भक्तपुर, २६ असार: सूर्यविनायक नगरपालिका–८, जगातीचोकमा सञ्चालनमा रहेको सूर्यविनायक नगर अस्पताललाई बागमती प्रदेश सरकारले ५० शय्यामा विस्तार गरेको छ।
बुधबार सम्पन्न कार्यक्रममार्फत अस्पतालको सेवा विस्तार भएको हो। बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा स्वयम् वडाध्यक्ष रहेका बेला २०७७ सालमा १० शय्याबाट सुरु भएको यो अस्पताल अहिले ५० शय्यामा विस्तार भएको छ।
मन्त्री थापाले भने, “कोरोना महामारीको कठिन समयमा हामीले नगरपालिका, प्रदेश र संघीय सरकारबीच सहकार्य गरेर नेपाल सरकारको २५ रोपनी जग्गामा अस्पताल स्थापना गरेका थियौँ। अहिले सोही अस्पताल ५० शय्यामा विस्तार गर्न पाउँदा गौरव लागेको छ।”
उनका अनुसार सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरका रूपमा विशेषज्ञ सेवासहितको सुविधा दिन सकिने गरी विकास गरिनेछ। काठमाडौँ प्रवेश गर्ने पूर्वी नाका जगाती क्षेत्रमा अवस्थित भएकाले राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेहरूको उपचारका लागि यो अस्पताललाई सक्षम बनाइने योजना रहेको जानकारी उनले दिए।
“मन्त्रालयले आवश्यकता अनुसार जनशक्ति, उपकरण र बजेटको व्यवस्था गर्नेछ,” मन्त्री थापाले भने, “यो अस्पताल भक्तपुरका लागि मात्र होइन, पूर्वबाट आउने बिरामीका लागि पनि काठमाडौँ जानु नपर्ने गरी सुविधा सम्पन्न बनाउन लागिएको हो।”
सूर्यविनायक नगरपालिका प्रवक्ता तथा वडा नं ७ का अध्यक्ष रवीन्द्र सापकोटाले प्रदेश सरकारको स्वीकृति र नगरपालिकाको बजेटमार्फत शल्यक्रिया कक्षसमेत सञ्चालनमा आएको बताए। नगरपालिकाले गुणस्तरीय सेवा प्रवाहका लागि आवश्यक बजेट व्यवस्थापन गरिरहने पनि उनले स्पष्ट पारे।


