वीरगञ्ज (पर्सा), ७ असार: चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै साना–ठूला गरी २,३८५ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्, जसको कुल मूल्य १ अर्ब ८४ करोड २३ लाख रुपैयाँ पुगेको छ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार सोही अवधिमा विद्युतीय सवारीसाधनको आयातबाट १ अर्ब ८४ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरिएको छ।
भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा विद्युतीय सवारीसाधनको आयातमा वृद्धि भएको जानकारी दिनुभयो। “यो नाका हुँदै अझैपनि इन्धनबाट चल्ने सवारीसाधन बढी आयात हुने गर्छ,” उहाँले भन्नुभयो, “तर विद्युतीय सवारीसाधनको आयात पनि औसतमा सन्तोषजनक छ।”
विवरण अनुसार, ५० किलोवाट क्षमताका १९३ वटा विद्युतीय जीप, कार र भ्यानहरू २७ करोड ११ लाख रुपैयाँ मूल्यमा आयात गरिएका छन्।
त्यस्तै, ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका ५० वटा सवारीसाधन १३ करोड ४२ लाख रुपैयाँमा, र १०१ किलोवाटदेखि २०० किलोवाट क्षमताका ३६ वटा सवारीसाधन २४ करोड ७५ लाख रुपैयाँ मूल्यमा नेपाल भित्रिएका छन्।
त्यसैगरी, एक हजार ७०१ वटा विद्युतीय मोटरसाइकल पनि यो नाका हुँदै आयात गरिएका छन्, जसको मूल्य ४० करोड ७८ लाख रुपैयाँ पुगेको छ।


