काठमाडौँ, २० जेठ: प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि नयाँ वित्तीय व्यवस्था र सशक्त अन्तर्राष्ट्रिय सहकार्य आवश्यक भएकोमा जोड दिनुभएको छ।
स्पेनको सेभिलामा यही जुन ३० देखि जुलाई ३ सम्म हुने विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आयोजित भर्चुअल उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वच्छ र प्रणालीगत सुधारका लागि पनि अन्तर्राष्ट्रिय समुदायले अग्रसर हुनुपर्ने बताउनुभयो।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको आह्वानमा आयोजित उक्त भर्चुअल बैठकमा विश्वका विभिन्न राष्ट्र र सरकार प्रमुखहरूले सहभागिता जनाएका थिए।
बैठकमा प्रधानमन्त्री ओलीले विकासोन्मुख मुलुकहरूमा घट्दो विकास सहायता र लगानीको प्रवाहप्रति चिन्ता व्यक्त गर्दै केवल आन्तरिक स्रोतबाट विकास सम्भव नहुने स्पष्ट पार्नुभयो। उहाँले प्रभावकारी विश्व सहकार्यको खाँचो औंल्याउँदै साझा उत्तरदायित्वमा आधारित वित्तीय संरचना आवश्यक रहेको बताउनुभयो।
प्रधानमन्त्रीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा र नेपाललाई सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्ने तथा सन् २०३० सम्म दिगो विकासका लक्ष्य (SDGs) हासिल गर्ने प्रतिबद्धता पनि दोहोर्याउनुभयो।


