काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज फेरि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदै छ।
लामिछानेको तर्फबाट थुनछेक बहस पूरा भए पनि जाहेरीवालाको तर्फबाट बहस नसकिएकाले उनी गत आइतबारदेखि प्रहरी हिरासतमा छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा थुनछेक बहस जारी छ। आइतबार र सोमबार बहस नसकिएकाले उनलाई हिरासतमा राख्ने आदेश दिइएको थियो। मंगलबार सार्वजनिक बिदा परेकाले बहस रोकिएको थियो। सम्भवतः आजै बहस सकिने र थुनामै राख्ने वा बाहिर बसेर कानुनी लडाइँ लड्ने आदेश आउने अपेक्षा गरिएको छ।
अदालत परिसरमा प्रहरी हिरासतमा लैजाँदा लामिछानेका समर्थकहरूले दैनिक नाराबाजी गरिरहेका छन्। हिरासतमा जानु अघि लामिछानेले समर्थकहरूलाई ‘स्यालुट’ गर्ने गरेका छन्।
सूर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि पोखराबाट ६५ लाख धरौटी बुझाएर छुटेका थिए। पोखराबाट छुटेपछि शुक्रबार काठमाडौं जिल्ला अदालतमा हाजिर हुनुपर्ने भनिए पनि समय अभावका कारण उनले आइतबारमात्र हाजिर गरेका थिए।
कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोपमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ। काठमाडौं जिल्ला प्रहरी परिसरले पुस २१ गते मुद्दा दर्ता गर्न सुझाव दिएपछि सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको हो।
लामिछानेको कानुनी प्रक्रिया आजको बहसपछि कस्तो मोड लिन्छ भन्ने प्रतीक्षामा छ।











