Friday, July 3, 2026
Homeअन्तराष्ट्रियहोन्डाले विद्युतीय सवारी साधनमा ३० प्रतिशत लगानी कटौती गर्ने

होन्डाले विद्युतीय सवारी साधनमा ३० प्रतिशत लगानी कटौती गर्ने

टोकियो:जापानको अटोमोबाइल निर्माता होन्डा मोटर कम्पनीले विद्युतीय सवारी साधन (EV) सम्बन्धी रणनीति पुनरावलोकन गर्दै सन् २०३० सम्मको लागि तय गरिएको लगानीमा ३० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ। मंगलबार जारी घोषणामा कम्पनीले अघिल्लो १० ट्रिलियन येन (झन्डै ६९ अर्ब अमेरिकी डलर) को लगानी लक्ष्य घटाएर ७ ट्रिलियन येन (करीब ४८ अर्ब डलर) मा सीमित गर्ने जानकारी दिएको हो।

कम्पनीले विश्वभर अपेक्षा गरेजस्तो दरमा विद्युतीय सवारी साधनको स्वीकृति नबढेको र विशेषगरी अमेरिका लगायतका मुलुकहरूमा अनुदानसम्बन्धी नीतिमा देखिएको अनिश्चितताका कारण लगानी रणनीति परिमार्जन गर्नुपरेको स्पष्ट पारेको छ।

होन्डाका अध्यक्ष तोशिहिरो मिबेका अनुसार सन् २०३० सम्ममा कम्पनीको कुल सवारी बिक्रीमध्ये विद्युतीय सवारीको हिस्सा अब २० प्रतिशत मात्र रहनेछ, जुन अघिल्लो लक्ष्य ३० प्रतिशत थियो।

क्यानडामा प्रस्तावित ब्याट्री तथा विद्युतीय सवारी उत्पादन केन्द्रको निर्माण कार्य पनि दुई वर्ष पछाडि धकेलिएको छ। प्रारम्भमा सन् २०२८ मा निर्माण सुरु हुने योजना थियो, तर अब परिस्थिति मूल्यांकन गरेर योजना सन् २०३० तिर सारिने बताइएको छ।

यद्यपि कम्पनीले विद्युतीय सवारीमा लगानी घटाए पनि सन् २०४० सम्म सबै नयाँ सवारी साधनहरूलाई पूर्ण रूपमा विद्युतीय वा वैकल्पिक उर्जामा रूपान्तरण गर्ने दीर्घकालीन योजना भने यथावत् राखेको छ। त्यसैगरी, सन् २०३० सम्ममा हालको तुलनामा दोब्बर — करिब २२ लाख हाराहारी — हाइब्रिड सवारी बिक्री गर्ने लक्ष्य पनि कायम छ।

अर्कोतर्फ, होन्डाले अत्यधिक मुनाफा दिने मोटरसाइकल बजारमा ध्यान केन्द्रित गर्ने बताएको छ। हाल ४० प्रतिशत रहेको विश्व बजार हिस्सालाई ५० प्रतिशतभन्दा माथि पुर्‍याउने योजना रहेको कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका