काठमाडौं । नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनसम्बन्धी घटनाबारे न्यायिक जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबारदेखि आइतबारसम्म बसेको बैठकले उक्त घटनाको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग औपचारिक माग गरेको हो।
बैठकले हर्मुज क्षेत्रस्थित बन्दर अब्बास बन्दरगाहमा इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झालाई मुक्त गरी सकुशल स्वदेश फर्काउन नेपाल सरकारसँग आग्रह गर्ने निर्णय पनि गरेको छ।
साथै, मध्यपूर्व क्षेत्रमा चर्किएको द्वन्द्वप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कांग्रेसले विश्वशान्तिको आवश्यकता औंल्याएको छ। युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षाका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।
बैठकले हाल देखिएका समस्या व्यक्तिगत नभई संरचनागत, प्रणालीगत तथा परिस्थितिजन्य भएको निष्कर्ष निकालेको छ। विशेष महाधिवेशनपछि गठन भएको नयाँ नेतृत्वलाई सीमित समय (करिब ५० दिन) भित्र सबै चुनौती समाधान गर्न कठिन भएको पनि उल्लेख गरिएको छ।
त्यसैगरी, निर्वाचन परिणामबारे जिल्ला तथा निर्वाचन क्षेत्रबाट थप प्रतिवेदन पठाउन निर्देशन दिँदै प्रारम्भिक समीक्षा र स्थानीय तहबाट प्राप्त विवरणलाई एकीकृत गरी पुनः समीक्षा गर्ने निर्णय गरिएको छ। कांग्रेसले अब पार्टी गतिविधि पूर्ण रूपमा १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्ने निर्णय पनि गरेको छ।











