Wednesday, July 15, 2026
Homeराजनीतिसंघीय संसदका चार समिति आज बस्दै, विकास योजना, विधेयक र मानव अधिकारका...

संघीय संसदका चार समिति आज बस्दै, विकास योजना, विधेयक र मानव अधिकारका विषयमा छलफल हुने

काठमाडौं । संघीय संसदअन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभाका चारवटा समितिको बैठक आज बस्दैछ। बैठकहरूमा विकास आयोजना, विधेयक, मानव अधिकार तथा संघीयता सम्बन्धी विभिन्न विषयमा छलफल हुने कार्यसूची रहेको छ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठक बिहान ८ः३० बजे बस्नेछ। बैठकमा राष्ट्रिय योजना आयोगसँग आर्थिक वर्ष २०८२/८३ मा आयोगले गरेका प्रमुख कामकारबाही, १६औँ आवधिक योजनाको कार्यान्वयन अवस्था, मध्यकालीन खर्च संरचनाको प्रगति तथा राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजनाहरूको अवस्थाबारे छलफल गरिनेछ।

त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल हुनेछ। छलफलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, सम्बन्धित मन्त्रालयका सचिवहरू, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक डा. गोपालकुमार चौधरी तथा विषयविज्ञ सहभागी हुने कार्यसूची छ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि दिउँसो १ बजे बस्नेछ। बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अनुगमन उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गरिनेछ।

यसैबीच, राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ। बैठकमा मधेश प्रदेशमा गरिएको स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची रहेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका