Sunday, June 21, 2026
Home Blog Page 614

रवि लामिछाने अझै पाँच दिन हिरासतमा

0

पोखरा(कास्की): राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले अनुसन्धानका लागि थप पाँच दिन म्याद थप गरेको हो ।

प्रहरीले ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गरेकोमा अदालतले ५ दिन मात्र समय दिएको हो । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले अदालत उपस्थित गराइएको हो ।

अदालतले छाडे लगत्तै अदालत परिसरबाटै दुर्गा प्रसाईं फेरि पक्राउ

0

काठमाडौं: मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्। विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किना साथ उनलाई अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको हो।

आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको हुनाले उनलाई फेरि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होविन्द्र बोगटीले जानकारी दिए। उनका अनुसार अब आपराधिक लाभसबन्धी मुद्दामा थप अनुसन्धान हुनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेको घटनामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजालसले ४० हजार धरौटीमा छाड्न आदेश गरेका थिए।

जिल्ला अदालतको आदेश अनुसार ४० हजार धरौटी बुझाएर निस्कनासाथ प्रसाईं पक्राउ परेका हुन्।

रवि लामिछानेलाई आज अदालत उपस्थित गराइने

0

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतबाट आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदैछ। उनी सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए। हिरासतमा थपिएको ४ दिनको म्याद आज समाप्त हुने भएकाले पुनः म्याद थपका लागि अदालतमा पेश गर्न लागिएको हो।

कास्की प्रहरीले लामिछानेबारेको अनुसन्धान लगभग पूरा गरी प्रतिवेदन तयार गर्ने प्रक्रियामा छ। एकदुई दिनभित्र प्रतिवेदन बुझाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ। कास्कीका एसपी श्यामबाबु ओलियाले भने, “अनुसन्धान अधिकृतहरूले प्रतिवेदन तयार गरिरहेका छन्।”

लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी, र सङ्गठित अपराधको कसुरमा मुद्दा दायर गर्नका लागि प्रहरीको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाइने भएको छ।

संसदीय छानबिन समितिको प्रतिवेदनले गोरखा मिडिया नेटवर्क प्रालिमा सूर्यदर्शन सहकारीको रकम अपचलन भएको निष्कर्ष निकालेपछि यस प्रकरणमा पूर्व डीआईजी छविलाल जोशीसहित अन्य व्यक्तिहरू पक्राउ परेका थिए। जोशी गत असोज ६ मा पक्राउ परेका थिए। अनुसन्धानका क्रममा पक्राउ परेका सबैलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि मुद्दा चलाउने तयारी गरिएको छ। कानुनअनुसार, जोशी पक्राउ परेको मितिबाट ९० दिनभित्र अदालतमा मुद्दा दर्ता गरिनुपर्छ।

नेपाल प्रहरीका एक उच्च अधिकृतका अनुसार, मुद्दाको अभियोग पत्र तयार गर्न सरकारी वकिल कार्यालयले १० दिनको समय मागेको छ। ती अधिकृतले भने, “त्यसैले प्रतिवेदन कम्तीमा ७ दिनअघि बुझाउने गरी तयारी भइरहेको छ।”

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा लामिछानेसहित पूर्व डीआईजी छविलाल जोशी, लिला पछाई (गुल्मी), रामबहादुर खनाल (तनहुँ), र कृष्ण गुरुङ (पोखरा) हिरासतमा छन्। अनुसन्धानका क्रममा पक्राउ परेका ५ जनाबाहेक ३५ जनालाई फरार प्रतिवादीको रूपमा सूचीकरण गर्न सिफारिस गरिनेछ। अनुसन्धानमा संलग्न एक अधिकृतले भने, “पक्राउ परेकाबाहेकका ३५ जना फरार प्रतिवादी कायम गरिनेछ।”

सूर्यदर्शन, स्वर्णलक्ष्मी, सहारा, र सानो पाइलाबाट जम्मा ६५ करोड ५४ लाख रकम गोरखा मिडिया नेटवर्कमा ल्याई अपचलन गरिएको संसदीय समितिले जनाएको छ। सूर्यदर्शनबाट मात्रै ५ करोड ५८ लाख रकम गोरखा मिडियामा लगिएको पुष्टि भएको छ।

पोखराको सूर्यदर्शन सहकारीसँग आफ्नो कुनै पनि सम्बन्ध नरहेको लामिछानेले बयानमा बताएका छन्। उनले भनेका छन्, “सूर्यदर्शनको सञ्चालक समिति, लेखा समिति, ऋण समिति वा अन्य कुनै पदमा म थिइनँ। बचत खाता वा लोन खाता खोल्नुभएको छैन।”

अनुसन्धानका क्रममा लामिछानेले आफ्नो नाममा ऋण निकासा भएकोबारे अनभिज्ञता जनाएका छन्। “मेरो नाममा ऋण निकासा भएकोबारे मलाई कुनै जानकारी छैन,” उनले भनेका छन्।

ग्यालेक्सी फोरके टिभी सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्क प्रालिका संस्थापक जीबी राईले आफूलाई कार्यक्रम सञ्चालन गर्न निम्तो दिएपछि त्यहाँ पुगेको लामिछानेले बताए। उनले गोर्खा मिडियामा १ करोड ८० लाखको सेयर लिएको र सो रकम पारिश्रमिकबाट कट्टा गर्ने सर्तमा आफू सहभागी भएको जानकारी दिए।

हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया

0

कञ्चनपुर: कृष्णपुर नगरपालिका–२ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार(सान) लगाउने कार्य गर्नुहुन्छ । चालिस किलोमिटर साइकल चढेर दैनिकजसो गाउँ, सहरबजार पुगेर यस्तो काम गर्नु उहाँको दिनचर्या नै हो ।

यही कामबाट आफ्नो घरखर्च सहज रूपमा चल्दै आएको उहाँले बताउनुभयो । साइकलको डण्डीमा जडान गरिएको सान (धार) लगाउने पत्थरमा चक्कु, खुकुरी, चुलेसी, कैँची, बञ्चरो, तरवारलाई घोटेर उहाँले धारिलो बनाउनुहुन्छ । तरकारी, मासु, काठ काट्ने फलामका औजारमा धार लगायवापत रानाले दैनिक करिब रु एक हजार जति आम्दानी हुने गरेको सुनाउनुभयो ।

“बिहानको नास्ता गरेर घरबाट निस्किन्छु । साँझ अबेर मात्रै घर फर्कने गरेको छु, दिउँसोको खाना बजार क्षेत्रमै खाने गर्छु”, उहाँले भन्नुभयो । रानाले कहिलेकाही धनगढीदेखि महेन्द्रनगर बजारसम्म पुगेर यस्तो कार्य गर्ने गरेको बताउनुभयो ।

खाना खर्च कटाएर दैनिक रु सात सय जति बचत हुने गरेको उहाँ बताउनुहुन्छ । सान लगाउनेकार्य रानाले २० वर्षकै उमेरदेखि गर्दै आउनुभएको हो । पहिले रानाले भारतमा यही काम गरेर घर खर्च चलाउने गरेको समेत बताउनुभयो । स्वदेश फर्केर विवाह गरेपछि यसै कार्यलाई निरन्तरता दिएको र यसैबाट आउने आम्दानीबाट पाँच छोराछोरीको लालनपालन गरिरहेको रानाको भनाइ छ । “घरखर्च यसैबाट आएको कमाईले धानिदै आएको छ । मुक्तकमैया पुनःस्थापना कार्यक्रमअन्र्तगत पाइएको घरबासको जग्गा मात्रै छ । अन्न, लुगाफाटो, औषधोपचार यसबाटै आएको कमाइले गरिरहेको छु”, उहाँले भन्नुभयो,“पछिल्लो समय त छोराले ज्यालामजदुरी गरेर सघाइरहेका छन् । हामी सबैको आम्दानी घर खर्चमै सकिन्छ ।”

विसं २०५८ सालमा श्रीमतीको देहावसान भएपछि आमाको भूमिकासहित आफँैले एकल अभिभावकत्व निर्वाह गर्नुपरेको रानाले बताउनुभयो । “कमाई गर्ने माध्यम थिएन, पर्याप्त अन्न फल्ने खेत पनि छैन, पहिलेदेखि नै सिकेको सीप भएकाले यसैलाई निरन्तरता दिँदै आएको छु”, उहाँ भन्नुहुन्छ,“अहिले छोरा पनि कमाउने भएकाले केही सहज भएको छ । बुढेसकाल लागे पनि पहिलेदेखि नै काम गरिरहेकाले ग्राहकले पनि रुचाउने गरेका छन् । हतियारमा धार लगाएपछि पैसा दिन कसैले पनि कन्जुस्याइँ गर्र्दैनन् । बरु बुढेसकालमा पनि मेहनत गरेर खाने बड्डा भनेर थपेरै दिन्छन ।”

रानाले चक्कु, हसिया, चुलेसीलगायतमा धार लगायवाफत रु २०, खुकुरी, बञ्चरोमा धार लगायवापत रु ५० र तरबारको रु एक सय रुपैयाँ ज्याला लिने गर्नुभएको छ । पहिला महिनाको रु ३० हजारसम्म पनि कमाइ हुने गरे पनि साइकल टाढासम्म चलाउन नसक्ने भएकाले रु १५ हजारदेखि २० हजारसम्म कमाई हुने गरेको उहाँले जानकारी दिनुभयो । “बसेरभन्दा गरेर खाँदाको आनन्द बेग्लै हुन्छ । छोरा बुहारीसँग हात फैलाएर माग्नु परेको छैन, बरु उनीहरूलाई सहयोग गर्छु”, रानाले खुसी हुँदै भन्नुभयो ।

रायडाँडा पुग्न ४० करोडको लागतमा पक्की सडक बन्दै

0

गलकोट (बागलुङ): बागलुङ नगरपालिकामा सबैभन्दा दुर्गम मानिएको रायडाँडा विस्तारै सुगम बन्दैछ । यसका लागि सडक पूर्वाधार विकास र विस्तारको काम भइरहेको छ । यहाँ विसं २०६० मा सडकको ट्रयाक पुगेको रायडाँडा बागलुङ बजारबाट १९ किलोमिटर टाढा रहेको छ ।

हाल यहाँको बस्ती–बस्तीमा सडकको ट्रयाक पुगेको छ भने रायडाँडाको वडा कार्यालयसम्म पक्की सडक पु¥याउन धमाधम स्तरोन्नतिको काम भइरहेको छ । हाल १९ किमी सडक पक्की बनाउन दुई चरणमा ठेक्कामार्फत रु ४० करोड लागतमा सडक स्तरोन्नतिको काम भइरहेको हो । अदालत—चौपारी–गौँडाकोट–तित्याङ–भकुण्डे हुँदै रायडाँडा बरेङ शान्तिपुर सडकअन्र्तगत हाल रायडाँडासम्म सडक कालोपत्रका लागि स्तरोन्नतिका काम हुँदैछन् ।

पहिलो चरणमा छ महिना अघिदेखि रु ३० करोड लागतमा भकुण्डेसम्म १५ किमी सडक र हाल भकुण्डे खण्डको चार किमीमा काम सुरु भएको छ ।

यस्तै दोस्रो चरणमा भकुण्डेको शौर्यदेखि बागलुङ नगरपालिका–११ रायडाँडाको वडा कार्यालयसम्म चार किमि सडक स्तरोन्नतीका लागि रु १० करोड लागतमा ठेक्का सम्झौता निर्माण व्यवसायी काममा फर्केको छ । छिट्टै रायडाँडाका सडक बन्ने बागलुङ नगरपालिका–११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । निरन्तरको पहल र बागलुङ नगरपालिकाको समन्वयमा सडक निर्माणले गति लिएको र दुवै खण्डमा सडक स्तरोन्नति भए रायडाँडा जस्तो विकट गाउँमा विकासले गति लिने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

“बागलुङ बजारदेखि तित्याङ हुँदै भकुण्डेसम्मको १५ किमी सडकमा बिडारी निर्माण सेवाले काम गरिरहेको छ भने भकुण्डेदेखि रायडाँडासम्मको चार किमि सडकमा एटलान्टिक निर्माण सेवाले हालै सम्झौता गरेर सडक चौडा पार्ने काम सुरु गरेको छ”, वडाध्यक्ष गौतमले भन्नुभयो, “बागलुङ नगरपालिकाको विकट गाउँमा पक्की सडक पुग्नु यहाँका लागि गौरवको विषय हो ।”

बहुवर्षीय आयोजनाअन्र्तगत दोस्रो खण्डमा गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यालयअन्र्तगत काम भइरहेको छ । वैशाखदेखि काम सुरु गरेका निर्माण व्यवसायीले तित्याङ खण्डमा छ किमी सडक चौडा बनाइसकेको छ भने बागलुङ बजारको अदालत चौपारीदेखि सडक चौडा पार्ने, ग्याबिन लगाउने र कल्भर्ट निर्माण गर्ने काम भइरहेको बिडारी निर्माण सेवाका सञ्चालक धु्रब बिडारीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८० चैत १६ गते दुई वर्षमा स्तरोन्नतिसहित कालोपत्र सम्पन्न गर्न सम्झौता भएकामा सडकको पहिलो खण्डमा हाल कामले गति लिएको छ । ट्रयाक खोलेको २० वर्षसम्म स्तरोन्नति हुन नसकेको सडक कालोपत्रका लागि पूर्वाधारको काम हुँदा स्थानीय पनि उत्साहित भएका छन् । स्थानीय चन्द्रप्रकाश शर्माले सडक स्तरोन्नतिले पर्यटकीय गाउँ भकुण्डे पुग्ने पर्यटकलाई सहज भई अन्य विकासमा पनि सकारात्मक प्रभाव पर्ने उहाँले बताउनुभयो । सडकको पहुँच, विकासका गतिविधि बढ्न थालेपछि यहाँबाट बसाइँसराइ रोकिने शर्माले आशा व्यक्त गर्नुभयो ।

जाजरकोटमा जिप दुर्घटना, पाँच जनाको मृत्यु

0

काँक्रेविहार (सुर्खेत): जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

ग३च ९४४५ नम्बरको जिप गए राति दुर्घटना हुँदा नलगाड नगरपालिका–३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र निजका छोरा आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले बताउनुभयोे । घाइतेमध्ये एक जनाको उपचार स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

एनपिएलः आज दुई खेल हुँदै

0

काठमाडौँ: कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् ।

पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्स र दोस्रो स्पर्धा काठमाडौँ गुर्खाज् जनकपुर बोल्ट्सबीच हुनेछ । हालसम्म काठमाडौंले दुई खेल जितेको छ भने पाँच खेलमा स्पर्धा गरेको जनकपुर चार खेलमा विजयी भएको छ । पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ ।

काठमाडौँ उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस

0

काठमाडौँ: काठमाडौँ उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ ।

आज बिहान यहाँको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो चार डिग्री सेल्सियस रहेको मौसमविद् सरोज पुडासैनीले बताउनुभयो । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ ।

आज ६ः४५ बजे सूर्योदय हुनेछ भने अपराह्न ५ः१० मा सूर्यास्त हुनेछ ।

जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको
छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ भने आज राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका केही भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ ।

शुक्रबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने जनाउँदै विभागले सोहीअनुरुप आफ्ना गतिविधि सञ्चालन गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

जापानमा धेरै बच्चा जन्माउनका लागि हप्तामा ३ दिन विदा

0

काठमाडौं: जापानको राजधानी टोक्योमा जन्मदर सुधार गर्न नयाँ पहल सुरु भएको छ । आगामी वर्षदेखि कार्यालयमा ४ कार्य दिनको नियम लागु हुने भएको छ ।

अब मानिसहरूले हप्तामा चार दिन मात्र काम गर्नुपर्छ, ३ दिन विदा पाउँछन् । टोक्योका गभर्नर युरिको कोइकेले अर्को वर्ष अप्रिलदेखि कर्मचारीहरूले हप्तामा तीन दिन बिदा लिने विकल्प पाउने घोषणा गरेका छन्।

पछिल्ला केही वर्षहरूमा मानिसहरू आफ्ना छोराछोरीको पालनपोषणका कारण आफ्नो करियर बीचमा छोड्न बाध्य छन्। सन्तान नहुनुको प्रमुख कारण यो पनि मानिन्छ ।

पछिल्ला केही वर्षको नीतिका कारण देशको प्रजनन दरमा उल्लेख्य गिरावट आएको छ । यसलाई सुधार गर्न स्थानीय प्रशासनले धेरै नयाँ तरिका अपनाइरहेको छ ।

गभर्नर कोइकेले भने, “यस अवधिमा हामीले काम गर्ने तरिकामा लचकता ल्याउनेछौं र बच्चा जन्माउँदा वा हेरचाह गर्दा कसैले पनि आफ्नो पेशा छोड्न नपरोस् भन्ने सुनिश्चित गर्नेछौं। यस पहलले जापानीहरूमा बच्चा जन्माउने जोडीहरूलाई प्रोत्साहन गर्न मद्दत गर्नेछ।”

टोक्यो प्रशासनका अनुसार यो योजना ती अभिभावकहरूका लागि पनि उपयोगी हुनेछ जसका बच्चाहरू प्राथमिक विद्यालयमा छन्, उनीहरूले कम काम गर्ने विकल्प पाउनेछन्, जसले उनीहरूको तलबमा पनि सन्तुलित कटौती गर्नेछ।

गत वर्ष जापानमा मात्रै ७ लाख २७ हजार २७७ जना जन्मिएका थिए । यो कमी भनेको देशको ओभरटाइम काम संस्कृतिको परिणाम हो, जसले महिलाहरूलाई करियर र परिवारको बीचमा छनौट गर्न बाध्य पार्छ।

विश्व बैंकको तथ्याङ्क अनुसार जापानमा लैङ्गिक रोजगारी असमानता अन्य धनी राष्ट्रहरूको तुलनामा बढी छ, जसमा महिलाको सहभागिता ५५% र पुरुषको ७२% रहेको छ।

वैदेशिक रोजगारमा विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

0

काठमाडौं: वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका-२५ घर भई काठमाडौंको टोखा नगरपालिका-६ बस्ने ३० वर्षीय मधु तिमल्सिना अधिकारी, रुपन्देही देवदह नगरपालिका-१२ घर भई काठमाडौं महानगरपालिका-२८ बस्ने ३२ वर्षीया गीता कुँवर तथा काठमाडौं बागबजारस्थित ग्लोबल एक्सेल अपस्किल एन्ड स्टडी इन्फो सेन्टरका सञ्चालिका सिराहाको सिरहा नगरपालिका-७ घर भई काठमाडौं-२२ बस्ने ३० वर्षीया दिव्या यादव रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले भने, “पक्राउमध्ये मधुले रोमानिया पठाइदिने भन्दै तीनजना पीडितहरुबाट सात लाख, गीताले युके पठाइदिने भन्दै आठजना पीडितबाट १६ लाख पाँच हजार तथा दिव्याले स्लोभाकिया पठाइदिने भन्दै एकजना पीडितबाट रु पाँच लाख १५ हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरुको उजुरीका आधारमा पक्राउ गरिएको हो।”

प्रहरीले मधुलाई काठमाडौंको टोखा-६ बाट र गीतालाई काठमाडौं-२८ बाट तथा दिव्यालाई काठमाडौं न्यूरोडबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पक्राउमध्ये मधु र गीतालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं र दिव्यालाई जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए।