Wednesday, June 3, 2026
Homeस्वास्थ्य र जीवनशैलीसुदूरपश्चिममा रेबिज सङ्क्रमण बढ्दो, प्रमुख स्रोत कुकुर

सुदूरपश्चिममा रेबिज सङ्क्रमण बढ्दो, प्रमुख स्रोत कुकुर

कञ्चनपुर, १० असोज । सुदूरपश्चिम प्रदेशमा रेबिजको सङ्क्रमण तीव्र रुपमा बढ्दै गएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा संकलित १७० नमूनामध्ये १३६ मा रेबिज पुष्टि भएको छ ।

सबैभन्दा धेरै सङ्क्रमण कैलालीमा देखिएको छ, जहाँ संकलित ९८ नमूनामध्ये ७८ पोजिटिभ पाइएको छ । त्यसपछि कञ्चनपुरमा ५३ मध्ये ४३, अछाममा सातमध्ये पाँच, बझाङका तीन, डोटीका आठमध्ये छ नमूना पोजिटिभ भएका छन् ।

जोशीका अनुसार, रेबिज फैलाउनमा कुकुर मुख्य वाहक बनेका छन् । परीक्षण गरिएका ८७ कुकुरमध्ये ७२ मा सङ्क्रमण भेटिएको छ । त्यस्तै, भैँसीका ३२ मध्ये २२, गाईगोरुका २६ मध्ये २३, बाख्राका ११ मध्ये आठ, घोडाका दुई, बङ्गुरका सातमध्ये पाँच र खरायोको एउटा नमूनामा समेत रेबिज पुष्टि भएको छ ।

प्रयोगशालाले आव २०७६/७७ देखि रेबिज अन्वेषण सुरु गरेको हो । सुरुवातमा दुई नमूना मात्र पोजिटिभ पाइए पनि २०७९/८० मा ३९, २०८०/८१ मा १५७ र चालु आवमा हालसम्म १३६ पोजिटिभ भेटिनुले सङ्क्रमण बढ्दोक्रममा रहेको देखाउँछ ।

“रेबिज जनावरबाट मानिसमा सर्ने रोग हो,” चिकित्सक जोशीले बताउनुभयो, “जङ्गली जनावर स्याल, ब्वाँसो र फ्याउरोबाट घरपालुवा कुकुर वा बिरालोमा सर्छ, अनि उनीहरूले मानिसलाई टोकेर रोग सार्छन् ।”

विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष करिब ५९ हजार मानिस रेबिजका कारण मृत्यु हुन्छ, जसको ९५ प्रतिशत अफ्रिका र एसियामा हुने गरेका छन् । नेपालमा मात्र हरेक वर्ष करिब एक लाख मानिसलाई जनावरले टोकेका तथ्याङ्क छन्, जसबाट १५ देखि ३६ जनाको मृत्यु हुने गरेको पाइएको छ । नेपालमा करिब २९ लाख कुकुर रहेको डब्ल्यूएचओको अध्ययन छ ।

जोशीका अनुसार, रेबिज लागेपछि उपचार सम्भव हुँदैन, मृत्यु निश्चित हुन्छ, त्यसैले रोकथाममै जोड दिनुपर्छ । सङ्क्रमित जनावरले टोकेपछि तुरुन्त साबुनपानीले घाउ सफा गरी सकेसम्म छिटो ‘एन्टी-रेबिज भ्याक्सिन’ लगाउनुपर्ने उहाँको सुझाव छ ।

रेबिजका लक्षणमा पानी पिउन मन नलाग्ने वा गाह्रो हुने, पानी देख्दा डर लाग्ने, स्मरण शक्ति हराउने, ज्वरो आउने आदि पर्छन् । शरीरमा भाइरस प्रवेश गरेपछि यसको मात्रा अनुसार लक्षण छिटो वा ढिलो देखापर्ने चिकित्सक जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, विकसित केही मुलुकमा रेबिज नियन्त्रण भइसकेको छ भने केहीमा नियन्त्रणतर्फ उन्मुख अवस्थामा पुगेका छन् । तर नेपालमा अझै चुनौती उच्च छ । सामुदायिक कुकुरलाई नियमित खोप लगाउन सके रेबिज नियन्त्रण सम्भव हुने बताउँदै, विश्व रेबिज दिवस २०२५ का अवसरमा धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले सामुदायिक कुकुरलाई रेबिजविरुद्ध खोप लगाउने अभियान सञ्चालन गरेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका