सिर १७ गतेदेखि चीनको भ्रमण गर्दै छन् ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ९१ र बिक्रीदर एक सय ७० रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर खाठ रुपैयाँ ६८ पैसा र बिक्रीदर आठ रुपैयाँ ९३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९० पैसा र बिक्रीदर तीन रुपैयाँ ९२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा, साउथ कोरियन वन एक सयको खरिदर ९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ र बिक्रीदर १९ रुपैयाँ ९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ४७ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ८० पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ३९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण

0

रामपुर (पाल्पा): अरुणखोलाको रिपाहाघाटमा झोलुङ्गे पुल निर्माण भएको छ । निस्दी गाउँपालिका–४ रिपाहा र नवलपुर (नवलपरासी सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी रिपाहाघाटमा पुल निर्माण गरिएको हो ।

लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने एक सय ७५ मिटर लामो झोलुङ्गे पुल सङ्घीय सरकारमार्फत रु एक करोड ३७ लाख ६७ हजार नौ सय २० को लागतमा निर्माण भएको
हो ।

लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले पुल उद्घाटन गर्दै विकास–निर्माणलाई सङ्घ र प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो ।

निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारूले पुल अभावमा कठिन आवागमन अब सहज हुने बताउनुभयो । पुलबाट निस्दी गाउँपालिका बाहेक रिपाहा, लामेदमार, मुढाबास, धाक्रेदमार र नवलपुरतर्फ (नवलपरासी सुस्तापूर्व) मध्यविन्दु नगरपालिकाको झोलुङ्गे, सारूडाँडा, द्वारी आसपासका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।

प्रशासन कार्यालय म्याग्दीमा थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र

0

म्याग्दी:सेवाग्राही लिन नआएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीमा २७ हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फाराम भरेका व्यक्ति विदेशिएकाहरू विदेशिएका र जिल्लाभित्र नभएका कारण परिचयपत्र लिन नआएको हुनसक्ने जनाइएको छ । दुई चरणमा ३० हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र आएकोमा पछिल्लो एक वर्षयता तीन हजार तीन सय जनाले मात्र लगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले फारम भरेपछि विदेशिएका र जिल्लाबाहिर भएकाले राष्ट्रिय परिचयपत्र लिन नआएका बताउनुभयो । “परिचयपत्र आएकाको मोबाइल नम्बरमा सन्देश पठाइएको हुन्छ”, उहाँले भन्नुभयो, “आवश्यक पर्ने र जिल्लाभित्र भएकाले अनुकूल समय मिलाएर परिचयपत्र लैजान आएका छन् ।”

सहायक प्रजिअ पन्तले राष्ट्रिय परिचयपत्र लिन आउनेभन्दा बनाउनेको सङ्ख्या बढी रहेको बताउनुभयो । दैनिक ३५ जनासम्म सेवाग्राहीले राष्ट्रिय परिचयपत्रको फारम, विवरण भर्ने र बायोमेट्रिकन गर्न आउँछन् । फारम भर्दा र परिचयपत्र लैजान व्यक्तिको आँखा, अनुहार, हात, औठाछाप आदिको विद्युतीय (डिजिटल) विवरण सङ्कन गर्ने आधुनिक प्रणाली बायोमेट्रिक हो ।

म्याग्दीमा प्रशासन कार्यालयमै निःशुल्क राष्ट्रिय परिचयपत्र भर्ने व्यवस्था मिलाइएको छ । प्रमुख जिल्ला अधिकारी गुरूदत्त ढकालले सेवाग्राहीहरूले राष्ट्रिय परिचयपत्र आएको सूचना नपाएका कारण लिन अनाएको हुन सक्ने भएकाले पालिका र वडा कार्यालयमार्फत पनि सन्देश पठाइएको बताउनुभयो ।

पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का

0

सोलुखुम्बु: जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–३ मा अवस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य पिकेडाँडा र धार्मिक आस्थाको केन्द्र ज्वालामाई मन्दिरमा कमजोर सञ्चार सेवाका कारण स्थानीय बासिन्दा र पर्यटकले सास्ती भोग्नुपरेको छ । नेपाल टेलिकमको नेटवर्क कमजोर हुनु र अन्य सेवा प्रदायकको उपस्थिति नहुनुले यहाँ सञ्चार समस्या छ, जसका कारण यहाँ पुग्ने धार्मिक तथा अन्य पर्यटक सञ्चार सेवाबाट विमुख हुने गरेका छन् । जिल्ला सदरमुकाम सल्लेरीसँगै जोडिएको यस वडाको पिकेडाँडा र ज्वालामाई मन्दिर पर्यटकको रोजाइमा पर्ने स्थल हो ।

पिके डाँडाको पर्यटकीय महत्व र सम्भावना

समुद्री सतहदेखि चार हजार ६५ मिटर उचाइमा रहेको यो डाँडा पर्यटकका लागि प्रमुख गन्तव्यका रूपमा परिचित छ । यहाँबाट सगरमाथा, ल्होत्से, मकालु, चो ओयुलगायत हिमालको अद्वितीय दृश्यावलोकन गर्न सकिन्छ । साथै, सुनपानी, चिमल र लालीगुँराससहितका हिमाली वनस्पति नजिकबाट अवलोकन गर्ने अवसरले यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेको स्थानीय बताउछन् । जसका कारण विभिन्न ट्रेकिङ कम्पनीले सिजनमा पिके पिक ट्रेकसमेत सञ्चालन गर्ने गरेका छन् ।

पर्यटन व्यवसायी फुर्वा शेर्पाका अनुसार पिके डाँडामा हरेक वर्ष करिब १५ हजार स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् । “सगरमाथा बेसक्याम्पको तुलनामा यो क्षेत्र सहज पदयात्रा गन्तव्यका रूपमा विकास भएको छ तर सञ्चार सेवाको अभावले यहाँको पर्यटकीय सम्भावनामा ठूलो असर गरेको छ”, उहाँले भन्नुभयो ।

सञ्चार नै चुनौती

सञ्चार सेवा कमजोर भएकै कारण कतिपय पर्यटक बाटो भुलेर सम्पर्कविहीन हुने र उद्धारमा ढिलाइ हुने समस्या देखिने गरेको होटल व्यवसायी गेलु शेर्पाले बताउनुभयो । “कतिपय पर्यटक भ्रमणका क्रममा साथीसँग सम्पर्क टुट्दा रातभर हराउने गरेका छन्, फोन गर्दा फोन लाग्दैन, जसले उद्धारमा समेत समस्या हुन्छ”, शेर्पाले भन्नुभयो ।

पाँच वर्षअघि सल्लेरीका युवा पूर्णबहादुर खड्काको पिकेडाँडा भ्रमणमा जाने क्रममा हराएर ज्यान गयो । त्यहाँबाट फर्कने क्रममा साथीसँग छुटेका खड्का रातको समयमा भिरबाट लड्दा घटनास्थलमै मृत्यु भएको थियो । खड्कालाई सम्पर्क गर्ने प्रयास गरिए पनि टेलिफोन नलाग्दा समस्या भएको स्थानीय सम्झन्छन् । त्यसको भोलिपल्ट खोज्ने क्रममा पिके खोप भन्ने स्थानमा लडेको अवस्थामा उहाँको शव भेटिएको थियो ।

यो त प्रतिनिधि घटना मात्रै हो । पिके क्षेत्रमा सञ्चार सम्पर्कबाट टुट्दा पर्यटक अलपत्र पर्ने तथा बिचल्ली हुने घटना सामान्यजस्तै बनेको लोदिङका ल्हाक्पा ग्याल्जेन शेर्पाले
बताउनुभयो । सल्लेरीबाट अघि बढेदेखि नै कम्जोर हुने गरेको सञ्चार सम्पर्क पिकेडाँडा क्षेत्र पुग्दा पूर्ण रूपमा नै विच्छेद हुने गरेको उहाँको भनाइ छ । पिकेभन्दा तलको गाउँ तामाखानी, लोदिङ गाउँ समेतमा सञ्चार सेवा कम्जोर भएकाले झनै सास्ती खेप्नुपरेको स्थानीय
बताउछन् ।

धार्मिक आस्थाको केन्द्र : ज्वालामाई मन्दिर

सोलुदुधकुण्ड नगरपालिका–३ क्षेत्रमै अवस्थित ज्वालामाई मन्दिर क्षेत्रको समस्या पनि यस्तै छ । चिताएको पूरा हुने जनविश्वासका कारण यो मन्दिरमा हरेक वर्ष करिब ३० हजार भक्तजन आउने गरेका छन् तर भरपर्दो सञ्चार सेवा नहुँदा भक्तजनलाई समस्या हुने गरेको छ । मन्दिर व्यवस्थापन समितिका सदस्य भिमनारायण श्रेष्ठले भन्नुभयो, “मन्दिरमा आउने भक्तजनले यात्रा गर्दा नेटवर्कको गुनासो गर्ने गरेका छन् । यत्रो प्रसिद्ध मन्दिर क्षेत्रमा समेत भरपर्दो सेवा उपलब्ध गराउन नसक्नु कमजोरी हो ।”

यसकारण धार्मिक तथा प्रकृतिप्रेमी पर्यटकमा नकरात्मक छाप पर्ने गरेको स्थानीय आङ पुला शेर्पाको भनाइ छ । तामाखानी क्षेत्रका स्थानीयले सञ्चार सम्पर्क गर्न डाँडामा जानुपर्ने बाध्यता कायमै रहेको उहाँले बताउनुभयो ।

स्थानीयको गुनासो

सोलुदुधकुण्ड नगरपालिका–३ का स्थानीय बासिन्दा र व्यवसायीले पटकपटक गुनासो गर्दा पनि समस्या समाधानमा कसैले चासो नदेखाएको गुनासो गरेका छन् । पिके सामुदायिक वन तामाखानीका अध्यक्ष सन्तबहादुर मगरले धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्रमै सञ्चारलगायत पूर्वाधारमा ध्यान नदिनु दुःखद भएको बताउनुभयो ।

स्थानीय बाबुराम घिमिरेले भन्नुभयो, “सडक र बिजुलीजस्तै सञ्चार पनि आजको युगमा आधारभूत आवश्यकता हो तर यो सुविधा नहुनुले हामीलाई पछि पारेको छ । सदरमुकाम सल्लेरीसँग नजिक भए पनि यो क्षेत्र अझै सञ्चार उपलब्धिबाट लाभान्वित हुनसकेको छैन ।”

राज्यको प्रयास

नेपाल टेलिकम शाखा कार्यालय ओखलढुङ्गाका प्रमुख राजु रानाका अनुसार यहाँ समस्या समाधानको प्रयास नभएको होइन । सल्लेरीस्थित च्यानडाँडाको रेडियो लिङ्कको क्षमता बढाएर समस्या समाधानको प्रयास भए पनि त्यो पर्याप्त नभएको उहाँको भनाइ छ । “पिकेडाँडा र ज्वालामाई क्षेत्रको समस्यालाई सम्बोधन गर्न नयाँ टावर स्थापना गर्न आवश्यक छ । यसका लागि थप बजेट र पूर्वाधार विकास गर्नुको विकल्प छैन”, कार्यालय प्रमुख रानाले भन्नुभयो ।

वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पा भने वडामार्फत बारम्बार ध्यानाकर्षण गराउँदा पनि ठोस नतिजा नआउनु नियमनकारी निकायको उदासीनता भएको गुनासो गर्नुहुन्छ । “पर्यटकीय र धार्मिक महत्व बोकेको क्षेत्रमा भरपर्दो सञ्चा सेवा नहुनुले स्थानीय र पर्यटक दुवैलाई असर गरिरहेको छ”, उहाँले भन्नुभयो,“पिके डाँडा र ज्वालामाई मन्दिरजस्ता गन्तव्यको महत्वलाई ध्यानमा राख्दै दिगो सञ्चार सेवा उपलब्ध गराउनु अपरिहार्य छ । जसका लागि स्थानीय सरकार र जननिर्वाचित प्रतिनिधिको हैसियतले आफू सहयोग गर्न तयार छु ।”

पर्यटन व्यवसायी दावा शेर्पा पनि यहाँको पर्यटनलाई प्रवर्द्धन गर्न भरपर्दो सञ्चार सेवाका लागि सरोकार भएका निकायलाई आग्रह गर्नुहुन्छ ।