Tuesday, June 23, 2026
Home Blog Page 589

रौतहटका आगलागी पीडितलाई पूर्वप्रधानमन्त्री माधव नेपालद्वारा राहत वितरण

0

चन्द्रपुर (रौतहट): नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगलागीपीडितहरूलाई राहत वितरण गर्नुभएको छ ।

रौतहट क्षेत्र नं १ का सांसदसमेत रहनुभएका अध्यक्ष नेपालले राजदेवी–५ पतही गाउँका आगलागीपीडितलाई राहत प्रदान गर्नुभएको हो । राहत हस्तान्तरण गर्दै अध्यक्ष नेपालले आगलागीपीडित परिवारको सुरक्षित आवास निर्माण गर्न जग्गा व्यवस्थापनका लागि आफूले पहल गर्ने बताउनुभयो । उहाँले आगलागीपीडितलाई भेटेर तत्काल घर निमार्णका लागि सहयोग गर्ने प्रतिबद्धता
जनाउनुभयो ।

जनता आवास कार्यक्रमअन्तर्गत गरिब तथा विपन्न परिवारको घर निर्माण तथा जमिन उपलब्ध गराइदिन अध्यक्ष नेपालले सरकारसँग आग्रह गर्नुभएको छ । उहाँले पीडित परिवारलाई खाद्यान्न, त्रिपाल, कम्बलसहितका सामान हस्तान्तरण गर्नुभयो । गत सोमबार राजदेवी नगरपालिका–५ पताहीटोलमा स्थानीय जगरनाथ पासवानको घरमा जाडो छल्न बालेको घुरबाट आगो सल्किँदा उक्त गाउँका सात घर जलेर नष्ट भएका थिए ।

आगलागीबाट राजदेवी–५ पताहीका जगरनाथ पासवान, राम सोगारथ पासवान, बाबुलाल पासवान, दीपेन्द्र पासवान, विजय पासवान, शिवचन्द्र पासवान र रामनाथ पासवानको घर तथा घरभित्र रहेका लत्ताकपडा र सामान पूर्ण रूपमा जलेर नष्ट भएका थिऐ ।

राहत हस्तान्तरण कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य कल्याणी खड्का, मधेस प्रदेससभा सदस्य कनिस पटेल, पार्टीका रौतहट अध्यक्ष कमल यादव, राजदेवी नगरपालिकाका प्रमुख भिखारी यादव, बौधिमाई नगरपालिकाका प्रमुख प्रदीप यादव लगायतको उपस्थिति थियो ।

सूर्यदर्शन सहकारी ठगीः प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जारी

0

गण्डकी: कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ।

शुक्रबारदेखि सुरु भएको प्रतिवादी पक्षका कानुन व्यवसायीको बहस आज पनि जारी रहने जानकारी अदालतका श्रेस्तेदार राजन खनालले दिएका छन्। प्रतिवादी लीला पछाईँ र छविलाल जोशीको पक्षमा कानुन व्यवसायीहरूले शुक्रबार बहस गरेका थिए, जसले अझै पूर्णता पाइसकेको छैन।

यसअघि सरकारी वकिल र जाहेरवालाको सहकारीपीडित पक्षका कानुन व्यवसायीहरूले बहस सम्पन्न गरेका थिए। प्रतिवादीहरूको बयान सकिएपछि जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मंगलबारदेखि थुनछेक बहस सुरु भएको हो। जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जाहेरवालाका तर्फबाट बहस सकिएपछि प्रतिवादी पक्षको बहस सुरु भएको बताइन्।

“प्रतिवादी पक्षका बहसपछि हामी जवाफी बहस गर्नेछौं,” काफ्लेले भनिन्। थुनछेक बहसपछि प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्ने वा थुनामुक्त गर्ने आदेश हुने छ।

सभापति लामिछानेसहित सहकारी ठगी मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, र रामबहादुर खनाललगायत अन्य व्यक्तिहरूमाथि पनि थुनछेक बहस भइरहेको छ। पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

सभापति लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध, र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पनि चलाइएको छ। सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको छ। सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराध मुद्दा दायर भएको छ।

त्यस्तै, लामिछाने, खनाल, जोशी, र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पनि दायर गरिएको छ। सहकारीको बचत रकम अपचलनको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। सहकारी ठगी आरोपित अन्य व्यक्तिहरूमाथि पनि कसुरअनुसारको बिगो र सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ।

एमाले र माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

0

काठमाडौँ:P सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुने बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिसहितको प्रतिवेदन प्रस्तुत गर्नेछन्।

बैठकमा प्रतिवेदनसहित समसामयिक विषयमा प्रत्येक केन्द्रीय सदस्यलाई धारणा राख्न तीन मिनेटको समय दिने व्यवस्था गरिएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए। राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, अघिल्ला सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएको उनले बताए। बैठकमा ३५७ केन्द्रीय सदस्य, सात प्रदेशका अध्यक्ष र चार ओटा केन्द्रीय आयोगका प्रमुख सहभागी हुनेछन्। बैठक दुई दिनभित्र सम्पन्न गर्ने योजना रहेको छ।

त्यसैगरी, नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प, आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित छलफल हुने उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। बैठकको शुरुवातमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिबारे ‘ब्रिफिङ’ गर्नेछन्, जसपछि प्रतिवेदनमाथि छलफल हुनेछ। बैठकमा ४०९ पूर्ण केन्द्रीय सदस्य, २०५ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारीसहित १२५ जनाको सहभागिता रहनेछ।

यसअघि, केन्द्रीय समिति बैठक सञ्चालनको मोडालिटी टुङ्ग्याउन आज बिहान ८ बजे माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ। संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा दुवै दलको बैठकले संविधान संशोधनलगायत एजेन्डामा ठोस धारणा तय गर्ने अपेक्षा गरिएको छ।

एमालेको दबाबमा रोकियो भीम रावलको कार्यक्रम

0

विराटनगर: नेकपा एमालेको कारबाहीमा परेका नेता डा. भीम रावल यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेशमा छन्।

शनिबार विराटनगर पुगेका रावल सुनसरीको भरौलमा आयोजना हुने तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय भेट्रान फुटबल उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम तय थियो।

तर, उनी सहभागी हुने भनिएको उक्त समारोह अन्तिम समयमा आएर रोकिएको छ।

विराटनगर विमानस्थलबाट सोझै कार्यक्रमस्थलतर्फ लागेका रावललाई बीच बाटोबाटै फर्किनुपर्ने परिस्थिति उत्पन्न भएको थियो।

संगठन निर्माण अभियानलाई सक्रिय रूपमा सञ्चालन गर्ने रास्वपाको निर्णय

0

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन निर्माण अभियानलाई सक्रिय रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

शनिबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकको पहिलो दिन पार्टीले संगठनलाई चुस्त बनाउन राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

बैठकमा जिल्ला समिति अन्तर्गतका पार्टी संरचनाहरूलाई सहयोग र सहजीकरण गर्न केन्द्रीय सदस्यको नेतृत्वमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभाग, र पार्टीका सम्बन्धित निकायहरूले सिफारिस गरेका विज्ञ सदस्यहरू सहितको जिल्ला-आधारित कार्यदल गठनबारे छलफल भएको झाले बताए।

कार्यदलले सदस्यता विस्तारका साथै पालिका र वडा समितिहरू निर्माणमा जिल्ला समिति तथा पालिका समितिहरूलाई सहजीकरण गर्ने छ। रास्वपाले अभियान माघ २ गतेबाट सुरु गरी दुई महिनासम्म सञ्चालन गर्ने योजना बनाएको छ। अभियानपछि वैशाखमा महाधिवेशन सम्पन्न गर्ने तयारी पनि छ।

शनिबारको बैठकमा पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक सन्दर्भमा जानकारी गराउँदै पार्टी गतिविधिबारे अवगत गराएका थिए।

सहमहामन्त्रीहरूले हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको समीक्षा प्रतिवेदन पेस गरेका छन्। बैठकमा उक्त निर्वाचनका अनुभव, सिकाइ, र चुनौतीहरूबारे छलफल भएको प्रवक्ता झाले जानकारी दिए। बैठक आइतबार पनि जारी रहनेछ।

चीनले समुद्रमा उतार्‍यो विमानबाहक युद्धपोत

0

बेइजिङ: चीनले आफ्नो नौसैनिक क्षमतामा अभूतपूर्व सुधार गर्दै इन्डो-प्यासिफिक क्षेत्रमा प्रभावशाली शक्ति प्रदर्शन गर्न अग्रसर रहेको छ। यो प्रयासअन्तर्गत चीनले नयाँ विमानवाहक जहाज निर्माण र पुराना जहाजलाई उन्नत बनाउने कार्यलाई तीव्रता दिएको छ।

चीनको पहिलो स्वदेशी रूपमा निर्मित विमानवाहक जहाज शानडोङ यस रणनीतिक प्रयासको प्रमुख उदाहरण हो। सन् २०१७ मा निर्माण सुरु गरिएको र डिसेम्बर २०१९ मा परिचालनमा आएको यस जहाजले २०२४ सम्ममा महत्त्वपूर्ण प्राविधिक तथा परिचालन क्षमता वृद्धि गरेको छ।

शानडोङले धेरै सुधार गर्दै आफ्नो जेट विमान उडान र अवतरण क्षमतालाई उल्लेखनीय रूपमा वृद्धि गरेको छ। जहाजले अहिले सबै मौसममा युद्ध लड्ने क्षमता हासिल गरेको छ। चिनियाँ मिडियाका अनुसार, शानडोङले सन् २०२४ को सामुद्रिक प्रशिक्षण मिशन पूरा गर्दै परिचालन प्रभावकारिताको नयाँ मापदण्डहरू स्थापित गरेको छ।

यसले जेट विमान तैनाथ गर्न लाग्ने समयलाई घटाउनुका साथै लामो दूरीको मिशनहरू सञ्चालन गर्न सक्ने क्षमतालाई पनि बलियो बनाएको छ। जहाजले फ्लीट अभ्यास, तटीय मिशनहरू, र जटिल परिस्थितिमा चौबीसै घण्टा सञ्चालन गर्न सक्ने लचकता हासिल गरेको छ।

शानडोङले एकै दिनमा सबैभन्दा धेरै विमान उडान र अवतरण गराउने रेकर्ड तोडेको छ। यो उपलब्धिले चीनको पिपुल्स लिबरेशन आर्मी (PLA) नौसेनाको उच्चस्तरीय तयारी र रणनीतिक योजना कार्यान्वयनमा प्रतिबद्धता दर्शाउँछ।

विश्लेषकहरूका अनुसार, शानडोङको क्षमतामा भएको सुधार चीनको इन्डो-प्यासिफिक क्षेत्रमा भारतलगायतका देशहरूलाई रणनीतिक रूपमा पछि पार्ने दीर्घकालीन योजनाको अंश हो। चीन आफ्नो नौसेनालाई अत्याधुनिक प्रविधि र युद्धक तयारीले सुसज्जित गर्दै क्षेत्रीय प्रभुत्व बढाउन प्रयासरत छ।

चीनले आगामी वर्षहरूमा थप विमानवाहक जहाज निर्माण गर्ने योजना बनाएको छ। यसले केवल जहाज निर्माणमा मात्र होइन, नयाँ युद्धक रणनीति र प्राविधिक अनुसन्धानमा समेत ध्यान केन्द्रित गरेको छ।

यो सबैले चीनको नौसैनिक क्षमता विस्तार मात्र होइन, विश्वव्यापी समुद्री सुरक्षामा यसको प्रभाव बढ्ने सङ्केत दिन्छ।

एक पटक देशको नेतृत्व गर्ने विप्लवको चाहना

0

काठमाडौं: नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशको नेतृत्व सम्हालेर एकपटक नेपाललाई सेवा गर्ने चाहना रहेको बताएका छन्।

शनिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनको डबलीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले क्रान्तिकारी कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध गर्दै देशको नेतृत्व गर्ने आफ्नो इच्छा प्रकट गरे।

‘कांग्रेस, एमाले र माओवादी केन्द्रले पटक-पटक सरकारको नेतृत्व गर्दा पनि जनअपेक्षा पूरा गर्न सकेनन्,’ विप्लवले भने, ‘अब नेकपाले ध्रुवीकरण गर्दै देशको नेतृत्व गर्ने समय आएको छ। यो देशको सेवा गर्ने अवसर नेकपाले पाउनुपर्छ।’

कार्यक्रममा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता जितेन्द्र दाहालले विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका छन्।

विप्लवले पार्टीभित्र भएको ध्रुवीकरणको निर्णयअनुसार यो प्रक्रिया सुरु भएको जानकारी दिँदै भने, ‘हाम्रो केन्द्रीय समितिको बैठकले गरेको निर्णयको पहिलो कदमको रुपमा यो अभियान यहाँबाट सुरु भएको हो। यस्ता ध्रुवीकरणका कार्यक्रमहरू आगामी दिनमा पनि जारी रहनेछन्।’

उनले माओवादी केन्द्रले पनि ध्रुवीकरणको कुरा गरिरहेको तर तीनपटक सरकारको नेतृत्व र पटक–पटक सत्तामा पुगेको माओवादी केन्द्रले जनतालाई के दिन सक्छ भन्ने प्रश्न उठाएका छन्।

सरकार व्यवसायीका विरुद्धमा छ : प्रचण्ड

0

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार व्यवसायीमाथि दबाब दिने नीति लिएको आरोप लगाएका छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको ७औं वार्षिक साधारणसभामा आज बोल्दै उनले सरकारले व्यवसायीलाई सहुलियत नदिएर कठिन अर्थतन्त्रलाई झनै अप्ठ्यारो बनाएको बताए।

‘सरकारले व्यवसायीलाई सहजीकरण गर्नुभन्दा उल्टो निचोर्ने र दुहुने नीति लिएको स्पष्ट देखिन्छ,’ उनले भने।

देश आर्थिक सङ्कटमा रहेको बेला व्यवसायीलाई सहुलियत दिएर अर्थतन्त्रलाई सहज बनाउने जिम्मेवारी राज्यको भएको उनको धारणा छ। तर, उनले सरकारले व्यवसायीमाथि करको भार थपेर आर्थिक समस्या समाधान गर्न खोजेको आरोप लगाए।

‘रेमिट्यान्स घटेको, लगानी रोकिएको र बैंकमा पैसा थुप्रिएको अवस्थामा सरकारले व्यवसायको लागि अनुकूल वातावरण बनाउन चासो देखाएको छैन,’ उनले टिप्पणी गरे।

साथै, उनले राज्यले साना तथा कमजोर व्यवसायीमाथि करको भार थुपारेर समाधान खोज्न प्रयास गरेकोप्रति असन्तुष्टि जनाउँदै आफू यस्तो नीतिको विरोधमा रहेको स्पष्ट पारे।

सर्वोच्च बारमा आज निर्वाचन, कांग्रेस-एमाले निकट मुख्य प्रतिस्पर्धामा

0

काठमाडौं: सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। अध्यक्षसहित विभिन्न पदका लागि ३५ कानुन व्यवसायीले उम्मेदवारी दिएका छन्।

अध्यक्ष पदका लागि मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एशोसिएशनका वरिष्ठ अधिवक्ता मेघराज पोखरेल र नेकपा एमाले निकट प्रगतिशील कानुन व्यवसायी संघका वरिष्ठ अधिवक्ता महेश थापाबीच हुने अपेक्षा गरिएको छ। त्यस्तै, अधिवक्ता प्रेमसिंह धामीले पनि अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ।

अन्य पदमा पनि चर्को प्रतिस्पर्धा देखिएको छ। उपाध्यक्ष पदका लागि अम्बरबहादुर राउत, भीष्मराज कडरिया, र उत्तमबहादुर श्रेष्ठ चुनावी मैदानमा छन्। सचिव पदमा रमणकुमार श्रेष्ठ, पुष्पराज पौडेल, र प्रभाकर श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ।

सहसचिव पदमा पुन्देवी महर्जन र श्रुतीकुमारी रेग्मीले उम्मेदवारी दिएका छन् भने कोषाध्यक्ष पदका लागि रामचन्द्र पौडेल, अनन्तराज लुइँटेल, र रामहरि त्रिपाठी प्रतिस्पर्धी छन्। त्यस्तै, ९ सदस्य पदका लागि १९ जनाबीच प्रतिष्पर्धा हुँदैछ।

सर्वोच्च बारका ६२६ मतदाताबीच सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमाले निकटका कानुन व्यवसायीहरूको आ-आफ्नो समूहले अलग-अलग प्रतिस्पर्धा गर्नेछन्।

निर्वाचन परिणामले सर्वोच्च बारमा कसको प्रभाव रहने भन्ने स्पष्ट हुनेछ।

अमेरिकी डलर उकालो लाग्दा अन्य विदेशी मुद्रा कुन बढ्यो कुन घट्यो ?

0

काठमाडौँ: नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार लगातार उकालो लागेको अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । यस्तै, क्यानेडियन डलर, अष्ट्रेलियन डलर, युएई दिराम, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको पनि भाउ बढेको छ ।

युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्र्याङ्क, सिङ्गापुर डलर, चिनियाँ युआन, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर,डेनिस क्रोनरको भने भाउ घटेको छ । केही विदेशी मुद्राको भाउ भने स्थिर रहेको छ ।

केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ बिक्रीदर एक सय ७० रुपैयाँ ७४ पैसा , स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५० रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २१ पैसा र बिक्रीदर ८५ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ११ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १२ रुपैयाँ ३७ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ २५ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ८४ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५५ रुपैयाँ ६८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २४ पैसा तोकिएको छ । त्यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।