Wednesday, June 24, 2026
Home Blog Page 565

बर्दिबासमा मोतियाविन्दु शल्यक्रिया शिविर: मुसहर समुदायमा ज्योतिको किरण

0

महोत्तरी: बर्दिबास–१० खयरमारा मुसहरीटोलकी ६५ वर्षीया दुलारी सदा मुसहरले मोतियाविन्दु शल्यक्रियापछि उत्साहित हुँदै भनिन्, “फेउर स जिनगीमे इजोत आयल (फेरि जीवनमा उज्यालो फक्र्यो)।” दुलारीले पछिल्ला १० वर्षदेखि आँखा टालिएको समस्याबाट मुक्ति पाएपछि आफ्नो खुसी व्यक्त गरिन्।

उहाँको देब्रे आँखाको शल्यक्रिया सम्पन्न भएको र केही समयपछि दाहिने आँखाको पनि शल्यक्रिया गरिनुपर्ने चिकित्सकको सुझाव रहेको छ। “अब पट्टी हटेपछि कालो चश्मा लगाउन पाउने रे,” उहाँले खुसी हुँदै बताउनुभयो।

दुलारीजस्तै ७० वर्षीय रामचन्दर सदा पनि आँखाको ज्योति फर्कने आशामा दङ्ग हुनुहुन्छ। उहाँले भने, “गरिबले यस्तो अवसर पाउनु भगवान भेटेजत्तिकै हो। हामीलाई यो सुविधा दिनुभएकोलाई भगवान्ले हेरुन्।”

विपन्न समुदायलाई निःशुल्क उपचार
मधेसमा स्वास्थ्य, शिक्षा र आर्थिक अवसरबाट पछाडि परेको अति सीमान्तकृत मुसहर समुदायका दुलारी र रामचन्दरजस्ता विपन्न व्यक्तिहरूको आँखाको समस्या समाधान गर्न बर्दिबास आँखा अस्पतालको पहलमा इम्प्रुभिङ्ग लाइभ्स इन नेपाल संस्थाले आर्थिक सहयोग जुटाएको हो।

शिविरमा सोमबार र मंगलबार गरी १०० जनाको मोतियाविन्दुको शल्यक्रिया सम्पन्न भएको थियो। अस्पतालका समन्वयकर्ता मकुन्दप्रसाद पौडेलका अनुसार यो शिविरले अत्यन्त गरिब वस्तीका बिरामीहरूलाई निःशुल्क शल्यक्रिया गर्न सहयोग गरेको छ।

शिविरको सफल समापन
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. अर्जुन श्रेष्ठको नेतृत्वमा सात सदस्यीय चिकित्सक टोलीले शल्यक्रिया गरेको थियो। १०० बिरामीमध्ये ५५ पुरुष र ४५ महिला थिए। अधिकांश बिरामीको दोस्रो आँखाको पनि शल्यक्रिया गरिनुपर्ने सुझाव चिकित्सकले दिएका छन्।

बर्दिबास मुख्यचोकबाट ४० किलोमिटर दूरीमा रहेको खयरमारा र वरपरका चुरेकाछका बस्तीहरूका विपन्न समुदायका सदस्यहरूले यो सुविधा पाएका थिए।

बर्दिबास–१० की जानकी यादवले भनिन्, “हामी नगरकै भए पनि बिरामी पर्दा ४० किलोमिटर छिचोलेर बर्दिबास चोक पुग्नुपर्छ। धन्न डाक्टरबाबुले हाम्रो सम्झना गरेछन्।”

शिविरका लागि वस्ती चयन, आँखा जाँच र शल्यक्रिया गरी तीन चरणमा कार्यक्रम सञ्चालन गरिएको थियो। पाँच लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको संस्थाले विपन्न समुदायको ज्योति फिर्ता ल्याउन महत्वपूर्ण योगदान पुर्‍याएको समन्वयकर्ता पौडेलले जानकारी दिनुभयो।

सहिदप्रतिको सच्चा श्रद्धाञ्जली विकास र समृद्धिको लक्ष्य पूरा गर्नु हो: राष्ट्रपति पौडेल

0

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ। सहिद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सहिदहरूको बलिदानले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको माध्यमबाट दिगो शान्ति, सुशासन र समृद्धि हासिल गर्नु नै उनीहरूप्रतिको सम्मान हुने उल्लेख गर्नुभएको हो।

“सहिद दिवसको अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो जीवन बलिदान गर्नुभएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,” उहाँले भन्नुभएको छ।

राष्ट्रपति पौडेलले वीर सहिदहरूको बलिदानलाई उच्च मूल्याङ्कन गर्दै सहिदहरूको सपना पूरा गर्न सबैले इमान्दारीका साथ आफ्नो भूमिका निर्वाह गर्न प्रेरणा दिनुपर्ने बताउनुभयो।

सहिद दिवस सहिदहरूको बलिदानलाई विशेष सम्झना गर्ने दिन भएको उल्लेख गर्दै उहाँले प्रजातान्त्रिक क्रान्ति, पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्धको आन्दोलनमा जीवन अर्पण गर्ने वीर वीरङ्गानाहरूको योगदान नेपाली जनताले सदैव स्मरण गर्ने बताउनुभयो।

“यस दिवसले सम्पूर्ण राजनीतिक दल, आम नागरिक र सरोकारवालालाई सहिदहरूको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन प्रेरणा दिन सकोस्,” राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ।

आज सहिद दिवस: सहिदको सम्झनामा विविध कार्यक्रम गरी देशभर सहिद दिवस मनाइँदै

0

काठमाडौं: प्रजातन्त्र स्थापना, पुनःस्थापना तथा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदहरूको सम्मानमा देशभर विविध कार्यक्रम गरी आज सहिद दिवस मनाइँदैछ। विसं २००७ देखि हरेक वर्ष माघ १६ गते यो दिवस मनाइँदै आएको हो।

माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह घोषणा गरी विभिन्न कार्यक्रमहरू गरिँदै आएको छ। तत्कालीन काठमाडौं नगरपालिकाको संयोजनमा विसं २०१२ देखि माघ १६ लाई सहिद दिवसका रूपमा मनाउन थालिएको हो।

विसं १९९७ मा शुक्रराज शास्त्रीलाई टेकुको पचलीमा माघ १० गते, धर्मभक्त माथेमालाई सिफलमा माघ १३ गते, र गङ्गालाल श्रेष्ठ तथा दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकद्वारा मृत्युदण्ड दिइएको थियो।

आजको दिवसका अवसरमा बिहान शान्तिवाटिकादेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरि आयोजना गरिएको छ। प्रधानमन्त्री, मन्त्री, सुरक्षा निकायका अधिकारीहरू तथा जनप्रतिनिधिहरूको सहभागितामा प्रभातफेरि गरी ज्ञात–अज्ञात सहिदलाई श्रद्धाञ्जली अर्पण गरिनेछ।

गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय सहिद स्मारकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रमको तयारी गरिएको छ। उक्त कार्यक्रम सहिद तथा शान्ति पार्क यज्ञडोल व्यवस्थापन समितिको आयोजनामा हुनेछ।

सहिद गेट र लैनचौर सहिद स्मारकमा विशेष कार्यक्रम हुँदै आएको भए पनि पछिल्लो समय नारायणहिटी दरबार संग्रहालय परिसरमा गणतन्त्र स्मारक निर्माण गरी सहिदप्रति श्रद्धाञ्जली दिने स्थल बनाइएको छ।

स्वास्थ्य मन्त्रालयको कडा चेतावनी: अवैध भिटामिन र खनिज बिक्रीमा कडा कारबाही

0

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य नियामक निकायमा दर्ता नभएका भिटामिन तथा खनिजजन्य पदार्थहरू बिक्री–वितरण भए कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्ता गैरकानुनी कार्य नगर्न सचेत गराएको हो।

जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५(२) अनुसार मानसिक तथा शारीरिक स्वास्थ्यमा असर पार्ने सामग्री वा सेवाहरूका लागि भ्रामक वा गलत सूचनासहितको विज्ञापन गर्न, उत्पादन गर्न, वा वितरण गर्न निषेध गरिएको छ। मन्त्रालयले स्वास्थ्य संस्थाहरूलाई ऐनअनुसार कार्य गर्न निर्देशन दिँदै गलत विज्ञापन गर्ने संस्थाहरूलाई कानुनी कारबाही गरिने बताएको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्य नियामक निकायमा दर्ता नभएका भिटामिन तथा खनिज मिश्रित फर्मास्युटिकल उत्पादनहरू (जस्तै ट्याबलेट, क्याप्सुल र झोलहरू) न्युट्रास्युटिकल्सको नाममा औषधि पसलबाट बिक्री–वितरण भइरहेको र विभिन्न स्वास्थ्य संस्थाहरूले अनुमति नलिई भ्रामक विज्ञापन गर्दै आएका घटना देखिएका छन्।”

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार जनगुनासो र नियमित अनुगमनलाई तीव्र पारिएको छ। “हामी वार्षिक तीन हजारभन्दा बढी फार्मेसीहरूको अनुगमन गर्छौं र यसै क्रममा करिब सयभन्दा बढी मुद्दा जिल्ला अदालतमा दर्ता गरिएको छ,” उहाँले बताउनुभयो।

प्रवक्ता बुढाथोकीले औषधिका रूपमा दर्ता नभएका उत्पादनहरू बिक्री तथा वितरण गर्न नपाइने प्रस्ट्याउँदै यस्ता उत्पादनहरू जफत र कारबाहीको प्रक्रिया निरन्तर चलिरहेको जानकारी दिनुभयो।

यदि नागरिकहरूले यस्ता अवैध क्रियाकलाप देखेमा स्वास्थ्य मन्त्रालयको ‘हेल्लो स्वास्थ्य’ कल सेन्टर (१११५) मा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सम्पर्क गर्न वा मन्त्रालयको वेबसाइट तथा इमेलमार्फत गुनासो दर्ता गराउन आग्रह गरिएको छ।

राजस्व चुहावट कसुरमा अलिम इन्टरप्राइजेजका सञ्चालकविरुद्ध मुद्दा दायर

0

लुम्बिनी: राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्जरोडस्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँविरुद्ध राजस्व चुहावट कसुरमा मुद्दा दायर गरेको छ ।

विभागले अलिम इन्टरप्राइजेजका सञ्चालक मियाँले बिनास्रोतका भन्सार चोरीपैठारी गरिएका मालवस्तुको कारोबार गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर बिलविजक जारी नगरीकनै मूल्य अभिवृद्धि कर तथा आयकर छलेर राजस्व चुहावट गरेकाले उच्च अदालत तुलसीपुर बुटवलमा मुद्दा दायर गरेको हो ।

प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन (संशोधनसहित) २०५२ को दफा ३ द्वारा निषेधित कार्य गरेका विषयमा अनुसन्धान गर्दा सोही ऐनको दफा ४ को कसुर गरेको पुष्टि हुन आएकाले प्रतिवादी मियाँबाट सोही ऐनको दफा २ (छ, १) बमोजिम बिगो रु तीन करोड ४३ लाख ३९ हजार चार सय ३३ बिगो र सोही ऐनको दफा २३ को उपदफा (१) बमोजिम बिगोको शतप्रतिशत जरिवाना मागदाबी गरिएको छ । साथै सोही ऐनको दफा २३ को उपदफा (१) (ख) बमोजिम निज प्रतिवादीलाई हदैसम्मको कैद सजाय मागदाबी अदालतमा दायर अभियोग पत्रमा गरिएको राजस्व अनुसनधान कार्यालय बुटवलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

राजस्व अनुसन्धान विभागका अनुसार प्रतिवादी मियाँले आर्थिक वर्ष २०७८/८९ मा भन्सार चोरी पैठारी गरी मालवस्तु कारोबार गर्ने गरेको सूचनाका आधारमा निजको व्यावसायिक फर्ममा राजस्व अनुसन्धान कार्यालय बुटवलको टोलीले २०७९ असार २४ र २५ गते खानतलासी गर्दा मौज्दात घटीबढी देखिएको र निजको बैंक स्टेटमेन्टमा आर्थिक वर्ष २०७८÷७९ मा फर्ममा देखाइएको कारोबारभन्दा बढी देखिएको आधारमा निजले राजस्व छली गरेको प्रमाणित भएको बताइएको राजस्व अनुसन्धान कार्यालल बुटवलले जनाएको छ ।

प्रतिवादी मियाँको राजस्व कार्यालय बुटवलले अनुसन्धानका क्रममा कारोबारका सम्बन्धमा आवश्यक सोधपुछका लागि पटकपटक सम्पर्क गर्दा पनि उपस्थित नभई फरार रहेको र इलाका प्रहरी कार्यालय बुटवलले खोजतलास गर्दा समेत फेला नपरेकाले मुद्दामा अदालतबाट म्याद जारी भई पक्राउ गर्न माग गरिएको छ ।

ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा

0

कञ्चनपुर: कञ्चनपुरका संरक्षण क्षेत्रबाहिरका ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा परेको छ। अनियन्त्रित चोरी शिकारी, अवैध व्यापार, जलवायु परिवर्तन, विषादी तथा कीटनाशकको प्रयोग, जलप्रदूषण, प्लास्टिक फोहर, सिँचाइका लागि पानीको अति प्रयोग, र ताल सुकाएर माछा मार्ने जस्ता क्रियाकलापले चरा संरक्षणमा चुनौती थपिएको छ।

नेपाल पन्छी संरक्षण संघ (बिसिएन) का चराविद् हिरुलाल डगौराका अनुसार सीमसार क्षेत्र खुम्चिँदै जाँदा चराको बासस्थानमा खलल पुगेको छ। उहाँले भने, “ताल तथा सीमसार क्षेत्र अतिक्रमण हुँदा ८६ प्रतिशत चरा जोखिममा रहेको पाइएको छ। साथै, चरा मार्न विषादीको प्रयोगले चराको अस्तित्वलाई थप खतरामा पारेको छ।”

बेलौरी नगरपालिका–६ स्थित पुरैनी तालको उदाहरण दिँदै डगौराले बताए— सन् २०१७ मा गरिएको सर्वेक्षणमा उक्त तालमा २,२०० जलपन्छी फेला परेका थिए। तर सन् २०२५ सम्म आइपुग्दा यो सङ्ख्या घटेर ७०५ मा सीमित भएको छ। चराको सङ्ख्या घट्नुको मुख्य कारण बासस्थान विनाश रहेको उनले बताए। चराले बीउ छर्न, परागसेचन गर्न, कीरा फट्याङ्ग्रा नियन्त्रण गर्न तथा परिस्थितिकीय प्रणालीमा सहयोग पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने उनले जोड दिए। साथै, चराको पर्यापर्यटन, वातावरणीय शोभा, धार्मिक तथा सांस्कृतिक महत्वसमेत रहेको उनले बताए।

चराविद् डगौराले बिषादी प्रयोग गरी चरा मार्ने तथा शिकारीलाई नियन्त्रण गर्न स्थानीय सरकार र प्रशासनिक निकायलाई सक्रिय भूमिका खेल्न आग्रह गरे। बिसिएनको सहयोगमा समुदायस्तरमा चरा संरक्षणका लागि छलफल, गोष्ठी, बैठक तथा चरा अवलोकनका कार्यक्रम सञ्चालन हुँदै आएका छन्। ती कार्यक्रममा सीमसार क्षेत्र जोगाउन विशेष जोड दिइँदै आएको छ।

कञ्चनपुर पन्छी संरक्षण समूहका अध्यक्ष सन्देश चौधरीले स्वस्थ, प्राकृतिक सीमसार क्षेत्र मानव अस्तित्वका लागि महत्वपूर्ण रहेको बताए। “सिमसारले ताजा पानी आपूर्ति गर्नुका साथै पानी भण्डारण पनि गर्दछ,” उनले भने।

एक सर्वेक्षणअनुसार आधाभन्दा बढी विश्वको मुख्य आहारा सीमसारमा उब्जाइएको उत्पादनमा निर्भर छ। विश्वका एक अर्बभन्दा बढी मानिसका लागि सीमसार क्षेत्रका माछाहरु प्रोटिनका प्राथमिक स्रोत हुन्। सीमसार क्षेत्रमा उब्जाइएको धानले वार्षिक तीन दशमलव पाँच अर्ब मानिसलाई खाना पुर्‍याउँछ। सीमसार क्षेत्रको महत्व नबुझ्दा यी क्षेत्र अतिक्रमणको चपेटामा पर्दै गएका छन्।

प्रवासी र रैथाने चराचुरुङ्गीका मुख्य बासस्थानका रूपमा सीमसार क्षेत्रलाई जोगाउन सबैको महत्वपूर्ण भूमिका रहने बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले बताए। बिसिएनसँग सहकार्य गरी नगरपालिकाभित्रका सीमसार क्षेत्र र जलपन्छी संरक्षणका लागि योजनाबद्ध कार्यक्रम सञ्चालन गर्न इच्छुक रहेको उनले बताए।

चरा संरक्षणकर्मी सुवन चौधरीले भने, “पर्याप्त खाना, सुरक्षित प्रजननस्थल र अनुकूल मौसमको खोजीमा चराहरु ताल र सीमसार क्षेत्रमा आउँछन्। तालको शोभा बढाउने चरालाई जोगाउन माछा मार्ने कार्य रोक्नुपर्छ र बिषादी प्रयोग गरी चरा मार्ने कार्यलाई निरुत्साहित गर्नुपर्छ।”

कञ्चनपुरमा ४८० प्रजातिका चराहरु पाइन्छन्। तीमध्ये संरक्षित सूचीमा रहेका सेतो गरुड, कालो गरुड, खरमजुर, सानो खरमजुर सारस र राजधनेशलगायत नौ प्रजाति पनि यहाँ पाइन्छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित पन्छी सिकार गरेमा वा घाइते बनाएमा रु १५ हजारदेखि रु ३० हजारसम्म जरिवाना वा तीन महिनादेखि नौ महिना कैद वा दुवै सजाय हुने व्यवस्था रहेको कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले जानकारी दिए। संरक्षित वन्यजन्तु मार्ने वा घाइते बनाउनेलाई रु एक लाखदेखि रु पाँच लाखसम्म जरिवाना वा एक वर्षदेखि १० वर्षसम्म कैदको प्रावधान रहेको पनि उनले बताए।

रविले दिएको पुनरावेदनमा उच्च अदालत पोखराले मगायो कैफियत प्रतिवेदन

0

पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेशविरुद्ध दायर पुनरावलोकन निवेदनमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ। न्यायाधीश मिलनकुमार राईको एकल इजलासले मंगलबार यो आदेश गरेको हो।

गत पुस २५ गते जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटी माग गरेपछि लामिछानेले उक्त आदेश त्रुटिपूर्ण रहेको भन्दै उच्च अदालतमा बदरको मागसहित निवेदन दर्ता गरेका थिए।

लामिछानेले सहकारीबाट ऋण लिन आफू उपस्थित नभएको, कुनै निवेदन नगरेको र आफ्नो खातामा रकम नगएको प्रमाणित भइसकेको दाबी गरेका छन्।

उनका अनुसार सूर्यदर्शन सहकारीको रकम जीबी राईको खातामा गएको र त्यसैबाट ७५ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको खातामा पठाइएको देखिएको छ। तर, उक्त रकम सहकारीको अपचलित रकम भएको प्रमाण नभएको दाबी गरिएको छ।

न्यायाधीश नीतिज राईको इजलासले सुनाएको धरौटी आदेश कानुनसम्मत नभएको भन्दै लामिछानेले आदेश बदर गरी मुद्दा सामान्य तारिखमा पुर्पक्ष गर्न माग गरेका छन्।

लामिछानेले गोर्खा मिडिया नेटवर्कमा ८ सय १४ वटा चेक काटेर कारोबार गरेको अभियोगलाई प्रश्न गर्दै, चेकमा हस्ताक्षर फौजदारी कसुर नभएको तर्क गरेका छन्।

उनले गोर्खा मिडिया नेटवर्कमा कुनै लगानी नगरेको र बाहिरिँदा कुनै रकम नलिएको दाबी गरेका छन्। लामिछानेले धरौटी आदेश अन्यायपूर्ण भएको भन्दै आफू निर्दोष रहेको बताए।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राईसहित फरार रहेका व्यक्तिहरूमाथि इन्टरपोलको डिफ्युजन नोटिस जारी भए पनि उनीहरू अझै फरार छन्।

यस प्रकरणमा कास्की जिल्ला अदालतले विभिन्न धरौटी रकम तोकी ७ प्रतिवादीलाई रिहा गर्न आदेश दिएको थियो।

सरकारी वकिलको कार्यालयले लामिछानेसहित ७ जना प्रतिवादीलाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालतमा निवेदन दिएको छ। लामिछानेले भने सामान्य तारिखमा पुर्पक्ष गर्न निवेदन दर्ता गरेका छन्।

सरकारी वकिलको कार्यालयको निवेदनमा पनि उच्च अदालतले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको छ।

२०८४ को चुनावपछि मात्र सरकार परिवर्तन हुन्छ : प्रधानमन्त्री ओली

0

काठमाडौं: प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ को चुनावपछि मात्रै सरकार परिवर्तन हुने स्पष्ट पारेका छन्।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले चाँडै ढल्ने हल्ला फैलाउनेहरूप्रति टिप्पणी गर्दै २०८४ को चुनावपछि मात्रै परिवर्तन सम्भव हुने स्पष्ट पारे।

उनले सहमति अनुसार एमाले आगामी १७ महिना सरकारमा रहने र त्यसपछि सत्ता कांग्रेसलाई हस्तान्तरण गर्ने जानकारी दिए। प्रधानमन्त्री ओलीले लोकतान्त्रिक अभ्यास र संवैधानिक प्रक्रियाबाहेक अराजक मार्गबाट परिवर्तन सम्भव नभएको धारणा राखे।

प्रधानमन्त्री ओलीले स्वीस बैंकमा आफू र आफ्नो श्रीमतीको नाममा पैसा राखिएको भनी प्रचार गरिएको विषयमा असन्तुष्टि व्यक्त गरे।

उनले सरकारले ल्याएका विभिन्न अध्यादेशप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भएको र देशलाई उन्नतितर्फ लैजाने प्रयासमा सरकार सक्रिय रहेको उल्लेख गरे। ओलीका अनुसार विभिन्न अध्यादेशमार्फत २९ वटा कानुनमा संशोधन गरिएको छ र छिट्टै प्रतिस्थापन विधेयक ल्याएर स्थायी कानुन बनाइनेछ।

ओलीले सांसदहरूलाई सदनमा तथ्य र तर्कका आधारमा संयमित र जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गर्दै भ्रम फैलाउनेहरूप्रति रचनात्मक तर सशक्त प्रतिवाद गर्न निर्देशन दिए।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ल्याएका अध्यादेश र कानुन संशोधनको आवश्यकता र प्रभावबारे जानकारी दिएका थिए।

बिहान खाली पेटमा चिया पिउँदा हुन सक्छ यस्तो समस्या

0

काठमाडौँ: बिहान खाली पेटमा चिया पिउने बानी धेरै मानिसको दिनचर्याको हिस्सा बनेको छ। तर, खाली पेटमा चिया पिउनु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। यो बानीले विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ।

यहाँ खाली पेटमा चिया पिउँदा हुने केही प्रमुख समस्याहरू उल्लेख गरिएका छन्:

१. एसिडिटी र ग्यासको समस्या
खाली पेटमा चिया पिउँदा पेटमा एसिडको मात्रा बढ्छ, जसले गर्दा ग्यास र एसिडिटीको समस्या हुन सक्छ। चियामा पाइने क्याफिनले पेटमा ग्यास्ट्रिक जलन निम्त्याउँछ।

२. पाचन प्रणालीमा असर
चियामा हुने ट्यानिन नामक तत्त्वले पाचन प्रणालीलाई हानि पुर्‍याउँछ। यसले पेटको भित्तालाई कमजोर बनाउँदै पाचन प्रक्रियामा अवरोध गर्न सक्छ।

३. रगतमा चिनीको असन्तुलन
खाली पेटमा चिया पिउँदा रगतमा चिनीको मात्रा अचानक घटबढ हुन सक्छ, जसले मधुमेहका बिरामीहरूलाई थप जोखिममा पार्न सक्छ।

४. हर्मोनल असन्तुलन

क्याफिनले हर्मोनल सन्तुलन बिगार्न सक्छ। महिलाहरूमा यो समस्या बढी देखिने गरेको छ। खाली पेटमा चिया पिउँदा महिनावारी सम्बन्धी समस्या र थाइराइडको जोखिम बढ्न सक्छ।

५. डिहाइड्रेसन
चियामा ड्युरेटिक गुण हुन्छ, जसले शरीरबाट पानीको मात्रा कम गर्छ। खाली पेटमा चिया पिउँदा डिहाइड्रेसन हुने खतरा रहन्छ।

६. सास गन्हाउने र दाँतको समस्या
खाली पेटमा चिया पिउँदा मुखमा एसिडको मात्रा बढ्छ, जसले सास गन्हाउने र दाँतमा प्लाक बन्ने समस्या निम्त्याउन सक्छ।

७. मानसिक स्वास्थ्यमा प्रभाव
खाली पेटमा चिया पिउँदा क्याफिनको मात्रा शरीरमा अचानक बढेर बेचैनी, अनिद्रा र मानसिक तनाव उत्पन्न हुन सक्छ।

समाधान के हो?
यदि चिया पिउने बानी छ भने, यसलाई स्वास्थ्यकर तरिकाले अपनाउन सकिन्छ:

बिहान उठ्नेबित्तिकै मनतातो पानी वा कागती पानी पिउनुहोस्।
चिया पिउँदा सँगै बिस्कुट, ड्राई फ्रुट्स, वा हल्का नास्ता सेवन गर्नुहोस्।
नियमित चियाको सट्टा हर्बल चिया वा हरियो चियालाई प्राथमिकता दिनुहोस्। यी पेटका लागि हल्का र स्वास्थ्यवर्धक हुन्छन्।
निष्कर्ष: खाली पेटमा चिया पिउनु स्वास्थ्यका लागि हानिकारक हुने भएकाले बिहानको सुरुवात स्वस्थ विकल्पबाट गर्नुपर्छ।

आँधीखोला पुल : सातवर्षमा तेस्रोपटक म्याद थप गर्दा पनि सम्पन्न भएन

0

वालिङ (स्याङ्जा): भीरकोट नगरपालिका-४ छाङछाङ्दी र ५ छत्तिवनलाई जोड्ने आँधीखोलामा निर्माणाधीन पुल सात वर्ष पुग्न लाग्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन। २०७५ असार २६ मा सम्झौता भई २०७८ वैशाख ३० सम्ममा सम्पन्न गर्नुपर्ने उक्त पुलको निर्माण तेस्रोपटक थपिएको समयावधि (२०८१ मंसिर) सकिएपछि पनि अझै पूरा भएको छैन।

सडक डिभिजन कार्यालय पोखराका इञ्जिनियर दीपक विष्टका अनुसार सम्झौता रकम रु १४ करोड २६ लाख ३७ हजार चार सय २० लागतमा तीन स्पानको १२५ मिटर लामो पुल निर्माण गरिने योजना थियो। हालसम्म किनाराका दुई स्पानको निर्माण सकिएको भए पनि बीचको स्पान र दुवैतर्फको पहुँचमार्ग निर्माण बाँकी छ।

निर्माण व्यवसायी चन्द्र थकालीले झण्डै ८० प्रतिशत काम सम्पन्न भएको दाबी गर्दै, अब दुई महिनाभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको बताए। “दुवैतर्फका स्पान बनिसकेका छन्, बीचको स्पान निर्माणका लागि कामदार परिचालन गरिसकेका छौँ,” उहाँले भन्नुभयो।

पुलसँगै खोलाको दायाँबायाँ पर्खाल निर्माण नहुँदा वर्षामा आँधीखोलाले किनाराका खेतीयोग्य जमिन कटान गरी बगरमा परिणत गरेको छ। हिउँदमा स्थानीयले बाँसको फड्के वा खोला तारेर यात्रा गर्नुपर्ने बाध्यता छ भने बर्खायाममा झोलुङ्गे पुलको घुमाउरो बाटो प्रयोग गर्नुपर्छ।

पुल निर्माण व्यवसायीले दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने योजना प्रस्तुत गरेका छन्। तर पटकपटक समय थप्दा पनि काम पूरा हुन नसक्दा स्थानीयवासी समस्यामा छन्।