काठमाडौँ। काठमाडौँको मूलपानी क्षेत्रमा लुटेरा समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली प्रहार गरेको छ। गएराति जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लुटेरालाई पक्राउ गर्ने क्रममा दुई राउन्ड गोली चलाएको हो।
गोली लागेर लुटेरा समूहका एक जना नाइके घाइते भएका छन्। उनलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ। लुटेरालाई नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भएपछि गोली चलाउनुपरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी रमेश थापाले बताएका छन्।
प्रहरीका अनुसार उपत्यकामा लुटपाट आतङ्क मच्चाउँदै आएका १० जनालाई पक्राउ गरिएको छ। उनीहरूलाई नियन्त्रणमा लिने क्रममा दुई जना प्रहरी पनि घाइते भएका छन्।
आरोपीहरूले गौशाला, स्वयम्भू, बौद्ध र भक्तपुर क्षेत्रमा लुटपाट गर्दै आएको प्रहरीको भनाइ छ। पक्राउ परेका लुटेराहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।


