Monday, April 27, 2026
Homeअर्थ र ब्यापाररसुवागढी नाकाबाट नौ महिनामा ३१ अर्बको आयात, पूर्वाधार अभावले चुनौती

रसुवागढी नाकाबाट नौ महिनामा ३१ अर्बको आयात, पूर्वाधार अभावले चुनौती

रसुवा । उत्तरी नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा रु ३१ अर्ब ३० करोड बराबरका वस्तु आयात भएका छन्।

नेपाल–चीन व्यापारको महत्वपूर्ण नाकाका रूपमा रहेको रसुवागढी भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार आयातित सामग्रीको मूल्याङ्कनबाट सो अवधिमा रु ६ अर्ब ४२ करोड राजस्व सङ्कलन भएको छ। कठिन भौगोलिक अवस्था र पटक–पटक आउने प्राकृतिक अवरोधका बाबजुद नाकाबाट व्यापार सञ्चालन भइरहेको उनले जानकारी दिए।

नाकाबाट आयात हुने सामग्रीमा रोलकपडा, तयारी पोसाक, विद्युतीय सवारी (इभी), जलविद्युत् तथा पूर्वाधार आयोजनाका निर्माण सामग्री, स्याउ, लसुन, औद्योगिक कच्चापदार्थ, उद्योग तथा मिलका मेसिनरी सामग्री र ‘फास्ट ट्र्याक’ आयोजनाका उपकरण प्रमुख छन्।

नेपालबाट चीनतर्फ भने हस्तकला सामग्री, परम्परागत नेपाली कपडा, बाँसका मुढा, तिब्बत क्षेत्रमा चौँरीका लागि प्याकिङ गरिएको सुक्खा घाँस, चाउचाउ तथा बिस्कुट गरी करिब रु ६५ करोड बराबरका वस्तु निर्यात भएका छन्। सीमित उत्पादन क्षमताका बाबजुद नेपाली वस्तुको निर्यात क्रम विस्तार हुँदै गएको भन्सार कार्यालयले जनाएको छ।

गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि केही समय व्यापार पूर्ण रूपमा प्रभावित भएको थियो। पुल पुनःनिर्माण ढिलो हुँदा गत पुस १७ गतेदेखि मात्र आयात–निर्यात पुनः नियमित रूपमा सञ्चालनमा आएको हो।

ऐतिहासिक रूपमा भृकुटी र श्रङ्चङ गम्पोबीचको वैवाहिक सम्बन्धपछि नेपाल–तिब्बत व्यापार विस्तार भएको मानिन्छ। यही व्यापार मार्ग आधुनिक स्वरूपमा विकास हुँदै रसुवागढी आज नेपालको प्रमुख उत्तरी व्यापारिक प्रवेशद्वार बनेको छ।

चीन सरकारले २०७२ मङ्सिर १५ गतेदेखि रसुवागढी नाकालाई पूर्ण मान्यता दिएपछि व्यापारिक गतिविधि थप बढेको हो। छोटो दूरी, सहज पहुँच र अन्तर्राष्ट्रिय व्यापारको सम्भावनाका कारण यो नाका व्यवसायीका लागि आकर्षक बन्दै गएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्।

तर सानो सडक, बाढी–पहिरो र स्तरोन्नतिको कामका कारण व्यापार पटक–पटक प्रभावित हुने गरेको छ। व्यवसायीहरूले सडक पूर्ण रूपमा बन्द नगरी तालिका मिलाएर मर्मत र व्यापार दुवै सञ्चालन गर्न माग गरेका छन्।

यस्तै, भन्सार यार्डमा आवश्यक संरचना र सुरक्षित भवनको अभाव छ। बालुवा खोलाको किनारमा सामान जाँचपास गर्नुपर्ने, चिसो हावा र धुलोबीच कर्मचारीले काम गर्नुपर्ने अवस्थाले कार्य वातावरण चुनौतीपूर्ण बनेको गुनासो कर्मचारीहरूले गरेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका