Saturday, May 2, 2026
Home Blog Page 1281

४० वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसाद छुटे

0

दमदम, कोलकाता — ४० वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) शनिबार दिउँसो छुटेका छन् । भारतीय सञ्चारमाध्यमहरुको बाक्लो उपस्थितिका बीच उनले जेलबाट छुट्नेबित्तिकै संक्षिप्त प्रतिक्रिया दिए,‘म निर्दोष थिएँ ।’

भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर (सेन्ट्रल जेल) मा रहेका उनी कोलकाता उच्च अदालतको आदेशबमोजिम छुटेका हुन् । शारीरिक र मानसिक रुपमा कमजोर उनी आइतबार नेपाल पुग्ने छन् ।

दुर्गाप्रसादलाई लिन भाइ प्रकाशचन्द्र दमदम जेल पुगेका थिए । अदालत र प्रकाशचन्द्रबीचको सम्झौतासहितको पत्र शुक्रवार अपरान्ह अदालतले जेल पठाएको aथियो । त्यही पत्रका आधारमा जेल प्रशासनले उनलाई छाडेको हो ।

कोलकाता उच्च अदालतका न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले बुधबार उनलाई छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि भाइ प्रकाशचन्द्र सहयोगी संस्था विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नेतसहित कोलकाता पुगेका थिए ।

दुर्गाका वकिल हिरक सिन्हाका अनुसार हरेक ६ महिनामा मानसिक अवस्थाबारे कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराउनुपर्नेछ । महावाणिज्य दूतावासले पुन: अदालतलाई जानकारी गराउने छ ।
आजको कान्तिपुर अन्लाईनमा प्रकाशित

कतारमा श्रमिकका लागि नयाँ न्यूनतम तलब लागू

0

काठमाडौँ — कतारले आप्रवासी अदक्ष श्रमिकका लागि तोकेको न्यूनतम तलबलाई शनिबारदेखि कार्यान्वयनमा ल्याएको छ । कतारले रोजगारदाता कम्पनीलाई तयारीका लागि ६ महिना अगाडि नै राजपत्रमा सूचना प्रकाशित गरेको थियो  ।

प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले खाना र बस्नेबाहेक श्रमिकको न्यूनतम तलब एक हजार रियाल (झण्डै ३० हजार रुपैयाँ) तोकेको थियो । यो घरेलु कामदारको हकमा समेत लागू हुनेछ ।

मन्त्रालयका अनुसार सबै कम्पनीले अनिवार्य रुपमा न्यूनतम तलबलाई कार्यान्वयनमा ल्याउनुपर्छ । खाडीका ६ देशमध्ये कतारले मात्रै न्यूनतम तलब तोकी कार्यान्वयनमा ल्याएको हो । यो तलब कतारमा कार्यरत र नया भिसा लिई जाने सबैको हकमा लागू गरेको छ ।

कतार सरकारको मन्त्रीस्तरीय बैठकले जारी गरेको २०२० को कानुन नम्बर १७ अनुसार अदक्ष श्रमिकको न्यूनतम तलब, खाना र आवासबापत पाउने सुविधा निर्धारण गरेको हो । अब रोजगारदाताले न्यूनतम तलब एक हजार रियाल, खानाबापत ३ सय र आवासबापत ५ सय रियाल दिनुपर्नेछ । तर, खाना र आवासको सुविधा दिएमा श्रमिकलाई अनिवार्य एक हजार रियाल तलब मात्रै दिए पुग्छ ।

कतारस्थित नेपाली दूतावासले सबै श्रमिकले कतार सरकारद्वारा तय गरिएको न्यूनतम तलब पूर्ण रुपमा पाउनेमा विश्वास गरेको जनाएको छ । ‘अदक्ष श्रमिकका लागि यो खुसीको कुरा हो । कतार सरकार आफैले निर्धारण गरेपछि श्रमिकहरुले तलब पाउने विषयको ग्यारेन्टी गरेको छ’, कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले भने,‘सबै रोजगारदाताबाट कार्यान्वयन हुनेमा हामी आश्वस्त छौं ।’

यो तलब कार्यान्वयनमा आएपछि कतार सबैभन्दा बढी न्यूनतम तलब दिने रोजगाराता मुलुक बनेको छ । नेपाल सरकारले २०१३ देखि अदक्ष श्रमिकका लागि न्यूनतम तलब ९ सय रियाल र खानाबापत तीन सय रियाल गरी १२ सय रियाल निर्धारण गरेको थियो । रोजगारदाता कम्पनीले नेपालले एकतर्फी रुपमा तलब निर्धारण गरेको भन्दै त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गरेका थिएनन् । कतारले पनि रोजगारदाता र श्रमिकबीच हुने सम्झौतालाई मात्रै आफूले कार्यान्वयन गर्न बाध्यकारी रहेको बताउँदै आएको थियो । कतारले दुई वर्षदेखि भने ७५० रियाल भन्दा तलको करारपत्रलाई प्रमाणीकरण गर्न छोडेको थियो ।

मन्त्रालयले कतारमा काम गर्ने सबै देशका नागरिकको लागि बिनाभेदभाव नगरी समान तलब तोकेको जनाएको छ । यसले श्रमिक र रोजगारदाताबीचको सम्बन्धलाई थप बलियो बनाई मर्यादित श्रम बजार बनाएको मन्त्रालयको दाबी छ । यसलाई कडाइका साथ कार्यान्वयन गर्न बैंकबाट अनिवार्य तलब दिनुपर्ने प्रणालीलाई थप प्रभावकारी बनाइएको मन्त्रालयको भनाइ छ । कतारले ५ वर्ष अगाडिदेखि नै श्रमिकलाई प्रत्येक महिनाको पहिलो साताभित्र बैंकबाट अनिवार्य तलब दिनुपर्ने प्रणाली व्यवस्था गरेको थियो । त्यसभन्दा अगाडि कामदारको बैंक खाता हुने गरेको थिएन ।

तोकिएको तलब नपाएका कामदारले उजुरी दिनका लागि कतारले संयन्त्र बनाएको छ । कामदारहरूले सिधै प्रशासनिक विकास श्रम र सामाजिक मामिला मन्त्रालयमा उजुुरी दर्ता गराउन सक्नेछन् । यसका अतिरिक्त, आफ्नो मोबाइल फोनमा ‘अमेर्नी’ नामक एप्स राखेर त्यसका माध्यमले नेपालीलगायत ३३ भाषामा उजुरी दिन पनि सकिने व्यवस्था पनि मिलाएको छ ।

अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ)ले कतारले ऐतिहासिक हिसाबले श्रम कानुनलाई शृंखलाबद्ध रुपमा सुधार गर्दै लगेको भन्दै यसको स्वागत गरेको छ । ‘नयाँ कानुनबाट कतारमा काम गर्नेमध्ये २० प्रतिशत कामदारलाई सिधै राहत पुगेको छ । यो तलब वृद्धिले कामदार र उनीहरुको परिवारको जीवन सुधारमा सहयोग पुग्नेछ,’ आईएलओ कतार कार्यालयका म्याक्स टुनोनले भने,‘कतारले यसलाई सुनिश्चित गर्नका लागि तलब नदिने कम्पनीमाथि कारबाही र दण्ड जरिवाना समेतको प्रावधान ल्याएको छ ।’

कतारमा कार्यरत नेपालीको ठूलो हिस्सा भने अझै अदक्ष श्रमिककै हैसियतमा काम गर्ने गरेका छन् । सीपयुक्त काम गरे पनि तलब भने अदक्ष श्रमिककै हैसियतमा दिइरहेको कामदारहरु बताउँछन् । ‘हामी अहिलेसम्म ओभरटाइमले नै बाँचिरहेको हो । तलब ७५० रियाल थियो । अब एक हजार रियाल हुँदा हाम्रो ओभरटाइम पनि बढ्ने गर्छ,’ ७ वर्षदेखि त्रिसिस कम्पनीमा कार्यरत मीनराज सिवाकोटीले भने,‘यो सुधारले पक्कै हामीलाई फाइदा पुग्नेछ । अब कामअनुसारको तलब निर्धारण गर्नुपर्छ ।’

आजको कान्तिपुर अन्लाईनमा प्रकाशित

एमालेमा गुटगत अस्तित्व किमार्थ स्वीकार्य हुँदैन : ओली

0

काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटगत अस्तित्व स्वीकार्य नहुने बताएका छन् । संसदीय दलको बैठकमा उनले कुनै पनि समूह वा गुटगत गतिविधि स्वीकार्य नहुने बताएका हुन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको संसदीय दलको बैठकमा ओलीले सांसद र नेताका व्यक्तिगत गतिविधि गर्न छुट हुने तर समूहगत रूपमा कुनै पनि गतिविधि गर्न छुट नहुने बताएका हुन् । माधवकुमार नेपाल समूहका ३८ सांसदको हस्ताक्षरसहितको मागपत्र बुझ्दै ओलीका कुरा उल्लेख गर्दै एमालेका मुख्य सचेतक विशाल भट्टराईले भने, ‘प्रधानमन्त्रीले संस्थागत रूपमा नेकपा (एमाले)को संसदीय दलबाहेक अर्को कुनै अस्तित्व छैन, त्यो किमार्थ स्वीकार्य हुँदैन भन्नुभयो । व्यक्तिगत रूपमा कोही आउनुभएको छ भने त्यो कुरा सुनिन्छ, गुटगत रूपमा कोही आउँछ भने त्यो स्वीकार्य हुँदैन भनेर प्रस्टसँग भन्नुभयो ।’

खनाल-नेपाल समूहका ३८ सांसदको हस्ताक्षर बोकेर सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठ बालुवाटार गएका थिए । उनीहरूको पत्र ओलीले बुझेका थिए ।

ओलीले सबैलाई एकताबद्ध बनाएर एमाले पार्टीलाई अगाडि बढाउनुपर्छ भन्नेमा जोड दिएको सांसद विद्या भट्टराईले बताइन् । वामदेव गौतमले पार्टी एकता प्रक्रियामा आगामी दिनमा पनि लाग्ने बताएका थिए । ‘गौतमले म अहिले पनि स्वतन्त्र छु, आफ्ना कुरा राख्छु भन्ने धारणा राख्नुभयो । पार्टी एकता प्रक्रियामा निरन्तर अगाडि बख्छु भन्नुभएको छ ।’

प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको असंवैधानिक कदम भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन लिएर गई बहस गरेका सांसद कृष्णभक्त पोखरेल पनि बालुवाटारको संसदीय दलको बैठकमा गएका थिए । उनले एमाले भइसकेपछि अलग्गै बस्नुको अर्थ नहुने बताए । उनले भने, ‘नेपाल समूहले दलको बैठकमै नजाने भन्नुभयो । मलाई त्यो कुरा चित्त बुझेन । मचाहिँ नेकपा एमालेमा अलग ढंगबाट गुट बनाएर जान हुँदैन भन्ने मान्यता राख्छु । संसद् विघटन गरेको गैरसंवैधानिक भनेर लडेँ ।’

कोही संसदीय दलको बैठकमा अनुपस्थित हुँदैमा कानुनी रूपमा कारबाही गर्न नमिल्ने पोखरेलको भनाइ थियो । दलको बैठकमा नआउने सांसदलाई कारबाही गर्ने चेतावनी ओलीले दिइरहेका बेला पोखरेलले भने, ‘दलको बैठकमा नआउँदैमा कारबाही भन्ने हुँदैन ।’

दलको विधान संशोधन

नेकपा (एमाले) संसदीय दलको विधान संशोधन गरिएको छ । मुख्य सचेतक भट्टराई संयोजक तथा शेरबहादुर तामाङ र विमला राई पौड्याल सदस्य रहेको समितिले संशोधित विधानको मस्यौदा दलको बैठकमा पेस गरेका थिए । उक्त विधान शनिबार नै बस्ने केन्द्रीय कमिटीले पास गर्ने तयारी भइरहेको छ ।

दलको विधानमा समूहगत माग राख्न नपाउने र त्यसरी माग राखेमा कारबाही गर्ने व्यवस्था राखिएको तामाङले जानकारी दिए । त्यस्तै संसदीय बोर्डमा रहने सदस्यको संख्या बढाइएको उनले बताए । पार्टीभित्र गुटगत राजनीति गर्नेहरूलाई बोर्डले स्पष्टीकरण सोध्ने व्यवस्था राखिएको छ ।

त्यस्तै, यसअघि संसदीय दलको नेता राष्ट्रिय सभाबाट पनि निर्वाचित हुन पाउने व्यवस्था रहेकोमा अब संसदीय दलको नेता प्रतिनिधिसभाबाट मात्रै निर्वाचित हुने व्यवस्था गरिएको तामाङले जानकारी दिए ।

दलको उपनेता संसदीय दलको बैठकले निर्वाचित गर्ने व्यवस्था पनि परिमार्जन गरेर दलको नेताले दलको उपनेता तोक्ने व्यवस्था राखिएको छ । विधान केन्द्रीय कमिटीबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

संसदीय दलको बैठक बालुवाटारमा बोलाइएको भन्दै खनाल र नेपाल समूहले बहिष्कार गरेको थियो । यो समूहले केन्द्रीय कमिटी बैठक पनि बहिष्कार गरेको छ ।

आजको कान्तिपुर अन्लाईनमा प्रकाशित

पहाडी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

0

काठमाडौं : देशभर शनिबार आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ।

स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशभर बदली भइ पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए। उनका अनुसार अझै दुई–तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रहने छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, २, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ।

जल तथा मौसम विज्ञान विभागले चेतावनी तथा परामर्श जारी गर्दै देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव दुई डिग्री र अधिकतम तापक्रम २७ दशमलव सात डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३३ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ।

आजको अन्नपूर्णमा समाचार छ ।

२० लाख मात्रा खोप भारतबाट दुई साताभित्र नेपाल भित्रने

0

कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ । त्यस्तै विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओ को पहलमा आउने कोभ्याक्स खोपको दोस्रोे लट पनि यसै महिना आउन सक्ने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पहिलो चरणमा कोभ्याक्स अनुदानको २२ लाख ६८ हजार मात्रा नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता आएको थियो तर त्यसमा पनि किस्ताबन्दी प्रणालीअनुसार मात्र तीन लाख ४८ हजार मात्रा खोप पहिलो चरणमा नेपाल भित्रिएको थियो । अब दोस्रो चरणमा १९ लाख २० हजार मात्रामध्ये छ लाख मात्रा खोप मात्र आउने अनुमान गरिएको छ । कोभ्याक्स अभियानले औपचारिक रूपमा जनाएअनुसार मे महिनाभित्र दोस्रो चरणको खोप पठाइनेछ ।

किस्ताबन्दीमा कहिले पठाउँछ भन्ने विषय तय नरहेको खोप आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले जानकारी दिए । उनका अनुसार भारतबाट आउने खोप भने दुई साताभित्रै ल्याउने गरी नेपालले कुराकानी अगाडि बढाएको हो ।

हाल नेपालमा स्थगित भएको खोप अभियान खोप आउनासाथ फेरि सुरु हुने मन्त्रालयका सहप्रवक्ता डा। समीर अधिकारीले जानकारी दिए ।

अहिलेसम्म १७ लाख जनाले खोप लगाइसकेका छन् । त्यसमध्ये पछिल्लो पटक खोप लगाएकाको दोस्रो चरणको खोप लगाउन बाँकी छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

अनुवाद प्रज्ञाप्रतिष्ठानको आवश्यकता छ : हरिहर खनाल

0

अनुवाद भिन्न भाषा साहित्यमा रहेको ज्ञान आर्जनको सबभन्दा सजिलो माध्यम हो । अनुवादलाई धेरैले छायानुवादका रूपमा लिएका भए पनि अनुवाद पुरानो सिर्जनाको नयाँ भाषामा फोटोकपी नभई पुन सिर्जन हो । साहित्यको अनुवाद साहित्यकारले मात्र गर्न सक्छ । इटरनेटका माध्यमबाट विश्वका सूचना छिनभरमै हाम्रा सामु आइपुगे पनि वास्तविक ज्ञानसम्बन्धित भाषाका सामग्री पठनको पहुँच वा अनुवादविना पाउन सकिँदैन । नेपाली सन्दर्भमा विदेशी भाषामा प्रकाशित पुस्तकका पाठक बढ्दै गइरहेका छन् तर, नेपाली भाषामा लेखिएका पुस्तकका विदेशी पाठक भने ज्यादै कम छन् । यसको प्रमुख कारण नेपाली पुस्तक अंग्रेजी र अन्य भाषामा खासै अनुवाद नहुनु नै देखिन्छ । यस साता अनुवाद दिवसको शुभकामना आदानप्रदान गरेको पनि देखियो तर यो प्रक्रिया ज्यादै सीमित व्यक्तिहरूमा सीमित रह्यो । नेपाली भाषामा लेखिएर अन्य भाषामा अनुवाद भएका पुस्तक जे जति हुनुपथ्र्यो त्यो ज्यादै सीमित भएको छ । यस सन्दर्भमा नेपाली भाषा साहित्यका स्रष्टा द्रष्टा एवम् अनुवादक हरिहर खनालसँग गरिएको कुराकानीलाई साहित्यसागरको अन्तर्वार्ता सामग्रीका रूपमा प्रस्तुत गरिएको छ ।

हरिहर खनाल स्रष्टा, द्रष्टा एवम् अनुवादक हुन् । उनको परिचय साहित्यसागरको अघिल्लो शृङ्खलामा समेटिसकिएको छ । हान्स क्रिस्चियन एन्डरसनको कथा Emperor’s New clothes को समाप्तिपछि त्यही पोयालाई समातेर चिनियाँ लेखक येह सेङ ताओले लेखेको कथा Emperor’s New clothes लाई बादशाहको नयाँ पोशाक शीर्षकमा २०३५ सालमा अनुवाद गरेर त्यही वर्ष वेदना साहित्यिक पत्रिकामा प्रकाशित गरेर अनुवाद कर्ममा लागेका उनले सुप्रसिद्ध रुसी साहित्यकार म्याक्सिम गोर्कीको जर्मन भाषामा गेर्हाल्ड ह्याबरमनद्वारा लिखित र पछि अङ्ग्रेजी भाषामा अनुदित जीवनीलाई अङ्ग्रेजी भाषाबाट नेपालीमा अनुवाद गरी २०३७ सालमा म्याक्सिम गोर्कीको जीवनी शीर्षकमा प्रकाशन गरे । यो कृति हालसम्म विभिन्न प्रकाशनहरूबाट सातौँ संस्करण : (२०७४ माघ) सम्म प्रकाशित भइसकेको छ । २०६८ सालमा उनले सुप्रसिद्ध रुसी सौन्दर्यशास्त्री अभ्नेर जिसको कृति Foundations of Marxist Aesthetics लाई माक्र्सबादी सौन्दर्यशास्त्रका आधारहरू शीर्षकमा अनुवाद गरे । नेपाल प्रज्ञा प्रतिष्ठानको परियोजना अन्तर्गत अनुवाद गरिएको उक्त कृतिलाई सोही प्रतिष्ठानले २०७२ सालमा प्रकाशन गर्‍यो । उनले २०७२ सालमा नै सुप्रशिद्ध फ्रान्सेली उपन्यासकार अल्बेयर कामुको सन १९५७ को नोबेल पुरस्कार विजेता कृति The Outsider लाई अङ्ग्रेजी भाषाबाट नेपालीमा आगन्तुक शीर्षकमा अनुवाद गरे जुन कृतिलाई त्यही वर्ष भुँडीपुराण प्रकाशनले प्रकाशित गर्‍यो । यस अतिरिक्त २०७२ मा नै उनले चिनियाँ राष्ट्रपति सि चिन फिङका भाषणहरूको सङ्ग्रह The Chinese Governance को पहिलो खण्डका केही अध्यायहरूको अनुवाद तथा सम्पादन (२०७२) गरेका छन् । साथै उनले २०७५ मा पाकिस्तानी महिला लेखन (पाकिस्तानी महिलाहरूद्वारा लिखित छानिएका कथाहरूको अरू केही अनुवादकहरूसमेतको सहभागितामा अनुवाद गरेका छन् जुन कृतिलाई नेपाल प्रज्ञा प्रतिष्ठानले सोही वर्ष प्रकाशित पनि गरिसकेको छ । २०७५ मा नै उनले चिनियाँ राष्ट्रपति सि चिन फिङका भाषणहरूको सङ्ग्रह The Chinese Governance को दोस्रो खण्डको आधाजसो भागको अनुवाद गरेका छन् जुन प्रकाशोन्मुख छ । उनले फुटकर रूपमा पनि साहित्यिक तथा गैह्रसाहित्यिक कैयन् लेख रचनाहरूको अनुवाद गरेका छन् । हरिहर खनालको त्यही अनुवादक व्यक्तित्वलाई यहाँ विशेषज्ञका रूपमा लिई अनुवाद विमर्श गरिएको छ ।​

 

वार्ताकार-रमेश शुभेच्छु

रमेश शुभेच्छु युवापुस्ताका स्रष्टा द्रष्टा एवम् साहित्यिक पत्रकार हुन् । उनले लिएका अन्तर्वार्ताहरू निकै गहन हुन्छन् । उनको परिचय साहित्यसागरको अघिल्लो शृङ्खलामा समेटिसकिएको छ । यहाँ उनले हरिहर खनालसँग लिएको अन्तर्वार्तालाई समेटिएको छ ।

 

खनाल सर, नमस्कार ।
नमस्कार ।
यहाँसँग अनुवाद साहित्यका बारेमा केही कुरा गरुँ भनेर आएको छु ।
हुन्छ । तर यहाँलाई सुरुमा नै म के कुरा जानकारी गराउँछु भने म अनुवाद साहित्यको कुनै सैद्धान्तिक पण्डित चाहिँ होइन । तथापि म यहाँसित वार्तामा सामेल हुने छु र मेरो अनुभवका आधारमा जे जसरी सक्छु यहाँका जिज्ञासाहरूलाई समाधान गर्ने प्रयत्न गर्ने छु ।
म केही वस्तुगत प्रसङ्गसहित प्रश्न गर्दैछु । मेरो सीमित अनुभवका आधारममा नेपाली अनुवाद परम्परामा पारिजातले लेखेको उपन्यास शिरीषको फूल अंग्रेजी भाषामा अनुवाद भएर धेरै चर्चा भएको कृति हो । यो उपन्यास २०२२ सालमा पारिजात आफैँले प्रकाशन गरेकी थिइन् । २०२२ को मदन पुरस्कार प्राप्त गरेपछि यो कृति २०२४ र २०३८ मा पुनः प्रकाशित भएको थियो । शिरीषको फूलको अंग्रेजी अनुवाद The Bleu Mimosa अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयको पाठ्यक्रममा समेत समावेश छ भनिन्छ । यहाँले यस कृतिलाई तुलनात्मक रूपमा हेर्नुभएको छ ?
अनुदित कृतिको सहज उपलव्धताको अभावमा मैले यसको अङ्ग्रेजी संस्करण हेर्ने अवसर पाएको छैन । तसर्थ म यस विषयमा बोल्न सक्तिनँ । नेपाली संस्करणचाहिँ गम्भीर रूपमा पढेको छु ।
हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित खण्डकाव्य मुना–मदन अंग्रेजीमा फरक फरक विविध अनुवाद भएको पाइन्छ । यहाँ अनुवादक पनि भएकाले ती अङ्ग्रेजी अनुवादलाई कसरी हेर्नुभएको छ ?
कवि तुलसी दिवसद्वारा सम्पादित Seven Poets ग्रन्थमा मुनामदनको अनुदित रूप समेत सङ्ग्रहित छ । माइकल हटले पनि यस ग्रन्थको अनुवाद गरेका छन् । अहिलेसम्म यस कृतिका नौओटा अनुदित रूप आएको मैले थाहा पाएको छु । सबैभन्दा आधिकारिक अनुवाद चाहिँ दुई वर्ष अगाडि मात्र प्रकाशनमा आएको पद्म देवकोटाले गरेको अनुवाद हो जसलाई अनुवादकले मूल सिर्जनाको जस्ताको तस्तै अनुवाद गरेको पाइन्छ ।
मुनामदनलाई दुई दशकअघि नै आनन्दप्रसाद श्रेष्ठ अंग्रेजीमा अनुवाद गरेका हुन् । जसलाई भारतको निराला प्रकाशनले ‘मुनामदन : अ प्ले इन दी झ्याउरे फोक ट्रेडिसन नाममा प्रकाशन गरेको पाइन्छ । यो अनुवाद कस्तो छ ?
त्यो मैले हेरेको छैन ।
नेपाली आख्यान परम्परामा इन्द्रबहादुर राईको उपन्यास आज रमिता छ लाई देयर इज अ कार्निभल टुडे नाममा मञ्जुश्री थापाले अङ्ग्रेजी भाषामा अनुवाद गरेकी छन् । यो अनुवादलाई राई पनि अंग्रेजीका प्राध्यापक हुँदा उनको दृष्टि पनि परेकाले राम्रो अनुवाद मानिन्छ । यहाँले यसलाई पढ्ने अवसर पाउनुभएको छ ?
इन्द्रबहादुर राईको उपन्यास आज रमिता छ क्लिष्ट शैलीको एउटा निरस उपन्यास हो, ठेट्ना मकै चपाएजस्तो । त्यसलाई मैले करैसान्ती, बढो बल गरेर सकेको थिएँ । त्यो भन्दा सजिलो बरू त्यसको अंग्रेजी रूप हुँदो हो । मञ्जुश्री थापा आफैँ अङ्ग्रेजीमा सिर्जना गर्ने राम्रो आख्यानकार हुन्, तसर्थ त्यो अनुवाद राम्रै होला भन्ने लागेको छ मलाई । त्यसको प्रकाशनपछि पुस्तक बजारमा देखेर पनि मैले त्यो त्यति बेला किनिन । वातावरण सहज भएपछि म त्यो किन्छु र एक पटक हेरेर मात्र यहाँसित पुनः त्यस विषयमा कुरा गरौँला ।
यहाँ आख्यानकार भएकाले म आख्यान केन्द्रित कृतिको नाम लिँदैछु । सन् १९७३ मा नेपाली भाषामा प्रकाशित डायमन्ड शमशेरको ऐतिहासिक उपन्यास सेतो बाघ अंग्रेजीसँगै फ्रेन्च र जापानी भाषामा पनि अनुवाद भएको पाइन्छ । नेपालको राणा शासनका कतिपय यथार्थलाई उजागर गर्ने गरी लेखिएको यो उपन्यासलाई सन् १९९९ मा बालिका राणाले अंग्रेजी भाषामा अनुवाद गरेकी हुन्, The Wake of the White Tiger यसको अङ्ग्रेजी रूप हो । यसको प्रभावलाई यहाँले कसरी लिनुभएको छ ?
सेतो बाघ आफैँमा एक एैतिहासिक उपन्यास भएको हुनाले यो कृति विविध विदेशी भाषामा अनुवाद हुँदा ती अनुदित रूपहरूका माध्यमबाट ती देशका शिक्षित जनले तत्कालीन नेपालको एैतिहासिक, सामाजिक, प्रशासनिक आदि विषयमा धेरथोर ज्ञान हासिल गर्न सक्ने छन् भन्ने म ठान्दछु ।
सर, अनुवादका सन्दर्भमा आउन सक्ने एउटा प्रश्न है । ‘कुनै पनि साहित्य एउटा सांस्कृतिक पृष्ठभूमि र विशेष समयमा रचना गरिएको हुन्छ । अनुवादपछि त्यो एउटा पृष्ठभूमिबाट अर्को पृष्ठभूमिमा जान्छ । यसरी फरक पृष्ठभूमि वा परिवेशमा जाने भएकाले अनुवादकले त यी पक्षमा धेरै ख्याल गर्नु पर्ला नि ? कि कसो हुन्छ ?
यस विषयलाई यसरी बुझ्नु राम्रो होला । अनुवादकले भरसक मूल लेखकको मर्ममा कतै चोट नपुगोस् भन्ने कुरामा विशेष विचार गर्नुपर्छ । रचना गरिएको पृष्ठभूमि, समय, परिवेश अर्थात् प्रचलित भाषामा जसलाई देश, काल, परिस्थिति, पात्र, रूप र सारलाई नबिगारिकन जस्ताको त्यस्तै देखाउन प्रयत्न गर्ने हो अनुवादकले । नयाँ भन्दा पनि मूल लेखकले निर्माण गरेको परिस्थितिलाई जीवन्तता प्रदान गर्ने हो ।
नेपाली प्राध्यापक तथा समालोचक अभि सुवेदी, पद्मप्रसाद देवकोटा, कृष्णप्रकाश श्रेष्ठ, गोविन्दराज भट्टराई, यहाँ हुँदै महेश पौडेलसम्म लामो शृङ्खला छ अनुवादकहरूको । तर धेरै अनुवादहरू चाहिँ अनुवादकका योजनाअनुसार नभई अनुवाद गराउने व्यक्तिका योजनाअनुसार आएको देखिन्छ । यसको कारण के हो ?
अनुवाद गराउने व्यक्तिका आफ्नै स्वार्थ हुन्छन् । चिन्तनमा उचाई हासिल गरिसकेका अनुवाद गराउने मानिसहरूका विचारहरू त्यस प्रकारको घेरामा हुँदैनन् । तिनका सोचाइ खुला आकाशजस्तै हुन्छन् तर केही मानिसहरू भने अनुवादकहरूलाई काम गर्ने ‘खेताला’ र आफूलाई ‘साहुजी’ ठान्दछन् । तिनीहरूको चिन्तनमा रहेको त्यही कमजोरीका कारण त्यस्तो देखिन गएको होला ।
नेपाली साहित्य परम्परामा देवकोटाले इन्द्रेणी पत्रिकामा आफ्नो मात्रै नभएर साथीहरूका कविता पनि अंगे्रजीमा अनुवाद गरी प्रकाशित गरेका थिए । उनको नेपाली साहित्यलाई गुणात्मक उचाइ दिने र विश्व साहित्यमा पुर्‍याउने अभियान थियो । त्यो अभियान किन निरन्तरित हुन सकेन ?
कुनै पनि योजनाको क्रमिक विकास र दिगोपनका लागि व्यक्तिगत भन्दा पनि संस्थागत रूपमा योजना र कार्यक्रमले आकार लिनुपर्ने हुन्छ । त्यसका लागि चाहिने पूर्वाधार सँगसँगै आउने कुरा हुन् । ती चिजका अभावमा देवकोटाको योजनाले कार्यान्वयन हुने अवसर नपाएको हुनाले नै त्यस्तो भएको हुनसक्छ भन्ने अनुमान गर्न सकिन्छ ।
म फेरि नेपालीका अनुदित कृतिकै कुरा गरुँ । कुनै सन्दर्भमा अभि सुवेदीले ‘पारिजातको शिरीषको फूल अंग्रेजी भाषामा अनुवाद भए पनि खासै राम्रो अनुवाद भएको छैन’ भनेर टिप्पणी गरेका थिए । नेपालमा एउटै कृतिको एकभन्दा बढी अनुवाद पनि देखिन्छ । एउटै भाषामा एकभन्दा बढी अनुवादको प्रभाव कस्तो रहन्छ ?
शिरीषको फूलको अनुवादका विषयमा मैले सुरुमा पनि अलिकति उल्लेख गरिसकेको छु । सुवेदीको टिप्पणीप्रति मेरो कुनै टिप्पणी छैन । कुनै पनि कृतिको संस्थागत र आधिकारिक अनुवाद गराउन सकियो भने त्यसले परिमार्जनको अवसर पनि पाउँछ र त्यो बाहिर आउँदा परिस्कृत रूपमा आउँछ । तर हामीकहाँ त्यस्तो काम निकै कम मात्रामा भएको पाइन्छ । केही सरकारी र केही गैह्रसरकारी संस्थाहरूले तिनका निश्चित डकुमेन्टलाई उनीहरूको पहुँचका आधारमा अनुवादककहाँ पुर्‍याउँछन् । त्यहाँ पनि पूर्ण रूपमा परिमार्जनको संभावना न्युन देख्छु म । फेरि, तिनीहरूले उचित पारिश्रमिक पनि दिँदैनन् । व्यक्तिगत रूपमा गरिएका अनुवादमा व्यक्तिको रुचिका आधारमा गरिने कुरा हो । त्यस्तोमा एउटै कृतिको अनेक अनुवाद पनि हुनसक्छ, तर एकजना अनुवादकले अर्को अनुवाद हेर्ने अवसर नपाएको पनि हुनसक्छ र त्यसको तुलनात्मक अध्ययनको काम नहुन सक्छ । मैले कामुको त्जभ इगतकष्मभच लाई अङ्ग्रेजी भाषाबाट नेपाली भाषामा अनुवाद गरेँ, त्यही कृतिलाई डिल्लिराज उप्रेतीले फ्रेन्च भाषाबाट नेपालीमा उल्था गरेको मैले पछिमात्र सुनेँ । उहाँको त्यो अनुवाद चाहिँ मैले अहिलेसम्म हेर्न पाएको छैन । एउटै कृतिका विविध अनुवादहरूको मूल्याङ्कन त विषयविज्ञहरूले मात्र गर्न सक्ने कुरा हो । त्यसैको आधारमा प्रभावको कुरा निरूपण गर्न सकिन्छ ।
सुवेदीले शिरीषको फूललाई तुलनात्मक रूपमा हेर्नुभयो होला । त्यो कृति मात्र नभई अरू अनुवाद पनि खासै चित्तबुझ्दो नभएको टिप्पणी गर्छन् नि विद्वान्हरू ?
त्यो हुनसक्छ । तसर्थ, अनुवादसम्बन्धी हरेक प्रकारका समस्याहरू, अनिश्चितता र दुविधाहरूलाई हटाउन राज्यस्तरमा एउटा आधिकारिक नेपाल अनुवाद प्रज्ञा प्रतिष्ठान [Nepal Translation Academy] हुनु आवश्यक भइसकेको छ अब । यस्तो प्रकारको प्रष्ठिानले गर्ने कामको फेहरिस्त चाहियो भने उचित समयमा योजना पेश गरुँला ।
उहाँको योजना छिटै सार्वजनिक होस् । म अघिल्ला प्रश्नकै शृङ्ला जोड्छु । अहिले अनुवादको लहर चलेको छ । अस्ति सामाजिक सञ्जालमा अङ्ग्रेजी भाषामा कविता अनुवादको एउटा लहर अयो । कतिपयले त गुगल अनुवादलाई नै अङ्ग्रेजी कविता भनेर सेयर गरेको पनि देखियो । यहाँले त्यस लहरका कवितालाई कसरी हेर्नुभयो ?
त्यो सिर्जनकार्यमा लागेका मानिसहरूको उत्सुकता र जागरुकताको एउटा उदाहरण हो लेखक–कविहरू केही नयाँ गरुँ भन्ने उत्सुकता बोकेर बाँचेका छन् । यसलाई म रामै्र चिन्तनधारा मान्छु । तर गुगल अनुवादका पछि लाग्नु राम्रो काम होइन । त्यो मसिनले गरेको काम भयो । मसिनमा संवेदनाविहीन औजारले काम गर्छ । अनुवादमा त्यतिले मात्र काम चल्दैन । अनुवाद भन्ने वित्तिकै त्यहाँ सिर्जना जोडिएको हुन्छ । अनुवाद शब्दको रूपान्तरण मात्र होइन । अनुवाद पुनःसिर्जना हो । असल अनुवादले मात्र कविको असल भावलाई अभिव्यक्त गर्नसक्छ । डब्लु.बि. यिट्सले गीताञ्जलीलाई जुन स्तरमा अनुवाद गरिदिए त्यो कृति त्यसरी नै अनुवाद नभएको भए रविन्द्रनाथ टैगोरले नोबेल पुरस्कार पाउने र उनको ख्याति संसारभर फैलने कुरा निकै परको विषय हुन जान्थ्यो होला भन्ने ठान्दछु म । तसर्थ अनुवाद र अनुवादकको निकै ठूलो महत्व छ भन्ने मलाई लाग्छ ।
हाम्रामा एउटा भ्रम पनि छ । कृति कुनै भाषामा अनुवाद हुँदैमा चर्चित वा राम्रो हुने त होइन होला ? कृति त मूलमै राम्रो हुनु पर्ने होला कि कसो हो ?
त्यो त निश्च नै हो नि । राम्रो नभैकन त त्यसलाई अर्को भाषामा लानुको औचित्य पनि स्थापित हुँदैन ।
दुवै भषामा विशेष दखल हुने विद्वान्ले पनि आफ्ना कृति आफै अनुवाद नगरेर अरूलाई अनुवाद गराएको देखिन्छ । जस्तो कि सुवेदीका नाटक रुघा लाएको आकाश (केयर टेकर सिक्स गाय) र ठमेलको यात्रा (जर्नी इन ठमेल), अग्निको कथा (फायर इन दी मोनास्ट्री) लाई डा. सङ्गीता रायमाझीले अंग्रेजी भाषामा अनुवाद गरेकी छन् । घनश्याम कँडेलका कृति पनि अरूले नै अनुवाद गरेका छन् । यहाँले पनि आफ्ना कथाका अनुवादक अरू नै छान्नुभएको छ । यसको कारण के हो ? क्षमता हुने ले त आफै गर्दा राम्रो होइन र ?
हो पनि, र होइन पनि । सिर्जना र अनुवाद उस्तै हुन्, अनुवादकमा सिर्जन क्षमता छैन भने उसले सर्जकको भावना बुझ्न सक्तैन र अनुवाद जीवन्त हुँदैन । तसर्थ अनुवादकसित सिर्जनक्षमता हुनु नितान्त आवश्यक छ । जहाँसम्म आफ्ना रचना आफैँले अनुवाद गर्ने भन्ने कुरा छ त्यसमा समयले साथ दियो भने हुन्छ । तर व्यस्तताका कारणले त्यो नदिन पनि सक्छ । मेरो कुरा भने अलिकति फरक छ । मैले आफ्ना केही सिर्जनालाई आफैँले पनि अनुवाद गरेको छु, तर मेरा अधिकांश कथाहरू अरूहरूद्वारा अनुवाद गरिएका छन् । त्यो काम मेरो आफ्नै योजना अन्तर्गत भएको थियो । म जुन क्याम्पसमा अध्यापन गराउँथेँ त्यहाँ कतिपय मेरै विद्यार्थीलाई उनीहरूको पढाई पूरा भएपछि मैले अध्यापकका रूपमा नियुक्त गरेको थिएँ । फुर्सदको समयमा उनीहरूको दक्षता अनुवादकार्यमा समेत विकास होओस् भन्ने हेतुले मैले उनीहरूलाई तालिम दिने हेतुले काममा लगाएको थिएँ । त्यसको प्रतिफल राम्रै भयो ।
यहाँको गुरु गुण अनुवादमा पनि जोडिएको रहेछ । यो थाहा पाएर खुसी लाग्यो । म विधागत कुरा गर्न खोज्दैछ’ नाट्य अनुवादमा रायमाझीको नाम निकै चर्चामा छ । उनले नै अनुवाद गरेको मसान चित्तबुझ्दो छ भनिन्छ । के यहाँले मसान नाटकको अंग्रेजी अनुवाद पढ्नुभएको छ ?
छैन ।
अनुवाद गराउन पनि पहुँच वा ख्याति चाहिँन्छ कि जस्तो देखिन्छ । पत्रकार नारायण वाग्लेको पहिलो उपन्यास पल्पसा क्याफे अंग्रेजी मात्र नभई फ्रेन्च, कोरियन र सिंहाली भाषामा पनि अनुवाद भएको देखियो । २०६१ सालको मदन पुरस्कार पाउन सफल यो उपन्यासलाई विकास संग्रौलाले अंग्रेजीमा अनुवाद गरेर सन् २००८ मा नेपालयले प्रकाशन गरेको थियो । यसलाई सञ्चारकर्मीहरूले सफल अनुवादका रूपमा चर्चा गरे तर विद्वान्हरूले कुनै टिप्पणी नै गरेनन् । हामी हाम्रा कृतिको अनुवाद कम पढ्छौँ, हो ?
पहुँच वा ख्यातिका लागि पनि सिक्वेन्स मिल्नुपर्छ होला । नारायण वाग्ले सामान्य पत्रकार मात्र नभएर कान्तिपुर जस्तो ख्यातिप्राप्त ब्रोडसिटका प्रधान संपादक नै भएको हुनाले उनको सामाजिक स्ट्याटस त्यति बेला पनि माथिल्लो तहमा नै थियो र प्रचार प्रसारको लागिसमेत उनी अनुकुल परिस्थितिमा थिए । उनको त्यो कृतिले मदन पुरस्कार नै पाइसकेपछि त उनको ख्याति झन् फैलियो । त्यसले स्वाभाविक रूपमा उनको पहुँच पनि बढ्न गयो । त्यसैका आधारमा त्यो कृतिलाई विविध भाषामा अनुवाद गर्ने अनुकूल वातावरणको निर्माण भयो । फेरि, पल्पसा क्याफे कृतिका हैसियतमा पनि राम्रो छ । नयाँ फ्लेभरमा आएको हुनाले त्यसले पाठकको मन तान्यो र त्यो पाठकको रोजाइमा पर्न गयो । मलाई के लाग्छ भने पहुँच वा ख्यातिको पनि केही भूमिका होला, तर त्यति मात्र होइन । मुख्य कुरो र कृति नै राम्रो हुनुपर्छ । त्यसो भएमा त्यसको लोकप्रियताको पारो स्वाभाविक रूपमा उकालो लाग्छ ।
वास्तवमा अनुवादित रचनाले एक भूगोलको सिर्जन सामथ्र्य र संस्कृति अर्को भूगोलका मानिसलाई बुझ्न सघाउने सामथ्र्य राख्छ । के हाम्रामा अनुवाद भएर आएका कृतिमा त्यो सामथ्र्यं देखिन्छ ?
अनुदित कृतिहरूको चुरो कुरो त्यही त हो नि । स्रोत भाषाका संस्कृति, सामाजिक संस्कार, रीतिथिति, चालचलन, लवाइ–खवाई अनेक कुराहरूको ज्ञान मूलकृतिले जसरी नै अनुदित कृतिले दिनुपर्ने अपेक्षा हुन्छ पाठकको । अब, हामीकहाँ भित्रिएका कृतिहरूमा त्यो समथ्र्य छ/छैन भन्ने चाहिँ अलिकति भिन्न कुरा हो । खासमा त्यो कुरा सक्षम अनुवादमा भर पर्छ । रुसी भाषाबाट नेपाली भाषामा आएका कृष्णप्रकाश श्रेष्ठका अनुवाद र अनुदित कृतिहरू अनुवाद साहित्यका उत्कृष्ठ नमुना लाग्दछन् मलाई ।
वास्तवमा कुनै पनि साहित्य एउटा सांस्कृतिक पृष्ठभूमि र विशेष समयमा रचना गरिएको हुन्छ । अनुवादपछि त्यो एउटा पृष्ठभूमिबाट अर्कोमा जाने भएकाले भूगोल, ज्ञान, चेतना आदि बहुमुखी पक्षलाई नजिक ल्याउन सघाउँछ । तर प्रायः कृतिहरू प्राविधिक अनुवादजस्ता लाग्छन् नि ?
मैले भर्खरै तपाईँलाई भनिसकेँ नि, अनुवादकको क्षमता र दक्षतामा भर पर्ने कुरा हो त्यो ।
यहाँले कुनै कृति अनुवादपछि त्यसमा आएका राम्रा–नराम्रा प्रतिक्रियाका आधारमा परिमार्जन भएको कुनै घटना सम्झनुभएको छ ?
अरूका विषयमा म भन्न सक्तिन । मेरो आफ्नै विषयमा चाहिँ, अरूहरूको प्रतिकृया भन्दा पनि पछि आफैँले दोहोर्‍याएर हेर्दा मेक्सिम गोर्कीको जीवनीलाई मैले परिमार्जनको आवश्यकता देखेँ र त्यसलाई छैटौँ संस्करणमा आएर मिहिन किसिमले परिमार्जन गरेको छु ।
कुनै कृति अनुवाद भएर अन्य भाषाका पाठकमाझ जाँदा नेपाली लेखन पनि यस्तो हुन्छ, नेपालको संस्कृति, इतिहास यस्तो रहेछ भन्ने अरूले पनि थाहा पाउँछन् । यो एउटा राम्रो पाटो हो तर यसलाई राज्यस्तरबाट कुनै पहल गरिएको पाइँदैन नि ?
यसमा म थोरै मात्र के भन्न चाहन्छु भने त्यही कमीकमजोरीलाई हटाउन मैले नेपाल अनुवाद प्रज्ञा प्रतिष्ठानको कुरा उठान गरेको हुँ । हामी सबै मिलेर यो आवाजलाई बुलन्द गरौँ, भविष्यमा कुनै एक दिन यसले आकार लिन सक्छ ।
वास्तवमा असल साहित्यले संसारको एउटा कुनाका मानिसको संवेदना अर्को कुनाका मानिससम्म पुर्‍याउने काम गर्छ । यसको सूत्राधार अनुवादक हुन्छ । अनुवादकले एउटा इतिहासलाई अर्को इतिहाससम्म, एउटा चेतनालाई अर्को चेतनासम्म र एउटा समयलाई अर्को समयसम्म पुर्याउँछ । राजनीतिक विभाजनले बाँचिरहेका मानिस र समयलाई अनुवादले जोड्छ । तर अनुवादलाई प्राविधिक कुरामा सीमित गरिएको देखिन्छ । यसको असर के हुन सक्छ ?
तपार्इंका यी सबै जिज्ञासाको उत्तर फेरि पनि उही एउटै हुन आउँछ । त्यो भनेको नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठान जस्तै नेपाल अनुवाद प्रज्ञा प्रतिष्ठानको गठन नै हो ।
यहाँले अनुवाद प्रज्ञाप्रतिष्ठानको कुरा उठाउनु भयो । यो नेपाली भषानुवाद परिषद्को अवधारणादेखिकै खड्कँदो विषय हो । यहाँ एउटा प्रश्न, नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन अनुवादको खाँचो हो कि त्योभन्दा पहिले गहिरो र राम्रो लेखनको खाँचो हो ? यहाँलाई के लाग्छ ?
राम्रा कृति र रचना सिर्जना हुनु पनि आवश्यक छ, तर अहिलेसम्म सिर्जना भएका कृतिमध्ये पनि कतिपय कृतिहरू उत्कृष्ठ छन् । तिनको राम्रो अनुवादको खाँचो छ ।
यहाँका दृष्टिमा नेपालमा पूर्णकालिन अनुवादकहरू छन् ?
छैनन् । जो अनुवाद कर्ममा लागिरहेका छन् तिनले अरू कामबाट समय बचाएर अनुवादतिर हेरिरहेका छन्।
नेपाली साहित्यमा आख्यानकार, कवि, समीक्षक नाटककार भनेजस्तै अनुवादक भन्दा लेखक वा अनुवादकले सम्मान बोध गर्ने वा समाजले आदरका दृष्टिले हेर्ने अवस्थालाई कसरी हेर्नुभएको छ ?
छ । गुलाफको फूललाई सबैले राम्रो भनेजस्तै हो यो कुरा । राम्रा अनुवादकलाई राम्रा भन्दा अनुवादकले सगर्व सम्मान बोध गर्छन् । मैले अगाडि पनि नाम लिइसकेँ कृष्णप्रकाश श्रेष्ठको । लीलाप्रसाद शर्मा अर्का एकजना सम्मानित अनुवादकको नाम हो । करुणा नेपाल, कृष्णप्रकाश श्रेष्ठ, खगेन्द्र संग्रौलाको ख्याति अनुवादकका रूपमासमेत उच्च छ । यसमा उनीहरूलाई समाजले अनुवादक भनी सम्बोधन गर्दा उहाँहरूको इज्जत बढेकै देख्छु म । नेपाली साहित्यलाई अङ्ग्रेजी भाषामा र अंग्रेजी भाषामा लेखिएका अनेक विधाका पुस्तकलाई नेपाली भाषामा अनुवाद गरी देश विदेशमा तिनको ख्याति फैलाउने काममा अनिसा रिमाल, अनुकृतिका, अनुराधा शर्मा, अभय श्रेष्ठ, अभि सुवेदी, अमृतरत्न तुलाधर, अर्जुन प्रधान, आनन्दप्रसाद श्रेष्ट, आनन्ददेव भट्ट, इडा उपाध्याय, इन्द्रविलास अधिकारी, ईश्वरीप्रसाद पाण्डे, उज्ज्वल प्रसार्इँ, उदय अधिकारी, ऋचा शर्मा, ऋद्धिबहादुर मल्ल, ऋषिकेश उपाध्याय, ओकियुमा ग्वाइन, आमचरण आमात्य, कमलमणि दीक्षित, कमला सांकृत्यायन, कल्पना घिमिरे, कृष्णचन्द्र उपाध्याय, किशोर पहाडी, केशरलाल श्रेष्ठ, खगेन्द्र संग्रौला, ग्रेटा राणा, गोविन्दराज भट्टराई, चण्डिका दवाडी, टिकाराम रेग्मी, टिकाराम शर्मा, तारानाथ शर्मा, तेजरत्न कंसाकार, दिनेश पौडेल, दीपक अधिकारी, दिवाकर देवकोटा, देवराज पौडेल, नगेन्द्र शर्मा, नमिता सिंह, नरदेवी राई, नवराज चौलागाईँ, निनु चापागाईँ, निरञ्जन बज्राचार्य, पद्मप्रसाद देवकोटा, प्रकाशमणि दाहाल, पिटर जे कार्थक, प्रतिक ढकाल, प्रवीण मोक्तान, पुष्कर समशेर, पारसमणि प्रधान, फिलिप पियर्स, बलराम अधिकारी, बलेन्द्रबहादुर कटवाल, भरतकुमार प्रधान, भूपप्रसाद धमला, मञ्जुश्री थापा, मनु मञ्जील, महेश पौडेल, माइकल हट, मुकुल दाहाल, युयुत्सु आरडी, रमा लोहनी, रमेश विकल, राजनारायण यादव, राजेश्वर थापा, रामदयाल राकेश, रामबहादुर पहाडी, लक्ष्मीप्रसाद श्रेष्ठ, लीलाप्रसाद शर्मा, विजयकुमार रौनियार, विनोद श्रेष्ठ, विश्वम्भर चञ्चल, विश्वराज सुवेदी, शरच्चन्द्र वस्ती, सूर्यनाथ मरहट्ठा, सुरेश हाचेकाली, हरि शर्मा, हरिहर खनाल, होमर श्रेष्ठ, होमलाल पाण्डे आदि झट्ट अहिले मेरो स्मृतिमा आएका केही नाम हुन् । यस बाहेक अनुवादकर्ममा नै लागेका अरू कैयन् लेखकहरूको नाम यहाँ उल्लेख हुन बाँकी छ । लेखक–कलाकारहरूको पहिचान झल्काउने लेखक कलाकार कोश भनेजस्तै अनुवादकहरूको परिचय झल्काउने अनुवादक कोशको समेत निर्माण भैसकेको अहिलेको अवस्थामा समाजले अनुवादकलाई हेर्ने दृष्टि र गर्ने ब्यवहार र दिने सम्मानमा क्रमशः परिवर्तन आइरहेको मैले महसुस गरेको छु ।
नेपालमा आकर्षक पुरस्कार भनेका मदनपुरस्कार र पद्मश्री पुरस्कार हुन् । यिनले अनुवादकलाई स्थान दिएका छैनन् । अन्तर्राष्ट्रिय स्तरमा हेर्दा बुकर प्राइज र म्यान बुकर इन्टरनेसनल प्राइजले अनुवादकलाई प्रेरणा र प्रोत्साहन दिइरहेको देखिन्छ । नेपालमा अनुवाद साहित्यको विकास र प्रोत्साहनका लागि के गर्न आवश्यक छ ?
यस विषयमा अहिले कुरा नगर्दा बेस ठान्छु म । काम गर्ने भनेको आफ्नो मानवीय कर्तव्य निर्वाह गर्ने कुरा पनि हो । मूल्याङ्कन त समयले एक दिन गरिहाल्छ । तसर्थ, ती कुरालाई मनमस्तिष्कमा नराखीकन सिर्जनकर्ममा लाग्नु राम्रो हो ।
मैले बुझेसमम्म म्यान बुकर इन्टरनेसनल प्राइज दिँदा अनुवादकलाई पुरस्कार राशिको ५० प्रतिशत दिइने परम्परा छ भन्ने बुझिन्छ । यो लेखकका लागि अन्याय वा अनुवादकका लागि न्याय के हो ?
कुनै कृतिको अनुवादका लागि अनुवादकले ४० प्रतिषत र लेखकले ६० पुरस्कार पाउँदा लेखक र अनुवादक दुवै सम्मानित भएको महसुस गर्ने येथेष्ठ ठाउँ रहन्छ ।
मेरो सीमित अध्ययनले थाहा पाएसम्म ‘हान काङको ‘भेजिटेरियन’ कृतिले म्यान बुकर इन्टरनेसनल प्राइज पायो । त्यस अवसरमा ब्रिटिस अनुवादकले पुरस्कारको राशिको ५० प्रतिशत पाए भन्ने समाचार पढेको थिएँ । मैले त्यसको नेपाली लेखकको बुझाइलाई बुझ्न मात्र खोजेको हुँ । यहाँको धारणा बुझ्न मात्र चाहेको हुँ ।
त्यसले लेखक र अनुवादक दुवैको प्रतिष्ठा बढाउँछ भनने मलाई लाग्छ ।
वस्तवमै अनुवाद भइसकेपछि कुनै भाषाको कुनै लेखकको लेखनप्रति विश्वसाहित्य बजारको थोरै भए पनि ध्यानाकर्षण हुन्छ । त्यसले भाषा र सम्बन्धित भाषा बोल्ने मुलुकको परिचय पनि गराउँछ भन्ने मलाई लाग्छ तर राज्यतहबाट हाम्रामा किन त्यस्तो पहल नभएको होला ?
हामी भर्खर्र भर्खर गणतन्त्रमा प्रवेश गरेका छौँ । धेरै लामो समयसम्म राणा शासन, त्यसपछि राजाको शासन अन्तर्गतको प्रजातन्त्र अनि पञ्चायती एकदलीय शासन र पुनः बहुदलीय सासन पद्धति र पुन राजाको प्रत्यक्ष शासन भएर लामो समय गुजार्‍यौँ हामीले । देशमा राजनीतिक स्थायित्व थिएन । बल्ल स्थायित्वतिर लागेका छौँ । भनाइमा गणतन्त्र भए पनि संस्कारगत रूपमा हामीमाथि उठ्न सकेका छैनौँ । नातावाद, कृपावाद, अन्याय, अत्याचार, भ्रष्टाचार, बेथिति, दण्डहीनता, कुसंंस्कार आदिको जालोले हाम्रो समग्र व्यवस्था र समाजलाई ढाकेको छ । यस्तो दुरावस्थाबाट राज्य आफैँ मुक्त नभएसम्म राम्रा कुरातिर उसको दृष्टि पुग्नुपर्ने हो भन्ने अपेक्षा गर्नु निरर्थक देख्छु म ।
अनुवादले लेखकलाई अझ जिम्मेवारपूर्ण लेखनप्रति उन्मुख गराउँछ भन्यो भने सही हुन्छ ?
एकदम सही कुरा हो यो । अनुवाद सहज काम हुँदैहोइन । असहज काममा हात हालेर कसैले पनि अर्को भाषा, संस्कृतिप्रति खेलबाड गर्नु हँदैन । जसको सहज पहुँच छ, उसले मात्र त्यसमा हात हाल्नुपर्छ ।
वास्तवमा लेखकहरूलाई पनि नयाँ विषय, नयाँ शैली र नयाँ परिवेशका कुरा लेख्न उत्प्रेरणा दिने पक्ष अनुवाद र कृतिको समीक्षा नै होइन र ?
केही हदमा त्यो हुनसक्छ, स्रोत भाषामा पहुँच नभएका अध्येताहरूका लागि, तर स्रोत भाषामा पहुँच हुने अध्येताहरू चाहिँ स्रोतमा नै जान चाहन्छन् । त्यसमा जुन तहको पूर्णता पाठकले प्राप्त गर्नसक्छ त्यो अनुवादमा पाउन मुस्किल हुन्छ, किनभने हामी अनुवादमा पनि प्रारम्भिक चरणमा नै छौँ ।
सरसरती हेर्दा भारतमा समेत हाम्रो साहित्यिक कृति बिक्री हुँदैन । यस अर्थमा हाम्रो साहित्यको अन्तराष्ट्रिय बजार कमजोर छ भन्ने बुझिन्छ ।
यसमा तपाईले उठाएको आसङ्का मलाई पनि ठिकै लाग्छ । करिव दुई वर्षअगाडि भारतीय कवि तथा लेखक कात्यायनी र सत्यमसित मेरो भेट भएको थियो । त्यतिबेला मैले उनीहरूसित भारतमा नेपाली साहित्य कत्तिको पढिन्छ ? भनेर सोधेको थिएँ । उनीहरूले मलाई भारतमा नेपाली साहित्यका खासै पाठक छैनन् भन्ने उत्तर दिएका थिए ।
यसलाई सरोकारवाला निकायहरू प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन वा र सरकार र दूतावास, वाणिज्य दूतावास मिलेर नेपाली किताबको बजार नेपाली बस्ती भएका मुलुकसम्म विकास गर्ने हो भने हाम्रो भषासाहित्य पनि विश्वमा पढिन्थ्यो कि ? यहाँलाई कस्तो लाग्छ ?
नेपाली साहित्य र समग्रमा हाम्रो वाङ्मयको उत्थानमा हामीले नै पहलकदमी लिनुपर्छ । अरूले गरिदेलान् भनेर बस्नु हुन्न । खासमा यस विषयमा विविध प्रज्ञा प्रतिष्ठानहरूको मूख्य भूमिका हुन्छ, किनभने संस्थागत रूपमा देश–देशबिचमा संबन्ध स्थापित गर्न यस्ता संस्थाहरूलाई सहज हुन्छ । तर संस्था हाक्ने मानिसहरूमा त्यस्तो भिजन हुनुपर्‍यो ।
सर, अनुवाद मात्रै भएर कृति चर्चित भइहाल्ने वा विश्व बजारमा पुगिहाल्ने त होइन होला ? अनुवादको गुणस्तर पनि चाहिएला ? त्यसलाई कसले प्रकाशित गरेको छ भन्ने कुरा पनि हेरिएला ? कसको सम्पादनमा आयो भन्ने पनि होला ? यहाँको अनुभव के छ ?
समष्टिमा सबै कुरा मिलेपछि मात्र सम्भव हुने कुरो हो यो ।
नेपाली लेखक र अनुवादकको शिल्प र क्षमताको विकास गर्न के गर्नुपर्ला ?
समय समयमा तत्तत् विषयमा सेमिनार गोष्ठिहरू हुनुपर्‍यो, सुला रूपमा विमर्श हुनुपर्‍यो र सम्पादन हुनुपर्‍यो । अनुवादलाई परिष्कृत गर्ने मलाई लागेका कुरा यिनै हुन् ।
नेपाली साहित्यको छिटफुट अनुवाद भए पनि तिनले नेपालबाहिर नेपाली साहित्यको पहिचान स्थापित गर्न खासै योगदान दिन नसकेको गुनासो पनि सुनिन्छ नि ? यहाँले कसरी हेर्नुभएको छ ?
त्यो त ठिकै हो । यस विषयमा अलिकति चर्चा गरिसकयौँ हामीले । मलाई लाग्छ मुख्य कुरा त हाम्रा प्रज्ञा प्रतिष्ठानहरूले विभिन्न देशमा रहेका दूतावास र सरकारी नियोगहरूका माध्यमले यसको प्रवर्धनमा सहयोग पुग्न सक्छ । दोस्रो, विभिन्न देशमा रहेका अन्तर्राष्ट्रिय साहित्य संगठनहरूका माध्यमबाट समेत यसको प्रवर्धन गर्न सकिन्छ । विदेशमा बस्ने हाम्रा इष्टमित्र र साथीभाइसित हामीले उपहार दिनु÷लिनु छ भने हाम्रा कृतिहरू दिउँ÷लिउँ, यस्ता कुराहरूलाई प्राथमिकता दिउँ । यसले पनि केही मात्रामा सहयोग मिल्न सक्छ ।
मैले थाहा पाएसम्म महेश पौडेल, दिनेश काफ्ले र विमल अधिकारी, सुरेश हाचेकाली जस्ता युवा पुस्ताको अनुवाद कला निकै बलियो जस्तो लाग्छ । यहाँले नयाँ पुस्ताको अनुवाद कलालाई कसरी हेरिरहनुभएको छ ?
हामीले सामान्य हिसाबमा सोचेभनदा रामो छ नयाँ पुस्ताको प्रयास । हाम्रो भविश्य आशा लाग्दो र उज्ज्वल छ ।
विश्व बजारमा नेपाली साहित्य जानुअघि नेपाली लेखनको स्तर बलियो हुनुपर्ने हो नि होइन ? के नेपाली प्रकाशकहरूले गुणस्तरीय साहित्य प्रकाशन गरिरहेका छन् ?
केही प्रकाशकहरूले निकै राम्रो गुणस्तरीय काम गरेका छन्, तर केही प्रकाशकहरू भने त्यो उचाइमा पुग्न सकेका छैनन् । त्यसो हुनको लागि त कर्ताको सोचाइमा परिवर्तन आउनु जरुरी पर्छ ।
नेपाली भषा वाङ्मयको अग्रणी संस्था नेपाल प्रज्ञाप्रतिष्ठान । यस संस्थाको अनुवाद विभाग पनि छ । त्यहाँका कतिपय परियोजनासँग यहाँ पनि संलग्न हुनुहुन्छ । त्यहाँबाट भइरहेका कामलाई कसरी हेर्नुभएको छ ?
अघिल्ला अवधिहरूमा त्यहाँबाट मैले केही काम गरेको भए पनि पछिल्लो संरचना निर्माण भएपछि मलाई कसैले बोलाएको छैन, नबोलाइकन जाने कुरा भएन । तसर्थ, हालको गतिविधिसित म परिचित छैन । पहिलेका केही काम राम्रै भएका थिए भन्ने लाग्छ मलाई ।
मलाई लाग्छ कृतिहरू असल अनुवादकले असल अनुवाद गरेर स्तरीय र आधिकारिक प्रकाशकले प्रकाशन गरेर सम्बनिधत बजारमा पुर्‍याउनुपर्छ । के यो भइरहेको छ त ?
तपाईको पहिलो मान्यतासित म सहमत छु । पछिललो कुराको सम्बन्धमा, केही प्रकाशकहरूले बजारलाई मात्र हेरेर हल्ला फिँजाएको भरमा दाम बटुल्ने प्रयत्न पनि गरेको देखिन्छ । तर त्यो पद्धति ठिक होइन । गुणस्तरीय प्रकाशनतिर लाग्नु नै राम्रो उपाय हो ।
हाम्रामा धेरै रहरको लेखन र अनुवाद देखिन्छ । कतिपय त पैसाका लागि अनुवाद भइरहेको देखिन्छ । गुगल अनुवादलाई नै अनुवाद मानिएको देखिन्छ । यसको दीर्घकालीन प्रभाव के होला ?
मसिन अनुवादका विषयमा म यस अघिनै बोलिसकेको छु । अनुवादकार्य जिममेवारीपूर्ण हुनुपर्छ भन्ने मेरो मान्यता छ ।
हाम्रामा अन्य भाषाबाट नेपाली भाषामा अनुवाद निकै नै भएको पाइन्छ । आवश्यकता अरू भाषाका सामग्री पढ्न पाउने बढी हो कि हाम्रा सामग्री बाहिर जानुपर्ने बढी हो ?
दुइटै कुरा हो भन्ने ठान्छु म । अरूले पढ्नका लागि अरूको ध्यान तान्न सक्ने खाललका कृति हामीसित हुनुपर्‍यो । केही राम्रा कृति होलान्, तर तिनको सुव्यवस्थित रूपमा अनुवाद हुन सकेको छैन । व्यक्तिगत रूपमा कसैले सामान्य चाख लिएर गरिएको अनुवादले मात्र पर्याप्त हुँदैन ।
फेरि हामीले यहाँ अरू देशको भाषामा अनुवाद गर्ने विषयमा धेरै चर्चा गर्‍यौँ, हाम्रो देशभित्रैका अन्तर्भाषाका साहित्यलाई एक अर्काका भाषामा समेत अनुवाद हुनु नितान्त आवश्यक छ भन्ने लाग्छ मलाई । नेपाल उउटा सानो भूगोल भएको देश हो । यति सानो मुलुकमा पनि लगभग १२३ भाषाभाषी बोलिन्छन् । यीमध्ये कतिको कथ्यरूप र लेख्यरूप दुवै छ, कतिको भने कथ्यरूप मात्र छ । प्रयोगका हिसाबले पनि यीमध्ये करिव चालिसको हाराहारीमा सक्रिय भाषा छन् जुन स्थानीय तहका रेडियो एफ्.एम्.मा नियमित रूपमा प्रसारण भैरहेका छन् । गोरखापत्र मातृृभाषाका लागि केही पृष्ठ छुट्ट्याइएको छ जहाँ ३५ भन्दा बढी भाषाले स्थान पाएका छन् । तर त्यो पर्याप्त छैन । त्यहाँ आएका सामग्रीलाई सँगसँगै सम्पर्क भाषा नेपालीमा पनि दिनुपर्ने आवश्यकता छ ।
अनुवादले साहित्यको बजारलाई हस्तक्षेप गर्न सकेन भन्ने प्रकाशक वा व्यवसायी र जानकारको पनि आरोप छ ? यहाँ के भन्नुहुन्छ ?
व्यवस्थित अनुवादको अभावमा यस्ता गुनासाहरू आउनु स्वभाविकै हो । तसर्थ व्यवस्थित अनुवादको आँचो छ । त्यो पूरा गर्नका लागि मैले माथि औँल्याएजस्तो अनुवाद प्रज्ञा प्रतिष्ठानको खाँचो छ ।
डायमन्डशमशेर राणाको ‘सेतो बाघ’को चर्चा विदेशीले पनि गरेको पाइन्छ । त्यो शमशेरको पहुँचले हो कि कृतिको महत्वले हो ?
ती दुवै कुरा भन्दा पनि त्यसको अनुवादकको भाषिक क्षमताका कारणले भएको हुनसक्छ । ग्रेटा राणाले उनको मातृभाषामा अनुवाद गर्दा शब्दचयनदेखि उनको भााषिक फ्लोमा जुन सहजता त त्यही स्तरमा पछि प्राप्त गरेको दोस्रो भाषामा अरू नेपालीहरूलाई नहुन सक्छ ।
अरू भाषाबाट नेपालीमा अनुवाद भएर आएका कृतिको यहाँले गुणस्तर मापन गर्नुभएको छ ?
त्यसरी त हेरेको छैन ।
संसारभरि अंग्रेजी भाषाको प्रभाव भएकाले अंग्रेजीमा अनुवाद गर्नु सबैभन्दा उत्तम हुन्छ भन्ने आम बुझाइछ । चिनियाँहरूले त उनका सामग्री गुगलले नै विश्वमा पुर्‍याउने बनाइसके नि प्रविधि र भाषाको कस्तो सम्बन्ध हुन्छ ?
यस विषयमा पनि मैले अगिल्ला प्रश्नमा नै बोलिसकेको छु । मसिनमा संवेदना हुँदैन । त्यसले गर्ने अनुवाद पनि कृत्रिम हुन्छ ।
अनुदित कृतिले र त्यसमा पनि विश्वभाषा वा अन्तराष्ट्रिय भाषामा अनुदित कृतिले देशका र समाजका सीमा तोडेर फरक संस्कृति, भूगोल, समुदाय र रहनसहनका पाठकलाई पनि जोड्छ । यो सत्य हो तर आफू अनुकूल नहुने संस्कृति र समाज पढ्न मानिसलाई कतिको रुचि हुन्छ ?
नयाँ कुरो जान्ने चाहना मानिसमा अधिक मात्रामा हुन्छ ।
अनुवादले नेपाली समाज, संस्कृति, धर्म, लोकविश्वास, इतिहास, लोकमिथक र राजनीतिक विषय संसारभरका पाठकले पढ्ने अवसर सिर्जना गर्छ । यो देशकै लगि गौरवको कुरा हो । यस्तो काम व्यक्ति वा निजी संस्थाले मात्र गर्न सक्छन् ?
स्वेच्छाले केही मानिसले गरे पनि सबैका लागि सहज कुरा होइन । केही वर्ष अघि ऋग्वेदलाई एकैजना व्यक्तिले आफ्नै पहल र खर्चमा अन्य भाषामा अनुवाद गराएको कुरा संझन्छु । तर त्यस्तो कुरा गर्नका लागि आम लेखकका लागि सम्भव हुँदैन ।
नेपाली लेखकको आख्यान लेखन राम्रो भए पनि गैरआख्यानमा त्यस्ता उल्लेख्य कृति नभएको आरोप छ नि ? यहाँले कसरी हेर्नुभएको छ ?
मलाई त त्यस्तो लाग्दैन । आख्यान बाहेक नेपाली लेखकका सुन्दर निबन्धहरू र कविताकृति अनि नाटकहरू पनि अन्य भाषामा जान थालेका देखिन्छन् ।
नेपाली साहित्यलाई विश्वबजारमा पुर्‍याउन सरकारले नै अन्तर्राष्ट्रिय प्रकाशन गृह र सरोकारवालासँग समन्वय गरेर अन्य भाषामा अनुवाद हुने व्यवस्था मिलाउन सके राम्रो हुन्थे भन्ने देखिन्छ । यसका लागि यहाँको सुझाव के छ ?
यस विषयमा पनि मेरा धारणाहरू अघि नै राखिसकेको छु मैले । त्यस कार्यलाई राज्यस्तरबाट हेर्नुपर्छ ।
अनुवादक तयार गर्न संस्थागत रूपमै काम गर्नुपर्ने चेतना राणा कालमै नेपाली भषानुवाद परिषद्ले ल्याएको थियो । प्रजातान्त्रिक गणतानित्रक शासकहरूको ध्यान किन त्यतातिर निरन्तरित हुन सकेको छैन ? के हाम्रो राजनीति बौद्धिकतामा क्षय हुँदै गएको हो ?
अब हामीले यस विषयमा यति बहस चलाएपछि बिस्तारै यस कामले पनि आकार लिँदै जाने कुरामा म आशावादी छु ।
यहाँ अंग्रेजीको विद्वान् हुँदा मैले अंग्रेजी–नेपाली भषाबिचको अनुवादको मात्रै कुरा गरे जस्तो भयो । नेपाली कृतिलाई हिन्दी, बंगाली, मैथिली, भोजपुरी आदि भाषामा पनि अनुवाद गर्न सकिन्छ । यसरी एसियाली भाषामा अनुवाद गरेर केही भारतीय प्रकाशन गृहहरूले ती समुदायको मन जित्न सफल भएको पनि देखिन्छ । हामीसँग संस्कृत भषाको संवृद्धशाली परम्परा पनि छ । अनुवादमा यी क्षेत्रको भूमिका कस्तो रहला ?
मैले केही बेरअगाडि मात्र यस विषयमा अलिकति सङ्केत गरिसकेको छु । यहाँले औल्याएका भाषाहरूका साथै अरू पनि हाम्रा क्षेत्रीय भाषा र स्थानीय भाषिकाहरूका कथ्य र लेख्य साहित्यको पनि अनुवादको उचित व्यवस्था हुनुपर्ने पक्षमा छु म ।
अहिले अङ्ग्रेजीको प्रभाव बढी छ । अंग्रेजीमा दख्खल राख्ने, राम्रो भाषा सम्पादन गर्ने क्षमता भएका अनुवादकको सङ्ख्या चाहिँ कस्तो देख्नुहुन्छ ?
त्रिभुवन विश्वविद्यालयले अहिले यस्तो जनशक्ति आवश्यक मात्रामा तयार गर्दै लगिरहेको देख्छु म । अहिलेका लागि यो स्वागतयोग्य र भविश्यका लागिसमेत निकै आशालाग्दो कुरा हो भन्ने मलाई लागेको छ ।
हरि सर अंग्रेजी भाषामा दख्खल हुँदैमा मात्र अनुवादित साहित्य राम्रो भइहाल्छ भन्नु उपयुक्त हो र ? डिग्री त कक्षा चढ्ने लाइसन मात्र होइन र ?
यसमा य यहाँसित सहमत छु ।
लेखकको आफ्नै शैली र भाव विचार हुन्छ । त्यो शैली, भाव र विचारलाई तल–माथि नपारी कलाको पनि उचाइ दिँदै अनुवाद गर्नु त कठिन काम हो भन्ने मेरो बुझाइ छ । यहाँको अनुभव थाहा पाऊँ न ।
यसमा मेरो कुनै फरक मत छैन । म पनि त्यही विचारको मान्छे हुँ । मैले यी कुरालाई आफ्नो अनुवादकार्यमा पालना गरेको छु मन्ने मलाई लाग्छ । त्यसमा पनि मैले The Outsoder को अनुवादमा निकै राम्ररी काम गर्न सकेकोजस्तो लाग्छ । हतार नगरीकन आफ्नो सम्पादन सम्भव भए अर्को आफूभन्दा राम्रो जान्ने विषेशज्ञलाई देखाउने, त्यो हुन नसके आफैँले पूर्ण परिष्कार नआएसम्म दोहोर्‍याइरहने गर्नुपर्छ भन्ने म ठान्दछु ।
नराम्रो अनुवाद ले त साहित्यलाई मार्छ नि होइन ? कि म गलत छु ?
पूरै सही हो । म यसमा अर्को मत राख्नुपर्ने आवश्यकता देख्तिन ।
नेपाली बौद्धिक जगत् वा राज्यका निकायले विदेशी सांस्कृतिक केन्द्रसँग सहकार्य गरी राम्रा कृतिको अनुवादलार्ई प्रवद्र्धन र प्रोत्साहन गर्ने सम्भावना कत्तिको प्रवल देख्नुहुन्छ ?
अब हामीले त्यो बाटो अवलम्बन गर्ने होइन । केही वर्ष अगाडि भारतीय राजदूतावासको सहयोगमा केही नेपाली कविहृका कविता सङ्कलन र अनुवाद गरी त्यसरी नै छपाएर विक्री–वितरण भएको थियो । अब हामीले त्यसो गर्न हुन्न । मैले पहिले नै बताएजस्तो आफ्नै संरचना तयार गरी समग्रमा औचित्य स्थापित गर्ने हो । यस्तो बेला आइसकेको छ ।
बी.पी. कोइरालाका ‘तीन घुम्ती’, ‘मोदिआइन’, ‘सुम्निमा’, ‘नरेन्द्र दाइ’, ‘आफ्नो कथा’ हिटलर र यहुदी जस्ता कृति हिन्दी र अङ्ग्रेजी भाषामा अनूदित भएको पाइन्छ । ‘जेल जर्नल’ पनि अनुवाद भए जस्तो लाग्छ । ती कुनै कृतिमा यहाँको दृष्टि परेको छ ?
हिट्लर र यहुदी हेर्न पाएको छु ।
विश्व सन्दर्भमा हेर्दा रसियनहरू संस्कृति प्रेमी देखिन्छन् । नेपाली भषामा मात्र हेर्दा पनि रसियन साहित्यकारहरू आन्तोन चेखोभ, म्याक्सिम गोर्की, मिखाइल सोलोखोभ, निकोलाई गोगोललगायतका ५० अधिक कृतिको नेपाली भाषामा अनुवाद भएको पाइन्छ । नेपालमा रुसी सांस्कृतिक केन्द्र पनि छ । हाम्रो जस्तो मुलुकले यसरी सांस्कृतिक केन्द्रहरू विस्तार गर्न र आफ्नो भाषा साहित्य एवम् संस्कृति विस्तार गर्न सक्ने सम्भावना कतिको देख्नुहुन्छ ?
अबको धारणा यसभन्दा फरक हुनुपर्छ । त्यसले सम्भावनाका नयाँ क्षितिजहरू आफैँ उघार्दै जान्छ ।
नेपाली साहित्यका कृतिहरू अन्तर्राष्ट्रिय भाषामा कम अनूदित हुनुले नै नेपाली साहित्य विश्व बजारमा पुग्न नसकेको हो कि राज्यको निराशाले ?
यसमा अरू पनि कारण हुन सकछन् । तसर्थ, यसलाई यत्तिमै सीमित नगरौँ ।
कविताको अनुवाद हुन सक्तैन पनि भनिन्छ, भई पनि राखेका छन् । सीताराम अधिकारी जस्ता केही अनुवादकले शास्त्रीय लयका कविता शास्त्रीय लयमै अनुवाद पनि गरिरहनुभएको छ । अभि सुवेदीले ‘आधुनिक जापानी कविता’, ‘पोइम्स अफ द सेन्चुरी’, ‘भोइस फ्रम नेपाल’ ‘बियोन्ड बोर्डर्स : एन एन्थोलजी अफ सार्क पोयट्री’ लगायत आधा दर्जनभन्दा बढी कविताका कृतिहरू अनुवाद गर्नुभएको छ । पद्म देवकोटाले पनि कविताका क्षेत्रमा थुप्रै काम गर्नुभएको छ यहाँले कविताको अनुवादलाई कसरी हेरिरहनुभएको छ ?
केही सक्षम अनुवादकहरू छन्, त्यो राम्रो कुरा हो । त्यसमा थप सुन्दरता जोड्नका लागि हाम्रा सुझावहरू कार्यान्वयन हुनुपर्छ ।
‘विश्वका राम्रा रचनाहरू’ अरू भाषाकाले पनि जानुन् भनेर अत्यन्त सङ्कटको अवस्थामा समेत अनुवाद भएको पाइन्छ । अहिले त प्रविधि पनि सहायक बनिरहेको छ । यहाँले अनुवादको भविष्य कस्तो देखिरहनुभएको छ ?
फराकिलो र उज्यालो देखिरहेको छु ।
‘देवदास’, ‘सार्क मुलुकका महिला कथाकारका कथा’ र ‘रवीन्द्रनाथ टैगोरका कथाहरू’ आदि वर्तमान समयमा मैले पढेका प्रज्ञाले अनुवाद गराएका कृति हुन् । यसरी आधिकारिक संस्थाबाट आएका अनुवाद र अन्य अनुवादमा यहाँले के कस्तो अन्तर पाउनुभएको छ ?
दुुवैथरि अनुवादमा गुण-दोष बराबरजस्तै देख्छु म ।
संस्कृत भषालाई एशिया र युरोपमा बोलिने धेरै भाषाको मूल मानिन्छ । संस्कृत भाषामा लेखिएका प्राचीन ग्रन्थहरूमा पूर्वीय सभ्यता र ज्ञानको भण्डार मानिन्छ । संसारका ठूला विश्वविद्यालयहरूले यसबारे अध्ययन तथा अनुसन्धान गरिरहेका छन् । हाम्रो चासोचाहिँ किन त्यतातिर कमजोर हुँदै गएको होला ?
मैले पहिल्यै नै भनिसकेँ नि, तर विस्तारै हामी पनि भविश्यमा त्यताको बाटो हिड्छौँ ।
यहाँले समय दिएर यति महत्वपूर्ण विचार राखिदिनुभएकामा हार्दिक धन्यवाद ।
मलाई विश्वाससाथ अनुवादका विषयमा यति महत्वपूर्ण विचार राख्ने मवसर दिएकामा तपाईँलाई पनि धन्यवाद । तपाईँको सञ्चारमाध्यम साहित्यसागरलाई पनि धन्यवाद ।

ट्रकले ट्र्याक्टरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

0

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित सडकखण्डमा आज ट्रकले ट्र्याक्टरलाई ठक्कर दिँदा ट्र्याक्टर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्र्याक्टर चालक बारा जिल्ला दक्षिण झिटकैया–८ का ३५ वर्षीय जलिल मियाँ मन्सुरी रहेको प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो । घाइतेको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पूर्वबाट पश्चिततर्फ जाँदै गरेको ना६ख ३४२५ नंको ट्रकले सोही दिशाबाट जाँदै गरेको ना६त ६१९९ नंको ट्र्याक्टरलाई पछाडिबाट ठक्कर दिएको थियो । यता ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको र उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
–––

धादिङमा जिउँदै मान्छे पुर्ने डोजर चालक भारतबाट पक्राउ

0

गत फागुन २७ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घटनाका दोषी जेसिबी चालक भीमबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनापछि फरार भएका अभियुक्त बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी अनिल घिमिरेको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । सिआइबीले शुक्रबार पत्रकार सम्मेलन गरी अभियुक्त पक्राउबारे जानकारी दिएको हो ।

२०७७ साल फागुन १७ गते दिउँसो अन्दाजी साढे २ बजेको समयमा धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ मा रहेको खोल्सी भन्ने स्थानमा भित्री सडक सफा गर्दै गर्दा सोही स्थान बस्ने ४० वर्षीय सरस्वती कुमाललाई ठक्कर दिई घाइते बनाएपछि खाल्डो खनेर पुरिएको थियो ।
प्रदेश नम्बर ३–०१–००३ क ६५६४ नम्बरको जेसिबीले माटो फाल्ने क्रममा डोजरको बकेटले लागेर घाइते भएकी महिलालाई खाल्डो खनेर जिउँदै पुरेको प्रहरीको दाबी छ । तर खाल्डो खनेर पुर्दै गरेको अवस्थामा स्थानीयले देखेपछि उनको उद्दार गरिएको थियो । यद्यपि उद्धारकै क्रममा महिलाको मृत्यु भएको थियो ।

हत्यापछि धादिङबाट फरार भएका चालकलाई झण्डै ३ सातापछि भारतको हरिद्वारबाट पक्राउ गरी नेपाल ल्याएको हो । यद्यपि सिआइबीले भने नेपाल भारत सिमाको गड्डाचौकीबाट पक्राउ गरेको दाबी गरेको छ ।

महान्यायाधिवक्ता खरेलले दिए राजीनामा

0

महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् ।

शुक्रबार पत्रकार सम्मेलनमार्फत उनले महान्यायाधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फागुन ८ गते खरेललाई महान्याधिवक्तामा नियुक्त गरेकी थिइन्। खरेल प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा २० बमोजिम महान्यायाधिवक्तामा नियुक्त भएका थिए ।

झापाको गौरादह निवासी खरेल २०६४ र २०७० को संविधानसभा सदस्य रहेका थिए । प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालमा कानुनमन्त्रीको जिम्मेवारीमा रहेका उनी नेपाल बार एशोसिएसनका पूर्व महासचिवसमेत हुन्। महान्यायाधिवक्ताको जिम्मेवारीमा रहनुअघि उनी एमालेको पोलिटब्युरो सदस्य थिए ।