सुर्खेत । सवारी दुर्घटनामा परी पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएको छ। गएराति वीरेन्द्रनगर नगरपालिका–२ स्थित वडा कार्यालय अगाडि भएको दुर्घटनामा ३४ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए।
उपचारका क्रममा आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले पुष्टि गरेको छ। आचार्य रेडियो तिला आवाज कालिकोटका स्टेसन म्यानेजर तथा प्रेस सेन्टर कालिकोटका अध्यक्ष थिए।
प्रहरीका अनुसार मुलपानीबाट भुरेलीतर्फ जाँदै गर्दा २३ वर्षीय यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरका मोटरसाइकल र आचार्य सवार लुम्बिनी ३६ प ३८८६ नम्बरका स्कुटर एकअर्कामा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक शाही पनि घाइते भएका छन्। उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।


