Tuesday, July 21, 2026
Homeअन्तराष्ट्रियराष्ट्रपति लीको चीन भ्रमणअघि उत्तर कोरियाको मिसाइल परीक्षण, क्षेत्रीय तनाव बढ्यो

राष्ट्रपति लीको चीन भ्रमणअघि उत्तर कोरियाको मिसाइल परीक्षण, क्षेत्रीय तनाव बढ्यो

सियोल । दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङ चीन भ्रमणमा निस्कनु केही घण्टाअघि उत्तर कोरियाले आइतबार समुद्रतर्फ धेरै ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। यस घटनालाई दक्षिण कोरिया, जापान र अमेरिकाले क्षेत्रीय सुरक्षाका लागि गम्भीर चुनौतीका रूपमा लिएका छन्।

दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफका अनुसार उत्तर कोरियाको राजधानी क्षेत्रबाट बिहान करिब ७ः५० बजे क्षेप्यास्त्र प्रक्षेपण गरिएको पत्ता लागेको हो। ती क्षेप्यास्त्रहरू करिब ९०० किलोमिटर उडेर समुद्रमा खसेका छन्। दक्षिण कोरिया र अमेरिकाका अधिकारीहरूले प्रक्षेपणको प्रकार र क्षमताबारे विस्तृत विश्लेषण गरिरहेका छन्।

दक्षिण कोरियाली सेनाले उत्तर कोरियाको कुनै पनि उक्साहटको तत्काल जवाफ दिन पूर्ण तयारी अवस्थामा रहेको जनाएको छ। मिसाइल प्रक्षेपणबारे अमेरिका र जापानसँग नजिकको समन्वय र सूचना आदानप्रदान भइरहेको सेनाले स्पष्ट पारेको छ। जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले कम्तीमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण भएको पुष्टि गर्दै यसले जापान मात्र होइन, सम्पूर्ण क्षेत्र र विश्व शान्ति तथा सुरक्षाका लागि गम्भीर खतरा सिर्जना गरेको बताए।

विशेषज्ञहरूका अनुसार यी प्रक्षेपणहरू उत्तर कोरियाले पछिल्ला हप्ताहरूमा देखाउँदै आएको सैन्य शक्ति प्रदर्शनको निरन्तरता हुन्। सत्तारूढ वर्कर्स पार्टीको बहुप्रतीक्षित सम्मेलनअघि रक्षा क्षेत्रमा हासिल उपलब्धि देखाउने र आन्तरिक सन्देश दिन यो कदम चालिएको हुनसक्ने विश्लेषण गरिएको छ। पाँच वर्षपछि पहिलोपटक हुने अपेक्षा गरिएको उक्त सम्मेलनले अमेरिकासँगको भविष्यको नीति र वार्ताको सम्भावनाबारे संकेत दिने विश्वास गरिएको छ।

उत्तर कोरियाली नेता किम जोङ–उनले सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ता असफल भएपछि आणविक र क्षेप्यास्त्र क्षमतामा जोड दिँदै आएका छन्। युक्रेन युद्धपछि रुससँगको सहकार्य र चीनसँगको सम्बन्ध मजबुत बनाउँदै उनले कूटनीतिक प्रभाव बढाएको दक्षिण कोरियाली गुप्तचर निकायको विश्लेषण छ। पार्टी सम्मेलन जनवरी वा फेब्रुअरीमा हुनसक्ने अनुमान गरिएको छ।

आइतबारको मिसाइल प्रक्षेपण राष्ट्रपति लीको चारदिने चीन भ्रमणको पूर्वसन्ध्यामा भएको हो। भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिखर वार्ता गर्दै कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताका लागि चीनले रचनात्मक भूमिका खेल्न आग्रह गर्ने तयारी गरेका छन्। उत्तर कोरियाको प्रमुख सहयोगी र सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनको प्रभाव प्रयोग गर्न दक्षिण कोरिया र अमेरिकाले लामो समयदेखि अनुरोध गर्दै आएका छन्।

मिसाइल प्रक्षेपणपछि दक्षिण कोरियाले आपतकालीन राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएको थियो। बैठकमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का प्रस्ताव उल्लङ्घन हुने गरी गरिने ब्यालेस्टिक मिसाइल परीक्षण तत्काल रोक्न उत्तर कोरियालाई आग्रह गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

यसैबीच, उत्तर कोरियाले भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीबारे कुनै प्रतिक्रिया जनाएको छैन। शनिबार अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएपछि अन्तर्राष्ट्रिय राजनीतिमा तरंग आएको छ।

सियोलस्थित इवा वुमन्स युनिभर्सिटीका अन्तर्राष्ट्रिय अध्ययन प्राध्यापक लीफ–एरिक इस्लीका अनुसार यस्ता घटनाक्रमले किम जोङ–उनजस्ता नेताहरूलाई आणविक प्रतिरोध क्षमतामा अझ बढी जोड दिन प्रेरित गर्न सक्छ।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले आइतबार किमले शनिबार एक हतियार कारखानाको निरीक्षण गरी बहुउद्देश्यीय सटीक निर्देशित हतियारहरूको समीक्षा गरेको जनाएको छ। उनले हतियार उत्पादन क्षमता करिब २.५ गुणा बढाउन निर्देशन दिएको उल्लेख गरिएको छ। गत साता उत्तर कोरियाले लामो दूरीको रणनीतिक क्रुज मिसाइल परीक्षण गरेको थियो भने डिसेम्बर २५ मा पहिलो आणविक–सञ्चालित पनडुब्बी निर्माणमा प्रगति देखाउने तस्बिरहरू सार्वजनिक गरेको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका