काठमाडौं । विश्वप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि भारतीय संगीत क्षेत्रमा सक्रिय रहँदै आएकी भोसलेको मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो।
नेपाली सुगम संगीत र चलचित्र क्षेत्रमा समेत अमिट छाप छोड्न सफल भोसलेको निधनले नेपालको कला क्षेत्रसमेत शोकाकुल बनेको छ।
सन् १९६६ मा प्रदर्शनमा आएको पहिलो नेपाली ऐतिहासिक चलचित्र ‘माइतीघर’ मार्फत उनले नेपाली संगीतमा प्रवेश गरेकी थिइन्। उक्त चलचित्रका “यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर” र “गैरी खेतको शिरै हान्यो” जस्ता गीतहरू आज पनि नेपाली दर्शक–श्रोतामाझ उत्तिकै लोकप्रिय छन्। उनले नेपाली भाषामा करिब सयभन्दा बढी गीतमा स्वर दिएकी छिन्।
उनका चर्चित नेपाली गीतहरूमा “मोहनी लाग्ला है” (नारायण गोपालसँगको युगल), “साउने झरीमा”, “झझल्को लिएर आएछ सावन”, “किन किन तिम्रो तस्बिर” लगायत पर्दछन्।
भोसलेले हिन्दी मात्र नभई नेपाली, मराठी, बङ्गालीलगायत विभिन्न भाषामा गरी १२ हजारभन्दा बढी गीत गाएकी छिन् । सन् २०११ मा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले उनलाई इतिहासकै सबैभन्दा धेरै गीत रेकर्ड गर्ने कलाकारका रूपमा मान्यता दिएको थियो।
संगीतका क्रममा उनी पटक–पटक नेपाल आएकी थिइन्। नेपाली संगीतकार अम्बर गुरुङ, जयदेव तथा गायक नारायण गोपालसँगको सहकार्यलाई उनले सधैं गर्वका साथ स्मरण गर्ने गर्थिन्। नेपाली उच्चारणलाई स्वाभाविक रूपमा प्रस्तुत गर्न सक्ने उनको क्षमताका कारण धेरैले उनलाई ‘नेपाली नै हुन् कि’ भन्ने समेत ठान्थे।
उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, नेपालका विभिन्न राजनीतिक व्यक्तित्व तथा विश्वभरका कलाकारहरूले गहिरो दुःख व्यक्त गरेका छन्। उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मुम्बईस्थित निवासमा राखिने र सोमबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने बताइएको छ।


