Wednesday, June 24, 2026
Home Blog Page 570

दक्षिण चीन सागरमा चीनबाट फिलिपिन्सको सुरक्षा गर्ने अमेरिकाको प्रतिबद्धता

0

काठमाडौं: अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई हमास र हिजबुल्लाहविरुद्धको सफलताका लागि बधाई दिएका छन्।

रुबियोले बुधबार मात्र इजरायलसँगै विभिन्न देशका नेताहरूसँग कूटनीतिक वार्ता गरेका थिए। इजरायलपछि उनले फिलिपिन्स, दक्षिण कोरिया र इन्डोनेसियाका विदेशमन्त्रीहरूसँग बहुपक्षीय मुद्दामा छलफल गरेका छन्।

फिलिपिन्ससँग दक्षिण चीन सागरको विषयमा प्रतिबद्धता दोहोर्‍याइयो

फिलिपिन्सका विदेशमन्त्री एनरिक मनालोसँगको वार्तामा रुबियोले दक्षिण चीन सागरमा चीनको आक्रामक व्यवहारप्रति अमेरिकाको गम्भीर चासो व्यक्त गरे।
अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “दक्षिण चीन सागरमा चीनको उक्साहटले क्षेत्रीय शान्ति र स्थायित्वलाई चुनौती दिइरहेको छ, जुन अन्तर्राष्ट्रिय कानुनविरुद्ध छ।”
रुबियोले चीनको दबाबका बाबजुद फिलिपिन्सको सुरक्षाप्रति अमेरिकाको अडान दृढ रहेको स्पष्ट पारे।

दक्षिण कोरियासँग उत्तर कोरिया विषयक सहकार्यको सहमति

दक्षिण कोरियाका विदेशमन्त्री चो ताए युलसँगको वार्तामा रुबियोले उत्तर कोरियाको परमाणु खतरा रोक्न संयुक्त प्रयासको महत्वमा जोड दिए।
दुवै देशले उत्तर कोरियाको आणविक कार्यक्रमप्रति कठोर अडान लिने र आफ्नो सुरक्षा रणनीति अझ बलियो बनाउने सहमति गरेका छन्।

इन्डोनेसियासँग व्यापार र सामुद्रिक सुरक्षामा छलफल

इन्डोनेसियाका विदेशमन्त्री रेट्नो सुगियोनोसँग रुबियोले व्यापार र सामुद्रिक सुरक्षाको विषयमा छलफल गरे।
दुवै नेताले इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति र स्थायित्व कायम राख्न आपसी सहकार्यको आवश्यकता औंल्याए।

क्षेत्रीय शान्ति र स्थायित्वका लागि अमेरिका सक्रिय

रुबियोले इजरायलको सुरक्षादेखि इन्डो–प्यासिफिक क्षेत्रसम्मका मुद्दामा अमेरिकाको नेतृत्व र प्रतिबद्धता स्पष्ट पारेका छन्।
उनको यस कूटनीतिक सक्रियताले क्षेत्रीय शान्ति र स्थायित्वका लागि अमेरिका प्रमुख भूमिकामा रहेको पुनः पुष्टि गरेको छ।

अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार

0

वासिङ्टन: भारतले अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका भारतीय नागरिकलाई फिर्ता गर्न तयार रहेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ प्रशासनका उच्च कूटनीतिज्ञहरूसँगको भेटपछि भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

मंगलबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग वासिङ्टनमा भएको भेटपछि जयशंकरले भने, ‘हामी अवैध आवागमन र आप्रवासनको कडा विरोध गर्दछौं। जहाँसम्म भारतीय नागरिकहरूको कुरा छ, उनीहरूलाई वैध रूपमा फिर्ता लैजान हामी तयार छौँ।’

ट्रम्प प्रशासनको कठोर नीति
राष्ट्रपति ट्रम्पले हालै कार्यकारी आदेश जारी गर्दै अवैध आप्रवासनमाथि कडाइ गर्ने र लाखौं आप्रवासीलाई देश निकाला गर्ने योजना अघि बढाएका छन्। यो नीति कार्यान्वयनको क्रममा १८,००० भन्दा बढी भारतीय नागरिकलाई देश निकाला गर्ने तयारी भइरहेको छ।

जयशंकरले भारतले अमेरिकासँग सहकार्य गर्दै कागजातविहीन भारतीयहरूको पहिचान गर्न र तिनीहरूलाई फिर्ता लैजान आवश्यक प्रक्रिया अगाडि बढाउने बताएका छन्।

भारतीय प्रतिभाको प्रोत्साहन

भारतीय विदेशमन्त्रीले अवैध आप्रवासनको विरोध गर्दै पनि भारतीय नागरिकहरूको प्रतिभा र कौशललाई विश्वव्यापी रूपमा प्रोत्साहन गर्न भारत प्रतिबद्ध रहेको बताएका छन्। उनले भने, ‘हामी चाहन्छौं कि भारतीय नागरिकहरूले आफ्नो कौशलको प्रयोगबाट वैध रूपमा अधिकतम अवसर पाऊन्।’

द्विपक्षीय सहकार्यको प्रतिबद्धता

जयशंकरले ट्रम्प प्रशासनसँग भारतको नजिकको सहकार्यलाई प्राथमिकता दिने संकेत गरेका छन्। उनले भने, ‘हामी जहिले पनि हाम्रो नागरिकहरूलाई फिर्ता गर्न खुलेका छौँ, तर यो प्रक्रिया उचित र वैधानिक रूपमा अघि बढ्नुपर्छ।’

यस छलफलले भारत र अमेरिका बीच आप्रवासनका मुद्दामा सहकार्य थप गहिरो बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

काठमाडौंको बूढानीलकण्ठबाट चितुवा उद्धार, चिडियाखाना पठाइयो

0

काठमाडौं। बूढानीलकण्ठ नगरपालिका-१०, भंगालमा बिहीबार बिहान फेला परेको चितुवाको सफल उद्धार गरिएको छ।

करिब साढे ७ बजेतिर स्थानीयले चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीको जानकारीपछि डिभिजन वन कार्यालय, काठमाडौंले उद्धार टोली खटाएको थियो। कार्यालय प्रमुख पुष्पराज बर्तौलाका अनुसार टोलीले चितुवालाई ‘डार्ट’ गरी बेहोस बनाएर नियन्त्रणमा लिएको हो।

‘हाम्रो टोलीले सुरक्षित रूपमा डार्ट गरेर चितुवालाई नियन्त्रणमा लियो। उद्धारपछि हामीले चिडियाखाना पठाएका छौं,’ प्रमुख बर्तौलाले जानकारी दिए।

चितुवा उद्धारका क्रममा कुनै अप्रिय घटना नभएको र चिडियाखानामा सुरक्षित रूपमा स्थानान्तरण गरिएको कार्यालयले जनाएको छ।

थुनछेक बहस सकियो, रवि भोलि पुनः अदालत उपस्थित हुने

0

बुटवल: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको थुनछेक मुद्दामा बिहीबार सरकारी वकिलको बहस सम्पन्न भएको छ। तर, लामिछानेका वकिलहरूको बहस भने सुरु भएको छैन।

आजको बहसमा सरकारी वकिलहरू र जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले तर्क प्रस्तुत गरेका थिए। रुपन्देही जिल्ला अदालतका स्वास्तेदार गोविन्द ज्ञवालीका अनुसार, पीडित पक्षका दुई वकिलको बहस अझै बाँकी छ।

सरकारी पक्षबाट जिल्ला सरकारी वकिल प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका छन्। उच्च सरकारी वकिल कार्यालय बुटवलका सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपानेले पनि न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा तर्क राखेका थिए।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा भएको ८६ करोड १८ लाख रुपैयाँभन्दा बढीको हिनामिनासम्बन्धी मुद्दामा लामिछानेविरुद्ध उजुरी परेको हो। सहकारीका १,८३१ बचतकर्ताको रकम दुरुपयोग गरेको आरोपमा २८ जनाविरुद्ध मुद्दा दायर भएको छ। रविलाई भने पछि दायर गरिएको पुरक उजुरीमा समावेश गरिएको हो।

प्रहरीले १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा र २ करोड रुपैयाँ लामिछानेको नाममा ऋण गएकाले उनीमाथि कारबाही अघि बढाएको छ।

लामिछाने यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका थिए। बुटवलपछि उनलाई चितवन र पर्सा जिल्ला अदालतमा पनि बयान दिनुपर्ने छ। ती जिल्लाबाट पक्राउ पुर्जी जारी भइसकेपछि उनले सरकारी वकिलसमक्ष बयान दिइसकेका छन्।

हालका लागि रविलाई परिवारको जिम्मा लगाइएको छ।मुद्दाको थप सुनुवाइ शुक्रबार हुने अपेक्षा गरिएको छ।

आन्तरिक स्रोत साधन परिचालन गरी ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै

0

कञ्चनपुर: कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्षमा ४५ किलोमिटर सडक स्तरोन्नति गर्ने योजना अघि सारेको छ। नगरपालिकाका नौवटै वडामा प्रत्येक वडाका लागि पाँच किलोमिटरका दरले सडक स्तरोन्नतिको काम सुरु गरिएको हो। पहिलो चरणमा वडा नं ४ को मालुवेला क्षेत्रबाट काम थालिएको नगर प्रमुख हेमराज ओझाले जानकारी दिनुभयो।

सडक स्तरोन्नतिका लागि नगरपालिकाले उपलब्ध साधन स्रोत, जस्तै टिपर, लोडर, ट्र्याक्टर, र रोलर प्रयोग गर्दै काम अघि बढाएको छ। यसका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ। “उपभोक्ता समितिमार्फत एक किलोमिटर सडक स्तरोन्नतिमा करिब रु १० लाख खर्च हुने अनुमान गरिएको छ,” नगर प्रमुख ओझाले बताउनुभयो। नगरवासीले आफ्नै साधन स्रोत प्रयोग गरेर काम गर्दा अपनत्व महसुस गरेको पनि उहाँले उल्लेख गर्नुभयो।

गत आर्थिक वर्षमा नगरपालिकाले २५ किलोमिटर सडक स्तरोन्नति गरेको थियो। यस वर्ष, सङ्घ र प्रदेश सरकारबाट प्राप्त रु १२ करोडको लागत साझेदारीमा नगरपालिका क्षेत्रमा सडक कालोपत्र गर्ने कामसमेत भइरहेको छ।

कबाड व्यवसायीमाथिको धरपकड रोक्न जसपा नेपालको माग

0

काठमाडौँ: जनता समाजवादी पार्टी (जसपा) नेपालले कवाड व्यवसायीहरूमाथि भइरहेको घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै, जसपाले काठमाडौँ महानगरपालिकाद्वारा कवाड व्यवसायीहरूमाथि गरिएको भौतिक संरचनाको तोडफोड र धरपकडलाई निन्दनीय करार गरेको छ। पार्टीले यस्ता कार्य तुरुन्त रोक्न र व्यवसायिक सुरक्षाको वातावरण बनाउन माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “महानगरले कवाड व्यवसायीहरूमाथि गालीगलौज र अभद्र व्यवहार गर्दै व्यवसाय रोक्न खोज्नु अत्यन्त गलत र निन्दनीय कार्य हो। यसलाई यथाशीघ्र बन्द गरी व्यवसायीहरूको सुरक्षा सुनिश्चित गर्न र स्वतन्त्र रूपमा व्यवसाय सञ्चालन गर्न पाउने अधिकारको प्रत्याभूति गराउन सरकारसँग माग गर्दछ।”

जसपाले कवाड व्यवसायले देशभरका उद्योगलाई कच्चापदार्थ उपलब्ध गराउनुका साथै वातावरणीय सफाइमा पनि महत्वपूर्ण योगदान दिइरहेको बताएको छ। विज्ञप्तिमा यो व्यवसायमा निम्न आय भएका व्यक्तिहरू विशेषगरी मधेशी समुदायका नागरिकहरूको संलग्नता रहेको र वर्षौंदेखि कानुनी रूपमा सञ्चालन हुँदै आएको उल्लेख छ। यसले काठमाडौँ उपत्यकामा लाखौँलाई रोजगार प्रदान गरिरहेको पनि भनिएको छ।

भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो

0

नयाँ दिल्ली: महाराष्ट्रको जलगाउँ जिल्लामा भएको दुःखद रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ। भुसावल रेलवे डिभिजनका जनसम्पर्क अधिकृतले बीबीसी मराठीलाई यस घटनाको पुष्टि गरेका हुन्।

दुर्घटना लखनऊबाट मुम्बई जाँदै गरेको रेलमा भएको हो। रेल जलगाउँ जिल्लाको रेलवे ट्र्याकमा रहेको बेला आगो लागेको आशंका भएपछि यात्रुहरू आतिँदै ट्र्याकको अर्को पट्टि हामफाल्न पुगे। दुर्भाग्यवश, त्यही ट्र्याक हुँदै आइरहेको कर्नाटक एक्सप्रेसले केही यात्रुहरूलाई ठक्कर दिएको जनाइएको छ।

दुर्घटनामा ११ जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन्। घाइतेहरूको उपचार पाचोरा ग्रामीण अस्पतालमा भइरहेको छ। घटनामा कर्नाटक एक्सप्रेस मनमाडबाट भुसावलतर्फ गइरहेको बेला संलग्न भएको बताइएको छ।

मुख्यमन्त्रीको प्रतिक्रिया
महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति सहानुभूति प्रकट गरेका छन्। उनले घटनास्थलमा तत्काल आठवटा एम्बुलेन्स पठाइएको र घाइतेहरूको उपचारका लागि नजिकका निजी अस्पतालहरूलाई पनि सतर्क राखिएको जानकारी दिएका छन्। साथै, दुर्घटनाको पूर्ण अनुसन्धान गर्न निर्देशन दिएको र पीडितहरूको सहयोगमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन्।

उद्दार कार्य जारी
रेल्वे विभागले घटनास्थलमा उद्धार कार्य तीव्र बनाएको छ। मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने विषयमा पनि रेलवे प्रशासनले तयारी गरिरहेको छ। दुर्घटनाको कारणबारे विस्तृत छानबिन भइरहेको छ।

सुरक्षा प्रबन्धमा प्रश्न
यस घटनाले रेलवे सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ। यात्रु सुरक्षालाई अझ प्राथमिकतामा राख्नुपर्ने आवाज बलियो हुँदै गएको छ। आगामी दिनमा यस्ता दुर्घटनाबाट जोगिन रेलवे व्यवस्थापनले आपत्कालीन अवस्थाका लागि विशेष योजना बनाउने अपेक्षा गरिएको छ।

इजरायलका सेना प्रमुखले गरे राजीनामाको घोषणा

0

काठमाडौं: इजरायली रक्षा बलका प्रमुख हर्जी हेलेवीले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् । द जेरुसेलम पोस्टका अनुसार हार्जी हेलेवीले मार्चमा राजीनामा दिनेछन्।

हर्जी हेलेवीले एक विज्ञप्तिमा भने अनुसार अक्टोबर ७ को आइडीएफको असफलताको जिम्मेवारी लिँदै उनले आफ्नो निर्णय बारे रक्षा मन्त्रालयलाई जानकारी गराएका छन् ।

उनले भने, ‘आइडीएफले महत्वपूर्ण सफलता हासिल गरेको र बन्धकहरुलाई रिहा गर्ने सम्झौता कार्यान्वयन गर्ने प्रक्रिया चलिरहेको अवस्थामा मार्च ६, २०२५ सम्म आफ्नो जिम्मेवारीबाट मुक्त हुन अनुरोध गरेको छु ।’

यसैबीच, आइडीएफले वेस्ट बैंकको कब्जामा रहेको प्यालेस्टिनी क्षेत्रको जेनिन शरणार्थी शिविरमा ठूलो सैन्य कारबाही गरेको छ, जसमा ८ प्यालेस्टाइनीको मृत्यु भएको छ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भनेका छन्, ‘सेना, पुलिस र शिन बेट सुरक्षा बलले जेनिनमा आतंकवादलाई परास्त गर्न व्यापक र महत्त्वपूर्ण अपरेशन सुरु गरेको छ। यस क्षेत्रलाई प्यालेस्टिनी सशस्त्र समूहहरूको गढ मानिन्छ।

गाजामा हमास र इजरायलबीच गत बिहीबार युद्धविराम सुरु भएको थियो र इजरायलले तीन इजरायली बन्धकको बदलामा ९० प्यालेस्टाइनी बन्दीहरूलाई रिहा गरेको छ। बन्दी आदानप्रदान आगामी जनवरी २५ मा हुने सम्भावना छ ।

AI मा ५०० अर्ब डलर लगानी गर्ने डोनाल्ड ट्रम्पको घोषणा

0

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्सको प्रवर्द्धनलाई लिएर ठूलो घोषणा गरेका छन् ।

ट्रम्पले यसका लागि ५०० अर्ब डलर लगानी गर्ने र एक लाख नयाँ रोजगारी पनि सिर्जना गर्ने बताएका छन् ।

यो लगानी टेक्नोलोजी क्षेत्रका ठूला कम्पनी ओरेकल, ओपन एआई र सफ्ट बैंकले आगामी पाँच वर्षभित्र गर्नेछन् ।

ट्रम्पले यसका लागि नयाँ अमेरिकी एआई कम्पनी ‘स्टारगेट’ बनाउने घोषणा गरेका छन् ।

ओरेकलका वरिष्ठ अधिकारी एलिसनले यसका लागि टेक्सासमा डाटा सेन्टर निर्माण गर्ने काम भइरहेकाले १० वटा भवन निर्माणाधीन रहेको र यसलाई २० सम्म विस्तार गरिने बताएका छन् ।

यससँगै ओपन एआई कम्पनीका प्रमुख ओल्टम्यानले दाबी गरे, “यो यस युगको सबैभन्दा महत्त्वपूर्ण परियोजना हो र यो ट्रम्प बिना हुन सक्दैन।”

सफ्टबैंक कम्पनीका मासायोशी सोनले ट्रम्पको भनाइको प्रतिध्वनि गर्दै भने, “यो अमेरिकाको स्वर्ण युगको सुरुवात हो।”

सरकारलाई सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न निर्देशन

0

काठमाडौं: प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले अस्वभाविक रुपमा सिमेन्टमा मूल्यवृद्धि भएको देखिएको भन्दै बिस्तृत अध्ययन गरि तत्काल मूल्यवृद्धि नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो।

कुनै पनि वस्तु वा सेवाको मूल्य निर्धारण गर्न तथा नियमित रुपमा परिक्षण गर्न मूल्य निर्धारण सम्बन्धी प्रविधिको बिकास गर्दै प्रयोगमा ल्याउन उद्योग मन्त्रालय र सम्बन्धीत निकायलाई समिति निर्देशन दिएको छ।

बैठकले सिमेन्ट उद्योगमा लोडसेडिङ भएको जानकारी आएकाले सो विषयमा ऊर्जा मन्त्रालयसँग जानकारी माग गर्ने निर्णय गरिएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अघोषित लोडसेडिङ्का कारण उत्पादनमा ह्रास आएकाले केहि मूल्यवृद्धि भएको हुनसक्ने बताए। उनले सिमेन्ट उत्पादक र निर्माण व्यवसायीसँग समन्वय गरेर यससम्बन्धी समस्याको समधान गर्ने बताए। विभिन्न कम्पनीले उत्पादन गरेका सिमेन्टको मूल्य फरक फरक देखिएकाले एउटै मूल्य निर्धारण गर्ने गरि अघि बढ्ने उनले बताए।

त्यस्तै बैठकमा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले राज्यको मिलोमतोमा सिमेन्टको मूल्यवृद्धि भएको आरोप लगाए। सिमेन्टको मूल्यवृद्धिमा तत्काल पुर्नमूल्याङ्कन हुन नसके आयोजनाको लागत बढ्ने उनले बताए।

समिति सदस्यले समेन्टको मूल्यवृद्धिको कारणबारे अध्ययन गरी यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए।