Friday, July 3, 2026
Home Blog Page 464

पूर्व सभामुख कृष्ण महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला

0

काठमाडौँ: तत्कालीन सभामुख कृष्ण बहादुर महरामाथि बलात्कारको आरोप लगाउँदै कारागारसम्म पुर्‍याएकी रोशनी शाही मृत अवस्थामा फेला परेकी छन्। उनी आइतबार भक्तपुरमा मृत फेला परेकी हुन्।

सूर्यविनायक नगरपालिका–बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्दै आएकी उनी कोठाभित्रै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए।

हाल घटनास्थलमा प्रहरीको टोली पुगेको छ। मृतकका श्रीमान विराटनगरमा रहेको र उनी काठमाडौँ आइरहेको बताइएको छ।

बागमती प्रदेशस्तरीय मेयर कप कराँते प्रतियोगिताको उपाधि सूर्यविनायक नगरपालिकालाई

0

भक्तपुर: भक्तपुरमा सम्पन्न बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिता–२०८१ मा सूर्यविनायक नगरपालिकाले पाँच स्वर्ण र एक रजत पदक जित्दै समग्र उपाधि हात पार्न सफल भएको छ। प्रतियोगिता जेठ ९ र १० गते सूर्यविनायक नगर सितोरियो कराँते संघको आयोजनामा तथा सूर्यविनायक नगरपालिकाको विशेष प्रायोजनमा सम्पन्न भएको हो।

प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाले तीन स्वर्ण, एक रजत र तीन कांस्य पदक जित्दै दोस्रो स्थान हासिल गर्‍यो, भने काठमाडौँ महानगरपालिकाले दुई स्वर्ण, एक रजत र पाँच कांस्यसहित तेस्रो स्थानमा चित्त बुझायो।

पुरुष तर्फ गोदावरी नगरपालिकाका राज व्लोन र महिला तर्फ साँगाचोकगढी नगरपालिकाकी आशिका तामाङ उत्कृष्ट खेलाडी घोषित भए। यो जानकारी सितोरियो कराँतेका प्रशिक्षक सचितानन्द बनेपालीले दिनुभयो।

प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले गर्नुभएको थियो। कार्यक्रमको प्रारम्भ बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले खेल सामग्री हस्तान्तरण गरेर गर्नुभएको थियो। समापन समारोह तथा पुरस्कार वितरण सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। समारोहमा वडा नं. २ का अध्यक्ष प्रदीप कार्की र वडा नं. ९ का अध्यक्ष भगवान् खत्री विशेष आतिथ्यका रूपमा सहभागी थिए।

विजेता खेलाडीहरूलाई मेडल र प्रमाणपत्र तथा टोलीलाई ट्रफी प्रदान गरियो। समापन समारोहमा बोल्दै नगरप्रमुख थापाले नगरको समुन्नत विकासका लागि खेल क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै, भावी पुस्ताले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना देखिएको बताउनुभयो।

कार्यक्रम संयोजक तथा भक्तपुर जिल्ला सितोरियो कराँते संघका वरिष्ठ उपाध्यक्ष रामशरण त्वातीका अनुसार प्रतियोगितामा १३ जिल्लाका १५ स्थानीय तहबाट १२० पुरुष र ९० महिला गरी कुल २१० खेलाडी सहभागी थिए। सहभागी नगरपालिकामा मध्यपुरथिमी, चाँगुनारायण, बनेपा, पाँचखाल, काठमाडौँ, बुढानीलकण्ठ, गोदावरी, गोकर्णेश्वर, बागमती गाउँपालिका, टोखा, साँगाचोकगढी, पनौती, धुलिखेल लगायत रहेका थिए।

प्रतियोगिता विभिन्न तौल समूहमा सम्पन्न भएको थियो — पुरुषतर्फ ३५ केजीदेखि ६७ केजीसम्म र महिलातर्फ ३५ केजीदेखि ६१ केजीसम्म। साथै, महिला–पुरुष व्यक्तिगत काता र टिम काता प्रतिस्पर्धाहरू पनि सञ्चालन गरिएका थिए। सम्पूर्ण खेल World Karate Federation (WKF), Asian Karate Federation (AKF) र Nepal Karate Federation (NKF) का मापदण्डअनुसार सञ्चालन गरिएको हो।

प्रतियोगिताका प्रमुख निर्णायक (चिफ रेफ्री) प्रकाशमोहन धौवडेल रहनुभएको थियो। प्रतियोगिताका क्रममा कराँते खेलको विकासमा योगदान पुर्‍याउने प्रशिक्षक, व्यवस्थापक र संघ प्रतिनिधिहरूलाई सम्मानसमेत गरिएको थियो। सहभागीहरूको भनाइमा, खेल संघको सशक्त व्यवस्थापन, खेलाडीहरूको उत्कृष्ट प्रदर्शन र नगरपालिकाको सक्रियताले यो प्रतियोगिता कराँते खेलको प्रवर्द्धनमा ऐतिहासिक उपलब्धि सावित भएको छ।

हेमजामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता सुरु, उद्घाटन नगरप्रमुख आचार्यबाट

0

पोखरा: पोखरा महानगरपालिका वडा नं. २५ हेमजामा ३५ वर्षमाथिका खेलाडीहरू लक्षित “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२” औपचारिक रूपमा सुरु भएको छ। हेमजा युनाइटेडको आयोजनामा गौरीशंकर खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभयो।

उद्घाटन समारोहमा नगरप्रमुख आचार्यले पोखरामा खेलकुद पूर्वाधारको विकास, खेलाडीको सीप अभिवृद्धि, विद्यालयस्तरमै खेल प्रवर्द्धन तथा समुदायमा खेल चेतना जगाउने काममा महानगर प्रतिबद्ध रहेको बताउनुभयो।

महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले वडा तहमा विविध खेलकुद गतिविधिहरू संचालन भइरहेको जानकारी दिनुभयो। शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले स्वस्थ समाज निर्माणका लागि खेललाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय उपाध्यक्ष दीपक खतिवडाले पोखरालाई फुटबलको उर्वरभूमि भन्दै, फुटबलले विभिन्न आस्थाबीच एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

प्रतियोगिताको उद्घाटन दिनको पहिलो खेलमा आयोजक टोली वडा नं. २५ (हेमजा निलो) ले वडा नं. २९ लाई ९–२ को फराकिलो अन्तरले पराजित गर्दै शानदार सुरुआत गर्‍यो। दोस्रो खेलमा वडा नं. १५ ले वडा नं. १६ लाई २–० ले हराउँदै अर्को चरणमा स्थान बनायो। आइतबार वडा नं. १ र १७ तथा वडा नं. ८ र ५ बीच प्रतिस्पर्धा हुने तालिका छ।

प्रतियोगितामा कुल १३ टोलीको सहभागिता रहेको छ। विजेता टोलीले नगद रु १,११,१११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु ५५,५५५ सहित पुरस्कार पाउनेछ।

त्यस्तै, उत्कृष्ट गोलकर्ता, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डलाई जनही रु २,००० सहित ट्रफी प्रदान गरिनेछ। प्रतियोगिता अवधिभर प्रदर्शनका आधारमा चयन गरिने सर्वोत्कृष्ट खेलाडीलाई रु ५,००० र ट्रफी प्रदान गरिनेछ। क्वाटरफाइनल चरणपछि हरेक खेलमा ‘म्यान अफ दी म्याच’ घोषित गरिनेछ।

हेमजा युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठले खेलकुदमार्फत वडा स्तरमा एकता, स्वास्थ्य र खेल चेतनाको सशक्त प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो।

नेकपा एमालेको सचिवालय बैठक बस्दै

0

काठमाडौं: नेकपा एमालेको सचिवालय बैठक आज आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने भएको छ।

बैठकमा सरकारले आगामी जेठ १५ गते संसदमा पेस गर्न लागेको आर्थिक वर्ष २०८२/८३ को बजेट सम्बन्धी तयारीमाथि छलफल गरिनेछ। साथै, बैठकमा सरकारी कामको समीक्षा, पार्टीको आन्तरिक तथा सांगठनिक गतिविधि, र समसामयिक राजनीतिक विषयवस्तुहरू समेत छलफलको एजेन्डामा रहेका छन्।

चीनमा नेपाली संस्कृति प्रदर्शन

0

गुइलिन (चीन): नेपाल–चीनबीच पर्यटन, कला र सांस्कृतिक प्रवर्द्धनका उद्देश्यले यहाँ एक भव्य सांगीतिक तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। तेस्रो एसएमएस नेपाल–चीन सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवर्द्धन सम्मान तथा पुरस्कार, २०८१ गएराति गुइलिनमा सम्पन्न भएको हो।

कार्यक्रम एसएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्ट को आयोजनामा, चङ्दोंसी गुइलिन फुक्सी एसेट म्यानेजमेन्ट र गुइलिन एलाइट एजुकेशन कन्सल्टिङ को सहआयोजनामा सम्पन्न भयो।

नेपाली र चिनियाँ कलाकारहरूको आकर्षक प्रस्तुति
कार्यक्रममा नेपालका देविका वन्धन, कमल खत्री, तथा राष्ट्रिय गतिशील कला समूह लगायतका कलाकारहरूले विशेष सांगीतिक प्रस्तुति दिएका थिए। चिनियाँ कलाकारहरूले पनि आफ्ना मौलिक नृत्य र गीत प्रस्तुत गरेर दर्शकलाई मन्त्रमुग्ध पारे।

मित्रता प्रवर्द्धनको सेतु
एसएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्टका अध्यक्ष सत्यकला तामाङ लामाले नेपाल–चीन मित्रता, संस्कृति, कला र पर्यटन प्रवर्द्धनको सेतुका रूपमा यस कार्यक्रमलाई मूल्यांकन गर्नुभयो। “नेपालको आवाज र पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने हाम्रो प्रयास यही कार्यक्रममार्फत साकार बन्दैछ,” उहाँले बताउनुभयो।

ऐतिहासिक सम्बन्ध र सामाजिक परिवर्तन
सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष असिम राईले नेपाल–चीनबीचको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धको चर्चा गर्दै अरनिको र भृकुटीले पुर्‍याएको योगदान स्मरण गर्नुभयो। उहाँले जनताको भावना र आकाङ्क्षाको प्रतिनिधित्व गर्न पाएकोमा गर्व व्यक्त गर्दै मित्रता अझ प्रगाढ बन्दै गएको उल्लेख गर्नुभयो।

चिनियाँ अधिकारीहरूको सहभागिता
कार्यक्रममा गुइलिन संयुक्त मोर्चा कार्यविभागका मन्त्री ब्लाङ सिएन फिङ, गुइलिन सांस्कृतिक स्वयंसेवक संघका अध्यक्ष लिनबिन, उपनिर्देशक झाङ गाओलियन, ग्लोरी कज प्रमोशन एशोसिएसनका उपाध्यक्ष याङ युनवु, फुक्सी एसेट म्यानेजमेन्टका अध्यक्ष चेन होङसियान, र लिजियाङ उद्धार केन्द्रका कप्तान मो गुआङफु लगायतको उपस्थिति रहेको थियो।

सगरमाथा आरोहण र अवार्ड सम्मान
विश्वका ८,००० मिटरभन्दा अग्ला हिमाल ३३ पटक सफलतापूर्वक आरोहण गरेका मिड्ना डेम्ब शेर्पाले हिमाल आरोहणमार्फत पर्यटन प्रवर्द्धनको सम्भावनाबारे चर्चा गर्नुभयो।

कार्यक्रममा देविका वन्धनलाई “इमर्जिङ सिङ्गर अवार्ड” र कमल खत्रीलाई “उत्कृष्ट गायक पुरस्कार” प्रदान गरिएको थियो।

सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइ
कार्यक्रमका प्रबन्ध निर्देशक थुप्तेन ग्याल्बो मोक्तानले नेपाल–चीन सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो। “हाम्रो संगीत, कला र संस्कृतिको अन्तर्राष्ट्रिय प्रस्तुति दुवै देशबीचको समझदारीलाई अझ सुदृढ बनाउने विश्वास लिएका छौं,” उहाँले भन्नुभयो।

चलचित्र ‘जन्ते बाख्रो’ को ट्रेलर सार्वजनिक हुँदै, चाबहिलको क्यूएफएक्समा विशेष कार्यक्रम आयोजना

0

काठमाडौं: बहुप्रतिक्षित नेपाली चलचित्र ‘जन्ते बाख्रो’ को अफिसियल ट्रेलर सार्वजनिक गर्ने तयारी पूरा भएको छ। ट्रेलर सार्वजनिक कार्यक्रम आगामी जेठ १२ गते, सोमबार चावहिलस्थित क्यूएफएक्स सिनेमा, छायाँ सेन्टर (थमेल) मा आयोजना हुने भएको छ।

कार्यक्रम दिउँसो १२:३५ बजे सुरु हुनेछ। निर्देशक सिमोश सुनुवार र निर्माता सन्तोष गौतम को विशेष उपस्थितिमा ट्रेलर सार्वजनिक गरिनेछ।

चलचित्रको निर्माण कम्पनी दिनेश सितौला फिल्म्स प्रा.लि. का अनुसार ‘जन्ते बाख्रो’ सामाजिक कथावस्तुमा आधारित मनोरञ्जनात्मक शैलीमा तयार पारिएको चलचित्र हो, जसले दर्शकहरूलाई सशक्त सन्देश दिन प्रयास गर्नेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

0

काठमाडौं: प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आइतबार बिहान ११ बजे बस्ने भएको छ। बैठक समितिको बैठक कक्षमा आयोजना गरिने छ।

बैठकमा ‘विद्यालय शिक्षा विधेयक, २०८०’ सम्बन्धी उपसमितिबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरिने कार्यसूची रहेको छ।

गृह मन्त्रालयको स्पष्टीकरणः त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

0

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयसँग सम्बन्धित पछिल्ला घटनाक्रमबारे सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै गृह मन्त्रालयले स्पष्टिकरण जारी गरेको छ। शनिबार प्रकाशित प्रेस विज्ञप्तिमा मन्त्रालयले ती समाचारहरूलाई “कपोलकल्पित, भ्रामक र आधारहीन” ठहर गर्दै खण्डन गरेको हो।

विज्ञप्तिमा भनिएको छ, “मन्त्रालयको नेतृत्व कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य गतिविधिमा संलग्न छैन र भविष्यमा पनि संलग्न हुने छैन।” मन्त्रालयले सबै सञ्चारमाध्यम र आम नागरिकलाई सत्यतथ्यमा आधारित समाचार मात्रै प्रकाशन तथा प्रसारण गर्न आग्रह गरेको छ।

गृह मन्त्रालयका अनुसार शान्ति, सुरक्षा र सुशासन कायम गर्न गृह प्रशासन निरन्तर सक्रिय छ। मन्त्रालयले सबै प्रकारका अनियमितता र आपराधिक क्रियाकलापमा शून्य सहनशीलताको नीति अपनाउँदै नीतिगत तथा संस्थागत सुधारको प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

त्यस्तै, त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयसँग सम्बन्धित विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा हाल अनुसन्धान भइरहेको जानकारी दिँदै मन्त्रालयले अनुसन्धान पूरा भएपछि वास्तविक तथ्य बाहिर आउने विश्वास व्यक्त गरेको छ। मन्त्रालयले आयोगलाई अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

0

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले भिजिट भिसामार्फत मानव तस्करीमा संलग्न भएको आरोप लागेका गृहमन्त्री लेखकले पदत्याग गरी निष्पक्ष अनुसन्धानमा सहयोग पुर्‍याउनुपर्ने जनाएको हो।

पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकपछि कार्यबाहक प्रवक्ता मनीष झाले गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनको मार्ग सहज बनाउनुपर्ने माग दोहोर्‍याएका छन्।

विज्ञप्तिमा भनिएको छ, “विगतमा सांसदको हैसियतमा रमेश लेखकले नै ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’ भन्ने विभिन्न दृष्टान्तहरू प्रस्तुत गर्नुभएको थियो। आज त्यही मान्यतालाई स्मरण गराउँदै, हामी उहाँलाई गृहमन्त्री पदबाट यथाशीघ्र राजीनामा दिन र निष्पक्ष अनुसन्धानमा सहयोग गर्न आग्रह गर्छौं।”

बैठकले साथै, रास्वपाका सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको फैसला सदर गरेको निर्णयलाई कानूनी रूपमा स्वीकार गरेको जनाएको छ।

एनआरएनएको नेतृत्व विवाद: प्रधानमन्त्री र परराष्ट्रमंत्रीको स्वार्थ हाबी

0

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई लिएर मतभेद जारी छन्। वैशाख २० गते डा. शेष घले नेतृत्वको उच्चस्तरीय समितिद्वारा आयोजना गरिएको महाधिवेशनमा परराष्ट्रमन्त्री आरजु राणा उद्घाटनमा सहभागी भएकी थिइन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले निमन्त्रणा अस्वीकार गरेका थिए।

परराष्ट्रमन्त्री राणाले कांग्रेस निकटका महेश कुमार श्रेष्ठलाई अध्यक्ष बनाउने सर्तमा मात्र समारोहमा सहभागी हुने बताएकी छन्। एनआरएनए परराष्ट्र मन्त्रालयमा दर्ता भएकोले अन्य आकांक्षीहरू पनि श्रेष्ठलाई नेतृत्व दिन तयार भएका थिए।

वैशाख ३१ मा बद्री केसी पक्षले आयोजना गरेको ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ मा प्रधानमन्त्री ओली सहभागी भए, तर परराष्ट्रमन्त्री राणा अनुपस्थित थिइन्। प्रधानमन्त्री ओलीले केसीको वैधानिकता स्वीकार गरेको बताउँदा राणा श्रेष्ठ पक्षलाई समर्थन गरिरहेकी छन्।

एनआरएनएको विवाद सर्वोच्च अदालतमा विचाराधीन छ। वैशाख २१ गते सर्वोच्चले मुद्दा पूर्ण इजलासमा सुनुवाइ गर्ने आदेश दिएको छ। अदालतले केसी नेतृत्वको समितिलाई गैरकानुनी नभएको भने पनि आधिकारिकता टुंगो लगाउन अझै सुनुवाइ आवश्यक रहेको छ।

वर्तमान सत्ता गठबन्धनमा एमाले प्रधानमन्त्री ओली केसी पक्षमा छन् भने कांग्रेस राणा श्रेष्ठ पक्षमा छन्, जसले एनआरएनामा अन्योलता बढाएको छ।

एनआरएनएको विवाद पुरानो हो, सदस्यता र प्रतिनिधित्व विवादका कारण दुईवटा महाधिवेशन हुन पुग्यो। गत केही वर्षयता परराष्ट्र मन्त्रालयले विवादमा हस्तक्षेप गरिरहेको छ।

एनआरएनएका उपाध्यक्ष रामशरण सिम्खडाले विवाद समाधानका लागि सबै पक्षले अदालतमा रहेका मुद्दा फिर्ता गरेर संवाद गर्नुपर्ने बताएका छन्। विवाद मिलाउन अझै कठिनाइ भए पनि एकता प्रक्रियामा छुटेका समूहहरूलाई समावेश गर्न बाटो खुला रहेको जनाइएको छ।

हालसम्म अदालतमा दर्जनौं मुद्दा विचाराधीन छन् र सत्ता गठबन्धनभित्र पनि फरक धार देखिनुले एनआरएनाको विवाद समाधानमा चुनौती थपेको छ।