सुनसरी। सशस्त्र प्रहरी बल, नेपालले सुनसरीस्थित सीमा नाकाबाट पेस्तोलसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार इटालीमा बनेको पेस्तोल र त्यसका तीन राउन्ड गोलीसहित ३६ वर्षीय राम थेलन पासवान पक्राउ परेका हुन्।
भारतको अररिया ग्राम पञ्चायत–४ निवासी पासवानलाई सुनसरी गाउँपालिका–३ जमुवा स्थित सीमा नाकाबाट निर्वाचन क्षेत्र सुरक्षा बेसले शुक्रबार साँझ नियन्त्रणमा लिएको हो।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका पासवानको साथबाट ब्राउन सुगरजस्तो देखिने १०० ग्राम पदार्थ, ७ हजार ५ रुपैयाँ, ९ हजार ३८० भारतीय रुपैयाँ र मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिलाई बरामद सामग्रीसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको डीएसपी थापाले जानकारी दिए।
सीमा क्षेत्रमा सुरक्षा कडाइ गर्न मनिष थापाले निर्देशन दिएका छन्। निर्वाचनलाई लक्षित गर्दै सीमा नाकामा उच्च सतर्कता अपनाइएपछि सशस्त्र प्रहरी बलको नम्बर १ बराह बाहिनी अन्तर्गत सीमा क्षेत्रमा जाँचलाई तीव्रता दिइएको छ।
डिआइजी थापाले इलाम, झापा, मोरङ र सुनसरी जिल्लाका सीमा क्षेत्रको स्थलगत अनुगमन गर्दै अवैध गतिविधि नियन्त्रण गर्न मातहतका सबै युनिटलाई निर्देशन दिएका छन्।


