Saturday, May 2, 2026
Home Blog Page 1277

ब्राउनसुगरसहित ६ जना पक्राउ

0

उदयपुर जिल्लाको चौदण्डी नगरपालिका–४ फत्तेपुर रामपुर सडकखण्डको नमूनाचोकबाट प्रहरीले ब्राउन सुगरसहित ६ युवालाई पक्राउ गरेको छ ।

सोमबार साँझ सप्तरीको फत्तेपुरबाट बेल्टार आउँदै गरेको दुईवटा अटोमा जाँच गर्दा लागुऔषध ब्राउनसुगरसहित ६ युवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताउनुभयो ।

पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका–१३ का ३० वर्षीय खगेन्द्र राई, २४ वर्षीय दीपक राई, २४ वर्षीय हरि खड्का, चौदण्डीगढी नगरपालिका–५ का २३ वर्षीय सुनिल राई रहेको जिल्ला प्रहरी उदयपुरले बताएको छ । यस्तै सप्तरी जिल्ला कङ्कालिनी नगरपालिका–७ का २५ वर्षीय ऋषिकुमार क्षेत्री र २० वर्षीय बब्लु मुखिया रहेको उदयपुर प्रहरीले बताएको छ ।

उनीहरुको साथबाट ३।९ ग्राम ब्राउनसुगर, सात बोतल कोरेक्स तथा केही गाँजा बरामद भएको प्रहरी कार्यलय उदयपुरले बताएको छ । पक्राउ गरिएका छ जनालाई इलाका प्रहरी कार्यालय बेल्टारमा राखेर अनुसन्धान शुरु गरिएको प्रहरीले बताएको छ ।
–––

सेयर बजारमा फेरि उछाल, कारोबारमा पनि उत्साह

0

काठमाडौं : राजनीति अन्योलबीच पनि सेयर बजारमा गजब उछाल देखिएको छ। गत साता नै बुलिस ट्रेन्डमा फर्किएको सेयर बजार साताको पहिलो दिन आइतबार पनि पुरै हरियाली भएको छ।

 कारोबार सुरु भएदेखि नै निरन्तर उकालो लागेको आइतबार बजार परिसूचक नेप्से ६३.३८ अंकले बढेर  २५३८.४७ विन्दुमा पुगेको छ।  परिसूचक उकालो लागेसँगै कारोबार अंकमा उत्साह बढिरहेको छ। आइतबार करिब छ अर्बको कारोबार भएको छ।

सेयर बजार अब फेरि बुलिस लयमै फर्किएको विश्‍वास लगानीकर्ता गरेका छन्। पुँजी बजारका लगानीकर्ताहरूले राजनीतिक घटनाक्रमलाई बेवास्ता गर्दै आत्मविश्‍वासका साथ लगानी गर्न थालेका छन्।

सेयर बजार परिसूचक फागुन ९ गते अहिलेसम्मकै सर्वाधिक उच्च बिन्दु २६४०.३५ अंकसहित ऐतिहासिक उचाइ चुमेको थियो। त्यसपछि ओरालो लागेको बजार  २३८९.१९ विन्दुमा झरेको थियो ।

नेप्सेका सबै परिसूचक हरियो भए पनि लघुबित्त र विमामा विशेष आकर्षण देखिएको छ। आइतबार नेप्सेमा १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर मूल्यमा सकारात्मक सर्किट लाग्नेमा स्वरोजगार, मिथिला, सूर्योदय, सामुदायिक र समिट लघुवित्त रहेका छन् । यस्तै, चन्द्रागिरि हिल्स, किसान  लघुवित्त, स्वाभिमान माइक्रोफाइनान्स र युनाटेड इदी मार्दी हाइड्रोपावर रहेका छन् ।

राजनीतिक अन्योलबाहेक बजार घट्नुपर्ने कुनै कारण नभएकोले बजार बुलिस ट्रेन्डमै अघि बढ्ने बजार विज्ञहरूले बताएका छन्।  चैतपछिको समयलाई त्यसै पनि सेयर बजारका लागि ग्रिन सिजन मानिन्छ। चैतपछि कम्पनीहरूको तेस्रो त्रैमासिक रिपोर्ट आउने भएकोले त्यसको आंकलन र अपेक्षामा बजार थप उत्साह आउने देखिन्छ।

अन्नपूर्णबाट साभार

फेरि कोरोनाको त्रास

0

काठमाडौं : छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण दिनदिनै बढेपछि नेपालमा फेरि जोखिम देखिएको छ। कोरोना संक्रमण बढ्न सक्ने अवस्था रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न आग्रह गरेका छन्। कोरोना रोकथाम गर्न जनस्वास्थ्यका मापदण्ड पालना गर्दै सामाजिक र भौतिक दूरी कायम गर्न, अनिवार्य मास्क प्रयोग गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ।

यस्तै, स्वास्थ्य विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय सरकारलाई नयाँ निर्देशन जारी गरेको छ। स्थानीय तहका स्वास्थ्य सम्बद्ध निकायलाई थप संक्रमण फैलन नदिन ‘केस इन्भेस्टिगेसन’ र ‘कन्ट्र्याक्ट ट्रेसिङ’मा जोड दिन भनिएको हो।

‘संक्रमण हुन सक्ने क्षेत्र हट स्पट पहिचान गरी समुदायमै एन्टिजेन टेस्ट गर्न अनुरोध गर्दछौं वा पीसीआर जाँच गर्न सकिनेछ’, महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने। स्थानीय तहका अस्पताल एवं स्वास्थ्य संस्थालाई महामारी व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशक डा. पौडेलले भनेका छन्।

भारतका विभिन्न प्रान्तमा बढिरहेको कोरोना कुन ‘भेरियन्ट’ हो भन्ने यकिन भइनसकेको डा. पौडेलले बताए। ‘भारतका केही सहरमा लकडाउन, रात्रिकालीन कफ्र्युसमेत अवलम्बन गरेको देखिन्छ’, उनले भने, ‘ती प्रान्तमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनी नेपाल फर्कने र उहाँहरूसँगै कोभिड नेपाल फर्कने जोखिम कायम छ।’

सीमावर्ती सबै प्रवेश विन्दुमा रहेका हेल्थ डेस्कमा स्क्रिनिङ गर्न, सम्भव भए कोभिड १९ को एन्टिजेन जाँचको पनि व्यवस्था मिलाउन जिल्ला स्वास्थ्य कार्यालय र हेल्थ डेस्कलाई भनिएको छ। ‘एन्टिजेन पोजिटिभ आएको अवस्थामा नजिकको स्वास्थ्य संस्था/अस्पतालसँग समन्वय गरी कोभिड १९ उपचार व्यवस्थापनका लागि स्थानीय निकाय (गाउँपालिका, नगरपालिका, अस्पताल र प्रयोगशाला)लाई अनुरोध गरिएको छ’, उनले भने। यसैगरी सीमावर्ती प्रवेश विन्दुमा नेपाल प्रवेश गर्ने व्यक्तिले क्वारेन्टाइनको नियम पालना गर्न र सर्भिलेन्स चुस्त बनाउन अनुरोध गरिएको छ। ‘पीसीआर र एन्टिजेन टेस्टका साथै कन्ट्र्याक्ट टे«सिङमा पनि जोड दिइएको छ’, उनले भने।

विज्ञ भन्छन्, ‘कमजोरी नदोहोर्‍याऔं’
जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले अहिलेदेखि नै सावधानी अपनाउन नसके होलीपछि संक्रमण बढ्न सक्ने बताए। ‘भारतमा रोजगारीबाट फर्केका नेपालीबाट गाउँ–गाउँमा संक्रमण फैलने सम्भावना बलियो छ। नयाँ वर्षसँगै कोरोना संक्रमणको दोस्रो लहर देखा पर्न सक्छ’, डा. मरासिनीले भने।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले भारतमा फैलिएको संक्रमणबाट नेपाल अछुतो रहने सम्भावना न्यून रहेको बताए। ‘अब मुलुकभित्र पनि संक्रमणविरुद्ध रणनीति तयार पार्नुपर्छ। एक वर्षको अनुभवबाट कमजोरी दोहोर्‍याउनु भएन। नागरिकले पनि हेलचेक्र्याइँ गर्नु हुँदैन। अहिले पनि संक्रमण बढ्न दिने/नदिनेमा नागरिकको पनि हात छ’, डा. पुनले भने।

करेन्ट लागेर मृत्य

0

दार्चुला : दार्चुलामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको दुहूँ गाउँपालिका ३ का अन्दाजी ५५ वर्षीय पदमबहादुर बमको विद्युत पोलबाट लिक भएको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख मनोहर प्रसाद भट्टले बताए। उनका अनुसार आइतबार मौरी घार हेर्न गएका बेला करेन्ट लागेर उनको ज्यान गएको हो  ।

घार हेर्न गएका बम आइतबार अबेरसम्म नफर्केपछि खोजी गर्दा नौ बजेतिर विद्युतको पोल नजिक मृत अवस्थामा फेला परेका थिए। घट्नाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

भागरथी हत्या प्रकरण : धम्क्याएर आरोप स्विकार्न लगाएको दाबी

0

कञ्‍चनपुर — बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या प्रकरणमा अभियुक्तका रूपमा सार्वजनिक गरिएका किशोर निर्दोष रहेको उनको परिवारले दाबी गरेको छ ।दीपकराज भट्ट आइतबार महेन्द्रनगरमा । तस्बिर: कान्तिपुर

प्रहरीले फागुन ५ मा अभियुक्त सार्वजनिक गरेका सोही गाउँका १६ वर्षीय किशोरका बुबा दीपकराजले छोरालाई धम्क्याएर फसाइएको बताएका हुन् ।

अभियुक्त किशोर अहिले डोटीको सिलगढीस्थित बाल सुधार केन्द्रमा छन् । बुबा र भाइलाई मार्ने धम्की आएपछि प्रहरीसमक्ष अपराध स्विकारेको बताएको दीपकराजले बताए । ‘मैले मारेको हुँ नभने तेरो बुबा र भाइलाई मारिदिन्छौं भन्ने धम्की आएको थियो,’ छोराको भनाइ उद्धृत गर्दै आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘भागरथीको हत्या हुँदा मैले देखेको हुँ, एउटाले मास्क लगाएको थियो, चिन्न सकिनँ । अर्कोलाई राम्ररी चिन्छु, ती दोगडाकेदार गाउँपालिकाकै प्राविधिक कर्मचारी हुन् ।’

दीपकराजका अनुसार माघ २१ गते विद्यालयबाट घर गइरहेका बेला उनका छोराले बाटोमा उक्त घटना देखे । घटनामा संलग्न दुईमध्ये एकले घाँटीमा चक्कु राखेर उक्त कुरा कतै नखोल्न धम्क्याएका थिए । ‘तेरो बुबा र भाइ अस्पताल गएका छन्, कतै भनिस् भने दुवैलाई मारिदिन्छौं भनेर धम्क्याएका रहेछन्,’ छोरालाई भेटेर फर्केका उनले भने, ‘त्यही भएर अपराध स्विकारेको हुँ भन्छ ।’ उनका कान्छा छोरा विनोद सुस्त मनस्थितिका छन् । घटना हुनुभन्दा केही दिनअघि उनको दायाँ हात पनि भाँचिएको थियो । त्यसकै उपचारका लागि दीपकराज नियमित रूपमा डडेलधुरा आउजाउ गरिरहन्थे ।

पछिल्लोपटक दीपकराज गाउँ छाडेर परिवारसहित महेन्द्रनगर बसाइँ सरेका छन् । उनलाई शुक्रबार बाल सुधार गृहबाट फोन गरेर उनका छोराले केही कुरा गर्न भन्दै बोलाएका थिए । शनिबार सिलगढीमा छोरालाई भेटेर आइतबार महेन्द्रनगर फर्किएका हुन् । ‘अब तपाईंले गाउँ छाड्नु भो, उसले केही गर्न सक्दैन, सत्य कुरा गर्दै छु भन्दै मसँग रुन थाल्यो,’ दीपकराजले भने, ‘त्यतिबेला मेरै सामुन्ने अपराध स्विकारिस्, अहिले मैले गरेको होइन भन्छस् भनेर मैले सोध्दा पनि उसले सत्य कुरा यही हो भन्यो ।’ उनका अनुसार दिनेशले सुधार गृहका सुरक्षाकर्मीकै अगाडि उक्त कुरा भनेका थिए ।

दीपकराजले वास्तविक अपराधीलाई छाडेर निर्दोषलाई फसाउन खोजिएको भन्दै न्यायका लागि हारगुहार गरे । माघ २१ गते बलात्कारपछि हत्या गरिएकी भागरथीको घटनाको मुख्य आरोपितका रूपमा प्रहरीले फागुन ५ गते ती किशोरलाई पक्राउ गरेको थियो । घटनाको अनुसन्धानमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी आफैं खटिएका थिए । आरोपित सार्वजनिक गरेपछि मात्रै सुवेदी धनगढी फर्केका हुन् । जिल्ला अदालत बैतडीले ती किशोरलाई बाल सुधार केन्द्र पठाएको हो । छोरासँगैका साथी स्कुल गइरहेको देखेर दुःख लागेपछि गाउँ छाडेर आएको उनले बताए । ‘गहुँ छरेको थिएँ, त्यत्तिकै छाडेर आएँ,’ उनले भने, ‘अब गहुँ पाकेपछि काट्न जान्छु ।’

सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी सुवेदीले तथ्य र प्रमाणसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको र सोहीअनुसार अदालतमा मुद्दा दायर भई प्रतिवादी पुर्पक्षका लागि गइसकेकाले थप बोल्न नमिल्ने बताए । प्रहरीका अनुसार आरोपितसँग अभिभावकको रोहबरमा बयान लिइएको थियो ।

मुद्दा दायरपछि थुनछेक बहसका क्रममा अदालतले पनि उनका बाबुको रोहबरमा बयान लिएको थियो । त्यसपछि प्राप्त प्रमाणका आधारमा अदालतले आरोपितलाई पुर्पक्षमा पठाएको थियो ।

प्रहरीले सुरुवाती अनुसन्धानकै क्रममा भागरथीको योनिबाट निकालिएको भजाइनल स्वाब र आरोपितको वीर्य डीएनए परीक्षणका लागि ल्याबमा पठाएको थियो तर रिपोर्ट आउन ढिला भएपछि त्यसबाहेकको प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । अदालतमा डीएनए रिपोर्टबाहेककै आरोपपत्र पेस गरिएको थियो । बहसका क्रममा आवश्यक ठानेमा अदालतले रिपोर्ट झिकाउन सक्छ ।

कान्तिपुरबाट साभार

यस्तो छ राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण–तालिका

0

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र बंगलादेशबीचको द्विपक्षीय र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन आफ्नो भ्रमण कोसेढुंगा साबित हुने बताएकी छन् । दुईदिने राजकीय भ्रमणका लागि सोमबार ढाका प्रस्थान गर्नुअघि उनले राष्ट्रपति कार्यालयको ट्विटर ह्यान्डलमार्फत ट्विट गर्दै यस्तो बताएकी हुन् ।

राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा त्यहाँका राष्ट्रपिता बंगबन्धुको जन्म शतवार्षिकीको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी हुँदै छिन् । उनी बिहान ८:४० बजे नेपाल वायुसेवा निगमको विमान चार्टर्ड गरेर ५४ जनाको टोलीसहित बंगलादेश प्रस्थान गरेकी हुन् ।

भ्रमण दौरान नेपाल र बंगलादेशबीच चार क्षेत्रका विषयमा दुईपक्षीय सम्झौता हुने सरकारले जनाएको छ । ती विषयमा पर्यटन, संस्कृति आदान–प्रदान, स्यानिटरी र फाइटो स्यानिटरी तथा रोहनपुरदेखि सिंहबादसम्म ‘ट्रान्जिट रुट’ लगायत छन् ।

यस्तो छ दुई दिनको कार्यक्रम

– सोमबार बिहान राष्ट्रपति भण्डारीलाई ढाका विमानस्थलमा बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले स्वागत गर्ने– विमानस्थलबाट राष्ट्रपति भण्डारी बंगलादेशका सहिदहरूलाई श्रद्धाञ्जली दिन र माल्यार्पण गर्न जाने

– त्यसपछि होटलमा फर्कने र आराम गर्ने

– होटलमा पहिला बंगलादेशका विदेशमन्त्री शिष्टाचार भेटका लागि आउने

– त्यसपछि प्रधानमन्त्री सेख हसिनाले राष्ट्रपति भण्डारीसँग होटलमै शिष्टाचार भेट गर्ने

– बेलुकी राष्ट्रपति भवन बंगमा राष्ट्रपति हमिदसँग भेटवार्ता

– सोही भेटमा दुई पक्षीय सम्झौताहरू हुने

– त्यसपछि राष्ट्रपति होटलमा फर्कने

– मंगलबार बिहान ढाकास्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रम र दिवाभोजमा सहभागी हुने

– त्यसपछि मंगलबार दिउँसो काठमाडौं आउने

कान्तिपुरबाट साभार

धर्मसंकटमा नेपाल

0

अध्यक्ष ओलीसँग नझुक्ने अभिव्यक्ति र एमाले छोड्न नसक्ने मनस्थितिको विरोधाभासमा नेपालले अब के गर्लान् ?

काठमाडौँ — एमाले खनाल–नेपाल समूहको चैत ५ गतेको राष्ट्रिय भेलामा प्रदेश २ की सांसद मञ्जु यादवले सोधिन्, ‘फागुन २८ गतेको निर्णय फिर्ता लिएर ओली पक्ष २०७५ जेठ २ कै अवस्थामा पार्टीलाई पुनःस्थापित गर्न तयार भए त ठीकै छ, नभए के गर्ने ? लत्रिने ?’

अलमलपूर्ण अवधारणापत्र र नेताहरूको त्यस्तै भाषण सुनेपछि यादवले झैं धेरै प्रतिनिधिले यो प्रश्न झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेतृत्वसमक्ष सोझ्याएका थिए । उनीहरूले ठ्याक्कै जवाफ भने पाउन सकेनन् ।

उपमहासचिव घनश्याम भुसालले अन्तिमतिर ओली प्रवृत्तिविरुद्ध एमालेभित्रै संघर्ष गर्ने र तल्लो तहसम्म पार्टी कमिटी गठन/पुनर्गठन गर्दै जाने नै अबको कार्यक्रम हो भनेपछि भेलामा सहभागी सबैले ताली बजाएर अनुमोदन गरेका थिए । तर बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकले नेपाल पक्षको अपेक्षाविपरीत पार्टीको महत्त्वपूर्ण अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई सुम्पिँदै नेपाल र भुसालसहितका चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गर्‍यो । भलै स्पष्टीकरण सोधिएको पत्र यी नेताले आइतबारसम्म पाएका छैनन् ।

यससँगै नेताहरूको जिम्मेवारी हेरफेर र केन्द्रीय कमिटी विस्तार गर्ने २८ गतेको निर्णय फिर्ता लिए पार्टीभित्र सहमतिको वातावरण बन्न सक्ने यो पक्षको बटमलाइनलाई अध्यक्ष ओलीले भनेका छन्, ‘पार्टीमा गुटबन्दी नो इन्ट्री ।’ ओलीको यो अभिव्यक्ति आफ्ना पक्षका नेताहरूमात्रै सम्मिलित गुटकै बैठकमा आएको हो । तर शनिबारको बैठकले गरेका निर्णयले नेपाल समूह र त्यसको नेतृत्वकर्ता नेपाललाई पार्टी जीवनकै अप्ठ्यारो परिस्थितिमा पुर्‍याइदिएको छ । यतिबेला नेपालका सामु आत्मसमर्पण या विद्रोहमध्ये एउटा बाटोमा हिँड्नुपर्ने परिस्थिति आएको छ । यी दुवै विकल्प नेपालका लागि प्रिय छैनन् ।

ओलीले छलफलका लागि बोलाउँदा उनको निवास बालुवाटारमा र एक्लै नभेट्ने बताएका नेपाल अब परिस्थिति आफ्नो प्रतिकूल हुँदा ओलीसमक्ष ‘लत्रिनु’ उनको राजनीतिक जीवनको लम्बेतान यात्रामा भयंकर आत्मसमर्पणवाद हुन सक्छ । यसो भन्दैमा एमाले बनेको चौथो वर्षदेखि नै पार्टी महासचिव भएर झन्डै १५ वर्ष हाँकेको पार्टीलाई छोड्न उनकै मनले दिँदैन ।

अध्यक्ष ओलीसँग नझुक्ने अभिव्यक्ति र एमाले छोड्न नसक्ने मनस्थितिको विरोधाभासमा नेपालले अब के गर्लान् ? उनले के गर्ने भन्ने तय गरिसकेका छैनन् । ओलीले सोधेको स्पष्टीकरणकै सन्दर्भमा पनि नेपालपक्षीय नेताहरूका बीचमा घनिभूत छलफल भइसकेको छैन । सम्भवतः सोमबार उनीहरूले स्पष्टीकरण सोधिएको पत्र पाउनेछन् र सामूहिक धारणा पनि बनाउनेछन् ।

उपमहासचिव घनश्याम भुसाल अहिले परिस्थिति असहज भए पनि विकल्परहित नभएको बताउँछन् । ‘हामीलाई अप्ठ्यारो छ, तर अप्ठ्यारो ओलीजीले सोध्ने भनिएको स्पष्टीकरणका सन्दर्भमा होइन, हाम्रो एजेन्डालाई उठाएर गाउँ/टोलसम्म पुर्‍याउने र हाम्रो समूहमा रहेका नेता–कार्यकर्तालाई एकताबद्ध राखेर एमालेले चलाउने गतिविधि कसरी प्रभावकारी बनाउने भन्ने हाम्रो चुनौती हो,’ भुसालले भने, ‘हामीले हाम्रो फोर्सलाई संगठित गर्न सक्यौं भने उहाँको कारबाहीले फरक पार्दैन । उहाँले बोलाएको बैठकमा जाने बाटो फागुन २८ को निर्णयले छेकेकै थियो ।’

ओलीले संविधान मिचेर पुस ५ मा गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई फागुन ११ मा सर्वोच्चले बदर गरिदिएपछि तत्काल नेकपाको एउटै खेमामा रहेका पुष्पकमल दाहाल र नेपाल समूहले उत्सव मनाएका थिए । संविधान लिकमा हिँड्यो भन्ने प्रतिक्रिया धेरैतिरबाट आएको पनि थियो । केही जानकारले प्रतिनिधिसभाको पुनर्बहाली भए पनि त्यसपछि हुने राजनीतिक खेलोमेलोले मुलुकलाई थप जटिलतातिर धकेल्ने बताएका थिए । फागुन ११ पछिका दिनहरूमा त्यस्तो संकेत मिल्दै थियो, सर्वोच्चले अर्को फैसला गरिदियो ।

जसले पूर्वएमाले र पूर्वमाओवादीका नेताहरू आ–आफ्नै थातथलोमा फर्किन बाध्य भए । यसले असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गर्ने निर्णय उल्टिएपछि अप्ठ्यारोमा परेका ओलीलाई सबैभन्दा बलियो अवस्थामा पुर्‍यायो, एक हिसाबले ओली राजनीतिक रूपमा बौरिए । उनले भनेका पनि छन्, ‘मलाई पार्टीका साथीहरूले ढुंगामा बजारी–बजारी सक्न लागेका थिए, सर्वोच्चको फैसलाले बचायो ।’

सर्वोच्चको फैसलापछि ओलीले चाहेकै पार्टी एमाले र सूर्य चिह्नमात्रै प्राप्त गरेनन्, केन्द्रीय कमिटी र संसदीय दलमा रहेको उनको बहुमत पनि फर्किएर आयो । नेकपा हुँदा ओली अल्पमतमा थिए । अल्पमतमा भएकै कारण पार्टीमा संघर्ष गर्न नसकेपछि उनले प्रतिनिधिसभामाथि प्रहार गरेका हुन् तर अहिले संसदीय दलको विधान र पार्टी कमिटीको निर्णयसमेत आफूअनुकूल गरेर ओली एमालेमा नवौं महाधिवेशनयताकै शक्तिशाली बनेका छन् ।

प्रतिनिधिसभा विघटनयता ओलीले जे गरे, ती गतिविधिमा उनको समूहका कुनै नेताले आपत्ति जनाएनन्, बरु उफ्रीउफ्री ताली ठोके । उनले जे भन्छन्, त्यो मात्र चल्ने खालको अवस्था बन्यो । जुन अवस्था ओलीको स्वभावअुनुकूल थियो । त्यसैले उनले अब फेरि माधव नेपाललगायत नेताहरूको विरोध र असन्तुष्टिलाई सम्बोधन गर्दै हिँड्नुभन्दा उनीहरूको बाटो थुनेर अघि बढ्ने उद्देश्य ओलीले राखे । त्यसैको परिणाम उनले नेपाललगायत आफ्ना कट्टर विरोधी नेताहरूलाई स्पष्टीकरणको डन्डामार्फत शक्ति प्रदर्शन गर्न खोजेका छन् ।

ओली यसरी शक्तिशाली हुँदै गर्दा जम्मा ३८ जनामात्रै सांसद र ८६ जना केन्द्रीय सदस्यको साथ पाएका नेपाल सांगठनिक, राजनीतिक र रणनीतिक सबै हिसाबले कमजोर देखिन्छन् । त्यसमाथि नेपालसँग प्रत्यक्ष निर्वाचित सांसद जम्मा २३ जनामात्रै छन् । समानुपातिक सांसदको बन्दसूची हेरफेर गर्ने अधिकार ओली एक्लैले पाएसँगै नेपाल पक्षमा रहेका १५ जना समानुपातिक सांसदको पद हल्लिएको छ । कालान्तरमा उनीहरूमध्ये अधिकांश या त ओली गुटमा जालान् या ओलीले चलाउने कारबाही भोग्न तयार होलान् । यो नेपालका लागि अर्को अप्ठ्यारो हो ।

एमाले उपाध्यक्ष भीम रावल ओलीसँग स्पष्टीकरण सोध्ने नैतिकता र पार्टीमा मनपरी गर्ने वैधानिक दुवै आधार नभएकाले आफूहरू पार्टी गतिविधिमै केन्द्रित हुने बताउँछन् । ‘विधानको धारा १३ अनुसार विधान अधिवेशनले मात्रै संशोधन गर्न सक्ने विधान गुटको भेला बोलाएर हचुवाका भरमा संशोधन गरी त्यहीअनुसार निर्णय गरें भनेर ओलीजीले भन्नुभएको छ, लोकतान्त्रिक पद्धतिमा यस्तो कुरा चल्दैन, यो खाले निरंकुश र स्वेच्छाचारी हर्कतले पार्टी एक जना व्यक्तिको कम्पनीमा परिणत हुन्छ,’ रावलले भने, ‘नेपालको राजनीतिक इतिहासमा यसरी कानुन मिच्ने, विधि मिच्ने पात्रहरू बेलाबेला देखिने गरे पनि त्यस्ता निरंकुश पात्रहरू टिकेको इतिहास छैन ।’

अदालतको फैसलापछि फागुन २४ मा नेपालपक्षीय एमाले र माओवादी केन्द्रका नेताहरूको संयुक्त बैठक माओवादी कार्यालय पेरिसडाँडामा बस्यो । बिदाइ बैठक भनिएको उक्त दिन नेपाल सबैभन्दा अन्तिमसम्म बसेर सबै स्थायी कमिटी सदस्यहरूको कुरा सुनेका थिए । बैठकमा वाम गठबन्धन बनाउने विषयमा उनीहरूबीच साझा धारणा बनेको थियो । त्यसपछि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा पार्टीको नाम परिवर्तनसम्बन्धी विषयले एकाएक प्रवेश पायो ।

अर्कातिर एमालेको १२० र जसपाका ३२ जना सांसद भएपछि सजिलै सरकार बनाउन सकिने आकलनसहित अध्यक्ष ओलीले जसपाको एउटा समूहसित संवाद अघि बढाएका थिए । तर उनीहरूलाई नेपालपक्षीय सांसदले फोन गरेर त्यस्तो गठबन्धनमा सहमति जनाए आफूहरूले फ्लोर क्रस गरेर भए पनि सरकार बन्न नदिने बताएको सूचना ओलीसमक्ष पुग्यो । यही कारण जसपाको उक्त खेमा बिच्किएको ओली समूहको बुझाइ थियो ।

त्यसमाथि एमालेभित्रै नेपाल समूहले छुट्टै बैठक र भेलाहरू गरेपछि ओलीलाई निको लाग्ने कुरै भएन । यी सबै पृष्ठभूमिमा ओलीले आफूलाई सहज हुने गरी कदम चाल्दा नेपाललाई असहज भयो । उपाध्यक्ष अष्टलक्ष्मी शाक्य यो अवस्थामा ओलीसँग मिलेर जान नसकिने बताउँछिन् ।

‘हाम्रो कुरा सिधा छ, केपीजीसँग मिल्न सक्दैनौं, त्यसैले कमिटीमा हाम्रो गतिविधि रोक्दैनौं, हाम्रो समूह बलियो बनाउँछौं, एमालेलाई बलियो बनाउँछौं,’ उनले भनिन्, ‘हाम्रा कमरेडहरूलाई स्पष्टीकरण सोध्ने ओलीजीको आफ्नै नैतिक धरातल छैन । संविधान मिचेर उहाँले गरेको निर्णय बदर भएर संसद् पुनःस्थापित भएपछि उहाँको नैतिकता कहाँ गयो त ? विधान मिचेर ओलीले चालेका कदम पनि एकदिन उहाँले नै सच्याउनुहुनेछ ।’

यद्यपि नेता शाक्यले तुरुन्तै अलग भएर जान भने नसकिने बताइन् । अन्तिमसम्म पनि ओलीलाई दबाब दिने र समानान्तर कमिटीहरूमार्फत आफ्नो समूहलाई बलियो बनाउने गरी अघि बढ्ने शाक्यको भनाइ थियो । तर यसका लागि उनीहरूमा ओलीपक्षबाट हुन सक्ने जस्तोसुकै निर्मम प्रहारको पनि सामना गर्न सक्ने आँट भने चाहिन्छ । यो आँट कार्यकर्ता तह र दोस्रो तहका कतिपय नेताहरूमा भए पनि स्वयं माधवकुमार नेपालमा भने छैन । त्यसैले उनले अब कुन बाटो जाने हो तय गर्न सकेका छैनन्, आफू हिँड्ने बाटोतिर फर्किन सकेका छैनन् ।

कान्तिपुरबाट साभार

शे–फोक्सुण्डोमा निःशुल्क इन्टरनेट जडान

0

शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट सेवा जडान गरिएको छ ।

निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङ्कले निःशुल्क इन्टरनेट सेवा जडान गरेको हो ।

सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै भए पनि प्रसार–प्रसार होस् भन्ने हेतुले ताल नजिकै निःशुल्क इन्टरनेट सेवा जडान गरिएको वल्र्ड लिङ्कले जनाएको छ ।

इन्टरनेट प्रयोग गर्ने व्यक्तिले एक दिनमा निःशुल्क ५०० एमबी प्रयोग गर्नसक्ने कम्पनीका प्राविधिक उमाकान्त क्षेत्रीले जानकारी दिनुभयो । निःशुल्क इन्टरनेट जडानसँगै फोक्सुण्डो ताल घुम्न आउने पर्यटकका लागि सञ्चार सम्पर्कमा रहन सहज हुनाका साथै पर्यटकले मनोरञ्जन लिनसक्ने क्षेत्रीको भनाइ छ ।

१५ किलो गाँजासहित तीनजना पक्राउ

0

सर्लाहीको लालबन्दी नगरपालिकास्थित अटोबाट १५ किलो लागुऔषध गाँजासहित तीनजना पक्राउ परेका छन् ।

विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले लालबन्दी नगरपालिका १७ स्थित रानीगन्जबाट ज १ ह ४६०९ नं को अटोमा सवार तीन जनालाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा स्थानीय अटो चालक ४५ वर्षीय पुस्पबहादुर फुयाँल, ४० वर्षीय सुन्कुमार बल र वडानम्बर १४ निवासी ४१ वर्षीय पाल्साङ पाख्रिङ छन् ।

अटोमा राखिएको तीनवटा जेब्रा झोलाभित्र १५ किलो गाँजा बरामद भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । उनका अनुसार पक्राउ परेका बलको साथबाट नगद २५ हजारसमेत बरामद भएको छ ।

अटो, गाँजासहित तीनैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

नाली खन्दा बम भेटिएपछि

0

कैलालीको टीकापुर नगरपालिका १ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ ।

बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो । त्यहाँ फेला परेको बम नै भएकाले र निस्क्रिय पार्नका लागि नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

फेला परेको बम सशस्त्र द्वन्द्वका बेला राखिएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिइसकेको छ । आज बिहान सेनाको बम डिस्पोजल टोली टीकापुर आउन थालेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए