Thursday, May 7, 2026
Home Blog Page 53

‘तेल भिसा’का निर्माता शिवराज कार्की ठगी आरोपमा पक्राउ

0

काठमाडौँ । फिल्म ‘तेल भिसा’का निर्माता शिवराज कार्की ठगी आरोपमा पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई मंगलबार स्वयम्भू क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार अमेरिका लगिदिने भन्दै केही व्यक्तिसँग रकम उठाएको उजुरीका आधारमा कार्कीलाई पक्राउ गरिएको हो।

यसअघि पनि अमेरिका लैजाने प्रलोभनमा ठगी गरेको आरोपमा ‘तेल भिसा’का निर्माता तथा निर्देशक शङ्कर घिमिरे र उनकी श्रीमती ऋचा घिमिरेविरुद्ध ०८१ कात्तिक अन्तिममा उजुरी परेको थियो।

उक्त फिल्म ०८१ मंसिर ७ गतेदेखि प्रदर्शनमा आएको थियो। फिल्ममा अमेरिका बसोबास गर्ने नेपाली समुदायको कथा प्रस्तुत गरिएको छ।

इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाइका लागि परिवारको आग्रह

0

काठमाडौँ । इरानी सेनाको नियन्त्रणमा रहेका ३३ वर्षीय अमृत झाको सकुशल रिहाइका लागि उनका परिवारजनले सरकारसँग पहल गरिदिन आग्रह गरेका छन्।

उदयपुरको त्रियुगा नगरपालिका–११ निवासी अमृत झा इरानस्थित ब्ल्याक सी मरिन एलएलसी कम्पनीमा कार्यरत छन्। उनी पानीजहाजका चालकका रूपमा काम गर्दै आएका छन्।

अमृत दुबईबाट इरानतर्फ इन्धन लिन गएका थिए। फर्किने क्रममा इरानको बन्दर अब्बास क्षेत्रमा उनलाई इरानी सेनाले नियन्त्रणमा लिएको उनकी दिदी पूजा झाले जानकारी दिइन्।

उनका अनुसार अमृतलाई हाल स्ट्रेट अफ होरमुज नजिक इरानको सुरक्षा निकायले नियन्त्रणमा राखेको सूचना प्राप्त भएको छ। परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा दर्ता गरिएको निवेदनमा उनलाई बन्दर अब्बास कारागारमा राखिएको उल्लेख गरिएको छ।

यस विषयमा अमृतका आफन्तले सोमबार परराष्ट्रमन्त्री बलानन्द शर्मा र मन्त्रालयका सचिव अमृतबहादुर राईसँग भेट गरेका थिए।

भेटका क्रममा अमृतका भिनाजु राजेशकुमार झाले तेल ढुवानी गरेर फर्किने क्रममा इजरायल–अमेरिका आक्रमणपछिको क्षेत्रीय तनावका कारण उनलाई नियन्त्रणमा लिइएको हुनसक्ने बताए।

पक्राउ परेपछि अमृतको अवस्था र सुरक्षाबारे स्पष्ट जानकारी नआएको विषयमा परिवारले चिन्ता व्यक्त गरेको छ।

जवाफमा मन्त्री शर्माले आफू केही दिनमै पदमुक्त हुने उल्लेख गर्दै आगामी सरकारले यस विषयमा आवश्यक पहल गर्ने बताए। यद्यपि परराष्ट्र मन्त्रालयले आफ्ना नियोगमार्फत अमृतको अवस्थाबारे जानकारी लिने प्रयास जारी रहेको उनले जानकारी दिए।

सचिव राईले पनि विभिन्न माध्यमबाट अमृतको रिहाइका लागि पहल भइरहेको बताए।

अमृत झाको सुरक्षा, स्वास्थ्य तथा यथाशीघ्र रिहाइ सुनिश्चित गर्न इरान सरकारसँग कूटनीतिक पहल तत्काल थाल्न परिवारजनले माग गरेका छन्।

इलाममा तेस्रो रेडपाण्डा महोत्सव हुँदै, पर्यटन प्रवर्द्धनमा जोड

0

काठमाडौँ । इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव आयोजना हुने भएको छ। दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो।

सोमबार काठमाडौँमा आयोजित पत्रकार भेटघाटमा महोत्सव आयोजक समितिका संयोजक सनम राईले ‘रेडपाण्डा ट्रेल’ मा आधारित पदमार्ग पर्यटनलाई केन्द्रमा राखेर महोत्सव गर्न लागिएको जानकारी दिए। करिब ४० किलोमिटर लामो उक्त पदमार्गले इलामको माईपोखरी देखि जौबारी सम्मका विभिन्न पर्यटकीय स्थलहरूलाई जोड्छ।

महोत्सव सन्दकपुर गाउँपालिका–४ कालपोखरीमा आयोजना हुनेछ। यस मार्गमा रेडपाण्डासहित विभिन्न प्रजातिका चरा, वन्यजन्तु तथा जैविक विविधताको अध्ययन–अवलोकन गर्न सकिने बताइएको छ।

आयोजकका अनुसार रेडपाण्डा पदयात्रा, जङ्गल सफारी, चराहरूको अवलोकन महोत्सवका मुख्य आकर्षण रहनेछन्। साथै, यहाँ पाइने १८ प्रजातिका गुराँसको अध्ययन तथा आदिवासी जनजातिको संस्कृति अवलोकन गर्ने अवसरसमेत मिल्नेछ। यहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथा सहित ६० भन्दा बढी हिमशृङ्खलाहरू अवलोकन गर्न सकिने जनाइएको छ।

महोत्सवमार्फत आन्तरिक तथा बाह्य गरी करिब १० हजार पर्यटक भित्र्याउने लक्ष्य आयोजकले लिएको छ। सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले महोत्सवले स्थानीय प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

यसअघि २०८० चैत २७ देखि वैशाख १ गतेसम्म पहिलो तथा २०८१ चैत २० देखि २३ गतेसम्म दोस्रो रेडपाण्डा महोत्सव आयोजना गरिएको थियो। रेडपाण्डाको माध्यमबाट पूर्वी नेपालको वनजङ्गल पर्यटनलाई थप सक्रिय बनाउने लक्ष्य लिइएको छ।

इलाम पुग्न झापाको चारआलीबाट करिब ७५ किलोमिटर दूरी पार गर्नुपर्छ भने इलाम बजारबाट थप १८ किलोमिटर यात्रा गरेपछि सन्दकपुर गाउँपालिकाको रामसार क्षेत्रमा पुगिन्छ। त्यहाँ रहेको पर्यटन सूचना केन्द्रको सहयोगमा पर्यटकीय गन्तव्यहरूको भ्रमण गर्न सकिनेछ।

गण्डकीमा सडक विस्तारका नाममा पुराना घर नभत्काइने—सडक ऐन संशोधन

0

पोखरा । गण्डकी प्रदेशमा सडक विस्तारका क्रममा मापदण्डभित्र परेका पुराना घरहरू अब नभत्काइने भएका छन्। प्रदेश सरकारले सडक ऐन संशोधन गर्दै पुराना संरचनालाई संरक्षण गर्ने कानुनी व्यवस्था अघि बढाएको हो।

सोमबार बसेको गण्डकी प्रदेशसभाको बैठकमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले ‘गण्डकी प्रदेश सडक ऐन, २०८१’ को पहिलो संशोधन विधेयक प्रस्तुत गरेका हुन्। विधेयकमाथि सैद्धान्तिक छलफलपछि यसलाई विस्तृत अध्ययनका लागि संसदीय समितिमा पठाइएको छ।

गत वर्ष लागू गरिएको सडक ऐनमा प्रदेश लोकमार्ग तथा प्रादेशिक सडकको ‘राइट अफ वे’ र घर निर्माण गर्दा सडकबाट छोड्नुपर्ने दूरी (सेटब्याक) निर्धारण गरिएको थियो। तर उक्त मापदण्डले पहिलेदेखि बनेका घरहरूलाई पनि असर गर्ने देखिएपछि दमौली, भोर्लेटार र ब्यासजस्ता घना बस्तीका स्थानीयले विरोध जनाउँदै आएका थिए।

यसबीच सर्वोच्च अदालत ले नागरिकको सहमति वा उचित मुआब्जा बिना सडक विस्तार नगर्न आदेश दिएपछि प्रदेश सरकारले ऐन संशोधन गर्ने निर्णय लिएको हो।

