Sunday, April 19, 2026
Homeप्रवासयुएईमा कार्यरत घरेलु कामदारको सुरक्षा अवस्थाबारे श्रममन्त्रीद्वारा चासो

युएईमा कार्यरत घरेलु कामदारको सुरक्षा अवस्थाबारे श्रममन्त्रीद्वारा चासो

संयुक्त अरब इमिरेट्सको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोलीले वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा युएई आउने श्रमिकको सेवा, सर्त र सुरक्षाबारे सरकारी अधिकारी तथा सरोकारवालाहरुबाट जानकारी लिएका छन् ।

बुधवार दुवईमा सरकार मातहत रहेका आप्रवासी घरेलु श्रमिक सेवा प्रदायक संस्था (तडवीर सेन्टर)  मा भ्रमण गरी घरेलु कामदारको कार्यस्थल अवस्था, कानूनी व्यवस्था, पारिश्रमिक, विदा, सामाजिक सुरक्षा, हिंसामा पर्नसक्ने जोखिम तथा सुरक्षाको प्रत्याभूति लगायतबारे जानकारी लिएका हुन् ।  सो अवसरमा युएईका सरकारी अधिकारी तथा तडवीर सेन्टर सञ्चालकले युएईमा घरेलु कामदारको सुरक्षा प्रत्याभूति रहेको बताएका थिए ।

उनीहरुले वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा युएई आउनुपूर्व गर्नुपर्ने तयारी, घरेलु कामदारको अधिकार तथा सुरक्षाबारे मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए ।

सरकारले २०७३ सालदेखि खाडी मुलुकमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएपनि अवैध बाटोबाट आउने क्रम रोकिएको छैन । हालै सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिलालाई स्वेदश आएर पुनस् फर्कन पाउने व्यवस्था गरेको छ । कानूनी बाटोबाट कामदार पठाउँदा भन्दा गैरकानूनी बाटोबाट जाँदा जोखिम बढेकोले कामदारलाई सुरक्षित र वैधानिक तरिकाले काम गर्ने वातावरण मिलाउनुपर्ने आवाज पनि उठेको छ ।

मन्त्री श्रेष्ठले घरेलु कामदारका रुपमा जाने श्रमिकलाई सुरक्षाको प्रत्याभूति दिने र व्यवस्थित बनाउनेबारे सरोकारवलाहरुसँग छलफल गर्दै आएका छन् । मंगलवार नेपाल-युएई संयुक्त समितिको बैठकमा पनि यसबारे छलफल भएको थियो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका