Sunday, June 28, 2026
Home Blog Page 508

बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, तीनजना घाइते

0

बैतडी, २३ चैत: बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। देहिमाण्डौँबाट गिरेगडातर्फ जाँदै गरेको बिएसी ५६५९ नम्बरको बोलेरो जीप शुक्रबार राति दशरथचन्द नगरपालिका–११ को नानीगाड भन्ने स्थानमा दुर्घटना भएको हो।

दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका–५ का ५४ वर्षीय चन्चले दयालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो। दयालको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा राति नै मृत्यु भएको हो।

सोही दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका–५ का ५२ वर्षीय लालीराम कोली, जीप चालक ३५ वर्षीय राकेस कोली र दशरथचन्द नगरपालिका–१० की ३० वर्षीया कविता परियार घाइते भएका छन्। उनीहरूको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

चार जना सवार जीप अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खस्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

सङ्क्रमणकालबीन आयोगका पदाधिकारी छनौट प्रक्रियामा सुझाव दिन आग्रह

0

काठमाडौँ: बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य चयनका लागि गठित सिफारिस समितिले पदाधिकारी छनौट प्रक्रियासम्बन्धी मस्यौदामाथि राय सुझाव दिन सार्वजनिक आह्वान गरेको छ।

समितिको आज बसेको बैठकले सन् २०८१ को छनौट प्रक्रिया मस्यौदामा सार्वजनिक सुझाव संकलन गर्ने निर्णय गरेको प्रवक्ता डा. लीली थापाले जानकारी दिनुभयो। उहाँका अनुसार, राय सुझाव पठाउन नागरिक, सरोकारवाला र सरोकारयुक्त निकायलाई आग्रह गरिएको छ।

समितिले तयार पारेको मस्यौदा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग तथा सत्य निरूपण तथा मेलमिलाप आयोगको वेबसाइटमा साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सूचना पाटीमा समेत उपलब्ध गराइएको छ। मस्यौदामाथि सुझाव पठाउने अन्तिम म्याद चैत २६ गतेसम्म रहेको छ।

रास्वपा कार्यवहाक सभापतिको जिम्मेवारी अर्याललाई

0

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ। शुक्रबार साँझ पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशमा पक्राउ गरेपछि बसेको केन्द्रीय सचिवालयको बैठकले उक्त निर्णय गरेको हो।

बैठकले अदालतको निर्णयप्रति सम्मान प्रकट गर्दै संविधान, कानुन र न्याय प्रणालीमा विश्वास राखी आवश्यक कानुनी प्रक्रियामार्फत न्यायका लागि अगाडि बढ्ने निर्णयसमेत गरेको छ।

त्यसैगरी, आज चैत २३ गते शनिबार अपराह्न २ बजे चितवनको भरतपुरमा आयोजना हुने पार्टीको सार्वजनिक कार्यक्रम शान्तिपूर्ण र मर्यादित ढंगले सम्पन्न होस् भन्ने उद्देश्यले बैठकले संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न सबैलाई निर्देशन दिएको छ।

कोठा भाडा तिर्न नसकेपछि मासिक ९०० रूपैयाँमा बाथरूम भाडामा लिएर बस्छिन् युवती

0
AI साङ्केतिक तस्बिर

काठमाडौं: आर्थिक बाध्यताका कारण चीनमा एक युवती आफ्नो कार्यस्थलको बाथरूममा बस्दै आएकी छन्। १८ वर्षीया याङ (नाम परिवर्तन) एक फर्निचर पसलमा काम गर्छिन् र त्यही पसलको बाथरूम मासिक ५० युआन (झण्डै ९०० रुपैयाँ) तिरेर भाडामा लिएकी हुन्। उनले बिजुली र पानीको बिल मात्र तिर्नुपर्छ।

पहिले उनी आफ्नो हाकिमको घरमा बस्थिन्, तर ढोका नभएकोले सुत्न असहज भएपछि बाथरूम रोजेकी हुन्। याङले मासिक करिब २७०० युआन कमाउँछिन् र अधिकांश पैसा बचत गर्छिन्।

उनले आफ्नो बाथरूम जीवनका गतिविधिहरू चिनियाँ सामाजिक सञ्जाल डुयिनमा पोस्ट गर्छिन्, जहाँ उनका करिब १६ हजार फलोअर्स छन्। उनी बाथरूममै खाना पकाउने, खाने र सुत्ने गर्छिन्। सधैं सफा राखेर गन्ध नआओस् भन्नेमा सतर्क रहन्छिन्।

पसल सञ्चालनमा हुँदा ग्राहक तथा कर्मचारीलाई शौचालय प्रयोग गर्न मिलोस् भनेर याङ आफ्ना सबै सामान प्याक गरेर राख्छिन्। उनले भनिन्, “मलाई थाहा छ, बाथरूममा मेरा व्यक्तिगत सामानहरू देख्दा केही ग्राहकलाई असहज लाग्न सक्छ, तर उनीहरूले अहिलेसम्म केही भनेका छैनन्।”

याङको सपना छ— भविष्यमा पर्याप्त पैसा बचत गरेर घर वा कार किन्नु।

आइफोन झनै महँगो हुने

0

काठमाडौं । संसारमै सबैभन्दा सस्तो आइफोन पाइने देशका रूपमा चिनिएको अमेरिका अब यो सूचीबाट हट्न सक्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा हालै घोषणा गरिएको नयाँ कर संरचनाले आइफोनको मूल्यमा भारी वृद्धि हुने संकेत देखिएको छ।

ट्रम्पले चीन, भियतनाम र भारतबाट आयात हुने सामानमा कर वृद्धि गरेसँगै आइफोन पनि महँगिने भएको हो। चीन एप्पलको मुख्य उत्पादन केन्द्र हो, र त्यहाँ निर्मित आइफोन अमेरिका ल्याउँदा अब थप कर लाग्नेछ।

रोजेनब्लाट सेक्युरिटीजका अनुसार, अमेरिकामा आइफोनको शीर्ष भेरियन्टको मूल्य अब २३०० डलर (झन्डै ३ लाख १३ हजार रुपैयाँ) सम्म पुग्न सक्छ। हाल १ टिबी क्षमताको आइफोन १६ प्रो म्याक्स १५९९ डलरमा उपलब्ध छ।

अमेरिकाले भारतबाट आयात हुने वस्तुमा पनि २७ प्रतिशत कर लगाएको छ। यस्तो अवस्थामा, भारतमा उत्पादन गरिएका आइफोनको मूल्यमा समेत असर पर्न सक्नेछ।

पहिले नै चीनमाथि २० प्रतिशत कर लगाइसकेको अमेरिका अब थप ३४ प्रतिशत कर लगाउने तयारीमा रहेको छ। यस निर्णयको प्रत्यक्ष प्रभाव एप्पलको शेयर मूल्यमा पनि परेको छ, जुन कर घोषणा भएदेखि ९ प्रतिशतभन्दा बढीले घटेको बताइएको छ।

रवि लामिछानेलाई थुनामा पठाउने आदेश

0
file photo

काठमाडौँ: रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो।

जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै अदालतले शुक्रबार थुनामा पठाउने निर्णय गरेको हो।

“नेपालका प्रधानमन्त्रीसँगको भेट फलदायी”- मोदी

0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैंककमा भेटवार्ता भएको छ।

बिम्स्टेकको छैटौँ शिखर सम्मेलन सम्पन्न भएपछि उनीहरूबीच द्विपक्षीय वार्ता भएको हो।

भेटपछि भारतीय प्रधानमन्त्री मोदीले बैठक फलदायी रहेको बताउँदै नेपाल-भारत सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको उल्लेख गरे।

‘हामीले ऊर्जा, कनेक्टिभिटी, संस्कृति, डिजिटल प्रविधिजस्ता विषयमा छलफल गर्यौं। साथै, विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रमा बिम्स्टेक शिखर सम्मेलनले ल्याएका सकारात्मक उपलब्धिहरूबारे पनि कुराकानी गर्‍यौं,’ मोदीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्।

थाइल्याण्डको औपचारिक भ्रमण ऐतिहासिक, शिखर सम्मेलन सफल: प्रधानमन्त्री ओली

0
प्रम ओली -सम्बोधन बैङ्कक, २१ चैतः थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार थाइल्याण्डको एसियन इस्न्टिच्युट अफ टेक्नोलोजी (आएटी) मा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

बैंकक: प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको आफ्नो पहिलो औपचारिक भ्रमण ऐतिहासिक रहेको बताउँदै बिम्स्टेकको छैटौँ शिखर सम्मेलन सफल भएको उल्लेख गरेका छन्।

बैंककमा रहेका प्रधानमन्त्री ओलीले स्वदेश फर्कनु एक दिनअघि, प्रिदीबानोमयाङस्थित नेपाली राजदूतावासको अवलोकन गर्दै भ्रमण फलदायी भएको बताए।

नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६६ वर्षमा नेपालका प्रधानमन्त्रीले गरेको यो पहिलो भ्रमण हो। ओलीले द्विपक्षीय भेटवार्ताले दुई मुलुकबीचको सम्बन्ध थप मजबुत बनाएको बताए।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पेथोङथान शिनावात्रालाई नेपालको औपचारिक भ्रमणको निमन्त्रणा दिए। साथै, संस्कृति, पर्यटनसहित आठ विषयमा सम्झौतामा हस्ताक्षर भएको जानकारी गराए।

प्रधानमन्त्री ओलीले आफ्नै जग्गामा नेपाली राजदूतावास सञ्चालन भएकामा खुसी व्यक्त गर्दै थप पूर्वाधार विकास आवश्यक रहेको औँल्याए। भ्रमण दलका सदस्यहरूले पनि दूतावास अवलोकन गरे।

थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले दूतावासको नयाँ भवन निर्माण आवश्यक रहेको र थप जग्गा विस्तार गर्नुपर्ने जानकारी गराएका थिए।

आज साँझ दूतावासले प्रधानमन्त्री ओलीको सम्मानमा स्वागत समारोह आयोजना गर्‍यो, जहाँ भ्रमण दलका सदस्यहरू तथा नेपाली समुदायका प्रतिनिधिहरू सहभागी भए।

शिखर सम्मेलनले व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई प्राथमिकता दिँदै **”बिम्स्टेक बैंकक भिजन”**सहित छबुँदे प्रस्ताव पारित गरेको थियो।

पत्रकार सम्मेलन गरी कुलमानले भने- “बक्यौता उठाएकैले मलाई पदबाट हटाइयो”–

0

काठमाडौं: नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् महसुल बक्यौता उठाएकै कारण आफूलाई सरकारले पदबाट हटाएको स्पष्टीकरण दिएका छन्।

शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले आफूले विद्युत् महसुल बक्यौता अदालतको आदेशअनुसार उठाएको तर सरकारले बक्यौता उठाएकै कारण आफूलाई हटाएको बताएका हुन्। उनले आफूले बक्यौता नउठाउन आएका दबाब र प्रभाव अस्वीकार गरेको पनि बताए।

‘बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छ,’ घिसिङले पत्रकार सम्मेलनमा भने, ‘सार्वजनिक संस्थाको बक्यौता उठाउन खोज्ने मेरो प्रयास राज्यविरुद्धको अपराध हो ? यसको जवाफ इतिहास र नेपाली जनताले अवश्य माग्नेछ।’

उनले संस्था र राष्ट्रप्रति घात गर्न नसकेको भन्दै कानुनअनुसार नै काम गर्दा समेत दबाब र प्रभाव थेग्नुपरेको बताए।

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

0

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छन्। अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, र विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने तय भएको हो।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा काठमाडौँको तीनकुनेमा यही चैत १५ गते भएको घटनाका सम्बन्धमा गृहमन्त्री रमेश लेखकसँग छलफल हुने कार्यसूची रहेको छ।

अर्थ समितिको बैठक पनि बिहान ११ बजे बस्दै छ। बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल हुने कार्यसूची रहेको छ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सुरु हुनेछ। बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यक्रम रहेको छ।