मन्त्री केसीले “विकासका नाममा नागरिकको उठिबास हुनुहुँदैन” भन्दै नागरिकको सम्पत्ति र आवासको हक संरक्षण गर्न संशोधन ल्याइएको बताए। संशोधित विधेयकमा मूल ऐनमा दफा २४(क) थप गरिएको छ, जसअनुसार ऐन लागू हुनुअघि निर्माण भइसकेका भवन तथा स्थायी संरचनामा नयाँ सडक मापदण्ड लागू नहुनेछ। अर्थात्, अब नयाँ बन्ने घरहरूले मात्र निर्धारित मापदण्ड पालना गर्नुपर्नेछ।

यसैगरी, खारेज भइसकेका पूर्वाधार विकास निर्देशनालय र निर्देशकसम्बन्धी प्रावधानहरू ऐनबाट हटाइएको छ, जसले प्रशासनिक प्रक्रिया थप स्पष्ट र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

विधेयकमाथिको छलफलमा सहभागी सांसदहरूले संशोधनलाई सकारात्मक कदमका रूपमा स्वागत गरेका छन्। सांसद अशोककुमार श्रेष्ठले समयानुकूल निर्णय भन्दै प्रशंसा गरे भने रेशम जुग्जालीले अदालतको नजिर र जनभावनालाई सम्मान गरिएको उल्लेख गरे। राप्रपा सांसद विन्दु पौडेलले संशोधनले नागरिकलाई ठूलो राहत दिने बताइन्।

विधेयकमा थप संशोधन प्रस्ताव दर्ता गर्न सांसदहरूलाई ७२ घण्टाको समय दिइएको छ।

८ वर्षका निर्णयको समीक्षा: काठमाडौं महानगरले शिक्षा सुधारमा तीव्रता दिने

0

काठमाडौं । काठमाडौं नगर शिक्षा समितिले २०७४ सालयता गरेका निर्णयहरूको कार्यान्वयन अवस्थाको विस्तृत समीक्षा गरेको छ। समितिका अध्यक्ष तथा महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा सोमबार बसेको बैठकमा शिक्षा अधिकृत केशव ज्ञवालीले विगत आठ वर्षका प्रमुख निर्णय र तिनको कार्यान्वयन अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए।

समीक्षामा महानगरलाई साक्षर नगर घोषणा गर्ने, सार्वजनिक तथा निजी गुठीका विद्यालयहरूको विधान शिक्षा अधिकारीबाट प्रमाणित गराउने, तथा तहगत रूपमा प्रधानाध्यापक व्यवस्थापनको जिम्मेवारी शिक्षा विभागलाई दिने निर्णयहरू कार्यान्वयनको चरणमा रहेको जानकारी दिइयो। साथै, कक्षा १ सञ्चालन अनुमति नदिने र विद्यालयका परिचय पाटी नेपाली, अङ्ग्रेजी र नेपाल भाषामा अनिवार्य रूपमा लेख्न लगाउने निर्देशनसमेत महत्वपूर्ण निर्णयका रूपमा उल्लेख गरियो।

त्यस्तै, शिशु स्याहार तथा मन्टेश्वरी पूर्व–प्राथमिक तहका कक्षा सञ्चालन अनुमति र अभिलेखनको जिम्मेवारी पनि शिक्षा विभागलाई दिइएको छ, जसको कार्यान्वयन जारी रहेको जनाइएको छ।

बैठकमा दर्ता भएर सञ्चालनमा नदेखिएका १०७ विद्यालयमध्ये ४२ वटा सम्पर्कमा आएको जानकारी दिइयो। तीमध्ये ७ वटा विद्यालय सञ्चालनमा रहेको र ३५ वटा सञ्चालनको तयारीमा रहेको विभागले जनाएको छ।

बैठकमा विगत निर्णयहरूको समीक्षा गर्नुका साथै ९ वटा नयाँ प्रस्तावमाथि छलफल भएको थियो। अध्यक्ष डंगोलले विद्यालयहरूको सामाजिक नक्साङ्कन १० दिनभित्र सम्पन्न गर्न निर्देशन दिँदै शैक्षिक सत्र सुरु हुनुअघि सबै तयारी पूरा गर्न आग्रह गरिन्। साथै, विद्यालयको बेरुजु घटाउने, शिक्षकहरूको प्रविधि तथा प्राविधिक सीप विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन्।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले मापनयोग्य शैक्षिक नतिजा हासिल गर्न नवीन कार्यक्रम तर्जुमा गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रविधि–आधारित शिक्षामा जोड दिनुपर्ने बताइन्।

यस्तै, स्वास्थ्य शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले विद्यार्थी भर्ना र नियमितता दुवै पक्षलाई समान प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।

विदेशी मुद्रा दर अपडेट: डलर, पाउण्ड र फ्रयाङ्कमा वृद्धि

0

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको मूल्यमा वृद्धि देखिएको छ।

लगातार उकालो लाग्दै आएको अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा कायम गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७४ रुपैयाँ २३ पैसा तोकिएको छ।

युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ५० पैसा र बिक्रीदर २०१ रुपैयाँ ३० पैसा तथा स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ २५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ०१ पैसा कायम भएको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०५ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ २५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७८ पैसा र बिक्रीदर २१ रुपैयाँ ८६ पैसा कायम छ।

यसैगरी, साउदी रियाल एकको खरिददर ३९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४० रुपैयाँ १३ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४१ रुपैयाँ २२ पैसा तोकिएको छ।

थाई भाट एकको खरिददर ४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४ रुपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ८६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ०२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३८ रुपैयाँ २५ पैसा कायम गरिएको छ।

त्यसैगरी, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६ रुपैयाँ ०६ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २२ पैसा र बिक्रीदर २३ रुपैयाँ ३२ पैसा तोकिएको छ।

राष्ट्र बैंकका अनुसार हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा, कुवेती दिनार एकको खरिददर ४८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४९१ रुपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ०७ पैसा तथा ओमानी रियाल एकको खरिददर ३८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ३५ पैसा कायम भएको छ।

यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, सानेपामा बस्दै

0

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिनेछ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशनसहित अनुरोध गरिएको पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।

यसअघि आइतबार बसेको बैठकले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियो। आजको बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीभित्रको नेतृत्व विषयक छलफल तथा आगामी रणनीतिबारे विस्तृत विमर्श हुने अपेक्षा गरिएको छ।

लिम्पियाधुरा–कालापानी क्षेत्रमा सीमा व्यापार पुनः सञ्चालनको तयारीप्रति विद्यार्थी संगठनको आपत्ति

0

काठमाडौं । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र हुँदै भारत–चीनबीच पुनः सीमा व्यापार सञ्चालन गर्ने तयारीप्रति एक विद्यार्थी संगठनले गम्भीर आपत्ति जनाएको छ।

संगठनका अध्यक्ष विरेन्द्र शाहद्वारा जारी प्रेस वक्तव्यमा नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग प्रत्यक्ष सम्बन्ध राख्ने संवेदनशील क्षेत्रमा नेपाललाई जानकारी नै नदिई भारत र चीनबीच द्विपक्षीय सहमतिका आधारमा व्यापार सञ्चालन गर्ने तयारी हुनु नेपालको अधिकारमाथिको ठाडो हस्तक्षेप भएको उल्लेख गरिएको छ।

वक्तव्यमा भनिएको छ, “नेपालको भूमि सम्बन्धी संवेदनशील विषयमा नेपाललाई पूर्ण रूपमा बेवास्ता गरी गरिने यस्ता गतिविधि अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मूल्य–मान्यता र पारस्परिक सह–अस्तित्वको सिद्धान्त विपरीत छन्।”

संगठनले छिमेकी मुलुकहरूको उक्त कदमप्रति कडा विरोध जनाएको छ। साथै, राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताजस्ता गम्भीर विषयमा सरकार मौन बसेकोप्रति पनि असन्तुष्टि व्यक्त गरिएको छ। वक्तव्यमा सरकारको मौनतालाई “दुःखद र लज्जास्पद” भन्दै त्यसप्रति खेद प्रकट गरिएको छ।

संगठनले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा नेपालले उक्त भूभागमाथि निरन्तर आफ्नो दाबी प्रस्तुत गर्दै आएको स्मरण गराउँदै, त्यहाँ हुने कुनै पनि अतिक्रमण अस्वीकार्य हुने स्पष्ट पारेको छ।

साथै, सरकारले यस विषयमा आफ्नो आधिकारिक धारणा तत्काल सार्वजनिक गर्न, तथा नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्न ठोस कूटनीतिक पहल गर्न माग गरिएको छ। छिमेकी मुलुकहरूलाई पनि नेपालको संवेदनशील हितमा असर पर्ने कुनै पनि गतिविधि नगर्न संगठनले चेतावनी दिएको छ।

पश्चिमी वायुको प्रभाव: पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

0

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावका कारण कोशी, मधेश र लुम्बिनी प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने अन्य भूभागमा आंशिक बदली देखिएको छ।

हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी र हिमाली भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै, कोशी प्रदेशको तराईका एक–दुई स्थानमा पनि क्षणिक वर्षा हुन सक्ने जनाइएको छ।

आज राति देशका हिमाली भूभागमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराई भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा तथा अन्य पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद्हरूले विशेषगरी पहाडी र हिमाली क्षेत्रमा चट्याङ्ग तथा वर्षाबाट सतर्क रहन आग्रह गरेका छन्।

गाउँको उत्पादन, शहरको बजार—मिलाप अचार तथा मसला केन्द्र उद्घाटन

0

काठमाडौँ: काठमाडौँमा एक विशेष समारोहका बीच मिलाप अचार तथा मसला केन्द्र को समुद्घाटन गरिएको छ। सिंगापुर चेम्बर अफ कमर्सका सदस्य तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) सिंगापुरका अध्यक्ष प्रभाकर पराजुली, मिलाप कृषि उद्योग सहकारी संस्थाका संरक्षक मणि नेपाली पनेरु तथा कृषि विज्ञ राजेन्द्र देवकोटाले संयुक्त रूपमा केन्द्र उद्घाटन गरेका हुन्।

मिलाप कृषि उद्योग सहकारी संस्थाका उपाध्यक्ष अविनाश नेउपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सचिव टंकप्रसाद नेउपानेले सञ्चालन गरेका थिए। कार्यक्रममा समाजसेवी मुकुन्द ढुङ्गाना, पोषप्रसाद सापकोटा, कृषि अनुसन्धानकर्ता श्रीकृष्ण खनाल, पत्रकार अञ्जन घलेलगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले गाउँमा उत्पादित कच्चा पदार्थ प्रयोग गरी दैनिक उपभोग्य वस्तु उत्पादन गर्नु अत्यन्त सकारात्मक र दीर्घकालीन रूपमा आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फको महत्वपूर्ण कदम भएको बताए। स्थानीय उत्पादनलाई प्रशोधन गरी बजारसम्म पुर्‍याउने यस्ता पहलले किसानको आम्दानी वृद्धि गर्नुका साथै रोजगारी सिर्जनामा समेत टेवा पुर्‍याउने विश्वास व्यक्त गरियो।

गोरखाको वारपाक सुलीकोट गाउँपालिका–४ मा कार्यरत मिलाप कृषि उद्योग सहकारी संस्था विगत झण्डै तीन वर्षदेखि करिब २०० रोपनी क्षेत्रफलमा कफी, टिम्मुर, कागती तथा अदुवा जस्ता बहुवर्षीय तथा मौसमी कृषि उत्पादन गर्दै आएको छ। संस्थाले उत्पादन गरेका यिनै कृषि उपजलाई प्रशोधन गरी अचार, मसला तथा अन्य खाद्य सामग्रीका रूपमा बजारमा ल्याउने उद्देश्यले काठमाडौँमा केन्द्र स्थापना गरिएको हो।

सहकारीले आगामी दिनमा उत्पादनको दायरा विस्तार गर्दै गुणस्तरीय तथा अर्गानिक उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने लक्ष्य लिएको जनाएको छ। साथै, स्थानीय किसानलाई प्राविधिक सहयोग, तालिम तथा बजार सुनिश्चितता प्रदान गरी कृषि क्षेत्रमा दिगो विकास र आत्मनिर्भरता प्रवर्द्धन गर्ने योजनासमेत अघि सारिएको छ।