इनरुवा (सुनसरी): सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवालले ६ बिघा क्षेत्रफलमा व्यावसायिक माछापालनका लागि पोखरी निर्माण गर्नुभएको छ। जग्गा भाडामा लिएर दुई जनाको साझेदारीमा उहाँले करिब रु ३१ लाखको लगानीमा पोखरी बनाउनुभएको हो।
पोखरीमा बिगेट, रेहु, नैनी, कोमन र पंगास (बैखी) जातका माछा पालन भइरहेको छ। कटुवालले वार्षिकरुपमा करिब रु ११ लाख आम्दानी गर्दै आएको बताउनुभयो। उहाँका अनुसार पोखरीबाट बिगेट, रेहु, नैनी, र कोमन प्रजातिका करिब ५० क्विन्टल र पंगास (बैखी) प्रजातिका १०० क्विन्टल माछा उत्पादन भइरहेको छ।
पछिल्ला वर्षहरूमा कटुवालले परम्परागत प्रजातिसँगै नयाँ प्रजातिका माछा उत्पादन गर्दै आउनुभएको छ। उहाँका अनुसार जिल्लाका किसानहरू पंगास (बैखी) माछापालनमा विशेष रूपमा आकर्षित भएका छन्। कम क्षेत्रफल र थोरै लगानीमा उच्च उत्पादन दिन सक्ने भएकाले किसानहरूको पंगासप्रति चासो बढिरहेको छ।
पंगास माछाको स्वाद सबै उमेर समूहका उपभोक्ताले मन पराउन थालेपछि यसको व्यावसायिक माछापालनले गति लिएको छ। कटुवालले परम्परागत माछाभन्दा पंगासको उत्पादन र उत्पादकत्व क्षमता बढी रहेको जानकारी दिनुभयो।
पंगास माछापालनको क्षेत्रफल वार्षिक रूपमा वृद्धि भइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाले जनाएको छ। केन्द्रका निमित्त कार्यालय प्रमुख डा. मनोजकुमार महतोका अनुसार सुनसरीमा हाल पाँच सय ८२ हेक्टर क्षेत्रफलमा व्यावसायिक माछापालन भइरहेको छ।


