Monday, June 29, 2026
Home Blog Page 499

सोनिया र राहुल गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

0

नयाँदिल्ली: प्रवर्तन निदेशालय (ईडी)ले कांग्रेससँग सम्बन्धित नेशनल हेराल्ड प्रकरणमा मनी लान्ड्रिङसम्बन्धी मुद्दामा पहिलो आरोपपत्र दायर गरेको छ। मंगलबार दायर गरिएको आरोपपत्रमा सोनिया गान्धी, राहुल गान्धी, साम पित्रोदा र सुमन दुबेको नाम समावेश गरिएको छ।

यो मुद्दाको सुनुवाइ आगामी अप्रिल २५ मा दिल्लीको राउज एभिन्यु अदालतमा हुने छ। अदालतले ईडीसँग मुद्दासम्बन्धी केस डायरी पनि माग गरेको छ।

उक्त प्रकरण सन् २०१२ मा बीजेपी नेता सुब्रमण्यम स्वामीले सोनिया गान्धी, राहुल गान्धी तथा उनीहरूसँग सम्बन्धित कम्पनी र व्यक्तिहरूविरुद्ध उजुरी दिएपछि सार्वजनिक भएको थियो।

ईडीले हालै मनी लान्ड्रिङ अनुसन्धानको क्रममा २०२५ अप्रिल १२ मा दिल्ली, लखनउ र मुम्बईस्थित ६६१ करोड रुपैयाँ बराबरको अचल सम्पत्ति जफत गर्ने प्रक्रिया अघि बढाएको हो।

यसैबीच, मंगलबार नै सांसद प्रियंका गान्धीका पति रोबर्ट वाड्रा ईडीको कार्यालयमा उपस्थित भएका थिए। उनलाई गुरुग्रामको शिकोहपुरमा भएको भनिएको जग्गा घोटालासम्बन्धी सोधपुछ गरिएको थियो।

यस विषयमा कांग्रेस नेताहरूले तीव्र प्रतिक्रिया जनाएका छन्। नेता जयराम रमेशले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “यो प्रधानमन्त्री र गृहमन्त्रीद्वारा चलाइएको बदला लिनेस्वरूपको राजनीति हो।”

उनले थप लेखेका छन्, “नेशनल हेराल्डको सम्पत्ति जफत गर्नु राज्य प्रायोजित अपराध हो, जसलाई कानुनी आवरणमा प्रस्तुत गरिएको छ। सोनिया गान्धी, राहुल गान्धी र अन्य विरुद्ध आरोपपत्र दायर गर्नु प्रतिशोध र धम्कीको राजनीतिबाहेक अरू केही होइन। तर कांग्रेस चुप लाग्ने छैन। सत्यको जीत हुनेछ – सत्यमेव जयते।”

पाकिस्तानको बलुचिस्तानमा विस्फोट, तीन जना प्रहरीको मृत्यु

0

इस्लामाबाद: पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको बम विस्फोटमा तीन जना प्रहरीको ज्यान गएको छ भने १६ जना घाइते भएका छन्।

सरकारी प्रवक्ता शाहिद रिन्दका अनुसार विस्फोट मस्तुङ जिल्लाको कुन्द मसुरी क्षेत्रमा भएको हो। तालिम केन्द्रबाट फर्किंदै गरेका प्रहरीहरू चढेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको जनाइएको छ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। सबै घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ। प्रहरी टोली बलुचिस्तान नेशनल पार्टी–मेङ्गल (बीएनपी–एम)ले आयोजना गरेको धर्नाको सुरक्षामा खटिएको थियो।

विस्फोटपछि बोलन मेडिकल कलेज अस्पताल र क्वेटा सिभिल अस्पतालमा आपतकालीन सेवा सक्रिय पारिएको छ। घटनाबारे सरकारले छानबिन सुरु गरिसकेको छ र विस्तृत प्रतिवेदन मागिएको छ।

बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुग्टीले घटनाको तीव्र निन्दा गर्दै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन्। साथै, प्रान्तीय स्वास्थ्य मन्त्रीलाई उपचार कार्यको निगरानी गर्न आग्रह गरिएको छ।

हालसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो तर कम जनसंख्या भएको प्रान्त हो, जहाँ विगत केही वर्षदेखि सुरक्षाकर्मीहरूलाई लक्षित गरी हिंसात्मक गतिविधि भइरहेका छन्। यस्ता घटनाहरू पृथकतावादी समूहहरूसँग सम्बन्धित हुने गरेका छन्।

गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

0

काठमाडौं: नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा उमेर सीमा हटाउँदै गरिएको मापदण्ड संशोधन तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले संशोधित मापदण्ड तत्कालका लागि कार्यान्वयन रोक्न आदेश दिएको हो। अदालतले यस विषयमा विस्तृत छलफल गर्न दुवै पक्षलाई आगामी साता उपस्थित हुन पनि बोलाएको छ।

सरकारले हालै ‘अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड, २०७३’ संशोधन गर्दै गभर्नर लगायतका पदाधिकारी नियुक्तिमा रहेको उमेर सीमा हटाएको थियो। सो संशोधनविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो।

त्रिविको उपकुलपतिको जिम्मेवारी डा केसीलाई

0

काठमाडौं: प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले रिक्त उपकुलपति पदका लागि शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीलाई अधिकतम तीन महिनाका लागि कार्यवाहक उपकुलपतिका रूपमा जिम्मेवारी दिएका छन्।

त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम उपकुलपति पदपूर्ति नभएसम्मका लागि उक्त जिम्मेवारी दिइएको हो। प्रधानमन्त्री ओलीको गत चैत ३१ गतेको निर्णयअनुसार केसीले कार्यवाहक उपकुलपतिका रूपमा जिम्मेवारी सम्हाल्ने भएका हुन्।

यसअघि उपकुलपति प्रा. डा. केशरजंग बरालले दिएको राजीनामा चैत २८ गते स्वीकृत गरिएको थियो।

दुर्गा प्रसाईंमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान सुरु

0

काठमाडौं: काठमाडौंको तीनकुनेमा प्रहरीमाथि गाडी चलाउन खोजिएको घटनामा व्यवसायी दुर्गा प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाइएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा प्रसाईंले आफ्नै गाडी हुइँकाउँदै प्रहरीमाथि चलाउन खोजेका थिए। सोही घटनालाई लिएर फिल्डमा खटिएका एक प्रहरी अधिकारीले प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गतको कसुरमा निवेदन दिएका हुन्।

प्रहरीले उक्त निवेदनको आधारमा उनीविरुद्ध औपचारिक रूपमा अनुसन्धान सुरु गरिसकेको जनाएको छ।

त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजदेखि अनलाइनबाट लिन सकिने

0

काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु गरेको छ। परीक्षा नियन्त्रक पुष्पराज जोशीले एक सूचना जारी गर्दै आज (सोमबार) बिहान ११ बजेदेखि उक्त सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको जानकारी दिएका छन्।

यस प्रणालीको सुरु भएपछि अब विद्यार्थीहरूले परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर कागजी फारम भर्नुपर्ने र लामो समय लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्। जोशीका अनुसार हालका लागि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरिएको छ भने अन्य सेवाहरू पनि क्रमशः अनलाइनमार्फत उपलब्ध गराउँदै लैजाने योजना रहेको छ।

परीक्षा नियन्त्रक कार्यालयले आगामी जेठ १५ गतेदेखि सम्पूर्ण सेवा अनलाइनमार्फत सञ्चालनमा ल्याउने तयारी गरेको समेत जनाएको छ।

अमेरिकामा लेखक पशुपति घिमिरेका दुई पुस्तक सार्वजनिक

0

काठमाडौं — लेखक तथा पत्रकार पशुपति घिमिरेद्वारा लिखित दुई पुस्तक ‘Wandering Words’ र ‘Three Dimensions of Buddhism’ अमेरिकाको भर्जिनियामा आयोजित एक विशेष समारोहबीच लोकार्पण गरिएको छ।

रिचमन्ड, भर्जिनियामा सम्पन्न उक्त कार्यक्रम अमेरिकी सिनेटर स्कायलर टी. भ्यान भाल्केनबर्गको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा लेखक घिमिरेसँगै नेपाली समुदायका अध्यक्ष चन्द्र मल्ल, उपाध्यक्ष असीम राजभण्डारी, कोषाध्यक्ष रूकेश पोख्रेल, न्यूयाक क्षेत्रका प्रतिनिधि घनेन्द्र लामिछाने र समाजसेवी रोशन घिमिरेको समेत उपस्थिति थियो।

‘Wandering Words’ लेखक घिमिरेका १८ वटा यात्रा निबन्धहरूको संग्रह हो, जसले पाठकलाई एशिया, युरोप र उत्तर अमेरिकाका १० देशहरूको सांस्कृतिक र बौद्धिक यात्रामा लैजान्छ। भूगोलसँगै इतिहास, परम्परा, धर्म, भाषा, कला, साहित्य र सभ्यताको सजीव मिश्रण प्रस्तुत गर्ने यस कृतिमा देवकोटा र घिमिरेदेखि शेक्सपियर, सुकरात र सोफोक्लिससम्मका सन्दर्भहरू समावेश छन्।

साथै सार्वजनिक गरिएको अर्को कृति ‘Three Dimensions of Buddhism’ लेखकको अघिल्लो नेपाली पुस्तक ‘बुद्धवादका तीन आयाम’ को अंग्रेजी संस्करण हो। यस पुस्तकमा बौद्ध धर्मका सिद्धान्त, दर्शन, इतिहास, ध्यान विधि, बौद्ध विश्वविद्यालयहरू तथा सम्प्रदायहरूको गहिरो विश्लेषण समेटिएको छ।

पुस्तकमा चार आर्य सत्य, अष्टाङ्गिक मार्ग, प्रतीत्य समुत्पाद, समथ र विपश्यना ध्यानका विविध पाटाहरू, महायान र वज्रयान बौद्ध दर्शनका जटिल आयामहरू तथा पाली त्रिपिटक र महायान साहित्यको समालोचनात्मक अध्ययन प्रस्तुत गरिएको छ। साथै, बौद्ध इतिहासअन्तर्गत विभिन्न बौद्ध सम्मेलनहरू र एसियाली मुलुकहरूमा धर्म प्रसारसम्बन्धी महत्वपूर्ण विवरणहरू समावेश छन्।

कार्यक्रममा प्रमुख अतिथि सिनेटर भाल्केनबर्गले यस्ता विचारोत्तेजक कृतिहरू लेखेकामा लेखक घिमिरेलाई धन्यवाद ज्ञापन गर्दै नेपाली समुदायप्रति उच्च सम्मान व्यक्त गरे। उनले रिचमन्डस्थित नेपाली समुदायलाई भर्जिनिया राज्य सरकारको तर्फबाट कदरपत्रसमेत प्रदान गरे।

एनआरएनए एकता महाधिवेशन : उम्मेदवारी खुला गर्ने निर्णयको अभियन्ताद्वारा स्वागत

0

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी एकता महाधिवेशनलाई लक्षित गर्दै गठित उच्चस्तरीय समितिले अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) का सबै पदहरूमा उम्मेदवारी खुला गर्ने निर्णय गरेको छ। उक्त निर्णयलाई एनआरएन अभियन्ताहरूले स्वागत गरेका छन्।

समितिका सदस्य विनोद कुँवरका अनुसार नेपाल सरकारका प्रतिनिधिसहितको उच्चस्तरीय समितिको पछिल्लो बैठकले महाधिवेशनमा सहभागी सम्पूर्ण डेलिगेट्सलाई आइसिसीका जुनसुकै पदमा उम्मेदवारी दिन सक्ने अधिकार प्रदान गर्ने निर्णय गरेको हो। अब मे ३ देखि ५ तारिखसम्म काठमाडौंमा आयोजना हुने एकता महाधिवेशनमा सहभागी हुन पञ्जीकृत प्रतिनिधिहरूले तोकिएको शुल्क बुझाएर उम्मेदवारी दिन सक्नेछन्।

एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदीले उक्त निर्णयलाई संघको लोकतान्त्रिकरणतर्फको ऐतिहासिक उपलब्धि भनेका छन्। “विगतमा डेलिगेट बन्ने प्रक्रियामा विभिन्न अवरोधहरू थिए,” उनले भने, “तर अहिले सबैलाई उम्मेदवारी दिने अवसर खुला गरिनुले योग्य र समर्पित नेतृत्वलाई अघि ल्याउने ढोका खोलिएको छ।”

एनसीसी क्यानडाका पूर्व अध्यक्ष दीपक गौतमले नेतृत्व चयन प्रक्रियालाई खुला, प्रतिस्पर्धात्मक र पारदर्शी बनाउनु अहिलेको आवश्यकताको रूपमा औंल्याए। “संसारभरिका प्रतिनिधिहरूले विवेकपूर्वक निर्णय गरेर संघलाई सक्षम नेतृत्व प्रदान गर्नेछन्,” उनले टिप्पणी गरे, “यो निर्णय साँच्चिकै ऐतिहासिक छ।”

यस्तै, एनसीसी डेनमार्कका पूर्व अध्यक्ष शैलु अधिकारीले यो निर्णय सबै प्रतिनिधिको समान अधिकार सुनिश्चित गर्नेतर्फको सकारात्मक पहल भएको बताए। “अब प्रतिनिधिहरूले अनुभवी, गतिशील र समर्पित व्यक्तित्वहरूलाई नेतृत्वमा ल्याउने अवसर पाउनेछन्,” उनले विश्वास व्यक्त गरे।

उच्च अदालतको परमादेशअनुसार गठन गरिएको समितिले सबै डेलिगेट्सलाई २२ अप्रिल (नेपाल समय अनुसार राति १२ बजेभित्र) आवश्यक प्रमाणसहित आफ्नो उम्मेदवारी www.nrnahlc.com वेबसाइटमार्फत दर्ता गर्न आग्रह गरेको छ।

एनआरएनए भित्र समावेशिता, पारदर्शिता र लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन यो निर्णयले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

काठमाडौं रेजर्सको सानदार जित, चितवनविरुद्ध २–० को विजयी प्रदर्शन

0

काठमाडौं — दशरथ रंगशालामा सोमबार सम्पन्न एनसेल नेपाल सुपर लिग 2025 अन्तर्गतको १७औं खेलमा काठमाडौं रेजर्सले एफसी चितवनमाथि २–० को सानदार जित दर्ता गरेको छ।

खेलको पहिलो हाफदेखि नै आक्रामक देखिएको काठमाडौं रेजर्सका बकेरी मानेले खेलको ३२औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए। दोस्रो हाफमा, ७२औं मिनेटमा अमादोउ डियोपले गोल गर्दै टिमको जित सुनिश्चित गरे।

चितवनका खेलाडीहरू लगातार प्रयासरत रहे तापनि काठमाडौंको बलियो डिफेन्स र गोलकिपरको प्रभावकारी प्रदर्शनले गोल फर्काउने कुनै अवसर दिएन। चितवनका शिशिर लेखीको प्रदर्शन सराहनीय रहे पनि टिमलाई गोल दिलाउन सकेनन्।

पुरस्कारहरू:

प्लेयर अफ द म्याच: बकेरी माने (जर्सी नं. ३)
एनर्जेटिक प्लेयर अफ द म्याच: अमादोउ डियोप (जर्सी नं. ११)
खेलको वातावरण बादलयुक्त भए पनि दर्शकहरूको उपस्थिति उल्लेखनीय रह्यो। खेल करिब २४ डिग्री सेल्सियस तापक्रममा सम्पन्न भएको थियो।

खेल विवरण:

मिति: २०८२/०१/०१ (2025/04/14)
स्थान: दशरथ रंगशाला, त्रिपुरेश्वर, काठमाडौं
समय: अपराह्न २ बजे
अन्तिम स्कोर: काठमाडौं रेजर्स २ – ० एफसी चितवन
महत्वपूर्ण क्षणहरू:

गोल (३२’): बकेरी माने – काठमाडौं रेजर्स
गोल (७२’): अमादोउ डियोप – काठमाडौं रेजर्स
नेपाल सुपर लिगको स्तरीय खेल र व्यवस्थित आयोजनाले प्रतियोगिताप्रति आम दर्शकको आकर्षण थप बढाएको देखिन्छ।