काठमाडौँ: काठमाडौँमा एक विशेष समारोहका बीच मिलाप अचार तथा मसला केन्द्र को समुद्घाटन गरिएको छ। सिंगापुर चेम्बर अफ कमर्सका सदस्य तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) सिंगापुरका अध्यक्ष प्रभाकर पराजुली, मिलाप कृषि उद्योग सहकारी संस्थाका संरक्षक मणि नेपाली पनेरु तथा कृषि विज्ञ राजेन्द्र देवकोटाले संयुक्त रूपमा केन्द्र उद्घाटन गरेका हुन्।
मिलाप कृषि उद्योग सहकारी संस्थाका उपाध्यक्ष अविनाश नेउपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सचिव टंकप्रसाद नेउपानेले सञ्चालन गरेका थिए। कार्यक्रममा समाजसेवी मुकुन्द ढुङ्गाना, पोषप्रसाद सापकोटा, कृषि अनुसन्धानकर्ता श्रीकृष्ण खनाल, पत्रकार अञ्जन घलेलगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले गाउँमा उत्पादित कच्चा पदार्थ प्रयोग गरी दैनिक उपभोग्य वस्तु उत्पादन गर्नु अत्यन्त सकारात्मक र दीर्घकालीन रूपमा आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फको महत्वपूर्ण कदम भएको बताए। स्थानीय उत्पादनलाई प्रशोधन गरी बजारसम्म पुर्याउने यस्ता पहलले किसानको आम्दानी वृद्धि गर्नुका साथै रोजगारी सिर्जनामा समेत टेवा पुर्याउने विश्वास व्यक्त गरियो।
गोरखाको वारपाक सुलीकोट गाउँपालिका–४ मा कार्यरत मिलाप कृषि उद्योग सहकारी संस्था विगत झण्डै तीन वर्षदेखि करिब २०० रोपनी क्षेत्रफलमा कफी, टिम्मुर, कागती तथा अदुवा जस्ता बहुवर्षीय तथा मौसमी कृषि उत्पादन गर्दै आएको छ। संस्थाले उत्पादन गरेका यिनै कृषि उपजलाई प्रशोधन गरी अचार, मसला तथा अन्य खाद्य सामग्रीका रूपमा बजारमा ल्याउने उद्देश्यले काठमाडौँमा केन्द्र स्थापना गरिएको हो।
सहकारीले आगामी दिनमा उत्पादनको दायरा विस्तार गर्दै गुणस्तरीय तथा अर्गानिक उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्य लिएको जनाएको छ। साथै, स्थानीय किसानलाई प्राविधिक सहयोग, तालिम तथा बजार सुनिश्चितता प्रदान गरी कृषि क्षेत्रमा दिगो विकास र आत्मनिर्भरता प्रवर्द्धन गर्ने योजनासमेत अघि सारिएको छ।



