Sunday, June 21, 2026
Home Blog Page 615

परराष्ट्रमन्त्री राणा र लक्जमबर्गका उपप्रधानमन्त्री बेटेलबीच भेटवार्ता

0

काठमाडौं: परराष्ट्रमन्त्री आरजु राणा र लक्जमबर्गका उपप्रधानमन्त्री तथा विदेश र वैदेशिक व्यापारमन्त्री जेभियर बेटेलबीच भेटवार्ता भएको छ।

लक्जमबर्ग सिटीमा भएको भेटमा नेपाल र लक्जमबर्गबीचका विविध सम्बन्ध, आपसी हित र सहकार्यका क्षेत्र बारे चर्चा भएको बताइएको छ। नेपालका विकास प्राथमिकता र नेपाल-लक्जमबर्ग आर्थिक सहकार्यका विषयमा भेटका क्रममा उनीहरूबीच छलफल भएको हो।

सो क्रममा मन्त्री राणाले नेपाल सन् २०२६ मा एलडिसीबाट ग्राजुएट हुन लागेको बताउँदै त्यसपछिको अवस्थामा नेपाललाई आर्थिक र प्राविधिक सहयोगका लागि आग्रह गरेकी थिइन्। उनको आग्रहमा बेटेल सकारात्मक रहेको बताइएको छ।

भेटमा दुवै पक्षले विश्वव्यापी तापमान वृद्धिका कारण भइरहेका जलवायु परिवर्तनको असरका बारेमा पनि चर्चा गरेका छन्।

रवि लामिछानेविरुद्ध ३ मुद्दा दर्ता तयारी

0
file photo

काठमाडौँ: जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबारे अनुसन्धान सकी प्रतिवेदन तयारीमा जुटेको छ। प्रहरीका अनुसार एकदुई दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको छ। कास्कीका एसपी श्यामबाबु ओलियाले भने, ‘अनुसन्धान अधिकृतहरूले प्रतिवेदन तयार गरिरहेका छन्।’

रवि लामिछाने कार्तिक २ मा काठमाडौँबाट पक्राउ परेका थिए। उनलाई सम्पत्ति शुद्धीकरण, सहकारी ठगी, र सङ्गठित अपराध गरेको आरोपमा मुद्दा दायर गर्नका लागि सकारी वकिललाई राय सहितको प्रतिवेदन बुझाउने तयारी भइरहेको छ। बिहीबार म्याद लिनका लागि रवि सहित पाँच जना प्रतिवादीलाई अदालतमा उपस्थित गराउने योजना रहेको कास्कीका एसपी ओलियाले जनाएका छन्।

संसदीय छानबिन समितिको प्रतिवेदन अनुसार सूर्यदर्शनको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा सबैभन्दा पहिले पूर्व डीआईजी छविलाल जोशी असोज ६ मा पक्राउ परेका थिए। प्रहरीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान गरिरहेकोले ९० दिनभित्र मुद्दा अदालतमा दर्ता गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। कास्की जिल्ला अदालतमा पुस ५ सम्म अभियोग पत्र दर्ता गर्नुपर्नेछ।

नेपाल प्रहरीका एक उच्च अधिकृतका अनुसार मुद्दाको अभियोग पत्र तयार गर्न जिल्ला सरकारी वकिल कार्यालय कास्कीले १० दिनको समय मागेको छ। ती अधिकृतले भने, ‘त्यसैले कम्तीमा ७ दिनअघि बुझाउने गरी प्रतिवेदन तयारी भइरहेको छ।’

सूर्यदर्शनको रकम अपचलनमा लामिछाने, जोशी, गुल्मीकी लिला पछाई, तनहुँका राम बहादुर खनाल, र पोखराका कृष्ण गुरुङ प्रहरीको हिरासतमा छन्। पक्राउ परेकाबाहेक ३५ जनालाई फरार प्रतिवादी कायम गर्न राय दिने तयारी गरिएको छ। अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘पक्राउ परेका ५ जनाबाहेक ३५ जनालाई फरार प्रतिवादी बनाउने तयारी छ।’

सूर्यदर्शन, स्वर्णलक्ष्मी, सहारा र सानो पाइलाबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रकम ल्याएर अपचलन गरिएको संसदीय समितिको छानबिन निष्कर्ष छ। सूर्यदर्शनबाट मात्रै ५ करोड ५८ लाख रकम गोरखा मिडियामा ल्याइएको पाइएको छ।

रवि लामिछानेले बयानमा आफू सूर्यदर्शन सहकारीको सेयर सदस्य वा ऋणी नभएको दाबी गरेका छन्। उनले भनेका छन्, ‘सूर्यदर्शनको सञ्चालक समिति, लेखा समिति, ऋण समिति वा अन्य कुनै पनि पदमा म थिइनँ।’ उनले बचत खाता वा ऋण खाता पनि नखोलेको बताएका छन्।

अनुसन्धानमा उनले सूर्यदर्शन सहकारीबाट कुनै ऋण नलिएको स्पष्ट गरेका छन्। उनले भनेका छन्, ‘मेरो नाममा ऋण निकासा भएको बारेमा मलाई जानकारी छैन।’

गोर्खा मिडिया नेटवर्क प्रालिले सञ्चालन गरेको ग्यालेक्सी फोरके टिभीमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालन गर्न अनुरोध आएपछि आफू त्यहाँ गएको लामिछानेले बताएका छन्। उनले बयानमा १ करोड ८० लाखको सेयर आफूले लिएको तर त्यो पारिश्रमिकबाट कट्टा हुने सर्तमा लिएको बताएका छन्।

ग्यालेक्सी फोरकेका संस्थापक जीबी राई सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष हुन्।

एक्काइस वर्षपछि बागलुङमा सडक स्तरोन्नति हुँदै

0

ढोरपाटन (बागलुङ): राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक धमाधम स्तरोन्नति भइरहेको छ । लोकमार्गको अक्षतेबाट काठेखोला गाउँपालिका–८ लेखानी गाउँ जोड्ने सडकको २१ वर्षपछि स्तरोन्नति थालिएको हो ।

काठेखोला–८ का अध्यक्ष प्रमानन्द कँडेलका अनुसार सङ्घीय र प्रदेश सरकारको बजेटबाट गत वर्षदेखि नै स्तरोन्नति गर्न थालिए पनि कामले पूर्णता पाउन सकेको थिएन । आर्थिक वर्ष २०८०÷८१ मा पहिलो खण्डअन्तर्गत सुलडाँडा– भुदीखोला स्तरोन्नति भएको र यस वर्ष दोस्रो खण्डको काम धमाधम भइरहेको छ ।

चालु आर्थिक वर्षमा भुदीखोला–पैराखर्कसम्मको साढे तीन किलोमिटर ग्राभेलिङ गरिने उहाँले बताउनुभयो । यो सडकका निम्ति रु पाँच करोड विनियोजन भएको छ । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु ५० लाखले तेस्रो खण्डअन्तर्गत पैराखर्क– शिवालय–पिपलथर –करलिम पनि चालु आवमा नै स्तरोन्नति गरिने उहाँले जानकारी दिनुभयो ।

म्याग्दीको कृषि सडक कालोपत्र गर्न धमाधम तयारी गरिँदै

0

गलेश्वर (म्याग्दी): बेनी– हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा–१० किलोमिटर कृषि सडक कालोपत्र गर्न धमाधम स्तरोन्नतिको काम सुरु भएको छ ।जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर सञ्जय सुवेदीका अनुसार बगरफाँट– दूधेखोला साढे दुई किलोमिटर सडक चौडा बनाउनका साथै पानीको निकासका निम्ति नाली निर्माण गरी ‘ग्राभेल’सहित स्तरोन्नति थालिएको हो ।

योजनाअन्तर्गत कोटखोलाबाट साढे दुई किलोमिटर सडकलाई आठ मिटर चौडा बनाइनेछभने दूधेखोला–भकिम्ली खण्डमा तीन सय ९० मिटर ढलान गरिने छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट कृषि सडकका लागि रु एक करोड ६० लाख बजेट विनियोजन भएको छ ।हाँडेभिर–बगरफाँट दुई किलोमिटर कालोपत्र भइसकेको छ । सो सडक खण्डअन्तर्गत नयाँ पुलमा सय मिटर, बाहुनडाँडामा छ सय ५० मिटर र थामडाँडामा सय मिटर नयाँ मार्ग खोलिएको छ ।

उक्त सडक बेनी नगरपालिका–२ बगरफाँट हुँदै पश्चिम मालिका गाउँपालिका–४ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य रहेको इन्जिनियर सुवेदीले बताउनुभयो ।

एनपिएलः जनकपुर र सुदूरपश्चिम, काठमाडौँ र लुम्बिनी भिड्दै

0

काठमाडौँ: राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स तथा काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स भिड्दै
छन् ।

जारी एनपिएलमा चार खेल खेलेको जनकपुर बोल्ट्स सबै खेलमा विजयी भएको छ । सुदूरपश्चिम रोयल्सले चार खेलमध्ये तीनमा जित निकालेको छ । तीन खेल खेलेको काठमाडौँ गुर्खाजले दुई खेल जितेको छभने एक खेलमा पराजित भएको छ । लुम्बिनी भने पाँच खेलमा एउटा मात्र जित्न सफल भएको छ ।

विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग

0

महोत्तरी: बर्दिबासस्थित पद्मशम्शेर स्मृति प्रतिष्ठान र बर्दिबास हेल्प फाउन्डेसन तथा स्थानीय तहमा क्रियाशील विभिन्न वित्तीय संस्थाले सञ्चालन गरेका शैक्षिक सहयोगका कार्यक्रमबाट नगर क्षेत्रका विपन्न वर्गका ६६ विद्यार्थीले अध्ययनको अवसर पाएका छन् ।

प्रतिष्ठानको सहयोगमा ३३ जना चारवर्षे र २४ जना तीनवर्षे प्राविधिक डिप्लोमा एवं नौ जना शिक्षा तथा वाणिज्य सङ्कायअन्तर्गत स्नातक तहमा अध्ययनरत छन् । आफ्ना मातापिताको स्मृतिमा २०७७ सालमा स्थानीय विष्णु खड्काले प्रतिष्ठान स्थापना गरी सोही वर्षदेखि विपन्न परिवारका छात्रछात्रालाई छात्रवृत्तिको व्यवस्था गर्नुभएको हो ।

यसैगरी बर्दिबास–२ स्थित जनता माध्यमिक विद्यालयबाट २०४९ सालमा प्रवेशिका परीक्षामा सामेल भएका पूर्वविद्यार्थीले बर्दिबास हेल्प फाउन्डेसन स्थापना गरेर सोही वर्षदेखि सडक मानव र आश्रयविहीनलाई खाजा र खानाको व्यवस्था गर्नाका साथै २०७८ सालदेखि नगर क्षेत्रका विपन्न परिवारका सन्तानलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । हालसम्म उक्त संस्थाबाट ३० जनाले छात्रवृति पाएका छन् ।

यसैगरी सानिमा बैंकले पनि दुई जनालाई स्नातक तहमा पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । हालसम्म उक्त बैंकबाट छ जना लाभान्वित भएका छन् ।

नेपाल र भारतबीच समान प्रकृतिको भन्सार मूल्याङ्कन प्रणाली नहुँदा चोरी–तस्करी बढ्दो

0

वीरगञ्ज (पर्सा): नेपाल र भारतबीच समान प्रकृतिका कर प्रणाली लागू नहुँदा चोरी–तस्करी निरन्तर बढीरहेको छ । सार्वभौमसत्ता सम्पन्न देशका आ–आफ्नै शासन एवं राज्य सञ्चालनका प्रणाली पृथक भए पनि खुला सिमाना भएका कारण तस्करी रोक्न एकल प्रकृतिको कर प्रणाली नै उपयुक्त हुने आर्थिक क्षेत्रका जानकारहरूले दिएका छन् ।

वीरगञ्जका उद्योगी–व्यवसायीले पनि खुला सीमानाकाबाट हुने तस्करी नियन्त्रण गर्न भारतले लागू गरेको वस्तु तथा सेवा कर (जिएसटी) र हाम्रो भन्सार मूल्याङ्कन प्रणालीबीच तालमेल हुनुपर्ने माग गरेका छन् ।

भारत सरकारले कार्यान्वयन गरेको वस्तु तथा सेवा कर (जिएसटी) र हाम्रो भन्सार मूल्याङ्कन प्रणालीमा एकरूपता नहुँदा सीमावर्ती क्षेत्रमा चोरी तस्करीका घटना बढेकाले उनीहरूले त्यस्तो माग गरेका हुन् । पर्सास्थित सशस्त्र प्रहरी बलले चालु आर्थिक वर्षको प्रथम चार महिनामा भन्सार छलेर भित्र्याइएका रु १५ करोड १८ लाखका सामान नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले बरामद गरेका सामग्रीमा लत्ताकपडा, विद्युतीय सामान, हार्डवेयर, मोटरपार्ट्स, खाद्यान्न र किराना सामान अधिक छन् । सोही अवधिमा रु दुई करोड ६४ लाख ३० हजार एक सय ४९ मूल्यका बिलबिजक नभएका सामान पनि बरामद भएका थिए ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले सीमावर्ती सहरमा भारतले लागू गरेको जिएसटी र नेपालको भन्सार महसुलबीच एकरुपता नहुँदा अवैध निकासी र पैठारीका नियन्त्रणमा हुन नसकेको बताउनुभयो ।

“हाल हाम्रो देशमा निकासी र पैठारीमा अवैध अर्थतन्त्रले प्रश्रय पाइरहेको छ । अत्यधिक भन्सार महसुल लाग्ने वस्तुको भारतीय र नेपाली बजार मूल्यमा धेरैको फरक हुनुले पनि अवैध रूपमा निकासी र पैठारी हुने गरेको हो”, उहाँले भन्नुभयो, “अत्यधिक भन्सार महसुल र दैनिक उपभोग्य एक सय वस्तुको पहिचान गरी भारतीय मूल्य जिएसटीसहित तथा नेपाली मूल्यमा एकरूपता दिएमा निकासी पैठारी घटाउन सकिन्थ्यो । यसले अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्न मद्दत पुग्थ्यो ।”

देशको भन्सार मूल्याङ्कन प्रणालीले भारतका प्रतिष्ठित कम्पनीले जारी गरेको बिलबिजकलाई समेत मान्यता नदिँदा व्यवसायी मर्कामा परेका छन् । सङ्घका वरिष्ठ उपाध्यक्ष गौतमले भारतका प्रतिष्ठित कम्पनीले जारी गरेका बिलबिजकलाई पनि मान्यता दिन ढिलाइ गर्न नहुने बताउनुभयो । “आयातित वस्तुको भन्सार मूल्याङ्कनका क्रममा प्रतिष्ठित कम्पनीको बिलबिजकमा ‘अङ्कित मूल्य’ भारत सरकारको आधिकारिक बिलका साथै भारतीय भन्सारले जारी गरेको ‘बिल अफ एक्पोर्ट’लाई आधार बनाएर भन्सार मूल्याङ्कन गर्नुपर्ने आवश्यकता छ, त्यसो गर्न सकिएमा अवैध रुपमा हुँदै आएको निकारी –पैठारीलाई धेरै हदसम्म घटाउन सकिन्थ्यो”, उहाँले भन्नुभयो ।

वरिष्ठ उपाध्यक्ष गौतमले हाल भन्सार विभागले कार्यान्वयनमा ल्याएको भन्सार मूल्याङ्कनको सन्दर्भ मूल्य पुस्तिकालाई पनि व्यवस्थित गर्न जरुरी भइसकेको बताउनुभयो । “भन्सार मूल्याङ्कनको प्रमुख आधार भन्सार सन्दर्भ मूल्य पुस्तिका नै रहेको पाइन्छ । आयातकर्ताले सन्दर्भ मूल्यपुस्तिकाभन्दा कम मूल्यको बिलबिजक पेस गरेमा भन्सारले जरिवाना लिने गरेको छ”, उहाँले भन्नुभयो, “आव २०८०/८१ को बजेटमा अन्तःशुल्कमा पनि जरिवानम लिने प्रावधान रहेकाले पनि त्यसबाट जोगिन आयातकर्ताले सन्दर्भ पुस्तिकाभन्दा बढी मूल्य बिलबिजक पेस गर्ने प्रवृत्ति मौलाउँदै गइरहेको छ ।”

पर्सा प्रहरीले आव २०८०/८१ मा रु ५३ करोड ४७ लाख लाख मूल्य पर्ने भन्सार छली गरेर भित्र्याएका तथा बिलबिजक नभएको सामान बरामद गरेको थियो । सोही अवधिमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरले रु ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्य पर्ने बिलबिजक नभएका र भन्सार छली गरेका सामान बरामद गरेको थियो । गत आवमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पर्सा जिल्लाबाट मात्र रु ८७ करोड ७४ लाख मूल्य पर्ने अवैध वस्तु तथा सामान बरामद गरेको थियो । अनौपचारिक ढङ्गबाट आएका सामानको भने कुनै विवरण नै छैन ।

सीमा क्षेत्रमा चोरी तस्करीका गतिविधि बढेसँगै वीरगञ्जका दुई ठूला भन्सार कार्यालयको राजस्व सङ्कलन पनि अपेक्षाकृतसुधार हुनसकेको छैन । वीरगञ्ज भन्सार कार्यालयले आव २०८०/८१ मा रु दुई खर्ब ४५ अर्ब ८८ लाख ५० हजार ८१ राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको थियो । सो अवधिमा कार्यालयले लक्ष्यको रु एक खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार (६४ दशमलव एक प्रतिशत) मात्र राजस्व सङ्कलन गरेको थियो । वीरगञ्जकोसुक्खा बन्दरगाह भन्सार कार्यालयले पनि गत आवमा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । भन्सार विभागले गत आवमा सुक्खा बन्दरगाहलाई रु ६५ अर्ब ९४ करोड एक लाख २२ हजार रकम राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । कार्यालयले वार्षिक लक्ष्यको रु ४७ अर्ब ३१ करोड एक लाख ९० हजार (७१ दशमलव ७५ प्रतिशत) राजस्व सङ्कलन गरेको छ ।

सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले भन्सार मूल्याङ्कन पुस्तिका खारेज नभएकाले पनि अनौपचारिक अर्थतन्त्रले प्रश्रय लिँदै आइरहेको दाबी गर्नुभयो । “जुन खालको भन्सार मूल्याङ्कन प्रणाली लागू गरिएको छ । यसले औपचारिकभन्दा अनौपचारिक अर्थतन्त्रलाई बल मिलेको छ । यसलाई सुधार्न जरुरी छ ।”

प्रमुख भन्सार प्रशासक दीपक लामिछाने केही दिनअघि आयोजित राजस्व चुहावट नियन्त्रणसम्बन्धी कार्यक्रममा आयातकर्ताले पनि अन्तरराष्ट्रिय प्रावधान अनुसार हार्मोनाइज्ड सिस्टम ‘एचएस कोड’ को पालना गर्दै मालसामान आयात नगर्दा केही प्राविधिक समस्या आएको बताउनुहुन्छ । “मुलुकको राजस्वको मुख्य आधार नै आयातमुखी छ । आयात घट्दा राजस्व सङ्कलन पनि घटेको छ”, उहाँले भन्नुभयो, “हामी उद्योगी–व्यवसायीका सहजकर्ता हाँै, उहाँहरूका सामानलाई सहज ढङ्गले आयात–निर्यात गराउनेतर्फ हाम्रनो ध्यान सधै केन्द्रित छ ।”

अङ्ग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि

0

काठमाडौँ: नेपाल अङ्ग प्रत्यारोपण समाजको आयोजनामा आगामी शनिबारदेखि यहाँ अङ्ग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

समाजका अध्यक्ष डा पुकारचन्द्र श्रेष्ठका अनुसार सम्मेलनमा भारत, जापान, नेदरल्याण्ड्स, बेलायतका १९ जना विशेषज्ञ चिकित्सक सहभागी हुनेछन् । साथै सम्मेलनमा अङ्ग प्रत्यारोपणसम्बन्धी २६ वटा कार्यपत्र प्रस्तुत गरिने छ ।

उहाँले मस्तिष्क मृत्युपछि कलेजो र मिर्गाैला दान गर्न सकिने बताउँदै सर्वसाधारणलाई अङ्गदानका निम्ति प्रेरित गर्नु सम्मेलनको उद्देश्य भएको जानकारी दिनुभयो । मिर्गौला, मुटु, फोक्सो, कलेजो, सानो आन्द्रा, आँखा र प्यानक्रियाज मस्तिष्क मृत्युपछि पनि दान गर्न सकिन्छ ।

अमेरिकामा युनाइटेड हेल्थ केयरका सीईओको हत्या आरोपी अदालतमा पेश

0

काठमाडौं: प्रहरीले संयुक्त राज्य अमेरिकाको युनाइटेड हेल्थ केयरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ब्रायन थमसनको हत्यामा संलग्न व्यक्तिलाई सोमबार पेन्सिलभेनियाको अदालतमा पेश गरेको छ।

अदालतले अभियुक्त लुइगी म्याग्नियोनको जमानतको निवेदन खारेज गरेको छ । प्रहरीले नक्कली किर्ते र लाइसेन्स बिना बन्दुक राखेको आरोपमा पनि अभियोग लगाएको छ ।

प्रहरीले लुइगी म्याग्निओनलाई सीईओ ब्रायन थमसनको हत्यामा संलग्न रहेको पनि बताएको छ । पेन्सिल्भेनियाका अधिकारीहरूले न्यूयोर्क प्रहरीले चाँडै हत्याको अभियोग दायर गर्ने अपेक्षा गरेका छन्।

म्याग्निओनलाई सोमबार बिहान अल्टोना पेन्सिलभेनियामा एक रेस्टुरेन्ट ग्राहकले देखेका थिए। ग्राहकले यसबारे एक कर्मचारीलाई बताए । यसपछि प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएको थियो ।

ब्रायन थमसन अमेरिकाको सबैभन्दा ठूलो निजी बीमा कम्पनीका सीईओ थिए। उनको बुधबार म्यानह्याटनमा हत्या भएको
थियो ।

थमसनले सन् २००४ मा कर्पोरेट विकास निर्देशकका रूपमा कम्पनीमा काम गर्न थालेका थिए । उनी अप्रिल २०२१ मा सीईओ बनेका थिए।

अवैध सुनखानीमा सुनको यौनको व्यापार

0

ब्राजिल (बीबीसी): डेयान लेट्टीले कहिल्यै यौनकर्मी बन्ने कल्पना गरेकी थिइनन्। तर, १७ वर्षको उमेरमा उनका पतिको अकस्मात् हृदयघातबाट मृत्यु भएपछि उनको जीवन अप्रत्याशित मोडमा प्रवेश गर्यो। उनी आफ्नो श्रीमानको अन्त्येष्टिको खर्चसमेत धान्न नसक्ने अवस्थामा थिइन्।

उनको गृहनगर उत्तरी ब्राजिलको पारामा राज्यको इटातुबा हो। यो अमेजनको भित्री भागमा पर्ने क्षेत्र अवैध सुन उत्खननको लागि कुख्यात छ। आर्थिक संकटमा परेकी डेयानलाई उनकी एक साथीले अमेजनको खानी क्षेत्रमा गएर काम गर्ने सुझाव दिइन्। उनले भनेकी थिइन्, “खानी कामदारहरूसँग यौन सम्पर्क गरेर पैसा कमाउन सक्छ्यौ।”

महिलाहरूको कठोर वास्तविकता
गत १६ वर्षदेखि, इटातुबाका धेरै महिलाहरूले यस्तै कठोर जीवन व्यतीत गर्दै आएका छन्। यस क्षेत्रमा महिलाहरू खाना पकाउने, लुगा धुने, खानीमा काम गर्ने, वा यौनकर्मीका रूपमा आफ्नो जीविका चलाउँदै आएका छन्।

“खानीमा जानु जोखिमपूर्ण व्यवसाय हो। यो एक प्रकारको जुवा हो,” डेयान लेट्टी भन्छिन्।
“महिलाहरू यहाँ चरम शोषणको सिकार हुन्छन्। उनीहरूलाई धम्की दिइन्छ, कराएर तर्साइन्छ, र कतिपय अवस्थामा शारीरिक हिंसा पनि गरिन्छ।”

उनले थपिन्, “एक पटक म आफ्नो कोठामा सुतिरहेको थिएँ। झ्यालबाट हाम फालेर आएको एक व्यक्तिले मेरो टाउकोमा बन्दुक तेर्स्यायो। यहाँ पैसा दिएपछि मानिसहरूले महिलामाथि आफ्नो अधिकार भएको ठान्छन्।”

डेयानले १८ वर्षको उमेरमा आफ्नो पहिलो सन्तानलाई जन्म दिइन्। अहिले उनी सात जनाको परिवारको हेरचाह गर्छिन्।

खानी गाउँमा यौन व्यवसाय
नतालिया कावलकान्टेले २४ वर्षको उमेरमा खानी क्षेत्रमा यौनकर्मीको रूपमा काम गर्न थालिन्।
“सहरका सबै महिलाले यो काम गर्दैनन्। तर, यौनकर्मीका रूपमा काम गर्ने महिलाको संख्या पनि कम छैन,” उनले भनिन्।
चार वर्षपछि उनले बार मालिकसँग विवाह गरिन् र त्यसपछि वेश्यालयकी मेडम बनिन्।

नतालियाका अनुसार, खानी गाउँहरूको जीवन कठिन छ। धुलोले भरिएका सडकहरू, थोरै संरचना, र अस्थायी काठका झुपडीहरू त्यहाँको वास्तविकता हुन्। खानी मजदुरहरू प्रायः गाउँमा तबमात्र देखिन्छन् जब उनीहरूसँग पैसा हुन्छ।

कहिलेकाहीँ, खानीमा काम गर्ने पुरुषहरूलाई यौन सम्पर्क गर्नुअघि नुहाउन मनाउनुपर्ने अवस्था आउने महिलाहरू बताउँछन्।

सुन उत्खनन र अवैध व्यापार
ब्राजिलको कानुनले वेश्यालय सञ्चालन गर्न रोक लगाए पनि, अवैध सुन उत्खनन र यौन व्यवसाय यहाँका जीवनको अविभाज्य हिस्सा बनेका छन्। खानी क्षेत्रहरूमा महिलाहरूबाट यौन सम्पर्कको बदलामा सुन दिने चलन सामान्य छ।

नतालियाले यस पेशाबाट पैसा कमाएर आफ्नो घर बनाइन्, मोटरसाइकल किनिन्, र केही सुन पनि जम्मा गरिन्। उनले बताइन्, “मैले धेरै पैसा कमाएँ, तर मलाई थाहा छ यो जीवन राम्रो होइन। धेरै महिला आफ्नो परिवार र बच्चाहरूको लागि यो काम गर्न बाध्य छन्।”

वातावरणीय र सामाजिक असर
खानी उत्खननले वातावरणीय विनाशसँगै मानव शोषण र हिंसा पनि ल्याएको छ। संयुक्त राष्ट्रसंघका अनुसार, खानी क्षेत्रमा हिंसा, शारीरिक शोषण, र मानव ओसारपसार व्यापक रूपमा हुने गरेको छ।

इटातुबा, जसलाई ‘गोल्ड नगेट सिटी’ भनेर पनि चिनिन्छ, ब्राजिलको अवैध सुन व्यापारको प्रमुख केन्द्र हो। यहाँबाट ९० प्रतिशतभन्दा बढी सुन युरोप निर्यात हुने गरेको छ।

सामाजिक चुनौतीहरू र संघर्ष
खानी गाउँमा महिलामाथि हिंसा हुनु कुनै नौलो कुरा होइन। गत वर्ष २६ वर्षीया रिले सान्तोसको हत्या भएको थियो। खानी नजिकैको कोठामा उनको शव भेटिएको थियो। उनकी दिदीले बताएकी छन् कि रिलेले यौन सम्पर्क गर्न अस्वीकार गरेपछि उनलाई कुटपिट गरी हत्या गरियो।

डेयान लेट्टी भने अब खानी क्षेत्रमा काम गर्न चाहँदिनन्। उनले भनिन्, “म मेरो बच्चाहरूको लागि राम्रो भविष्य बनाउन चाहन्छु। मलाई थाहा छ यो कठिन छ, तर म हार मान्दिनँ।”

सरकारको कदम
राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाको सरकारले अवैध खानी उत्खनन बन्द गर्न प्रयास गरिरहेको छ। सुनको खरिदबिक्रीमा रोक लगाउनका लागि पनि कदम चालिएको छ।

तर, सुनको उच्च मूल्यका कारण धेरै मानिसले आफ्नो भाग्य परीक्षण गर्न खानी क्षेत्रतर्फ जाने गरेका छन्। यसले ब्राजिलको कानुन र सामाजिक न्यायप्रति गम्भीर चुनौती खडा गरेको छ।